निर्णय नं. २५५६ – अंश
निर्णय नं. २५५६ ने.का.प. २०४२ अङ्क १२ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री हरगोविन्द...
निर्णय नं. २५५६ ने.का.प. २०४२ अङ्क १२
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको दे.फु.नं. १०३
मुद्दा : अंश ।
निवेदक/वादी:जिल्ला लमजुङ आमडाँडा गा.पं.वडा नं.३ को हाल परिवर्तित चिति पञ्चायत वडा नं.७ बस्ने भोज बहादुर सेढाइ क्षेत्री ।
विरुद्ध
विपक्षी/प्रतिवादी:ऐ. ऐ. बस्ने ईश्वरीदत्त सेढाइ ।
फैसला भएको मिति:२०४२।११।२८।३ मा
वादी दावी बमोजिम तथ्यमा प्रवेश गरी सबै कुरा बुझी यकीन गरी अंश पाउने हो होइन ? सो कुरा ठहर निर्णय गर्नुपर्ने ।
(प्रकरण नं. १३)
निवेदक तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री विश्वराज पाण्डे
उल्लेखित मुद्दाःX
फैसला
न्या.गजेन्दकेशरी बास्तोलाः श्री ५ महाराजाधिराज सरकारका जुनाफमा मुद्दा दोहर्याई पाउँ भनी वादीले चढाएको बिन्ति–पत्रमा व्यहोरा सांचो हो र बिन्ति–पत्रवालाको बाबु बेपत्ता भएको २० वर्ष भएको रहेछ भने बाबुको अख्त्यारनामा नभए पनि मुद्दा फुल बेञ्चबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने बक्स भई आएका हुकूम प्रमाङ्गी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यसप्रकार छ :
२. बाजे लक्ष्मीदत्तका २ परिवारमा कान्छी प्यामकुमारी र जेठीपट्टी मेरो बाबु इन्द्रबहादुर भएको जेठी मेरो बज्यै अघि नै परलोक भइसकेको बाबु इन्द्रबहादुर २००३ सालतिर विक्षिप्त हुनुभएकाले अहिले २७–२८ वर्ष भयो । आमा पोइल गए बाजे लक्ष्मीदत्त पनि गत २०२२ साल पौषमा परलोक भयो । बाबु बेपत्ता भई घरमा नआएकोले काका इश्वरीदत्त र बजै प्यामकुमारीसँग ३ भाग अंश लगाई बाबुले पाउने १ बण्डा म जिम्मा दिनुहोस् भन्दा नदिएकोले श्रीसम्पत्तिको तायदाती लिई ३ भागको १ भाग अंश दिलाई पाउँ भन्ने समेत २०३१।११।२१ को भोजबहादुर सेढाई क्षेत्रीको फिराद ।
३. प्रतिवादी मध्येको मेरो आमा प्यामकुमारीको हालै निधन भएकोले मेरो प्रतिउत्तर जिकिर के छ भने अ.बं.८३ नं.को आधारलिएर प्रस्तुतमुद्दा दायर गरेकोले अ.बं.८३ नं.मा भएको व्यवस्था अनुसार फिराद गर्नु पर्ने कारण परेको हो, होइन सो प्रमाण बुझी पाउँ बाबु लक्ष्मीदत्तको एक मात्र श्रीमती आमा प्यामकुमारी हुनुहुन्थ्यो । वादीकी आमा पनि मेरा बाबुकी श्रीमती थिइन भन्ने कुरा मलाई थाहा छैन । सो कुरा साँचो भए बाबु लक्ष्मीदत्तसँग अंश लिन सक्नु पर्थ्यो अथवा लोग्ने कायम गराई राख्नुपर्थ्यो सो कुनै कुरा हुनसकेको छैन । मेरा बाबु र निजकी बुढी आमा निधन भइसकेपछी जालीझेलीहरूको बहकावमा लागी मेरोसम्पत्ति खाउँला भन्ने उद्देश्य राख्दैमा अंश दिनै पर्ने र वादीले अंश पाउनु पर्ने हैन भन्ने समेत ईश्वरीदत्त सेढाईको प्रतिउत्तर ।
४. मेरो बजै लक्ष्मी दत्तकी श्रीमती मेरा बाबु इन्द्रबहादुरको आमा ल्याइते हुनुहुन्थ्यो नाम थाहा छैन । कहिले बजै परलोक हुनु भयो थाहा छैन । जग्गा जीवन वृत्तिलाई दिएको भन्ने सुने जानेको हुँ भन्ने समेत वादी भोज बहादुरको बयान ।
५. वादी दावा बमोजिम वादीले प्रतिवादीबाट अंश पाउने हुन् भनी ठहराउन न्यायोचित नपर्ने भई वादी दावा पुग्न सक्दैन वादी दावा खारेज हुने ठहर्छ भन्ने समेत मनाड्ड तथा लम्जुङ जिल्ला अदालतको मिति २०३३।८।८ को फैसला ।
६. सो फैसलामा चित्त बुझेन भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतमा परेको वादी भोजबहादुर सेढाईको पुनरावेदन ।
७. खारेज गरेको इन्साफसँग सहमत नभएकोले अ.बं.२०२ नं.बमोजिम विपक्षीलाई झिकाई पेश गर्नु भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०३४।६।३ को आदेश ।
८. वादीले प्रतिवादीबाट अंश पाउन नसक्ने ठहराएको मनाङ तथा लमजुङ जि.अदालतको इन्साफ मनासिव छ, भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०३४।१२।२० को फैसला ।
९. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको निवेदन परेमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०३५।४।२९ को आदेश ।
१०. बाबु इन्द्र बहादुर विक्षिप्त भई बेपत्ता भएको भन्ने प्रमाण प्राप्त हुन नसकेकोले बाबु जीवित छँदै बाबुको अख्त्यारनामा बेगर वादीले नालिश गर्न अ.बं.८२ नं.ले हकदैया पुग्ने देखिन नआएकोले वादी दावी खारेज गर्ने गरेको मनाङ तथा लमजुङ जिल्ला अदालतको निर्णय मनासिव ठहराएको पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०३६।११।२७।२ को फैसला ।
११. श्री ५ महाराजाधिराज सरकारका हजूरमा अंश मुद्दा दोहराई पाउँ भनी वादीले चढाएको बिन्ति–पत्रमा व्यहोरा साँचो हो र बिन्तिपत्रवालाको बाबु बेपत्ता भएको २० वर्ष भएको रहेछ भने बाबु अख्त्यारनामा नभए पनि त्यस अदालतको डिभिजन बेञ्जबाट मिति २०३६।११।२७ मा किनारा भएको अंश मुद्दा फुल बेञ्चबाट दोहराई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत हुकूम प्रमांगी बक्स भई आएको रहेछ ।
१२. निवेदक तर्फबाट रहनुभएका विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पंत तथा विपक्षी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री विश्वराज पाण्डेले मुद्दा पेश भएका मिति २०४२।१०।८ का दिन गर्नुभएको बहससमेत सुनि आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्जबाट भएको इन्साफ मिलेको छ, छैन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
१३. यसमा निर्णयतर्फ हेर्दा बाबु बेपत्ता भएको २० वर्ष भएको रहेछ भने बाबुको अख्त्यारनामा नभए पनि अंश मुद्दा दोहराई हेरी निर्णय गर्नु भन्ने श्री ५ महाराजाधिराजबाट हुकूम प्रमांगी बक्स भएको देखिन्छ । वादीले २०३१।११।२१ मा फिराद गर्दा बाबु इन्द्रबहादुर २००३ सालतिर विक्षिप्त हुनु भई बेपत्ता भएको ऐले २७–२८ वर्ष भयो भन्ने समेत उल्लेख भएको पाइन्छ। प्रतिवादीले वादीको बाबु विक्षिप्त भई बेपत्ता भएको होइन । यो यस ठाउँमा छ भनी कुनै खण्डन गरी भन्न र त्यस कुराको प्रमाण दिन सकेको छैन । वादीले फिरादसाथ पेश गरेको चिति आमडाँडा गा.पं.कार्यालय लमजुङले मिति २०३१।११।२१।४ मा दिएको सिफारिशमा “व्यहोरा बुझ्दा भोजबहादुरका बाउ इन्द्रबहादुर के कैले अथवा १५–२० वर्ष अघि देखि नै घर छोडी विक्षिप्त जस्तै भई घरबाट हिंडेका आजसम्म कहाँ छन् के गर्छन् अथवा छैनन् केही पनि पत्ता नलागेको” भन्ने उल्लेख भएको पाइन्छ । यसबाट पनि वादीका बाबु बेपत्ता भएको कुरा प्रमाणित गर्दै वादी दावी समर्थित भएको देखिन्छ । यस स्थितिमा बक्स भई आएका हुकूम प्रमांगी बमोजिम वादीको बुबा बेपत्ता भएको २० वर्ष भन्दा बढी भइसकेको भन्ने देखिन आयो । यस स्थितिमा वादीको फिरादबाट वादी दावी बमोजिम तथ्यमा प्रवेश गरी सबै कुरा बुझी यकीन गरी अंश पाउने हो होइन ? सो कुरा ठहर निर्णय गर्नु पर्ने हुन्छ । तर प्रस्तुत मुद्दामा सो बमोजिम केलाई ठहर निर्णय गरिनु पर्नेमा वादी दावी खारेज गर्ने गरेको शुरु मनाड्ड तथा लमजुङ जिल्ला अदालतको इन्साफ मनासिव छ, भनी पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट गरेको फैसला सदर गरी सर्वोच्च अदालत डिभिजन बेञ्जबाट गरेको मिति २०३६।११।२७ को फैसला मिलेको नदेखिँदा सो फैसला बदर हुने ठहर्छ । कानुन बमोजिम ठहर निर्णय गर्नु भनी उपस्थित पक्षलाई तारिख तोकि मिसिल नियम बमोजिम लमजुङ जिल्ला अदालतमा पठाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल फाल्गुण २८ गते रोज ३ शुभम् ।