निर्णय नं. २५५४ – जग्गा बाली
निर्णय नं. २५५४ ने.का.प. २०४२ अङ्क १२ फुल बेञ्च इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय...
निर्णय नं. २५५४ ने.का.प. २०४२ अङ्क १२
फुल बेञ्च
इजलाश
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको दे.फु.नं. ४९
मुद्दा : जग्गा बाली ।
निवेदक/प्रतिवादी:नर बहादुर गिरीको मुद्दा सकार गर्ने जिल्ला पर्सा वडही गाउँ पञ्चायत वडा नं.९ बस्ने विष्णु राज गिरी ।
विरुद्ध
विपक्षी/ वादी:गुठी संस्थान ।
फैसला भएको मिति:२०४२।११।२४।६ मा
प्रतिवादीद्वारा कुनै तथ्यमा गरिएको स्वीकारोक्तिले सम्पूर्ण वादी दावीलाई स्वीकार गरेको भनी अर्थ गर्न मिल्दैन, प्रतिवादीले स्पष्टसँग स्वीकार गरेकोदेखि बाहेक अन्य सम्पूर्ण दावी प्रमाणित गराउने भार प्रमाण ऐन, २०३१ को दफा २६ ले वादी उपर नै पर्दछ र सो भारबाट वादीले मुक्ति पाउने अवस्था नरहने ।
(प्रकरण नं. १३)
निवेदक तर्फबाट:विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारी
विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री शम्भु कार्की
उल्लेखित मुद्दाःX
फैसला
प्र.न्या.धनेन्द्र बहादुर सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्जको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा सर्वोच्च अदालत डिभिजन बेञ्जबाट २०३८।१०।४ मा किनारा भएको जग्गा बाली मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकूम प्रमाङ्गी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. संस्थानले चर्ची आएको कायमी मौज दरदरवा जग्गा विगहा ३६–१०–२ को यो २०२५ साललाई २०२४।१२।२३ गते तारिख मुकरर गरी त्यस टायममा कसैले सकार गर्न नआएकोले संस्थानबाट जग्गा बन्दोवस्तको व्यवस्था भइरहेको अवस्थामा सो महवा मठ अन्तर्गत दरदरवा मौजाको कायमी जग्गा विपक्षीहरूले कब्जा गरी २०२५ सालको हुण्डा बाली नदिने बिचार गरेको गुठी संस्थानको सम्पत्तिमा अनाधिकार जबरजस्ती हात हाल्ने विपक्षीहरूबाट बाली बिगो कोर्टफी समेत दिलाई जग्गामा समेत कब्जा जमाउन नपाउने गरिपाउँ भन्ने समेत १९ जना प्रतिवादीहरू उपर दावी लिन सो मध्ये नरबहादुर गिरीले विगहा ११–१३–१० मा धानबाली र जग्गा विगहा ८–१५–३ मा उखू बाली लगाएकोले बिगो रु. २७,१४५।६३ कोर्टफी रु. १,६९७।३५ समेत जम्मा रु. २,८४२।९८ भराई पाउँ भन्ने समेत वादी दावी ।
३. हामीहरूले कमाएको जग्गा एकै चाकला नभई छुट्टा छुट्टै हद नम्बर कित्ता चौहदीको भई जग्गा कमाउन समेत छुट्टा छुट्टै व्यक्ति भएकोले अ.बं.७२ नं.ले छुट्टा छुट्टै नालिश दिनु पर्ने एउटै फिरादबाट इन्साफ गर्न नमिल्ने हुँदा खारेज गरिपाउँ । गत वर्ष पनि बाली सम्बन्धमा विपक्षीसँग यसै अदालतमा बाली सम्बन्धमा मुद्दा चल्दै छ टुंगो लागी सकेको छैन । विपक्षीले बाली रोक्का गराई पाउँ भनी नारायणी अञ्चलाधिश कार्यालयमा कारवाही चलाएकोमा सो कार्यालयबाट जबरजस्ती कमाएको नदेखी वर्षौदेखि कमाउने मोही देखि मोहीवोटी परसारी पञ्चायतमा धरौट राख्न विपक्षीलाई प्रतिनिधि पठाउन लेखी पठाएको र मु.गोविन्दलाललाई पठाएको पछि गोविन्दलाललाई झिकाई गएकोले पञ्चायतमा आधा बाली बुझाई भर्पाई लियौं भन्ने सामुहिक व्यहोरा उल्लेख गरी म नरबहादुरले उखू बाली लगाएकै छैन र वादीले दावी गरे बमोजिमको जग्गा आवाद गरेको नभई १–१०–० जग्गा मात्र धान खेती गरेको हुँ भन्ने नरबहादुरको व्यहोरा भएको ११ जना प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर ।
४. वादीले दावी गरेको जग्गामा बाली लगाउने धेरैजना प्रतिवादी भएको तिनीहरूले भिन्न भिन्नै जग्गा कमाएको हुँदा सबै प्रतिवादीहरू उपर यसै फिरादपत्रबाट अ.बं.७२ नं.ले इन्साफ गर्न नमिल्ने हुँदा अरुको हकमा छुट्टा छुट्टै ३५ दिन भित्र फिरादपत्र दिएमा कानुन बमोजिम हुने हुँदा खारेज हुने । यस फिरादबाट इन्साफ हुने प्रतिवादी नरबहादुरको हकमा निजले जम्मा ज.वि.२०–८–१३ मध्ये ११–१३–१० मा धानबाली र विगहा ८–१५–३ मा उखू बाली लगाएको भन्ने वादी दावी र सो मिलानको मु.गोविन्दलालको प्रतिवेदन परेको समेत देखिन्छ । ज.वि.१–१० कमाएमा प्र.सावित भएको अरुको हकमा यस परिबन्दबाट मैले कमाएकै छैन भनी त्यसको सबूद प्रमाण गुजार्न नसकेको समेतबाट वादी दावी बमोजिम बाली बिगो रु. २७,१४५।६३ प्र. नरबहादुरबाट वादीले भरी पाउने ठहर्छ भन्ने समेत नारायणी अञ्चल अदालतको फैसला ।
५. सोउपर वादीको र प्र.नरबहादुर गिरीको मध्यमाञ्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।
६. मु.गोविन्दलालले मेनेजरी कार्यालय वीरगञ्जमा पेश गरेको प्रतिवेदनबाट निज प्र.ले ज.वि.२०–८–१३ आवाद गरेको भनी उल्लेख गरेको देखिनाले सो समेत कारणबाट प्रतिवादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु प्रतिवादी १९ जना भए पनि झगडाको विषय एउटै भएकोले १९ जनाको हकमा पनि खारेज नभई इन्साफ हुनु पर्ने भन्ने गुठी संस्थाको पुनरावेदन जिकिरको हकमा पनि प्रतिवादीहरूले एउटा जग्गा कमाएको नभई पृथक–पृथक जग्गा कमाएको देखिएको समेत कारणबाट वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन नारायणी अञ्चल अदालतको इन्साफ मनासिव छ, भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
७. मध्यमाञ्चल क्षे.अदालतको निर्णय उपर पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको सर्वोच्च अदालतमा निवेदन पर्दा पुनरावेदनको अनुमति दिइएको छ, भन्ने डिभिजन बेञ्जको आदेश ।
८. निर्णयार्थ डिभिजन बेञ्ज समक्ष पेश हुँदा प्रतिवादी नरबहादुरले आफ्नो हक प्राप्त नभएका जग्गा जबरजस्ती आवाद गरेको हो भनी साक्षीको बकपत्र र मु.गोविन्दलालको प्रतिवेदन र मैले ११–१०–० जग्गा मात्र कमाएको हो भन्ने निजको आंशिक समर्थन गरिएको जिकिरबाट पनि समर्थित भएको छ । प्र.नरबहादुर गिरीबाट बिगो भराउने गरेको नारायाणी अञ्चल अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत डिभिजन बेञ्जको फैसला ।
९. निवेदक तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद भण्डारीले मेरो पक्षले ज.वि.१–१०–० जग्गा मात्र कमाएको कुरा स्वीकार गरेको छ । सो भन्दा बढी कमाएको भन्ने कुनै प्रमाण वादीसँग छैन । बीस विगहाको बाली भराउने गरेको इन्साफ मिलेको छैन, भन्ने समेत बहस गर्नु भयो । विपक्षी गुठी संस्थानको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री शम्भु कार्कीले प्रतिवादीले २०२४ सालका बाली नदिएको विषयमा विवाद परेको छ । मु.गोविन्दलालको प्रतिवेदन र साक्षीहरूको बकपत्र समेतबाट वादी दावी समर्थन भई रहेको हुँदा वादी दावी बमोजिम बाली बिगो भराउने गरेको डिभिजन बेञ्जको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
१०. मिति २०४२।११।२४ मा यस बेञ्च समक्ष पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा दरदरवा मौजाको जग्गा विगहा ३६–१०–२ को २०२५ सालको बाली विभिन्न व्यक्तिले खाएको कुरा उल्लेख गर्दै प्र.नरबहादुर गिरीले विगहा ११–१३–१० जग्गामा धानबाली र विगहा ८–१५–३ जग्गामा उखू बाली लगाएको बिगो रु. २७,१४५।६३ र कोर्टफी १६९७।३५ समेत जम्मा रु. २,८४२।९८ भराई पाउँ भन्ने वादीको दावी देखिन्छ ।
११. वादी दावी बमोजिम २०–८–१३ जग्गा कमाएको र उखू बाली लगाएको दुबै कुरालाई इन्कार गर्दै ज.वि.१–१०–० मा धानबाली लगाएकोमा प्र.नरबहादुर गिरी सावित रहेको देखिन्छ । शुरु ना.अं.अ. बाट वादी दावीबमोजिम बिगो रु. २७,१४५।६४ प्रतिवादीबाट भरी पाउने ठहराएको इन्साफ मध्यमाञ्चल क्षेत्रीय अदालत तथा सर्वोच्च अदालत डिभिजन बेञ्जबाट समेत सदर भएको देखिन्छ ।
१२. वादीले दावी गरेको जग्गा मध्ये जग्गा विगहा १–१०–० मा धानबाली लगाएको कुरालाई प्रतिवादी नरबहादुर गिरीले स्वीकार गरेको छ र उक्त जग्गा गुठी अधिनस्त जग्गा होइन भन्ने निजको जिकिर छैन । सो बाहेक अरु ज.वि.१८–१८–१३ को बाली पनि निजले लगाई खाएको हो वा होइन भन्ने सन्दर्भमा हेर्दा वादी दावी प्रमाणित गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २६ ले वादी गुठी संस्थानको हुन्छ । वादीले आफ्नो दावीको समर्थनमा मु.गोविन्दलालको प्रतिवेदन पेश गरेको देखिन्छ । मु.गोविन्दलाल वादी गुठी संस्थानको कर्मचारी हो भन्ने कुरा मिसिलबाट देखिन्छ । उक्त प्रतिवेदन तयार हुँदा प्रतिवादी रोहवरमा रहेको छैन र प्रतिवादी नरबहादुरले कुन कुन कित्ताको कुन कुन जग्गा कमाएको हो भन्ने आधार प्रमाण खुलाइएको र उक्त प्रतिवेदन अ.बं.७८ नं.बमोजिम प्रतिवादीलाई सुनाई बयान गराइएको पनि देखिँदैन । वादी गुठी संस्थानको कर्मचारीले एक पक्षीय रुपमा तयार गरेको प्रतिवेदनलाई स्वतन्त्र प्रमाणको रुपमा ग्रहण गर्न मिल्दैन । वादीका साक्षीले वादी दावीलाई समर्थ गरी बकपत्र गरिदिएको भन्ने हकमा वादीका साक्षी मु.केशवप्रसाद शर्माको बकपत्र मिसिल सामेल रहेको देखिन्छ । केशवप्रसाद वीरगञ्ज गुठी तहविल कार्यालयमा मुखिया पदमा जागिर भएको कुरा निजको बकपत्रबाट देखिन्छ। यसबाट निज वादीको कार्यालयमा कार्यरत कर्मचारी देखिएको हुँदा स्वतन्त्र व्यक्ति भन्न मिल्ने देखिँदैन । त्यसको अलावा निजले प्रतिवादी नरबहादुरले कुन क्षेत्रको कुन जग्गा जबरजस्ती कमाएको हो प्रष्ट खुलाई बकपत्र गर्न सकेको देखिँदैन । तसर्थ साक्षीको बकपत्रबाट वादी दावी समर्थन भएको भन्न मिलेन ।
१३. जग्गा विगहा १–१०–० कमाएको भनी निजले वादी दावीलाई आंशिक समर्थन गरेको भन्ने हकमा प्रतिवादीद्वारा कुनै तथ्यमा गरिएको स्वीकारोक्तिले सम्पूर्ण वादी दावीलाई स्वीकार गरेको भनी अर्थ गर्न मिल्दैन । प्रतिवादीले स्पष्टसँग स्वीकार गरेकोदेखि बाहेक अन्य सम्पूर्ण दावी प्रमाणित गराउने भार प्रमाण ऐन, २०३१ को दफा २६ ले वादी उपर नै पर्दछ र सो भारबाट वादीले मुक्ति पाउने अवस्था रहँदैन । प्रस्तुत मुद्दामा प्रतिवादी नरबहादुर गिरीले ज.वि.१–१०–० कमाएको भनी गरेको स्वीकारोक्तीले सम्पूर्ण दावीलाई स्वीकार गरेको भन्न मिल्ने देखिँदैन । वादीतर्फबाट अन्य स्वतन्त्र प्रमाणद्वारा आफ्नो दावा प्रमाणित गर्न सकेको देखिँदैन ।
१४. अतः उपर्युक्त कारणहरूबाट प्रतिवादी नरबहादुरले वादी दावीको विगहा २०–८–१३ जग्गा मध्ये विगहा १–१०–० जग्गामा मात्र वादी दावी बमोजिम जबरजस्ती बाली लगाएको देखिएकोले सो हदसम्म निजबाट बाली बिगो वादीलाई भराई दिने ठहर्छ । सम्पूर्ण जग्गाको बाली भराउने ठहराएको नारायणी अञ्चल अदालतको इन्साफ सदर गरेको मध्यमाञ्चल क्षेत्रीय अदालत तथा सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०३८।१०।४ को इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने भएकोले नारायणी अञ्चल अदालतको २०२९।४।२२ को फैसलाले वादीलाई प्रतिवादीबाट भराउने गरेको बिगो रु. २७,१४५।६३ र कोर्टफी रु. १,६९७।३५ भरी भराउ गरी रहन परेन व्यहोरा जनाई सो लगत काटी दिनु भनी पर्सा जिल्ला अदालतमा लेखि पठाउन का.जि.अ.त.मा लगत दिनु…१
माथि इन्साफ खण्डमा लेखिए बमोजिम वादीले प्रतिवादीको मु.स.गर्ने विष्णुराज गिरीबाट भरी पाउने ठहरेको बालीको बिगो रु. १९९२।८३ र सो बिगोको हिसाबले हुने कोर्टफी रु. ९९।६४ शुरु उपर पुनरावेदन गर्दा लाग्ने सो कोर्टफीको सयकडा १५ ले हुने कोर्टफी रु. १४।९९ र मुद्दा दोहर्याउँदा लाग्ने कोर्टफी रु. ९।९६ समेत जम्मा बिगो कोर्टफी रु. २११७।४२ भराई पाउँ भनी वादीको ऐनका म्यादभित्र प्रतिवादीको जायजात देखाई दर्खास्त परे बिगोतर्फ सयकडा २।५० दस्तूर लिई र कोर्टफीतर्फ दस्तुर केही नलिई वादीलाई प्रतिवादीबाट भराई दिनु भनी ऐ. मा लगत दिनु…२
प्रतिवादी नरबहादुरको मु.स.गर्ने विष्णुराज गिरीके माथि लेखिए बमोजिम इन्साफ केही उल्टी भई निर्णय भएको हुँदा प्रतिवादीले जितेका हदसम्मको शुरु उपर पुनरावेदन गर्दा राखेको कोर्टफी रु. २५४।६१ मध्ये रु. २३९।६२ र इन्साफ दोहर्याउँदा राखेको कोर्टफी रु. १६९।७३ मध्ये रु. १५९।७७ समेत जम्मा रु. ३९९।३९ वादीबाट भराई पाउने भएकोले सो भराई पाउँ भनी ऐनका म्यादभित्र प्रतिवादीको दर्खास्त परे दस्तूर केही नलिई भराई दिनु भनी ऐ. मा लगत दिनु.३ मिसिल नियम बमोजिम गरी बुझाई दिनु………………………..४
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.पृथ्वी बहादुर सिंह
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल फाल्गुण २४ गते रोज ६ शुभम् ।