February 25, 1986
Created by nepalarchives

निर्णय नं. २५५३ – अंश

निर्णय नं. २५५३    ने.का.प. २०४२      अङ्क १२   फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश...

निर्णय नं. २५५३    ने.का.प. २०४२      अङ्क १२

 

फुल बेञ्च

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको दे.फु.नं. ८४

मुद्दा : अंश ।

 

निवेदक/वादी:का.जि.का.नगर पंचायतवडा नं.३२ डिल्लीबजार बस्ने प्रल्हाद जंग थापा ।

विरुद्ध

विपक्षी/प्रतिवादी:का.जि.का.नगर पंचायतवडा नं.२९ हाल डिल्लीबजार बस्ने उमादिव्यश्वरी थापा ।

ऐ.बस्ने उत्तम जंग थापा ।

ऐ.बस्ने किशोर जंग थापा ।

फैसला भएको मिति:२०४२।११।१४।३ मा

     कानुनी व्यवस्थाबाट अंश हक जन्मसिद्ध अधिकार भएको देखिन्छ, कानुन प्रदत्त जन्मसिद्ध सो अधिकारलाई कानुनले मात्र समाप्त गर्न सक्छ कानुनले प्रष्टतया अधिकार नदिएसम्म जन्मसिद्ध कानुनी अधिकारलाई छोड्ने छोडाउने कागज गराए पनि सो कागजको मान्यता हुनसक्ने देखिएन ।

(प्रकरण नं. १८)

     अंश नपाएकोमा सो पाउनको लागि कुनै हदम्यादको व्यवस्था भएको देखिन नआएकोले चित्त नबुझे वादीले नालिश (प्रसंग हेर्दा नालिसको सट्टामा वालिगहुनु पर्ने देखिन्छ ।संयोजक) भएको मितिले तीन महिना भित्र नालिश गर्नुपर्ने भन्ने प्रतिवादी जिकिर सर्वथा तर्कहीन देखिने ।

(प्रकरण नं. १९)

निवेदक वादी तर्फबाटःX

विपक्षी प्रतिवादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.सुरेन्द्र प्रसाद सिंहः यस अदालत फुल बेञ्जबाट मिति ०४०।९।१५।६ मा अंश र निषेधाज्ञा मुद्दामा भएको फैसलाहरू दोहोराई पाउँ भनी निवेदक प्रल्हादजंग र माकली थापाले न्यायिकसमितिमार्फत श्री ५ महाराजाधिराजका हजूरमा चढाउनु भएको बिन्तिपत्रमा भएको निवेदन प्रल्हादजंगको हकमा सम्म नेपालको संविधानको धारा ७२(ख) बमोजिम उपर्युक्त निर्णयहरू दोहोराइदिने भन्ने हुकुम वक्स भई आएबमोजिम प्रस्तुत यस अदालतको फुल बेञ्जको लगतमा दर्ता भई निर्णयार्थ यसबेञ्चमा पेश हुनआएको प्रस्तुतमुद्दाको संक्षिप्तव्यहोरा निम्नबमोजिम छ :

२.    स्वर्गीय केशरजंगको म फिरादी माकली र प्रतिवादी उमादिव्यश्वरी दुई पत्नी हुन् । म माकली  तर्फका छोरा फिरादी प्रल्हादजंग र उमादिव्यश्वरीका उत्तमजंग, किशोरजंग समेत हामी जम्मा ५ अंशियार हौं । ०२०।३।२१।६ मा हामी वादीहरूलाई जनही रु. १०००।रुपैयाँ लोग्ने पिता केशरजंगले दिई अंशको छोडपत्र गरिदिएको ०२१।६।१४ मा नलिएको रकम लिएको भनी कागज गराएको छ, सो कागजबाट हामीहरूको रीतपूर्वकको बण्डा नभएकोले फिराद दर्ता मितिलाई मानो छुटिएको मिति कायम गरी तायदाती लिई दुईभाग अंश छुट्याइपाउँ भन्नेसमेत वादीहरूको फिरादपत्र ।

३.    विपक्षीले बुबाबाट अंश पाएकोमा चित्त नबुझे म्यादभित्र उजूर गर्नु पर्ने नगरी हामी २०१६ सालमा अंश लिई बण्डापत्र पास गरी छुटी आआफ्ना खती उपती व्यहोरी आएको हुँदा झुठ्ठा दावा लिई फिराद गरेकोले फुर्सद पाउँ भन्ने उत्तमजंग, किशोरजंगको प्रतिउत्तर ।

४.    वादीले अंश लिई अंश छोडपत्र गरी सकेपछी अहिले झुठ्ठा दावा लिई फेराद गरेको हो झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको उमादिव्यश्वरीको प्रतिउत्तर ।

५.    अंश बापत रु. ३०००।लिई उमादिव्यश्वरीलाई अंश छोडपत्र पास गरी दिई सकेपछि पुनः अंशमा दावा गर्न नपाउने हुँदा वादी दावी पुग्न सक्दैन भन्नेसमेत व्यहोराको का.जिल्ला अदालतको फैसला ।

६.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीहरूको मध्यमाञ्चल क्षेत्रिय अ..मा पुनरावेदन परेको वादीहरूले निजहरूका पति बाबु केशरजंग थापा संगबाट अंश बापत रु. २०००।बुझि लिई अंश हकमा दावी छाडी अंश छोडपत्र मिति २०२०।३।२१।६ मा रजिष्ट्रशेन पास गरिदिएको र फेरी सोही मितिमै निज केशरजंगले यिनै वादीमध्येका प्रल्हादजंगलाई रिझवापत भनी तपसीलका लागि केही जग्गा जमीनहरू बकसपत्र पास गरिदिएको र पछि फेरी केशरजंग थापा परलोक भएपछि निज मर्ने केशरजंगको चल अचल सम्पत्तिमा दावी नगर्ने गरी रु. ३०००।प्र.मध्येकी उमादिव्यश्वरीबाट बुझी लिई निजलाई छोडपत्र पास गरिदिएको मिति ०२१।६।१४ गतेको प्रतिलिपि नक्कल संलग्न देखिन आएको यस्तो आफ्नो राजीखुसीले अंश छोडपत्र गरी दिइसकेपछि यसमा चित्त नबुझेको भए अंशबण्डाको ३२ नं.को ऐनका म्याद ३ महिना भित्र वादी मध्येमा प्रल्हादजंगले आफू उमेर पुगेका मितिले तीन महिना भित्र उजूर गर्नु पर्नेमा नगरी हाल मात्र अंश पाउँ भन्न आएकोले अघि एकपटक छोडपत्र गरी चित्त बुझाई बसी सकेपछि हाल अंश पाउँ भन्ने निज वादीहरूको दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु इन्साफ मनासिवै देखिनाले पुनरावेदकहरूको पुनरावेदन जिकिर पुग्न नसक्ने ठहर्छ भन्ने मिति ०३६।९।१६।२ को मध्यमाञ्चल क्षे.अदालतको फैसला ।

७.    उक्त मध्यमाञ्चल क्षेत्रिय अ..गरेको इन्साफमा प्रत्यक्षतः कानुनीत्रुटि भएकोले पुनरावेदनको अनुमतिपाउँ भन्नेसमेत व्यहोराको वादीहरूको निवेदन डि.बेञ्च समक्ष पेश हुँदा अंशबण्डाको ३० नं.को प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि हुनुका साथै प्रस्तुत प्रश्न सार्वजनिक महत्वको विषय समेत देखिन्छ न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५)(ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने मिति ०३७।६।९।५ को आदेश ।

८.    यसमा वादी प्रतिवादीहरू प्रस्तुत फिराद दायर भएको मिति ०३३।१।२४ गते मानु छुटिएको कायम  हुन्छ । सो मिति भन्दा अघिल्ला दिन अर्थात् ०३३ साल बैशाख २४ गते सम्मको अंशबण्डा गर्नु पर्ने चल अचल धन र ऋण समेत गैर श्रीसम्पत्तिको तायदाती फाँटवारी प्रतिवादीहरूबाट लिई कानुन बमोजिम गरी नियम बमोजिम पेश गर्नु भन्ने मिति ०३९।६।७।५ मा डिभिजन बेञ्जको आदेश ।

९.    निर्णयार्थ डिभिजन बेञ्ज समक्ष पेश हुँदा छोडपत्र भनेको कागजमा बुबासँग हामीहरूले भाग पाउने धनमाल र छोरा प्रल्हादको विवाह खर्च समेत तपाई  खसम बुबासँग घरसारमै बुझी लिई दिइसकेको बाँकी अचल घर जग्गामा रीतपूर्वक बण्डा गरी लिनालाई जग्गा जमीन टुक्रा र घर पनि साँगुरो पर्ने भएकोले अचल घर जग्गाको अंश भाग वापत हामी आमा छोरा जना दुइलाई जनही ने.रु. १,०००।का दरले जम्मा ने.रु. २,०००।बुझी भनी लेखिएको र हाल डिभिजन बेञ्जको आदेश बमोजिम झिकाई आएको तायदाती हेर्दा घरहरू र जग्गाहरू प्रशस्त देखिएको हुनाले ती छोडपत्र भनिएको कागजमा लेखिएका कुराहरू कागज मिलाउनको लागि मात्र लेखेको बनावटी देखिने आफूले राखेको अनजान श्रीमती र त्यसबाट जन्मेको नाबालख छोरालाई दबाबमा पारी त्यस्तो असमान व्यवहार गरी अस्वभाविक कार्य भएको भन्न नमिल्ने नदेखिने, मिसिल सामेल रहेको चल अचल सम्पत्ति मध्येको कुनै पनि एक सम्पत्तिमा यी वादीहरूको अंश वापत भोग भएको भन्ने कुरा प्रतिवादीले भन्न देखाउन नसकेको । एकै परिवारमा जन्मेका सन्तानमा कुनै काखा कुनै पाखा र कुनै भाइले सम्पूर्ण सम्पत्ति पाउने कुनै भाइले मुख लुकाउने ठाउँसम्म नहुने यो प्राकृतिक न्यायसँग मेल नखाने र बण्डापत्रको लिखित छ भनेर देखाउन पनि नसकेको हुनाले वादीहरूको माग दावी बेमनासिव भन्न पनि नमिलेको हुँदा असमान व्यवहारयुक्त लिखित भएको फितलो आधारमा न्याय गर्ने गरी वादीले अंश नपाउने भन्ने सहयोगी माननीय न्यायाधीशको रायसँग सहमत हुन सकिएन । झिकाई आएको तायदातीबाट कानुन बमोजिम गरी वादी दावी बमोजिम अंश भाग छुट्याई दिनु भनी मिसिल जि.अ.मा पठाउनु पर्ने ठहर्छ भन्ने सम्माननीय प्र.न्या.श्री नयनबहादुर खत्रीको राय ।

१०.    वादीहरू अंशीयार हुन् भन्ने कुरामा प्र.हरूको सहमती देखिन्छ । दुवैको बीच अंश छुट्याई बण्डापत्रको कागज खडा गरी अंशबण्डा भएको भन्ने कुरा मिसिलबाट देखिन आउँदैन । आफ्नोआफ्नो भागको अचल दाखिल खारिज गराई छुट्टा छुट्टै भोग बिक्री व्यवहार गरेको भन्ने कुराको पनि कुनै सबूद प्रमाण ल्याउन सकेको पाइँदैन तथापी वादीहरूको लोग्ने बाबुलाई वादीहरूले मिति ०२०।३।२१।६ मा एउटा कागज गरिदिएको देखिन्छ । सोही कागजको आधारमा क्षेत्रीय अदालतले वादीहरूले अंश नपाउने ठहर गरेको पाइन्छ । उक्त कागजलाई वादीहरूले बदर गराउन नसकेको अवस्थामा क्षे.अ.को उक्त निर्णयलाई अन्यथा गर्न मिलेन । तसर्थ सम्मानीय सहयोगी प्र.न्या.को रायसँग सहमत नहुँदा निर्णयार्थ फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंहज्यूको राय भएको ०४०।१।१२ को फैसला ।

११.    निर्णयार्थ फुल बेञ्जसमक्ष पेश हुँदा ०२०।३।२१ मा वादीहरूले जनही रु.१,०००।लोग्ने पिता केशरजंगबाट लिई अंश छोडपत्रको लिखतपास गरिदिएको र लोग्ने पिता केशरजंग परलोक भएपछि पनि केशरजंगको अचल सम्पत्तिमा दावी नगर्ने गरी रु. ३,०००।उमादिव्यश्वरीबाट बुझी लिई ०२१।६।१४ मा अंश छोडपत्रको लिखत पास गरिदिएको देखिन्छ । अंश हक छोडपत्र गर्न नपाउने कानुनी प्रावधान भएको देखिन्न । उक्त अंश हक छोडपत्रको लिखत कानुनको रीत पुगेको छैन भन्ने वादीहरूको भनाई पनि छैन माकली थापाले छोरा प्रल्हादजंग नाबालख हुँदाकै अवस्थामा ०२०।३।२१ मा अंश हक छोडपत्र गरेकोमा वादी प्रल्हादजंग साबालख भएपछि ऐनको म्यादभित्र उक्त अंश हक छोडपत्रतर्फ उजूर गर्नु पर्नेमा त्यस्तो उजूर भएको देखिन्न । पाउनु पर्ने अंशमा जहिलेसुकै पनि उजूर गर्न पाउने कुरामा विवाद छैन तर जुन अंशको लागि उजूर गर्ने हो सो अंश हकमै कानुन बमोजिम छोडपत्र गरिदिएको छ भने पुनः अंश पाउँ भनी उजूर लाग्ने स्थिति छैन । अंश हक छोडपत्रको लिखतमा नरम गरम मिलेको छ छैन हेर्नु पर्ने अवस्थाको नहुँदा कानुन बमोजिमको अंश छोडपत्रको कागजमा अंशबण्डाको ३० नं.आकर्षित हुँदैन ।

१२.   न्याय मानवीय मूल्यमा आधारित कानुनले निर्धारित गरेको बाटोदेखि अलग हुँदैन कानुनमा नै  अंशहकको छोडपत्र गर्नसक्ने कानुनी व्यवस्था छ र सम्बन्धित कुनै व्यक्तिले कानुनबमोजिम आफ्नो राजीखुसीबाट अंशहक छोडपत्र गरिदिएको छ भने न्याय अन्यायको लेखाजोखा अथवा परिकल्पना गर्ने अवस्था रहँदैन । वादीहरूले कानुनबमोजिम अंशछोडपत्रको लिखत पासगरिसकेको र उक्त लिखतबदर समेत गराउन नसकेको हाल अंशपाउँ भन्ने वादीहरूको दावी पुग्न नसक्ने ठहर्छ भन्नेसमेत फुल बेञ्जको फैसला ।

१३.   निवेदिका माकली थापाले अंश छोडपत्र गरिदिएकोले अंशमा दावी नपुग्ने भन्ने सम्मको निर्णय मिलेको सो निर्णयउपर वादीनिवेदिका माकलीथापाले चढाएको निवेदनमा दोहर्‍याउन सिफारिश जाहेर गर्नु नपर्ने र वादीहरू मध्येको निवेदक प्रल्हादजंग थापाको हकमा हेर्दा वादी प्रल्हादजंग ९ वर्षको हुँदा निजलाई रु. १०००।दिई अंश छोडपत्र गराएको ०३०।३।२१ को लिखत हुँदाको समयमा बहाल रहेको मुलुकी ऐन, साहु असामीको १५ नं.ले पक्का नठहर्ने हुँदा नाबालखबाट गराएको अंशको छोडपत्रलाई कानुनले मान्यता दिएको भन्न मिल्ने देखिँदैन । नाबालखले अंश हक छोडेको छोडपत्र ऐनले गराउन नहुनेमा गराइएकोबाट लिखत स्वयंमै कानुन विरुद्धको हुँदा त्यस किसिमको लिखतबाट नाबालखको अंश हक जानसक्दैन र गएको भन्ने पनि मिल्दैन ऐनले सदर नहुने लिखतलाई बदर गराइरहनु पर्ने पनि देखिँदैन । नाबालखबाट अंश छोडपत्र गराएकोलाई बण्डापत्रको संज्ञा दिन सकिँदैन नाबालखको भाग बण्डा देखिने गरी बण्डापत्र नभएकोले नाबालखको उमेरपुगेको मितिले तीनमहिना भित्र फिराद गर्नु पर्ने स्थिति नहुँदा साविक मुलुकीऐन अंशबण्डाको ५१ नं.हालको अंशबण्डाको महलको ३२ नं. को लेनदेन व्यवहारको १८ नं.र अंशबण्डाको ३५ नं.समेतको त्रुटि देखिन आएको छ भन्ने समेत न्यायिक समितिको पर्चा ।

१४.   २०४२।१०।१।३ मा यस बेञ्च समक्ष पेश भई आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा वादी र प्रतिवादीका लेख र निजहरूतर्फका विद्वान अधिवक्ताहरूको बहस जिकिर अनुसार प्रस्तुत मुद्दामा निम्नलिखित प्रश्न उपस्थित हुन आएको देखिन्छ :

      १.     वादी प्रल्हादजंग थापा क्षेत्रीको आमा समेत भई गरेको छोडपत्रले वादीको अंश                हकलाई समाप्त गर्न सक्छ वा सक्दैन ?

      २.    वादी प्रल्हादजंग थापा क्षेत्रीले हदम्याद नघाई अंश हकमा नालिश गरेको छ वा               छैन ?

१५.   सर्वप्रथम पहिलो प्रश्नको हकमा बिचारगर्दा अंश दिलाई पाउँ भनी वादीको दावी भएकोमा वादी प्रल्हादजंग थापा क्षेत्रीकी आमा माकली थापा समेत भई गरेको छोडपत्रले वादीको अंश हकमा दावी गर्ने अधिकारलाई समाप्त गरी सकेको छ, तसर्थ वादीले अंशमा दावी गर्न पाउँदैन भनी प्रतिवादीतर्फको मुख्य जिकिर भएकोले वादीको आमा माकली थापा समेत भई गरेको छोडपत्रले वादीको अंश हकलाई समाप्त गरी सकेको छ वा छैन त्यसतर्फ हेर्दा वादी प्रल्हादजंग र निजकी आमा माकली थापाले बाबु केशरजंगसँग ०२०।३।२१ र उमादिव्यश्वरीसँग २०२१।६।१४ मा अंश छोडपत्र गरिदिएको देखिन्छ सो अंश छोडपत्र गर्दा वादी प्रल्हादजंग थापा क्रमशः९ र १० वर्षको देखिन आएकोछ वादीलाई रु. १,२००।दिई २०२०।३।२१ मा वादी समेतलाई रु. ३०००।दिई २०२१।६।१४ मा छोडपत्र गराएको देखिन आएको छ । तसर्थ सो छोडपत्रले वादीको अंश हक दावीलाई समाप्त गर्न सक्छ वा सक्दैन सो प्रश्नमा मुख्यतया बिचार गर्नु पर्ने स्थिति देखा परेको छ । सो छोडपत्रले वादीको अंश हकलाई समाप्त गर्न सक्दैन भनी वादीतर्फका विद्वान अधिवक्ताहरूको जिकिर भएको र वादीकी आमा माकली थापा समेत भई अंश छोडपत्र गरेको हुनाले सो छोडपत्र कानुनसंगत हो र सो छोडपत्र बदर नभएसम्म वादीले अंश हकमा दावी गर्न पाउँदैन भनी प्रतिवादीतर्फको मूल जिकिर भएको हुनाले सो  छोडपत्र हुँदाका बखत लागू रहेको साहू असामीको १५ नं.सम्बन्धमा बिचार गर्न उपयुक्त हुन आउँछ र सो १५ नं.मा १६ वर्ष नपुगेका यस्ता मानिसले व्यवहार गरेको पक्का ठहर्दैन त्यसको धनको हिफाजत गर्ने मानिस जो खडा भएको छ त्यसको समेत सहिछाप गराएको रहेछ भने सदर ठहर्छ । त्यसले पनि सोही बालखको धन विगार्नका लागि बेइमानी गरेको रहेछ भने त्यसको बिगो भराई बिगोबमोजिम दण्ड गर्नु भनी उल्लेख भएको देखिन्छ । वादी प्रल्हादजंग थापा ९ वर्षको हुँदा निजलाई रु. १०००।एकहजार दिई २०२०।३।२१ मा अंशको छोडपत्र गराएको देखिन आएको यस्तो स्थितिमा माथि उल्लेख भएको साहू असामीको १५ नं.मा उल्लेख भएबमोजिम सो छोडपत्र पक्का ठहर्न सक्ने देखिन्न । वादी प्रल्हादजंग थापा नाबालख हुँदा अंश छोडेको छोडपत्र गराएको देखिन्छ । वादी नाबालख हुँदाहुँदै पनि निजले पाउने अंश छोडाई छोडपत्र गराएको देखिन्छ । यस्तो अंश छोडेको छोडपत्र गराउन पाउने अधिकार अमूक कानुनले प्रतिवादीलाई प्राप्त भएको भनी न त प्रत्युत्तरमा उल्लेख भएको छ न त प्रतिवादी तर्फका विद्वान अधिवक्ताले बहस जिकिर लिन सक्नु भएको छ । अंशबण्डाको १ नं.मा अंशबण्डा गर्दा बाबुआमा स्वास्नी छोराहरूको जियजियको अंश गर्नु पर्छ भनी उल्लेख भएकोबाट अंशबण्डा गर्दा प्रत्येक व्यक्तिको अलगअलग अंश गर्नु पर्ने अनिवार्य कानुनी व्यवस्था गरेको देखिन्छ । सो कानुनी व्यवस्थाबाट अंश हक जन्मसिद्ध अधिकार भएको देखिन्छ । कानुन प्रदत्त जन्मसिद्ध सो अधिकारलाई कानुनले मात्र समाप्त गर्न सक्छ । कानुनले प्रष्टतया अधिकार नदिएसम्म सो जन्मसिद्ध कानुनी अधिकारलाई छोड्ने छोडाउने कागज गराए पनि सो कागजको मान्यता हुनसक्ने देखिन्न । यस्तो स्थितिमा मिति २०२०।३।२१ र २०२१।६।१४ मा गराएको अंश छोडपत्रको कुनै कानुनी अस्तित्व भएको देखिन्न तसर्थ कानुनले अस्तित्वहीन अर्थात् अमान्य छोडपत्रले वादीको अंश हकलाई समाप्त गर्न सक्ने देखिन्न । सो छोडपत्रको कानुनी मान्यता हुन नसक्ने देखिन आएकोले सो अमान्य छोडपत्रलाई बदर गराई रहन आवश्यक पनि देखिन्न र अमान्य छोडपत्रले कानुन प्रदत्त हकमा प्रतिकूल असर पार्न सक्ने नदेखिँदा तसर्थ सो छोडपत्र बदर नभएसम्म वादीले अंश हकमा दावी गर्न पाउँदैन भन्ने प्रतिवादी जिकिर सर्वथा सारयुक्त देखिन्न ।

१६.    अब वादी प्रल्हादजंग थापाक्षेत्रीले हदम्याद नघाई अंश हकमा नालिश गरेको छ वा छैन भन्ने दोश्रो प्रश्नको हकमा बिचारगर्दा वादी जिकिरअनुसार अंशमा नालिशगर्न कुनै हदम्यादको व्यवस्था नभएको अंश नपाएकोमा जहिलेसुकै पनि नालिश गर्न पाउने भनी वादीतर्फको विद्वान अधिवक्ताहरूको बहस जिकिर भएको र प्रतिवादी तर्फको विद्वान अधिवक्ताको बहस जिकिर अनुसार वादीले नालिश भएको मितिले ३ महिना भित्र नालिश गर्नुपर्नेमा सोबमोजिमको नालिश नभएकोले वादीदावी लाग्ननसक्ने भनी जिकिरभएको सो सम्बन्धमा प्रतिवादी जिकिर अनुसार हेर्दा अंशबण्डाको ३२ नं.मा अंशबण्डा गर्दा ऐन बमोजिम गरिदिनु पर्छ । घटी बढी गर्न हुँदैन । अंशमा चित्त नबुझ्ने सोर्‍ह वर्ष नाघेकोले बण्डापत्रको कागज भएको मितिले र सोर्‍ह वर्ष मुनीकाले सोर्‍हवर्ष नाघेका मितिले तीनमहिनाभित्र नालिश नगरे लाग्नसक्दैन भनी उल्लेख भएकोले अंश बण्डामा चित्त नबुझ्नेले सो अंशबण्डा भएको मितिले तीन महिना भित्र र सोर्‍ह वर्ष मुनीकाले सोर्‍ह वर्ष नाघेका मितिले तीनमहिनाभित्र नालिश नगरे लाग्न नसक्ने भनी व्यवस्थाभएकोले यो नं.को प्रयोजनको लागि अंशबण्डापत्र खडाभएको हुनुपर्छ, अंशबण्डा नभई यो ऐनअन्तर्गत नालिश गर्ने प्रश्न उठ्नसक्दैन । अंश बण्डामा अंशमात्र लाग्छ अर्थात जियजियको अंश हक देखाइन्छ र सोबमोजिम भए गरेकोमा चित्त नबुझ्नेले योऐनको म्यादभित्र नालिश नगरे लाग्ननसक्ने व्यवस्था गरेको देखिन्छ । वादी र प्रतिवादीको बीच अंशबण्डा भएको अर्थात अंश हक अलगअलग देखिने गरी बण्डाको कागज खडा भएको भनी प्रतिवादीले जिकिरसम्म लिनसकेको देखिन्न । छोडपत्र भएकोले वादीको अंशमा दावीगर्न नपाउने भनीमात्र प्र.ले जिकिर लिएको, वादी र  प्रतिवादीका बीच छोडपत्र मात्र भएको देखिन आएको अंशको लागि त प्रस्तुत मुद्दा नै परेको देखिन्छ र अंश नपाएकोमा सो पाउनको लागि कुनै हदम्यादको व्यवस्था भएको देखिन नआएकोले चित्त नबुझे वादीले नालिश (प्रसंग हेर्दा नालिसको सट्टामा वालिगहुनु पर्ने देखिन्छ ।संयोजक) भएको मितिले तीन महिना भित्र नालिश गर्नु पर्ने भन्ने प्रतिवादी जिकिर सर्वथा तर्कहीन देखिन आउँछ।

१७.   अतः उपर्युक्त कारणहरूबाट वादी प्रल्हादजंग थापा प्रतिवादीहरूसँग फिराद पर्दासम्मको अर्थात २०३१।१।२५ सम्म सगोलमा रहेको देखिँदा २०३३।१।२४ सम्मको तायदाती वादी प्रतिवादीहरूबाट आएको र सो तायदातीको सम्पत्ति मध्ये वादीले ५ खण्डको २ खण्ड पाउँ भन्ने शुरुमा संयुक्त दावी लिएको भए तापनि वादी मध्येकी माकली थापाको हकमा वादी दावी नपुग्ने ठहरी सर्वोच्च अदालत फुल बेञ्चबाट मिति २०४०।९।१५।६ मा भएको इन्साफ अन्तिम भई रहेको हुँदा वादीहरूले पेश गरेको २०३९।६।१५ को तायदातीमा माकली थापाका नाममा दर्ता भनेको जग्गा र निजले देखाएको ऋण समेत बण्डा गर्नु पर्ने अवस्था नहुँदा वादी दावी बमोजिम ५ अंशियार नभई ४ अंशियार कायम हुने र वादीले उक्त तायदातीबाट ४ खण्डको एक खण्ड अंश पाउने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा वादी दावीबमोजिम वादीले प्र.हरूबाट ४ खण्डको १ खण्ड अंश पाउने ठहरेकोले वादीले शुरुमा कोर्टफी रु. २५।राखी फिराद दायर गरेकोमा वादी प्रल्हादजंगबाट दाखिल भएको बिगो रु. ३०,०००।को र प्र.हरुबाट दाखिल भएको बिगो रु. १,००,४६०।को तायदाती अनुसार जम्मा बिगो रु. १,३०,४६०।बाट ४ खण्डको १ खण्ड अंश पाउने हुँदा बिगो रु. ३२,६१५।को कोर्टफी ऐन, २०१७ को दफा ६ ले कोर्टफी रु. १२४८।४५ लाग्नेमा मुद्दा किनारा हुँदा ठहरे बमोजिम हुने गरी कोर्टफीमा पक्राउ नगर्नु भन्ने आदेश भए अनुसार कोर्टफी नलिइएकोमा अब वादीले अंश पाउने ठहरेको हुँदा वादीबाट नालिश दायर गर्दा राखेको कोर्टफी रु. २५।कटाई बाँकी हुन आउने कोर्टफी रु. १२२३।४५ प्र.हरूलाई लाग्छ । बेरुजु हुँदा सो कोर्टफी देहायका प्र.हरूबाट बराबरका दरले असूल गर्नु प्र.बाट असूल हुन नसके वादीबाट ऐन बमोजिम असूल गर्नु भनी का.जि.अ.त.मा लगत दिनु……१

प्र. उमादिव्यश्वरी थापा………१

प्र.उत्तजंग थापा क्षेत्री………..१

प्र. किशोरजंग थापा क्षेत्री…..१

वादीबाट शुरु फिराद दायर गर्दा राखेको कोर्टफी रु. २५।म. क्षे.अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु. २५।तथा सर्वोच्च अदालतमा पुनरावेदन गर्दा राखेको कोर्टफी र. २५।समेत जम्मा कोर्टफी रु. ७५।मा वादी प्रल्हादजंगको भाग रु. ३७।५० र वादी प्रल्हादजंगले मुद्दा दोहोराए बापत फुल बेञ्चमा दाखिल गरेको कोर्टफी रु. २२१।३२ समेत जम्मा कोर्टफी रु. २५८।८२ प्र.हरूबाट भराइ पाउँ भनी कोर्टफी ऐनका म्यादभित्र वादी प्रल्हादजंगको निवेदन पर्न आए प्र. उमादिव्यश्वरी थापा १ प्र. उत्तमजंग थापा १ प्र. किशोरजंग थापा १ समेत तीनजना बराबरका दरले वादीलाई भराई दिने भनी ऐ.मा लगत दिनु……२

वादीले ४ खण्डको एक खण्ड अंश पाउने ठहर भएको हुँदा अंश छुट्याई पाउँ भन्ने वादीको ऐनका म्यादभित्र दर्खास्त परे यस अदालत डि.बे.को आदेश बमोजिम वादीबाट २०३९।६।१५ मा दाखिल भएको तायदाती मध्ये वादी प्र.मध्येकी माकली थापाको हकमा फुल बेञ्चको २०४०।९।१५ को फैसला अन्तिम भई रहेकोले निजको दर्ताको जग्गा तथा निजले देखाएको ऋण समेत बण्डा नलाग्ने हुँदा वादी मध्येका प्रल्हादजंगको नाम दर्ताको बिगो रु. ३०,०००।को सम्पत्ति र प्र.हरूबाट दाखिल गरेको बिगो रु. १,००,४६०।को  तायदाती अनुसार जम्मा बिगो रु. १,३०,४६०।को सम्पत्तिबाट अढाई प्रतिशत दस्तुर वादी प्रल्हादजंगबाट लिई निजलाई ४ खण्डको एक खण्ड अंश दिलाई दिनु भनी ऐ. मा लगत दिनु……..३

मिसिल नियम बमोजिम गरी बुझाई दिनु…………….४

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या.पृथ्वी बहादुर सिंह,

न्या.हरगोविन्द सिंह प्रधान

न्या.महेशरामभक्त माथेमा

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल फाल्गुण १४ गते रोज ३ शुभम् ।