June 18, 1979
Created by nepalarchives

निर्णय नं. १२४३ – लिखित बदर

निर्णय नं. १२४३   ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् ०३५ सालको दे.पु.नं. १२४ फैसला भएको मिति...

निर्णय नं. १२४३   ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् ०३५ सालको दे.पु.नं. १२४

फैसला भएको मिति : २०३६।३।४।२ मा

निवेदक : नु.जि. राप्ती गा.पं.वार्ड नं. १ समुन्द्रटार भई हाल ऐ.वडा नं. २ नौबिसे बस्ने वर्ष ३४ को पद्मप्रसाद उपाध्याय आचार्य

विरूद्ध

विपक्षी : नु.जि. तामे गा.पं.वार्ड नं. ५ बाह्विसेको हाल रामति गा.पं.वार्ड नं. ६ बाह्रबिसे बस्ने अं.वर्ष ५२ को चूडाबहादुर पाण्डे क्षेत्री

मुद्दा : लिखित बदर

(१) अचलमा हकदैया पुग्न आउने स्थिति कतैबाट पनि नभएको केवल थैलीमा सम्म हकदैया पुग्न आए नालिस गर्न पाउने हक भएकोले अचल सम्पत्तिको हकबाट गरेको लिखित बदर गरीपाउँ भनी दावी गर्न अ.बं.८२ नं. ले हकदैया नपुग्ने ।

(प्रकरण नं. १०)

पुनरावेदक तर्फबाट :  विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी

विपक्षी तर्फबाट :  विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्याल

फैसला

          न्या. त्रैलोक्यराज अर्याल : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त नबुझी न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) (ख) अन्तर्गत पुनरावेदनको अनुमति पाउँ भनी निवेदन गरी अनुमति पाई यस बेञ्च समक्ष पेश हुन आएको रहेछ ।

          २.  मुद्दाको तथ्य यस प्रकार छ : पूर्व चोभेरे खोलसी पश्चिम पिडगलबहादुरको बारीको खेत बनाएको गरो र चित्रबहादुरको रैकर खेत उत्तर जोगी लड्ने भिरको मूल बाटो भई घर घडेरीको गरोको गरो माथिको रैकरबारी दक्षिण सुर्जेती खोला यति ४ किल्ला भित्रको ल.नं. ८ को सागूरूमटे खेत ।१६।१९।६।७ मध्ये खेत ८।९।७।४ को खला १ र ल.नं. ३८ को सोती बगर खेत ।४। मध्ये खेत ।२ को खला १ र ०९ सालको नम्बरी नौबिसे खोला ।४१ मध्ये खेत ।११।११ र २५ को खला १ समेतको खेत कित्ता ३ र सालको भूमि कर रू.।९४ लागेको घरबारी रोपनी १ को कित्ता १ र सोही बारीमा बनेको १८।१३ को २ तले कच्ची पराले छाना भएको घर १ समेतको जग्गा विपक्ष मध्ये फूलकुमारीसँग ३०।१०।१३ गते रू.२३,०००। मा घरसारमा राजीनामा गराई लिई भोगचलन गरी आएको जग्गामा विपक्षहरू मिली मलाई राजीनामा गरी दिइसकेपछि गैरकानूनी तरिकाबाट दोहरा पारी विपक्ष मध्ये फूलकुमारी राणा, पद्मप्रसाद धनी बनी ०३१।२।२ मा रू.३७,०००। मा राजीनामा खडा गरी मकवानपुर मालमा पारित गराई लिएछन् सो कुरा मैले पारित गराई पाउँ भनी दिएका मुद्दाको फूलकुमारीको प्रतिउत्तर लेखबाट थाहा भएबाट मलाई गरिदिएका राजीनामा बमोजिमको जग्गा विपक्ष पद्मप्रसादलाई पुनः राजीनामा पारित गरिदिएका ०३१।२।२ को राजीनामा लिखत बदर गरी सजाय समेत गरिपाउँ भन्ने फिराद ।

          ३.  वादी दावीको जग्गा फूलकुमारीसँग रू.३७,०००। मा ०३१।२।२ मा पास गराई लिएको छु वादी दावाको राजीनामा लिखत पारित नभएको हुँदा कानूनले मान्यता दिन मिल्दैन त्यस्तो लिखतलाई मूल आधार मानी दायर गरेको वादी दावा अ.बं.८२ नं. र १८ नं. समेतले खारेज हुने मैले राजीनामा गराई लिएको जग्गामा विपक्षले खिचोला गरेमा मेरो नालिस परी मुद्दा चलेकै छ वादी दावा बमोजिम दोहरा पारित गराई लिएको होइन भन्ने समेत पद्मप्रसादको प्रतिउत्तर ।

          ४.  दावी दावा बमोजिम सत्य कुरामा गाउँ पञ्चायतको हैसियतले सिफारिश सम्म गरी दिएको अरू कुनै कुरा गरेको छैन वादीको लिखत पारित नभएको हुँदा वादी दावा झुठ्ठा हो भन्ने समेत केदारनाथको प्रतिउत्तर ।

          ५.  वादी दावीको जग्गा वादीलाई रू.२३,०००। मा घरसारमा गरिदिएको रू.६,५०० दिएर बाँकी रू.१६,५००। को भरपाई गरिदिएकोमा पछि भाका पुगेपछि रूपैयाँ दिनु हवस भन्दा नदिएबाट मैले पद्मप्रसादलाई रू.३७,०००। मा ०३१।२।२ मा पारित गरिदिएको हुँ वादी दावा बमोजिम कौनै कुरा गरेको छैन वादी दावा झुठ्ठा हो भन्ने समेत फूलकुमारीको प्रतिउत्तर ।

          ६.  वादीले गराई लिएको राजीनामामा पारित नभएको र प्र.पद्मप्रसादले गराई लिएको राजीनामामा ०३१।२।२ मा पारित भइसकेको वादीको लेखाईबाटै देखिएकोले घरसारको लिखतको नाताले पारित भइसकेको लिखत बदर गराई पाउँ भन्ने वादीको दावा अ.बं.८२ नं. ले हकदैया पुग्न नमिल्ने बेरीतको फिराद अ.बं.१८० नं. बमोजिम खारेज हुन ठहर्छ भन्ने समेत शुरू रसुवा तथा नुवाकोट जि. अ.को ०३२।११।५ को फैसला ।

          ७.  वादीलाई २०३०।१०।१३ गते रू.२३,०००। को राजीनामा गरी दिएकोमा प्र.फूलकुमारीले पारित गरी नदिएकोले पारित गराई पाउँ भन्ने यिनै वादी चुडाबहादुर पाण्डेको प्र.फूलकुमारीका नाउँमा ऐनका म्यादभित्रै नालेस परी शुरूले पारित नहुने ठहराए उपर यस अदालतमा पुनरावेदन गरी यस अदालतमा दायर रहेको प्रमाण मिसिल समेतबाट देखिएको यस स्थितिमा चुडाबहादुरलाई घरसारमा ०३०।१०।१३ मा लेखी दिएको राजीनामा बमोजिमको घर जग्गा फेरि पदमप्रसादलाई ०३१।२।२ मा पारित गरी दिएकोले दोहोरा लेखिदिएमा लेनदेन व्यवहारको २५,२८ नं. बमोजिमको भाग गरी लिखत बदरमा परेको नालेस अ.बं.८२ नं. ले नालेस गर्न हकदैया नभएको भनी शुरूले वादी दावी खारेज गर्ने गरेको शुरूको रायमा सहमत हुन सकिएन शुरूले खारिज गर्ने गरेको नमिलेकोले शुरूको फैसला बदर गरी दिएको छ । अब कानूनबमोजिम तहकिकात किनारा गर्नु भनी तारिखमा रहेका पक्ष विपक्ष दुवै थरलाई तारिखमा तोकी मिसिल शुरू रसुवा तथा नुवाकोट जिल्ला अदालतमा पठाई दिनु भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको २०३४ मार्ग २२ गते रोज ४ को फैसला रहेछ ।

          ८.  चुडाबहादुरलाई घरसारमा २०३०।१०।१३ मा लेखी दिएको राजीनामा बमोजिमको घरजग्गा फेरि पदमप्रसादलाई २०३१।२।२५ मा पारित गरी दिएकोले दोहोरा लेखी दिएकोमा लेनदेन व्यवहारको २५,२८ नम्बर बमोजिमको माग गरी लिखत बदरमा परेको नालिस अ.बं.८२ नं. ले नालिस गर्ने हकदैया नभएको भनी शुरूले वादी दावा खारेज गर्ने गरेको नमिलेकोले शुरूको फैसला बदर गरी दिएको छ कानूनी किनारा गर्नु भनी शुरूमा पठाउने भनी मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३४।८।२२ मा फैसला गरेको देखियो । रजिष्ट्रेशनको ३४ नं. मा दोहोरो लिखत भएकोमा पहिले रजिष्ट्रेशन भएकै लिखत जेठो ठहर्छ भनी लेखिएको छ । प्रस्तुत मुद्दामा निवेदकको विपक्षी चुडाबहादुरले आफ्नो राजीनामा पास गरिपाउँ भनी अदालतमा प्रवेश हुनु अगावै निवेदकको लिखत रजिष्ट्रेशन पास भइसकेकोमा रजिष्ट्रेशनको ३४ नं. अन्तर्गत नै निर्णय गर्नुपर्नेमा दुवै लिखत घरसारमा भएकोमा लाग्ने लेनदेन व्यवहारको २५ नं. लगाई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३४।८।२२ मा भएको निर्णय सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानूनी त्रुटि रहेको देखिँदा न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को देहाय खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति दिइएको छ भन्ने २०३५ आश्विन ११ गतेको डिभिजन बेञ्चको आदेश रहेछ ।

          ९.  यसमा मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला ठीक बेठीक के रहेछ भन्ने तर्फ निर्णय दिनुपर्ने भएको छ ।

          १०.  यसमा पेश भएका मिसिल अध्ययन गरी पुनरावेदक तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी र विपक्षी तर्फबाट रहनु भएका विद्वान अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा यसमा रजिष्ट्रेशनको ३४ नं. मा दोहोरो लिखत भएकोमा पहिले रजिष्ट्रेशन भएको लिखत जेठो ठहर्छ भन्ने उल्लेख भएको देखिन्छ । प्र.पदमप्रसादको लिखत ०३१।२।२५ मा पारित भएको छ वादी चुडाबहादुरको लिखत मिति २०३०।१०।१०।१३ लेखिएको छ तर सो लिखत पारित भएको छैन रजिष्ट्रेशन पारित गरिपाउँ भनी चुडाबहादुरको ०३१।४।१८ मा नालिस परेको मुद्दा कारवाई हुँदैछ सो लिखत पारित गरिपाउँ भनी नालेस गर्नु भन्दा अगावै पदमप्रसादको लिखत पारित भइसकेको हुनाले चुडाबहादुरको लिखत निजको परेको नालिसबाटै पारित हुने ठहरिन आए पनि रजिष्ट्रेशन पास हुन जाँदा प्र.पदमप्रसादको लिखत पारित भएको भन्दा पछि नै रजिष्ट्रेशन पारित हुन जाने हुन्छ उक्त रजिष्ट्रेशनको ३४ नं. ले प्र.पदमप्रसादको लिखत जेठो ठहर्न आउँछ लेनदेन व्यवहारको २५ नं. ले जानीजानी दोहोरा पारी लिनेको थैली भूस हुन्छ, नजानी लिएको भए कपाली हुन्छ, उक्त ऐनको व्यवस्था अनुसार वादीको लिखत रजिष्ट्रेशन हुने भएमा पनि प्र.को भन्दा पछिको मितिमा पास हुन जाने हुँदा वादीको लिखत दोहोरो हुन जाने हुनाले जानीजानी दोहरा, नजानेको भए कपालीमा दावा गर्न पाउने सम्म वादीको हकदैया पुग्ने देखिन आउँछ, थैलीको अतिरिक्त अचल जग्गामा दावी गर्न वादीको हकदैया प्राप्त हुन आउने कतैबाट देखिन आउँदैन अचलमा हकदैया पुग्न आउने स्थिति कतैबाट पनि नभएको केवल थैलीमा सम्म हकदैया पुग्न आए नालिस गर्न पाउने हक भएको वादीले अचल सम्पत्तिको हक प्राप्त गरेको प्र.पदमप्रसादको लिखत बदर गरिपाउँ भनी दावी गर्न अ.बं.८२ नं. ले हकदैया नपुग्ने हुँदा वादी दावीमा इन्साफ गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको देखिँदैन उक्त फैसला बदर हुने ठहर्छ । नियम बमोजिम मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३६ साल आषाढ ४ गते रोज २ शुभम् ।