June 28, 1979
Created by nepalarchives

निर्णय नं. १२४२ – कर्तव्य ज्यान

निर्णय नं. १२४२   ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३३ सालको फौ.पु.नं. १६१ फैसला भएको मिति...

निर्णय नं. १२४२   ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३३ सालको फौ.पु.नं. १६१

फैसला भएको मिति : २०३६।३।१४।५ मा

पुनरावेदक : सु.रामबहादुर राजलवटको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

विपक्षी : जि. सुनसरी धरान न.पं.वार्ड नं. २ बस्ने ईन्द्रप्रसाद श्रेष्ठ समेत

मुद्दा : कर्तव्य ज्यान

(१) मृत्युको कारण रहस्यमय भएको स्थितिमा ज्यान जस्तो कसूरमा प्रतिवादीलाई सजायको भागी ठहर्‍याउन नमिल्ने ।

(प्रकरण नं. २७)

पुनरावेदक तर्फबाट :  विद्वान का.मु.वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय तथा

जाहेरवाला तर्फबाट :  विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंह

प्रतिवादी तर्फबाट :  विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विद्वान अधिवक्ता श्री गणेशराज तथाविद्वान अधिवक्ता श्री कल्याणी शर्मा

फैसला

       न्या. बासुदेव शर्मा : प्रस्तुत मुद्दामा श्री ५ को सरकार तर्फबाट पुनरावेदन परी पेश हुन आएकोमा मुद्दाको तथ्य यस प्रकार छ :

       २. देवी नाम भएको कान्छी छोरी एम.ए.पास भइसकेको ०२७।२।२१ गते गायव भएको खोजतलास गर्दा धरान बजार बस्ने प्राध्यापकले स्वास्नी तुल्यार्ई लगेको बुझियो श्रावण २२ गते बुहारी देवीको चोला उडेकोले सुघही काम गर्नु भन्ने ०२७।४।२३ को ईन्द्रप्रसादको पिता लक्ष्मीप्रसादको चिट्ठी आयो, ०२७।४।२२ र ०२७।४।२५ को प्रकाशित दैनिक समय र १९७० अगस्त २१ को समीक्षा ०२७।५।६ को प्रतिज्ञा नामक अखबारहरूमा छोरी देवीको मृत्युबारे शङ्का देखिएकोले पत्ता लगाउन मानिस धरान गएकोमा छोरी श्रावण २२ गते सद्दे थिईन निजको सौताको माइती घरमा चिया खान बोलाइएको खाई फर्की आउँदा जिब्रो घाँटी पोल्यो भनी कराइन् अन्त्य भइसकेपछि मात्र डाक्टर बोलाइयो औषधी हुनै पाएन भन्ने कुरा र निन्द्राको औषधी बढी खाएको साँपले टोकेको भन्ने हल्ला गराए लास पोष्र्टमार्टस नगराई जलाए भन्ने कुरा थाहा भई शङ्का देखिएकोले जाँच तहकिकात गर्नु गराई दिनु भन्ने आई.जि. पी.लाई आदेश गरिपाउँ भन्ने समेत सु.रामबहादुर राजलवटको निवेदनपत्र ।

       ३. छोरी देवी श्रेष्ठलाई ईन्द्र श्रेष्ठको जेठी स्वास्नीले आफ्नो माइती पर्ने टीकालक्ष्मीको घरमा बोलाउन लगाई टिकालक्ष्मी निजको बहिनी गङ्गा श्रेष्ठ, दाजु भगवान श्रेष्ठ समेतलाई हात लिई चिया वा कुनै खाद्य पदार्थमा बीष मिलाउन लगाई छोरीको सौताको सल्लाह अनुसार टिकालक्ष्मीले ख्वाई सोही कारणबाट छोरीको मृत्यु गराएको भन्ने मलाई शंका लाग्छ भन्ने समेत सु.रामबहादुर राजलवटको प्रहरीमा भएको ०२७।७।२ को कागज ।

       ४. श्रावण २२ गते ध्यानीको छोराले माइजूलाई सञ्चो भएन झारफुक गरीदेउ भनेको हुँदा भीमनरसिंहको घर जाँदा विरामी आइमाईको दुवै हात र शरीर छटपटाई हात हल्लाई रहेको थिइन आँखा खुम्चो सेतो सानु पारी परेला फरफराई रहेको शरीर भरि धेरै पसीना भई बोल्न नसक्ने अवस्था भई मुख चेहरा भुरभुराउँदो रातो जस्तो थियो मुख बाई हात हल्लाएकोबाट पानी मागे जस्तो लाग्यो नाडी छाम्दा ज्यादा तातो नभई छिटो चलेको लल्याकलुलुक भई मुख बाई लडबडाई रहेको केही राल फिँज मुखबाट आएको थियो झारफुक गर्न शुरू गर्न लागेको थिए, डाक्टर आएकोले छाडिदिए बीष खुवाई मारेको भन्ने हल्ला सुनेको जाहेरवालाको पोल परेको हुँदा पोलिएका व्यक्ति उपर शंका लाग्छ भन्ने समेत माइलो भन्ने नरबहादुर कामीको प्रहरीमा भएको बयान ।

       ५. ११।। महीना अगाडि ईन्द्रप्रसाद मर्ने देवीलाई घरमा लिई आई त्यहीँ बस्ने विचार गरेकोले ठूलो कोठा छाडी दिएँ, निज दुवै हाम्रो भान्सामा खाने गर्थे, ईन्द्रको बहिनीको विवाह गरिदिएपछि मात्र देवीलाई घरमा हुल्ने भनी म कहाँ बसेको भन्थे श्रावण २२ गते देवीको स्वास्थ्य राम्रो थियो, बिहान खहरे डुल्न गएको डुली घर आउँदा बरण्डामा विरामी भएको देवीलाई राखेका रहेछ, घरभरी मानिस भित्र बाहिर गरिरहेका कम्पाउण्ड र बंगाली डाक्टर वरिपरि बसी दबाई गरिहेका थिए बाहिर बसिरहेका थिए अपरझट देवी मरे भन्ने सुनेँ, हेर्न जाँदा मरिरहेको रहेछन्, सो लास अन्तमा जलाउन ५।६ बजेतिर लगेका हुन्, मरिसकेपछि चिया खाएको चेहरा बदलिन्छ भनेको र नरबहादुर कामीलाई भित्र जा भनी मैले भनेको होइन सो कामी म भएको बखत आएन कर्तव्य गरेमा कसै उपर शंका छैन भन्ने समेत भीमनरसिंह श्रेष्ठको प्रहरीमा भएको बयान ।

       ६.  इन्द्रप्रसादको जेठी पत्नी विमला मेरो फुपू नाताकी हुन् देवी श्रेष्ठलाई काठमाडौं देखि चिनेको हुँ र ईन्द्रदेवीको लब हुँदा ईन्द्रले लिई आई मेरो विराटनगर डेरामा करीब १५ दिन जति राखी धरान घरमा आएकोमा ईन्द्रको बहिनी कमलाको विवाह नहुन्जेल घर भित्र पस्न नदिई निजको ज्वाइँ पर्ने तिलकनरसिंहको बाबुको घरमा राखेको थियो मर्नु अगाडि बराबर म कहाँ आउने जाने गर्थे भनेर २,३ दिन अगाडि देखि आएकी थिइन देखादेख श्रावण २१ गते सम्म भएको हो श्रावण २२ गते म ट्रेनिङ्गमा बिहान ६ बजे गई १० बजे आई खाना खाई प्राइमरी स्कूल पढाउन गएको दिउँसो २,३ बजे देवी दिदी विरामी छिन् भनी तुलसीले भनेपछि घर आई हेर्दा देवी दिदीको मृत्यु भएको देखेँ, सोध्दा हर्टफेल भई मरिन् भनी तिलकनरसिंहको पत्नी देवकुमारीले भनिन् त्यसपछि धेरै मानिस भई चतरातर्फ जलाउन गएका थिए बीष प्रकृति मिश्रित चिज खाद्य पदार्थमा मिलाई म समेत भई देवीलाई ख्वाएको दिएको समेत कोनै होइन म निर्दोष छु भन्ने समेत टिकालक्ष्मी श्रेष्ठको प्रहरीमा भएको बयान ।

       ७. श्रावण २२ गते बिहान टयूसन पढ्न गई ९।१० बजे आई खाना खाई दिदी टिकालक्ष्मीसँग स्कूल गयौं, अं.१२१२।। बजेको थियो होला देवी श्रेष्ठ विरामी भई डाक्टरहरू आएका छन् भनी तुलसी थापाले भनेकोले घर जाँदा भीमनरसिंहको घरमा डाक्टरहरू रहेछन् देवी श्रेष्ठ हामी पुग्दा मरिसकेकी थिइन सोध्दा कसैले सर्पले डसी मरे भने कसैले हर्टफेल भई मरे भने लास जलाउन चौतारा लगे म समेत भई बीष मिश्रित पदार्थ ख्वाई देवी श्रेष्ठको मृत्यु भएको होइन म निर्दोष छु भन्ने गङ्गा श्रेष्ठको प्रहरीमा भएको बयान ।

       ८. हाम्रो घर ईन्द्रको जेठी स्वास्नीको माइती नभई हाम्रो फुपू नाता पर्ने हुन् श्रावण २२ गते बिहान बजार डुल्न गई ९ बजेतिर फर्की भात खाई मेरो प्रभिन्ट फुट जम्मा भएको ल्याउन धरान हाई स्कूल गई दिउँसो ३३।। बजेतिर घर फर्कदा भीमनरसिंको घरमा थुप्रै मानिस भेला रहेछन् बुझ्दा देवीको मृत्यु भएकोले मानिस भेला भएको थाहा भयो डाक्टरहरूलाई सोधनी गर्दा देवी श्रेष्ठ कालगतिले मरेकी हुन् भने, मलाई जरो आएकोले घर गई सुतेँ १३०१३५ जना जति मलामीले लास जलाउन चतरा लागेको भन्ने थाहा भयो मैले कर्तव्य गरी बीष मिस्रित पदार्थ मिलामतो गरी खाई देवी मरेको होइन् म निर्दोष छु भन्ने समेत भगवान श्रेष्ठको प्रहरीमा भएको बयान ।

       ९.  टिकालक्ष्मीको बाबु मेरो दाजु नाता पर्ने हुन मेरो नाबालाख पाँच छोराछोरी छन् म पहिलेदेखि बाथको रोगले पिडित भैरहेकी हुँदा काठमाडौंमा मेरो लभर छ विवाह गरी ल्याउँछु भनी लोग्नेले भन्थे म पनि हुन्छ भनी मञ्जूरी दिन्थेँ काठमाडौं गएको अवस्था गए जेष्ठमा देवीलाई स्वास्नी तुल्याई विराटनगर ल्याएको थाहा भयो घर झिकाउने कुरा हुँदा नन्दको विवाह नगरी भित्राउन हुन्न भन्ने सल्लाह अनुसार तिलकनरसिंहको घरमा लोग्नेले राखेको हो लोग्नेले देवीलाई ल्याएपछि घरमा आउनु भएन मरेपछि मात्र आउनु भयो लोग्ने र ममा मेल थियो श्रावण २२ गते सौता विमारी परी अरे १२।१ बजेतिर मरी अरे भन्ने कुरा मेरो बूढी सासूले भन्नु भयो सौतालाई देखेको थिएन म हर्कबहादुर टिकालक्ष्मीको घर १।।२ वर्ष देखि गएकी छैन अखवारहरूमा बीष ख्वाएर मरी अरे भन्ने सुनेँ कसले ख्वाएको हो भन्न सक्तिन सौता ल्याएकोमा खुशी नै थियो लोग्ने सौता दिदीकै घरमा बसेको खाना उही खान्थे टिकालक्ष्मीलाई हात लिई बीष मिश्रित पदार्थ ख्वाउन लगाई देवीलाई मार्न लगाएको र मारेको होइन भनी निर्दोष छु भन्ने समेत विमला श्रेष्ठको प्रहरीमा भएको बयान ।

       १०. लक्ष्मीप्रसादको बुहारी विरामी छन् भनी जाँदा देवी श्रेष्ठ विरामी रहिछन् डाक्टर घोष र डाक्टर पाण्डे समेत थिए विरामीलाई डेक्राडन ग्लुकोजको रामीन, माइकोरेन इन्जेक्सन दियो के भएको भनी सोध्दा घाँटी जल्यो घाँटी बन्द भयो भन्थी भनी भन्थे, हेर्दा नाडीबाट प्राण नदेखी मरिसकेकी रहिछिन् हडडाइट वा हर्टफेल भई मरे जस्तो लाग्छ भन्ने समेत डा.धिरेन्द्रनाथ तरफदार र ईन्द्र प्रोफेसरको जहान सिकिस्त छ जानु पर्‍यो भनेको हुँदा गई विरामी देवीलाई हेर्दा छटपटाई रहेकी रहिछन् नाडी कमजोर थियो सास फेर्न गाह्रो देखेँ, चेहरा रातो पहेंलो थियो मुख र्‍याल थिएन आँखाको नानी साधारण थियो डा.धिरेन आई हेर्दा मरिसकेको यकिन भयो मेरो विचारमा रक्तसञ्चार बन्द भयो र मरे जस्तो लाग्यो भन्ने समेत डा.तुषारकान्ती घोषको र देवी श्रेष्ठको हत्केला पछाडिको घाउ ड्रेसिङ्ग गर्न जान्थेँ, श्रावण २२ गते पनि जाँदा बिरामी देवी छटपटाई लामो सासले बेचैन भई बोल्न सक्ने स्थिति थिएन, डाक्टरको भनाई बमोजिमको रोमन समेतको इन्जेक्सन ठीक गरी निजले इन्जेक्सन दिएर हामी गएको आधा घण्टासम्म मात्र जीवित थिए त्यसपछि मरिन् मेरो विचारमा रक्तसञ्चार बन्द भई मरे जस्तो लाग्छ भन्ने समेत कम्पाउण्डर भन्ने अशोककुमार माहुरी समेतको संयुक्त प्रहरीमा भएको कागज ।

       ११. प्रो.इन्द्रको भाइ आई भाउजू विरामी हुनुहुन्छ आउनु पर्‍यो भनेकोले गई विरामी देवीको हात हेर्दा नाडीको गति पाईन ह्दयगति हेर्दा अनियमित आँखाको नानी नरमल जस्तो र निन्द्रा अचेत बेहोस थियो चेहरा फुस्रो हात सिधा थिए डा.धिरेन बोलाउन पठायौं डेकाड्रन र एट्रेनलीन इन्जेक्सन दियो डा.धिरेन आई हेरेपछि मरेको घोषणा गरे मेरो विचारमा देवी श्रेष्ठको मृत्यु आना दाईले टिफसफबाट भएको होला जस्तो लाग्छ यो केही खाएर लगाएर वा सुकेर एलरजीबाट हुन सक्छ भन्ने समेत धरान अस्पतालको मेडिकल अधिकृत डाक्टर कल्याणराज पाण्डेको प्रहरीमा भएको कागज ।

 

       १२. प्रतिवादी बिमला श्रेष्ठ १, टिकालक्ष्मी श्रेष्ठले ज्यानसम्बन्धीको १३ को देहाय २ दफा बमोजिम र प्र.इन्द्रप्रसाद लक्ष्मीप्रसाद १, भगवान श्रेष्ठ १, गङ्गा १, भीमनरसिंह १, तीलकनरसिंह १, देवकुमारी १ का हकमा ऐ.२५ नं. को ४ अनुसार सजायको माग गरिएको स.स.अ.समेतको संयुक्त प्रहरी प्रतिवेदन ।

       १३. मर्ने देवी श्रेष्ठलाई चियामा बीष हाली खान देउ भनेको र खुवाएको खुवाउन सल्लाह दिएको समेत हैन देवी श्रेष्ठ कालगतिले नै मृत्यु भएको लाग्छ जाहेरवालाले म उपर किन उजूर गरे थाहा छैन मैले गरे बिराएको केही छैन भन्ने समेत बिमला श्रेष्ठको अदालतमा भएको बयान ।

       १४. मर्ने देवीमायालाई बीष ख्वाएको होइन गत श्रावण २२ गते मर्ने देवी श्रेष्ठलाई मैले चिया खान दिएको थिइन मैले गरे विराएको केही छैन म उपर झुठ्ठा दोष लगाएको हो म उपर जाहेरवालाको उजूर प्रहरी अभियोग समेत किन लागे थाहा छैन भन्ने समेत टिकालक्ष्मी श्रेष्ठको अदालतमा भएको बयान ।

       १५. मर्ने देवी श्रेष्ठलाई मैले बीष खुवाएको तथा चियापान दिएको समेत होइन बिमला श्रेष्ठसँग मत सल्लाह गरेको समेत कौनै कुरा होइन मेरा उपर किन झुठ्ठा उजूर गरेको हो थाहा छैन भन्ने समेत गंगा श्रेष्ठको अदालतमा भएको बयान ।

       १६. मर्ने देवीमायालाई गत श्रावण २२ गते मैले विषालु चिज हाली चियाका अरू कुनै खाने कुरा खान दिएको होइन बिहान म घुम्न जाँदा हल्ला खल्ला केही थिएन १०।। बजे घर फर्की आउँदा देवीमाया मरिसकेको रहिछन् जाहेर प्रकाश गर्न पर्छ भन्ने मलाई थाहा छैन भन्ने समेत भीमनरसिंहको बयान ।

       १७. मर्ने देवी श्रेष्ठलाई मैले चिया वा खाद्य पदार्थमा बीष हाली खान दिएको छैन बिमलादेवीसँग बीष खुवाउने बारे सल्लाह भएको थिएन षडयन्त्र गरेको समेत होइन गरे बिराएको केही छैन किन म उपर अभियोग लाग्यो थाहा छैन भन्ने समेत भगवान श्रेष्ठको बयान ।

       १८. मर्ने देवी श्रेष्ठ मेरो कान्छी स्वास्नी हो निजलाई मैले खाने कुरामा बीष हाली दिएको होइन श्रावण २२ गते बिहान मर्ने देवीसँग बसी भींजी विद्या श्रेष्ठले बनाई ल्याएको चिया पिई कलेजतिर गएको म त्यहाँ रहँदा देवीले चिया मन नपराउने हुँदा निजलाई चिया दिएको थिएन निज देवी कालगतिले मरेकी जस्तो लागेकोले जाहेर नगरेको हुँ भन्ने समेत ईन्द्रप्रसाद श्रेष्ठको बयान । देवी श्रेष्ठको मृत्यु कालगतिले नै भएको हो भन्ने समेत ध्यानी भन्ने तिलक नरसिंहको बयान ।

       १९. देवी श्रेष्ठ भाइ बुहारी हो निजहरू मेरै घरमा बसेका हुन् भात खान बोलाउन जाँदा बेहोस भई सुतिराखेकोले डाक्टरहरू बोलाउन पठाई उपचार गराउँदा गराउँदै कालगतिले मृत्यु भयो निजको कोठामा कुनै औषधी थिएन मैले कहीँ उजूर गरिन भन्ने समेत देवकुमारी श्रेष्ठको बयान।

       २०. छोरा ईन्द्रप्रसादको कान्छी श्रीमती देवी श्रेष्ठ मेरो बुहारी हुन् म चक्रहठीमा खेती हुँदा ०२७।४।१५ गते गएको ०२७।४।२२ गते बुहारी देवीको मृत्यु भएको खबर लिई गोपाल श्रेष्ठ ड्राइभर कृष्णबहादुर बोलाउन आएकाले थाहा पाएको हुँ सोध्दा अचानक मृत्यु भयो भनी भेला भएका धेरैले भने नरबहादुर कामीको बयान झुठ्ठा हो भन्ने समेत लक्ष्मीप्रसादको बयान ।

       २१. कसैले नदेख्ने गरी आफैंले कुनै विषादी चिज खाई आफ्नैं कर्तव्य कर्तूतबाट आत्महत्या गरी देवी मरेको र त्यसरी आत्महत्या गरी मरेको देवीको लासलाई कालगती भनी प्र.इन्द्रप्रसाद, लक्ष्मीप्रसाद, भीमनरसिंह, तीलक नरसिंह, देवकुमारी समेतले तत्काल निश्चित गर्नु नसकी जाहेर गर्नुपर्ने लास जाहेर नगरी सेलाएकोले डं.स.१२ नं. ले ४०० का दरले जरिवाना गर्ने र विमला श्रेष्ठ, टिकालक्ष्मी, भगवान श्रेष्ठ, गङ्गा श्रेष्ठका हकमा सफाई पाउने ठहराई जाहेर गरेको छु भन्ने समेत सुनसरी जिल्ला अदालतलको जाहेरी फैसला ।

       २२. इन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकार तर्फको प्रतिवादी लक्ष्मीप्रसाद श्रेष्ठ, ईन्द्रप्रसाद, तिलकनरसिंह श्रेष्ठ, देवकुमारी श्रेष्ठ, भीमनरसिंह श्रेष्ठको पुनरावेदन ।

       २३. शुरूले सफाई दिएको मनासिव ठहर्छ देवी श्रेष्ठ बीष खुवाई मरेको भन्ने समेत प्रत्यक्ष प्रमाणको अभावमा भन्न नमिल्ने भई देवी श्रेष्ठ आफ्नो कालगतिले रोगद्वारा मरेको ठहर्छ शुरूले देवी श्रेष्ठ आफैंले कुनै विदाषी चिज खाई आफ्नै कर्तव्य कर्तूतबाट आत्महत्या गरी मरेको ठहराएको सम्म गल्ती ठहर्छ भन्ने समेत पूर्वाञ्चल क्षेत्रीय अदालतको फैसला ।

       २४. अभियुक्तहरूलाई सफाई गरेको इन्साफमा चित्त बुझ्ने प्रहरी प्रतिवेदन दावी बमोजिम सजाय हुन अनुरोध छ भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन ।

       २५. प्रहरीमा भएको माइलो भन्ने नरबहादुर कामीको बयान र डाक्टर धीरेन्द्रनाथ तरफदार एल.एम.एफ.को बयानबाट मर्ने देवी श्रेष्ठको मृत्यु प्राकृतिक मृत्यु हो भन्न सकिने अवस्था नदेखिएकोमा आफ्नै कालगतिले रोगद्वारा मरेको ठहराएको क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिएकोले छलफल निमित्त अ.बं.२०२ नं. अनुसार विपक्षी प्रतिवादीलाई नोटिस पठाई हाजिर भएपछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने स.अ.डिभिजन बेञ्चको ०३४।२।१३ को आदेश।

       २६. वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन परी आएको प्रस्तुत मुद्दामा उक्त आदेशानुसार झिकाई हाजिर रहेका प्रतिवादी ईन्द्रप्रसाद श्रेष्ठ, विमला श्रेष्ठ, भगवान श्रेष्ठलाई मिति ०३६।३।४ का दिन रोहवरमा राखी पुनरावेदक वादी तर्फका विद्वान का.मु.वरिष्ठ सरकारी अधिवक्ता श्री केदारनाथ उपाध्याय तथा जाहेरवाला सु.रामबहादुर तर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुञ्जविहारीप्रसाद सिंहको र प्रतिवादी विपक्षी ईन्द्रप्रसाद तर्फका वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र भगवान श्रेष्ठतर्फका विद्वान अधिवक्ता श्री गणेशराज शर्मा तथा विमला श्रेष्ठ तर्फका विद्वान अधिवक्ता श्री कल्याणी शर्माले गर्नुभएको बहस समेत सुनी आज निर्णय सुनाउन तोकिएको प्रस्तुत मुद्दामा पुनरावेदन जिकिर पुग्न सक्ने नसक्ने के हो सो कुराको निर्णय दिनु परेको छ ।

       २७. यसमा मिसिल संलग्न कागज प्रमाणहरूबाट देवी श्रेष्ठको मृत्युको कारण रहस्यमय भएछ । यस्तो स्थितिमा ठोस सबूद प्रमाणको अभावमा ज्यान जस्तो कसूरमा प्रतिवादीहरूलाई सजायको भागी ठहराउन नमिल्ने देखिँदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्ने देखिँदैन । तसर्थ वादी श्री ५ को सरकारतर्फको पुनरावेदन हुँदा पुनरावेदन गरेमा केही गर्नु परेन । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. बब्बरप्रसाद सिंह

 

इति सम्वत् २०३६ साल आषाढ १४ गते रोज ५ शुभम् ।