July 13, 1979
Created by nepalarchives

निर्णय नं. १२४१ – लिखत बदर

निर्णय नं. १२४१   ने.का.प. २०३६ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री माननीय न्यायाधीश श्री बासुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री...

निर्णय नं. १२४१   ने.का.प. २०३६

फुल बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयनबहादुर खत्री

माननीय न्यायाधीश श्री बासुदेव शर्मा

माननीय न्यायाधीश श्री हेरम्बराज

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३५ सालको दे.फु.नं. १८

फैसला भएको मिति : २०३६।३।२९।६ मा

निवेदक : का. जिल्ला चावहिल गा.पं.वा.नं. ७ बस्ने रूकुमकुमारी सेन ठकुरी समेत

विरूद्ध

विपक्षी : काठमाडौं जिल्ला हाल न.पं.लगनटोल बस्ने पूर्ण देवी ठकुरी १

मुद्दा : लिखत बदर

(१) आमा, छोरा र बुहारी समेत संग साथै भएको अवस्थामा आमाले कन्या छोरीलाई सम्पत्ति हस्तान्तरणको लिखत गरे पनि बुहारीको निमित्त सम्पत्ति परिवार देखि बाहिर गएको मान्नु पर्ने अवस्था नहुने ।

(प्रकरण नं. १९)

निवेदक तर्फबाट :  विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ, विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भप्रसाद ज्ञवाली, विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्त

विपक्षी तर्फबाट :  विद्वान वरिष्ठ अधिवक्ता श्री होराप्रसाद जोशी

फैसला

          न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३२।१२।१९ मा भएको फैसलाको इन्साफ जाँची पाउँ भनी प्रतिवादीहरूले श्री ५ महाराजाधिराजका हजुरमा चढाउनु भएको बिन्तिपत्रमा व्यहोरा साँचो भए मध्यमाञ्चल क्षेत्रीय अदालतबाट भएको इन्साफ जाँची कानून बमोजिम गरी छिनी दिनु भनी मौसूफ सरकारबाट बक्स भएको हुकुम प्रमाङ्गी अनुसार डिभिजन बेञ्चमा पेश हुँदा जटिल कानूनी प्रश्नको निर्णयार्थ फुल बेञ्चमा पेश गर्ने भन्ने ०३५।५।७ मा डिभिजन बेञ्चबाट भएको आदेशानुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरणहरू यस प्रकार रहेछन् :

          २.  अन्यायवाला मध्ये पावनालक्ष्मी र रूकुमकुमारी उपर अंश मुद्दामा फिराद परेकोमा तायदाती दिँदा केही छैन भनी दिएको हुँदा जुन बखत तायदाती प्राप्त हन्छ उसै बखत अंशबण्डा गरी दिने भनी ०२८।३।३० मा सर्वोच्च अदालतबाट अन्तिम फैसला भयो, पछि निजहरू उपर अंशदपोट मुद्दाहरू परी कारवाही भएको अवस्था रूकुमकुमारीले बकस दिएकोले मेरो हक हुन आएको भनी चावहिलको घर र जग्गाहरू समेत पावनालक्ष्मीले किरणचन्द्रलाई ०२६।९।११ गते हालै देखि खाने गरी बकसपत्र गरी दिई किरणचन्द्रले पनि जानकीदेवीलाई ०२७।१२।४ गते राजीनामा पास गरी दिएको भन्ने कुरा ०२८।४।६ मा नक्कल सारी हेर्दा थाहा पाएको नालिस गर्न आएको छु । ०२६।९।११ को बकसपत्र र ०२७।१२।४ को राजीनामा लिखत बदर गरिपाउँ भन्ने समेत विष्णुदेवीको फिराद ।

          ३.  वादीको लोग्ने र ससुराको हकको वादीले अंश पाउने किसिमको कुनै सम्पत्ति म जिम्मा नभएको र हाल बसिरहेको घर र जग्गा मेरो दिदीका पति ज.तेजशमशेरबाट पाएको बकसपत्रको सम्पत्ति बिक्री गरी आएको रकमबाट खरीद गरेको वादीको हक नलाग्ने मेरो आर्जनको घर जग्गा अंश मुद्दा पर्नु अगावै ०२०।१०।१२ मा छोरी पावनालक्ष्मीलाई बकसपत्र गरी पावनाले किरणचन्द्रलाई बकसपत्र दिएको किरणचन्द्रले जानकीदेवीलाई गरी दिएको राजीनामा बदर गरिपाउँ भन्ने फिरादपत्रमा मलाई प्रतिवादी तुल्याएको हुँदा फिरादै खारेज गरिपाउँ भन्ने रूकुमकुमारीको आमाको बकसपत्रबाट पाएको सम्पत्ति स्त्री अंशधनको ४ नं. ले मेरो दाइजोको सम्पत्ति वादीको हक नलाग्ने हुँदा किरणचन्द्रलाई बकस गरी दिएको हुँ भन्ने पावनालक्ष्मीको र बकसपत्रबाट प्राप्त गरेको पावनाले आफूखुशी गर्न पाउने घर जग्गा पावनाले मलाई बकसपत्र गरिदिई मेरो हक भई मैले जानकीलाई राजीनामा गरी दिएको हुँ वादीको हकै नलाग्ने घर जग्गा हुँदा वादी दावी खारेज गरिपाउँ भन्ने प्र.किरणचन्द्र समेतको एउटै प्रतिउत्तर ।

          ४.  ०३०।१२।१० मा रूकुमकुमारीले पावनालाई बकसपत्र गरी दिँदा विष्णुदेवीको उजूर नपरेको पावनाले बकस पाएको स्त्री अंशधनको ४५ नं. ले आफू खुस गर्न पाउने भई किरणचन्द्रलाई बकसपत्र गरिदिएको किरणचन्द्रबाट मैले राजीनामा गराई लिएको लिखत बदर गराई पाउँ भन्ने वादीको उजूर लाग्नै नसक्ने हुँदा झुठ्ठा फिरादबाट फुर्सद पाउँ भन्ने जानकीदेवीको प्रतिउत्तरपत्र ।

          ५.  वादी दावीको घर जग्गा दपोट गरेको ठहरी फैसला भएको सोही घर जग्गा रूकुमकुमारीले पावनालक्ष्मीलाई गरी दिएको बकसपत्र सदर नहुने हुँदा पावनालक्ष्मीले किरणचन्द्रलाई ०२६।९।११ मा गरी दिएको बकसपत्र र किरणचन्द्रले जानकीदेवीलाई गरी दिएको ०२७।१२।४ को राजीनामा लिखत बदर हुने ठहर्छ भन्ने काठमाडौं जिल्ला अदालतको फैसला ।

          ६.  खारेज गर्नु पार्ने फिराद खारेज नगरी लिखत बदर हुने ठहर्‍याई गरेको उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको प्रतिवादीहरू रूकुमकुमारी, पावनालक्ष्मी किरणचन्द्रको पुनरावेदन ।

          ७.  स्त्री अंशधनको ४ नं. ले एकलौटी हुने बण्डा गर्न नपर्ने श्रीसम्पत्ति लिनु दिनु गरेको लिखत बदर गर्ने ठहर्‍याएको इन्साफमा चित्त बुझेन भन्ने जानकीदेवीको पुनरावेदन ।

          ८.  दाइजोको सबूद रूकुमकुमारीले गुजार्न नसकेको सगोलको सम्पत्ति अंशबण्डाको १८ नं. ले विष्णुदेवी समेतको अंश लाग्ने सम्पत्ति वादीको मञ्जूरी बेगर मुद्दा परिरहेकै अवस्थामा गरेको ०२६।९।११ को बकसपत्र र ०२७।१२।४ को राजीनामामा बदर हुने ठहर्छ रूकुमकुमारीले पावनालक्ष्मीलाई गरिदिएको बकसपत्र बदरतर्फ वादी दावी पनि नभएको र सगोलको सम्पत्ति सगोलमै सर्न आएकोले केही गर्न नपर्ने समेत ठहर्छ भन्ने बागमती अञ्चल अदालतको फैसला ।

          ९.  रूकुमकुमारीले पावनालक्ष्मीलाई गरिदिएको बकस बदर गराई पाउँ भनी वादी दावी नभएको सोही बकसपत्रबाट प्राप्त भएको घर जग्गा बकस गरिदिएको लिखत कानूनले बदर गर्न लिखत बदर हुने ठहराई बागमती अञ्चल अदालतले गरेको इन्साफमा चित्त बुझेन भन्ने प्र.रूकुमकुमारी समेतको पुनरावेदन ।

          १०.  रूकुमकुमारीले पावनालक्ष्मीलाई २०२०।१०।१२ गतेको लिखत बदर गराई माग्न लेनदेन व्यवहारको १० नं. ले म्यादभित्र उजूर नपरेकोले उक्त लिखतले वादीको हक टुटिसकेको सम्पत्ति लिनु दिनु गरेको लिखत बदर हुने ठहर्‍याएको बागमती अञ्चल अदालतको इन्साफमा चित्त बुझेन भन्ने प्र.जानकीदेवीको पुनरावेदन ।

          ११.  वादी विष्णुदेवी प्र.रूकुमकुमारी र प्र.पावनालक्ष्मी समेत ३ अंशियार भएको कुरा वादी लेखबाट देखिएकै छ । वादीले यिनै प्रतिवादीहरू उपर दिएको अंशदपोट मुद्दा दपोट गरेको ठहरी फैसला भएको छ । वादी दावी अनुसारको घर जग्गाहरू मुद्दा चल्दा चल्दैको अवस्थामा वादीको मञ्जूरी बेगर नै पावनाले किरणचन्द्रलाई बकसपत्र दिई किरणचन्द्रले जानकीदेवीलाई राजीनामा गरी दिएको देखिँदा सो बकसपत्र र राजीनामा सदर हुने ठहर्‍याउन नमिल्ने हुँदा ३ अंशियारहरू मध्ये वादीको हक लाग्ने देखिएको ३ खण्डको १ खण्ड वादी विष्णुदेवीको हकसम्म बकसपत्र र राजीनामा लिखत बदर हुने ठहर्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको   फैसला

          १२.  उक्त फैसला सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष गम्भीर कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादी विष्णुदेवीको निवेदनमा पुनरावेदनको अनुमति दिन नमिल्ने डिभिजन बेञ्चको ०३३।३।१५ गतेको आदेश ।

          १३.  क्षेत्रीय अदालतको उक्त फैसलाको इन्साफ दोहोर्‍याई पाउँ भन्ने प्रतिवादी रूकुमकुमारी समेतको श्री ५ महाराजाधिराजका हजूरमा चढाउनु भएको विन्तिपत्रमा इन्साफ जाँच गरी दिनु भन्ने बक्स भई आएको हुकुम प्रमाङ्गी ।

          १४. एकासगोलमा रहेका अविवाहिता छोरीलाई आमाले बकसपत्र लेखिदिएको सगोलको सम्पत्तिलाई स्त्री अंशधनको महलको १ नं. बमोजिम छोरीको आफ्नो आर्जनको सम्पत्ति सम्झनु पर्ने वा उक्त महलको ४ नं. बमोजिम दाइजो सम्झनु पर्ने वा सगोलमा रहेको छोरीले बकस पाएको सगोलकै सम्पत्तिलाई पछिसम्म सगोलमै कायम रहेको सम्पत्ति सम्झनु पर्ने हो भन्ने यस मुद्दामा जटिल कानूनी प्रश्नहरूको निर्णय गर्नुपर्ने भएकोले सो निर्णयार्थ सर्वोच्च अदालत नियमावली, २०२१ को नियम २३ को देहाय खण्ड (घ) अनुसार फुल बेञ्चमा पेश गर्नु भन्ने डिभिजन बेञ्चको २०३५।५।७ को आदेश ।

          १५. तारिखमा रहेका निवेदकहरू रूकुमकुमारी, पावनालक्ष्मी, स्व.किरणचन्द्रको वारेस ओमकारमान जानकीदेवीको वारेस तिर्थ डंगोल र विपक्षी विष्णुदेवी ठकुरीलाई रोहवरमा राखी प्रस्तुत मुद्दा ०३६।३।१९ मा सुनुवाई भयो । किरणचन्द्र सेनको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भुप्रसाद ज्ञवाली एवं पावनालक्ष्मीको तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्णप्रसाद पन्तले बहस गर्नु भई निम्नलिखित तर्कहरू प्रस्तुत गर्नुभयो ।

१.   रूकुमकुमारीले आफ्नो दाइजोको सम्पत्ति आफ्नी छोरीलाई बकस दिएको हुँदा मुलुकी ऐन स्त्री अंशधनको ५ नं. ले वादीको दावी लाग्दैन ।

२.  यदि उक्त सम्पत्ति रूकुमकुमारीको दाइजो होइन भनेको खण्डमा पनि आमाबाट छोरीले पाएको र ३५ वर्ष नपुगी छोरी अविवाहिता भए पनि ऐनले अंशियार हुन नसक्ने हुनाले वादीको हक लाग्दैन ।

३.  यदि वादीको हक लागेको खण्डमा पनि पावनाको आफ्नो आर्जनको हुँदा आफू खुशी गर्नुपर्ने हुँदा लिखत बदर मुद्दा चल्न सक्दैन ।

४.  यदि विपक्षीको हक लाग्ने सम्पत्ति भए पनि रूकुमकुमारीको पावनालक्ष्मीलाई बकसपत्र पास गरी दिएको मिति २०२०।१०।१२ बाट ऐनको हदम्याद नघाई फिराद गरेकोले फिराद खारेज हुनुपर्दछ ।

          विपक्षी वादी विष्णुदेवी ठकुरीको तर्फबाट विद्वान अधिवक्ता श्री होराप्रसाद जोशीले बहस गर्नु भई निम्नलिखत तर्क पेश गर्नुभयो ।

१.  रूकुमकुमारीले पावनालक्ष्मीलाई बकस गरी दिएको सम्पत्ति रूकुमकुमारीको दाईजोको हो भन्ने सबूद प्रतिवादीले गुजार्न सकेको छैन ।

२.  सगोलको सम्पत्ति सगोलको परिवारको नाममा आर्जेमा अरू अंशियारहरूको हक जाने होइन ।

यसमा आज निर्णय सुनाउनु भनी तारिख तोकिएको हुनाले निर्णयतर्फ विचार गर्दा सर्वप्रथम यसमा डिभिजन बेञ्चले उठाएको निम्न लिखित जटिल कानूनी प्रश्नको निराकरण गर्ने तर्फ नै विचार गर्नुपर्ने हुन आएको छ ।

१.   एकासगोलमा रहेकी अविवाहिता छोरीलाई आमाले बकसपत्र लेखिदिएको सगोलको सम्पत्तिलाई स्त्री अंशधनको १ नं. बमोजिम छोरीको आफ्नो आर्जनको सम्पत्ति सम्झनु पर्नेमा उक्त ४ नं. बमोजिम दाइजो सम्झनु पर्ने अथवा,

२.  सगोलमा रहेकी छोरीलाई बकसपत्र लिखत भएको अथवा सगोलको सम्पत्तिलाई पछि सम्ममै सगोलमै कायम रहेको सम्पत्ति सम्झनु पर्ने ।

          १६.  उपरोक्त प्रश्नहरूको विषयमा विचार गर्दा स्त्री अंशधनको १ नं. मा भएका व्यवस्था अनुसार कन्या सधुवा वा विधवा स्वास्नी मानिसले आफ्नो आर्जनको चल अचल आफ्नो खुस गर्न पाउने देखिन्छ, तद्नुसार पावनालक्ष्मीको नाममा बकसपत्र पास भएको घर जग्गा निज पावनाको आफ्नो स्वआर्जन हुन्छ हुँदैन भन्ने कुरा विचारणीय हुन आउँछ । यस सन्दर्भमा झगडा परेको घर जग्गा रूकुमकुमारीबाट कन्या छोरी पावनाको नाममा बकसपत्र लिखत भएपछि सो घर जग्गा निज पावनाले आफ्नो एकलौटी भोग कायम गरी भोगचलन कब्जा गरेको नभई आफ्नो नाममा बकसपत्र पास हुनु भन्दा पूर्व रूप आमा रूकुमकुमारीको नाममा छँदा देखि जस्तो रूपसँग भोगचलन गर्दै आएको थियो, पावनालक्ष्मीको आफ्नो नाममा बकपत्र पास भएपछि पनि उही रूपसँग वादी विष्णुदेवी लगायत परिवारका सबै सदस्यले उही रूपसँग भोगचलन गर्दै आएको देखिन आएकोले पावनालक्ष्मीको नाममा बकसपत्र लिखतसम्म भएको भए पनि सो सम्पत्तिको स्थितिमा कुनै किसिमको परिवर्तन नभई वादी समेतको यो स्थिति भोगचलन रही आएको हुँदा झगडा परेको घर जग्गा पावनालक्ष्मीको स्वआर्जन भन्ने कुरा कतैबाट पनि देखिन नआएकोले आफ्नो आर्जनको चल अचल आफूखुश गर्न पाउने हो कि भन्ने प्रश्नको निराकरण गर्नुपर्ने स्थिति पर्न आएन । अब उक्त स्वसम्पत्ति आमा रूकुमकुमारीबाट बकसपत्र लिखत भई आएको हुनाले स्त्री अंशधनको ४ नं. बमोजिम दाइजो हुने हो होइन भन्ने प्रश्नको हकमा पनि उपरोक्त लेखिए बमोजिम केबल बकसपत्रको लिखत सम्म खडा भएको भए पनि सबै स्थिति भोगचलन कायम भइरहेको देखिन आएकोले सो सम्पत्ति पावनालक्ष्मीको दाइजो हुन्छ कि भन्ने विचार गरिरहनु पर्ने अवस्था पनि हुन नआएकोले यो सम्पत्तिलाई पारिवारिक सम्पत्ति भन्नु पर्ने भयो ।

          १७. अब मध्यमाञ्चल क्षेत्रीय अदालतबाट ०३१।१२।१९ मा भएको फैसला मिले नमिलेको के हो सो तर्फ निर्णय गर्नु पर्ने हुन आयो ।

          १८.  विवादास्पद घर जग्गा आमा रूकुमकुमारीको दाइजोको सम्पत्ति हो होइन भन्ने तर्फ हेर्दा उक्त घर जग्गा २००६।९।१५ मा देवीबहादुरसँग रू.१०,७०१। मा रूकुमकुमारीले खरीद गरी उक्त घर लिएको देखिन आउँछ सो लिखतमा रूकुमकुमारीको दाइजो रूपैयाँबाट खरीद भएको भन्ने व्यहोरा नलेखिएको र घर जग्गा खरीद गर्दा भएको लिखत बमोजिमको रूपैयाँ रूकुमकुमारीको दाइजो हो भन्ने पक्का प्रमाण कतैबाट पनि भेटिन नआएकोले रूकुमकुमारीको दाइजोको घर जग्गा हो भन्ने विद्वान वरिष्ठ अधिवक्ताहरूको जिकिर मनासिव देखिन आएन । झगडा परेको घर जग्गा दाइजो भन्ने नदेखिएकोले रूकुमकुमारीको नामबाट खरीद भएको घर जग्गा हुँदा ऐन बमोजिमका अंशियारहरूको ऐन बमोजिम हक पुग्ने घर जग्गा भन्नु पर्ने हुन आउँछ । यसरी आमा रूकुमकुमारी, छोरी पावनालक्ष्मी र बुहारी विष्णुदेवी समेत संयुक्त भएको परिवारमा रूकुमकुमारीले वादी समेतको एक परिवारको सम्पत्ति छोरी पावनालक्ष्मीलाई २०२०।१०।१२ मा बकसपत्र पास गरी दिएको पावनालक्ष्मीले ०२६।९।११ मा किरणचन्द्र सेनलाई बकसपत्र पास गरिदिएको र यसै बीच ०२१।११।२४ मा विष्णुदेवीले रूकुमकुमारी र पावनालक्ष्मी उपर अंश मुद्दा दिएको अंश मुद्दा चल्दाचल्दैको अवस्थामा ०२६।९।११ मा किरणचन्द्रलाई पावनालक्ष्मीले बकसपत्र पास गरिदिएको देखिन्छ । परिवारको कुनै एक सदस्यको नाममा सम्पत्ति रहेसम्म एउटै परिवारको सम्पत्ति हुने जब परिवारको एक सदस्यबाट अर्को कुनै व्यक्तिको नाममा सम्पत्ति हस्तान्तरण गरिन्छ तब परिवारको कुनै सदस्य जसको हकमा आघात पर्छ उसले अदालत गुहार्नु स्वाभाविकै हो । यसरी परिवारको एक सदस्य पावनालक्ष्मीबाट हक टुटाई ०२६।९।११ मा किरणचन्द्रलाई बकस गरिदिएका ऐनको म्यादभित्रै ०२८।६।३ मा प्रस्तुत फिराद परेको देखिँदा म्यादभित्रको फिराद हैन भन्ने बहससँग सहमत हुन सकिएन ।

          १९.  रूकुमकुमारीले छोरी पावनालाई बकसपत्र पास गरी दिएकोले पावनाको सम्पत्तिमा एकलौटी हक भई उनको आर्जनको सम्पत्ति भएको हुँदा वादीको हक लाग्दैन भन्ने तर्फ विचार गर्दा उपरोक्त माथि लेखिए अनुसार पावनालक्ष्मीको आर्जन कायम हुन नसक्ने माथि नै उल्लेख भइसकेको हुनाले त्यसतर्फ विचार गर्नुपर्ने भएन । आमा छोरी र बुहारी समेत सँगसाथै भएको अवस्थामा आमाले कन्या छोरीलाई सम्पत्ति हस्तान्तरणको लिखत गरे पनि बुहारी विष्णुदेवीको निमित्त सम्पत्ति परिवार देखि बाहिर गएको मान्नु पर्ने अवस्था छैन । आमामा रहे पनि छोरीमा रहे पनि उही सम्पत्तिमा बुहारीको पनि यथास्थिति भोगचलन छँदैछ भन्ने कुरा छोरीको नाममा लिखत हुँदैमा अन्तर आउने कुरो होइन यसरी आमाबाट छोरीमा लिखत भए पनि सो लिखत अनुसार छोरीले एकलौटी व्यवहार नदेखाई सनातन देखि भोगचलन गरी आए बमोजिम वादी विष्णुदेवी समेतले भोगचलन गरी आएको अवस्थामा कन्या छोरी पावनालक्ष्मीको मात्र एकलौटी हक हुन्छ भन्ने तर्क गर्नु युक्तिसंगत हुँदैन तसर्थ सो सम्पत्तिलाई पावनालक्ष्मीको आर्जनको भन्ने जिकिरसँग सहमत हुनसकिएन ।

          २०. अब वादीको उक्त सम्पत्तिमा के कति अधिकार रहेछ भन्नेतर्फ विचार गर्दा अंशबण्डाको १८ नं. ले वादी विष्णुदेवी समेतको अंश हक सगोलको घर जग्गा अंश मुद्दा पर्दा पर्दैको अवस्थामा वादीको मञ्जूरी बेगर नै पावनालक्ष्मीले किरणचन्द्रलाई बकसपत्र र किरणचन्द्रले पनि जानकीदेवी पन्तलाई राजीनामा गरिदिएको देखियो । माथि तर्क गरिए अनुसार मुद्दा पर्दा पर्दैको अवस्थामा विष्णुदेवीको मञ्जूरी बेगर गरिदिएको बकसपत्र र राजीनामाहरू लेनदेन व्यवहारको १० नं. ले सदर हुन्छ भनी ठहर्‍याउन मिल्ने नदेखिएकोले समेत विवादको घर जग्गाहरू मध्ये ३ खण्डको १ खण्ड बदर गर्ने गरी मध्यमाञ्चल क्षेत्रीय अदालतले निर्णय गरेको मनासिवै देखिँदा समुचा लिखत सदर हुनुपर्ने भन्ने निवेदन जिकिर पुग्न सक्ने देखिएन । इन्साफ जाँचको लागि प्राप्त भएको हुँदा कसैलाई केही गरिरहन परेन मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामी सहमत छौं ।

 

प्र.न्या. नयनबहादुर खत्री,

न्या. त्रैलोक्यराज अर्याल,

न्या. ब्बरप्रसाद सिंह

 

मा.न्या. श्री हेरम्बराजको राय :

          २१.  यसमा डिभिजन बेञ्चले उठाएका प्रश्नहरूको समाधान यसरी हुन सक्तछ ।

(१)  पावनालक्ष्मीको दाइजो हुन्छ हुँदैन भन्नेमा स्त्री अंशधनको ४ नं. ले अधिकार गर्दैन । निजको आर्जन हुन्छ । १ नं. अनुसार आफूखुसी गर्न पाउँछ ।

(२)  कन्या भए पनि छोरीको आर्जन अंशबण्डाको २० नं. ले बण्डा गर्नु पर्दैन अंशबण्डाको १८ नं. ले अंशियारमा लागेको ऋण धन बण्डा हुन्छ १ नं. मा अंशियारको परिभाषा भित्र छोरी पर्दैनन् ।

          २२. यसमा प्रश्नको समाधान गर्नु अघि यो बिक्रीको सम्पत्ति मेरो दाइजोले बढाएको हो भनी अंश मुद्दाको ०२३।१।१२ गतेको तायदातीमा लेखेको साथसाथै १९९०।६।१० गते ज.तेजशमशेरको बकसपत्रको घर जग्गा विश्वराज कुमारीलाई रू.१७५०१। मा बिक्री भएपछि देवीबहादुरसँग रूकुमकुमारीले २००६।९।११ मा खरीद गरेको सम्पत्ति हो लिखतबाट तत्काल प्रचलित मुलुकी ऐन दानदातव्यको महलको ४ नं. ले रूकुमकुमारीको दाइजो देखिनाले आफ्नो दाइजोमा रूकुमकुमारीले गरेको व्यवहार सदरै रहन्छ ।

          २३. यस्तो लिखत बदरमा रूकुमकुमारीले पावनालक्ष्मीलाई ०२०।१०।१२ मा गरेको रैकरको जग्गाहरूको बकसपत्र मुख्य आधार छ त्यसलाई बदर गराउन दानदातव्यको महलको ५ नं. को म्यादभित्र उजूर नगरेको यो ०२८।६।३।१ मा गरेको उजूरीबाट पावना किरण चन्द्रलाई बकस गरेको निजको नाउँमा दर्ता भइसकेको लिखतको मिति ०२६।९।११ बाट देखिएकोले दानदातव्यको महलको ५ नं. को म्याद वर्ष २ गुज्री सकेकोबाट पनि हदम्याद नाघेकोले फिरादबाट लिखत बदर हुन सक्दैन ।

          २४. यस घर जग्गालाई वादीले अंश मुद्दाको तायदाती मुचुल्का ०२३।१।१२ गतेपछि दपोट तर्फबाट ०२७।४।७ मा फिराद गरेको मुद्दा चल्दा चल्दै लिखत बदर तर्फबाट हक कायम गर्न ०२८।६।३ मा दोहरो फिराद परेको यस्तो मुद्दा अ.बं.८५ नं. को प्रतिकूल हुन्छ तसर्थ प्रस्तुत फिराद खारेज हुन्छ । खारेज हुने फिरादबाट इन्साफ गरेको म.क्षे.अ.समेतको फैसला गल्ती छ ।

न्या. हेरम्बराज

 

इति सम्वत् २०३६ साल आषाढ २९ गते रोज ६ शुभम् ।