निर्णय नं. २५२९ – उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय नं. २५२९ ने.का.प. २०४२ अङ्क ११ डिभिजन बेञ्ज इजलाश सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत्...
निर्णय नं. २५२९ ने.का.प. २०४२ अङ्क ११
डिभिजन बेञ्ज
इजलाश
सम्माननीय प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
सम्वत् २०४१ सालको रिट नं. ६०२
विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ ।
निवेदक :का.जि.मनमैजू गा.पं.वडा नं.३ फटुङ्ग बस्ने कान्छी भन्ने ईश्वरी खत्रिनी ।
विरुद्ध
विपक्षी :भूमि सुधार कार्यालय काठमाडौं ।
का.जि.मनमैजू गा.पं.वडा नं.४ फटुङ्ग बस्ने टिका बहादुर खत्री क्षेत्री ।
आदेश भएको मिति:२०४२।११।५।१ मा
विदेश गएको भन्ने देखिएको निज विदेश गए पनि निजको दायित्व बाली बुझाउनु पर्ने नै हुँदा बाली भराई पाउने ।
(प्रकरण नं. १०)
विदेशिएको मोहीको नाम कट्टा गर्ने गरी प्रत्यर्थी भूमि सुधार कार्यालय काठमाडौंबाट गरेको निर्णय त्रुटिपूर्ण छ भन्न सकिने अवस्था नहुँदा निवेदिकाको माग अनुसारको आदेश जारी गर्न नमिल्ने ।
(प्रकरण नं. १०)
निवेदिका तर्फबाटःX
विपक्षी तर्फबाटः विद्वान सरकारी सह-न्यायाधीवक्ता श्री बलीराम कुमार
उल्लेखित मुद्दाःX
आदेश
प्र.न्या.धनेन्द्र बहादुर सिंहः भूमि सुधार कार्यालय काठमाडौंको ०४१।१०।२८ को निर्णय पर्चा बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ :
२. भू.सु.प्रारम्भ हुनु अघि देखी फुटुङ्ग गा.पं.वा.नं.४ को कि.नं.३४ को सिम खेत रोपनी १–३–० कित्ता जग्गाको जग्गाधनी जोगमन भएको निवेदकले मोहीमा कमाई आएकोमा नापीको समय निवेदिकाको पति लालबहादुर जेठाजु टिकाबहादुरसमेतसँग सगोलमा बसी आएको र हालसम्म पनि सगोलै छ । नापी समयमा निवेदिकाको पतिले सगोलका जेठाजुको छोरा कैले खत्रीको नाउँमा उल्लिखित जग्गाहरूमा मोहीमा लेखाई दिनु भएछ । कैले खत्री ०१८ सालदेखि विदेश गएको कारण उक्त जग्गा म निवेदीकाले मोहीको हैसियतले जोती आएको छु । विपक्षी टिकाबहादुरले उक्त जग्गा साविक जग्गाधनी जोगमानबाट खरीद गरी लिएपछि विपक्षीले बाली नबुझेको हुँदा धरौट राखी आएकोछु । विपक्षीले कैले खत्रीको नामको लगत कट्टा गरिपाउँ भनी भू.सु.का.मा निवेदन दिई कारवाही चलाएको पश्चात विपक्षी टिकाबहादुरले निवेदिका समेत उपर बाली भराई निष्कासन गरिपाउँ भनी उजूरी दिएकोमा बाली भराई दिने निष्कासन नगर्ने ठहराई ०३८।१०।७ मा अन्तिम निर्णय भएको छ । मोही लगत कट्टा गरी पाउँ भन्ने निवेदनमा वादीदावी खारेज गर्ने ठहराई ०४०।५।५ मा निर्णय भए उपर विपक्षको रिट पर्दा खारेज गरेको मिलेन । सबूद प्रमाण बुझी निर्णय गर्नु भनी परमोदश जारी भई गएकोमा कारवाई हुँदा हाल विदेशीएको व्यक्तिको नाउँमा रहेको मोहियानी हकको जग्गा भू.सं.ऐनको दफा ३४ अनुसार कबूलियतको अभावमा निवेदिकालाई मोही कायम गर्न मिलेन, कैले खत्री उपस्थित भएमा निजको मोही हक कायम गर्न मन्जूर छु भनी वादीले कागज गरेको देखिँदा मोही लगतबाट बिदेशिएको मोहीको नामसम्म कट्टा हुने ठहर्छ भनी विपक्षी कार्यालयबाट ०४१।१०।२८ मा निर्णय गरियो ।
३. उल्लेखित जग्गा निवेदिकाले जोती आएको तथ्य निर्विवाद छ । नापीको समयमा मोहीमा कैले खत्री लेखिएको भएपनि निवेदिका मोही भई जोती आएको कुरा ०१८ साल देखि कैले खत्री बेपत्ता भएको तथ्यलाई स्थानीय पञ्चायतले समर्थन गरेकोछ । भू.सु.लागू हुनु पूर्वदेखि निवेदकले मोहीकोहैसियतले जोती कमाई आएको छु । सबूदप्रमाणको मूल्याङ्कन नगरी भएको निर्णय त्रुटिपूर्ण छ । निवेदिकाको मोही हक स्थापित हुन नसक्ने अवस्थै छैन । निवेदिकालाई मोही कायम नगर्ने गरेको भू.सु.ऐन, ०२१ को दफा २५(२) समेतको त्रुटि छ । उत्प्रेषण वा उपयुक्त आज्ञा, आदेश जारी गरी हक प्रचलन गरिपाउँ भन्ने रिट निवेदन ।
४. विपक्षीसँग लिखिन जवाफ लिने भन्ने समेत सर्वोच्च अदालत सिंगल बेञ्जको ०४२।२।३० को आदेश ।
५. मोही कैले खत्री विदेश गई हाल बेपत्ता रहेको भन्ने पञ्चायतको सिफारिश निजको कान्छी आमा र वादीको बयानबाट समेत देखिन आएकोले इश्वरी खत्रीको नाम कायम गर्न नमिल्ने र निज व्यक्ति फर्किआएमा पुनः मोही कायम गर्न मन्जूर छ भनी कागज गरी दिएकोले विदेशीएको मोहीको नामसम्म कट्टा गर्ने गरी यस कार्यालयबाट भएको निर्णय कानुन बमोजिम नै भएकोले रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भूमि सुधार कार्यालय काठमाडौंको लिखिन जवाफ ।
६. विपक्षीलाई रिट निवेदन गर्ने हकदैया नपुग्ने हुनाले खारेज हुनुपर्दछ । साविक मोही कैले खत्री विदेशीई बेपत्ता भएको कुरामा विवाद छैन । विदेशीई बेपत्ता भएका मोहीको नामसम्म काटी दिने गरेको निर्णयमा कुनै कानुनीत्रुटि छैन विपक्षीको नाउँमा २ नं.अनुसूची प्रकाशित भएकोछैन । विपक्षीले यो जग्गा मोहीको हैसियतले जग्गा जोतेको छैन तसर्थ रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत टिकाबहादुर खत्रीको लिखिन जवाफ ।
७. निवेदिका ईश्वरी खत्री प्रत्यर्थी टिकाबहादुर खत्री रोहवरमा रही पेश हुन आएकोमा प्रत्यर्थी कार्यालयतर्फबाट बहस गर्न उपस्थित विद्वान सह–न्यायाधीवक्ता श्री बलिरामकुमारले खास दर्तावाला मोही कैले खत्री हो । निवेदिका मोही भन्ने कुराको कुनै प्रमाण छैन । मोही कैले खत्री विदेशीएकोले मोही लगत कट्टा गर्ने गरेको भू.सु.का.को निर्णयमा कुनै त्रुटि नहुँदा रिट खारेज हुनु पर्दछ भन्ने समेत बहस गर्नु भयो ।
८. प्रस्तुत मुद्दामा निवेदकको माग अनुसारको आदेश जारी हुनु पर्ने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा कायम भएको मोही कैले खत्री विदेश गएको बेपत्ता रहेको भन्ने पञ्चायतको सिफारिश ईश्वरी खत्रीको बयान तथा वादीको निवेदनबाट देखिन आयो । कबूलियतको अभावमा ईश्वरी खत्रीको नाम कायम गर्न मिलेन । निज उपस्थित भएमा मोही कायम गर्न मन्जूर छु भनी वादीले कागज गरेको देखिँदा मोही लगतबाट विदेशीएको मोहीको नामसम्म कट्टा हुने ठहर्छ भनी प्रत्यर्थी भू.सु.का.काठमाडौंबाट निर्णय गरेको देखिन्छ ।
१०. रिट निवेदकले भू.सु.प्रारम्भ हुनु अघिदेखि मोहीमा कमाई आएको भन्ने निवेदन जिकिर छ । मोही कायम हुनको लागि १ नं.लगत भरी २ नं.अनुसूची प्रकाशित भई ४ नं.जो.अ.नि.प्राप्त गरेको वा कबूलियत गरी कमाएको हुनुपर्छ । तर रिट निवेदिकाले सो जग्गाको उक्त लेखिए अनुसार १ नं.लगत भरेको २ नं.अनुसूची प्रकाशित भएको ४ नं.जो.अ.नि.प्राप्त गरेको छु भनी रिट निवेदनमा जिकिर लिन र त्यस कुराको सबूद प्रमाण पेश गर्न सकेको छैन । साथै कबूलियत गरी जग्गा कमाएको भन्ने र कबूलियत प्रमाणमा पेश गर्न सकेको पनि छैन । विपक्षी टिकाबहादुरले निवेदिका समेत उपर बाली भराई निष्कासन गरिपाउँ भनी उजूरी दिएकोमा बाली भराई दिने निष्कासन नगर्ने ठहराई ०३८।१०।७ मा निर्णय भएको भन्ने रिट निवेदनमा उल्लेख भएतर्फ हेर्दा प्रतिवादी कैले खत्री विदेश गएको भन्ने देखिएको निज विदेश गए पनि निजको दायित्व बाली बुझाउनु पर्ने नै हुँदा बाली प्रतिवादीबाट वादीले भराई पाउने ठहर्छ । निष्कासनको हकमा विदेश गएको भन्ने हुँदा निष्कासन नगर्ने भनी भू.सु.का. काठमाडौंबाट ०३८।१०।७ मा निर्णय गरेको पाइन्छ । सो निर्णयबाट पनि कैले खत्री नै मोही कायम भएको देखिन्छ । रिट निवेदीकालाई मोही कायम गरेको देखिँदैन । अरु रिट निवेदिका मोही भएको भन्ने कुराको तथ्ययुक्त आधार देखिन आएन । तसर्थ विदेशीएको मोहीको नाम कट्टा गर्ने गरी प्रत्यर्थी भूमि सुधार कार्यालय काठमाडौंबाट गरेको निर्णय त्रुटिपूर्ण छ भन्न सकिने अवस्था नहुँदा निवेदिकाको माग अनुसारको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वी बहादुर सिंह
इतिसम्वत् २०४२ साल फाल्गुण ५ गते रोज १ शुभम् ।