निर्णय नं. २५२६ – उत्प्रेषण मिश्रीत परमादेश
निर्णय नं. २५२६ ने.का.प. २०४२ अङ्क ११ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव माननीय न्यायाधीश श्री...
निर्णय नं. २५२६ ने.का.प. २०४२ अङ्क ११
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४२ सालको रिट फुल बेञ्च नं. ३६
विषय : उत्प्रेषण मिश्रीत परमादेश ।
निवेदक :जिल्ला बझाङ पौवागढी गा.पं.वडा नं.७ घर भै हाल कोष तथा लेखा नियन्त्रक कार्यालय बझाङमा सह लेखापाल पदमा कार्यरत रामचन्द्र जोशी।
विरुद्ध
विपक्षी :सेती अञ्चलाधिशको कार्यालय धनगढी ।
सहायक अञ्चलाधीश,सेती अञ्चलाधीशको कार्यालय धनगढी ।
सेती अञ्चल अदालतका अञ्चल न्यायाधीश अध्यक्षतामा गठित वढुवा समिति मुकाम सेती अञ्चल अदालत डोटी ।
जिल्ला कार्यालय भूमि सुधार शाखा बझाङमा कार्यरत धननाथ जैशि ।
ऐ. कृषी शाखा बाजुरामा कार्यरत डबल बहादुर सिंह ।
कृषि फर्म मागेतडा डोटीमा कार्यरत चेतराज जोशी ।
आदेश भएको मिति: ४२।११।२१।३ मा
कार्य दक्षता एवं अनुभवको आधारमा बढुवा पाउने कर्मचारीको हक पनि हो, कुनै अधिकारीको गल्ती वा भूलले कुनै निजामती कर्मचारीलाई बढुवाको कानुनी हकबाट वञ्चित गर्न नमिल्ने ।
(प्रकरण नं. १५)
अस्थायी नोकरी बापत कसैलाई अंक प्रदान गर्ने र कसैलाई अंक प्रदान नगर्ने बढुवा समितिको निर्णयलाई न्यायोचित भन्न नसकिने ।
(प्रकरण नं. १६)
निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री दमन ढुंगाना र विद्वान अधिवक्ता श्री प्रकाश वस्ती
विपक्षी तर्फबाट :विद्वान सह–न्यायाधीवक्ता श्री बलिराम कुमार र विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री बालकृष्ण न्यौपाने र विद्वान अधिवक्ता श्री शिवराज अधिकारी
उल्लेखित मुद्दाःX
आदेश
न्या.सुरेन्द्र प्रसाद सिंह: डिभिजन बेञ्ज समक्ष पेश हुँदा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकी सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३(क) बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. मिति २०३४।२।२७ देखि २०३६।४।६ सम्म गा.फ.रा.अ.जि.स.बाजुरामा अस्थायी स.ले.पा. भई कामगरेकोमा स्थायी भई सहकारीशाखा बझाङमा पोष्टिङ भयो नोकरीअवधि निजामती किताब खानामा पनि जोडियो । मिति २०४०।६।७ मा लेखापाल पदको लागि बढुवाको सूचना प्रकाशित हुँदा दर्खास्त दिएकोमा आफ्नो नाम प्रकाशित नभएकोले अञ्चलाधिश समक्ष पुनरावेदन दिएँ । सहायक अञ्चलाधिशले जानकारी गराउनु भएको निर्णयमा विवरण फारम नं.२ मा अस्थायी सेवामा काम गरेको विवरण नभरेको आधारमा उजूरी आधारहिन ठहर्याई ३ अंक कट्टा गरिएको जानकारी मिति २०४१।३।१२ मा पाएँ ।
३. दर्खास्त साथ अस्थायी नियुक्ति र नोकरी जोडिएको निजामती किताबखानाको पत्र पेश गरेको छु । फाराम नं.५ मा शुरु देखिको नोकरी अवधि प्रष्ट देखाएको छु । लोकसेवा आयोग (कार्यविधी) नियमहरू, २०२७ को नियम २७ ले आवश्यक कागजपत्र मगाउनु पर्ने दायित्वबाट पन्छन मिल्ने होइन । नम्बरको आधारमा योग्य व्यक्तिलाई बढुवा गर्नु पर्ने हो । नियमानुसार अंक पाएमा विपक्षी नं.४ को भन्दा मेरो अंक बढी हुन्छ । अस्थायी सेवा अवधि देखिइरहेकोमा त्यसलाई मान्यता नदिएको नि.से.नि.को नियम ३.३(९) र ३.५ को प्रतिकूल छ । विपक्षी डबलबहादुरको दर्खास्त दिंदा स्थायी सेवा अवधि ३ वर्ष पुगेको छैन । विपक्षी नं.५ र ६ दुबैजना लेखा समूहका होइनन् । मेरो आधारपूर्ण उजूरीलाई आधरहिन भनी ३ अंक कट्टी गरेको नि.से.नि.३, ५, ११ को प्रतिकूल छ । तसर्थ विपक्षी नं.१, २ को ले विपक्षी नं.४, ५, ६ लाई बढुवा गर्ने गरेको निर्णयहरू उत्प्रेषणको आदेशद्वारा बदर गरी मलाई बढुवा दिनु भनी परमादेशको आदेश समेत जारी गरिपाउँ भने समेत रिट निवेदन ।
४. विपक्षीहरूबाट लिखिन जवाफ मगाई आए पछि नियमानुसार पेश गर्नु भन्ने समेत यस अदालत सिंगल बेञ्जको आदेश ।
५. यस कार्यालयबाट मिति २०४१।२।११ मा भएको अधिकृत निर्णय अनुसार जानकारी दिने पत्रमा सहायक अञ्चलाधिशको हैसियतले सहीसम्म गरिदिएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत विपक्षी सहायक अञ्चलाधिशको लिखिन जवाफ ।
६. रिट निवेदकले कार्यालयबाट प्रमाणित गराई पेश गरेको वैयक्तिक नोकरी विवरण फाराम नं.२ मा अस्थायी सेवा अवधि उल्लेख नगरेकोले मूल्यांकन नगरिएको हो । डबलबहादुर सिंह मिति २०२६।५।६ देखि भू.सु.का.बझाङको व.स.नि.पदमा अस्थायी भई मिति २०३७।४।१५ मा लोकसेवा आयोगको सिफारिश बमोजिम सह–लेखापालमा स्थायी भई कृषि शाखा, हुम्लामा नियुक्ति भएकोले निजको एक तह मुनि नोकरी अवधि ३ वर्ष ३ महिना १५ दिन पुगेको देखिँदा अवधि पुगेको छैन भन्ने जिकिर आधारहिन छ । निजलाई लेखा समूहको होइन भन्न मिल्दैन । चेतराज कृषि फार्म डोटीको ख.पदबाट लेखातर्फको समान स्तरको तत्काल नायव लेखापाल (स.ले.) पदमा परिवर्तन भई लेखा भत्ता ख्वाउन समेत म.ले.नि.का.(लेखा भत्ताशाखा) बाट मिति २०३३।१२।१७ र २०३३।१२।१९ मा लेखी आएको भन्ने कृषि विभाग (आर्थिक प्रशासन शाखा) को पत्रको प्रमाणित प्रतिलिपिबाट देखिँदा त्यसतर्फ पनि निवेदकको जिकिर कायम नरहेको प्रष्ट छ । बढुवा सम्बन्धी उजूरीको निर्णय गर्ने अधिकार यस कार्यालयलाई प्रत्यायोजन गरिएको मिति २०३६।११।२७ को राजपत्रमा प्रकाशित भएकोले अनाधिकार निर्णय भन्न मिल्दैन भन्ने समेत सेती अञ्चलाधिश कार्यालयको लिखिन जवाफ ।
७. म २०२६ सालदेखि सेवारत भई २०३७।४।१५ मा स्थायी सह–लेखापाल भएको हुँ । उक्त नियुक्ति पत्रमा मिति २०३७।३।३० को निर्णय भन्ने उल्लेख भएकोले सोही मितिबाट नोकरी गणना हुने कुरामा विवाद छैन । लेखापालको बढुवाको लागि फर्म भरी बढी अंक प्राप्त गरी बढुवा भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत डबलबहादुर सिंहको लिखिन जवाफ ।
८. म २०३० सालदेखि डोटी कृषि फार्मको खरिदार पदमा कार्यरत रही आएकोमा समान स्तरको लेखातर्फको नायव लेखापाल (स.ले.पा.) मा दज्र्यानी परिवर्तन गरी आएको लेखा भत्ता ख्वाउने भनी म.ले.नि.का.को मिति २०३३।१२।१७ र २०३३।१२।१९ मा लेखी आएको भन्ने कृषि विभागको पत्रको प्रतिलिपि पेश गरेकोले लेखा समूहको होइन भन्न मिल्दैन । तसर्थ रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत चेतराज डोलीको लिखिन जवाफ ।
९. रिट निवेदकले अस्थायी अवधि फाराम नं.२ मा उल्लेख नगरेकोले नजोडिएको हो निजले कति अंक पाउने भन्ने यस अदालतबाट निरोपण हुन सक्दैन । नि.से.नि.को ३.३(७) राजपत्र अनंकितलाई लागू हुँदैन तसर्थ रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत धनन्जय जैशीको लिखिन जवाफ ।
१०. निर्णयार्थ डिभिजन बेञ्ज समक्ष पेश हुँदा निजामती सेवा नियमावली, २०२१ को अनुसूची ५ को निजामती कर्मचारीको वैयक्तिक नोकरी विवरणहरूका सम्बन्धमा आफ्नो विभागीय वा कार्यालय प्रमुखबाट प्रमाणित गरी सम्बन्धित कर्मचारी स्वयंले निर्धारित ढांचामा सबै विवरणहरू भरी तोकिएको समयभित्र निजामती किताबखानामा सूचना गर्नु पर्ने छ, भन्ने उल्लेख भएको देखिन्छ । यसबाट फाराम नं.२ रिट निवेदक स्वयंले भर्नु पर्ने दायित्व हो भन्ने स्पष्ट हुन्छ । नोकरी विवरण फाराम नं.२ मा अस्थायी नोकरी अवधिको विवरण रिट निवेदकले नभरेको भन्ने कुरा रिट निवेदक स्वयंले स्वीकार गरेकोबाट फाराम नं.२ भर्नु पर्ने दायित्व भएको रिट निवेदकले आफ्नो दायित्व पूरा नगरी अस्थायी नोकरी अवधिको विवरण नभरेको अवस्थामा मूल्यांकनकर्ताले सो अस्थायी नोकरी अवधिको अंक नदिइएकोलाई त्रुटिपूर्ण भन्न सकिने स्थिति रहेन । वर्गीकृत क्षेत्रहरूमा काम गरेको विवरण नं. ५ मा उक्त अस्थायी नोकरी अवधिको विवरण भरेको हुँदा त्यसैबाट मूल्यांकन हुनु पर्ने भन्ने जिकिरको हकमा जेष्ठता बापत अंक दिईदा फाराम नं.२ बाट दिइने र वर्गीकृत क्षेत्रहरूमा काम गरे बापत अंक दिईंदा फाराम नं.५ बाट दिइने हुँदा फाराम नं.२ र फाराम नं.५ बेग्लाबेग्लै प्रयोजनका लागि हुन् भन्ने प्रष्ट देखिन्छ । एउटा प्रयोजनका लागि भरिएको फारामबाट अर्को प्रयोजनको लागि समेत अंक दिइनु पर्ने भन्न मिल्दैन। तसर्थ रिट निवेदक स्वयंले नोकरी विवरण फाराम नं.२ मा अस्थायी नोकरी विवरण नभरेकोले सो अस्थायी नोकरी अवधिको अंक नदिने गरी रिट निवेदकलाई बढुवा नगर्ने गरेको बढुवा समितिको मिति २०४०।९।२६ को निर्णय र सो उपर परेको उजूरी आधारहिन ठहराएको अञ्चलाधिश कार्यालयको मिति २०४१।२।११ को निर्णय कानुनसंगत नै देखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन प्रस्तुत रिट निवेदन खारेज हुनेठहर्छ भन्ने समेत मा.न्या.श्री पृथ्वी बहादुर सिंहको राय ।
११. रिट निवेदकले नोकरी विवरण फाराम नं.२ मा अस्थायी नोकरी अवधि नभरेको भए पनि वर्गीकृत सेवाहरूमा काम गरेको विवरण फाराम नं.५ मा उक्त अस्थायी नोकरी अवधि भरेको भन्ने कुरामा विवाद छैन । साथै रिट निवेदकले बढुवा फारामको साथमा निजको अस्थायी सेवा अवधिको नोकरी जोडिएको निजामती किताबखानाको मिति २०३८।२।१६ को पत्रको प्रतिलिपिसमेत पेश गरेको देखिन्छ । यसरी बढुवा समिति समक्ष मूल्यांकनको लागि पेश भएको फाइलमा रहेको उक्त पत्रको प्रतिलिपि तथा फाराम नं.५ मा भरिएको अस्थायी सेवा अवधि विवरणबाट रिट निवेदकले मिति २०३४।२।२७ देखि २०३६।४।६ सम्म अस्थायी रुपमा काम गरेको र त्यसलाई अविच्छिन्न राखी स्थायी भएको भन्ने कुरा प्रष्ट देखिई रहेको छ । यस्तो अवस्थामा आफू समक्ष भएको कागज प्रमाण नहेरी फाराम नं.२ मा अस्थायी नोकरीको विवरण नभरेको भनी त्यतिकै आधारमा उक्त अस्थायी सेवा अवधि अंक रिट निवेदकलाई नदिनु कानुनसंगत भएको भन्न मिल्दैन । त्यतिबाट केही कुरा प्रष्ट नभएमा सम्बन्धित व्यक्तिलाई बुझ्ने वा सम्बन्धित कागजात मगाउनु पर्ने दायित्वबाट बढुवा समिति पन्छन मिल्दैन । तसर्थ फाराम नं.२ मा अस्थायी सेवा अवधि नभरेको भनी रिट निवेदकलाई सो अस्थायी नोकरी अवधिको अंक नदिने गरेको बढुवा समितिको मिति २०४०।९।२६ को निर्णय तथा त्यस उपरको उजूरीलाई आधारहिन ठहराएको सेती अञ्चलाधिशको मिति २०४१।२।११ को निर्णय त्रुटिपूर्ण हुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । पुनः कानुन बमोजिम निर्णय गर्नु भनी विपक्षी बढुवा समितिको नाममा परमादेशको आदेश जारी गरिएको छ, भन्ने माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय भई मिति २०४२।४।२० मा निर्णय भएको रहेछ ।
१२. निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री दमन ढुंगाना तथा श्री प्रकाश वस्तीले निवेदकले अस्थायी नोकरी गरेको अवधिको सम्बन्धमा बढुवा दर्खास्त फाराम भरेको छ । नोकरी अवधि जोडिएको निजामती किताबखानाको पत्र पेश गरेको छ । सो विवरणबाट पनि केही कुरा अस्पष्ट भएमा आवश्यक विवरण मगाउने दायित्वबाट विपक्षी बढुवा समिति पन्छन सक्दैन । अस्थायी सेवा गरे वापत कसैलाई अंक दिने र कसैलाई अंक नदिने गरी गरेको विपक्षीको निर्णय त्रुटिपूर्ण छ र अस्थायी सेवा अवधि जोडिएकोबाट निवेदकको बढुवा पाउने कुरा निश्चित हुँदा रिट आदेश जारी गर्न गरेको माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो । साथै अधिवक्ता श्री प्रकाश वस्तीले निवेदकको तर्फबाट बहस नोट समेत पेश गर्नु भयो । विपक्षी बढुवा समितिको तर्फबाट विद्वान सह–न्यायाधीवक्ता श्री बलिरामकुमारले भर्नु पर्ने ठाउँमा निवेदकले अस्थायी नोकरीको विवरण भरेको छैन अनुसूची नं.५ मा भरेको भन्ने पनि छैन तसर्थ रिट निवेदन खारेज हुनुपर्छ भन्ने, विपक्षी डबलबहादुरको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठले मेरो पक्षको नोकरी अवधि तीन वर्ष पुगेको हुँदा उम्मेदवार बन्न सक्छ भन्ने तथा विपक्षी धनन्जय जैशीको तर्फबाट विद्वान अधिवक्ताहरू श्री बालकृष्ण न्यौपाने र श्री शिवराज अधिकारीले अस्थायी नोकरी वापतको अंक दिने नि.से.नि.को व्यवस्था राजपत्राङ्कित कर्मचारीको हकमा मात्र हो राजपत्र अनंङ्कितको हकमा हैन । एक प्रयोजनको लागि खडा भएको फाराममा उल्लेख गरेको विवरणबाट अर्को प्रयोजनको लागि अंक प्रदान गर्न मिल्दैन । तसर्थ रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
१३. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत रिट निवेदनमा निर्णयतर्फ हेर्दा मिति २०३४।२।२७ देखि २०३६।४।६ सम्म अस्थायी स.ले.पा.भई काम गरेको र सोही अवधिमा स्थाई सेवा नियुक्ति पाएकोले सेवामा निरन्तरता छ । निजामती किताबखानामा नोकरी अवधि जोडिएको छ । मिति २०४०।६।७ मा बढुवाकालागि सूचना प्रकाशित भई दर्खास्त दिएकोमा मभन्दा कम अंक हुने व्यक्तिलाई बढुवा दिइयो । सो उपर अञ्चलाधिश कार्यालयमा उजूरी दिएकोमा उजूरीलाई आधारहिन ठहराइयो भन्ने कुरा उल्लेख गर्दै मैले बढुवा दर्खास्तसाथ अस्थायी नियुक्ति र अस्थायी नोकरी जोडिएको पत्र पेश गरेको छु । बढुवा फाराम नै नभरेकोमा समेत बढुवा दिनु पर्ने भन्ने नि.से.नि.को नियम ३.३(७) को परिप्रेक्ष्यमा मैले आफूले मिति २०३४।२।२६ देखि अविछिन्न नोकरी गरेको र सो नोकरी समेत जोडिएको अधिकारपत्र प्रस्तुत गरेकोमा २ नं.फाराममा अस्थायी सेवाअवधि नभरेको भनी विपक्षी निकायहरू आफ्नो दायित्वबाट पन्छिनसक्ने होइनन् । लोकसेवा आयोग (कार्यविधी) नियमहरू, २०२७ को नियम २७ ले आवश्यक कागजात मगाउनु पर्ने दायित्वबाट विपक्षी निकायहरू पन्छिन मिल्दैन भन्ने निवेदकको जिकिर देखिन्छ ।
१४. दर्खास्त फाराममा अस्थायी नोकरी अवधिको विवरण भर्नु पर्ने फाराम नं.२ मा निवेदकले उक्त अस्थायी नोकरीको विवरण नभरेको भन्ने कुरामा कुनै शंका छैन । उक्त फाराम नं.२ मा नभरी अन्यत्र भरेको अवस्थामा र अस्थायी नोकरी अवधि जनाउने नियुक्ति पत्र तथा सेवा जोडिएको निजामती किताबखानाको पत्र बढुवा फारामसाथ पेश गरेको भन्ने निवेदन जिकिरको सन्दर्भमा उक्त विवरणहरूको आधारमा बढुवा समितिले बढुवाको लागि अस्थायी सेवा अवधि वापतको अंक दिनु पर्ने हो होइन ? भन्ने प्रश्न प्रस्तुत रिट निवेदनमा उत्पन्न हुन आएको छ र यसै विषयमा डिभिजन बेञ्जमा माननीय न्यायाधीशहरू बीच मतैक्य हुन नसकेको देखिन्छ।
१५. निवेदकले अस्थायी नोकरीको विवरण फाराम नं.२ मा तथा फाराम नं.५ मा पनि भरेको नभई फाराम नं.१० मा भरेको प्राप्त फाइलबाट देखिन्छ । अर्थात निवेदकले बढुवा फाराममा कुनै न कुनै ठाउँमा आफ्नो अस्थाई नोकरीको विवरण भरेको छ र सो सम्बन्धमा आवश्यक कागजातहरू पेश गरेको र उक्त कागजातहरूबाट निवेदकले गरेको अस्थायी सेवाको अवधि खुल्ने देखिन्छ । बढुवाको लागि प्रकाशित सूचनाको म्यादमा दर्खास्त पेश नगर्ने उम्मेदवारको हकमा समेत त्यस्तो दर्खास्त पेश नभएको करणबाटै निजको नाम उम्मदेवारको सूचीबाट हटाइने छैन भन्ने व्यवस्था निजामती सेवा नियमावली, २०२१ को नियम ३.३(७) मा भएको देखिन्छ । अर्थात योग्य उम्मेदवारको बढुवा हरहालतमा होस् र उसले दर्खास्त फाराम पेश नगरेको कारणबाटै उसले बढुवाको अवसरबाट वञ्चित हुनु नपरोस् भन्ने उक्त व्यवस्थाको अभिप्राय देखिन्छ । कार्य दक्षता एवं अनुभवको आधारमा बढुवा पाउने कर्मचारीको हक पनि हो । कुनै अधिकारीको गल्ती वा भूलले कुनै निजामती कर्मचारीलाई बढुवाको कानुनी हकबाट वञ्चित गर्न मिल्दैन ।
१६. निवेदकले उल्लेख गरेको कुनै विवरण अस्पष्ट अधुरो वा अपूर्ण भएको खण्डमा बढुवा समितिको बैठक बस्नु अघि आवश्यक विवरण मगाउनु पर्ने दायित्व लोकसेवा आयोग (कार्यविधी) नियमहरू, २०२७ को दफा २७ ले बढुवा समितिका अध्यक्षको हो र यो दायित्वबाट निज पन्छिन मिल्दैन । त्यसमा पनि निवेदकले दर्खास्त साथ पेश गरेका पत्रका प्रतिलिपिहरूबाट बढुवा समितिलाई कुनै अस्पष्टताको अनुभव हुनु पर्ने अवस्था नै प्रस्तुत रिट निवेदनमा देखिँदैन । अस्थायी नोकरी वापत कसैलाई अंक प्रदान गर्ने र कसैलाई अंक प्रदान नगर्ने बढुवा समितिको निर्णयलाई न्यायोचित भन्न सकिने देखिँदैन ।
१७. अतः उपर्युक्त कारणहरूबाट निवेदकलाई अस्थायी नोकरी वापतको अंक नदिने गरेको बढुवा समितिको मिति २०४०।९।२६ को निर्णय तथा त्यस उपरको उजूरीलाई आधारहिन ठहराएको सेती अञ्चलाधिश कार्यालयको मिति २०४१।२।११ को निर्णय समेत त्रुटिपूर्ण देखिँदा उक्त निर्णयहरू उत्प्रेषणको आदेशद्वारा बदरहुने ठहराएको माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारीको राय मनासिवठहर्छ । निवेदकले मिति २०३४।२।२७ देखि २०३६।४।६ सम्म गरेको अस्थायी नोकरी र सोही अवधिमा वर्गीकृत क्षेत्रमा गरेको काम वापत पाउनु पर्ने अंक दिई हिसाब गर्दा बढुवाको लागि सिफारिश भएको नामावलीमा निजको नाममा समावेश हुने देखिएमा सो नामावलीको उपयुक्त क्रममा निजको नाम समावेश गर्न आवश्यक भए जतिसम्म सो नामावलीमा संशोधन गर्ने गरी निजको बढुवाको सम्बन्धमा पुनः बिचार गर्नु भनी विपक्षी बढुवा समितिको नाममा परमादेश जारी गरिएको छ । यो आदेशको एक प्रतिलिपि विपक्षीकहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल फाल्गुण २१ गते रोज ३ शुभम् ।