April 17, 1979
Created by nepalarchives

निर्णय नं. १२२८ – ज्यान

निर्णय नं. १२२८ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३६ सालको फौ.पु.नं. १४६ फैसला भएको मिति...

निर्णय नं. १२२८ ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

सम्वत् २०३६ सालको फौ.पु.नं. १४६

फैसला भएको मिति : ०३६।१।४ मा

पुनरावेदक : श्री ५ को सरकार

विरूद्ध

प्रतिवादी : भोजपुर हतुवादेवाल्टार गा.पं.वार्ड नं. ७ बस्ने बमबहादुर बस्नेत क्षेत्री समेत

मुद्दा : ज्यान

(१)  करणीको कुराको आशंकामा सोधपुछ गर्दागर्दै मर्नेले एक्कासी खुर्पाले काट्न आँटेको अवस्थामा उठेको रिसको आवेशमा हिर्काएको चोटबाट मरेकोमा ज्यान सम्बन्धीको १४ नं. बमोजिम सजाय हुने ।

(प्रकरण नं. १९)

फैसला

          न्या. बब्बरप्रसाद सिंह : प्रस्तुत मुद्दामा वादी श्री ५ को सरकार तर्फबाट पुनरावेदन परी पेश हुन आएकोमा मुद्दाको तथ्य निम्न प्रकार छ :

          २.   मर्ने रत्नबहादुर कवर क्षेत्री ०३१।२।१३ का दिन अं.२ बजे घरबाट हिंडी बहिनी जुवाँईको घर गएको नफर्केकोले ऐ.१४ गते खोजी गर्दा बाहुनडाँडा भन्ने जङ्गलको गुराँसको रूखमा झुण्डी मरेको रहेछ सो लास कुरूवा राखी जाहेर गर्न आएको छु कानून बमोजिम गरिपाउँ भन्ने समेत जाहेरी दरखास्त ।

          ३.   यी मर्ने मेरा जेठान हुन् यिनलाई मैले मारेको हुँ कारण यिनकी बहिनी मेरी श्रीमतीलाई सारी समाई करणी गर्न खोजेकोले सो रिसइवीले मैले मारेको हुँ गुइठे समेतले झुण्ड्याई दिनु पर्छ भनी भनेकोले निज गुइठे म र भक्तबहादुर समेत भई जङ्गलमा गुराँसको रूखमा झुण्ड्याएको हो भन्नेसमेत अभियुक्त बमबहादुर बस्नेतको प्रहरीमा भएको सावितीकागज ।

          ४.   रत्नबहादुरलाई बमबहादुरले मारेछन् के गरूँ भनी मसँग सोध्न आएकोले झुण्ड्याई मरेको पार्नु पर्छ भनी म समेत गई झुण्ड्याएको हुँ भन्ने समेत गुइठे भनेको वीरबहादुर कवरको प्रहरीमा भएको कागज ।

          ५.  ०३१ साल जेष्ठ १२ गतेको रात म सुती निदाएको बेला दाजु रत्नबहादुर आई मेरो गोडा समाई ढोगे भनेको कुरा मेरो श्रीमानबाट सुनेँ मैले थाहा पाइँन मेरो दाजु रत्नबहादुरलाई मेरो श्रीमानले एक्लै मारी गुइठे भक्तबहादुर समेतको मद्दतबाट झुण्ड्याएको हो भन्ने समेत लिलामाया बस्नेतको प्रहरीमा भएको कागज ।

          ६.   छोरा रत्नबहादुरलाई जुवाँई बमबहादुरले मारेका हुन् भन्ने समेत व्यहोराको दिलमायाको प्रहरीमा भएको कागज ।

          ७.  रत्नबहादुरलाई बमबहादुरले मारेको हो झुण्ड्याउन मद्दत देउ भनेकोले झुण्डाउन मद्दत दिएको हो भन्ने समेत भक्तबहादुर कवरले प्रहरीमा गरेको बयान कागज ।

          ८.   अभियुक्त बमबहादुरले रत्नबहादुरलाई मारेमा सावित भएकोले निजलाई ज्यान सम्बन्धीका १३ (३) नं. अनुसार मरीसकेको लासलाई कर्तव्यबाट बचाउन सहमति दिने वीरबहादुर भक्तबहादुरलाई ऐ.ऐनको ४ नं. बमोजिम सजाय हुनुपर्ने भन्नेसमेत प्रहरी प्रतिवेदन ।

          ९.   ०३१ जेष्ठ १२ गते रातको समयमा मर्ने जेठान रत्नबहादुरले निजकी बहिनी मेरो श्रीमतीलाई खुट्टामा समाई करणी गर्न खोजे मैले क्या हो भन्दा केही नभनी गए भोलिपल्ट भन्दा खुर्पीले काट्न आई लागेकोले दाउराले मुखमा र सण्डीमा हिर्काएपछि भुँडी फुटी मरे वीरबहादुर, भक्तबहादुरको सल्लाह अनुसार निजहरू र म समेत भई झुण्ड्याएको हुँ मैले मार्छु भनी मारेको होइन रिस थाम्न नसकी दाउराले हान्दा कुन ठाउँमा लागी मरेको हो भन्ने समेत बमबहादुरको अदालतमा भएको साविती बयान ।

          १०.  बमबहादुरले रत्नबहादुरलाई कर्तव्य गरी मारेछ सो कुरा भन्दा झुण्ड्याई देउ भनी म गुइठे र बमबहादुर भई झुण्डाएको हो भन्ने समेत भक्तबहादुरले अदालतमा गरेको बयान ।

          ११.  बमबहादुरले रत्नबहादुरलाई कर्तव्य गरी मारेछ अब के गर्ने भन्दा झुण्डाई दे भनी मैले भनेपछि बमबहादुर, म र भक्त भई जङ्गलमा लगी झुण्ड्याएको हो भन्ने समेत गुइठे भन्ने वीरबहादुर कवरको अदालतमा भएको बयान ।

          १२.  बमबहादुरले तत्काल उठेको रिस थाम्न नसकी हानेको चोटले रत्नबहादुर मरेको देखिँदा बमबहादुरलाई ज्यान सम्बन्धीका १४ नं. अनुसार कैद वर्ष १० हुने र सहमति दिने वीरबहादुर र भक्तबहादुरलाई ऐ.को २५ नं. ले जनही रू.२०। का दरले सजाय हुने ठहर्छ भन्ने समेत भोजपुर जिल्ला अदालतको ०३१।३।३० को फैसला ।

          १३.  सो फैसलामा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकार तर्फको पुनरावेदन ।

          १४.  इन्साफ भोजपुर जि. अ.को मनासिव छ भन्ने समेत पू.क्षे.अदालत डिभिजन बेञ्चको फैसला ।

          १५.  प्र.बमबहादुरलाई ज्यान सम्बन्धीको १३ नं. अन्तर्गत नै सजाय हुन पर्ने भन्ने समेत श्री ५ सरकारको तर्फको पुनरावेदन ।

          १६.  पुनरावेदक श्री ५ को सरकार तर्फका विद्वान सरकारी अधिवक्ता श्री भैरवप्रसाद लम्सालले प्रतिवादीको श्रीमतीलाई मर्ने रत्नबहादुरले ०३१।२।१२ गते करणी गर्न खोजेको कुरामा उसै बखत केही नगरी भोलिपल्ट झगडा गरी मारेकोमा उसै मौका उठेको रिसबाट मारेको भन्न मिल्ने देखिँदैन भन्ने समेत बहस गर्नुभयो ।

          १७.  प्रस्तुत मुद्दामा प्रतिवादी बमबहादुर बस्नेतलाई ज्यान सम्बन्धीको १४ नं. अनुसार सजाय गरेको फैसला मिलेको छैन सो कुराको निर्णय दिनुपर्ने भएको छ ।

          १८.  यसमा निर्णयतर्फ हेर्दा मर्ने रत्नबहादुरले खुर्पाले काट्न आइलागेकोले दाउराले हानेको चोटबाट मरेको हो भन्ने कुरामा बमबहादुर बस्नेतले प्रहरी, अदालतमा समेत साविती बयान गरेको हुँदा बमबहादुरको दाउराले हानेको चोटबाट रत्नबहादुर समेत मरेको भन्ने सिद्ध हुनआयो ।

          १९.  ज्यान सम्बन्धीको १४ नं. अनुसार सजाय गरेको मिलेन भन्ने पुनरावेदन जिकिर तर्फ हेर्दा अभियुक्त बमबहादुरले अदालतमा गरेको बयानमा तपाईंंले हिजो मेरो श्रीमती तपाईंको बहिनीलाई करणी गर्न खोज्यौ के चाला हो भन्दा मलाई एक्कासी रीस उठी घुस्सा हिर्काएर खुर्पीले काट्न कुट्न आइलाग्दा रिसले मैले दाउराले हिर्काएँ भन्ने समेत उल्लेख भएकोबाट मार्ने रत्नबहादुरलाई मार्छु भन्ने नियत लिई कुनै हातहतियार समेत लिई मर्नेका घरमा जाना साथ चोट छाडेको भन्ने कुरा निजको बयान, बुझिएका सरजमीन समेतका बकाईबाट देखिन आएन । अभियुक्त बमबहादुरले करणीको कुरा आशंकामा सोधपुछ गर्दा गर्दै मर्ने रत्नबहादुरले एक्कासी खुर्पाले काट्न कुट्न लागेको अवस्था उठेको रिसको आवेशमा अभियुक्त बमबहादुरले दाउराले रत्नबहादुरलाई हिर्काएको चोटबाट मरेको भन्ने निज रत्नबहादुर अभियुक्तको बयान प्रष्ट हुन आएको हुनाले समेत पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन, मुलुकी ऐन ज्यान सम्बन्धीको १४ नं. बमोजिमको कसूर गरेमा प्र.बमबहादुरलाई सजाय गर्ने ठहराएको इन्साफ भोजपुर जिल्ला अदालतको मनासिव छ भनी पूर्वाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चबाट गरेको इन्साफ मनासिव छ । श्री ५ को सरकारको पुनरावेदन हुँदा केही गर्न परेन नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उपरोक्त रायमा म सहमत छु ।

 

न्यायाधीश धनेन्द्रबहादुर सिंह

 

इति सम्वत् २०३६ साल बैशाख ४ गते रोज ३ शुभम् ।