निर्णय नं. १२२७ – जग्गा खिचोला
निर्णय नं. १२२७ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री हेरम्बराज माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०३४ सालको दे.पु.नं. १४८ फैसला भएको मिति :...
निर्णय नं. १२२७ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री हेरम्बराज
माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
सम्वत् २०३४ सालको दे.पु.नं. १४८
फैसला भएको मिति : ०३६।१।३।२ मा
पुनरावेदक : रूपन्देही जिल्ला मोतिपुर गा.पं.वार्ड नं. १ बस्ने शिवकुमारी घिमिरे
विरूद्ध
विपक्षी : ऐ.ऐ.बस्ने यम.एम.थमाई
मुद्दा : जग्गा खिचोला
(१) सबूद प्रमाणको आधारमा मिति यकिन गरी हदम्यादभित्र उजूर परेको छ छैन हेरी मात्र निर्णय दिनु पर्ने ।
(प्रकरण नं. ११)
पुनरावेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा
फैसला
न्या. हेरम्बराज : पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्ष गम्भीर कानूनी त्रुटि भएकोले पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदन परेकोमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३४।३।५ मा भएका आदेशानुसार पुनरावेदनको लगतमा दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ :
२. नेत्रबहादुरसँग ०२७।६।५ मा रू.७५००। मा बजारलाईन जग्गा बिगाहा द्र।।२ राजीनामा लिई ०२७।१०।११ मा पास गरी तिरोभरो गरी मेरो हक भएको विपक्षीले मेरो उक्त जग्गा च्यापी इँटा दिवाल खरको छाना हाली घर तयार गरे मेरो जग्गा भन्दा निजले प्रेमी गुरूङसेनीको हो मलाई दिएकाले घर बनाएको, छाड्दिन भनेकाले फिराद गर्न आएको छु जग्गा छुटयाई पाउनु पर्ने हो जबरजस्ती जग्गा कब्जा गरी खिचोला गरेमा समेत सजाय गरिपाउँ भन्ने समेत फिराद ।
३. वादी दावीको जग्गामा खिचोला गरेको छैन जग्गाधनी नरबहादुरबाट कि.नं. १४ को १ कठ्ठा ३ धूर र दाताहरूकै नाउँमा अस्थायी दर्ता रहेको हाल विवादास्पद जग्गा समेत रू.६००१ मा राजीनामा लिई प्रेमिनी गुरूङसेनीले घर बनाई मलाई बस्न होस्टेल चलाउन दिएको हुन् अस्थायी दर्ताको जग्गा हुँदा वादी दावीको जग्गालाई राजीनामाका कागजमा उल्लेख गर्न सकिएन मौखिक बोल कबोल अनुसार ०२६।७।१० देखि पक्की इँट र सिमेण्टको फर्स बनाई बसेकोमा वादीको हक दावी लाग्न नसक्ने वादी राजीनामाको मिति ०२७।१०।११ भन्दा पूर्व नै प्रेमिनीको हकमा घर बनिसकेकोले उजूर म्यादभित्रको छैन दाता नेत्रबहादुरले हक छाडी सकेपछि वादीलाई पुनः बिक्री गर्ने कार्य अनधिकृत र जालसाजी छ दाता उपर मात्र उजूर गर्न पाउने समेत हुँदा झठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत प्रतिवादी ।
४. यो मुद्दा घर बनाउनेको ११ नं. को म्यादभित्रको उजूर नभई सो म्याद नाघेपछिको उजूरी हुँदा खारेज हुने ठहर्छ भन्ने समेत रूपन्देही जिल्ला अदालतको ०२९।४।३१ को फैसला ।
५. सो फैसलामा चित्त बुझेन भन्ने समेत शिवकुमारीको पुनरावेदन परेकोमा शुरू रूपन्देही जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत लुम्बनी अञ्चल अदालतको फैसला ।
६. सो फैसलामा चित्त बुझेन भन्ने समेत शिवकुमारीको पुनरावेदन परेकोमा रूपन्देही जिल्ला अदालतबाट खारेज गरेको इन्साफ मनासिव ठहराई छिनेको लुम्बिनी अञ्चल अदालतको राय ठहर मनासिव छ भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
७. सो फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गंभीर कानूनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने वादी शिवकुमारीको निवेदन परेकोमा जग्गा मिच्ने १८ नं. को हदम्यादभित्र नालिस परेकोमा त्यसतर्फ कुनै निर्णय नगरी खारेज गरेको कानूनसंगत देखिँदैन पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत स.अ.डिभिजन बेञ्चको ०३४।३।५ को आदेश ।
८. अ.बं.१७१ नं. बमोजिम नक्सा गरी पेश गर्नु भन्ने समेत स.अ.डिभिजन बेञ्चको आदेश ।
९. प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन सो को निर्णय दिनु परेको छ ।
१०. पुनरावेदकतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ विपक्षीतर्फका विद्वान अधिवक्ता श्री गणेशराज शर्माको बहस समेत सुनी निर्णयतर्फ विचार गर्दा विपक्षीले जग्गामा जबरजस्ती कब्जा गरी घर समेत बनाउन पाउने होइन जग्गा खिचोला गरेमा र ज.मि.१४ नं. बमोजिम र घरको हकमा घर बनाउनेको ४ नं. बमोजिम सजाय समेत गरिपाउँ भन्ने समेत दावी लिई जग्गा मिच्नेका १८ नं. र घर बनाउनेका ११ नं. को म्यादभित्र भनी प्रस्तुत मुद्दाको फिराद परेको देखिन्छ ।
११. घर बनाउनेको ११ नं. को म्यादभित्र उजूर नपरेको भन्ने वादी प्रतिवादीबाट पेश भएको सबूद प्रमाणको आधारमा घर बनेको मिति यकिन गरी हदम्यादभित्र उजूर परेको छ छैन हेरी मात्र निर्णय दिनु पर्नेमा पत्रिकामा निस्केको विज्ञापनलाई आधार बनाई जग्गा खिचोला तर्फ कुनै निर्णय नै नगरी खारेज गरेको शुरू रूपन्देही जिल्ला अदालत र सोही इन्साफ सदर गरी लुम्बिनी अञ्चल अदालतबाट छिनेको सदर गरी पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट गरेको फैसला समेत मिलेको देखिन आएन ।
१२. अतः उपरोक्त उल्लिखित कारणबाट शुरू रूपन्देही जिल्ला अदालत लुम्बिनी अञ्चल अदालत तथा पश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसला मिलेको नहुँदा बदर हुने ठहर्छ । कानून बमोजिम निर्णय गर्नु भनी तारिखमा रहेका पक्षहरूलाई तारिख समेत तोकी मिसिल नियम बमोजिम रूपन्देही जिल्ला अदालतमा पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. बब्बरप्रसाद सिंह
इति सम्वत् २०३६ साल बैशाख ३ गते रोज २ शुभम् ।