April 16, 1979
Created by nepalarchives

निर्णय नं. १२२६ – खिचोला

निर्णय नं. १२२६ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल सम्वत् २०३५ सालको दे.फु.नं. १६५ फैसला भएको मिति...

निर्णय नं. १२२६ ने.का.प. २०३६

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय

माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल

सम्वत् २०३५ सालको दे.फु.नं. १६५

फैसला भएको मिति : ०३६।१।३।२

वादी :    का.जि. का.न.पं. वडा नं. १४ बस्ने दुर्गामान मर्हजनसमेत

विरूद्ध

विपक्षी : ऐ.ऐ. बस्ने गौरीशरण महर्जन समेत

मुद्दा : खिचोला

(१)  नाउँसारी नभएसम्म जग्गामा हक प्राप्त हुन नसक्ने भएमा राजीनामाबाट प्राप्त हुन आएको हक निष्क्रिय हुनजाने हुनाले राजीनामाबाटै अ.बं.८२ नं. बमोजिम नालिस गर्न हकदैया पुग्ने नै देखिन आउने ।

(प्रकरण नं. १०)

फैसला

          न्या. त्रैलोक्यराज अर्याल : मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीले चढाएको निवेदनमा अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको छ ।

          २.   निरमान महर्जनका वीरबहादुर, गणेशबहादुर सिद्धिबहादुर ३ छोरा र दलबहादुरको दुर्गामान, नारायणभक्त २ छोरा गणेशबहादुरको मोहनशरण २ छोरा सिद्धिबहादुरको नरेन्द्रबहादुर, देवबहादुर २ छोरा निरमान परलोक भए तापनि एक सगोलमा बसी आएकोमा ०२५।११।२४।६ मा डोर समक्ष लिखत गरी ०२५।११।२६।१ मा भू.प्र.का.बाट रजिष्ट्रेशन पास गरी ४ जनाका बीच अशंबण्डा गरी भिन्न रहेबसेका थियौं । गौरीशरण देवरूपका नाउँमा दर्ताभएको का.जि. कालीमाटी गा.पं. वडा नं. ४ कि.नं. ६८ को ११२ जग्गाबाट घर बनाउन दिने सल्लाह भए अनुरूप देवरूपको दुर्गामानलाई सो जग्गा मध्येबाट ५ आना २ पैसा जग्गामा ०२६।४।१५।४ मा स्वीकृत दिएकाले कालीमाटी गा.पं.मा निवेदन दिई तेजारथ अड्डाका नाउँमा सिफारिश लिई दुर्गा मानले घर बनाउन ९६,६४०। सापटी लिई घर बनाई बसी आएको घरले चर्चेको जग्गा ५ आना २ पैसा भन्दा बढी रहेकाले आपसी सल्लाहअनुसार दिलबहादुर,गणेशबहादुर,सिद्धिबहादुरका बीच सो कि.नं. ६८ को १ रोपनी १२ आना जग्गा आपसमा बराबर गर्न मञ्जूरीनामाको लिखत भएको थियो, उक्त लिखत गौरीशरण देवरूपले नारायणभक्तलाई कि.नं. ६८ मा रोपनी १२ आना जग्गा मध्ये १२ आना जग्गा राजीनामा गरी ०२८।१।२४।६ मा भू.प्र.का.मा रजिष्ट्रेशन पास गरी दिएका थिए । कि.नं. ६८ मा १ रोपनी १.१२ आना जग्गाबाट १२ आना जग्गा कित्ताफोड गरी छुट्याउन लिई वा राम भक्तका नाममा दर्ता गर्ननमिल्ने हुँदा जग्गा छुट्टैमा दिनाका लागि बराबर भन्दा जग्गा छुट्टाई नदिएकाले राजीनामा बमोजिम जग्गा छुट्याई पाउन भू.प्र.का.का.मा निवेदन दिएकोमा तारिखमा नराखी गौरी ,देवशरणलाई बुझ्दा तेजारथअड्डाबाट सापटी लिई घर बनाई बसोबास गरी आएको भोगचलनको घरलाई आफ्नै भनी लगत ४ किल्ला देखाई कि.नं. ६९ को १ रोपनी देखाई रैकर जग्गा गुठीमा घुसाई नापी गराई कि.नं. ६८ मा १ रोपनी १२ आना जग्गा लेखाई ०३२।५।२१।५ मा बयान गरी खिचोला गरेगराएको र ०३०।१०।१८ मा लिखतभन्दा बढी कुरा लेखी जग्गा छुट्याउने कार्य यसकार्यालयबाट गर्न नमिल्ने हुँदा पारित लिखत धनीलाई फिर्ता दिने भन्ने आदेश भएको, फिरादीका हक भोग चलनको ०१२० जग्गा समेत छुट्याई चलन चलाई पाउँ घर जग्गाको प्रचलित मोल रू.३०००। जाने भन्ने दुर्गामान समेतको फिराद र सिफारिशपत्रको प्रतिलिपि मञ्जूरनामाको प्रतिलिपि राजीनामाको प्रतिलिपि बयान तथा आदेशको प्रतिलिपि समेत वादीबाट पेश भएको रहेछ ।

          ३.   का.जि. कालीमाटी गा.पं.वार्ड नं. ३ मा घर थियो सो घर चन्द्रकुमारी गौचनलाई रू.६० हजारमा ०२६।८।१० गते बिक्री गरिदिनु भयो, किर्तिपुर नगाउँको घरमा जाँदा तिमीहरूलाई अहिले २ घरको जरूरत छैन चाहिएको बखत छाडी दिन्छु एक घर अहिले मलाई बस्न देउ भनी हाल चाहिएका बखत छुटाई लिने गरी बस्न दिएको छौं । हाल म र गौरीशरणको विवाह भई ठाउँ नपुग्ने भई घर खाली गरिदिनु होस् भन्दा यो नालिस गरेको हो, कि.नं. ६८ को रैकर जग्गामा १ घर कि.नं. ६९ को जग्गामा १ घर समेत २ घर जग्गा छ । म र गौरीशरणले बनाएको र अरू दुर्गामान समेतले घर बनाएको छैन कि.नं. ६८ को रोपनी ११२० बाट दिलबहादुर वा निजका सन्तानलाई घर बनाउन पुग्ने जग्गा दिने सल्लाह भए गरेको मैले छैन । २०२६।४।१५।४ मा घर बनाउन स्वीकृतिपत्र गरिदिएको छैन । निजको घर बनेको नभई हाम्रो घर मात्र भएको भनेर सो स्वीकृति भनेको कागजलाई अ.बं.७८ नं. बमोजिम हेर्न पाउने निजको घरलाई मैले खिचोला गर्‍यो भनेको झुठ्ठा हो, नारायणभक्तलाई ६८ नं. रैकर कित्ताबाट ०१२आना जग्गा राजीनामा गरी दिएतर्फ सो ६८ नं. कित्तामा अघि नै हामीहरूको बनिरहेको घर र सो घरले चर्चेको जग्गाबाट समेत भन्दा बढी जग्गा भएमा जग्गाधनी हक सम्म दामासाहीले नारायणभक्तको कायम हुने यस्तो कुरामा जग्गा खिचोला गर्ने कुरै नभएको ०२८ साल बैशाखमा राजीनामा भएपछि तुरून्तै कित्ताकाट भई सक्छ जग्गा नपुग हुन आएको कुरा नारायणभक्तलाई उसै बखत थाहा हुन आएकोमा आफूले लिएको जग्गा नपुग थाहा भएपछि लेनदेन व्यवहारको ४० नं. जग्गा मिच्नेको १८ नं. ले २ वर्षभित्र नालिस गर्नुपर्ने ३ वर्ष वाद नालिस गरेकोसमेत वादी दावा झुठ्ठा हुँदा फुर्सद गराइपाउँ भन्नेसमेत प्र.देवरूपको राजीनामाको प्रतिलिपि साथ प्रतिउत्तर पेश भएको रहेछ ।

          ४.   दुर्गामानलाई घर बनाउन दिन मेरो स्वीकृति नभएको वादीबाट देखिन्छ । मेरो स्वीकृति बेगर मेरोसमेत हक दर्ता जग्गा देवरूपलेमात्र स्वीकृत दिएमा सदर हुन सक्दैन । देवरूपले नै स्वीकृति दिएको छैन, भन्दैछन् सो हाम्रो जग्गामा दुर्गामानले बनाएको घरै छैन र म देवरूप समेतले बनाएको घर मात्र छ । दुर्गामानले बनाएको घर र सो घरले चर्चेको १२ आना जग्गा खिचोला गरे भन्ने उल्लेख छ दुर्गामानले बनाएको घरले चर्चेको १२ आना जग्गा भए नारायणभक्तले सो १२ आना जग्गा राजीनामा गराई लिँदा दुर्गामानको घर भएको जग्गा भनी लेखाई लिन वादीका बाबु र वादी कहिले बुझ्दैन यसबाट समेत दुर्गामानको घर नभएको प्रष्ट हुँदा खिचोला गरे भन्ने झुठ्ठा भएको, नारायणभक्तलाई ६८ नं. कित्ताबाट १२ आना जग्गा राजीनामा गरी दिएतर्फका कुरालाई अघिदेखि हामीहरूको बनिरहेको घर र सो घरले चर्चेको जग्गा बाटो समेत भन्दा बढी जग्गा भएमा मोहियानी हाम्रो भई जग्गाधनीसम्म समेत दामासाहीले नारायणभक्तको कायम हुने भएको कुरामा जग्गा खिचोला गर्ने कुरै नभएको कित्ताकाट हुँदा जग्गा नपुग हुन आएको भन्ने नारायणभक्तलाई उसै बखत थाहा हुन आएकोमा आफूले लिएको जग्गा नपुग थाहा भएपछि लेनदेन व्यवहारको ४० नं. जग्गा मिच्नेको १८ नं. ले २ वर्ष भित्र नालिस गर्नुपर्ने ३ वर्ष वाद नालिस गरेको समेतबाट वादी दावा झुठ्ठा हुँदा फुर्सद गराइपाउँ भन्ने गौरीशरणका राजीनामाको प्रतिलिपि साथ प्रतिउत्तर पेश भएको रहेछ ।

          ५.  भू.प्र.का.को पर्चाको आधार तथा ऋणीको कागजको आधारमा फिराद गर्न आएको हुँदा अ.बं.७२ नं. ले एउटै फिरादबाट इन्साफ गर्न मिल्छ कि मिल्दैन भन्नलाई दुर्गामानको घरतर्फको फिराद र नारायणभक्तको जग्गातर्फको फिराद भएकोमा दुवैले कि.नं. ६८ को जग्गा एउटै ४ किल्ला भित्रको घर भनी मञ्जूर गरेको समेतबाट अ.बं.७२ नं. ले फिराद एउटै भए पनि हुने देखियो । अब कि.नं. ६८ को जग्गा राजीनामा गरी लिएको हो भन्ने वादी हाल झगडा परेको घर जग्गाको नापी नक्सा हुँदा वादीको दावीको घर कि.नं. ६९ मा देखिएको हुँदा राजीनामाको जग्गा कच्चा ठर्हन आई घर वादीको ठर्हन आएमा पनि घर र जग्गाको कोर्टफी कति कायम गर्नुपर्ने हो सो स्पष्ट हुनुपर्ने र वादीको घर नठहरी जग्गा चलन पाउने ठहरिएमा पनि सोही अनुरूप हुन आउने हुँदा दावी गरेको कित्ता र भई आएको नक्साको कित्ता नं. फरक पर्न आएको समेतबाट घरको मूल्य तथा जग्गाको मूल्य यकिन अलगअलग खुलाई फिराद गर्नुपर्नेमा सो समेत नभएकोले प्रस्तुत फिरादमा स्पष्ट दावी नभएको कारणबाट इन्साफ गर्न नमिल्ने हुँदा अ.बं.१८० नं. बमोजिम खारेज हुने ठर्हछ, भन्ने समेत शुरू का.जि. अ.को २०३३।८।२१।२ को फैसला ।

          ६.   उक्त फैसलाउपर वादीप्रतिवादी दुवैको चित्त बुझेन भन्ने समेत छुट्टाछुट्टै परेको पुनरावेदन ।

          ७.  कि.नं. ६८ को जग्गा मध्ये ५ आना २ पैसा जग्गामा विपक्षीको मञ्जूरी लिई घर बनाएकोमा खिचोला गरे भन्नेतर्फ विचारगर्दा पुनरावेदक वादीले घरबनाउन मञ्जूरी लिएको सबूददिन नसकेको तथा १२ आना जग्गाको हकमा खिचोला तर्फ पुनरावेदक वादीले राजीनामाबाट हक भएको भन्ने जिकिर लिएकोमा राजीनामाबाट नामसारी दाखिल खारेज गरी आफ्नो नाममा दर्ता गरिसकेपछि मात्र वादीको पूर्ण स्वामित्व भएको मान्नु पर्ने हुन आउँछ, राजीनामा अनुसार आफ्नो नाउँमा दर्ता भएपछि मात्र दावी लाग्ने हुन्छ । राजीनामा लिएबमोजिमको जग्गा खोज्न जाँदा नपाए पछि बिना दर्ता आफ्नो हक दावी नलाग्ने स्पष्ट छ । साथै वादी दावी कि.नं. ६८ मा छ, नक्सा हुँदा पुनरावेदक वादीले दिएको ४ किल्ला कि.नं. ६९ भित्र पर्न आएको देखिँदा समेत घर र जग्गा दुवैको सन्दर्भमा वादीको हकदैया पुग्ने नदेखिनाले वादीको पुनरावेदन जिकिर मनासिव देखिएन अ.बं.८२ नं. बमोजिम खारेज हुनेठहर्छ । तसर्थ शुरूले खारेज गरेकोसम्म मनासिव छ भन्नेसमेत म.क्षे.अ.को फैसला ।

          ८.   उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी वादीले चढाएको निवेदनमा कि.नं. ६८ को जग्गामा राजीनामा गरी लिएबाट हक प्राप्त हुन आएकोमा विपक्षीले खिचोला गर्‍यो भन्ने वादी दावी भएपछि यसमा विपक्षीले खिचोला गरेको छ छैन भन्ने ठहराउनु पर्ने भएकोमा झगडा परेको घर जग्गाको नक्सा हुँदा कि.नं. ६९ भित्र पर्न आएको भनी वादी दावीको हकमा निर्णय नगरी खारेज गरेको मिलेको देखिएन । साथै राजीनामाबाट हक भएको भन्ने दावीलाई पनि राजीनामामा उल्लिखित जग्गा वादीको नाउँमा दर्ता भएपछि मात्र उक्त जग्गामा वादीको दावी पुग्न सक्छ भन्न पनि नमिल्ने हुँदा सार्वजनिक महत्वको विषयमा कानूनी त्रुटि भएको देखिएकोले न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५) को खण्ड (ख) बमोजिम पुनरावेदन गर्न अनुमित दिइएको छ भन्ने डि.बे.को आदेश ।

          ९.   वादी पुनरावेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री केदारचरण प्रत्यर्थीतर्फका विद्वान वरिष्ठ अधिवक्ताहरु श्री सर्वज्ञरत्न तुलाधर तथा श्री रामगोपाल श्रेष्ठले गर्नुभएको बहस सुनियो । म.क्षेत्रीय अदालतको इन्साफ मनासिव बेमनासिब के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

          १०.  यसमा घर बनाई भोगचलन गरेको र जग्गा राजीनामा गरी लिई भोगचलन गरी आएको भन्ने दावी भएको देखिन आएको र राजीनामा रजिष्ट्रेशन गरी जग्गा लिएको लिखत नक्कल प्रमाणमा पेश भएको देखिन आएको, नाउँसारी दर्ताको हकमा ऐन बमोजिम गर्नुपर्ने, नाउँसारी दर्ता गर्न म्याद नाघेमा जरिवाना गरी नाउँसारी हुन सक्ने ऐनको व्यवस्था भएको हुनाले नाउँसारी नभएबाट नालिस उजूर गर्न हक नपुग्ने भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय भएको कानून अनूरूप देखिन आउँदैन नाउँसारी नभएसम्म जग्गामा हक प्राप्त हुन नसक्ने भएमा राजीनामाबाट प्राप्त हुन आएको हक निष्क्रिय हुन जाने हुनाले राजीनामाबाट अ.बं.८२ नं. बमोजिम नालिस गर्न हकदैया पुग्ने नै देखिन आउँछ । तसर्थ मध्यमाञ्चल क्षेत्रीय अदालतबाट खारिज गर्ने गरेको निर्णय कानूनसंगत नदेखिएकोले बदर हुन्छ । कानून बमोजिम कारवाही किनारा गर्नु भनी मिसिल मध्यमाञ्चल क्षेत्रीय अदालतमा पठाई दिनु । कोर्टफीको हकमा अब इन्साफ हुँदा ठहरे बमोजिम हुने हुँदा हाल केही गर्नु परेन ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. विश्वनाथ उपाध्याय

 

इति सम्वत् २०३६ साल बैशाख ३ गते रोज २ शुभम् ।