निर्णय नं. १२२४ – माना चामल
निर्णय नं. १२२४ ने.का.प. २०३६ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बाशुदेव शर्मा माननीय न्यायाधीश श्री हेरम्बराज सम्वत् २०३४ सालको दे.वि.नं. ८५ फैसला भएको मिति :...
निर्णय नं. १२२४ ने.का.प. २०३६
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बाशुदेव शर्मा
माननीय न्यायाधीश श्री हेरम्बराज
सम्वत् २०३४ सालको दे.वि.नं. ८५
फैसला भएको मिति : ०३५।१२।२१ मा
निवेदक : फरिणमाया शाक्य का.जि. का.न.पं. वडा नं. २३ धर्मपथ
विरूद्ध
विपक्षी : ताराबहादुर शाक्य का.जि. न.पं. वडा नं. २३ झोंछे
मुद्दा : माना चामल
(१) वादीले आफ्नो दावीलाई समर्थित गराउने सबूद प्रमाणको अभावमा वादी दावी अनुसार प्रतिवादीबाट माना चामल भराई दिन न्यायोचित नपर्ने ।
(प्रकरण नं. १०)
निवेदक तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना
विपक्षी तर्फबाट : विद्वान सरकारी अधिवक्ता श्री लक्ष्मीप्रसाद अर्याल
फैसला
न्या. बासुदेव शर्मा : मध्यमाञ्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चले मिति २०३४।८।१०।६ मा गरेको फैसला उपर वादीको विन्तिपत्र परी बक्स भई गएका हुकुम प्रमांगी बमोजिम इन्साफ जाँच निमित्त पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको रहेछ ।
२. विपक्षी ताराबहादुरसँग २०२३ सालमा विवाह भएको सासूले सारै दुःख दिने हुँदा लोग्ने र ससुरालाई भन्दा सासूपट्टि नै लागी म उपर दुव्र्यवहार गरे, मैले मेरो पनि हक छ भन्दा मुखमुखै लाग्ने भनी विपक्षीहरूले २०२७।१२।२० गते कुटपिट गरी घरबाट निकाला गरेकाले वर्ष १ को रू.२०४२।५० विपक्षीहरूबाट माना चामल भराई पाउँ भन्ने वादी ।
३. सासूससुराले मलाई घुर्की देखाई २०२५।२।३२ गते विपक्षी माईत गएको हो । विपक्षीलाई कुटपिट गरी घरबाट निकालेकोसमेत नहुँदा मानाचामल दिनपर्ने होइन भन्नेसमेत प्रतिउत्तरपत्र ।
४. सम्बन्ध विच्छेद मुद्दामा काठमाडौं जिल्ला अदालतबाट सम्बन्ध विच्छेद नहुने ठहरी फैसला भएको र साक्षी समेतको बकाईबाट माना चामल भरी पाउने ठहर्छ भन्ने समेत काठमाडौं जिल्ला अदालतको फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भन्ने बागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।
६. शुरू काठमाडौं जिल्ला अदालतले माना चामल भराउने गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेतको बागमती अञ्चल अदालतको फैसला ।
७. इन्साफ जाँच गरी दिनु भन्ने प्रमांगी पाउँ भन्ने प्र.तीर्थबहादुर समेतको निवेदनमा इन्साफ जाँची दिनु भन्ने समेत व्यहोराको हु.प्र.बक्स भई आएको ।
८. वादीको दावी नपुग्ने ठहर्छ माना चामल भराउने गरी शुरूले फैसला गरेको इन्साफ मनासिव भनी बागमती अञ्चल अदालतले गरेको फैसला उल्टी हुन्छ भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको २०३४।८।१०।६ को फैसला ।
९. जिल्ला र अञ्चल अदालतले मिसिलमा रहेको सम्पूर्ण कागज केलाई साक्षी प्रमाणको लेखा जोखा गरी मैले विपक्षीबाट माना चामल भराई पाउने गरी गरेको फैसलालाई मिसिलमा रहेको कागजको विलकुल विपरीत गई क्षेत्रीय अदालतले फैसला गरेकोले ज्यादै अन्यायमा परेको छु । सर्वोच्च अदालतबाट इन्साफ जाँच गरी दिनु भन्ने हुकुम प्रमांगी बक्स पाउँ भन्ने समेत व्यहोराको वादी फरिणमायाले श्री ५ महाराजाधिराज सरकारका हजुरमा चढाएको विन्तिपत्रमा यो विन्तिपत्र जाहेर हुँदा यसमा व्यहोरा साँचो भए तीर्थबहादुर शाक्यसमेतसँगको ०३४।८।१० मा मध्यमाञ्चल क्षेत्रीय अदालतबाट छिनिएको माना चामल मुद्दाको मिसिल झिकाई त्यस अदालतको इन्साफ जाँची कानून बमोजिम गरी छिनी दिनु, निवेदिकालाई जनाउ दिनु भनी त्यहाँ पठाई दिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम बक्सेको छ भनी श्री ५ महाराजाधिराजका विशेष जाहेरी विभाग सवारी शिविरबाट बक्स भई भएको हुकुम प्रमांगी सहितको निवेदन डिभिजन बेञ्चमा पेश हुँदा बक्स भई आएका हुकुम प्रमांगी बमोजिम गर्न विविधको लगतमा दर्ता गरी मिसिल झिकाई निवेदिकालाई ७ दिने म्याद दिई नियम बमोजिम डिभिजन बेञ्चमा पेश गर्नु भन्ने आदेशानुसार लगतमा दर्ता भई तारिखमा रहेका वादी निवेदिका फरिणमाया शाक्यको वारेस श्यामकृष्ण डंगोल र विपक्षी प्र.तीर्थबहादुर समेतको र वारेस गणेशमान डंगोललाई रोहवरमा राखी वादी निवेदिकातर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुंगानाको र विपक्षी तीर्थबहादुरसमेत तर्फमा विद्वान व.अधिवक्ता श्री लक्ष्मणप्रसाद अर्यालको बहससमेत सुनी बुझ्दा प्रस्तुत मुद्दामा क्षे.अ.बाट भएको इन्साफ ठीक बेठिक के हो ? निर्णय दिनुपरेको छ ।
१०. यसमा प्रतिवादीहरूले कुटपिट गरी घरबाट निकाला गरे भन्ने समेत वादी दावीका हकमा मिसिल संलग्न अन्य सबूद प्रमाण समेतबाट उक्त दावीलाई समर्थित भएको देखिँदैन । त्यसरी वादीले आफ्नो दावीलाई समर्थित गराउने सबूद प्रमाणको अभावमा वादी दावी अनुसार प्रतिवादीहरूबाट माना चामल भराई दिन न्यायोचित नपर्ने हुँदा प्रस्तुत मुद्दामा वादी दावी नपुग्ने ठहराई मध्यमाञ्चल क्षेत्रीय अदालतबाट २०३४।८।१०।६ मा भएको इन्साफ मनासिव ठहर्छ इन्साफ जाँच निमित्त आएको मुद्दा हुँदा वादीलाई केही गर्न परेन नियम बमोजिम मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या. हेरम्बराज
इति सम्वत् २०३५ साल चैत्र २१ गते रोज ३ शुभम् ।