November 19, 1985
Created by nepalarchives

निर्णय नं. २५०० – जग्गा खिचोला

निर्णय नं. २५००     ने.का.प. २०४२      अङ्क ९   डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४२ सालको दे.पु.नं....

निर्णय नं. २५००     ने.का.प. २०४२      अङ्क ९

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४२ सालको दे.पु.नं. ५५३

मुद्दा : जग्गा खिचोला ।

 

पुनरावेदक/वादी:जिल्ला बझाङ पदेश नौविस हेमन्तवाडा गा.पं.वडा नं.२ बस्ने कालिमान खड्का मरी मु.स.गर्ने मंगल खड्का ।

विरुद्ध

विपक्षी/प्रतिवादी:ऐ.ऐ. वडा नं.२ झिल्लीवाडा बस्ने भिम खड्का ।

फैसला भएको मिति:२०४२।८।४ मा

     विवादको जग्गा वादीको किल्लासँग मिल्न भिड्न आएकोमा जग्गा वादीको देखिन आएबाट झगडा परेको जग्गा प्रतिवादीको ठहर्‍याएको सु.पश्चिमान्चल क्षेत्रिय अदालतको इन्साफ उल्टी हुने ।

(प्रकरण नं. १३)

फैसला

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तवः सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति ०४१।३।२८ को फैसला उपर पुनरावेदनको अनुमति प्राप्त भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ ।

२.    १९८९ सालको जाँचमा मेरा बाबु जोगी खड्काका नाउँमा दर्ता भएको कि.नं. २४२ आडे बाटो पूर्व गोविन्द जोशी, पश्चिम भिड, उत्तर ऐ. दक्षिणको छाना माथि दो ।.।६ के रु. ।१५ तिरो जग्गा मेरो हिस्साको भई गोठ छानो बनाई हिउँदे बाली मैले नै लगाई पाकि तयार भएको थियो । २०३९ साल ज्येष्ठ २० गतेका दिन गहुँ बाली काटी लिन लागेको देखी किन लियौं फिर्ता गर भनी प्रतिवादीलाई भन्दा यो जग्गा तिम्रो होइन गाउँलेको साझो १९६ नं.को पानी खाल्टो जग्गा हो भनेकोले सो भित्र घुसाई लिन खान खोजेमा सजायँ गरिपाउँ भन्ने समेत फिराद दावी ।

३.    वादी दावीको जग्गा कथित समयमा गाउँलेको साझो कि.नं. १९६ को जग्गा हो मैले भोगचलन गरेको भन्ने फिराद दावी झुठ्ठा हो । कि.नं.१९६ को जग्गा जेठाबाडा गाउँका १० नं.मोही लालबहादुर खड्का रहेबसेको जग्गालाई साझो जनाई सबै गाउँलेहरूको हकभोग जनाई भोगचलन समेत भई आएको हो । वादीले जग्गा चलन गर्छौं भन्ने सबै जनालाई प्रतिवादी बनाउन सकेका छैनन् तसर्थ फिराद दावी खारेज गरिपाउँ भन्ने समेत प्रतिउत्तरपत्र ।

४.    मिति ०३९।११।७ मा भएको नक्सामा झगडीया भनी जनिएको न.नं.२५ को जग्गा वादीकै हकभोगको देखिन आएकोले वादी दावी बमोजिमको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहर्छ भन्ने समेत बझाङ जिल्ला अदालतको फैसला ।

५.    उक्त इन्साफमा चित्त बुझेन बझाङ जिल्ला अदालतको इन्साफ बदर गरिपाउँ भन्ने समेत सेती अञ्चल अदालतमा परेको पुनरावेदन ।

६.    शुरु जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत सेती अञ्चल अदालतको फैसला ।

७.    उक्त फैसलामा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत सुदूरपश्चिमाञ्चल क्षेत्रीय अदालतमा प्रतिवादीको परेको अनुमतिको निवेदन ।

८.    यसै लगाउको निवेदनमा पुनरावेदन गर्ने अनुमति प्रदान भएकोले यसमा पनि पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत सु.पश्चिमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्जको आदेश ।

९.    यसमा शुरु जिल्ला अदालतको इन्साफलाई सदर गरेको सेती अञ्चल अदालतको इन्साफ उल्टी हुने ठहर्छ भन्ने समेत सु.पश्चिमान्चल क्षेत्रिय अदालतको फैसला ।

१०.    उक्त इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत मंगल खड्काको यस अदालतमा पर्न आएको अनुमतिको निवेदन ।

११.    सु.पश्चिमान्चल क्षेत्रिय अदालतको फैसला त्रुटिपूर्ण देखिँदा पुनरावेदन गर्ने अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्जको आदेश ।

१२.   नियमानुसार साप्ताहिक तथा दैनिक मुद्दा पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तथा विपक्षीको वारेसलाई पटकपटक बेञ्चबाट बोलाउन लगाउँदा पनि उपस्थित नभएको र दुवै पक्षको कानुन व्यवसायी पनि उपस्थित नभएकोले मिसिल कागज अध्ययन गरी सु.पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव बेनासिव के रहेछ भन्ने कुराको निर्णय दिनुपर्ने हुन आयो ।

१३.   यसमा निर्णयतर्फ बिचार गर्दा यसै लगाउको दे.पु.नं. ५५४ को जग्गा खिचोला मुद्दामा सु.पश्चिमान्चल क्षेत्रिय अदालतको इन्साफ उल्टी भई आज यसै बेञ्चबाट निर्णय भएको र मिति ०३९।११।७ मा विवादित जग्गाको नक्शा भई आएको नक्शा मुचुल्का हेर्दा न.नं.२५ को दक्षिण र उत्तरको साँधमा न.नं.३ भिड चिहृन देखिएकोमा सु.पश्चिमाञ्चल क्षेत्रीय अदालतबाट निर्णय हुँदा बुट्यान भनी उल्लेख भएको देखिन्छ । विवादको न.नं.२५ को जग्गा वादीको कि.नं.२४२ को ४ किल्लासँग मिल्न भिड्न आएकोमा न.नं.२४ को जग्गा वादीको देखिन आएबाट झगडा परेको न.नं. २५ को जग्गा प्रतिवादीको ठहर्‍याएको सु.पश्चिमान्चल क्षेत्रिय अदालतको इन्साफ उल्टी हुने ठहर्छ । न.नं.२५ को जग्गा वादीको कि.नं.२४२ को भनी शुरु जि.अ.ले ठहर गरेको इन्साफलाई सदर गरेको सेती अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ । तपसील बमोजिमका कलममा तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदन (वादी) कालिमान खड्काको मु.स.गर्ने मंगल खड्काको माथि इन्साफ खण्डमा लेखिए बमोजिम हुने ठहरेकोले निजले फिराद दायर गर्दा राखेको कोर्टफी रु.७५।प्र.जोगी खड्काले अं.अ.मा पुनरावेदन गर्दा धरौटी राखेको देखिँदा सो धरौटीबाट र यस अदालतमा पुनरावेदन गर्दा वादीले राखेको कोर्टफी रु.११।२५ भराई पाउँ भनी दर्खास्त परे केही दस्तुर नलिई भराई दिनु भनी बझाङ जि.अ.मा.लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु……………….१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम सु.पश्चिमान्चल क्षेत्रिय अदालतको मिति ०४१।३।२८ को फैसला उल्टी भएकोले उक्त फैसलाले वादीबाट प्रतिवादीलाई भराई दिने गरेको कोर्टफी रु.२२।५० पैसा भराई दिन परेन लगत कट्टा गरी पुनरावेदक (वादी) ले यस अदालतमा पुनरावेदन गर्दा राखेको धरौटी फिर्ता दिनु भनी बझाङ जि.अ.मा लगत दिन का.जि.अ.त.मा लगत दिनु……………………………………………………………..१

इन्साफ उल्टीमा सु.पश्चिमाञ्चल क्षेत्रीय अदालतका मा.मु.न्या.श्री षडानन्दप्रसाद उपाध्याय र मा.न्या.श्री मेघराजबहादुर विष्टको रेकर्ड राख्नु र से.अं.अ.का अं.न्या.श्री अमय कान्त झाको उल्टीमा रेकर्ड नराख्नु भनी प्रशासन शाखामा लेखी पठाउनु………………….१

मिसिल नियम बमोजिम गरी बुझाई दिनु……………………१

 

उक्त रायमा म सहमत छु ।

 

न्या.बब्बरप्रसाद सिंह

 

इतिसम्वत् २०४२ साल मार्ग ४ गते रोज शुभम् ।