December 12, 1985
Created by nepalarchives

निर्णय नं. २४६५ – कर्तव्य ज्यान

निर्णय नं. २४६५    ने.का.प. २०४२      अङ्क ८   डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको...

निर्णय नं. २४६५    ने.का.प. २०४२      अङ्क ८

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह

माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी

सम्वत् २०४१ सालको फौ.पु.नं.४५८, ४५९

मुद्दा   : कर्तव्य ज्यान ।

 

पुनरावेदक/प्रतिवादी: गण्डकी अञ्चल गोर्खा जिल्ला खरिकोट गा.पं.वडा नं. घर भै हाल जिल्ला कार्यालय कारागार शाखा कास्कीमा थुनामा रहेकी वर्ष ५३ की छलिमाया पोख्रेल ।

ऐ.ऐ घर भै हाल जिल्ला कार्यालय कारागार शाखा कास्कीमा थुनामा रहेको मुकुन्द प्रसाद पोख्रेल।

विरुद्ध

प्रत्यर्थी/वादी:खेचरनाथ धितालको जाहेरीले श्री ५ को सरकार ।

फैसला भएको मिति:२०४२।८।२७।५ मा

     प्रमाणको अभावमा ज्यान सम्बन्धीको १३(३) बमोजिम सजायँ गरेको हुँदा त्यति हदसम्म उल्टी हुने ।

(प्रकरण नं. २४)

पुनरावेदक/प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी र विद्वान अधिवक्ता श्री प्रेमनारायण बराल र विद्वान वैतनिक अधिवक्ता श्री रमेश विक्रम कार्की

विपक्षी तर्फबाट      :विद्वान सहन्यायाधीवक्ता श्री वलिराम कुमार

उल्लिखित मुद्दा: शिवजी साहू तेली समेत विरुद्ध शान्त लालको जाहेरीले श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दामा स.अ.डि.वे.बाट सिद्धान्त प्रतिपादित भई ने.का.प.०४० पे.नं.२२२ मा प्रकाशित ।

फैसला

न्या.बब्बरप्रसाद सिंहः पश्चिमाञ्चल क्षेत्रीय अदालतका मिति २०४१।३।१८।१ का फैसला उपर दुवै थर प्र.हरूको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा र निर्णय यसप्रकार छ ।

२.    मुकुन्द प्रसादकी श्रीमती हिमादेवी पोखरेल मिति २०३८।३।२० देखि हराएकीले खोज्दै जाँदा हंसपुर  गा.पं.अन्तर्गतको चेपे नदीको किनारमा निजको लाश देखी मुकुन्द प्रसादलाई प्रहरीमा जाहेर गर्नु होस् भन्दा निजले वास्तै नगरेकोले म मृतकको काका नाता पर्ने हुँदा जाहेर गर्न आएको छु । मृतकको मुखमा ठाउँ ठाउँमा निल परेकोले कर्तव्यबाट मृत्यु भएको शंका लाग्छ अनुसन्धान गरी छानबीन गरिपाउँ भन्ने समेत व्यहोराको खेचरनाथ धितालको मिति २०३८।३।२३ को जाहेरी ।

३.    लाशको विभिन्न ठाउँमा घोचे जस्तो घाउ भएको र लाश सडी गली पोष्मार्टमको लागि अस्पताल लैजान नसक्ने अवस्थाको भएको भन्ने समेत व्यहोराको मिति २०३८।३।२५को लाश प्रकृति मुचुल्का ।

४.    मेरो बाबुको मामाको छोरी छलि मायासँग साझेदारीमा दुकान चलाएको थिएँ । निज दिदीसँग मेरो अनुचित सम्बन्ध छ भन्ने कुरामा हिमादेवीले शंका गरेकी थिई ।२०३८।३।१९ गते बेलुका खाना खाई सके पछि म दोकान घरमा गएँ । दोकान घरको बाहिरपट्टी हिमादेवी आएकी रहेछ । नछुनी नबारेको कुरा सोद्धा बोलिन र रिसले मैले मार्तोलले कन्चेटमा हाने दिदी छलिमायाले घाँटी र मुख थिच्ने काम गर्नु भयो । निज मरेपछि लाश डोकामा हाली बोकेर केही बाटोसम्म दिदी पनि जानु भयो र फर्कनु भयो । त्यसपछि लाश र डोको चेपे नदीमा बगाई दिएँ भन्ने समेत व्यहोराको मिति २०३८।४।५ को मुकुन्द प्रसाद पोखरेलको प्रहरीमा भएको बयान कागज ।

५.    मुकुन्दको र मेरो बीचमा अनुचित सम्बन्ध छैन ।२०३८।३।१९ गते राती घœयाक घुत्रुड्ड आवाज सुनी आँगनमा आई हेर्दा मुकुन्द हात फु फु गर्दै बसेको र बुहारी घोप्टो परेको देखें के हो ? भन्दा मुकुन्दले मैले गल्ती गरें भन्दै लाशलाई देखायो । केही छिनपछि मुकुन्दले डोको ल्यायो मैले डोको समाती दिएँ । मुकुन्दले डोको बोकी गयो मैले हिमादेवीलाई मार्ने काममा कुनै सहयोग गरिन भन्ने समेत व्यहोराको छलिमायाको २०३८।४।५ मा प्रहरीमा भएको बयान कागज।

६.    मृतक हिमादेवीलाई मुकुन्द र छलिमाया मिली मारी नदीमा फालेको बुझिएको भन्ने समेत व्यहोराको मिति २०३८।४।९।६ को प्र.टेकबहादुर गुरुङको प्रतिवेदन ।

७.    छलिमाया र मेरो बीचमा अनुचित सम्बन्ध भएको कुरा हिमादेवीले थाहा पाएकीले निजलाई मार्ने मेरो र छलिमायाको पैले देखिकै सल्लाह थियो । १९ गते दुवैजना मेरो घरमा गई छलिमाया बाटोमा बसी म घरमा गई हिमादेवीलाई बोलाई ल्याएँ र पसल घरमा ल्याई किन नछुनी नबारेको भनेर राती ३ बजेतिर मैले लुगा काट्ने कैंचीले हिमादेवीको कन्चेटमा हिर्काउने र छलिमायले घाँटी र मुख थिच्ने गरी मारेका हौं । मारे पछि दुवैजना पालो पालो गरी बोकी लाशलाई चेपे नदीमा लगी बगाई दिएका हौं भन्ने समेत व्यहोराको मिति २०३८।४।१० मा मुकुन्दले प्रहरीमा गरेको ततिम्बा बयान कागज र सोही मिलानको ऐ. मितिमा छलिमायाले प्रहरीमा गरेको ततिम्बा बयान कागज ।

८.    छलिमायाको निर्देशनमा छलिमाया र मुकुन्द भई हिमादेवीको कर्तव्य गरी मारेको हुन् भन्ने समेत व्यहोराको मिति २०३।४।१० को सरजमीन मुचुल्का ।

९.    छलिमाया र मुकुन्द प्रसाद पोखरेल दुवैजना मिलि ज्यानसम्बन्धीको १ नं.को अपराध गरे बापत सोही महलको १३(३) नं.अनुसार सजायँ हुन र डोलनाथ भट्टराई तथा पूर्णमति धिताललाई ज्यानसम्बन्धीको २५ नं.अनुसार सजायँ हुन भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।

१०.    मेरो र मुकुन्दको बीच अनुचित सम्बन्ध छैन हिमादेवी मरेको कुरा २०३८।३।२० गते भाउजूबाट थाहा पाएको हुँ । मैले पूर्णमतिसँग केही भनेको छैन म समेत भई हिमादेवीलाई मारेको हैन भन्ने समेत व्यहोराको २०३८।४।१४ को प्रतिवादी छलिमाया पोखरेलको बयान ।

११.    छलिमाया र मेरो बीच अनुचित सम्बन्ध  छैन मृतक हिमादेवी २०३८।३।२० गतेदेखि घरमा थिइन गाउँलेहरूले २० गते बेलुकी चेपे नदीमा लाश छ, भन्ने हल्ला गरेपछि २१ गते बिहान गएको हुँ मृतक हिमादेवीलाई मैले कर्तव्य गरी मारेको छैन भन्ने समेत व्यहोराको प्र.मुकुन्द प्रसाद पोखरेलको बयान ।

१२.   मृतकको दाजुले जाहेर गरेको हुँदा थाहा पाएको हो मैले मौकामा थाहा पाई जाहेर नगरेको हैन भन्ने समेत व्यहोराको प्रतिवादी पूर्णमति धितालको बयान ।

१३.   छलिमायालाई म चिन्दै चिन्दिन कसलाई के व्यहोरासँग मारे सो कुरा पनि थाहा छैन । पूर्णमतिले सरजमीनमा किन त्यस्तो कुरा लेखाइन निजै जानुन भन्नेसमेत व्यहोराको प्र.डोलनाथले गरेको बयान ।

१४.   जाहेरवाला खेचरनाथ धिताल सरजमीनका व्यक्ति थमबहादुर गुरुङ समेत र प्र.हरूको साक्षी अग्नीधर भट्ट, दिनानाथ धिताल समेतले गरेको बकपत्र मिसिल सामेल रहेछ ।

१५.   बुझिएका सरजमीन शिवलाल समेतको बकपत्रबाट मृतक हिमादेवी प्र.मुकुन्द र प्र.छलिमायाकै कर्तव्यबाट मरेकी हुन् भन्ने देखिने र दशी स्वरुप प्राप्त एउटा टुप्पो भाँचिएको कैची र लाश जाँच मुचुल्कामा उल्लिखित मृतकको अड्डमा परेको घाउहरू मिलान नै देखिन आउने हुँदा समेत प्रतिवादी मुकुन्द प्रसाद र प्रतिवादी छलिमायाले मृतक हिमादेवीलाई वादी दावी बमोजिम कर्तव्य गरी ज्यान मारेको ठहर्छ । निजहरूलाई ज्यान सम्बन्धीको १३(३) बमोजिम सर्वश्वसहित जन्मकैद हुन्छ र प्रतिवादी पूर्णमती र प्र. डोलनाथले कसूर गरेको भन्ने नमिल्नाले निजहरूलाई ज्यानसम्बन्धीको २५ नं.बमोजिम कसूर गरेको नदेखिँदासमेत निजहरूले सफाई पाउने ठहर्छ भन्ने मिति २०३९।५।१७ को गोर्खा जिल्ला अदालतको फैसला ।

१६.    शुरु गोरखा जिल्ला अदालतको इन्साफमा चित्त बुझेन । आरोपित कसूरबाट सफाई पाउँ भन्ने समेत व्यहोराको प्रतिवादी मुकुन्द प्रसाद पोखरेल र प्रतिवादी छलिमायाको छुट्टा छुट्टै पुनरावेदन पत्र ।

१७.   प्रतिवादी पुनरावेदकहरू मुकुन्द प्रसाद र छलिमायाले हिमादेवीको कर्तव्य गरी मारेको ठहर गरेको गोरखा जिल्ला अदालतको इन्साफ मनासिव छ पुनरावेदन जिकिर पुग्न सक्दैन । अ.बं.१८६ नं.बमोजिम सर्वोच्च अदालतमा साधक जाहेर गर्नु भन्ने पश्चिमाञ्चल क्षेत्रीय अदालतको मिति २०४१।३।१८।१ को फैसला ।

१८.   सो फैसलामा कानुनको प्रत्यक्षतः त्रुटिपूर्ण भएको हुँदा चित्त नबुझेकोले पुनरावेदन गर्न आएको छु । उक्त फैसला बदर गरी न्याय पाउँ भन्ने व्यहोराको प्रतिवादी मुकुन्द प्रसाद पोखरेलको पुनरावेदनपत्र ।

१९.    उक्त फैसलामा चित्त नबुझेकोले बदर गरी सफाई पाउँ भन्ने समेत व्यहोराको प्र.छलिमाया पोखरेलको पुनरावेदनपत्र ।

२०.   यसमा मिति २०४१।३।१८।१ मा पश्चिमाञ्चल क्षेत्रीय अदालतले प्रतिवादी मुकुन्द प्रसाद पोखरेल र प्रतिवादी छलिमायालाई सर्वश्वसहित जन्मकैद गर्ने गरी फैसला गर्दा साधक जाहेर गरेकोमा दुवै पक्षको पुनरावेदन पर्न आएकोले साधकको लगत काटी दिने । साथै प्रतिवादीहरूका तर्फबाट बहस गर्नको लागि वैतनिक अधिवक्ता मुकरर गरी नियम बमोजिम पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४२।४।२८।२ को आदेश ।

२१.   यसमा प्रहरीले पुनरावेदकहरूको ततिम्बा कागज गराउनु भन्दा अघि भएको कागजबाट प्रतिवादी मुकुन्द प्रसादले मर्ने निजको स्वास्नीले नछुनी नबारेकोले रीस उठी मार्तोलले हानेकोले मर्न गएको हो भनी कागज गरेको देखिन्छ । प्रतिवादी छलिमायाले पनि आफ्नो प्रहरीमा गरेको पहिलो कागजमा कर्तव्य गरी मारेमा आफू इन्कार रहेको पाइन्छ । त्यसरी प्रहरीमा बयान कागज गरी सकेपछि पछि ततिम्बा बयान कागज गराउन पर्ने आवश्यकता किन पर्‍यो सो कुरा मिसिलबाट खुल्दैन । प्रतिवादी मुकुन्द प्रसादले आफ्नो अघिको कागजमा मर्ने हिमादेवी पोखरेललाई रिसको आवेशमा हानेको भन्ने छ । यस्तो अवस्थामा ज्यानसम्बन्धीको १३ नं.को देहाय ३ बमोजिम सर्वश्वसहित जन्मकैद गर्ने गरेको प.क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा छलफलको लागि अ.बं.२०२ नं.र सर्वोच्च अदालत नियमावली बमोजिम सरकारी अधिवक्ता खटाई पठाउन महान्यायाधीवक्ताको कार्यालयलाई सूचना पठाई नियम बमोजिम पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्जको मिति २०४२।५।२०।५ को आदेश रहेछ ।

२२.   नियमानुसार साप्ताहिक तथा दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक प्रतिवादीहरूका तर्फबाट विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी, विद्वान अधिवक्ता श्री प्रेमनारायण बराल तथा विद्वान वैतनिक अधिवक्ता श्री रमेशविक्रम कार्कीले र विपक्षी तर्फबाट विद्वान सहन्यायाधीवक्ता श्री बलिरामकुमारले गर्नु भएको बहस समेत सुनियो । मुख्यतः यसमा पश्चिमाञ्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मिले नमिलेको के रहेछ सोतर्फ निर्णय दिनु पर्ने हुन आयो ।

२३.   यसमा लास प्रकृति मुचुल्काबाट मर्ने हीमादेवीको मृत्यु कर्तव्यबाट भएको भन्ने देखिन्छ । अब कसको कर्तव्यबाट निजको मृत्यु भएको हो भन्नेतर्फ हेरिएमा खेचरनाथ धितालको जाहेरीमा मुकुन्द प्रसादकी श्रीमती हीमादेवी २०३८।३।२० देखि हराएकीले खोज्दै जाँदा चेपे नदीको किनारामा निजको लाश देखी मुकुन्द प्रसादलाई प्रहरीमा जाहेर गर्नुहोस् भन्दा निजले वास्तै नगरेकोले जाहेर गर्न आएको छु भन्ने उल्लेख भई प्रतिवादी मुकुन्द माथि शंका गरेको जस्तो गरी जाहेरी परेको देखिन्छ । प्रहरीमा २०३८।४।५ मा प्रतिवादी मुकुन्दले गरेको कागजमा तत्काल उठेको रीस थाम्न नसकी मार्तोलले मर्ने हीमादेवीको कन्चटमा हाने भनी बयान गरेको छ । लाश जाँच प्रकृति मुचुल्काबाट बायाँ आँखा माथि निधारमा अं.२ इन्च लम्बाई कुनै हतियारले घोचे जस्तो घाउ लागेको सो घाउबाट किरा निस्केको बायाँ आँखा देखि केही पर कन्चटमा कुनै हतियारले घोचेको जस्तो घाउ प्वाल र लासको निधार र कपालको सिउँदो नेर अं.१ ईन्च जती गोलाई परेको कुनै हतियारले घोचेको जस्तो देखिएको भन्ने समेत उल्लेख भएको पाइन्छ । पुनः २०३८।४।१० मा निजको ततिम्बा बयान हुँदा मैले लुगा काट्ने कैंचीले हीमादेवीको कन्चेटमा हिर्काउने र छलिमायाले घाँटी र मुख थिच्ने गरी मारी लाशलाई चेपे नदीमा बगाई दिएका हौं भनी बयान गरे पनि शिवजी साहु तेली समेत विरुद्ध शान्तलालको जाहेरीले श्री ५ को सरकार भएको कर्तव्य ज्यान मुद्दा ने.का.पं.२०४० पेज नं.२२२ मा सर्वोच्च अदालत डिभिजन बेञ्जबाट प्रहरीमा कागज बयान भई सकेपछि प्रहरीले पुनः उही व्यक्तिलाई ततिम्बा कागज गराउन पाउने कानुनमा व्यवस्था भएको देखिन्न र सो प्रहरीमा भएका परस्पर विरोधी कागजलाई अधिकारप्राप्त अधिकारी समक्ष सावित भएको भनी ग्राहृय गर्न पनि सकिने अवस्था नदेखिने भनी सिद्धान्त प्रतिपादन समेत भएको देखिँदा प्रहरीमा भएको उक्त ततिम्बा बयानलाई मान्यता दिन मिलेन ।

२४.   घटनास्थल छलिमायाको दोकानको पिँडीमा सुती रहेको गोरे सार्कीले प्रहरी र अदालतमा कागज गर्दा राती घत्र्यांङ धुत्रुक भएको आवाज सुनेको हुँ म काम गरी थाकेको हुँदा त्यतिकै निदाएँ त्यो आवाज के को हो मलाई थाहा भएन भनी बकेको पाइन्छ । त्यसबाट मुकुन्दको प्रहरीको बयान समर्थित भएको छ । तसर्थ तत्काल उठेको रीस थाम्न नसकी मुकुन्दले मर्ने हिमादेवीलाई मार्तोलले हानेको चोटबाट निजको मृत्यु भएबाट निजलाई ज्यानसम्बन्धीको १४ नं.अनुसार १० वर्ष कैद हुनेमा पश्चिमाञ्चल क्षेत्रीय अदालतसमेतले ठोस प्रमाणको अभावमा ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ  गरेको हुँदा त्यति हदसम्म उल्टी हुने ठहर्छ र प्रतिवादी छलिमायाको हकमा २०३८।४।५ मा निजले प्रहरीमा गरेको कागजमा इन्कारी रहेको र निज समेत भई हिमादेवीको ज्यान मारेको भन्न मिल्ने समेत अन्य सबूद प्रमाण गुज्रन नआएबाट निजले सफाई पाउने ठहर्छ। तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डबाट पश्चिमान्चल क्षेत्रिय अदालतको इन्साफमा केही उल्टी हुने ठहरेकोले पश्चिमाञ्चल क्षेत्रीय अदालततथा गोरखा जिल्ला अदालतको फैसलाले दिएको लगत कायम राख्न परेन कट्टा गरिदिनु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु…..१    प्रतिवादी मुकुन्द प्रसाद पोखरेल के माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम निजलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम १० दश वर्ष कैद हुने ठहरेकाले सो को लगत कसी थुनामा राखी असूल गर्नु भनी शुरु जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु……२

प्रतिवादी छलिमाया पोखरेल के माथि इन्साफ खण्डमा उल्लेख भएबमोजिम निजलाई सफाई दिने ठहरेकोले निजलाई अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए तुरन्त कैदबाट मुक्त गरिदिनु भनी जिल्ला कार्यालय कारागार शाखा कास्कीमा छिटो साधनद्वारा लेखी पठाउनु….३

इन्साफ केही उल्टीमा पश्चिमाञ्चल क्षेत्रीय अदालतका माननीय मुख्य न्यायाधीश श्री प्रचण्डराज अनिल र माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्माको रेकर्ड राख्नु…..४

मिसिल नियम बमोजिम गरी बुझाई दिनु……………………………………५

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरिहरलाल राजभण्डारी

 

इतिसम्वत् २०४२ साल मंसीर २७ गते रोज ५ शुभम् ।