September 15, 1985
Created by nepalarchives

निर्णय नं. २४५९ – पर्चा बदर

निर्णय नं. २४५९    ने.का.प. २०४२      अङ्क ८   डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको...

निर्णय नं. २४५९    ने.का.प. २०४२      अङ्क ८

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४१ सालको दे.पु.नं. ६६६

मुद्दा : पर्चा बदर ।

 

पुनरावेदक/वादी:का.जि.का.नगर पंचायतवडा नं. १४ कालिमाटी बस्ने गुणराम प्रजापति ।

ऐ. बस्ने लतमाया प्रजापतिनी ।

विरुद्ध

विपक्षी/प्रतिवादी : गुठी संस्थान अन्तर्गत काठमाडौं गुठी तहसिल कार्यालय भद्रकाली ।

का.जि.का.नगर पंचायतवडा नं.१२ मुसुम बहाल बस्ने लक्ष्मी नारायण प्रजापती ।

फैसला भएको मिति :२०४२।५।३०।१ मा

     घरबारी बापत राख्न सक्ने हदसम्मको जग्गा मोहीका नाममा दर्ता हुने निर्विवाद कानुनी व्यवस्था भएकोमा सो हद भित्रको जग्गालाई खण्डे गरी केही जग्गा मात्र वादी मोहीका नाममा दर्ता हुने गरी गरेको क्षेत्रीय अदालतको फैसला कानुनी त्रुटि गरी गरेको देखिन आएकोले सो फैसला उल्टी हुने ।

(प्रकरण नं. १०)

पुनरावेदक, वादी तर्फबाट:विद्वान अधिवक्ता श्री इच्छा हर्ष बज्राचार्य

विपक्षी, प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री शोभाकर उपाध्याय

उल्लेखित मुद्दाःX

फैसला

न्या.सुरेन्द्र प्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतका फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य तथा पुनरावेदन जिकिर संक्षिप्तमा निम्न प्रकार छ :

२.    काठमाडौं गुठी तहसिल कार्यालयमा दर्ता भएको का.जि.त.गुठी ३४ नं.खेत रोपनी २।। को दुई रोपनी बारआनाको पहिलो मोही कुलनारायण र यसपछि लक्ष्मीनारायणको नाममा दर्ता भएको जग्गा हाम्रो लोग्ने बाबु कुलनारायणले जोती आई नापीमा समेत कालिमाटी गा.पं.वडा नं. १८(क) कि.नं. १० को रोपनी ३२ को कित्ता ऐ. कि.नं. १० को रोपनी ०० ठहर भई जग्गाधनि काठमाडौं गुठी त.ले गुठी भनी जनिएको जग्गा मध्ये आठआना बिक्री गरी २२ जग्गा बाँकी रहन आई कुलनारायण मरी आजसम्म हामीले भोगी  आएका छौं । नापीमा उजूर परेबाट जग्गाधनी गुठी संस्थान र मोही कुलनारायण प्रष्ट भयो । घर बनाई भोगी आएको जग्गा हो लक्ष्मीनारायणले हामीलाई थाहा नै नदिई विपक्षी कार्यालयले हामीलाई बुझ्दै नबुझी ३ खण्डको एक खण्ड हामीलाई छुट्याई दिने भनी २०३५।४।६ मा पर्चा गरेकोले हामी आमा छोरा ४ जना हकदार मध्ये आशाकाजी र बुद्धिनारायणको आधा बाहेक बाँकी हामी २ जनाको हक जाने गरी कानुन विपरीत ०३५।४।६ मा गु.त.का.को पर्चा बदर गरिपाउँ भन्ने समेत व्यहोराको गुणराम समेतको फिरादी ।

३.    लक्ष्मी नारायणले दिएको निवेदनको सिलसिलामा विपक्षीहरूको नाममा पठाएको म्याद २०३४।३।१७।६ मा वादीहरूको छोरा भाइ बुद्धिनारायणले बुझी लिई उपस्थित भई कागज गरिदिएको र गुणराम र लतमायाको नाममा पठाएको म्याद २०३५।३।२७ मा तामेल भई निजहरू उपस्थित हुन आएकोले ०३५।४।१३ मा टिप्पणी सदर बमोजिम जग्गाको खण्ड झुक्याई कित्ताकाट गरिदिएको देखिन आउँछ । सो अनुरुप समेत तय भइसकेको हुँदा उजूर खारेज हुनुपर्छ भन्ने गुठी तहसिल कार्यालयको प्रतिउत्तरपत्र ।

४.    कालिमाटी गा.पं.वडा नं. ८(क) कि.नं. १० र ११ दुवै कित्ता जग्गा म लक्ष्मीनारायणका नाममा दर्ता भई भोगी आएको कि.नं. ११ को जग्गामा विपक्षीहरूको घर भएकोले तहसिलबाट विपक्षीहरूलाई ३ भागको १ भाग दिने निर्णय गराई बाँकी हाल कि.नं. १९० मेरा नाममा ११३३ कायम भई दर्ता भएको हो दर्ता बदर बेगर पर्चा बदर हुन नसक्ने हुँदा यो प्र.हरू खारेज हुने हो भन्ने समेत व्यहोराको प्रतिवादी लक्ष्मीनारायणको प्रतिउत्तर ।

५.    वादी पक्षका परिवार बुद्धिनारायण समेतले यसै फिराद बमोजिम फिरादमा सो पर्चा बदर गरिपाउँ भनी दावी गरेको मुद्दामा वादी दावी पुग्न सक्दैन भनी आजै फैसला भएकोले प्रस्तुत मुद्दामा पनि वादी दावी पुग्न सक्दैन भन्ने समेत व्यहोराको बागमती अञ्चल अदालतको फैसला ।

६.    घरबास गरी आएको जग्गा खण्डे गर्न नमिल्ने समेत हुँदा सो इन्साफमा चित्त बुझेन इन्साफ उल्टाई पाउँ भन्ने समेत व्यहोराको लतमाया समेतले मध्यमाञ्चल क्षेत्रिय अ..मा दिएको पुनरावेदन ।

७.    यसमा वादी दावी बमोजिमको साविक कालिमाटी गा.पं.वडा नं. ८(क) बाट नापी भएको कि.नं. ११ को जग्गामा पुनरावेदक वादीहरूको घर भएको भन्ने नक्शा टे«शबाट पनि देखिन आउँछ । त्यस्तो घरबारी बनाई बसोबास गरी आएको जग्गा कानुन बमोजिम घरबारी बापत राख्न पाउने जग्गाको हदसम्मको जग्गा सोही व्यक्तिको नाममा मोहियानीमा दर्ता हुनेछ, भन्ने गुठी संस्थान ऐन, २०३३ को दफा २६ को उपदफा (७) मा उल्लेख भएको देखिन आएको हुनाले उक्त कि.नं. ११ को जग्गामा दर्तावाला मोही लक्ष्मीनारायण प्रजापतिको दावी पुग्न नसक्ने सो बाहेक कि.नं. १० को २२ जग्गामा नक्शा ट्रेशबाट घर नदेखिएको साथै वादी दावीको जग्गा नापी हुँदाका समयमा गाउँ पञ्चायत अन्तर्गतमा भए तापनि पछि अर्थात गुठी संस्थानले खण्ड छुट्याउनु अघि सहरी क्षेत्र अर्थात नगर पंचायतक्षेत्र कायम भई का.नगर पंचायतवडा नं. १४ कायम भएको भन्ने कुरा पुनरावेदक लेखबाटै देखिने सहरी क्षेत्र भित्रको गुठी जग्गा ३ खण्डको दुई खण्ड दर्तावालाको नाममा र एक खण्ड खास जोताहाका नाममा दर्ता गरिने छ भन्ने उक्त गु.सं.ऐ. दफा २६(३) मा उल्लेख छ । गु.सं.बाट म्याद जारी गर्दा लतमाया गुणराम आशाकाजी उपस्थित नै नभएका र बुद्धिनारायण प्रजापति उपस्थित भई ३ खण्डको १ खण्ड छुट्याई लिन मन्जूर भई गु.सं.का.मा कागज गरेको भन्ने देखिन आयो । सो कागज गर्दा पनि उक्त कि.नं. १० मा घर छ, भनी निजले जिकिर लिन नसकेको हुँदा नक्शा ट्रेशबाट घर देखिएको कि.नं. ११ लाई बाहेक गरी कि.नं. १० को जग्गा रोपनी २२  बाट मात्र ३ खण्डको २ खण्ड दर्तावाला मोही लक्ष्मीनारायणका नाममा र १ खण्ड खास जोताहा मोहीहरूका नाममा गु.सं.ऐन, २०३० को दफा २६(३) र (४) अन्तर्गत छुट्याई दर्ता गरिदिनु पर्नेमा सो बमोजिम नगरी घर भएको कि.नं. ११ र घर नभएको कि.नं. १० समेत दुवै कित्ताको क्षेत्रफल जोडी त्यसबाट २ खण्ड दर्तावाला र एक खण्ड खास जोताहाहरूको नाममा दर्ता गर्ने गरेको गु.त.का.काठमाडौंको २०३५।४।१३ को पर्चा केही गल्ती देखिन्छ । घर भएको कि.नं. ११ को रोपनी ०० बाहेक गरी घर नभएको कि.नं. १० को जग्गा रोपनी २२ मध्येबाट उक्त ऐन बमोजिम ३ खण्डको १ खण्ड ०१३२ जग्गा कित्ताकाट गरी खास जोताहाहरूका नाममा दर्ता गरिदिनु पर्नेमा सो कि.नं. १० बाट ०१०३ मा मात्र कित्ताकाट गरी ०३ पछी गरिदिएको त्यति हदसम्म मिलेको नदेखिँदा गु.त.का.का.को पर्चा केही बदर भर्ई कि.नं. १० बाट कि.का.गरी ०१०३ मात्र जोताहाहरूका नाममा दर्ता हुने ठहराइएकोमा थप नपुग ०३ जग्गा समेत सोही कि.नं. १० बाटै आधी कित्ताकाट भए तर्फबाटै कित्ताकाट गरी खास जोताहा लतमाया, आशाकाजी, गुणराम र बुद्धिनारायण समेतका नाममा दर्ता हुने ठहर्छ । सो गु.त.का.का.को पर्चालाई पूर्ण सदर गरेको बा.अं.अ.को इन्साफ केही उल्टी हुन्छ भन्ने समेत व्यहोराको मध्यमाञ्चल क्षेत्रीय अदालतको २०३९।१०।६ को फैसला ।

८.    उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने समेत व्यहोराको वादी लतमाया र गुणराजले दिएको निवेदनमा यसमा विवादित जग्गामा वादीहरूको घर भएको देखिन्छ । यस्तो घर भएको जग्गामा भू.सु.ऐन, २०३३ को दफा २६(७) ले घरबारी बापत राख्न पाउने जग्गाको हदसम्म जग्गा सोही व्यक्तिको नाममा मोहियानी दर्ता हुने व्यवस्था भएको पाइन्छ । निवेदक वादीहरू घर बनाई बसेको मोही देखिएकोले उक्त कानुनी व्यवस्थानुसार निजहरूका नाममा जग्गा दर्ता हुने देखिन्छ । तसर्थ उक्त कानुनको त्रुटि गरी मध्यमाञ्चल क्षेत्रिय अ.. ले निर्णय गरेकोले पुनरावेदनको अनुमति दिइएको छभन्ने समेत व्यहोराको डिभिजन बेञ्जको आदेश ।

९.    पुनरावेदक तर्फबाट उपस्थित हुनुभएको विद्वान अधिवक्ता श्री इच्छाहर्ष बज्राचार्यले र विपक्षी गुठी संस्थान तर्फबाट उपस्थित हुनुभएका विद्वान अभिवक्ता श्री शोभाकर उपाध्यायले गर्नु भएको बहस समेत सुनियो । मुख्यतः मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ, छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

१०.    यसमा विवादित जग्गा गुठी तहसिल कार्यालयमा का.गु.त.गुठी ३४ नं. मा दर्ता रहेको एकै चक्ला जग्गाबाट नापीमा मात्र कित्ता नं. १० र ११ कायम भएको र सोही जग्गामा पक्की घर बसोबास भएकोमा समेत विवाद देखिन्छ । त्यस्तो जग्गाका विषयमा गुठी संस्थान ऐन, २०३३ को दफा २६(७) हेर्दा यस दफामा जुनसुकै कुरा लेखेको भए तापनि कुनै गुठी अधीनस्थ जग्गामा कुनैले कानुन बमोजिम अधिकार पाई घरबारी बनाई बसोबास गरी आएको भए प्रचलित नेपाल कानुन बमोजिम घरबारी बापत राख्न पाउने जग्गाको हदसम्म जग्गा सोही व्यक्तिका नाममा मोहियानीमा दर्ता हुनेछ, भन्ने व्यवस्था भएको पाइन्छ । यस्तो स्थितिमा घरबारी बापत राख्न सक्ने हदसम्मको जग्गा मोहीको नाममा दर्ता हुने निर्विवाद कानुनी व्यवस्था भएकोमा सो हदभित्रको जग्गालाई खण्डे गरी केही जग्गा मात्र वादी मोहीका नाममा दर्ता हुने गरी गरेको क्षेत्रीय अदालतको फैसला कानुनी त्रुटि गरी गरेको देखिन आएकोले सो फैसला उल्टी हुने ठहर्छ । उक्त लेखिए बमोजिम लगत नं. ३४ को एउटै चक्ला जग्गाबाट कि.नं. १०, ११ कायम भएको घरवासको हदभित्रको जग्गा देखिएकोले गुठी तहसिल कार्यालय काठमाडौंबाट प्रतिवादीहरूका नाममा दर्ता गर्ने गरी गरेको २०३५।४।१३ को पर्चा र सो बमोजिमको दर्ता समेत वादी दावी बमोजिम  बदर हुने ठहर्छ । तपसीलका कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

माथि इन्साफ खण्डमा लेखिए बमोजिम मध्यमाञ्चल क्षेत्रीय अदालतको इन्साफ उल्टी भई वादी दावी बमोजिम पर्चा बदर भएकोले गुणराज प्रजापति र लतमाया प्रजापतिले बा.अं.अ.मा फिराद गर्दा राखेको कोर्टफी रु.६४१।२५ र मध्यमाञ्चल क्षेत्रीय अ.मा पुनरावेदन गर्दा राखेको कोर्टफी रु.९७।७५ र यस अदालतमा पुनरावेदन गर्दा राखेको कोर्ट फी रु.१।५० समेत जम्मा वादीले दावीको कोर्टफी रु ७४०।५० प्रतिवादीहरूबाट भराई पाउँ भनी वादीको म्यादमा दर्खास्त परे दस्तुर केही नलिई कानुन बमोजिम प्रतिवादीहरूबाट भराई दिनु भनी का.जि.अ.त.मा लगत दिनु……..१

माथि इन्साफ खण्डमा लेखिए बमोजिम शुरु गुठी तहसिल कार्यालय काठमाडौंका पर्चा र सोही बमोजिम गर्ने गरेको बा.अं.अ.को र केही उल्टी गरेको मध्यमाञ्चल क्षेत्रिय अ..समेतको फैसलाहरूमा उल्लेख भएबमोजिमको खण्ड दर्ता गर्ने गरेको सो फैसला निर्णयहरूमा लेखिएकोमा अब सो बमोजिम गर्नु परेन उक्त निर्णयहरूमा लेखिएका हदको सम्पूर्ण लगत काटी दिनु भनी गुठी तहसिल कार्यालय काठमाडौंमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु………………२   मिसिल नियमानुसार गरी बुझाई दिनु………………………………………….३

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्रप्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४२ साल भाद्र ३० गते रोज १ शुभम् ।