August 25, 1985
Created by nepalarchives

निर्णय नं. २४५७ – किल्ला बदर

निर्णय नं. २४५७    ने.का.प. २०४२      अङ्क ८   डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव सम्वत् २०४१ सालको...

निर्णय नं. २४५७    ने.का.प. २०४२      अङ्क ८

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्रप्रसाद श्रीवास्तव

सम्वत् २०४१ सालको दे.पु.नं. ७४०

मुद्दा : किल्ला बदर ।

 

पुनरावेदक/वादी:जि.दोलखा बोच गा.पं.वा.नं.८ हालेलापुरी डाडा गा.पं.वा.नं. ६ बस्ने शेर बहादुर खत्री ।

विरुद्ध

विपक्षी/प्रतिवादी:ऐ.ऐ. वा.नं. ४ बस्ने नजर बहादुर तामाङ ।

फैसला भएको मिति  :२०४२।५।९।१ मा

     विवादित जग्गाको किल्ला समेत भिडाई कानुनी प्रमाणको आधार लिई गरेको निर्णयमा कुनै कानुनी त्रुटि नभई मिलेको देखिँदा सदर हुने ।

(प्रकरण नं. ११)

पुनरावेदक,वादी तर्फबाटः विद्वान अधिवक्ता श्री बलराम काफ्ले

विपक्षी,प्रतिवादी तर्फबाटःX

उल्लेखित मुद्दाःX

फैसला

न्या.सुरेन्द्र प्रसाद सिंहः मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादी शेरबहादुर खत्रीको यस अदालतमा पर्न आएको निवेदनमा पुनरावेदनको अनुमति पाई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ :

२.    विपक्षीले मसँग रु. ८०००।लिई मिति ०३४।७।३० मा एककित्ता जग्गा राजीनामा पारित गरिदिएकोमा १ कित्ताको चलन गर्न दिएको अर्को किल्ला नमिलेको पूर्व मानबहादुर कार्कीको खेत साँध भनेको सो नभई पूर्व डम्बरबहादुर खड्काको साँध पश्चिम ठाडो बाटो भनेको सो नभई पश्चिम पानीको कुलो साँध दक्षिण मानबहादुर कार्कीको साँध सो नभई दक्षिण क.प.डम्बर खत्रीको साँध उत्तर दलबहादुर खत्रीको साँध यति ४ किल्ला भित्रको माटो मुरी ।३।१०। मध्ये माटो मुरी ।१।१० को काभ्रे भन्ने खेतमा मिति ०३९।९।१५ गते जग्गा चलन गर्न जाँदा नदिएकोले राजीनामा बमोजिम जग्गामा चलन गर्न दिनुहोस् भन्दा पूर्व, पश्चिम, दक्षिण किल्ला सच्याई पाउँ भन्नेतर्फ हदम्यादको व्यवस्था नहुँदा अ.बं. ३६ नं.बमोजिम फिराद गर्न आएको छु । उल्लिखित जग्गामा मलाई भोगचलन गर्न नदिई किल्ला फरक पारी लेखिदिएको विपक्षीलाई झिकाई नमिलेको १ कित्ता मध्ये पूर्व डम्बरबहादुरको साँध पश्चिम ठाडो बाटोको साँध दक्षिण मानबहादुरको साँध रजिष्ट्रेशनको १६ नं.बमोजिम गरी पूर्व डम्बरबहादुरको साँध पश्चिम पानीको कुलो साँध दक्षिण क.प.डम्बरबहादुर खत्रीको साँध कायम गरिपाउँ भन्ने समेत व्यहोराको मिति ०३५।१२।५।१ को फिरादपत्र ।

३.    विपक्षी वादीलाई मैले मिति ०३४।७।३० मा पारित गरिदिएको लिखितमा लेखिएको दोश्रो कित्ताको जग्गा मैले दिएको नभई सो जग्गा अघि नै रतनबहादुरलाई बिक्री गरिसकेको राजीनामाको पहिलो किल्लाको माटो मुरी ।२ को जग्गा भाग ८०००।मा राजीनामा गरीदिएको निज बहादुरसँग लिएका राजीनामा हेरी २ कित्ता जग्गा लेखी पारित गराउने गरी हाल छुट्टै माटो ।१।१० पूर्व उत्तर डम्बरबहादुरको साँधलाई मिलेन भिडेन भनी पश्चिम रतनबहादुरको साँध  यति ४ किल्ला भित्रको जग्गालाई किल्ला मिलाई लिने खाने नियत गरेको हो । विपक्षले लिएको राजीनामाको उत्तर रतनबहादुरको साँधलाई मिलेन भिडेन भनी पश्चिम रतनबहादुरको साँधलाई उत्तर रतनबहादुरको साँध मिल्ने भनी मेरो छुट्टै जग्गामा दावी गर्नु झुठ्ठा दावी हो भन्ने समेत व्यहोराको मिति ०३६।२।२७ को प्रतिउत्तरपत्र ।

४.    वादीलाई राजीनामा पारित गरिदिएको लिखतको विवादग्रस्त जग्गा खेत झुक्याई राजीनामा गराएको जग्गा रतनबहादुरलाई बिक्री गरी सकेको भनी प्रतिवाद गर्न उक्त नक्शा गर्दा सो श्रीमती डोल्मु तामाङनीको जग्गा भनी न.नं. १२ लाई देखाएबाट प्रतिवादीको भनाई परस्पर बाझिएको देखिने । लिखत रजिष्टे«शनको ४ नं.बमोजिम अड्डाको सामुन्ने लिने दिने साक्षीको सहिछाप गराई हुने हुनाले झुक्याई किल्ला थप गरी पारित हुने हुनाले झुक्याई किल्ला थप गरी दिने भन्ने प्रतिवादी विश्वासनीय नहुँदा न.नं.५ को क.प.डम्बरबहादुरको खेत साँधले पश्चिम न.नं. १० रतनबहादुरको पूर्व न.नं.ठाडो कुलाले उत्तर न.नं. २ डम्बरबहादुरको खेतले दक्षिण यति ४ किल्लाभित्रको माटो मुरी ।१।१० को काभ्रे खेत प्रतिवादीबाट चलन चलाई पाउने ठहर्दछ भन्ने मिति ०३६।९।५।५ मा दोलखा जिल्ला अदालतबाट भएको फैसला ।

५.    उक्त फैसलामा चित्त बुझेन जि.अ.को फैसला उल्टाई हक इन्साफ पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको जनकपुर अञ्चल अदालतमा पर्न गएको पुनरावेदन ।

६.    लिखत गराउँदाको अवस्था साहुले जग्गा हेरी जाँची बुझी ४ किल्ला भिडाई लिनुपर्नेमा आफूले लिखत गराएको ४ किल्लाभित्रको जग्गा पाउनेमा बेग्लै ४ किल्लाभित्रको जग्गालाई किल्ला संशोधन गरिपाउँ भन्ने दावी गलत हुँदा न.नं. १० को जग्गा फिरादीको ठहर्‍याएको इन्साफ बिलकुलै त्रुटिपूर्ण हुँदा शुरु जि.अ.को इन्साफ उल्टी हुने ठहर्छ भन्ने जनकपुर अञ्चल अदालतको फैसला ।

७.    उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भन्ने वादीको मध्यमाञ्चल क्षेत्रिय अ..मा निवेदन पर्न जाँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालत सिंगल बेञ्जको आदेश ।

८.    इन्साफ जनकपुर अञ्चल अदालतको मनासिव नै हुँदा सदर हुने ठहर्दछ पुनरावेदन जिकिर पुग्न सक्तैन भन्ने समेत मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।

९.    उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादीको यस अदालतमा निवेदन पर्न आएकोमा मध्यमाञ्चल क्षेत्रीय अदालतको निर्णयमा रजिष्ट्रेनको १६ नं.तथा अ.बं. १८५(क) को त्रुटि देखिएको हुँदापुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने समेत यस अदालत डिभिजन बेञ्जको आदेश ।

१०.    नियम बमोजिम निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादीको तर्फबाट रहनुभएको विद्वान अधिवक्ता श्री बलराम काफ्लेले गर्नु भएको बहस जिकिर समेत सुनियो । मुख्यतः मध्यमाञ्चल क्षेत्रीय अदालतले गरेको फैसला मिले नमिलेको के रहेछ सोको निर्णय दिनुपर्ने हुनआयो ।

११.    निर्णयतर्फ बिचार गर्दा यसमा मिसिल सामेल रहेको ०३८।७।२५ मा भई आएको नक्सामा हेर्दा न.नं. १० मा झगडा जनिएको विवादित जग्गा देखिन्छ । सोही जग्गा राजीनामामा किल्ला फरक परेकोले सच्याई चलन पाउँ भन्ने वादी दावी भएको पाइन्छ । सो वादीले सच्याई पाउँ भनेको किल्लाभित्रको जग्गा रत्नबहादुरलाई बिक्री भई गइसकेको भन्ने प्र.जिकिरबाट समेत देखिन आउँछ । र नक्साको ४ नं.मा वादी दावीको किल्ला भिडेकोमा न.नं. १० को जग्गा वादीले पाएको भन्न मिल्दैन । त्यस्तो अर्को व्यक्तिलाई राजीनामा गरी हक छाडिसकेको प्रत्यवादी आसामीबाट गराई लिएको राजीनामा बमोजिमको जग्गाको किल्ला सच्याई संशोधन गरी  वादी दावी बमोजिम चलन चलाई दिन नमिल्ने ठहर्‍याई जनकपुर अञ्चल अदालतले गरेको फैसलालाई मनासिव ठहर्‍याई सदर गर्ने गरेको मध्यमाञ्चल क्षेत्रीय अदालतले विवादित जग्गाको किल्ला समेत भिडाई कानुनी प्रमाणको आधार लिई गरेको निर्णयमा कुनै कानुनी त्रुटि नभई मिलेको देखिँदा सदर हुने ठहर्छ । पुनरावेदकको पुनरावेदन जिकिर पुग्न सक्तैन कोर्टफी राखी पुनरावेदन दर्ता भएकोले केही गर्न परेन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा मेरो सहमति छ ।

 

न्या.जोगेन्द्र प्रसाद श्रीवास्तव

 

इतिसम्वत् २०४२ साल भाद्र ९ गते रोज १ शुभम् ।