निर्णय नं. २४५१ – उत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय नं. २४५१ ने.का.प. २०४२ अङ्क ८ डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०४१ सालको...
निर्णय नं. २४५१ ने.का.प. २०४२ अङ्क ८
डिभिजन बेञ्ज
इजलाश
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४१ सालको रिट नं.१३९१
विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ ।
निवेदक :महोत्तरी जिल्ला कोल्हुवा वगीया गा.पं.वार्ड नं.९ बस्ने रमजान मोमिन ।
विरुद्ध
विपक्षी :भूमि सुधार अधिकारी, भूमि सुधार कार्यालय महोत्तरी ।
महोत्तरी जिल्ला मटिहानी स्थित मटिहानी गुठी तहसिल तथा खर्च कार्यालय ।
महोत्तरी जिल्ला कोल्हुवा वगीया गा.पं.वार्ड नं. ९ बस्ने ताहीर मोमिन ।
आदेश भएको मिति:२०४२।६।१७।५ मा
बीच बीचमै रिट निवेदकको मोहियानी हकमा असर पर्ने गरी निर्णय गरे गराएको भए अ.बं.८६ नं.को मार्ग अवलम्वन गर्नु पर्ने ।
(प्रकरण नं. ९)
निवेदक तर्फबाट: विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
विपक्षी तर्फबाट :विद्वान का.मु.सरकारी अधिवक्ता श्री प्रमोद विजयी
उल्लेखित मुद्दाःX
आदेश
न्या.धनेन्द्र बहादुर सिंह: भूमि सुधार कार्यालय महोत्तरीको ०३८।४।१५ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत ०४१।६।१ मा पर्न आएको प्रस्तुत रिट निवेदनको तथ्य यसप्रकार छ :
२. महोत्तरी जि.गोनरपुरा गा.पं.वार्ड नं.७ कि.नं. १९६ को ०–१४–७ विगाहा जग्गा मध्ये उत्तर तर्फको ०–७–० जग्गा भू.सु.लागू हुँदाकै अवस्थादेखि म निवेदकले जोती बाली प्र.मटिहानी गुठी तहसिल तथा खर्च कार्यालयलाई बुझाएको छु । मोहियानी हकको स्थायी प्रमाणपत्र माग्न जाँदा मैले जोत कोढ गरी आएको जग्गाको मोहीको प्रमाणपत्र विपक्षी ताहिर मोमिनले ०३८।४।१५ मा लगी सकेको भन्ने कुराको जानकारी ०४१।३।२९ को निर्णयबाट जानकारी गरी ०३८।४।१५ को भनिएको निर्णयको नक्कल ०४१।५।१२ मा सारी थाहा पाएँ उक्त ०३८।४।१५ को निर्णयबाट उल्लिखित जग्गाको ताहिर मोमिन मोही ठहर्छ भनी निर्णय गरेको रहेछ ।
३. म निवेदक मोही हुँ भनी मटिहानी गुठी तहसील तथा खर्च कार्यालयले सहमती व्यक्त गरेको ०४०।५।१२ को पत्र एवं स्थानीय पञ्चायतको सिफारिशले स्पष्ट गर्दछ ०३४।११।१ मा म निवेदक र प्रत्यर्थी मटिहानी गुठी तहसील तथा खर्च कार्यालय बीच कबूलियत समेत भएको भूमिसम्बन्धी ऐनको दफा २५(२) बमोजिम मोही भन्ने स्पष्ट गरेकै छ । विपक्षी ताहिर मोमिनलाई मोही कायम गरेको प्राकृतिक न्याय सिद्धान्त प्रतिकूल भई बदरभागी छ । म निवेदकको मोही हकमा प्रतिकूल असर पर्ने गरी निर्णय गर्न सकिने होइन । अतः उत्प्रेषणको आदेशद्वारा ०३८।४।१५ को निर्णय बदर गरी हक प्रचलन गरिपाउँ भन्ने निवेदन जिकिर ।
४. विपक्षीसँग लिखिन जवाफ लिई पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगल बेञ्जको ०४१।६।११ को आदेश ।
५. जुन निर्णय बदर गरिपाउँ भनी दावी गरेको हो सो मुद्दामा यो निवेदक वादी वा प्रतिवादी भई तारेखमा रही निर्णय भएको होइन सो मुद्दादेखि बाहेकको व्यक्ति निवेदक भई रहेको स्पष्ट छ । सो निर्णयले निवेदकको हक भएको भए अ.बं.८६ नं.बमोजिम उजूर गर्न पाउने उपचार छाडी परेको र ढिलो गरी रिट परेको हुँदा खारेजभागी छ भन्ने समेत ताहिर मोमिनको लिखिन जवाफ ।
६. मोहीको प्रमाणपत्र बनाई दिनु भनी जग्गाको स्वामित्व भएको व्यक्तिबाट लेखी आएकोले सोही आधारमा ०३८।४।१५ को निर्णयानुसार मोहीको प्रमाणपत्र दिइएको हुँदा निवेदन जिकिर निराधार छ भन्ने समेत भूमि सुधार कार्यालय महोत्तरीको लिखिन जवाफ ।
७. निवेदक तर्फबाट रहनु भएमा विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीले विवादित जग्गाको मोही नभएको व्यक्ति विपक्षी ताहिर मोमिनलाई ०३८।४।१५ को निर्णयले मोही कायम गरेको कुरा ०४१।३।२९ मा जानकारी हुनासाथ सो निर्णय बदर गराउन रिट परेको हुँदा विलम्ब भन्न मिल्दैन । कानुनी त्रुटि गरी निर्णय गरेको हुँदा भू.सु.का.को निर्णय बदरभागी छ भन्ने समेत र प्रत्यर्थी कार्यालय तर्फबाट बहस गर्न उपस्थित विद्वान का.मु.सरकारी अधिवक्ता श्री प्रमोद विजयीले जग्गा मोही सम्बन्धी कुरा छ । ०३८।४।१५ को निर्णय बदर गराउन दुई वर्ष पछि मात्र विलम्ब गरी रिट परेको हुँदा खारेज हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो ।
८. प्रस्तुत मुद्दामा निवेदकका माग अनुसारको आदेश जारी हुनपर्ने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।
९. यसमा निर्णयतर्फ हेर्दा गुठी संस्थान मटिहानी गुठीले मोही हो जग्गा मोहीमा जोती राखेको छ । गुठी जिरायतको जग्गा हो भनी ०३८।४।४ मा मोहीको प्रमाणपत्र दिने सिफारिश गरेको र बाली बुझाएको भर्पाई समेतको आधारमा निवेदक ताहिर मोमिन मोही ठहर्छ भनी प्रत्यर्थी भू.सु.का.महोत्तरीले निर्णय गरेको देखिन्छ । सो मुद्दामा रिट निवेदकको नाम कतैबाट उल्लेख भएको पाइँदैन । यस स्थितिमा रिट निवेदकलाई नबुझी प्राकृतिक न्याय विपरीत निर्णय गरेको भनी दोषारोपण गर्न मिल्ने देखिँदैन । त्यसरी बीच बीचमै रिट निवेदकको मोहियानी हकमा असर पर्ने गरी निर्णय गरे गराएको भए अ.बं.८६ नं.को मार्ग अवलम्बन गर्नु पर्ने हुन्छ । तसर्थ रिट निवेदकका माग अनुसार यो रिट क्षेत्रबाट वास्तविक मोही को हो भनी सबूद प्रमाण बुझी निर्णय गर्न नमिल्ने भएकोले प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४२ साल असोज १७ गते रोज ५ शुभम् ।