August 2, 1985
Created by nepalarchives

निर्णय नं. २४४९ – डाँका

निर्णय नं. २४४९    ने.का.प. २०४२      अङ्क ८   डिभिजन बेञ्ज इजलाश माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको...

निर्णय नं. २४४९    ने.का.प. २०४२      अङ्क ८

 

डिभिजन बेञ्ज

इजलाश

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको डि.फौ.पु.नं.५८३

मुद्दा: डाँका ।

 

पुनरावेदक/वादी:जय प्रकाश श्रेष्ठको जाहेरीले श्री ५ को सरकार ।

विरुद्ध

विपक्षी/प्रतिवादी:गोरखा स्वारा गा.पं.वडा.नं.३ रातमाटे बस्ने पहलमान थापा मगर ।

फैसला भएको मिति:२०४२।४।१८।६ मा

      तथ्ययुक्त सबूद प्रमाण बेगर केवल शंकाको भरमा प्रतिवादीहरूलाई दोषी ठहर गर्न मिल्ने अवस्था नरहने ।

 (प्रकरण नं. ४१)

पुनरावेदक,वादी तर्फबाटःX

विपक्षी,प्रतिवादी तर्फबाटःX

उल्लेकितम मुद्दाःX

फैसला

न्या.धनेन्द्र बहादुर सिंहः प्रस्तुत मुद्दामा न्याय प्रसासन सुधार ऐन, २०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) अनुसार पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएकोमा मुद्दाको तथ्य यसप्रकार छ ।

२.    २०३७ साल बैशाख २० गते राती अं.११ बजेको समयमा श्यामकुमार श्रेष्ठको र सोही रात १२ बजेको समयमा जयप्रकाश श्रेष्ठको दोकानमा गोरखा स्वारा गा.पं.वार्ड नं.३ बस्ने पहलमान थापा मगर १ खड्गबहादुर मगर १, छविलाल १, गोपाल मगर १ चन्द्रबहादुर गुरुङ १, कृष्णबहादुर बरामू १ समेत चिनेका र अरु नचिनेका आँगन पिंढीमा हातमा लाठा लिई सामान ओसार्न आएका जम्मा ४०।५० जना भई उक्त लेखिएका ७ जना खुकुरी, खूर्पा लाठीले ढोका फोरी घरभित्र पसी ल अब तेरो सम्पत्तिहरू कहाँ छ देखा बोलिस कराइस भने तँलाई काटी मारी दिन्छौ भनी भने पछि ज्यानको माया लागी चुपचाप लागी बसी परिवारलाई केही नगरी जयप्रकाशको बिगो रु.७६००७।को धनमाल र म श्यामकुमार श्रेष्ठको बिगो रु. ४१९१४।५० को धनमाल डाँका गरी लगेकोले दर्खास्त गर्न आएको छु । उक्त डाँकाहरू उपर कानुनी कारवाही भई उक्त विगोको धनमाल समेत दिलाई भराई पाउँ भन्ने व्यहोराको मिति ०३७।१।२३ को जाहेरी दर्खास्त रहेछ ।

३.    जय प्रकाश तथा श्यामकुमारको घर डाँका गर्न पर्छ भनी पहलमान, कृष्णबहादुर समेतले भनेकाले म समेत गई पहिले श्यामकुमारको र त्यसपछि जयप्रकाशको घर दोकानको माल सामान लुट्ने फाल्नु गरेको हुन् भनी प्रतिवादी जुठे सुनारी मगरले प्रहरीमा गरेको कागज रहेछ ।

४.    मतदान दिई सकेपछि बेलुका घर जान भनी गएको अवस्था केही पर बाटामा पुगेपछि जाहेरवालाहरूसँग चामल मागिएको सम्बन्धमा प्रतिवादी खड्गबहादुरसँग झगडा भएको छ रे भन्ने सुनेकोले म पनि फर्कि सोही खारचोकमा आएँ खड्गबहादुरलाई जयप्रकाशको घर आँगनमा देखें त्यतिखेर मलाई रक्सी लागेको थियो ।  खड्गबहादुरलाई के भयो त भनी निजलाई सोधें जवाफ नदिई रीस उठी जाहेरवालाहरूको दोकान घर फुटा भनी अडर गरे श्यामकुमारको दोकान फोरेपछि केही वेर भई जयप्रकाशको दोकान पनि फोरे सो दोकानको माल कृष्णबहादुर, चन्द्रबहादुर, जुठे सुनारी मगर समेतका मानिसहरू भई फालेका हुन् मैले अडर गरेको हुँ भनी प्र.पहलमान थापा मगरले मिति २०३७।१।२६ मा प्रहरीमा गरेको कागज ।

५.    मतदान दिई सकेपछि बेलुका ७ बजेतिर घर जान लाग्दा स्वारा गाउँ बस्ने देवीनारायण श्रेष्ठले लाठ साहेवको बच्चा हल्ला गरेर हिंडेको छस् भनी भनेकाले रीस उठी सोही कुरामा छलफल गर्न म पनि फर्की जाहेरवालाको घरतर्फ नै आएँ प्र.पहलमान समेतका मानिसहरू खारचोकमा हल्ला गरी रहेका रहेछन् र पहलमान समेतका मानिसहरू भई जाहेरवालाहरूको दोकान तोडफोड गर्न थाले म देवी नारायणलाई खोज्न थाले निज फेला नपरेकाले म पनि प्रकाशको घरभित्र पसी सरासर त्यहाँसम्म गएँ जयप्रकाशको श्रीमती राममायाले काखमा लिई रोइरहेकी थिइन् मलाई मानिस हटाई देउ भनिन् दोकानको माल लुट्ने फाल्नेमा पहलमान, चन्द्रबहादुर, कृष्णबहादुर, जुठे समेत भई फालेका हुन् मैले फालेको हैन भनी प्र.खड्गबहादुर मगरले २०३७।१।२९ मा प्रहरीमा गरेको कागज ।

६.    पहलमान अघि अरु खड्गबहादुर जुठु, चन्द्रबहादुर, कृष्णबहादुर, कैले गुरुङ समेत भई पहिले श्यामकुमारको त्यसपछि जयप्रकाशको दोकान तोडफोड गरी माल जत्रतत्र गरी फालेका हुन् म बाहिर बाटोमा उभिरहेको हुँ अरु नचिनेका ३०।४० जना जति हुल थियो । निजहरूले फालेको सबैले टिपी भागेका हुन् भनी छविलाल भन्ने छपबहादुर मगरले प्रहरीमा गरेको कागज ।

७.    २०३७।१।२० गते बेलुका खारचोक भन्ज्याङमा गई जयप्रकाशको दोकानमा गई रक्सी खाएँ । त्यतिकैमा ८।९ बजेतिर पहलमान समेतका मानिसहरू श्यामकुमारको दोकान फोरी सकेपछि जयप्रकाशको दोकान पनि फोर्न पर्छ भन्दै हूल आएकोले म बाहिर निस्की उभिरहेको थिएँ र सोही हूलमा मिसी म पनि जयप्रकाशको दोकानको माल Çयाँक्न लागे अरु चन्द्रबहादुर, पहलामान, जुठे मगर समेतका मानिस थिए । अरु चिनिन त्यसपछि म धनबहादुरको घरमा गई सुतें अरु कता गए थाहा भएन भनी कृष्णबहादुर बरामुले प्रहरीमा गरेको बयान ।

८.    घटना हुँदा म पनि त्यहाँ नै थिएँ । श्यामकुमारको र जयप्रकाशको दोकान फोर्नुपर्छ भनी पहलमान, खड्गबहादुर, कृष्णबहादुर समेत सो हूल आएकोले म पनि सोही हूलमा मिसी पहिले श्यामको त्यसपछि जयप्रकाशको दोकान फोरेका हौं भनी चन्द्रबहादुर गुरुङले प्रहरीमा गरेको बयान ।

९.    २०३७।१।२० गतेको ९१० बजेतिर जाहेरीमा लेखिएको पहलमान, कृष्णबहादुर, चन्द्रबहादुर, क्षेत्रबहादुर समेत भई दोकानको माल सामान जत्रतत्र गरी फालेका हुन् दोकानमा गई बाहिर उनीहरूले फालेको मैले बरामद मुचुल्कामा लेखिएको अनुसारको माल लगेको हुन् भनी कैले गुरुङले प्रहरीमा गरेको कागज ।

१०.    प्र.पहलमान, जुठे, कृष्णबहादुर, चन्द्रबहादुर समेत भई जाहेरवालाहरूको दोकानको माल लुटी डाँका गरी लगेका हुन् सो दोकानभित्र म गइन बाहिर फालेको माल सामान लगेको हुँ भनी क्षेत्रबहादुर गुरुङले प्रहरीमा २०३७।१।२९ मा गरेको कागज ।

११.    प्र.पहलमानसमेत भई जाहेरवालाहरूको दोकान लुटेका हुन् म दोकानमा गइन निजहरूको बाहिर फालेको माल सामान लगेको हुँ भनी मानबहादुर थापा मगरले प्रहरीमा गरेको २०३७।१।२९ को कागज ।

१२.   २०३७।१।२० गते बेलुका ८९ बजेतिर पहलमान, कैले, कृष्णबहादुर समेत भई श्यामकुमारको र जयप्रकाशको दोकान तोडफोड गरी धनमाल लुटी लगेका हुन् सो दोकान लुट्न गइन निजहरूले फालेको मैले  बरामद मुचुल्कामा लेखे अनुसारको माल बाटामा भेटेकोले लगेको हुँ भनी वीरबहादुरले २०३७।१।२९ मा प्रहरीमा गरेको कागज ।

१३.   जाहेरीमा लेखिएका पहलमान, खड्गबहादुर समेतले जाहेरवालाहरूको घर डाँका गर्नुपर्छ भनी पहलामानले घरको ढोका फोरी दे भन्यो र कैले, जुठे मगर समेत भई जाहेरवाला दुवैको दोकान फोरी धनमाल लाने जत्रतत्र गरी फाल्ने गरेका हुन् भनी मिति २०३७।१।२९ मा जगतबहादुरले प्रहरीमा गरेको कागज ।

१४.   प्र.पहलमान, जुठे मगर, कृष्णबहादुर चन्द्रबहादुर समेत भई श्यामकुमार तथा जयप्रकाश समेतको दोकान फोरी माल सामान डाँका गरी लगेका हुन् म दोकानभित्र गैन भनी रिठ्ठे सार्कीले २०३७।१।२९ मा प्रहरीमा गरेको कागज ।

१५.   जाहेरवालाहरूले दोकान फोरी डाँका गर्नेहरूमा पहलमानलाई चिनें, अरुलाई चिनिन । म दोकान भित्र गइन बाहिर फेला परेको बरामद मुचुल्कामा लेखिएको माल मैले लगेको हुँ भनी कर्णबहादुर गुरुङले २०३७।१।२९ मा प्रहरीमा गरेको कागज ।

१६.    २०३७।१।२० गतेका दिन म स्कुल पारी गोठमा थिएँ सो ठाउँबाट वस्तु बहिनीलाई हेर्न लगाई म आई भोट दिई गोठमा नै गएँ बाहिर सुतें जाहेरवालाको दोकान लुटियो भन्ने कुरा भोलिपल्ट सुनें म आइन अहिले मेरो घरबाट माल बरामदी भएको भनी अहिले मात्र देखें थाहा पाएँ यसभन्दा अघि मलाई कुनै कुरा थाहा छैन मेरो घरबाट बरामद भएको माल दाजु मानबहादुरले लगेको भन्ने कुरा पनि अहिले सुनें अरु कुरा मलाई कोनै थाहा छैन भनी प्र.गोपालबहादुर मगरको प्रहरीमा २०३७।१।२९ को कागज ।

१७.   प्र.पहलामान, चन्द्रबहादुर कृष्णबहादुर जुठे समेत भई जाहेरवालाहरूको दोकान तोडफोड गरी माल लुटेका हुन् म दोकान लुट्न गइन बाहिर फालेको माल मात्र लगेको हुम भन्ने बहादुर गुरुङले प्रहरीमा मिति २०३७।१।२९ मा गरेको कागज ।

१८.   यी पक्राउ भएका १५ जना मध्ये गोपालबहादुर घटना हुँदा घटनास्थलमा आए जस्तो लाग्दैन । अरु १४ जनाले जाहेरवाला श्यामकुमार तथा जयप्रकाशको दोकान फोरी माल सामान लगेको हुनुपर्छ र बिगो लेखिए बमोजिम ठीक छ भन्ने चित्तमा लाग्छ भन्ने मिति २०३७।१।२९ को सरजमीन मुचुल्का ।

१९.    जाहेरवालाहरूको मौकैको किटानी साथको जाहेरी दर्खास्त माथि उल्लिखित अभियुक्तहरूको मौकाको बयान तथा सरजमीन मुचुल्का र डाँका भएको सामान बरामद भएको दसी समेतको खानतलास लिई मुचुल्का समेतको आधारले माथि उल्लिखित अभियुक्त जवान १५ ले जाहेरवालाहरूको घरमा वारदातको समयमा गई डाँका गरी लगेको देखिन आएकोले डाँका भएको बिगो मध्ये श्यामकुमारको रु.४१,९९४।५० मा बरामद भएको रु.९९६।७३ जयप्रकाशको बिगो रु. ७६,००७।मध्ये बरामद भएको मालसामानको रु. ५८२।९५ कट्टा गर्दा बरामद हुन बाँकी देखिएको श्यामकुमारको बिगो रु.४०,९९७।७७ जयप्रकाशको बिगो रु.७६,००७।मध्ये बरामद भएको माल सामानका रु.५८२।९५ कट्टा गर्दा बाँकी देखिन आएको बिगो रु.७५,४२४।०५ समेत दुवै कलमको जम्मा रु.१,१६,४२१।८२ माथि उल्लिखित अभियुक्तहरूबाट बराबरको दरले भराई उल्लिखित जवान १५ लाई मुलुकी ऐन चोरीको १।६ अन्तर्गतको कसूर अभियुक्तहरूले गरेको देखिन आएकोले निज अभियुक्तहरूलाई चोरीको १२१४(४) अनुसार सजायँ भई जाहेरवालाहरूलाई लेखिए बमोजिमको बिगो भरी भराउ समेत गरिपाउँ भन्ने समेत व्यहोराको संयुक्त प्रहरी प्रतिवेदन।

२०.   प्रहरी प्रतिवेदन सरजमीन मुचुल्का जाहेरी दर्खास्त समेत यस अदालतबाट सुनाउँदा सुनें । घटनास्थलमा बसेर माल सामान Çयाँक्न लागेको भनी भनेको हैन प्रहरीले किन त्यस्तो लेखे म निरक्षरी भएकोले त्यस्तो लेखेको थाहा पाइन । ०३७।१।२० गते जनमत  संग्रहको दिनमा म आफ्नै घरमा थिएँ । जयप्रकाशको घर मेरो घरबाट १००० गज जति फरकमा छ । सो दिन दिउँसो दिनभरी जंगलमा वस्तु चराउन गएको थिएँ । घरमा खाना खाएर जाहेरवाला जयप्रकाशको दोकानमा रक्सी खाएर बिंडी किनेर गोठमा आएको हुँ । रक्सी खाँदा बिंडी किन्दा पसलमा कोही मानिस थिएनन् डाँका गरेको छैन को को भई डाँका गरे मलाई थाहा छैन । बरामद भएको काँचको कचौरा कालो टोपी साबुन मध्ये कचौरा चाहिं श्यामकुमारले र साबुन टोपी जयप्रकाशले जबरजस्ती लगेका हुन् सो माल सामान मेरै घरको सामान हुन् म निर्दोषी छु । डाँका गरेको हैन भन्ने समेत कृष्णबहादुर बरामुले अदालतमा गरेको बयान ।

२१.   जनमत संग्रहमा जाहेरवाला श्यामकुमार जयप्रकाशले बहुदलमा भोट दिनुपर्छ भनेका थिए, मैले निर्दलमा भोट दिन्छु भन्दा उनीहरूसँग झगडा भएको थियो । भोट दिई सकेपछि आफ्नो घर गएँ डाँका गरेको समयमा म उक्त घटनास्थलमा थिइन । जाहेरवालाको घर डाँका भयो रे भन्ने कुरा ऐ. २१ गते बिहान सुनको थिएँ सो डाँका को को भई गरे मलाई थाहा छैन । मैले डाँका गरेको हैन भन्ने समेत व्यहोराको पहलमान थापा मगरले अदालतमा गरेको बयान ।

२२.   मैले प्रहरीमा गरेको बयान आफ्नो राजीखुसीले गरेको होइन डर धाकबाट गरेको हो ०३७।१।२० गते जनमत संग्रहमा पहलमान थापा मगर र जाहेरवाला श्यामकुमार जयप्रकाशको बीचमा बहुदल निर्दलमा भोट हाल्ने विषयमा झगडा भएको थियो । हामीलाई निर्दलमा भोट हाल्यो भन्ने रिसले जाहेरवालाहरूले मेरो नाम राखी झुठ्ठा उजूर गरेका हुन् डाँका भयो भनेको समयमा म आफ्नै घरमा छु डाँका भयो रे भन्ने कुरा ऐ. २१ गते बिहान गाउँघरमा सुनेको हुँ को को भई डाँका गरे थाहा छैन डाँका गरेको भए मेरो घरबाट जाहेरीमा कुनै माल सामान मेरो घरबाट बरामद हुनुपर्ने सो नभएबाट म निरपराधी छु मैले डाँका गरेको होइन अरु प्रतिवादीहरूले डाँका गरेको थाहा छैन भन्ने समेत छविलाल बन्ने छपबहादुर थापा मगरले अदालतमा गरेको बयान ।

२३.   मैले प्रहरीमा गरेको कागज राजीखुशीले गरेको होइन ०३७।१।२० गते जनमत संग्रहमा म पनि भोट दिन गएको थिएँ जाहेरवालाहरू बहुदलको प्रचार गरिरहेका थिए हामी निर्दलमा भोट दिए भनेर रीस उठी रहेको थियो भोट दिई सकेपछि घर आउन लाग्दा गजबहादुरको छोरा नाउँ थाहा नभएकोले पसलमा हमला भयो भनेकोले म र उ समेत फर्कि म र निज श्यामकुमार, जयप्रकाशको घरमा जाँदा सबै माल सामान फाली सकेका रहेछन् कसैले माल समान फालि सकेका रहेछन् कसले माल समान Çयाँकेको म भन्न सक्दिन कारण रातको समय थियो त्यसपछि आफ्नो घर गएँ २५ गते प्रहरीले पक्राउ गरेको मतदानको समयमा जाहेरवालाहरूले मलाई देखेबाट मेरो नाम राखी झुठ्ठा उजूर गरेका हुन उक्त डाँका भएका ठाउँबाट एउटा सारी एक वट्टा उडुस, उपियाँ, मार्ने डाल्फ एउटा गानोगोलाको औषधि लगेको हुँ माल सामान लग्ने मानिस मलाई थाहा छैन डाँका गरेको होइन भन्ने समेत जुठे सुनारी मगरले अदालतमा गरेको बयान ।

२४.   प्रहरी प्रतिवेदन समेत सुनाउँदा सुनि पाएँ प्रहरीमा मैले गरेको कागजमा मैले जयप्रकाशको श्रीमतीले मलाई मानिस हटाई दिनोस् भनेको ठीक साँचो हो जाहेरवालाको घर माथि तलामा म गएको थिइन प्रहरीले किन त्यस्तो बढी कुरा लेखाएको हो मलाई थाहा छैन जनमत संग्रहमा जाहेरवालाहरू र हामीहरूको बीचमा निर्दल र बहुदललाई भोट दिने विषयमा भनाभन भएको थियो जाहेरवालाहरूले बहुदलमा भोट दिनु पर्छ भनेका थिए भोट दिई सकी घर आउन लाग्दा देवी नारायणले मलाई लाठ साहेबको बच्चा भन्यो यस्तो शब्द देवी नारायणले भन्यो भनी निजलाई खोजी गरी हिंडेको बखतमा जाहेरवालाको घर पसलमा त्यस्तो घटना भई  रहेको देखेको हुन् । यस्तो धर्म नपुग्ने काम नगर भनी बाहिरबाट नै भनेका हुन् सो हुलमा भएका मानिसलाई पनि चिन्न सकिन जयप्रकाशको श्रीमतीले लौ न दाइ हटाई देउ भनी भने मैले उपरोक्त अनुसार हटाउन खोज्दा नेता यही हो भनी मलाई सबैले कराउन लागे त्यस्तो नोक्सानी देख्दा मेरो वाक्य फुटेन यस सम्बन्धमा अरु केही थाहा छैन जाहेरवालाले किन उजूर गरेको हो मलाई थाहाछैन डाँका गरेको होइन भन्ने समेत व्यहोराको खड्गबहादुर दरलामी मगरले यस अदालतमा गरेको बयान ।

२५.   जयप्रकाशले बहुदलमा भोट दिनुपर्छ भनी भनेका थिए मतदान दिई सकेपछि म आफ्नो घरमा गएँ मैले डाँका गरेको हैन वारदातमा गएको भनी प्रहरीको कागजमा प्रहरीले किन लेखाए मलाई थाहा छैन मेरो घरबाट बरामद भएको स्टिलको पिलेट मेरो हो जाहेरवालाले मेरो भनी घरबाट चोरेको माल सामान भनी प्रहरीले बरामद गर्‍यो मलाई केही थाहा छैन डाँका भएको समय आफ्नो घरमा भात खाई गोठमा सुत्न गएको छु को को भई डाँका गरे मलाई थाहा छैन मैले डाँका गरेको हैन भन्ने समेत चन्द्रबहादुर गुरुङले शुरु अदालतमा गरेको बयान ।

२६.   २०३७।१।२० गते हाम्रो स्वारा गा.पं.मा भएको राष्ट्रिय जनमत संग्रहमा म वस्तु हेर्न वनमा गएकोमा बहिनीले पालो दिन गएकोले मतदान दिएको हुम् । जाहेरीमा लेखिएको अनुसार डाँका गरेको छैन को को भई डाँका गरेका हुन् मलाई थाहा छैन प्रहरीमा पहलमान थापा मगर, खड्गबहादुर, छविलाल जुठे सुनारी, चन्द्रबहादुर कृष्णबहादुर समेतले डाँका गरेको भनी लेखेकोमा मैले भनेको थिइन किन प्रहरीले उनीहरूको नाउँ राखेको मलाई थाहा छैन मैले डाँका गरेको हैन झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको गोपालबहादुर दरलामी मगरले अदालतमा गरेको बयान ।

२७.   बैशाख २० गते जनमत संग्रहमा भोट दिन गएको थिएँ उमेर पुगेको छैन भनी भोट दिन पाउन्नस् भनेकाले आफ्नो घर फर्कि आएँ रातमा पनि म आफ्नै घरमा थिएँ भोलिपल्ट २१ गते मात्र गाउँलेहरूबाट श्यामकुमार, जयप्रकाशको घरमा डाँका पर्‍यो भन्ने सुनेको थिएँ घटनास्थलमा नभएको व्यक्तिलाई प्रहरीले किन घटनास्थलमा थियो भनी लेखाएछ मलाई थाहा छैन को को भई डाँका गरे सो पनि मलाई थाहा छैन म निरपराधी छु डाँका गरे भनी झुठ्ठा उजूरबाट फुर्सत पाउँ भन्ने समेत व्यहोराको कर्णबहादुरको अदालतमा गरेको बयान ।

२८.   मैले श्यामकुमारको घर बनाउँदाको ज्याला पाएको छैन जनमत संग्रहमा बहुदललाई भोट दिनु अनि मात्र तिम्रो ज्याला दिउँला नत्र ज्याला दिन्न भनेको थियो उसको कुरा नमानी मैले निर्दलमा भोट दिएको हुँदा रीसइवीबाट मात्र मलाई झुठ्ठा उजूर गरेका हुन् भन्ने समेत व्यहोराको रिठे सार्कीले अदालतमा गरेको बयान ।

२९.   जनमत संग्रहको दिन भोट दिई म आफ्नो घरमा बसेको थिएँ डाँका भएको समयमा म आफ्नै घरमा सुति बसेको थिएँ डाँका भयो भन्ने खबर मैले यहि २१ गते गाउँलेहरूको मुखबाट सुनेको हुम् घटनास्थलमा नभएको मानिसलाई प्रहरीले घटनास्थलमा थियो भनी किन लेखे मलाई थाहा छैन जाहेरवालाहरूले बहुदलमा भोट दिनु पर्छ भनेको थिए निर्दलमा भोट हालें चामल दिन्न भनेका थिए मैले निर्दललाई भोट दिएको भनी सोही रीसइवीबाट झुठ्ठा उजूर गरेको हो मैले डाँका गरेको छैन झुठ्ठा उजूरबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको बहादुर गुरुङले अदालतमा गरेको बयान ।

३०.   गत २० बैशाखमा भएको जनमत संग्रहमा जाहेरवालाहरूले बहुदलमा भोट दिनुपर्छ भनेका थिए मैले निर्दलमा भोट दिएँ भन्ने रीसइवीले मात्र म उपर झुठ्ठा उजूर गरेका हुन् मैले डाँका गरेको छैन को को भई डाँका गरेका हुन् मलाई थाहा छैन झुठ्ठा उजूरबाट फुर्सद पाउँ  भन्ने समेत व्यहोराको जगबहादुर मगरले अदालतमा गरेको बयान ।

३१.   गत बैशाख २० गते हाम्रो स्वारा गा.पं.मा भएको जनमत संग्रहमा १० बजे आई ११ बजे मतदान दिई आफ्नो घरमा फर्कि गएको हुँ जाहेरीमा लेखिए अनुसार मैले डाँका गरेको होइन छैन अन्य प्रतिवादीहरूले गरे नगरेको थाहा छैन म घटनास्थल नभएको व्यक्तिलाई प्रहरीले घटनास्थलमा थिए भनेर किन लेखे थाहाछैन मेरो घरबाट कुनै माल सामान बरामद भएको छैन प्रहरीले मेरो कागज गराउँदा नभएको झुठ्ठा कुरा लेखाएको हो जाहेरवालाहरूको पसलमा डाँका भयो रे भन्ने कुराको हल्ला मात्र सुनेको हुँ मैले डाँका गरेको हैन  । झुठ्ठा दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको वीरबहादुर गुरुङले अदालतमा गरेको बयान ।

३२.   गत बैशाख २० गते जनमत संग्रहमा मतदान दिई सकी आफ्नो घरमा आएको हुँ जाहेरी दर्खास्तमा लेखिए अनुसार म आफ्नै घरमा सुतेको छु, यस यसले डाँका गरे भन्ने कुरा थाहाछैन घटनास्थलमा नभएको मानिसलाई प्रहरीले घटनास्थलमा थियो भनी किन लेखे थाहा छैन बहुदलमा भोट दिनु पर्छ भनी जाहेरवालाहरूले भनेका थिए निर्दलमा भोट दिएको हुनाले सोही रीसइवीले झुठ्ठा उजूर गरेका हुन् मेरो घरबाट डाँका भएको माल सामान बरामद भएको भन्ने कुरा झुठ्ठा हो मैले डाँका गरेको होइन भन्ने समेत व्यहोराको मानबहादुर थापा मगरले शुरु अदालतमा गरेको बयान ।

३३.   गत बैशाख २० गते स्वारा गा.पं.मा भएको जनमत संग्रहमा मतदान गरी सकी ताहाँबाट करीव १ कोष टाढाको मेरो वस्तु लिई खोलाको गोठमा गई रातको १० बजे घर आउँदा सबै हल्ला शान्ति भइसकेको रहेछ सो डाँका भएको कुरा २१ गते मैले सुनेको हुँ मैले डाँका गरेको छैन निरपराधी छु अन्य प्रतिवादीहरूले डाँका गरे नगरेको मलाई थाहा छैन जाहेरवालाहरूले निर्दलमा भोट दियो भन्ने रिसले मात्र झुठ्ठा उजूर गरेका हुन् भन्ने समेत व्यहोराको क्षेत्रबहादुर गुरुङले गरेको बयान ।

३४.   गत बैशाख २० गते जनमत संग्रहको सन्दर्भमा बहुदल निर्दललाई भोट दिने वारेमा जाहेरवालाहरूसँग इवी परेको हो । मैले जयप्रकाशको आँगनबाट कुनै माल सामान लगेको छैन । म ताहाँ नभएको मानिसले कसरी माल सामान लगे हुँदा प्रहरीले त्यस्तो कुरा किन लेखे थाहाछैन। मैले डाँका गरेको छैन भन्ने समेत व्यहरोको कैले गुरुङले शुरु अदालतमा गरेको बयान।

३५.   जाहेरी दर्खास्तमा लेखिए अनुसारको जाहेरवालाहरूको धनमाल प्रतिवादीहरूले डाँका गरी लिएका हुन् भनी थप सबूद प्रमाण वादी श्री ५ को सरकारको तर्फबाट गुज्रन सकेको मिसिलबाट देखिन नआएकोले समेत प्र.पहलमान थापा मगर समेत प्रतिवादीहरूले अभियोगबाट सफाई पाउने ठहर्छ भन्ने समेत गोरखा जिल्ला अदालतको फैसला ।

३६.   संकलित सबूद प्रमाणबाट डाँका वारदात भएको देखिन आएको र प्रतिवादीहरू माथि किटानी पोल गरेको र प्र.हरू मौकामा अपराध गरेमा सावित भई कागज गरिदिएको समेतबाट सफाई दिने गरेको गोरखा जिल्ला अदालतको फैसला उल्टी गरी प्रहरी प्रतिवेदन दावी बमोजिम सजायँ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारको तर्फबाट पश्चिमाञ्चल क्षेत्रीय सरकारी अधिवक्ताको कार्यालयको पुनरावेदन ।

३७.   शुरु गोरखा जिल्ला अदालतले प्र.पहलमान समेतका प्रतिवादीहरूलाई सफाई दिएको इन्साफ मिलेकै देखिँदा पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत पश्चिमाञ्चल क्षेत्रीय अदालतको ०३९।१२।८।३ को फैसला ।

३८.   सबूद प्रमाणको मूल्यांकन नगरी गरेको फैसला कानुनी त्रुटिपूर्ण हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने समेत श्री ५ को सरकारको निवेदन परेकोमा दशी बरामद भएको जाहेरवालाले किटानी बकपत्र गरेको साविती समर्थित भएकोमा प्रतिवादीहरूलाई सफाई दिएको  फैसलामा प्रमाण ऐनको दफा ५४ को त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्जको आदेश ।

३९.   झिकाई तारेखमा रहेका विपक्षी प्रतिवादीहरू पहलमान थापा मगर समेत जवान १५ लाई नियम बमोजिम नाम पुकार गरी बोलाउन लगाउँदा उपस्थित हुन नआएको । पुनरावेदक तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्तले जाहेरवालाको घर डाँका गरेमा प्रहरीमा सावित छ । सो साविती बरामदी मुचुल्काबाट समर्थित भई राखेको छ । यस्तोमा प्रतिवादीहरूलाई सफाई दिएको क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन भन्ने समेत र विपक्षी तर्फबाट रहुनुभएका विद्वान अधिवक्ताहरू श्री रामप्रसाद भण्डारी, श्री सुनिल अधिकारी, श्री रामकुमार श्रेष्ठ र श्री तिलक शमशेर ज.ब.रा.हरूले प्रतिवादीहरूले डाँका गरेको होइन। अभियोगमा इन्कार छ । जनमत संग्रहमा मतदान गर्ने कुरामा मतभेद भई त्यसैको रीसइवीमा झुठ्ठा जाहेर गरेको हो । तसर्थ सफाई दिएको क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

४०.   प्रस्तुत मुद्दामा पश्चिमाञ्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

४१.   यसमा निर्णयतर्फ हेर्दा ०३७।१।२० गतेको राती अं.११ बजे र १२ बजे ढोका फोडी घरभित्र पसी जयप्रकाशको बिगो रु.७६००७।श्यामकुमारको बिगो रु.४१९१४।५० को धनमाल डाँका गरी लगे भन्ने २०३७।१।२३ को जाहेरीबाट मुद्दाको कारवाही भएको देखिन्छ । प्रतिवादीहरू प्रहरीमा राजीखुशीबाट कागज गरेको होइन भन्दै डाँका गरेको कुरामा पूर्ण इन्कार रही अदालतमा बयान गरेको पाइन्छ । खानतलासी मुचुल्का हेर्दा केही प्रतिवादीहरूका घरबाट सामान बरामद भएको छ । सो बरामद मुचुल्कामा मेरो घरबाट बरामद भएको हो भनी सही गर्न भनी लेखिएको मध्ये कृष्णबहादुर गुरुङ र रिठे सार्कीको नामको महलमा सही भएको पनि देखिँदैन । पहलमान, खड्गबहादुर र छविलालको घरबाट केही बरामद भएको पनि देखिँदैन । बरामद भएका सामानहरू पनि सामान्य उपभोगका सामानहरू देखिन्छ । यो बरामद सामानहरू हाम्रो हो भनी गालमटोल हिसाबबाट जाहेरवालाहरू दुवैले बरामद मुचुल्कामा लेखाएको देखिन्छ । तर जोहरवालाहरूको जाहेरी पृथकपृथक परेको छ । बरामद सामान हाम्रो भनी सनाखत गर्दा यो यो सामान मेरो हो भनी जाहेरवालाहरूले पृथकपृथक सामानहरू चिनी सनाखत गरेको देखिँदैन । डाँका गरे भनेका धनमाल मध्येको धनमाल सोही गाउँ बस्ने सन्त माया आइतबहादुर गुरुङको घर मारा गरी धनमाल बुझी गरिदिएको जाहेरवालाको भर्पाई भनी मंगले रानामगरले निवेदन साथ पेश गरेको जयप्रकाशले माल बुझी आइतबहादुरलाई श्यामकुमारले सन्तमायालाई गरिदिएको ०३७।२।५ को भर्पाईमा मेरो घर यही बैशाख २० गते घर डाँका लागेको २२ गते जाहेर गरेकोमा भूलचूक परी जाहेरीमा परेका मालहरू तपसील बमोजिम लेखिएको मध्येमा परेको छ भन्ने लेखिएको देखिन्छ । सो भर्पाईलाई जाहेरवालाहरूले बकपत्र गर्दा अन्यथा भन्न सकेको छैन । स्वीकार गरेको पाइन्छ । यसबाट अरु जिम्मा राखेको माल समान समेतलाई डाँका गरेको भनी जाहेरीमा उल्लेख गरेकोबाट समेत जाहेरी साँचो रहेछ भन्न सकिने स्थिति देखिँदैन । प्रतिवादीहरूका साक्षीहरू प्रधानपञ्च श्रीमान तामाङ समेतले चोरी डाँका गरेको हैन भनी प्रतिवादीहरूलाई सफाई दिई किटानी बकपत्र गरेको देखिन्छ । जाहेरवाला श्यामकुमारले ०२७।१७ मा अदालतमा बकपत्र गर्दा प्रतिवादीहरूले के कारणले मेरो घरमा आएर डाँका गरे थाहा छैन । प्रतिवादीहरू डाँका गरी हिंड्ने मानिस होइन भनेको पाइन्छ । यसबाट पनि जाहेरवाला स्वयंले डाँका गरेको प्रतिवादीहरू उपर किटान गर्न सकेको छैन । डाँका वारदात गरेको हो भन्ने देख्ने चस्मदिद गवाह कोही  देखिँदैन । सरजमीनका व्यक्तिहरूले पनि किटान गरी डाँका परेको हो भनी लेखाउन सकेको छैन । शंकासम्म गरेको देखिन्छ । ती सरजमीनका व्यक्तिहरूलाई बकपत्र गराउन उपस्थित गराउन अदालतबाट आदेश गरेकोमा उपस्थित गराई बकपत्र गराउन सकेको पनि छैन । यस स्थितिमा तथ्ययुक्त सबूद प्रमाण बेगर केवल शंकाको भरमा प्रतिवादीहरूलाई दोषी ठहर गर्न मिल्ने अवस्था रहेन । तसर्थ प्रहरी प्रतिवेदन दावी बमोजिम प्रतिवादीहरूलाई सजायँ हुनुपर्छ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन । प्रतिवादीहरूलाई प्रहरी प्रतिवेदन अभियोगबाट सफाई दिने ठहर्‍याएको गोरखा जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन हुँदा केही गर्न परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४२ साल श्रावण १८ गते रोज ६ शुभम् ।