निर्णय नं. २४४८ – जग्गा खिचोला
निर्णय नं. २४४८ ने.का.प. २०४२ अङ्क ८ फुल बेञ्च इजलाश माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश...
निर्णय नं. २४४८ ने.का.प. २०४२ अङ्क ८
फुल बेञ्च
इजलाश
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४१ सालको दे.फु.नं.६०
मुद्दा : जग्गा खिचोला ।
निवेदक/प्रतिवादी: जि.धादिङ सल्यानटार गा.पं.वडा नं.४ डाडा बस्ने पहल बहादुर उप्रेती ।
ऐ.ऐ बस्ने क्षेत्र बहादुर उप्रेती ।
विरुद्ध
विपक्षी/वादी:ऐ. ऐ. बस्ने हर्ष नारायण श्रेष्ठ ।
फैसला भएको मिति:२०४२।८।१८।३ मा
दर्ताको जग्गा अन्यत्रै छ भन्ने जिकिर लिए पनि सो प्रमाणित गराउन नसकेको समेतबाट विवादित जग्गा सन्धिसर्पन रहेछ भन्न मिल्ने अवस्था देखिँदैन ।
(प्रकरण नं. १२)
निवेदक/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल
विपक्षी/वादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी
उल्लेखित मुद्दाःX
फैसला
न्या.सुरेन्द्र प्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्जको निर्णय उपर निवेदकको श्री ५ महाराजधिराजका जुनाफमा विन्तिपत्र पर्दा व्यहोरा साँचो हो र घरबारी दर्ताको जग्गा र सन्धिसर्पनको जग्गा बेग्लाबेग्लै रहेछ भने त्यस अदालतको डिभिजन बेञ्जबाट ०३९।३।२७ मा किनारा भएको विन्तिपत्रमा लेखिएको जग्गा खिचोला मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको हुकूम प्रमाङ्गी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. मु.लालबहादुर जिम्मा १० वर्षे घर दरमा पाखा दर्ता भएको तिरो रु.।५७ को डब्बल रु.१।१४ बुझाउनु पर्ने पूर्व ठूलो ढुङ्गा तेर्सो बाटो, पश्चिम तामे ढुङ्गा तेर्सो बडहरको बोट, उत्तर हर्षबहादुर लामिछानेको साँध, दक्षिण सन्ते कामी र हस्तबहादुर खनालको साँध यति ४ किल्ला भित्रको तिरो रु.।३५ लागेको बोर्लाङघाट घरबारी जग्गामा मकै, बदाम बालीसमेत लगाएकोमा ०३१।१।२२ गतेका दिन गाई भैंसी समेत हुली चराई विपक्षीहरूले नोक्सान गरे किन त्यसो गरेको भन्दा मैले नोक्सान गरेको भन्ने चेतप्रसाद र निज चेतप्रसादको अ¥होट मानी हामीले नोक्सान पारेको हो भन्ने अरुहरू भई जग्गामा खिचोला गरे, मोल रु.२५००।– मोलिने जग्गामा खिचोला गरेकाले खिचोलामेटाई पाउँ भन्नेसमेत वादी ।
३. दावी गरेको जग्गा वादीको होइन वादीको घरबारी देखि आधा कोष फरकमा भएको पूर्व एकले चापको रुख, पश्चिम बुढी गंगा, उत्तर हस्तबहादुरको आवादी जग्गा र पुरानो वार र सानो जग्गा अघि परापूर्वदेखि कै उप्रेती गाउँ समेत ५ गाउँको सन्धिसर्पन गौचर पानीघाट रही आजतक सो गाउँको गाई भैंसी समेत चराई आवाद दर्ता समेत नभएको पर्ती जग्गालाई केही किल्ला फरक जस्तो पारी सन्धिसर्पनको जग्गा पक्री बोर्लाङ घाटको घरबारी तिरो रु.।३५ लागेको भनी झुठ्ठा उजूर गरेको हो सन्धिसर्पन कायम गरिपाउँ भन्ने समेत प्रतिउत्तर ।
४. प्रतिवादीहरूले पनि वादीको नाउँमा दर्ता छ भनी लेखाई दिएको वादीले पञ्चायतबाट मालपोत बुझाई रसिद लिएको देखिएको वादीको जग्गा सन्धिसर्पन थियो भन्ने पनि प्रतिवादीहरूले कायम गराउन सकेको नदेखिएको हुँदा वादी दावी बमोजिमको जग्गामा प्रतिवादीहरूले खिचोला गरेको ठहर्छ भन्ने समेत धादिङ जिल्ला अदालतको फैसला ।
५. सो उपर प्रतिवादी पहलबहादुर र क्षेत्रबहादुरको बागमती अञ्चल अदालतमा परेको पुनरावेदन ।
६. वादीले दावी लिएको जग्गाको दर्ता तिरो समेत लागी कायम भएको श्रेस्ताबाट देखिँदैन । विवादग्रस्त जग्गा बुढी गण्डकी किनारको गौचर भन्ने नक्साबाट देखिएको नक्सामा घर उक्त दावीको जग्गा छुट्टै देखिएकोले खिचोला गरेको ठहर्याई शुरुले गरेको इन्साफ गल्ती ठहर्छ भन्नेसमेत बा.अं.अ.को फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन इन्साफ जाँच गरिपाउँ भन्ने वादी हर्षनारायणले दिनु भएको निवेदनमा इन्साफ जाँचको हुकूम प्रमाङ्गी बक्स भई निर्णयार्थ पेश हुँदा वादीहरूको जग्गा नं. २ मा देखिन आएको र त्यसमा वादीको प्रतिकृया जनिएको नदेखिएको, न.नं.१४ को जग्गा झगडा भनी जनिएको सो को दर्ता भइसकेको आधारभूत प्रमाण नभएको जग्गा दर्ता गराई लिनु पर्ने अभिभारा वादीको भएकोमा दर्ता गराउन नसकेको, उता सन्धिसर्पन भन्ने मुचुल्का भई आएकोले समेत बागमती अञ्चल अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला ।
८. उक्त निर्णयमा चित्त बुझेन इन्साफ जाँच गरिपाउँ भन्ने समेत वादी हर्षनारायणको श्री ५ महाराजाधिराजका जुनाफमा विन्तिपत्र परेकोमा इन्साफ जाँच गरिदिनु भन्ने मौसूफका विशेष जाहेरी विभाग मार्फत हुकुम प्रमाङ्गी बक्स भई आएको रहेछ ।
९. झगडा परेको जग्गा निवेदक वादी हर्षनारायण श्रेष्ठको नाउँमा दर्ता भएको देखिँदा वादी दावी नपुग्ने ठहर्याई मध्यमाञ्चल क्षेत्रिय अ..ले गरेको इन्साफमिलेन तसर्थ अ.बं.२०२ नं.बमोजिम छलफलमा प्र.हरूलाई उपस्थित गराई पेश गर्नु भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्जको आदेश ।
१०. निर्णयार्थ डिभिजन बेञ्ज समक्ष पेश हुँदा झगडा परेको जग्गाको रुप प्रकृतिबाट सन्धिसर्पन भएको भन्न मिल्ने अवस्था देखिँदैन । तसर्थ वादी दावी बमोजिम प्रतिवादीले खिचोला गरेको ठहर्याएको धादिङ जि.अ.को इन्साफ मनासिव हुँदा उक्त फैसला उल्टी गरी बा.अं.अ.र मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला नमिलेको हुँदा उल्टी हुने ठहर्छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्जको फैसला ।
११. निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री गुरुप्रसाद बराल तथा विपक्षी तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीको बहस समेत सुनियो ।
१२. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा मु.लालबहादुर माझी जिम्मा मेरा नाउँमा १० वर्षे घर दरमा पाखा दर्ता भएको पूर्व ठूलो ढुङ्गा तेर्सो बाटो, पश्चिम तामे ढुङ्गा तेर्सो फर्से वडरको बोट, उत्तर हस्तबहादुर लामिछानेको साँध, दक्षिण सन्ते कामीको र हाल हस्तबहादुर खनालको साँध यति ४ किल्ला भित्रको बोर्लाङघाट घरबारी भन्ने जग्गा भोगचलन गरी आएकोमा ०३१।१।२२ मा विपक्षीहरूले खिचोला गरेकोले खिचोला मेटाई पाउँ भन्ने समेत वादी दावी देखिन्छ । वादी दावीको जग्गा सन्धिसर्पन गौचरको जग्गा हो, वादीको घर दर दर्ताको जग्गा अन्तै छ भन्ने समेत प्रतिउत्तर जिकिर देखिन्छ । यस अदालतका ०३८।१०।२६ का आदेश बमोजिम मालपोत कार्यालय धादिङबाट झिकाई आएको दर्ता उतारमा विवादको जग्गा दर्ता भएको देखिन्छ । उक्त दर्ता उतारमा चारकिल्ला खुलेको छैन तापनि वादीले फिरादको प्रकरण एकमा उल्लेख गरेको चारकिल्ला भित्रको जग्गा अन्यत्र ठाउँमा छ भनी प्रतिवादीले नक्शा मुचुल्का समेतमा खुलाउन सकेको देखिँदैन । प्रतिवादीले श्री ५ महाराजाधिराजका जुनाफमा चढाएको विन्तिपत्रमा झगडाको जग्गा चारकिल्ला भिड्दैन भन्ने समेत उल्लेख गरेको देखिन्छ । मिसिल संलग्न ०३३।६।१ को नक्शा हेरिएमा विवादित जग्गा न.नं.१४ मा देखाइएको छ, जसको पूर्व साँधमा न.नं.८ ठूलो ढुंगा र न.नं.७ तेर्सो बाटो देखिएको छ । पश्चिमतर्फ न.नं.१३ मा तामे ढुंगा र न.नं.१० मा पश्चिम दक्षिण कुनामा फर्से बडरको बोट देखिएको छ त्यस्तै गरी उत्तरतर्फ न.नं.१८ मा हस्तबहादुरको पाखो देखिएको छ भने दक्षिण किल्लामा पनि न.नं.१५ मा सन्ते कामी र न.नं.१६ मा हस्तबहादुरको जग्गा देखिन आएकोबाट वादीले फिरादमा उल्लेख गरेको किल्ला र नक्साको किल्ला भिड्दैन भन्ने प्रतिवादीको जिकिर मिल्दो देखिएन । अब रहृयो विवादित जग्गा अघि देखि पाँच गाउँको सन्धिसपर्न पानी घाट गौचरन जग्गा हो भन्ने प्रतिउत्तर जिकिरको कुरा सो सन्दर्भमा हेर्दा उक्त ०३३।६।१ को नक्सामा विवादित जग्गाको पश्चिम किल्लामा न.नं.१२ मा पर्ति चौर देखिएको छ भने त्यसको पश्चिमतर्फ मात्र न.नं.११ मा बुढी गंगा देखिएको छ । अर्को कुरा विवादको जग्गाको उत्तर तथा दक्षिण किल्लामा पाखो जग्गा देखिएबाट पनि विवादको जग्गा पर्ति जग्गा रहेनछ भन्ने कुरा देखिन आउँछ । प्र.मध्येको क्षेत्रबहादुर समेत ४२/४३ जनाले दिएको सन्धिसर्पन सम्बन्धी मुद्दा प्र.जि.अ. कार्यालय, धादिङमा दिएको भनेकोमा पनि त्यस्तो कुनै मिसिल प्राप्त हुन नआएको भन्ने समेत जिल्ला कार्यालय, धादिङको ०३९।३।२ को पत्रबाट देखिन्छ । प्रतिवादीले वादीको दर्ताको जग्गा अन्यत्रै छ भन्ने जिकिर लिए पनि सो प्रमाणित गराउन नसकेको समेतबाट विवादित जग्गा सन्धिसर्पन रहेछ भन्न मिल्ने अवस्था देखिँदैन । तसर्थ वादी दावी बमोजिम प्रतिवादीहरूले खिचोला गरेको ठहराएको धादिङ जिल्ला अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्जको ०३९।३।२७ को इन्साफ मनासिव ठहर्छ । कोर्टफी रहेको हुँदा केही गरी रहन परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.पृथ्वी बहादुर सिंह
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४२ साल मार्ग १८ गते रोज ३ शुभम् ।