September 9, 1985
Created by nepalarchives

निर्णय नं. २३९३ – बन्दी–प्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ

निर्णय नं. २३९३     ने.का.प. २०४२      अङ्क ६   डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको रिट...

निर्णय नं. २३९३     ने.का.प. २०४२      अङ्क ६

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको रिट नं. २२९७

विषय : बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिपाउँ ।

 

निवेदक      :जि.सुन्सरी घुस्की हाट गा.पं. वार्ड नं.९ मा घर भै हल जिल्ला कार्यालय कारागार शाखा काठमाडौंमा थुनामा बस्ने खलील मंसुरी मियाँ ।

विरूद्ध

विपक्षी :श्री सुनसरी जिल्ला अदालत ।

श्री पूर्वान्चल क्षेत्रीय अदालत ।

श्री जिल्ला कार्यालय कारागार शाखा काठमाडौं ।

आदेश भएको मिति:२०४२।५।२४।२ मा

     अदालतको तहतहबाट भएको ठहर फैसला बमोजिम थुनामा राखेकोलाई गैरकानुनी थुनामा रहेको भन्न सकिने स्थिति नहुने ।

(प्रकरण नं.१२)

निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री प्रकाश राउत

विपक्षी तर्फबाट      :विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट

उल्लेखित मुद्दाःX

आदेश

न्या.धनेन्द्र बहादुर सिंहः नेपालको संविधानको धारा ७१ अन्तर्गत गैरकानुनी थुनाबाट मुक्त गरिपाउँ भनी पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ :

२.    वादी श्री ५ को सरकार प्रतिवादी म भएको थुनुवा भाग्यो भगायो भन्ने मुद्दामा ४ वर्ष ६ महिना कैद हुने गरी परेको कलम (१) र प्रेमलाल समेतको जाहेरीले वादी श्री ५ को सरकार भएको दोश्रो पटक डाँका मुद्दामा कैद वर्ष ९ जरिवाना नतिरे वापत चोरीको २८ नं. ले हुने कैद वर्ष ४ समेत डाँका मुद्दामा मात्र १३ वर्ष कैद गर्ने गरेको कलम (१) गरी सबै कलमको जम्मा १७ वर्ष ६ महिना कैद हुने गरी मिति ०३७।१२।२६।६ मा विपक्षी नं. १ ले गरेको फैसला उपर विपक्षी नं. २ मा पुनरावेदन गर्दा उक्त फैसला मनासिव ठहर गरी पुनरावेदन गरे वापत अ.बं. २०३ नं. बमोजिम सयकडा १० समेत थप गर्ने भनी मिति ०३८।१२।१५ मा विपक्षी नं. २ को फैसला ।

३.    २०२४ साल फाल्गुण १४ गते रोज २ का रात १२ बजेको समयमा के कताबाट १०१२ जना डाँकाहरू आई धनमाल डाँका गरी लगे । डाँकाहरूलाई चिन्न र पहिचान गर्न सकिन सुराक पत्ता लगाउँदै छु भन्ने प्रेमलाल महतको जाहेरी दर्खास्त पर्दा सो मुद्दामा साहिर मियाँले घुस्कीहाट गा.पं.वा.नं. ७ बस्ने खलिल मियाँको नाउँमा पोल गरेको र सुनसरी जिल्ला अदालतबाट सोही मुद्दामा दोश्रा पटक पारी डाँका गरेको ठहर गरी वा.नं. ७ बस्ने खलिल मियाँको नाउँमा मुद्दा हराई मिति ०२८।७।९ गते फैसला भएको र सोही अदालतबाट पटकपटक गरी विभिन्न मितिहरूमा उक्त गा.पं.वा.नं. ७ बस्ने खलीलको नाउँमा म्याद तामेल टाँस समेत गरेको पाइन्छ । उक्त गा.पं.वा.नं. मा बस्ने खलील होइन भनी बयान गर्दा प्रमाण देखाउ भनी अदालतबाट प्रमाणको माग हुँदा पटकपटक घुस्की गा.पं.वा.नं. ९ मा उसको बाबु बाजेको पालादेखि नै बसोबास गरी आएको छ । ७ नं. बस्ने खलील यो होइन भनी उक्त गा.पं.को सिफारिश र आफ्नो साक्षी समेतको बकपत्र गराएकोछु यतिमात्र नभई देवेन्द्रनारायण सिंहको जाहेरीले वादी श्री ५ को सरकार र जि. सुनसरी, घुस्की गा.पं.वा.नं.९ बस्ने अजिजमियाँको पोलले प्र.म समेत भएको मुद्दामा मिति २०२९।३।३ गते सप्तरी जि.अ.मा जि.न्या.चुडामणिप्रसादको इजलासमा बयानमासमेत र उक्त गा.पं.को प्रमाणसमेत पेश गरी उक्त मुद्दामा सफाई पाएकोछु । मैले पेश गरेको साक्षी प्रमाणहरूको कुनै मूल्याङ्कन नै नगरी गैरकानुनी तरीकाले उपरोक्त तिनै मुद्दामा हराई विपक्षीहरुले गैरकानुनी ढंगबाट कैद म्याद ठेकाई छुट्कारा नदिएकोले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी गैरकानुनी कैदथुनाबाट मुक्त गरिपाउँ भन्ने व्यहोराको जि.कार्यालय कारागार शाखा काठमाडौं मार्फत पठाएको खलील मंसुरी मियाँको मिति २०४१।२।२८ को रिट निवेदन ।

४.    विपक्षीहरूबाट लिखित जवाफ मगाई नियम  बमोजिम पेश गर्नु र निवेदक तर्फबाट वैतनिक कानुन व्यवसायी राखी दिनु भन्ने यस अदालत सिंगल बेञ्चको मिति २०४१।२।३१ को आदेश ।

५.    अधिकार प्राप्त अदालतबाट जे जस्तो लगत दिइएको छ सोही अनुरूप निवेदकलाई राखिएको सम्म हो, यस कार्यालयबाट कुनै किसिमको गैरकानुनी कार्य नगरिएको व्यहोरा अनुरोध गर्दछु भन्ने समेत जिल्ला कार्यालय कारागार शाखा काठमाडौंको लिखित जवाफ ।

६.    प्रहरी प्रतिवेदनले वादी श्री ५ को सरकार प्रतिवादी निवेदक खलील मंसुरी मियाँ भएको थुनुवा भाग्यो भगायो भन्ने मुद्दामा अदालतबाट निवेदक खलील मंसुरी मियाँलाई डाँका मुद्दामा कैद वर्ष ९ भइसकेपछि कारागार शाखा विराटनगरमा लान नभ्याउँदा राति नै हिरासतबाट भागेको देखिँदा निजले भोग्ने कैद वर्ष ९ मा कारागार ऐनको दफा २४(३) ले डेढी अर्थात् ४ वर्ष ६ महिना थप कैद गर्ने गरी सुनसरी जिल्ला अदालतबाट भएको मिति ०३७।१२।१२ को फैसला उपर यस अदालतमा मिति ०३८।५।१० मा दायर भएको पुनरावेदनमा सिंगल बेञ्चबाट शुरूको फैसला मनासिव ठहर भई पुनरावेदन गरे वापत शुरू कैदको सयकडा १० ले थप कैद वर्ष १।६।२ भएकोले ऐन बमोजिम कैद ठेकी थुनामा राखिएकोलाई गैरकानुनी तवरबाट थुनामा राखेको भन्न कदापि नमिल्ने भएकोले यस्तो निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने होइन । निवेदकको निवेदन खारेज गरी पाउन सम्मानीत अदालत समक्ष सादर अनुरोध गरेको छु भन्ने समेतको पूर्वान्चल क्षेत्रीय अदालतको लिखित जवाफ ।

७.    सुनसरी जि.अ.को फैसला कानुनबमोजिम भएको र त्रुटिपूर्ण नहुँदा आदेशबमोजिम सम्बन्धित मिसिलहरू साथ राखी पठाउनुलाई उक्त मिसिलहरू यस अदालतमा भएको श्रेस्ताबाट नदेखिएको, खोज तलास भई रहेकोले प्राप्त हुनासाथ अविलम्ब पठाइने व्यहोरासमेत भएको सुनसरी जि.अदालतको लिखित जवाफ ।

८.    निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री प्रकाश राउतले मेरो पक्ष वा.नं. ९ मा बसोबास गरिआएको भन्ने तथ्य सम्बन्धित गा.पं.समेतबाट सिफारिश भएकोले सोही आधारमा सफाई पाउनु पर्नेमा सफाई नदिई पेश गरिएका साक्षी प्रमाणको मूल्याङ्कन नगरी कैद ठेके ठेकाएको गैरकानुनी भएकोले यस्तो गैरकानुनी थुनाबाट छुटकारा पाउनु पर्दछ भन्ने र प्रत्यर्थीहरूको तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्टले निवेदकलाई सबूद प्रमाणको आधारमा कसूरदार ठहर्‍याई पूर्वान्चल क्षेत्रीय अदालतबाट अन्तिम फैसला भइसकेपछि कानुन बमोजिम कैद ठेकी थुनामा राखिएकोलाई गैरकानुनी तरीकामा थुनुवा राखिएको भन्न नमिल्ने हुनाले प्रस्तुत रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

      ९.    प्रस्तुत विषयमा निवेदकको माग बमोजिमको आदेश जारी गर्नुपर्ने हो होइन सो कुराको निर्णय दिनपर्ने हुन आएको छ ।

१०.    यसमा निर्णयतर्फ हेर्दा वादी श्री ५ को सरकार प्रतिवादी म समेत भएको थुनुवा भाग्यो भगायो भन्ने मुद्दामा कैद वर्ष ४।६ महिना, प्रेमलाल समेतको जाहेरीले वादी श्री ५ को सरकार भएको दोश्रा पटक डाँका मुद्दामा कैद वर्ष ९ जरिवाना नतिरे वापत कैद वर्ष ४ समेत गर्ने गरी कैद १७।६ महिना हुने गरी ०३७।१२।२६।६ मा सुनसरी जिल्ला अदालतबाट फैसला भएको र उक्त फैसला मनासिव छ भनी पूर्वान्चल क्षेत्रीय अदालतले गरेको फैसलाबाट भएको सजायँमा थुनामा राखेको कानुन विपरीत हुनाले गैरकानुनी थुनाबाट मुक्त गरिपाउँ भन्ने निवेदकको भनाई देखिन्छ ।

११.    प्रहरी प्रतिवेदनले वादी श्री ५ को सरकार प्रतिवादी निवेदक भएको थुनुवा भाग्यो भगायो भन्ने मुद्दामा अदालतबाट निवेदकलाई डाँका मुद्दामा कैद वर्ष ९ मा कारागार ऐनको दफा २४(३) ले डेढी कैद गर्ने   गरी सुनसरी जिल्ला अदालतबाट भएको फैसला उपर यस अदालतमा दायर भएको पुनरावेदनमा सिंगल बेञ्चबाट शुरू इन्साफ मनासिव ठहर भई पुरावेदन गरे वापत शुरू कैदको सयकडा १० ले कैद भएको भन्ने पूर्वान्चल क्षेत्रीय अदालतको लिखित जवाफमा उल्लेख भएको पाइन्छ ।

१२.   निवेदक उपर चलाइएको डाँका मुद्दामा कैद वर्ष ९ सजायँ भएपछि कारागार शाखामा लान नभ्याउँदा राति नै हिरासतबाट भागी थुनुवा भाग्यो भगायो भन्ने मुद्दामा कारागार ऐन बमोजिम सजायँ समेत भई शुरू जिल्ला अदालतबाट फैसला भएकोमा सो फैसला उपर रिट निवेदकले पूर्वान्चल क्षेत्रीय अदालतमा पुनरावेदन समेत दिई सो इन्साफ सदर भई फैसला भएको र सो ठहर फैसला समेतबाट लागेको सजायँमा निवेदकलाई थुनामा राखिएको देखिएकोले, यसरी अदालतको तहतहबाट भएको ठहर फैसला बमोजिम थुनामा राखेकोलाई गैरकानुनी थुनामा रहेको भन्न सकिने स्थिति नहुँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । निर्णय भएको सूचना निवेदकलाई दिई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४२ साल भाद्र २४ गते रोज २ शुभम् ।