निर्णय नं. २३८९ – लुटपीट
निर्णय नं. २३८९ ने.का.प. २०४२ अङ्क ६ फुल बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री...
निर्णय नं. २३८९ ने.का.प. २०४२ अङ्क ६
फुल बेञ्च
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०४१ सालको फौ.पु.नं. ७२
मुद्दा : लुटपीट ।
निवेदिका/प्रतिवादी:झापा जिल्ला बुधवारे गा.पं.वार्ड नं. ९ बस्ने भागिरथा न्यौपाने ।
विरूद्ध
विपक्षी/वादी:ऐ.ऐ. बस्ने लक्ष्मी प्रसाद कोइराला ।
फैसला भएको मिति:२०४२।६।२५।६ मा
कर्जा नतिरेसम्म धितो राखेको माल नेपाल बैंक लिमिटेडको हुने ।
(प्रकरण नं.१३)
निवेदिका/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री सीताराम तिवारी र विद्वान अधिवक्ता श्री रेवन्त कुँवर
विपक्षी वादी तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.बब्बर प्रसाद सिंहः प्रतिवादीले डिभिजन बेञ्चबाट मिति ०३९।११।१२।५ मा भएको फैसला दोहर्याई पाउँ भनी श्री ५ महाराजाधिराजका हजूरमा चढाउनु भएको बिन्तिपत्रमा व्यहोरा साँचो भए फुल बेञ्चबाट दोहर्याई हेरिदिनु भन्ने हुकुम प्रमाङ्गी बक्स भई आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ आज यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :
२. विपक्षी भागिरथाको गोदाम मैले भाडामा लिई नेपाल बैंकसँग कारोबार गरेको नं. २३ को गोदामबाट २५ नं. गोदाममा रहेको चामल सार्दा विपक्षी भागिरथाले अरु मानिस समेतलाई गोदामको चामल बोरा १९२ र ११ बोरा कोदो समेत लुटपीट गरी लगे, मेरो भागमा पर्ने चामल बोरा ९५ को बिगो रु. १७,००५। दिलाई सजायँ गरिपाउँ भन्ने समेत व्यहोरा भएको फिराद रहेछ ।
३. राम कुमार शर्मासँग अघि देखि कारोबार गरिआएकोमा सो कर्जा वापतको चामल बोरा ८८ निकाली दिएकोले लिएको मात्र हुँ लुटपीट गरेको छैन भन्ने प्र.भागिरथा न्यौपानो र ०३०।१।४ गतेका दिन छोरा हरि प्रसादलाई घ्यू पुर्याउन गएको छु लुटपीट गरेको होइन भन्ने देवीप्रसाद समेतको एउटै प्रतिउत्तरपत्र ।
४. प्रतिवादी जिकिर बमोजिम सबूद गुज्रन नसकेकोले र लुटपीटको चामल मध्ये ८८ बोरा चामल लगेकोमा प्र.भागिरथा सावितै देखिँदा वादी दावी बमोजिम प्र.भागीरथा समेतले लुटपीट गरेको ठहर्छ भन्ने समेत व्यहोरा भएको ०३३।१।२९।३ को इलाम जिल्ला अदालतको फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन शुरू इन्साफ उल्टाई मेरो प्रतिउत्तर जिकिर बमोजिम गरी झुठ्ठा लुटपीटको दावीबाट फुर्सद गराई पाउँ भन्ने समेत व्यहोरा भएको प्र.भागिरथाको पुनरावेदन ।
६. वादीको साक्षीहरूको बकाई एक अर्कासँग परस्पर बाझिएकोले शुरू इन्साफ मिलेको नदेखिँदा अ.बं. २०२ नं. बमोजिम र क्षेत्रीय अदालत नि.अनुसार झगडिया झिकाई पेश गर्नु भन्ने पूर्वान्चल क्षेत्रीय अदालत डिभिजन बेञ्चको ०३५।९।६।३ गतेको आदेश रहेछ ।
७. इलाम जि.अदालतबाट वादी दावी बमोजिमको चामल पुनरावेदिका र प्रतिवादी समेतले लुटपीट ठहराएको फैसला मनासिव ठहर्छ भन्ने समेत व्यहोरा भएको मिति ०३६।१।२ गतेको पूर्वान्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।
८. उक्त पूर्वान्चल क्षेत्रीय अदालतको फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार पुनरावेदनको अनुमति पाउँ भनी पुनरावेदिका प्रतिवादी भागिरथा न्यौपानको यस अदालतमा पर्न आएको निवेदन रहेछ ।
९. बैंकसँग कारोबार गरी नेपाल बैंकलाई धितो राखेको गोदामको चामल बोरा लुटी लग्यो भन्ने वादी दावी भएको प्रस्तुत मुद्दामा पेटबोलीबाट अ.बं. १३९ नं. बमोजिम चामल धितो लिने ने.बैंकलाई पनि बुझी निर्णय गर्नु पर्नेमा सो भए गरेको नदेखिएकोले उक्त पूर्वान्चल क्षेत्रीय अदालतको निर्णयमा अ.बं. १३९ नं. को त्रुटि भएको हुँदा त्यस्तो त्रुटि सार्वजनिक महत्वको विषयमा प्रत्यक्षतः गम्भीर कानुनी त्रुटि भएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख) अनुसार प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत व्यहोरा भएको यस अदालत डिभिजन बेञ्चको ०३७।४।२० गतेको आदेश रहेछ ।
१०. यसमा चामल बोरा ९५ प्रतिवादीहरूले लुटी लगे भनी वादीले दावी लिनु भएकोमा राम कुमारसँग लिनु पर्ने लेनामा दिएकोमा झुठ्ठा दोष लगाएको मात्र हो, झुठ्ठा वादी दावीबाट फुर्सद गरिपाउँ भन्ने प्रतिवादी भएकोमा यीनै राम कुमारले सर्वोच्च अदालतमा विपक्षी भागीरथा न्यौपाने समेत उपर दिएको उत्प्रेषणको १२६३ को रिट निवेदनमा प्र.भागिरथाले लुटी लगेको कुरा दर्शाएको मिसिल सामेल रहेको उक्त रिट निवेदनको नक्कलबाट देखिँदा लेनामा राम कुमारले उक्त चामल बोरा दिएको भन्ने प्रतिवादीको भनाई फजुल देखिन्छ ।
११. राम कुमार शर्मासँगको लेनाको सबूद प्रतिवादीले दिन नसकेको र खूदै राम कुमारले प्र.भागिरथाले लुटी लगेको भनेको पाइन्छ । चामल लुटपीट गरेको कुरा वादीका साक्षीहरूले लेखिदिएको र वादीले गोदाम भाडामा लिई राखेको, त्यस्तो चामल लगेमा प्रतिवादी स्वयं सावितै हुँदा यस्तो अवस्थामा बैड्ढ बुझी रहनु पर्ने आवश्यक समेत देखिन्न । वादी दावी बमोजिम चामल प्रतिवादी समेतले लुटपीट गरेको ठहराएको इलाम जिल्ला अदालतको इन्साफ मनासिव ठहराएको पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने ०३९।११।१२।५ को डिभिजन बेञ्चको फैसला ।
१२. उक्त फैसला फुल बेञ्चबाट दोहर्याई हेरिदिनु भनी श्री ५ महाराजाधिराजबाट विशेष जाहेरी विभाग मार्फत हुकुम प्रमाङ्गी बक्स भई आए बमोजिम निर्णयार्थ आज यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा प्रतिवादीका तर्फबाट उपस्थित हुनुभएका विद्वान अधिवक्ताद्वय श्री सीताराम तिवारी र रेवन्त कुँवरले गर्नु भएको बहस समेत सुनियो ।
१३. यसमा निर्णयतर्फ हेर्दा अ.बं. ८२ नं. मा जसको जुन कुरामा हक पुग्छ उसले सो कुरामा दावी गरी नालिश दिए मात्र लाग्छ भन्ने समेत व्यवस्था भएको देखिन्छ । ९५ बोरा चामल धितो राखी नेपाल बैंङ्क लिमिटेड, शनिश्चरे उपशाखाबाट कर्जा लिएकोमा प्र.भागीरथा न्यौपानेसँग भाडामा लिई गोदाममा राखेको चामल गोदाम सार्न खोज्दा ०३०।१।५ मा प्रतिवादीले लुटी लगेको हुँदा बिगो रु. १७,००५। विपक्षीबाट भराई लुटपीट गरेमा प्रतिवादीलाई सजायँसमेत गरिपाउँ भन्ने वादीको फिराद दावी देखिन्छ । वादीको लेखाईबाट नै निजले कर्जा लिनको निमित्त नेपाल बैंङ्क लिमिटेड शनिश्चरे उपशाखामा उक्त चामल बोरा ९५ धितो राखेको देखिन्छ । वादीले चामल धितो राखी कर्जा लिएको स्थितिमा निजले कर्जा लिएको रुपियाँ नतिरेसम्म निजले धितो राखेको चामल फिर्ता पाउन सक्ने देखिँदैन । अर्थात् वादीले कर्जा नतिरेसम्म धितो राखेको माल नेपाल बैंक लिमिटेडको हुने देखिन्छ । धितो राखेको चामल नेपाल बैङ्क लिमिटेड शनिश्चरे उपशाखाको जिम्मामा रहँदाको अवस्थामा लुटपीट भएको भन्ने कुरा मिसिल संलग्न गोदाम रक्षक नारद कोइरालाले उपशाखा प्रबन्धकलाई लेखेको पत्र र नेपाल बैंङ्कको तर्फबाट उपशाखा प्रबन्धकले प्रमुख जिल्ला अधिकारी झापाकहाँ दिएको ०३०।१।१० को लुटी लगेको मालको क्षतिपूर्ति दिलाई पाउँ भनी दिएको दर्खास्तबाट उक्त ९५ बोरा चामलको सम्बन्धमा नालिश गर्ने हकदैया अ.बं. ८२ नं. ले नेपाल बैंक लिमिटेडलाई भएको देखिन्छ । वादीलाई हकदैया नै नभएको स्थितिमा निजको नालिश नै लाग्न नसक्ने हुँदा अन्य कुराहरू तर्फ विचार गरिहरन परेन, प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ । मुद्दा नै खारेज गर्नु पर्नेमा मुद्दा हेरी प्रतिवादीले लुटपीट गरेको ठहराएको शुरू झापा जिल्ला अदालतको इन्साफ र सो इन्साफ सदर गरेको पूर्वान्चल क्षेत्रीय अदालतको ०३६।१।२ को तथा सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३९।११।१२ को इन्साफ बदर हुने ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा वादी दावी खारेज हुने ठहरेकोले शुरू झापा जि.अ.तको ०३३।१।२९ को फैसला र ०३३।२।६ का लगत बमोजिम गर्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गरिदिनु भनी शुरू झापा जि.अ.तमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु……१
प्र.भागिरथा न्यौपानेले पूर्वाञ्चलक्षे.अ.मा पुनरावेदन गर्दा शुरू झापा जि.अ.तको फैसलाले जरिवाना हुने ठहरेको रु. ३,४०१। वापत जेथा जमानी दिएको जिल्ला झापा महेशपुर गा.पं.वा.नं. ८(क) कि.नं. ५५१, ५५२ को ०–४–० जग्गा र सो जग्गामा बनेको घर समेतको घर जग्गा फुकुवा गरिदिन सम्बन्धित कार्यालयमा लेखी पठाई दिनु भनी ऐ. ऐ. मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु..२ प्र.भागीरथा न्यौपानेलाई पूर्वाञ्चलक्षे.अ.मा ०३६।१।२ का फैसलाले लागेको जरिवाना रु. ३४०।१० पूर्वाञ्चलक्षे.अ.मा ०३६।१।२३ दाखिल गरेको र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट लाग्ने ठहराएको जरिवाना रु. १७०।५५ मिति ०४१।२।२१ मा का.जि.अ.मा दाखिल गरेको रकम समेत ऐनका म्यादभित्र फिर्ता पाउँ भनी दर्खास्त परे ऐनको रीत पुर्याई फिर्ता दिनु भनी ऐ. ऐ. मा लेखी पठाई दिनु….३
मिसिल नियम बमोजिम गरी बुझाई दिनु…………………………४
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.पृथ्वी बहादुर सिंह
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४२ साल आश्विन २५ गते रोज ६ शुभम् ।