निर्णय नं. २३८७ – लिखत पास जालसाजी
निर्णय नं. २३८७ ने.का.प. २०४२ अङ्क ६ फुल बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री हरगोविन्द...
निर्णय नं. २३८७ ने.का.प. २०४२ अङ्क ६
फुल बेञ्च
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको दे.फु.नं. ६२
मुद्दा : लिखत पास जालसाजी ।
निवेदक/प्रतिवादी: पाल्पा तानसेन नगर पञ्चायत वार्ड नं.९ असन टोल बस्ने महेश्वर प्रधान मरी मु.स.गर्ने ऐ.ऐ घर भै हाल का.जि.का.न.पं. वार्ड नं.५ हांडी गाउँ ब्लक नं. २५/१३७ बस्ने राजेन्द्र प्रधान
विरूद्ध
विपक्षी/वादी:पाल्पा बौद्ध गुम्बा गा.पं.वार्ड नं. ८ आम डांडा जमुने बस्ने विष्णु प्रसाद घिमिरे ।
फैसला भएको मिति:२०४२।६।१८।६ मा
साक्षीहरूको रोहवरमा रूपैयाँ लिनदिनु गरी राजीनामा कागज भएको रहेछ भन्न सकिने अवस्था समेत नदेखिएकोबाट त्यस्तो लिखत ऐनको रीत पुगेको नदेखिँदा लिखत पारित हुने ठहर्याएको इन्साफ मिलेको देखिएन ।
(प्रकरण नं.१३)
निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री अनुपराज शर्मा
विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री हरिहर दाहाल
उल्लेखित मुद्दाःX
फैसला
न्या.बब्बर प्रसाद सिंह: निवेदकले श्री ५ महाराजाधिराजका हजूरमा चढाउनु भएको बिन्तिपत्रमा व्यहोरा साँचो भए यसमा लेखिएको “त्यस अदालतबाट छिनिएको लिखत पास जालसाजी मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट दोहोर्याई हेरी कानुन बमोजिम गर्नु” भन्ने हुकुम बक्स भई आए बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई आज निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :
२. विपक्षी महेश्वर प्रसाद प्रधानले मसँग रु. २५,०००। लिई खेत विगहा २–१३–९ मिति ०३०।८।२७।४ मा हक हक छाडी राजीनामा लिखत गरिदिएको म्यादभित्र पारित गरिनदिएकोले पारित गराई पाउँ भन्ने समेत विष्णुप्रसाद घिमिरेको फिराद ।
३. राजीनामा बमोजिमको रु. २५,०००। मेरो पेट बाँकी नभई मैले जानी बुझी खुसीराजीले सहीछाप गरेको नहुँदा सो राजीनामा मैले पारित गरिदिनु पर्ने होइन । वादीको एकासगोलको मुख्य बाबु थानेश्वर घिमिरे स्वयं बसी लेनदेन हर हिसाब गर्दा यस अघिको कुनै लेना पनि छैन र साथै रजिष्ट्रेशन पास गर्न बाँकी रहेको कुनै किसिमको राजीनामामा समेतका हक छाडेको लिखत समेत छैन भन्ने मलाई र मेरा परिवार समेतलाई पूर्ण विश्वास भएकोले लिखत गरिदिएको छु भनी राजीनामाको मिति भन्दा पछि ०३१।२।२७ मा मलाई कागज गरिदिएबाट प्रष्ट हुन आउँछ भन्ने समेत महेश्वरप्रसाद प्रधानको प्रतिउत्तरपत्र ।
४. प्र.महेश्वरलाई मेरो खुसीबाट कुनै लिखत गरिदिएको छैन । ०३१।२।२७ गतेका दिन १२।१ बजे प्र.महेश्वर निजको छोरा राजेन्द्र प्रहरी देवीबहादुर, नचिनेको २ जना समेत ३ जना प्रहरी समेत गै पक्राउ गरी ल्याई कोठामा थुनी बन्दूक देखाई के व्यहोराको कागज लेखी ल्याई पढी वाची नसुनाई सहिछाप गराएका हुन् अन्याय गर्ने सबै उपर छुट्टै उजूर गर्ने भएकाले उसैबाट इन्साफ पाउने हुँदा यी देखाइएका लिखत करकापबाट गराइएको हो भन्ने समेत थानेश्वरको बयान।
५. ०३०।८।२७।४ को सक्कल राजीनामा देखाउँदा देखें जानी बुझी गरिदिएको होइन झुक्याई सहिछाप गराई जालसाजी गरेका हुन्, खुशीराजीले गरिदिएको हैन, लिखत खडा गरेमा थानेश्वर र वादीलाई सजायँ गरिपाउँ भन्ने समेत मुद्दा सकार गर्ने राजेन्द्रप्रसादको बयान ।
६. जालसाजी राजीनामा खडा गरेको हैन खुसीराजीले गरिदिएको हुन् ०३१।२।२७ को लिखत थानेश्वरले राजीखुसीले गरिदिएको हैन पक्राउ गरी कोठाभित्र बन्द गरी जोर जुलुम करकापमा पारी जबरजस्तीसँग सहिछाप गराई लिएको हो भन्ने समेत विष्णुप्रसादको बयान ।
७. प्रतिवादीको प्रमाणको लिखतलाई बदर गराउन नसकेको र सो लिखतबाट राजीनामाको मिति भन्दा पछि प्र.थानेश्वरका घर परिवारका व्यक्ति छोराहरू समेतका नाउँमा प्रतिवादीले कुनै हक छाडी लिखत गरिदिएको व्यवहार बाँकी भएको प्रमाणित हुन नआउने हुनाले निजको प्रतिउत्तर जिकिर अनुसार थानेश्वरले रु. ४,०००। को राजीनामाको ठाउँ ठाउँमा दाखिल गर्नु पर्ने नक्कल हो भनी झुक्याई सहिछाप गराई जालसाजी गरेको ठहर्छ वादीले पारित गराई पाउँ भनेको राजीनामा रजिष्ट्रेशन पारित हुन सक्दैन भन्ने समेत पाल्पा जिल्ला अदालतको फैसला ।
८. सो फैसलामा चित्त बुझेन भन्ने समेत वादी विष्णुप्रसाद र थानेश्वर घिमिरेको बेग्ला बेग्लै पुनरावेदन ।
९. ०३१।२।२७ को भर्पाईको कारणबाट ०३०।८।२७ को राजीनामा निष्कृय तथा पारित हुन नसक्ने भएबाट जालसाजीबाट खडा भएको भन्न मिलेन ०३०।८।२७ को लिखत पारित हुन नसक्ने ठहराएको पाल्पा जिल्ला अदालतको इन्साफ मनासिव छ । जालसाजीमा थानेश्वर विष्णुप्रसादलाई सजायँ गरेको सम्म उल्टी हुने ठहर्छ भन्ने समेत पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला ।
१०. सो फैसलामा कानुनी त्रुटि हुँदा पुनरावेदनको अनुमति पाउँ भन्ने प्रतिवादीको निवेदन परेकोमा पारित गरिपाउँ भनेको लिखतको साहू नै नभएकोबाट पारित गरिपाउँ भनेको लिखत कृयासिल हुन नसक्ने भएबाट पारित हुन नसक्ने भन्ने ठहराएको क्षेत्रीय अदालतको निर्णय लेनदेन व्यवहारको ५ नं. को त्रुटि देखिएकोले पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३७।४।२४ को आदेश ।
११. वादीले पारित गरिपाउँ भनी दावी लिएको विवादित मिति २०३७।८।२७ को राजीनामा लिखतलाई प्रतिवादी महेश्वर प्रधानले जालसाजी भनी बयान गरेको देखिन्छ । तर उक्त कागजलाई जालसाजीबाट खडा गरेको भन्न मिलेन भनी पश्चिमान्चल क्षेत्रीय अदालतबाट निर्णय गरेको पाइन्छ । त्यसरी निर्णय गरे उपर प्रतिवादीको पुनरावेदन नपरी अन्तिम भइरहेको छ । वादीका बाबु थानेश्वरले ०३१।२।२७ मा गरिदिएको भनेको भर्पाईको सम्बन्धमा सहमति जनाएको देखिँदैन । यस्तो अवस्थामा थानेश्वरले गरिदिएको भर्पाईको आधारमा विवादास्पद २०३०।८।२७ को राजीनामा लिखतलाई प्रतिकूल असर पार्न सक्ने देखिँदैन । वादीलाई प्रतिवादी महेश्वरप्रसादले गरिदिएको उक्त विवादास्पद राजीनामा लिखत ऐनको रीत पुगेको छैन भन्ने प्रतिवादी जिकिर छैन। अतः ऐन बमोजिम रीत पुगी सद्दे ठहरी सकेको सो राजीनामाको कागज वादी दावी बमोजिम पारित हुन सक्दैन भन्न न्यायोचित नहुने हुँदा वादी दावी बमोजिमको प्रतिवादी महेश्वरप्रसाद प्रधानले गरिदिएको भनेको ०३०।८।२७ को राजीनामा लिखत पारित हुने ठहर्छ । सो लिखत पारित नहुने ठहराएको शुरूको सदर गरेको हदसम्मको पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला मिलेको देखिएन भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।
१२. निवेदक तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री अनुपराज शर्माले विवादको लिखत भएको भनेको मितिभन्दा पछि वादीको बाबु थानेश्वर घिमिरेले कुनै लेनादेना बाँकी छैन भनी कागज गरिदिएको छ । लिखत हुँदाको अवस्थाको वादीको उमेर, लिखतका लेखक तथा अन्तर साक्षीको बकाई समेतबाट लिखत बेदामे देखिँदा लिखत पारित हुने ठहराएको डिभिजन बेञ्चको इन्साफ मिलेको छैन भन्ने समेत बहस प्रस्तुत गर्नुभयो । विपक्षीतर्फका विद्वान अधिवक्ता श्री हरिहर दाहालले लिखतलाई प्रतिवादीले शुरूमा जालसाजी भनेबाट जालसाजी तर्फ कारवाई चलेकोमा क्षेत्रीय अदालतबाट जालसाजी ठहराए उपर प्रतिवादीले पुनरावेदन नगरी चित्त बुझाई बसेको छ । ०३१ सालको थानेश्वरले गरेको लिखतमा मेरो पक्षको कुनै किसिमको संलग्नता नहुँदा लिखत पारित हुने ठहराएको डिभिजन बेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
१३. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा प्रतिवादीले व्यापार गर्न भनी मसँग रु. २५,०००। लिई आफ्ना हक भोग दर्ताको जि.रूपन्देही पर्सा टिकट गा.पं.वा.नं. १ को कि.नं. २३, २४, ४८ र ६७ को जम्मा जग्गा विगहा २–१३–९ राजीनामा लेखी ०३०।८।२७ मा दिएकोमा पास गरी नदिएको हुँदा लिखत पास गरिपाउँ भन्ने वादी दावी देखिन्छ । वादीलाई राजीनामा लिखत गरिदिएकोमा प्रतिवादीले इन्कारी बयान गरेको पाइन्छ । अ.बं. ७८ नं. बमोजिम लिखत सुनाउँदा प्रतिवादीले जालसाजतर्फ जिकिर लिए पनि पश्चिमान्चल क्षेत्रीय अदालतले जालसाजतर्फ प्रतिवादी जिकिर नपुग्ने ठहराएको प्रतिवादीले चित्त बुझाई बसेको हुँदा त्यसतर्फ विचार गरिरहनु पर्ने अवस्था रहेन । प्रतिवादीले वादीसँग रूपैयाँ लिएको कुरामा इन्कार रहेकोले सो तर्फ विचार गर्दा लिखतका लेखक तथा अन्तर साक्षीहरूको भनाई उपर दृष्टि दिनु पर्ने हुन आयो । लिखतको साक्षी नवी मियाँले थानेश्वर, योगप्रसाद आई यो कागजमा सहिछाप गरिदेउ पास गर्ने कागज हो तिमीलाई केही हुँदैन भनेकाले व्यहोरा समेत केही नसुनी सहिछाप गरिदिएको हुँ, साहु को थियो असामी को थियो केही थाहा भएन, रूपैयाँ गने बुझेको पनि देखिन भन्ने बकपत्र गरेको पाइन्छ । त्यस्तै गरी लेखक साक्षी योगप्रसादले पनि रूपैयाँ लिए दिएको मैले देखिन भन्ने समेत बकपत्र गरेको पाइन्छ । वादीको साक्षी देवीप्रसाद घिमिरेले पनि कागज भएको कुरा सुनेको हुँ भन्ने समेत बकपत्र गरेकोले साक्षीहरूको रोहवरमा रूपैयाँ लिनु दिनु गरी राजीनामा कागज भएको रहेछ भन्न सकिने अवस्था समेत नदेखिएकोबाट त्यस्तो लिखत ऐनको रीत पुगेको नदेखिँदा लिखत पारित हुने ठहराएको डिभिजन बेञ्चको ०४०।१।१४ को इन्साफ मिलेको देखिएन। लिखत पारित गरिपाउँ भन्ने वादी दावी नपुग्ने ठहराएको पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा वादी दावी नपुग्ने ठहरेकोले सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४०।१।१८ को फैसला बमोजिम गर्नु पर्दैन व्यहोरा जनाई लगत कट्टा गरिदिनु भनी शुरू पाल्पा जि.अ.तमा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु…१
प्र.राजेन्द्र प्रधानले फुल बेञ्चमा मुद्दा दोहरिए वापत राखेको सदर स्याहा भएको कोर्टफी रु. १। वादीबाट भराई पाउँ भनी ऐनका म्यादभित्र दर्खास्त परे कानुनको रीत पुर्याई भराई दिनु भनी ऐ. ऐ. मा पठाउन ऐ. ऐ. मा लगत दिनु…२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु…………………………………३
उक्त रायमा म सहमत छु ।
न्या.गजेन्द्रकेशरी बास्तोला
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल आश्विन १८ गते रोज ६ शुभम् ।