July 23, 1985
Created by nepalarchives

निर्णय नं. २३६४ – उत्प्रेषणको आदेश जारी गरिपाउँ

निर्णय नं. २३६४     ने.का.प. २०४२      अङ्क ५   डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४१ सालको...

निर्णय नं. २३६४     ने.का.प. २०४२      अङ्क ५

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् २०४१ सालको रिट नं. २४१४

विषय : उत्प्रेषणको आदेश जारी गरिपाउँ ।

 

निवेदक      :जिल्ला भोजपुर नेपाले डाँडा गा.पं.वा.नं.९ खेवाछा बस्ने वी रबहादुर चापागाईं ।

विरूद्ध

विपक्षी :भोजपुर जिल्ला अदालत,भोजपुर ।

कोशी अंचल अदालत,धरान ।

पूर्वाञ्चल क्षेत्रीय अदालत ,धनकुटा ।

कुदाक काडेल गा.पं. वडा नं. ६ बस्ने हिरालाल राई ।

आदेश भएको मिति:२०४२।४।८।३ मा

     आफ्नो अधिकारक्षेत्र भित्रको कुरामा सबूद प्रमाणको मूल्याङ्कन गरी गरेको उक्त जिल्ला, अञ्चल तथा क्षेत्रीय अदालतको फैसला र आदेशहरूमा कानुनको त्रुटि गरी निर्णय गरेको भन्ने देखिन नआएको हुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन ।

(प्रकरण नं.११)

आदेश

न्या.धनेन्द्र बहादुर सिंहः पूर्वान्चल क्षेत्रीय अदालत सिंगल बेञ्चको मिति २०४१।२।२८ को आदेश लगायत विपक्षीहरूको त्रुटिपूर्ण फैसला बदर गरिपाउँ भनी नेपालको संविधान धारा ७१ अनुसार पर्न आएको आएको प्रस्तुत रिट निवेदनको तथ्य यस प्रकार छ ।

२.    १९५६ सालको मोठमा अमरसिं राईका नाममा दर्ता भएको खेत माटो मुरी ।२० को कित्ता १, १९९० सालको नाबु २० मा वडनिज अमरसिंको दर्ता माटो मुरी ।२ को कित्ता १ समेत जग्गा दर्तावाला अमरसिंले १९६६ साल माघ १७ गते यज्ञनिधि चापागाईंलाई राजीनामा लिई निजको परलोक पछि मेरा बाबु कृष्णभक्तको हक भएको निजको परलोक पश्चात डम्बरबल्लभ चापागाईंको हक हुन आई निजबाट मेरी आमा विष्णुमायाले १९९६ साल मार्ग १६ गते घरसारमा बण्डापत्र गरी २०१४ साल आश्विन ६ गते भोजपुर मालबाट बण्डापत्र रजिष्ट्रेशन पास गरी हक हुन आएको आमालाई रिझाए वापत मिति २०१४।६।७ मा हालैको बकसपत्र पाई जग्गा भोगचलन गर्दै आइरहेको छु । हाल पूर्व कि.नं. ६२७ को नबु मेरै खेत पश्चिम कि.नं. ६२९ मेरै खेत नबु उत्तर कि.नं. ६३३ घुर्सेनी कुलो दक्षिण कि.नं. ६२४ को टारी कुलो यति ४ किल्ला  भित्रको कि.नं. ६२८ मा पूर्व कि.नं. ६२८ नाबु मेरै खेत पश्चिम कि.नं. ४२२ खोल्सी उत्तर कि.नं. ६३० नाबु कुलो दक्षिण कि.नं. ६२४ को टारीकुलो यति ४ किल्ला भित्रको कि.नं. ६२९ को मेरो हक भोगको जग्गामा विपक्षीले बाबु मरी मेरो हक भोग भएको भनी मौखिक आधारमा नापीमा भनी नापी गोश्वाराले कि.नं. ६२८ र ६२९ को जग्गा विपक्षीका नाममा अस्थायी दर्ता गरिदिने गरेको निर्णय बदर गरिपाउँ भन्ने फिरादी दावी गरेकोमा कि.नं. ६२८ र ६२९ को जग्गा बाबु मरी मेरो हक हुन आई बाजेकै पालादेखि भोगचलन गरिआएको हुँदा उक्त जग्गा मेरै नाममा सदर गरिपाउँ भन्ने प्रतिवादीको प्रतिउत्तर जिकिर भएको कि.नं. ६२९ को जग्गा प्र.का. नाममा अस्थायी दर्ता भएको मनासिव छ । कि.नं. ६२८ को जग्गा वादीका नाममा दर्ता हुने ठहर्छ भनी भोजपुर जिल्ला अदालतले गरेको फैसला उपर दुवै पक्षको पुनरावेदन परी प्रतिवादीले दावी गरेको माटो मुरी १।१७।५ को खेत आफूले अघि नै छोरासँग राजीनामा लिई सकेको भनी पुनरावेदन जिकिर लिई सो प्रमाणित गर्न घरसारको राजीनामा पेश गरेको देखियो । फिरादमा नलेखेको घरसारको प्रमाणलाई पुनरावेदनबाट प्रमाणको रूपमा लिन कानुनसंगत नदेखिने हुँदा कि.नं. ६२८ को जग्गा सम्म पुनरावेदकको ठहर्छ । कि.नं. ६२९ को जग्गा आफ्नु हुनुपर्ने भन्ने पुनरावेदन दावी पुग्न नसक्ने ठहर्छ भनी कोशी अं.अ.बाट भएको फैसला उपर निवेदकले पुनरावेदनको अनुमति पाउँ भनी पूर्वान्चल क्षेत्रीय अदालतमा दिएको निवेदनमा पुनरावेदनको अनुमति दिन नमिल्ने भनी पूर्वान्चल क्षेत्रीय अदालतबाट मिति २०४१।२।२८ मा आदेश भएको रहेछ ।

३.    मेरो बाबुको अंश भागमा परेको भनी कथित दावा गरी खेत माटो मुरी १।१७।४ को छुट्टै कित्ता देखाई प्रतिउत्तर दिएकोमा त्यसैलाई आधार मानी गरिएको निर्णय त्रुटिपूर्ण छ । विपक्षीले माटो मुरी ।२९ को खेत कि.नं. ६२३ मा छ, भनी प्रतिउत्तर दिएको सो सम्बन्धमा मेरो कुनै बयान नै नलिई मेरो लिखतलाई प्रमाणमा लिन मिल्दैन भनी गरिएको को.अं.अ.को फैसला र पूर्वान्चल क्षेत्रीय अदालतको फैसला र पूर्वान्चल क्षेत्रीय अदालतको आदेश प्रमाण ऐन, २०३१ को दफा ५४ को विपरीत छ । मुलुकी ऐन सातौं संशोधन पूर्व घरसारको राजीनामाले कानुनी मान्यता प्राप्त गरेकै हुँदा र सो कानुन के कस्तो रूपको हो सो सम्बन्धमा अ.बं. ७८ नं. को कार्यविधि नै नअपनाई सो मेरो घरसारको लिखतलाई मान्यता दिन मिल्दैन भनी पूर्वान्चल क्षेत्रीय अदालतबाट भएको आदेश अ.बं. १८४(क) विपरीत हुँदा बदरभागी छ । तसर्थ विपक्षीको मौखिक भनाइको भरमा बिनालिखत नै कि.नं. ६२९ को जग्गा विपक्षीको ठहर गरिएको विपक्षीहरूको त्रुटिपूर्ण फैसला उत्प्रेषणद्वारा बदर गरी पूर्वान्चल क्षेत्रीय अदालतका नाममा पुनः इन्साफ गरिदिनु भन्ने परमादेश समेत जारी गरिपाउँ भन्ने समेत व्यहोराको मिति २०४१।३।२९ को रिट निवेदन जिकिर।

४.    विपक्षीहरूबाट लिखित जवाफ लिई पेश गर्नु भन्ने सर्वोच्च अदालत सिंगल बेञ्चको मिति २०४१।३।३० को आदेश ।

५.    सबूद प्रमाणको मूल्याङ्कनको आधारमा कानुन अनुरूप यस अदालतबाट भएको फैसला सदर भई पूर्वान्चल क्षेत्रीय अदालत समेतबाट तहतह फैसला भइसकेको देखिँदा निवेदकको संवैधानिक हक हरण भएको नहुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको भोजपुर जिल्ला अदालतको मिति २०४२।१।११ को लिखित जवाफ ।

६.    निर्णय न्यायोचित नै हुँदा निवेदकको रिट निवेदन खारेज हुन सादर अनुरोध छ भन्ने समेत व्यहोराको मिति २०४१।९।१४ को कोशी अञ्चल अदालत धरानको लिखित जवाफ ।

७.    कानुनद्वारा प्रदत्त अधिकार समेत ग्रहण गरी कानुन अनुरूप नै यस अदालतबाट भए गरेको कारवाहीमा रिट निवेदन आकृष्ट हुने अवस्था विद्यमान नहुँदा निवेदकको रिट निवेदन खारेज गरी पाउन सादर अनुरोध छ भन्ने समेत व्यहोराको मिति २०४१।९।२६ को पूर्वान्चल क्षेत्रीय अदालत धनकुटाको लिखित जवाफ ।

८.    पूर्वान्चल क्षेत्रीय अदालतबाट कारण प्रमाण खुलाई न्यायिक मनको प्रयोग गरी आदेश भएको छ । असाधारण अधिकार क्षेत्रबाट कसलाई कुन जग्गा दर्ता गरिदिनु पर्ने भनी हेर्ने होइन कसको कित्ता कुनसँग भिड्नु पर्ने कसको दर्ता बदर वा सदर गर्नुपर्ने भनी हेर्ने पनि होइन निर्विवाद हकको प्रचलन मात्र संविधानको धारा ७१ बमोजिम हुने हो कि.नं. ६२९ को जग्गाको दर्ता ठीक बेठीक के हो भन्ने कुरा अदालतको सम्पूर्ण तहबाट हेरी सकिएकै हुँदा विपक्षीको रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत व्यहोराको हिरालाल राईको मिति २०४१।११।८ को लिखित जवाफ रहेछ ।

९.    तारिखमा रहेका निवेदक वीर बहादुर चापागाई र विपक्षीको वारिस भीमलाल जोशी रोहवरमा रही पेश हुन आएको प्रस्तुत मुद्दामा प्रत्यर्थी कार्यालय तर्फबाट उपस्थित वि.सर्वोच्च अदालतश्री भैरवप्रसाद लम्सालले रिट निवेदक समेतको दर्ता बदर गरिपाउँ भन्ने नालिश परी सबूद प्रमाणको आधारमा अदालतबाट हक बेहको निर्णय गरेको देखिन्छ । त्यसरी अदालतबाट निर्णय गरी सकेको कुरामा रिट क्षेत्रबाट विचार गर्ने अवस्था छैन । कानुनको त्रुटि गरी निर्णय पनि गरेको नहुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।

१०.    प्रस्तुत मुद्दामा निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

११.    यसमा निर्णयतर्फ हेर्दा विवादित जग्गाको अस्थायी दर्ता गरिदिने १ नं. नापी गोश्वाराको निर्णय बदर गरी कि.नं. ६२८ र ६२९ को जग्गा मेरा नाममा सदर गरिपाउँ भनी निवेदकले शुरू जिल्ला अदालतमा दर्ता बदर मुद्दा दायर गरेको देखिन्छ । शुरू जिल्ला अदालतबाट कि.नं. ६२९ को जग्गा विपक्षी प्रतिवादीका नाममा र कि.नं. ६२८ को जग्गा निवेदक वादीका नाममा दर्ता हुने ठहर्‍याई फैसला भएकोमा सो फैसलामा चित्त बुझेन भनी निवेदकको पुनरावेदन पर्दा कोशी अञ्चल अदालतबाट समेत सम्पूर्ण प्रमाणको मूल्याङ्कन गरी उक्त दर्ता बदर मुद्दा शुरूको इन्साफ सदर गरी फैसला भएको देखिन्छ । यसरी जिल्ला तथा अञ्चल अदालतले आफ्नो क्षेत्राधिकारको परिधि भित्र रही सबूद र प्रमाणको मूल्याङ्कन गरी कानुनले निर्दिष्ट गरेको कार्यविधि अपनाई उक्त मुद्दा ठहर निर्णय गर्न पाउने नै देखिन्छ । निवेदकले अञ्चल अदालतबाट भएको निर्णयमा समेत चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी पूर्वान्चल क्षेत्रीय अदालतमा निवेदन गरेकोमा फिरादपत्रमा उल्लेख गर्न नसकेकोमा पुनरावेदनमा जिकिर लिएको कुरालाई प्रमाणित गर्न पहिले पेश नगरेको घरसारको लिखतलाई मान्यता नदिई गरेको अञ्चल अदालतको फैसलामा न्याय प्रशासन सुधार ऐन, २०३१ बमोजिमको अवस्था विद्यमान नदेखिँदा पुनरावेदनको अनुमति दिनमिलेन भनी पूर्वान्चल क्षेत्रीय अदालतबाट आदेश निर्णय भएको पाइन्छ । त्यसप्रकार आफ्नो अधिकार क्षेत्र भित्रको कुरामा सबूद प्रमाणको मूल्याङ्कन गरी गरेको उक्त जिल्ला, अञ्चल तथा क्षे.अ.को फैसला र आदेशहरूमा कानुनको त्रुटि गरी निर्णय गरेको भन्ने देखिन नआएको हुँदा रिट निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

इतिसम्वत् २०४२ साल श्रावण ८ गते रोज ३ शुभम् ।