निर्णय नं. २३६३ – उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय नं. २३६३ ने.का.प. २०४२ अङ्क ५ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको...
निर्णय नं. २३६३ ने.का.प. २०४२ अङ्क ५
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
सम्वत् २०४० सालको रिट नं. १९६२
विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश जारी गरिपाउँ ।
निवेदक :विराटनगर जुट सप्लाई कम्पनीको प्रो.जि.सुन्सरी धरान न.पं.वार्ड नं.५ बस्ने महेश कुमार लेटिया ।
विरूद्ध
विपक्षी :कर कार्यालय, विराटनगर।
श्री राजस्व न्यायाधीकरण धरान ।
आदेश भएको मिति:२०४२।३।२७।५ मा
ऐनले निर्दिष्ट गरेबमोजिम रीतपूर्वकको सूचना भन्ने देखिँदैन त्यस्तो सूचनालाई आयकर ऐन, २०३१ को दफा ३३ को उपदफा (४) बमोजिमको सूचना भनी मान्न पनि मिलेन ।
(प्रकरण नं.१८)
निवेदक तर्फबाट :विद्वान अधिवक्ता श्री सुसिल कुमार सिन्हा
विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट
उल्लेखित मुद्दाःX
आदेश
न्या.धनेन्द्र बहादुर सिंह: कर कार्यालय विराटनगरको मिति ०३९।२।२३ को आयकर निर्धारण आदेशसमेत बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।
२. कर कार्यालय विराटनगरले मेरो फर्मको आ.व. ०३२।३३ को लागि खूद आय रु. ५५,२५१।५० उल्लेख गरी सो मा आयकर रु. १४,६६३।३३ ज.रु. ७५४।११ लगाई मिति ०३९।२।२३ मा आयकर निर्धारण आदेश गरी दाखिल गर्न आदेश पठाउनु भएकोमा सो आदेश कानुन तथा न्यायसंगत नभई सो आदेश उपर राजस्व न्यायाधीकरण धरानमा पुनरावेदन गरेकोमा राजस्व न्यायाधीकरण बाट न्यायिक मनको प्रयोग नगरी अ.बं. १८५ नं. विपरीत गरी हचुवा तथा अनुहारबाट नै गैरकानुनी देखिएकोले आयकर निर्धारण आदेशलाई मिति ०४०।८।२ मा सदर गर्ने गरी फैसला भएको छ ।
३. आयकर भनेको करदाताको वास्तविक खूदआयमा लाग्ने कर हो दातालाई आयकर ऐन,०३१ को दफा ३३ (२) बमोजिम खूद आय निर्धारण गरी कर लगाउनु पर्छ । सो बमोजिम खूद आय निर्धारण गर्दा ३३(२) बमोजिमका आधार मध्ये कुनै आधारमा कर निर्धारण गर्न लागिएको हो, खूद आय कसरी के कति कुन आधारमा कायम गरियो सो आधार स्पष्ट खुलाई आयकर ऐन, ०३१ को दफा ३३(४) बमोजिम करदाता लाई लिखित सूचना दिनुपर्छ भन्ने ऐनले गरेको बाध्यात्मक व्यवस्था पालन नगरी मलाई सो बमोजिम सूचना नदिई प्रतिवाद गर्ने सफाईको मौका नै नदिई मनोमानी तथा हचुवा तवरले खूद आय कायम गरी गरेको कर कार्यालय विराटनगरले ०३९।२।२३ को कर निर्धारण आदेश गैरकानुनी भई त्रुटिपूर्ण रहेको र त्यस्तो आदेशलाई सदर गरेको राजश्व न्यायाधीकरण धरानको मिति ०४०।८।२ को फैसला समेत गैरकानुनी भई त्रुटिपूर्ण हुँदा उक्त फैसला र आदेश समेत उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः कानुन बमोजिम आयकर निर्धारण गर्नु भनी विपक्षी कर कार्यालयका नाउँमा परमादेशको आदेश समेत जारी गरिपाउँ भन्ने समेत महेशकुमार लोहियाको मिति ०४०।११।२।३ को रिट निवेदन जिकिर ।
४. विपक्षीहरूबाट लिखित जवाफ मगाई पेशगर्नु भन्ने यसअदालत सिं.बे.को मिति ०४०।११।२१ को आदेश ।
५. पुनरावेदकले हिसाब किताबको आधारमा आयको विवरण पेश गरी सबूद प्रमाणद्वारा पुष्ट्याई गर्न नसकेको हुँदा यो यतिकै खरिद बिक्री भएको भन्ने प्रमाण नभएकोले कर कार्यालयले न्यायोचित अनुमानको आधारमा खूद आय निश्चित गर्नु बाहेक अन्य विकल्प नभई आयकर ऐनको दफा ३३(४) बमोजिम सफाई पेश गर्ने मौका समेत दिई सोही ऐनको दफा ३३(२) मा व्यवस्था भएको प्रकृया समेत अपनाई गरेको आयकर निर्धारण आदेशलाई कानुन विपरीत भन्न मिल्ने नदेखिएको हुँदा कर कार्यालय विरानगरले मिति ०३९।२।२३ मा गरेको कर निर्धारण आदेश सदर गरी यस राजस्व न्यायाधीकरणबाट मिति ०४०।८।२ मा भएको फैसला कानुनसंगत नै हुँदा रिट निवेदन खारेज हुन अनुरोध छ भन्ने समेत राजश्व न्यायाधीकरण धरानको मिति ०४१।१।३ गतेको लिखित जवाफ ।
६. करकार्यालय विराटनगरले यसअदालतबाट जारीभएको सूचनाको म्यादगुजारी लिखित जवाफ नदिई बसेको रहेछ ।
७. रिट निवेदक तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री सुसिल कुमार सिन्हाले रिट निवेदकको फर्मको न्यायोचित अनुमानको आधारमा आयकर ऐन, ०३१ को दफा ३३(२) बमोजिम खूद आय कायम गरी आयकर निर्धारण गर्दा निवेदकलाई दफा ३३(२) को कुन आधारमा के कति खूद आय कसरी कायम हुन आयो सो समेत स्पष्ट आधार खुलाई आयकर ऐन, २०३१ को दफा ३३(४) बमोजिम सूचना दिई प्रतिवाद गर्ने वा सफाई पेश गर्ने मौका दिनुपर्नेमा नदिई मनोमानी खूद आय कायम गरी कर निर्धारण गरेको कर कार्यालय विराटनगरको मिति ०३९।२।२३ को आयकर निर्धारण आदेश तथा सो सदर गरेको राजश्व न्यायाधीकरण धरानको मिति ०४०।८।२ को फैसला समेत गैरकानुनी भई त्रुटिपूर्ण हुँदा उक्त आदेश तथा फैसला उत्प्रेषणको आदेशद्वारा बदर गरी पुनः कानुन बमोजिम कर निर्धारण गर्नु भनी कर कार्यालय विराटनगरका नाउँमा परमादेशको आदेश समेत जारी हुनुपर्छ भन्ने र प्रत्यर्थी तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्टले रिट निवेदकले हिसाब किताब पेश नगरेकाले आयकर ऐन, ०३१ को दफा ३३(२) बमोजिम न्यायोचित अनुमानका आधारमा खूद आय निर्धारण गरी दफा ३३(४) बमोजिम सूचना समेत दिई गरेको कर कार्यालय विराटनगरको मिति ०३९।२।२३ को कर निर्धारण आदेश तथा सो आदेशलाई सदर गरी राजश्व न्यायाधीकरण धरानबाट मिति ०४०।८।२ मा भएको फैसला समेत कानुन अनुरूप नै हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नु भयो ।
८. प्रस्तुत मुद्दामा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने नपर्ने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आयो ।
९. यसमा निर्णयतर्फ हेर्दा आयकर ऐन, ०३१ को दफा ३३(२) बमोजिम खूद आय कायम गरी ऐ. दफा ३३ (४) बमोजिम सो खूद आय निर्धारण गर्नु परेको आधार स्पष्ट खुलाई करदातालाई लिखित सूचना दिनुपर्नेमा सो अनुसार सूचना नदिई कायम गरेको खूद आयमा कर निर्धारण गरेको कर कार्यालय विराटनगरको मिति ०३९।२।२३ को निर्णय पर्चा तथा कर निर्धारण आदेश र सो निर्णय सदर गरेको राजश्व न्यायाधीकरण धरानको मिति ०४०।८।२ को फैसला त्रुटिपूर्ण हुँदा बदर गरी पुनः कानुनबमोजिम कर निर्धारण गर्नु भनी विपक्षीहरूका नाउँमा परमादेश समेत जारी गरिपाउँ भन्ने मुख्य रिट निवेदन जिकिर देखिन्छ ।
१०. रिट निवेदक (करदाता) ले आफ्नो आय व्ययको हिसाब किताब राखी आय व्ययलाई पुष्टी गर्न नसकेको हुँदा आयकर ऐन, ०३१ को दफा ३३ को उपदफा (२) बमोजिम न्यायोचित अनुमानका आधारमा खूद आय कायम गर्नु पर्ने भई सो बमोजिम खूद आय कायम गर्दा आयकर ऐन, ०३१ को दफा ३३(४) बमोजिम ७ दिनको सूचना समेत दिई कायम हुन आएको खूद आयमा आयकर निर्धारण भएको हो भन्ने राजश्व न्यायाधीकरण धरानको मिति ०४१।१।३ को लिखित जवाफमा उल्लेख भएको पाइन्छ ।
११. रिट निवेदकले आफ्नो फर्मको कारोबारको लेखा हिसाब किताब राखेको देखिँदैन । यसरी कारोबारको लेखा नराखेको स्थितिमा कर अधिकृतले त्यस्ता करदाताको हकमा आयकर ऐन, ०३१ को दफा ३३(२) बमोजिम दफा ३३ को उपदफा (२) को देहायका (क) देखि (घ) सम्मका कुनै आधारमा करदाताको खूद आय कायम गरी कर निर्धारण गर्न सक्ने कानुनी व्यवस्था दफा ३३(२) मा गरेको पाइन्छ । त्यसरी दफा ३३(२) बमोजिम खूदआय कायमगर्दा सोहीऐनको दफा ३३ को उपदफा (४) को व्यवस्थालाई बाध्यात्मक रूपमा पालन गर्नुपर्ने हुन्छ । आयकर ऐनको दफा ३३(४) मा हेर्दा उपदफा (२) वा (३) बमोजिम खूदआय निर्धारणगर्दा कर अधिकृतले त्यसरी निर्धारण गर्नुपरेको आधार स्पष्ट खुलाई करदातालाई लिखितसूचना दिई आफ्नो आय सम्बन्धमा केही कुरा भन्न वा सबूद प्रमाण पेश गर्न सात दिनको म्याद दिनुपर्ने छ भन्ने उल्लेख भएको पाइन्छ ।
१२. यसबाट कुनै पनि करदाताको आयकर ऐन, ०३१ को दफा ३३(२) बमोजिम खूद आय निर्धारण गर्दा सो आय निर्धारण गर्नु परेको आधार स्पष्ट खुलाई कर अधिकृतले करदातालाई सो निर्धारण गर्न लागिएको आय सम्बन्धमा आफ्नो कुरा भन्ने वा सबूद प्रमाण पेश गर्नको लागि ७ दिनको म्याद दिई प्रतिवाद गराई कायम भएको खूद आयमा कर निर्धारण गनुपर्ने देखिन आयो ।
१३. जहाँसम्म उक्त ऐनमा उल्लिखित आधार अर्थात् खुलाउनु पर्ने आधार केलाई भन्ने प्रश्न उपस्थित भएकोमा उक्त ऐनको व्यवस्थालाई दृष्टिगत गरी निष्कर्षमा पुग्नुपर्ने हुन्छ । आयकर ऐन, ०३१ को दफा ३३(२) मा कर अधिकृतले देहायका कुनै आधारमा खूद आय काम गरी कर निर्धारण गर्न सक्ने छ भन्ने उल्लेख भई देहायका (क) देखि (छ) सम्मका आधारहरू उल्लेख भएको पाइन्छ । सो आधारमा सीमित रही खूद आय कायम गर्न सक्ने हुन्छ तसर्थ उपरोक्त उल्लिखित (क) देखि (छ) सम्म उल्लेख भएको दफा ३३(२) बमोजिम खूद आय कायम गर्ने सन्दर्भमा सोही उपदफा (२) मा आधारहरू मध्ये कुन आधारलाई अबलम्बन गरी कर अधिकृतले खूद आय कायम गर्न लागेको हो सो आधारलाई नै जनाउँछ ।
१४. यसरी उपरोक्त उल्लिखित आयकर ऐनको दफा ३३(२) को देहायका (क) देखि (छ) सम्म आधारहरू मध्ये कुन चाहिँ आधारमा कर अधिकृतले के, कति, खूद आय कसरी कायम हुने देखिन आयो, यो समेत स्पष्ट उल्लेख गरी दफा ३३ को उपदफा (४) बमोजिम सूचना दिई सफाईको मौका दिई कायम हुन आएको खूद आयमा मात्र कर निर्धारण गर्नु पर्ने हुन्छ । कुन–कुन तथ्य र आधारमा के कति खूद आय कायम हुने देखिन आयो सो कुराको जानकारी करदातालाई प्राप्त नगराउने हो भन्ने उक्त दफा ३३(४) को कुनै प्रयोजन नै रहँदैन ।
१५. कर अधिकृतले खूद आय के कुन आधारमा कति आय निर्धारण गर्न लागेको छ सो को जानकारी करदातालाई गराई सो आयसम्बन्धमा आफ्नो कुरा भन्ने सबूद प्रमाण पेश गरी खण्डन गर्ने समेत सफाईको मौका मिलोस भन्ने मनसायबाट नै उक्त दफा ३३(४) को निर्माण भएको भन्ने कुरा उक्त दफाको बनौटबाट नै देखिन्छ ।
१६. प्रस्तुत मुद्दामा रिट निवेदकलाई उपरोक्त उल्लेख भएबमोजिम आयकर ऐन, ०३१ को दफा ३३(२) बमोजिम खूद आय कायमगर्दा दफा ३३(४)बमोजिम आयनिर्धारण गर्नुपरेको कुराकोआधार स्पष्टखुलाई सूचना दिएको देखिँदैन ।
१७. जहाँसम्म प्रत्यर्थीले जिकिर लिएको रिट निवेदकलाई सूचना दिएको भनेको मिसिल सामेल रहेको प्रत्यर्थी कर कार्यालयको सूचनाको प्रश्न छ । उक्त सूचना हेर्दा आय विवरणमा देखाउनु भएको खूद आय नोक्सानीलाई हिसाब किताबद्वारा पुष्टी गराउनु पर्नेमा सो को लेखा नै नराख्नु भएको कारणबाट तपाईको आर्थिक कारोबारको सम्बन्धमा यस कार्यालयमा प्राप्त हुन आएको तथ्याङ्क तथा तत्सम्बन्धी अन्य विवरण तपाईको कारोबारको स्तर समेतलाई दृष्टिगत गरी आयकर ऐन, २०३१ को संशोधन सहितको दफा ३३(२) अनुसार खूद आय निश्चित गर्नु पर्ने भएको हुनाले आफ्नो आय सम्बन्धमा केही कुरा भन्ने सबूद पेश गर्न सोही ऐनको दफा ३३(४) अनुसार ७ दिनको म्याद दिइएको छ । उक्त म्यादभित्र आफ्नो आयसम्बन्धी ठोस सबूद प्रमाण पेश गर्नु हुन अवगत गराइएको छ भन्ने उल्लेख भएको देखिन्छ ।
१८. उक्त सूचानामा आयकर ऐनको दफा ३३(२) को देहायका (क) देखि (छ) सम्मको कुन आधारमा रिट निवेदकले के कति खूद आय के कसरी कायम हुन आयो सो कुरा उल्लेख भएको पाइँदैन । यसबाट उपरोक्त उल्लेख भएको रिट निवेदकलाई दिएको भनिएको सूचना ऐनले निर्दिष्ट गरे बमोजिम रीतपूर्वकको सूचना भन्ने देखिँदैन । त्यस्तो सूचनालाई आयकर ऐन, ०३१ को दफा ३३ को उपदफा (४) बमोजिमको सूचना भनी मान्न पनि मिलेन ।
१९. तसर्थ उपरोक्त उल्लेख भएबमोजिम कानुनबमोजिमको सूचना नदिई खूदआय कायम गरी करनिर्धारण गर्ने गरेको प्रत्यर्थी करकार्यालय विराटनगरको मिति ०३९।२।२३ को पर्चा र आयकर निर्धारण आदेश तथा सो आदेशलाई सदर गरेको रा.न्या.धरानको मिति ०४०।८।२ को फैसलासमेत कानुनप्रतिकूलको भई त्रुटिपूर्ण देखिन आयो ।
२०. अतः उक्त कर कार्यालय विराटनगरको मिति ०३९।२।२३ को त्रुटिपूर्ण पर्चा, आयकर निर्धारण आदेश तथा सो आदेशलाई सदर गरेको राजश्व न्यायाधीकरण धरानको मिति ०४०।८।२ को फैसला समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । अब कानुन बमोजिम खूद आय कायम गरी कर निर्धारण गर्नु भनी प्रत्यर्थी कर कार्यालय विराटनगरका नाउँमा परमादेशको आदेश समेत जारी गरिएको छ । जानकारीको लागि निर्णयको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महा–न्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.जोगेन्द्र प्रसाद श्रीवास्तव
इतिसम्वत् २०४२ साल आषाढ २७ गते रोज ५ शुभम् ।