August 25, 1985
Created by nepalarchives

निर्णय नं. २३५७ – उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ

निर्णय नं. २३५७    ने.का.प. २०४२            अङ्क ५   डिभिजन बेञ्च सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४१ सालको...

निर्णय नं. २३५७    ने.का.प. २०४२            अङ्क ५

 

डिभिजन बेञ्च

सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४१ सालको रिट नं.२२२९

विषय : उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ ।

 

निवेदक      : का.जि.का.न.पं.वार्ड नं. १७ बस्ने जोग कुमारी बज्राचार्य  ।

विरूद्ध

विपक्षी :श्री भूमि सुधार अधिकारी भूमि सुधार कार्यालय काठमाडौं ।

का.जि.का.न.पं. वार्ड नं. १७ क्षेत्रपाटी ढल्कोटोल बस्ने श्यामकृष्ण डंगोल ।

आदेश भएको मिति:२०४२।५।९।१ मा

     दर्तावाला मोहीको आफ्नो छोरा नभएको अवस्थामा सौतेनी छोराले ऐन बमोजिम मोही हक प्राप्त गर्न सक्छ भन्न मिल्ने देखिँदैन ।

(प्रकरण नं.१०)

निवेदक तर्फबाट : विद्वान विरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

विपक्षी तर्फबाट      :विद्वान विरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली र विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट

उल्लेखित मुद्दाःX

आदेश

का.मु.प्र.न्या.धनेन्द्र बहादुर सिंहः  भूमि सुधार कार्यालय काठमाडौंको मिति ०४१।१।१३ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्न आएको रिट निवेदन तथ्य यस प्रकार छ ।

२.    का.जि.का.न.पं.वार्ड नं. १९(ख) कि.नं. ५१ को क्षेत्रफल ३० जग्गा मोही मेरी जेठी आमा सेतीमायाका नाउँमा जोत दर्ता भएको थियो । निजको २०२८ सालमा परलोक भएकोले जोत मेरो नाउँमा नामसारी गरिपाउँ भनी विपक्षी श्यामकृष्ण डंगोलले विपक्षी कार्यालयमा निवेदन गरेपछि उक्त जग्गामा निवेदिकाको एकलौटी हकभोग तिरोको हो भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ मा मोहियानी हक मोहीका शेषपछि पति पन्ती वा छोरा मध्ये जग्गाधनीले पत्याएको व्यक्ति मात्र मोही कायम गरी जोत नामसारी गर्न मेरो मञ्जूर छैन भनी मैले प्रतिवाद गरेकोमा जोगकुमारी बज्राचार्यले सेतीमायाको परलोक भई जोत कट्टा गरिपाउँ भन्ने दावी गरी दर्खास्त दिएकोमा मोहियानी हक छोराले पाउने हुँदा जोत कट्टा गर्न मिल्दैन भनी ०३५।४।२० मा भएको निर्णय उजूर गरी बदर गराएको  देखिँदैन । श्यामकृष्ण डंगोल सौताको छोरा नै देखिन आएको हुँदा उल्लिखित जग्गा निजका नाउँमा नामसारी हुने ठहर्छ भनी विपक्षी कार्यालयबाट मिति ०४१।१।१३ मा निर्णय भयो ।

      ३.    मैले जग्गा कमाउन दिनलाई सेतीमाया बाहेक अरु कसैलाई पनि पत्याएको छैन । भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) ले पत्याउनु पर्ने कानुनी बाध्यता पनि छैन। सौतेनी छोरालाई छोरा हो भन्न कदापि मिल्दैन । अतः विवादित जग्गा मेरो नाउँमा जोत नाउँसारी गर्न समेत नदिई मलाई मेरो मौलिक हकबाट बञ्चित गराई विपक्षीको नाउँमा उक्त जग्गा जोत नाउँसारी गर्ने गरी विपक्षी कार्यालयबाट मिति ०४१।१।१३ गते भएको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी हक प्रचलन गराई पाउँ भन्ने समेत व्यहोराको रिट निवेदन जिकिर ।

४.    विपक्षीहरूबाट लिखित जवाफ मगाई आए पछि वा अवधि नाघेपछि पेश गर्नु भन्ने सिंगल बेञ्चबाट ०४१।२।७ गते भएको आदेश ।

५.    निवेदक सौताका छोरा नै देखिन आएकोले निजको नाउँमा जोत नामसारी गर्ने गरी यस कार्यालयबाट कानुन बमोजिम नै निर्णय भएको हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने भूमि सुधार कार्यालय काठमाडौंको लिखित जवाफ ।

६.    मोही जोत नाउँसारी वा पत्याउने सम्बन्धमा  भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ (१) मा वा कुनै पनि दफामा आफ्नो छोरा सौताका छोरा वा एकासगोलको छोरामा र अंश लिई बेगल बसेको छोरामा भेद गरिएको छैन । ०३५।४।२० मा भूमि सुधार कार्यालय काठमाडौंबाट विवादित जग्गाको मोहीको लगत कट्टा गर्न मिल्दैन भनी अन्तिम र अकाट्य भई निर्णय भइसकेको छ । अतः भू.सु.कार्यालयले कानुनको परिधिभित्र रही अगाडिको आफ्नै कार्यालयबाट भएको निर्णय समेतको आधारमा भएको गरेको निर्णयबाट निवेदकको हक अपहरण भएको नहुँदा निवेदन जिकिर खारेज गरिपाउँ भन्ने समेत व्यहोराको श्यामकृष्ण डंगोलको लिखित जवाफ ।

      ७.    निवेदिकाका तर्फबाट बहस गर्न उपस्थित विद्वान विरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मीले निवेदिकाको एकलौटी हक भोगको जग्गालाई भू.सु.ऐन, ०२१ को दफा २६(१) विपरीत सौतेनी छोराको नाममा मोही कायम गरी जोत नाउँसारी गरेको निर्णय त्रुटिपूर्ण हुँदा बदरभागी छ भन्ने र विपक्षी श्यामकृष्ण डंगोलका तर्फबाट बहस गर्न उपस्थित विद्वान विरिष्ठ अधिवक्ता श्री शम्भूप्रसाद ज्ञवालीले विवादित मोहीमा झगडा परेको जग्गाको तत्कालिन मोही सेतीमायाको श्यामकृष्ण सौतेनी छोरा हो । निजले छोरा सरह हक प्राप्त गर्छ सेतीमायाको मृत्यु पश्चात रिट निवेदिकाले उक्त जग्गाको हकदार कोही नभई जोत खाली रहेकोले मेरो नाउँमा जोताहा मोही कायम गरिपाउँ भनी भू.सु.का. मा उजूरी दिएकोमा कानुनले मोहियानी हक छोराले पाउने हुँदा मोहीको लगत कट्टा गर्न मिल्दैन भनी भू.सु.का. बाट निर्णय भएको छ । श्यामकृष्ण डंगोलको नाउँमा दावीको जग्गा नाउँसारी गर्ने गरी भएको भू.सु.का. को निर्णयमा कानुनी त्रुटि नहुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने र प्रत्यर्थी कार्यालयको तर्फबाट बहस गर्न खटी आउनुभएका विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्टले सौतेनी छोराले छोरा सरह सबै हक प्राप्त गर्छ । तसर्थ मोही नामसारी गर्न पाउँदैन भन्न मिल्दैन । भू.सु.का.काठमाडौंबाट कानुन अनुरूप भएको निर्णयले निवेदिकाको हकाधिकारमा कुनै असर परेको छैन । रिट निवेदन खारेजयोग्य छ भनी बहस गर्नुभयो ।

      ८.    प्रस्तुत मुद्दामा निवेदकका माग अनुसारको आदेश जारी हुनुपर्ने हो होइन सो कुराको निर्णय दिनु पर्ने हुन आएको छ ।

९.    यसमा निर्णयतर्फ हेर्दा जोगकुमारीले सेतीमाया परलोक भई जोत कट्टा गरिपाउँ भन्ने दावी गरी दर्खास्त दिएकोमा मोहियानी हक छोराले पाउने हुँदा जोत कट्टा गर्न मिल्दैन भनी मिति ०३५।४।२० मा भएको निर्णय बदर गराएको देखिँदैन । श्यामकृष्ण डंगोल सेतीमायाको छोरा नै देखिन आएको हुँदा उल्लिखित जग्गा निजका नाउँमा नाउँसारी हुने ठहर्छ भनी प्रत्यर्थी भूमि सुधार कार्यालय काठमाडौंबाट निर्णय गरेको देखिन्छ ।

१०.    भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६ को उपदफा (१) मा मोहीले कमाई आएको जग्गामा मोही सम्बन्धी निजको हक निजपछि निजको पति पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिलाई प्राप्त हुनेछ भन्ने लेखिएको पाइन्छ । यसबाट छोराले मोहियानी हक पाउन सक्ने देखिन्छ । प्रस्तुत मुद्दामा प्रत्यर्थी श्यामकृष्ण डंगोल दर्तावाला मर्ने मोही सेतीमायाको छोरा भन्ने देखिँदैन निज श्यामकृष्ण डंगोल सौतेनी छोरा भन्ने कुरामा विवाद देखिन्न । उक्त भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ को उपदफा (१) ले दर्तावाला मोहीको हक निजपछि पति, पत्नी वा छोराहरू मध्ये जग्गावालाले पत्याएको व्यक्तिले पाउन सक्ने व्यवस्था छ । तर सौतेनी छोराले पाउने व्यवस्था गरेको देखिँदैन । ऐनमा छोरा भनी लेखेको ठाउँमा सौतेनी छोरा समेत समावेश गरी व्याख्या गर्न मिल्दैन । दर्तावाला मोहीको आफ्नो छोरा नभएको अवस्थामा सौतेनी छोराले उक्त ऐन बमोजिम मोही हक प्राप्त गर्न सक्छ भन्न मिल्ने     देखिँदैन । तसर्थ विवादको जग्गाको मोही सेतीमायाको छोरा नभएको निजको सौतेनी छोरा प्रत्यर्थी श्यामकृष्ण डंगोलले उक्त ऐन बमोजिम सेतीमायाको शेषपछि निजको मोही हक प्राप्त गर्न सक्छ भन्ने देखिँदैन । यस स्थितिमा प्रत्यर्थी श्यामकृष्ण डंगोल सेतीमायाको छोरा देखिन आएको भनी उल्लिखित जग्गा निजको नाउँमा नामसारी हुने ठहर्छ भनी गरेको प्रत्यर्थी भूमि सुधार कार्यालय काठमाडौंको मिति २०४१।१।१३ को निर्णय प्रत्यक्ष कानुनी त्रुटिपूर्ण देखिन आयो ।

११.    अतः उपयुक्त उल्लेख भए अनुसार प्रत्यर्थी भूमि सुधार कार्यालय काठमाडौंले गरेको मिति ०४१।१।१३ को त्रुटिपूर्ण निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । जानकारीको निमित्त यो आदेशको प्रतिलिपि प्रत्यर्थी कार्यालयमा पठाउन महान्यायाधिवक्ताको कार्यालयमा पठाई फाइल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४२ साल भाद्र ९ गते रोज १ शुभम् ।