April 5, 1995
Created by nepalarchives

निर्णय नं. ६००४ – उत्प्रेषण समेत

निर्णय नं. ६००४   ने.का.प. २०५२ अङ्क ५   संयुक्त इजलास माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने सम्वत् २०५० सालको...

निर्णय नं. ६००४   ने.का.प. २०५२ अङ्क ५

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ

माननीय न्यायाधीश श्री नरेन्द्र बहादुर न्यौपाने

सम्वत् २०५० सालको रिट नं. २८४२

आदेश मिति:२०५१।१२।२२।४

विषय : उत्प्रेषण समेत ।

 

निवेदिका:झापा जिल्ला सतासीधाम गा.वि.स. वडा नं. ६ बस्ने वर्ष ५३ को ओम कुमारी खरेल ।

विरुद्ध

विपक्षी   :मालपोत कार्यालय झापा भद्रपुर ।

मेन्टेनेन्स नापी शाखा झापा चन्द्रगढी ।

झापा जिल्ला सतासीधाम हा.वि.स. वडा नं.६ बस्ने वर्ष ४८ को टिकाराम कार्की ।

ऐ.ऐ बस्ने अन्दाजी वर्ष ४० की उर्मिला देवी श्रेष्ठ ।

 

    कित्ता काट्ने कार्यबाट प्रभावित हुने निवेदिकालाई सुन्ने भन्ने मौका दिएर मात्र निर्णय गर्नु पर्नेमा सो बमोजिम नगरी निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्तको विपरित निर्णय गरी संशोधन कित्ताबाट गरेको त्रुटीपुर्ण देखिंदा सो मिति २०४९।३।२१ को मालपोत कार्यालय झापाको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिएको छ । कानून बमोजिम गर्नु भनी विपक्ष कार्यालयका नाममा परमादेशको आदेश जारी हुने ।

 (प्र.नं. ९)

निवेदक तर्फबाट:विद्वान अधिवक्ता श्री हरि प्रसाद उपे्रती ।

विपक्षी तर्फबाट :विद्वान सरकारी अधिवक्ता सुश्री शारदा बज्राचार्य ।

अवलम्बित नजीरःX

आदेश

न्या. ओमभक्त श्रेष्ठः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ तथा ८८(२) अन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य यस प्रकार छ ।

२.  मैले मिति २०३८।२।१४ मा मालपोत कार्यालय झापाको र.नं. ७१८२ बाट टंकमाया खरेलसँग राजीनामा पास गरी लिएको साविक शिवगंज हाल सतासीधाम गा.वि.स. वडा नं. ७ अन्तर्गत पर्ने कि.नं. २३४२ को १० जग्गा मेरो हक भोगको जग्गा भएकोले उक्त जग्गा मध्येबाट कित्ताबाट गरी मैले विभिन्न व्यक्तिहरुलाई जग्गा हस्तान्तरण गरी बाँकी रहन गएका हाल कि.नं. ३७६३, ३७६४, ३७६५ र ३७६६ गरी जम्मा ११० जग्गामा मेरो हक भोग कायम भै रहेको थियो । टिकाराम कार्कीले मेरै दाता टंकमाया खरेलसँग मालपोत कार्यालय झापाको र.नं. ७१७० बाट राजीनामा पास गरी लिएको साविक शिवगंज हाल सतासीधाम गा.वि.स. वडा नं. ७ ग कै कि.नं. २३४१ को ०० जग्गाको नक्सा ७५ फिट राजमार्ग बाटो छाडी कित्ता काट्नु पर्नेमा राजीनामा लिखत बमोजिम कित्ता नकाटी राजमार्ग सँगै रेखा जोडी कित्ताबाट भएको स्पष्ट भई उल्लेखित जग्गाको राजीनामा बमोजिम कित्ताकाट गराई नक्सा कायम गराई पाउँ भन्ने व्यहोराको निवेदन मुताविक मालपोत कार्यालय झापाको मिति २०४९।३।२१ को निर्णय अनुसार मेन्टेनेन्स नापी शाखा झापालाई पारित लिखत बमोजिम कित्ताकाट गर्न आदेश भए अनुसार मेन्टेनेन्स नापी शाखा झापाबाट कित्ताकाट गर्ने काम भएको कुरा मिति २०५०।४।६ मा नक्कल लिई थाहा हुन आयो ।

३.  राजीनामा लिखत बमोजिम पहिले नै कित्ताकाट भै सकेकोमा कुनै त्रुटी भए उसै बखत सच्याउनु पर्नेमा सो नगरी नक्सा सुधार संशोधन क्षेत्रफल सुधार जस्ता कार्यहरु कानून विपरित भएको प्रष्ट छ । मालपोत कार्यालयलाई सो गर्ने अधिकार नभएकोले यस्तो गैरकानूनी कार्य अ.वं. ३५ नं. बमोजिम बदरभागी छ । साथै सिमाना संशोधन गर्ने अधिकार मालपोत कार्यालयले लिने हो भनेपनि सो कार्यबाट असर पर्ने म निवेदिकालाई बुझ्दै नबुझी सुनुवाईको मौकाबाट वञ्चित गरी प्राकृतिक न्यायको सिद्धान्त विपरित गरिएको कारवाही त्रुटीपूर्ण छ । अर्को तर्फ राजीनामा लिखतको कैफियत व्यहोरामा कि.नं. ८८१ को ४ किल्ला स्पष्ट नबुझिएको भनी उल्लेख भएबाट सोलिखत नै विवादास्पद छ । निज टिकाराम कार्कीको जग्गाको कित्ताकाट हुँदा राजमार्गसँगै रेखा जोडी सिमाना तोकिएको हुनाले नै मैले २३४२ को ससिम कित्ता लिएको हुँ । तसर्थ राजीनामा लिखत मा नै ७५ फिट राजमार्ग बाटो छाडी भनी उल्लेख भएको व्यहोरा नै विश्वासनिय मान्न सकिन्न । टिकाराम कार्कीको कि.नं. २३४१ को जग्गाको सच्याउनु पर्ने अवस्था नरहेको स्थितिमा प्रत्यर्थी गंगाधर तिमिल्सिना र उर्मिला देवी श्रेष्ठको जग्गाको सिमाना समेत सच्याउनु नपर्ने स्पष्ट हुन आउँछ । तसर्थ माथि उल्लेखित तथ्य र कानूनको आधारमा मालपोत कार्यालय झापाको मिति २०४९।३।२१ को निर्णय र सो निर्णय बमोजिम भए गरेका सिमाना फेर्ने सम्पूर्ण काम कारवाहीहरुलाई उत्प्रेषणको आदेशद्वारा बदर गरी पाउँ । यस मुद्दाको टुंगो नलागे सम्म उक्त निर्णय कार्यान्वयन नगर्नु नगराउनु भन्ने अन्तरिम आदेश जारी गरी पाउँ भन्ने समेत व्यहोराको निवेदिकाको रिट निवेदन जिकिर ।

४.  यसमा के कसो भएको हो ? विपक्षीहरुबाट लिखित जवाफ मगाउनु भन्नेसमेत व्यहोराको यस अदालत एक न्यायाधीशको इजलासबाट भएको मिति २०५०।८।५ को आदेश ।

५.  यसमा साविक शिवगंज वा.नं. ७ (ग) हाल सतासीधाम ६ अन्तर्गत साविक कि.नं. १८६ ज.वि. १११० मध्ये पश्चिम उत्तर ७५ फिट राजमार्ग बाटो छाडी हाल कित्ताकाट गरी कि.नं. २३४१ को ज.वि. ०० मिति २०३८।२।१४ गते राजीनामा गरी लिएको हाल नक्सा निकाली हेर्दा राजीनामा गरी लिएको कि.नं. २३४१ को साविक ०० को नक्सा मा ७५ फिट राजमार्ग बाटो छाडी कित्ताकाट गर्नु पर्नेमा राजीनामा बमोजिम कित्ताकाट नगरी राजमार्ग सँगै रेखा जोडी कित्ताकाट भएकोले २०३८।२।१४ गतेको राजीनामा बमोजिम कित्ताकाट गराई नक्सा कायम गराई पाउँ भनी उल्लेख भए बमोजिम राजीनामा लिखत बमोजिम नक्सा कित्ताकाट गराई नक्सा सच्चाई पाउँ भनी टिकाराम कार्कीको मागदावी भै आएकोले सो सम्बन्धमा के भएको हो भनी नापी शाखामा च.नं. ५९७४ मिति २०४९।३।७ मा मिसिल पठाइएकोमा शिवगंज वा.नं. ७ (ग) कि.नं. १८६ को नक्सा तथा कित्ता श्रेस्ता अध्ययन गरी हेर्दा सो कि.नं. १८६ बाट कित्ताकाट गर्दा पारित राजिनामा बमोजिम कित्ताकाट गर्नुपर्नेमा नक्सामा भुलबाट त्रुटी भई कित्ताकाट हुन गएको हुँदा पारित राजीनामा अनुसारको नक्सामा कित्ताकाट गर्नलाई सो कि.नं. १८६ फोर भै हाल कायह कि.नं. २३४१, २३५७, ३७५८, ३७५९, ३७६६, ३७६४ समेतको कि.नं. को नक्सामा क्षेत्रफल संशोधन गर्न आदेशको लागि च.नं १२५४ मिति २०४९।३।९ मा लेखी आएको सोही बीचमा गंगाधर तिमिल्सिना र उर्मिला देवी पौडेल टिकाराम कार्किको कि.नं. ३७५७ को कित्तामा नक्सा संशोधन गर्ने कारवाही भएकोमा हामीले पनि २०४८ सालमा कि.नं. ३७५९ गंगाधरले कि.नं. ३७५८ उर्मिला देवीले पास गरि लिएको र २०३८ सालमा कि.का. गर्दा टिकारामको गल्तीबाट कि.का. भएकोले नक्सा संशोधन गरी भएका हाम्रो मन्जुर छ भनी २०४९।३।१९ मा निवेदन सनाखत भएकाले मिति २०४९।३।२१ मा कि.नं. ७१७० मिति २०३८।२।१४ को पारित लिखत बमोजिम नभएकोले लिखत बमोजिम साविक १८६ मा पश्चिम उत्तरबाट ७५ फिट राजमार्ग बाटो छाडी कि.का. गर्ने आदेश दिने गरी निर्णय भएकोले सोही अनुसार नापीशाखाबाट कि.नं. ७१७० मिति २०३८।२।१४ को पारित लिखत बमोजिम नभएकोले लिखत बमोजिम कि.नं. २३४१ मा पश्चिम उत्तरबाट ७५ फिट राजमार्ग बाटो छाडी कित्ता सुधार गर्दा कि.नं. ३७५७, ३७५८, ३७५९ र ३७६४, ३७६६ समेतको कित्ता सुधार गरिएको हुँदा सुधार अनुसारको नक्सा प्रिण्ट १ प्रति यसैसाथ पठाएको छ । उपरोक्त बमोजिम नक्सा सुधार गर्दा क्षेत्रफल समेत सुधार गर्नु परेको हुँदा कि.नं. ३७६६ मा ज.वि. ०५ भएकोमा ज.वि. ०११ कायम भएको कि.नं. ३७६४ मा ज.वि. ०१५ भएकोमा ज.वि. ०९ कायम भएको नापी शाखाको च.नं. १३४४ मिति २०४९।३।२९ को पत्र उल्लेख भएबाट यस कार्यालयबाट मिति २०४९।३।२१ मा भएको निर्णय मालपोत ऐन, २०३४ अनुरुप नै भएको हो । राजीनामा लिखत बमोजिम नै कित्ताकाट गरी नक्सा सुधार भएकोले रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको मालपोत कार्यालय झापाको लिखित जवाफ ।

६.  मिति २०३८।२।१४ मा राजीनामा गरी लिएको हाल नक्सा निकाली हेर्दा राजीनामा गरी लिएको कि.नं. २३४१ को ज.वि. ०० को नक्सा ७५ फिट राजमार्ग बाटो छाडी कित्ताकाट गर्नुपर्नेमा राजीनामा बमोजिम कित्ताकाट नगरी राजमार्ग सँगै रेखा जोडी कित्ताकाट गराई नक्सा कायम गरी भनी उल्लेख भए बमोजिम कित्ताकाट नगरी राजमार्ग सँगै रेखा जोडी कित्ताकाट भएकोले २०३८।२।१४ को राजीनामा बमोजिम कित्ताकाट गराई नक्सा सच्याई पाउँ भनी टिकाराम कार्कीको माग दावी भै आएकोले सो सम्बन्धमा के भएको हो भनी मालपोत कार्यालय झापाबाट मिति २०३९।३।७ मा सोधनी गर्दा राजीनामा बमोजिम कित्ताकाट नभएको भनी यस नापी शाखाले मालपोत कार्यालय झापामा खुलाई पठाएकोमा पारित लिखत बमोजिम कित्ताकाट गरी पठाउनु भनी यस नापी शाखालाई मालपोत कार्यालय झापाबाट २०४९।३।२४ को आदेश पत्र बमोजिम कित्ताकाट संशोधन गर्दा कि.नं. २३४१, ३७५७, ३७५८, ३७५९, ३७६६, ३७६४ संशोधन गर्नुपर्दा क्षेत्रफल समेत गर्नुपर्ने देखिंदा आदेशको लागि यस शाखाबाट आदेश माग भै प्राप्त मिति २०४९।३।२९ को पत्रद्वारा आदेशानुसार नक्सा सुधार क्षेत्रफल समेत सुधार गरी मालपोत कार्यालय झापामा पठाएको मिति २०३८।२।१४ को पारित लिखत र मालपोत कार्यालय झापाले दिएको आदेशानुसार कि.नं. २३४१ मा पश्चिम उत्तरबाट ७५ फिट राजमार्ग छाडी कित्ता सुधार गरिएको कि.नं. ३७५०, ३७५८, ३७५९, ३७६४, ३७६६ समेतका कित्ता सुधार भएको ११००को नक्सा प्रिन्ट छ । लिखत बमोजिम नै कित्ताकाट गरी नक्सा सुधार भएबाट निवेदकको रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको नापी शाखा झापाको लिखित जवाफ ।

७.  रिट निवेदकलाई पुनरावेदन अदालतमा पुनरावेदन गर्न जाने उपचारको व्यवस्था भएको र विलम्ब गरी रिट निवेदन दायर हुन आएको छ । टंकमायाले राजमार्ग तर्फ ७५ फिट छाडेर नै म टिकाराम कार्कीलाई राजीनामा गरीदिएको हो । मालपोत कार्यालयबाट पहिलेको कित्ताकाट नमिलेको सुधार गर्ने निर्णय भएको सम्म हो । मालपोत ऐन, २०३४ को दफा ७(३) मा सच्याउनु पाउने अधिकार मालपोत कार्यालयलाई प्राप्त भएको छ । विपक्षी निवेदकलाई नक्सा सुधारबाट कुनै प्रतिकुल प्रभाव परेको छैन । कुनै गैरकानूनी कारवाही भएको छैन । रिट निवेदन खारेज गरी पाउँ भन्ने समेत व्यहोराको विपक्षी टिकाराम कार्की गंगाधर तिमिल्सीना, उर्मिला देवी श्रेष्ठको संयुक्त लिखित जवाफ ।

८.  नियम बमोजिम पेशी सूचीमा चढी यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा रिट निवेदकको तर्फबाट विद्वान अधिवक्ता श्री हरि प्रसाद उपे्रतीले मालपोत कार्यालय झापाले कित्ताकाट नक्सा सिमाना संशोधन गर्दा त्यसबाट प्रभावित हुने मेरो पक्षलाई समेत झिकाई बुझि निर्णय गर्नुपर्नेमा सुनुवाईको मौका समेत प्रदान नगरी नक्सा संशोधन गरी दिने भनी मालपोत कार्यालय झापाले गरेको आदेश प्राकृतिक न्यायको सिद्धान्त विपरित हुँदा बदर हुनु पर्ने भन्ने समेत व्यहोराको बहस नोट प्रस्तुत गर्नुभयो । विपक्षी मालपोत कार्यालय समेतको तर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता सुश्री शारदा बज्राचार्यले मालपोत कार्यालय झापाले आफूलाई ऐनले दिएको अधिकार अनुरुप नक्सा सुधार गर्ने गरेको निर्णय कानून अनुरुप हुँदा रिट निवेदन खारेज हुनुपर्ने भन्ने व्यहोराको वहस प्रस्तुत गर्नुभयो ।

९.  निर्णय सुनाउन यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनमा रिट निवेदिकाको माग बमोजिमको आदेश जारी हुनुपर्ने हो होइन सोको निर्णय दिनुपर्ने भै विचार गर्दा यसमा मिति २०३८।२।१४ को टंकमाया खरेलले टिकाराम कार्कीलाई राजीनामा गरी दिएको पारित लिखतमा साविक शिवगंज वार्ड नं. ७(ग) को कि.नं. १८६ मा पश्चिम उत्तर बाट ७५ फिट राजमार्ग बाटो छाडी जग्गा विगाहा ०० राजीनामा गरी दिए अनुरुप कित्ताकाट हुँदा माथि लेखिए बमोजिमको राजमार्ग बाटो ७५ फिट नछोडी कित्ताकाट भएकोमा टिकाराम कार्कीको मिति २०४९।३।७ को राजीनामा बमोजिम नक्सा कायम गरी पाउँ भनी निवेदन परी कारवाही हुँदा मालपोत कार्यालय झापाको मिति २०४९।३।२१ मा मेन्टिनेन्स नापी शाखा झापालाई पारित लिखत बमोजिम कित्ताकाट गर्ने आदेश भए अनुसार मेन्टेनेन्स नापी शाखा झापाबाट कित्ताकाट भएको देखिएको छ । यस कित्ताकाट्ने कार्यबाट प्रभावित हुने निवेदिनकालार्य सुन्ने भन्ने मौका दिएर मात्र निर्णय गर्नुपर्नेमा सो बमोजिम नगरी निर्णय गरेको प्राकृतिक न्याय सिद्धान्तको विपरित निर्णय गरी संशोधन कित्ताकाट गरेको त्रुटिपूर्ण देखिंदा सो मिति २०३९।३।२१ को मालपोत कार्यालय झापाको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी दिइएको छ । शम्भु गुरुघरानाज्यूको कार्य सम्पादन कानून बमोजिम गर्नु भनी विपक्षी कार्यालयका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ । विपक्षी कार्यालयको जानकारीको लागि यो आदेशको प्रतिलिपि महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या. नरेन्द्र बहादुर न्यौपाने

 

इति सम्वत् २०५१ साल चैत्र २२ गते रोज ४ शुभम् ।