निर्णय नं. २३३३ – उत्प्रेषण
निर्णय नं. २३३३ ने.का.प. २०४२ अङ्क ४ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह सम्वत् २०४१...
निर्णय नं. २३३३ ने.का.प. २०४२ अङ्क ४
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
सम्वत् २०४१ सालको रि.नं. १२१०
विषय : उत्प्रेषण ।
निवेदक :जि.धनुषा जनकपुर नगर पञ्चायत वा.नं. १५ बस्ने जमुनी तत्मीनी ।
विरूद्ध
विपक्षी :ऐ.ऐ. बस्ने बाबाजी चौधरी ।
ऐ.ऐ बस्ने राज किशोर चौधरी ।
भूमिसुधार अधिकारी,भूमिसुधार कार्यालय, धनुषा।
आदेश भएको मिति:२०४२।३।२३।१ मा
मोही निष्काशन तर्फ कारवाही चलिरहेको बखतमा खडा गरेको बाली बुझाएको प्रमाणहरूबाट रिट निवेदिकालाई मद्दत हुन सक्ने नदेखिँदा भूमि सुधार कार्यालयको निर्णयमा भूमिसम्बन्धि ऐनको दफा २९(३) को त्रुटि भयो भन्ने निवेदिकाको जिकिर कानुनसंगत देखिएन ।
(प्रकरण नं.८)
निवेदीक तर्फबाट: विद्वान अधिवक्ता श्री कृष्णलाल देव
विपक्षी तर्फबाट :विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी
उल्लेखित मुद्दाःX
आदेश
प्र.न्या.नयन बहादुर खत्रीः नेपालको संविधानको धारा १७ तथा ७१ अन्तर्गत दर्ता भई यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त व्यहोरा यस प्रकार छ ।
२. विपक्षीले मेरा छोरा राजकिशोर चौधरीको नाउँ दर्ताको समेत जम्मा जग्गा ०–८–५ मोहीमा जोती आएकोले ०३६ सालको हुने कुत धान मन ४–३१–० को हुने बिगो रु. ३५८।१२ दिलाई मोही निष्काशन गरिपाउँ भनी विपक्षी बाबाजी चौधरीको भू.सु.का. धनुषामा निवेदन परी जग्गाधनीलाई मैले उक्त सालको कुत धान बुझाई भर्पाई लिएको र त्यसपछिको सालहरूको पनि कुत बाली भू.सु.का. धनुषामा धरौट राखेको छु मोही निष्काशन हुनुुपर्ने होइन भन्ने मेरो प्रतिवाद परेकोमा धनुषा जिल्ला अदालतबाट भर्पाई कीर्ते ठहराएको जनकपुर अञ्चल अदालतबाट शुरूको फैसला सदर गरेको र इन्साफ जाँची दिनु भनी मध्यमान्चल क्षेत्रीय अदालतका नाउँमा प्रमाङ्गी पाउँ भनी मैले श्री ५ महाराजाधिराज सरकारमा निवेदन दिएको छु हु.प्र. भएको छैन । भर्पाई कीर्ते ठहरेकोले कुत बाली बुझाएको रहेछ भन्न नमिल्ने हुँदा राजकिशोर चौधरी नाउँ दर्ताका देवपुरी गा.पं.वा.नं. ८(ख) को कि.नं. ४ को सिम जग्गा ०–३–७, ऐ. ऐ. को कि.नं. २५ कै सिम जग्गा ०–१–० समेत जग्गा र बाबाजी चौधरी नाउँ दर्ताको साविक कुवा रामपुर गा.पं.वा.नं. १(ख) कि.नं. १८ को अवल जग्गा ०–३–६ र ऐ. ऐ. को कि.नं. १५६ को अवल जग्गा ०–०–१२ बाट मोही निष्काशन हुनेठहर्छ भनी मिति ०४१।२।२५ मा भूमि सुधार कार्यालय धनुषाबाट निर्णय भयो ।
३. राजकिशोर र बाबाजी चौधरीको नाउँमा छुट्टा–छुट्टै गा.पं. को जग्गा छुट्टाछुट्टै दर्ता भएकोमा बाबाजी चौधरीको मात्र उजूरी परी निर्णय गरेको देखिँदा अ.बं. ७२ नं. को त्रुटि छ। भर्पाईको सम्बन्धमा श्री ५ महाराजाधिराज सरकारमा विशेष जाहेरी विभाग मार्फत निवेदन दिई राखेकोले अञ्चल अदालतको फैसला माथि कारवाही चली नै रहेकोले उक्त फैसलालाई प्रमाणमा लिई मोही निष्काशन गर्ने गरी गरेको भू.सु.का. को निर्णयमा अ.बं. १८४, १८५, १८९ नं. भू्.सु.ऐन, २०२१ को दफा २९(१) र (३) समेतको त्रुटि भएको र यसै जग्गाको ०३७, ०३८, ०३९ र ०४० सालको कुत मैले भू.सु.का. धनुषामा धरौटी राखेको र विपक्षी जग्गाधनी बाबाजी चौधरी र राजकिशोर चौधरीले मलाई मोही समर्थन गर्दै धरौटी उठाई लिनु भएकोले समेत उक्त मोही निष्काशन गर्ने गरी विपक्षी भू.सु.अ.ले न्यायिक मन प्रयोग नगरी गरेको निर्णयबाट मेरो संविधानको धारा १०(१), ११(२)(ङ), १५ बमोजिमको हक हनन् भएकोले उक्त निर्णय बदर गरिपाउँ भन्ने समेत मिति ०४१।४।११ को रिट निवेदन ।
४. यसमा लिखित जवाफ मगाई आएपछि वा अवधि नाघेपछि पेशगर्नु भन्ने मिति ०४१।७।७ को सिं.बे.को आदेश ।
५. भू.सु.का. धनुषाको मिति ०४१।२।२५ को निर्णय मिति ०३९।७।२५ को धनुषा जिल्ला अदालतको र मिति ०४०।९।११ को जनकपुर अञ्चल अदालतको फैसलामा आधारित भएकोमा निवेदकले उक्त फैसला बदर गरिपाउँ भन्ने माग गरेको छैन । निवेदकको श्री ५ महाराजाधिराजमा मुद्दा दोहर्याउनको लागि बिन्तिपत्र चढाएको भन्ने जिकिरको सम्बन्धमा नदोहरिञ्जेलसम्म अदालतका फैसलाहरू अन्तिम भई नै रहने हुनाले विपक्षीको माग पूरा हुन सक्दैन । हामी प्रत्यर्थी बाबाजी चौधरी र राजकिशोर चौधरी दुवैको मोही निष्काशनका सम्बन्धमा भू.सु.का.मा निवेदन परेको कुरा भू.सु.का., धनुषाको मिति ०३८।७।६ को निर्णय समेतबाट स्पष्ट हुन्छ । हामी वादी २ जना एकै घरका एउटै छोरा पनि भएको र प्रतिवादी विपक्षी एउटै भएकोले अ.बं. ७२ नं. विपरीत निर्णय भएको छैन । निष्काशन गरिपाउँ भन्ने ०३६ सालको मूल मुद्दा मुलतवी रही त्यत्तिकै कारण विपक्षीले जग्गा जोत्दैमा निष्काशन विरुद्ध संरक्षण पाउने र धरौटी बुझ्नु विपक्षीको कीर्ते व्यवहार वापस लिई मोही हुने योग्यता पुगेको मानिने छैन । ०४० सालको कुत धरौटी हामीले बुझेको पनि छैनौं । हाल ०४१।२।२५ को निर्णय पछि हामीले जग्गा खनजोत गरिआएका समेत हुँदा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(१) को आशय अनुरूप कारण तथा आधार उल्लेख गरी निष्काशन गरिएकोले मिति ०४१।२।२५ को निर्णय बदर हुनुपर्ने कुनै कानुनी आधार छैन, तसर्थ रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत बाबाजी चौधरी र राजकिशोरको लिखित जवाफ ।
६. रिट निवेदकले आफ्नो निवेदनमा दावी गरेको जग्गाको कुत बुझाएको भर्पाई पेश हुन आउँदा ०३९।७।२५ मा जिल्ला अदालतले भर्पाईलाई कीर्ते ठहराइएकोमा अञ्चल अदालतमा अपील हुँदा शुरूकै निर्णय सदर भएकोले मोही निष्काशन हुने ठहर्छ भनी निर्णय यस कार्यालयले दिएको न्यायोचित नै देखिएको हुनाले रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत भू.सु.का. धनुषाको लिखित जवाफ ।
७. निवेदकका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री कृष्णलाल देव र विपक्षी बाबाजी चौधरी समेतका तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारीको बहस समेत सुनियो ।
८. यसमा निर्णयतर्फ हेर्दा राजकिशोर चौधरीको नाउँमा दर्ताको देवपुरा गा.पं.वा.नं. ८(ख) को कि.नं. ४ र कि.नं. २५ को जग्गा र बाबाजी चौधरीका नाउँमा दर्ताको साविक कुवारामपुर गा.पं.वा.नं. १(ख) कि.नं. १८, कि.नं. १५६ को जग्गाबाट मोही निष्काशन हुने ठहराई भूमि सुधार कार्यालय धनुषाबाट ०४१।२।२५ मा निर्णय भयो । दुई व्यक्तिको जग्गा कमाएकोमा छुट्टा–छुट्टै निवेदन पर्नु पर्नेमा एउटा व्यक्ति बाबाजी चौधरीको मात्र भू.सु.का. मा उजूरी परेको छ, एउटै मिसिलबाट निर्णय गरेको अ.बं. ७२ नं. को विपरीत छ, ०३७, ०३८, ०३९ र ०४० सालको बाली धरौट राखेकोमा जग्गाधनीले धरौट रकम बुझी रहेको स्थितिमा मोही निष्काशन गरेको भूमि सुधार कार्यालयको निर्णयमा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९(३) समेतको त्रुटि भएको भन्ने निवेदकका मुख्य निवेदन जिकिर देखिन्छ । सर्वप्रथम अ.बं. ७२ नं. को त्रुटि भएको भन्ने निवेदन जिकिर तर्फ हेर्दा हामी बाबाजी चौधरी र राजकिशोर चौधरी दुवैको मोही निष्काशन सम्बन्धमा भू.सु.का. मा निवेदन परेको छ भन्ने विपक्षीहरूको जिकिर देखिन्छ । भूमि सुधार कार्यालयबाट झिकाई आएको मिसिल हेर्दा राजकिशोर चौधरीको वारेस भई बाबाजी चौधरीको मोही निष्काशनमा उजूरी परेको देखिन्छ । निजहरू एकासगोलका समेत देखिँदा अ.बं. ७२ नं. को त्रुटि भयो भन्न मिल्ने देखिएन । निवेदिकाले २०३६ सालको बाली नबुझाएको विषयलाई लिएर मोही निष्काशन गरिपाउँ भनी उजूर परेको र निवेदिकाले बाली बुझाएको भनी देखाएको भर्पाईलाई जग्गाधनीले कीर्ते भनेको कारणबाट भूमि सुधार कार्यालयले सद्दे कीर्तेमा नालिश गर्न जानु भनी ०३८।७।६ मा सुनाएपछि कीर्तेमा मुद्दा चली विवादित भर्पाई कीर्ते ठहरी धनुषा जिल्ला अदालतबाट ०३९।७।२५ मा र जनकपुर अञ्चल अदालतमा ०४०।९।११ मा फैसला भई उक्त फैसला अन्तिम भइरहेको देखिन्छ । मोही निष्काशन तर्फ कारवाई चलिरहेको बखतमा खडा गरेको बाली बुझाएको प्रमाणहरूबाट रिट निवेदिकालाई मद्दत हुन सक्ने नदेखिँदा भूमि सुधार कार्यालयको निर्णयमा भूमिसम्बन्धी ऐनको दफा २९(३) को त्रुटि भयो भन्ने निवेदिकाको जिकिर कानुनसंगत देखिएन ।
९. अतः उपर्युक्त कारणहरूबाट निवेदिकाले पेश गरेको भर्पाई कीर्ते ठहरेकोले मोही निष्काशन हुने ठहर्याएको भूमि सुधार कार्यालय, धनुषाको ०४१।२।२५ को निर्णय कानुन अनुरूप नै देखिँदा निवेदकको माग बमोजिमको आदेश जारी गर्न मिलेन । प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.सुरेन्द्र प्रसाद सिंह
इतिसम्वत् २०४२ साल आषाढ २३ गते रोज १ शुभम् ।