July 15, 1985
Created by nepalarchives

निर्णय नं. २३३२ – कर्तव्य ज्यान

निर्णय नं. २३३२     ने.का.प. २०४२      अङ्क ४   डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४२ सालको...

निर्णय नं. २३३२     ने.का.प. २०४२      अङ्क ४

 

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

सम्वत् २०४२ सालको फौ.सा.नं. १६८

मुद्दा : कर्तव्य ज्यान ।

 

वादी:कर्ण बहादुर श्रेष्ठको प्रतिवेदनले श्री ५ को सरकार ।

विरूद्ध

प्रतिवादी:जि.सुनसरी मध्य हर्साही हाल चिमडी गा.पं.वार्ड नं. १ बस्ने चुलाईपाला गडेरी ।

फैसला भएको मिति  :२०४२।३।३१।२ मा

     कर्तव्य गर्दाको परिस्थितिलाई विचार गर्दा निज प्रतिवादीलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को सजायँ हुन जाने ।

(प्रकरण नं.१४)

फैसला

प्र.न्या.नयन बहादुर खत्रीः पूर्वान्चल क्षेत्रीय अदालत धनकुटाले मिति ०४१।१२।२१।४ मा गरेको फैसला मुलुकी ऐन अ.बं. १८६ नं. तथा न्याय प्रशासन सुधार ऐनको दफा १४(१) अनुसार साधक जाँचको लागि पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.    चीमडी गा.पं.वा.नं. १ बस्ने चुलाई पाल गडेरीको श्रीमती मरिरहेको छ भनी गोठालाहरूबाट खबर प्राप्त भएकोले तत्कालै गई हेर्दा निजकै सारी फाल्टु सेतो कपडाको टुक्राले घाँटीमा बाँधिएको जस्तो भई कर्तव्यमा शंका लागी निजको लोग्नेलाई खोज तलास गर्दा भागी सकेकोले निजले कर्तव्य गरी मारेको शंका लागी लाश सुरक्षित राखी प्रतिवेदन गरेको छु भन्ने कर्ण बहादुर श्रेष्ठको ०३९।१।१४ को प्रतिवेदन ।

३.    लाश पूर्व टाउको पश्चिम खुट्टा भई घोप्टो परी मुख जमीनतर्फ भई निधारले टेकेको मलद्वारबाट केही ननिस्केको योनीबाट रगत निस्की जमीनमा झरेको अरु पदार्थ नदेखिएको लगाएको सारीको फेरले पछाडि घुचुकबाट छिराई घाँटीमा कसी सो को गाठो अगाडि च्यापू मुनि परेको सो मुनि छुट्टै सेतो कपडाले डोरी जस्तो बनाई कसेको गाँठो अगाडि परेको भन्ने समेत ०३९।१।१५।५ को लाश प्रकृति मुचुल्का ।

४.    लाश ज्यादै सडी गली सकेकोले मृत्युको कारण दिन नसकिने भन्ने लाश पोष्टमार्टम रिपोर्ट ।

५.    ०३९।१।११ गते साँझ ८ बजेतिर हामी दुवै जना देवानगञ्ज हाटबाट फर्की खोला देखि नै झगडा भई घटनास्थलमा पुगेपछि श्रीमती शुकमायाले लगाई राखेको आचरा र गमची समेत खोसी घाँटीमा बाँधी मारी सकेपछि भागेको हुँ, म बाहेक अरु कसैको सहमति छैन भन्ने प्रतिवादी चुलाई गडेरीको प्रहरीमा बयान ।

६.    मृतकको लोग्ने फरार हुनु र हाल निजको मुख सावित हुनुको कारण समेतबाट निजले नै मारेका कुरामा विश्वास लाग्छ भन्ने जनकलाल चौधरी समेतको मिति ०३९।७।१४।४ को सरजमीन मुचुल्का ।

      ७.    चुलाई पाल गडेरीले मुलुकी ऐन ज्यानसम्बन्धीको १ नं. प्रतिकूल कसूर गरी आफ्नै श्रीमतीलाई मारेको सिद्ध हुन आएको हुँदा ज्यानसम्बन्धीको १३(३) अनुसार सजायँ गरिपाउँ भन्ने समेत मिति ०३९।७।१९ को प्रहरी प्रतिवेदन ।

८.    मेरी श्रीमती शुकमतीदेवीलाई ०३९।१।१४ वा १५ कुन दिन हो मैले घाँटीमा लुगा बाँधी मारेको हो । मार्नुपर्ने कारण निज श्रीमतीको अरुसँग अनुचित सम्बन्ध रहेकोमा शंका लागेको र मेरो भनाईमा नहिँड्ने भएकोले हो भन्ने समेत मिति ०३९।७।२१ मा प्रतिवादी  चुलाई पाल गडेरीको अदालतमा बयान ।

९.    प्रतिवादी चुलाई पाल गडेरीले प्रहरीमा गरेको बयान खुशीराजीले गरेको हुँ भनी अदालतमा पनि सावित भएकोले शुकमायालाई निजले कर्तव्य गरी मारेको ठहर्छ ।

      १०.    निजले मानुपर्नाको कारणमा विचार गर्दा सर्वस्वसहित जन्मकैदको सजायँ चर्को पर्ने जस्तो चित्तमा लागेकोले मुलुकी ऐन अ.बं. १८८ नं. बमोजिम कैद वर्ष १० मात्र सजायँ गर्नुपर्ने उचित हुँदा जाहेर गरी साधक सदर भई आए बमोजिम गर्ने गरी कैद म्याद ठेक्ने लगत कस्ने भन्ने समेत सुनसरी जिल्ला अदालतको मिति ०४०।४।२२।१ को साधक जाहेरी फैसला ।

११.    प्र.चुलाई पाल गडेरीले आफ्नो स्वास्नी शुकमतीदेवीको अरु सित अनुचित सम्बन्ध देखाई सो कुरामा वादविवाद भई मारेको भन्ने बयान गरेको यस स्थितिमा प्र.चुलाई पाल गडेरीले उक्त अपराध गरेको अवस्थालाई विचार गर्दा ज्यानसम्बन्धीको नं. १३(३) अन्तर्गत सजायँ दिँदा चर्को हुने देखिएको र यस्तामो श्री सर्वोच्च अदालतबाट समेत १० वर्ष कैद दिने गरी सिद्धान्त प्रतिपादित भएको हुँदा सोही बमोजिम १० वर्ष कैदको सजायँ हुने कारण सहितको खुलासा राय लेखी सम्मानीत श्री सर्वोच्च अदालतमा साधक सदरको निमित्त पठाउने ठहर्छ भन्ने समेत मिति ०४१।१२।२१।४ को पूर्वान्चल क्षेत्रीय अदालतको साधक जाहेरी फैसला ।

१२.   प्रस्तुत मुद्दा साधक जाँचको लागि आज यस बेञ्चमा पेश हुन आएको छ । यसमा प्रतिवादी चुलाई पाल गडेरीको पुनरावेदन परेको नदेखिएकोले साधकको तहबाट निर्णय तर्फ हेर्दा निज प्रतिवादी चुलाई पाल गडेरीले आफ्नो श्रीमती शुकमतीलाई कर्तव्य गरी मारेको ठहराई अ.बं. १८८ नं. को प्रयोग गरी १० वर्षको कैदको सजायँ गर्ने गरेको पूर्वान्चल क्षेत्रीय अदालतको फैसला मिलेको छ छैन हेर्नु परेको छ । यसतर्फ हेर्दा मिति २०३९।१।१५।४ मा भएको लाश प्रकृति मुचुल्कामा मृतकको लाश र घाँटी साडीले बाँधिएको भन्ने लेखिएको प्रतिवादी चुलाई पाल गडेरीले प्रहरी समक्ष निज श्रीमतीले लगाई राखेको आचरा र गमची समेत खोसी घाँटीमा जोडसँग बाँधी मारी सकेपछि पूर्वतिरबाट १ जना मानिस लाइट लिई आएको देखी म भागेर गएँ भनी बयान गरेको र अदालतमा पनि मेरो श्रीमती सुकमतीदेवीलाई ०३९।१।१४ वा १५ कुन दिन हो मैले घाँटीमा लुगा बाँधी मारेको हो प्रहरीमा गरेको कागज राजीखुशीले गरेको हो भनी अदालतमा समेत सुकमतीको ज्यान मारेकोमा सावित भई बयान गरेबाट निज प्रतिवादी चुलाई पाल गडेरीले नै आफ्नो श्रीमती सुकमतीलाई कर्तव्य गरी मारेको ठहर्छ ।

१३.   अब चुलाई पाल गडेरीले आफ्नो स्वास्नी मार्नुपर्ने कारण तथा परिस्थिति तर्फ विचार गर्दा निज मृतक सुकमती गडेरी पहिले देखि घरमा नबस्ने, माइत भागेर जाने र अरुसित अनुचित सम्बन्ध भएको शंका लागिरहेको र वारदातको दिन पनि यी लोग्ने स्वास्नी दुवै जना देवानगञ्ज हाटबाट फर्की आउँदा बुडी खोला देखि नै सोही कुरालाई लिएर बाझाबाझ भएको कारणबाट सुकमतिलाई कपडाले घाँटीमा बेरी मारेको हुँ भनी प्रहरीमा बयान गरेको र उक्त बयान राजीखुशीले गरेको हुँ भनी अदालतमा समेत बयान गरेको पाइन्छ ।

१४.   कुनै पनि लोग्ने मानिसलाई आफ्नो स्वास्नीले अरु पर पुरुषसँग अनैतिक सम्बन्ध राखेमा रिस उठ्नु स्वभाविक हुन्छ र उसको लागि यो असहृय पनि हुन्छ । प्रस्तुत मुद्दामा मृतक सुकमतीको अरु व्यक्तिसँग अनैतिक सम्बन्ध रहेको र सोही विषयलाई लिएर चुलाई पाल गडेरी र सुकमतीको बीचमा झगडा भई प्रतिवादी चुलाई पालले सुकमतीलाई घाँटीमा कपडाले बाँधी मारेको देखिन्छ । यसरी प्रतिवादी चुलाई पाल गडेरीले कर्तव्य गर्नु अघि कुनै किसिमको पूर्व तयारी गरेको देखिँदैन । सुकमतीलाई कर्तव्य गर्दाको परिस्थितिलाई विचार गर्दा निज प्रतिवादी चुलाई पाललाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १३(३) नं. अनुसार सर्वस्वसहित जन्मकैद  गर्दा चर्को सजायँ हुन जाने देखिन्छ । तसर्थ निज प्रतिवादी चुलाई पाल गडेरीलाई मुलुकी ऐन, अ.बं. १८८ नं. अनुसार १० वर्षको कैद गर्ने भनी शुरू सुनसरी जिल्ला अदालतले गरेको जाहेरीलाई मनासिव ठहर्‍याई पूर्वान्चल क्षेत्रीय अदालतले जाहेर गरेको राय मनासिव ठहर्छ । शुरू जिल्ला अदालतबाट मिति ०४०।४।२२ मा फैसला हुँदा प्र.चुलाई पाल गडेरीलाई १० वर्ष कैद गर्ने गरी लगत कायम गरेको देखिएकोले सोही लगत बमोजिम हुने हुँदा केही गरी रहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

 

इतिसम्वत् २०४२ साल आषाढ ३१ गते रोज २ शुभम् ।