June 21, 1985
Created by nepalarchives

निर्णय नं. २३३१ – ज्यान

निर्णय नं. २३३१     ने.का.प. २०४२      अङ्क ४   डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् ०४१...

निर्णय नं. २३३१     ने.का.प. २०४२      अङ्क ४

 

डिभिजन बेञ्च

सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री

माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान

सम्वत् ०४१ सालको फौ.पु.नं. ५८३

मुद्दा : ज्यान ।

 

पुनरावेदक/वादी:बागमल सिंहको जाहेरीले श्री ५ को सरकार ।

विरूद्ध

विपक्षी/प्रतिवादी:बझाङ स्यूदराबाँझ गा.पं. अन्तर्गत सुदाहा बस्ने राम बहादुर मल्ल ।

ऐ.ऐ बागला बस्ने गाबडे भनेको गोर बहादुर मल्ल ।

फैसला भएको मिति  :२०४२।३।७।६ मा

     कर्तव्य गरी मारेको हो भन्न सकिने ठोस र स्वतन्त्र सबुद प्रमाणको अभावमा केवल शंकाको भरमा मात्र दोषी ठहर्‍याई सजायँ गर्न मिलेन ।

 (प्रकरण नं.२९)

फैसला

प्र.न्या.नयन बहादुर खत्रीः सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको फैसला उपर श्री ५ को सरकारको पुनरावेदन परी निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ ।

२.    ०३५ साल भाद्र १० गते राति बाँझ गा.पं.सुदाडा बस्ने वर्ष ३२ को बिर्मादेवी मल्लको घरमा आग लागी हुनाको साथै निजको घर खलामा मालु भेला गा.पं. सिरेंटा बस्ने वर्ष २८ को कृति सिंहलाई नमालुम कसले हो खुकुरीले काटी मारेको लाश देखियो । घर धनी विर्मादेवी मल्ल घरमा नहुँदा निजको खोजतलास र मृतक कृति सिंहको लाश जाँच गरिपाउँ भन्ने समेत व्यहोराको प्र.पं.मोहनबहादुर मल्लको ०३५।७।११ को जाहेरी दर्खास्त ।

३.    मृतक कृति सिंहको टाउकामा गलामा अनुहारमा गर्दनमा समेत धारिलो हतियारले काटे जस्तो घाउहरू छन् भनी ०३५।७।१८ मा भएको लाश प्रकृति मुचुल्का ।

४.    ०३५ साल भाद्र महिनामा सुनको तिलहरी समेतको धनमाल चोरी गरिलिएको रिसइवीले मृतक विर्मादेवीले कर्तव्य गरी मारी सम्पत्ति खाने मेरो सन्तान कोही छैनन् त्यसैले यो घरमा आगो लगाई आफू अन्यत्र आत्महत्या गरी मर्नु निको भन्ने ठानी घरमा आगो लगाई आफू आत्महत्या गरी कलंगा नदीमा मरेकोमा पूर्ण विश्वास छ आवश्यक कार्यवाही गरिपाउँ भन्ने व्यहोराको डम्बर मल्लले डोर समक्ष दिएको दर्खास्त ।

५.    मृतक विर्मादेवीको बीच निधारमा सानु कोरिएको छ शरीरमा अरु निलडाम केही छैन अरु घाखतको सम्बन्धमा लाश ओल्टाई पल्टाई गर्न नहुने हुँदा भन्न सक्दैनौं भन्ने व्यहोराको ०३५।७।२ र मृतक विर्मादेवीको बीच निधारमा सानु कोरिएको छ मृतक लाश घोप्टो पारी पिठ्यूमा थिची हेर्दा मुखबाट पानी निस्किएको र भगमा बालुवा र सेतो छ भन्ने समेतको व्यहोराको ०३५ कार्तिक १८ को लाश जाँच मुचुल्का ।

६.    लाशकोप्रकृति हेर्दा कृति सिंहलाई मृतक विर्मादेवीले कर्तव्य गरी मारी निज आफैंले घरमा आगो लगाई कलंगा नदीमा गई हाम फाली आत्महत्या गरी मरेको ठहर्‍याएको छु पहिले हडबडले गर्दा जाहेरीमा  उल्लेख गर्न सकेन् भन्ने समेत व्यहोराको प्र.पं.मोहनबहादुर मल्लको ०३५।७।१८ यो सनाखत कागज ।

७.    मेरो छोरा कृति सिंह र विर्मादेवीलाई कर्तव्य गरी मार्नु पर्नेसम्मको इवी अदावत भएको मानिस कोही थिएन त्यस्तो भएकोले मेरो छोरा कृति सिंहलाई मृतक विर्मादेवीले कर्तव्य गरी मारी घरमा आगो लगाई आफू कलंगा नदीमा गई हाम फाली आत्महत्या गरी मरेको हुनपर्दछ भन्ने समेत व्यहोराको मृतक कृति सिंहका बाबु बागमल सिंको ०३५।७।२१ को बयान कागज ।

८.    मृतक कृति सिंहलाई विर्मादेवी मल्लले कर्तव्य गरी मारी निजले आफ्नो घरमा आगो लगाई आफू नजिक कलंगा नदीमा गई आत्महत्या गरी मरेको पूर्ण विश्वास लाग्छ र निजहरूलाई अरु कसैले कर्तव्य गरी मारे होला भन्न सक्दैनौं भन्ने व्यहोराको सरजमीन मुचुल्का।

९.    बागमल सिंहको बयान सरजमीन मुचुल्का लगायतका सम्पूर्ण संकलित सबूद प्रमाणको आधारमा कोही कसै प्रति मुद्दा चलाउनलाई कहीँ कतैबाट पनि कुनै सबूद पुग्न नसकेकोले मिसिल तामेलीमा राखी माग्न ०३५।८।५ को बझाङ जि.अ.मा पर्न आएको प्रहरी प्रतिवेदन र मिति ०३५।८।२७।३ मा तामेली राख्ने आदेश ।

१०.    विर्मादेवीका हकदार राम बहादुर गोवडे मल्लहरूले विर्मादेवीको अंश सम्पत्ति खाउँला भन्ने मनसायले निजहरूको नै कर्तव्यबाट कृति सिंह र विर्मादेवीको हत्या भएको शंका लागेकोले निवेदन गरेको छु भन्ने समेत व्यहोराका बागमल सिंको निवेदन ।

११.    कृति सिंह र विर्मादेवीलाई विर्मादेवीका अंशियारहरूले सम्पत्ति हात लाउने उद्देश्यले कर्तव्य गरेको बुझिएकोले सो कुरा मैले पत्ता लगाएकोले पुनः तहकिकात गराई कार्यवाही गरिपाउँ भनी अ.बं. १७ नं. बमोजिम सु.पश्चिमान्चल क्षेत्रीय अदालतमा पर्नआएको बागमल सिं को निवेदनमा कानुनबमोजिम गर्नु भन्ने सु.पश्चिमान्चल क्षेत्रीय अदालत को मिति ०३६।३।२०।१ को आदेश ।

१२.   विर्मादेवीको हकवाला अंशियारहरूले मिलोमतो गरी ज्यान कर्तव्यबाट काटी मारी कर्तव्य गरेछ कृति सिंहको शरीरमा ठूलठूला हतियारका घाउ निलडाम समेत भएको पोष्टमार्टम नगराइएको प्रमाण मिसिल झिकी बुझी पाउँ भन्ने बागमल सिंहको श्री ५ महाराजाधिराज सरकारका जुनाफमा चढाएको बिन्तिपत्र ।

१३.   यसमा के भएको रहेछ कानुन बमोजिम गर्नु भन्ने श्री ५ महाराजाधिराज सरकारबाट मिति ०३८।९।२२।४ मा हु.प्र.बक्स भएको ।

१४.   विर्मादेवीका सन्तान नहुँदा आफ्नो भानिज मेरो छोरा कृति सिंहलाई आफ्नो हकको चल अचल सम्पत्ति शेषपछिको बकसपत्र दिने भइरहेकोमा निज विर्मादेवीका हकदार राम बहादुर, गोवडे मल्ल भएकोले आफ्नो हक पुग्ने जग्गा जमीन दोश्रालाई दिन लागि भनी रिस बोकी राम बहादुर मल्ल र गोवडे मल्लका कर्तव्यबाट मृत्यु भएको हो मुद्दामा कार्यवाही गरिपाउँ भन्ने बागमल सिंहको ०३८।११।१० को बझाङ जि.अ.मा गरेको सनाखत कागज ।

१५.   निवेदक बागमल सिंहको सनाखत कागजमा बुझी पाउँ भनेका व्यक्तिलाई ठाडो बुझ्ना के ७ दिने म्याद दिई झिकाई आए वा गुजारे पछि पेश गर्नु भन्ने व.जि.अ. को आदेश ।

१६.    विर्मादेवी र कृति सिंह मरे भन्ने सुनेका हौं कालगती वा भवितव्य कर्तव्य के बाट मरे सो कुरा खुलाउन सक्दैनौं भन्ने गिरी रोक्काया समेतका बागमल सिंहका सनाखतका मानिसहरूको कागज ।

१७.   किर्ति सिंह विर्मादेवीको घरमा मरे भन्ने सुनेको हो अरु कुरा खुलाउन सक्दैन भन्ने बागमल सिंहका सनाखतका मानिस हर्कबहादुर खत्री समेतको कागज विर्माले आफ्नो चल अचल सम्पत्ति किर्ति सिंहलाई दिन लागी भन्ने शंकाले विर्माका हकदारहरूले कर्तव्य गरी  मारेको शंका लाग्छ भन्ने समेत व्यहोराको बागमल सिंहको सनाखतका मानिस साइमल सिंह करेसिंह समेतका मानिसहरूको कागज ।

१८.   अभियुक्त हुन आएका राम बहादुर र गोवडे मल्लका नाउँमा वारेन्ट म्याद पुर्जी समेत जारी गरी कानुन बमोजिम गर्नु भन्ने व.जि.अ.को आदेश ।

१९.    विर्मादेवीको नजिक हकदार म होइन म त टाढा गाउँको हुँ विर्माको घरमा आगो लागेको कुरा ११ गते मात्र थाहा पाई हेर्न गएको र डम्बरबहादुर समेतका मानिसले आगो निभाएको हो । सोही दिन कलंगा नदीको किनार बजुवा वगरमा आधा पानीमा ढुङ्गाले अडाई राखेको लाश देख्यौं लाश चिन्दा विर्मादेवीको रहेछ सो कुरा जाहेर गर्न प्र.पं. मोहनबहादुर कहाँ गयौं मृतक विर्मादेवी र किर्ति सिंहलाई कर्तव्य गरी मार्नुपर्ने इवी भएको मानिस हाम्रो गाउँमा कोही छैन । मृतक कृति सिंहलाई विर्मादेवीले कर्तव्य गरी मारी आफैंले घरमा आगो लगाई कलंगा नदीमा गई हाम फाली आत्महत्या गरी मरेको हुन् भन्ने कुरामा मलाई पूर्ण विश्वास लाग्छ मैले कर्तव्य गरी मारेको होइन भन्ने गोवडे मल्लको व.जि.अ.मा बयान ।

२०.   विर्मादेवीले कृति सिंहलाई कर्तव्य गरी मारी आफूले घरमा आगो लगाई आफू कलंगा नदीमा गई हाम फाली आत्महत्या गरी मरेकी हुन् भन्ने कुरामा मलाई पूर्ण विश्वास लाग्छ विर्मादेवीका अरु ११ घर भएका हकदार छन् विर्मादेवी र कृति सिंहलाई मारेको होइन जोहरवालाले झुठ्ठा कागज गरेछ भन्ने राम बहादुर मल्लको व.जि.अ.मा गरेको बयान ।

२१.   मृतक कृति सिंहलाई विर्मादेवीले कर्तव्य गरी मारी घरमा आगो लगाई आफू नजिक कलंगा नदीमा गई हाम फाली आत्महत्या गरी मरेको पूर्ण विश्वास लाग्छ यिनी प्रतिवादीहरूले कर्तव्य गरी मारे मराएको होइन भन्ने प्र.गोवडेबहादुर तथा राम बहादुर मल्ल समेतका साक्षीहरूको एकै मिलानको बकपत्र ।

२२.   विर्मादेवीका सन्तान नहुँदा आफ्नो सम्पत्ति कृति सिंहलाई दिन लागी भन्ने शंकाले दुवै जनाको हत्या गरी सम्पत्ति हात लाउने उद्देश्यले विर्मादेवीका अंशियारहरूले कर्तव्य गरेको हुन् भन्ने बागमल सिंहको निवेदन र भनाईलाई सनाखतमा उल्लेख गरेका व्यक्तिहरूका बकपत्रमा कुनैले पनि यी प्रतिवादीहरूले नै कर्तव्य गरी मारेका भनी उल्लेख गर्न नसकी थाहा छैन भनी उल्लेख भएको र यिनै प्रतिवादीहरूले कर्तव्य गरी मारेको तथ्ययुक्त सबूद प्रमाण नहुँदा जाहेरवालाको शंकाको भरले दोषी ठहर्‍याउन फौजदारी न्याय सिद्धान्तको विपरीत हुने हुँदा शंकाको सुविधा प्रतिवादीहरूले पाई आरोपित कसूरबाट सफाई पाउने ठहर्छ भन्ने समेत व्यहोराको ०४०।६।१२ यो ब.जि.अ.को फैसला ।

२३.   जाहेरवाला बागमल सिंहले सनाखत गरिदिएका मानिसहरूले अदालतमा आई करे सिंह समेतका केही व्यक्तिले शंका लाग्छ भनी शंकासम्म देखाए पनि किटानी साथ बक्न नसकेको र प्र.भनिएका राम बहादुर र गोवडे मल्ल अदालतमा कसूर गरेको कुरामा पूर्ण इन्कार रहेको देखिएकोले ज्यान जस्तो गम्भीर अपराधमा शंकाको भरका कसूरदार ठहर्‍याई सजायँ गर्न न्यायसंगत नदेखिँदा तथ्ययुक्त सबूद प्रमाणको अभावमा जाहेरवालाको शंकाको भरमा मात्र दोषी ठहर्‍याउन नमिल्ने देखिँदा प्रतिवादीहरूलाई आरोपित कसूरबाट सफाई दिने गरेको शुरू बझाङ जिल्ला अदालतको फैसला मनासिव ठहर्छ पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने समेत मिति ०४०।११।२।३ को सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला ।

२४.   सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको उक्तनिर्णयउपर श्री ५ को सरकारको पुनरावेदन पर्नआएको प्रस्तुत मुद्दामा पुनरावेदकका तर्फबाट खटीई उपस्थित हुनुभएका वि.स.अधिवक्ता श्री बलिराम कुमारले गर्नु भएको बहस समेत सुनियो ।

२५.   निर्णयतर्फ हेर्दा यसमा मृतकहरू विर्मादेवी  मल्ल र कृति सिं माइजु भानिज नाता पर्ने देखिन्छ । अभियुक्त कोही नभएकोले कसै माथि मुद्दा चलाउन नमिल्ने भनी मिति ०३५।८।२७।३ को बझाङ जिल्ला अदालतको आदेशबाट प्रस्तुत मुद्दा तामेलीमा रहेकोमा निवेदक बागमल सिंहले श्री ५ महाराजाधिराजका हजूरमा विर्मादेवीका हकवाला अंशियारहरू राम बहादुर मल्ल र गोवडे मल्लले विर्मादेवी र छोरा कृति सिंहलाई कर्तव्य गरी मारेकोले पुनः तहकिकात गरी मुद्दा किनारा गर्नु भन्ने हु.प्र. बक्स पाउँ भनी मिति ०३८।९।२१ मा दिएको बिन्तिपत्रमा के भएको रहेछ बुझी कानुन बमोजिम गर्नु भन्ने हु.प्र.बक्स भई आए बमोजिम पुनः यस मुद्दाको कारवाही शुरू भएको देखियो ।

२६.   बागमल सिंहले शुरूमा मिति ०३५।७।२१ मा प्रहरी समक्ष मेरो छोरा कृति सिंह र विर्मादेवीलाई कर्तव्य गरी मार्नु पर्नेसम्मको रिस इवी भएको कोही मानिस छैन न कृति सिंहलाई विर्मादेवीले कर्तव्य गरी मारी घरमा आगो लगाई आफू कलंगा नदीमा गई हाम फाली आत्महत्या गरेको हुनुपर्छ भनी बयान गरेको देखिन्छ । यसरी बागमल सिंले पहिला कर्तव्यमा कसै उपर शंका नदेखाई पछि आएर मात्र राम बहादुर र गोवडे मल्ल उपर किटानी गरेको पाइयो ।

२७.   बागमल सिंहले मिति ०३८।११।१०।१ मा गरेको सनाखत कागजमा लेखिएका मानिसहरूलाई अदालतबाट बुझ्दा अधिकांश व्यक्तिहरूले प्रतिवादीहरूले नै बिर्मादेवी र कृति सिंहलाई कर्तव्य गरी मारेको हो नभनी निजहरू के भई मरे थाहा छैन भनी लेखाई दिएको पाइन्छ ।

२८.   प्रतिवादी राम बहादुर मल्लले अदालत समक्ष बयान गर्दा विर्मादेवीको आफू समेत ११ घर हकदार भएको र विर्मादेवीको अपुताली परे आफूलाई बाहेक अरुलाई पनि अपुताली पर्दछ भन्दै कसूर गरेकोमा पूर्ण इन्कारी रहेको पाइन्छ । त्यस्तै गरी अर्का प्रतिवादी गोवडे भन्ने गोरबहादुर मल्लले पनि आफू मृतक विर्मादेवीको नजिकको हकदार नभएको र निजलाई मारे पनि आफूलाई अंश नपर्ने भन्दै विर्मादेवी र कृति सिंहलाई कर्तव्य गरी मारेकोमा पूर्ण रूपमा इन्कार रहेको पाइन्छ ।

२९.   यसरी जाहेरवाला बागमल सिंहले पहिला जाहेरीमा प्रतिवादीहरू उपर शंका नगरी पछिबाट मात्र शंका देखाएको, प्रतिवादीहरू आफूले कसूर गरेकोमा इन्कार रहेकोले र बागमल सिंहले सनाखत गर्दा बुझी पाउँ भनिएका व्यक्तिहरूले पनि मृतकहरू कसरी मरे थाहा छैन भनी लेखाई दिएबाट र मृतक विर्मादेवीको प्र.हरू बाहेक अरु हक खाने हकदार भएबाट यी प्रतिवादीहरूले विर्मादेवीको सम्पत्ति खानका लागि विर्मादेवी र कृति सिंलाई कर्तव्य गरी मारेको हो भन्न सकिने ठोस र स्वतन्त्र सबूद प्रमाणको अभावमा केवल शंकाको भरमा मात्र यी प्रतिवादीहरूलाई दोषी ठहर्‍याई सजायँ गर्न मिलेन । तसर्थ यी प्रतिवादीहरूलाई सफाई दिने ठहर्‍याएको शुरू बझाङ जिल्ला अदालतको फैसला मनासिव ठहर्‍याएको सुदूर पश्चिमान्चल क्षेत्रीय अदालतको मिति ०४०।११।२।३ को फैसला मनासिव ठहर्छ । श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । मिसिल नियम बमोजिम गर्नु ।

 

उक्त रायमा म सहमति छु ।

 

न्या.हरगोविन्द सिंह प्रधान

 

 

इतिसम्वत् २०४२ साल आषाढ ७ गते रोज ६ शुभम् ।