निर्णय नं. २३३० – खिचोला हक कायम
निर्णय नं. २३३० ने.का.प. २०४२ अङ्क ४ फुल बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री...
निर्णय नं. २३३० ने.का.प. २०४२ अङ्क ४
फुल बेञ्च
माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४१ सालको दे.फु.नं. ६६
मुद्दा : खिचोला हक कायम ।
निवेदक/प्रतिवादी:जि.काठमाडौं,का.न.पं.वडा नं. ३० ज्याठा टोल बस्ने भैरवदास प्रधान ।
विरूद्ध
विपक्षी/वादी:ऐ.ऐ. वडा नं. १७ ठहिटी बस्ने रत्नमाया शाक्य ।
ऐ.ऐ बस्ने द्वारिका दास श्रेष्ठ ।
फैसला भएको मिति:२०४२।२।३२।६ मा
वादी रोहवरमा रही भएको सरजमीन व्यहोराबाट मात्र वादीलाई प्रतिवादीले खिचोला गरेको थाहा भएको मान्नु पर्ने ।
(प्रकरण नं.१४)
निवेदक प्रतिवादी तर्फबाट:विद्वान विरिष्ठ अधिवक्ता श्री बासुदेवप्रसाद ढुङ्गाना
विपक्षी वादी तर्फवाट:विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी
उल्लेखित मुद्दाःX
फैसला
न्या.त्रिलोक प्रताप राणाः सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराका जुनाफमा बिन्तिपत्र पर्दा यसमा व्यहोरा साँचो भए त्यस अदालतको डिभिजन बेञ्चबाट ०३९।५।२० मा किनारा भएको बिन्तिपत्रमा लेखिएको खिचोला हक कायम मुद्दाको मिसिल झिकी फुल बेञ्चबाट मुद्दा दोहर्याई हेरी कानुन बमोजिम निर्णय गर्नु भन्ने समेत मौसूफका विशेष जाहेरी विभाग मार्फत बक्स भई आएको प्रमाङ्गी बमोजिम फुल बेञ्चको लगतमा दर्ता भई निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. का.जि.महाराजगञ्ज बस्ने भगवानदाश १, विष्णुदाश १, कृष्णदाश श्रेष्ठ १ समेतबाट रु. २०,०००। मा.का.न.पं. वार्ड नं. १८ अन्तर्गत तलाक्षी ज्याठा खा बहाल पूर्व लक्ष्मीनाराण र सूर्यबहादुरको घर पश्चिम तुयु कुस्लेको हाल भत्ती पाताल र लक्ष्मीभक्तको हाल रत्न बहादुरको घर जग्गा उत्तर खा बहाल र विपक्षी भैरव दाशको घर दक्षिण साझा चोक यति ४ किल्ला भित्रको सोवासी ब्लक नं. ११।४५१ को उत्तर मोहडा पूर्व पश्चिम लम्बाई फिट १० को २ नाले २।। कवले ४ तले जस्ताको छाना भएको घर भत्की हाल २ तलेसम्म बाँकी भई चर्की भत्किएको घर सो घरसँगै पश्चिम पट्टिको दाताहरूको बाबु बाजे दुर्गादाशले तत्कालिन काठमाडौं रजिष्ट्रेशन मार्फत १९८४।६।९ मा जगतकुमारीसँग फार्छे रजिष्ट्रेशन पास गराई लिई राख्नु भएको वहाँ परलोक भई दाताहरूको हक भएको उत्तर दक्षिण हात १।। पूर्व पश्चिम हात १५ को पाताल घर समेत पूर्व पश्चिम फिट २५–३ उत्तर दक्षिण फिट २९ को पाताल र सो पातालसँगै दक्षिणतर्फको निज स्वर्गीय दुर्गादाशले काठमाडौं रजिष्ट्रेशन अड्डा मार्फत १९८४।१।६।५ मा लतसिं महर्जनसँग पास गराई लिई हक भएको २ नाले २।। कवले ४ तले हाल भत्किई पाताल भएको उत्तर दक्षिण लम्बाई फिट १४, ७ पूर्व पश्चिम चौडा फिट ९–४ को पाताल समेतको घर र सो घर पातालबाट चर्चेको लगापात समेत २०२९।११।२३।३ मा भूमिप्रशासन कार्यालय मार्फत काठमाडौंमा फार्छे राजीनामा रजिष्ट्रशन पास गराई लिई हाम्रो हक भएको, सो घर भत्किई पाताल भई रहेको जग्गामा घर बनाउन नक्सा दर्खास्त पेश गर्दा विपक्षी भैरवदाशले कुनियत चिताई बन्ने घरको पश्चिम पट्टि आजसम्म तरकारी रोपी भोगचलन गरिआएको उक्त दक्षिण लम्बाई फिट २६–६ पूर्व पश्चिम चौडाई फिट १३ आफ्नो जग्गा हो भन्ने झुठ्ठा व्यहोराको उजूरी दिनु भएको र २०३०।११।१ गतेका दिन आई जग्गा मेरो हो भनी हक खिचोला गर्नु भएको ०३२।५।१८।४ मा न.पं. नक्सा मुद्दा फाँटले फैसला सुनाई सो जग्गामा हाम्रो हक कायम गराउनु पर्ने अवस्था पर्नुका साथै विपक्षले उक्त मितिमा जग्गा खिचोला सो घरमा तला थपी घर बनाउन पाउँ भनी नक्सा दर्खास्त दिँदा दक्षिण १९–४ आफ्नो जग्गा भन्ने म द्वारीकादाशले आफ्नो घर बनाउन नक्सा दर्खास्त दिँदा सो जग्गालाई बढी फिट देखाउँदै आफ्नो हो भनी झुठ्ठा कुराको दावी लिनु भएको मात्र हो । जग्गा विपक्षीको होइन हाम्रो हकको हामीले विष्णुदाश श्रेष्ठ समेतबाट राजीनामा रजिष्ट्रेशन पास गराई लिएको जग्गा हाम्रो पुरानो पर्खाल उत्तर विपक्षी भैरवदाशको घर दक्षिण रत्न बहादुरको घर यति ४ किल्लाभित्रको पूर्व पश्चिम चौडा फुट १३ उत्तर दक्षिण लम्बाई फिट २६।। प्रचलित मोल रु. ५००। पर्ने जग्गामा खिचोला गरेकोले खिचोला मेटाई हक कायम गरिपाउँ भन्ने समेत फिरादपत्र ।
३. ०२४ सालमा दर्खास्त दिँदा दक्षिण तर्फ दुर्गादाशको जग्गा भनी लेखेको जग्गा मेरो घर देखि दक्षिण निजै दुर्गादाशको पाताल जग्गादेखि उत्तर निज दुर्गादाशको घरदेखि पश्चिम मेरो जग्गादेखि पूर्वपट्टिको विपक्षले हाल बनाएको जग्गा हो । २०२४ सालमा सो ठाउँमा घर थिएन जग्गा मात्र थियो । मेरो घरको पूर्व कुनामा दुर्गादाशको घर भएकोले मैले दिएको नक्सा दर्खास्तमा सो कुरा खुलाएको छु । विपक्षीको दाताको जति थियो सो देखाएकै र सो जग्गामा विपक्षीले घर बनाई सकेको र अब सो घरदेखि पश्चिम विपक्षीको कुनै जग्गा वा पर्खाल छैन । जग्गा पर्खाल मेरै एकलौटी हो दर्खास्त दिँदा दक्षिण १९–६ मेरो जग्गा भनी लेखेको गल्ती, मेरो घरदेखि दक्षिण रत्नमानको घरदेखि उत्तर पूर्व पश्चिम १३ फुट उत्तर दक्षिण २६।६ भएको सम्पूर्ण जग्गा मेरै हो । विपक्षको हक दावी पुग्ने होइन नक्सा गरिपाउँ । फिराद दावी खारेज हुनुपर्छ भन्ने समेत प्रतिउत्तरपत्र ।
४. वादीले पेश गरेको नक्सा पास गरिपाउँ भनेकोमा प्र.भैरवदाशको तर्फबाट मिति ०३०।६।७ मा उजूरी निवेदन परी मिति ०३०।८।१७ मा सरजमीन हुँदा सो जग्गा खिचोलाको शुरू भएको मिति ०३२।५।१८ हक बेहकमा सुनाएको मितिले ३५ दिनभित्र यो उजूरी नपरेको र खिचोला भएको मितिले २ वर्ष भित्र समेत उजूर दायर भएको नदेखिनाले ज.मि.को १८ नं. ले म्यादभित्र दायर भएको नहुँदा खारेज हुने ठहर्छ भन्ने शुरू का.जि.अ.को फैसला ।
५. उक्त खारेज गरेको इन्साफ चित्त बुझेन भन्ने समेत वादीको बा.अं.अ.मा पुनरावेदन परेको रहेछ ।
६. घर बनाउन नक्सा पास गर्ने दर्खास्त दिएको सो नक्सा पास गरिपाउँ भनेको घर बनी जग्गामा हक बेहकको प्रश्न उठाएको नगर पञ्चायतबाट हक बेहक छुट्टाई आउनु भनी सुनाएको मितिमा मुद्दा गर्नु पर्ने कारण सिर्जना भएको मान्न पर्ने भई सो मितिले ज.मि. १८ नं. ले २ वर्षभित्र फिराद परेको म्याद नाघेको भन्न नहुने भई प्रस्तुत मुद्दामा नगर पञ्चायतबाट हक बेहक छुट्याई आउनु भनी २०३२।५।१८ मा सुनाएको मितिले २ वर्षभित्रै २०३२।७।७ मा यो मुद्दाको फिराद दायर भएको देखिँदा शुरूले खारेज गरेको मिलेन शुरूको फैसला बदर हुन्छ । अब कानुन बमोजिम इन्साफ गरिदिनु भनी दुवै पक्षलाई का.जि.अ.मा हाजिर हुन जानु भनी तारेख तोकी मिसिल सोही अदालतमा पठाई दिनु भन्ने बा.अं.अ.को फैसला ।
७. उक्त निर्णयमा चित्त बुझेन भन्ने समेत प्रतिवादीको मध्यमान्चल क्षेत्रीय अदालतमा निवेदन परी पुनरावेदनको अनुमति प्राप्त भएको ।
८. घर बनाउनु पर्ने जग्गामा प्र.ले खिचोला गर्यो भनी वादीले ०३०।११।१ मा खिचोला मिति लेखी ल्याएको मितिले र नगर पञ्चायतबाट हक बेहकमा सुनाएको मितिले पनि २ वर्षभित्रै पारी ल्याएको नालिश जग्गा मिच्नेको १८ नं. को हदम्याद २ वर्षको भित्रको हुँदा त्यस्तोमा खारेज गर्न नमिल्ने इन्साफ गर्नु भनी बा.अं.अ.ले गरेको इन्साफ मनासिव ठहर्छ भन्ने मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।
९. उक्त निर्णयउपर पुनरावेदनको अनुमतिपाउँ भन्ने प्र.को निवेदन पर्दा मध्यमान्चल क्षेत्रीय अदालतको निर्णयमा जग्गा मिच्नेको १८ नं. को त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति दिइएको छ भन्ने सर्वोच्च अदालतडिभिजन बेञ्चको आदेश ।
१०. ०३०।११।१ को बिहान अन्दाजी ९ बजेको समयमा जग्गामा आई जग्गा मेरो हो चलन गर्न दिन्न भनेर हटक खिचोला गरेको भन्ने उल्लेख भएको छ । प्रस्तुत फिराद ०३२।७।७ मा दर्ता भएको देखिएको खिचोला गर्यो भनेको मितिले जग्गा मिच्नेको १८ नं. को म्याद २ वर्षभित्र प्रस्तुत मुद्दाको फिराद परेको देखिँदा इन्साफ गर्न पठाउने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत डिभिजन बेञ्चको फैसला ।
११. निवेदक तर्फबाट उपस्थित विद्वान विरिष्ठ अधिवक्ता श्री वासुदेवप्रसाद ढुङ्गानाले वादीले नक्सा पासको निमित्त दर्खास्त दिएपछि सँधियारका नाउँमा म्याद टाँस भएपछि ०३०।६।७।१ मा मेरो पक्षको उजूरी परेपछि ०३०।७।५ मा दुवै पक्षको तारिख मिलान समेत भइसकेकोमा त्यतिखेर नै मुद्दा गर्नु पर्ने कारण परेको भन्नु पर्ने हुन्छ । वादीको एकतर्फी लेखाईबाट मुद्दा गर्नु पर्ने कारण परेको भन्न मिल्दैन भन्ने समेत बहस गर्नु भयो, विपक्षी वादी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीले वादीले उल्लेख गरेको मिति भन्दा पहिले विवाद परेको भनी प्रमाणित हुन सकेको छैन, तारिख जोडिँदैमा थाहा भयो भन्न मिल्दैन नगर पञ्चायतबाट सुनाएको मितिले ३५ दिनभित्रै वादी अदालतमा प्रवेश गरेको हुँदा डिभिजन बेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।
१२. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा घर भत्की पाताल भइरहेको जग्गामा घर बनाउन नक्सा दर्खास्त पेश गर्दा भैरवदासले उजूर दिनु भएछ मलाई थाहा थिएन नक्सा पास हुनसक्दैन भनी ०३०।११।१ मा भनेकोले थाहा पाई सोही मितिमा अर्को निवेदन र नक्सा पेश गरे । विपक्षीले ०३०।११।१ गतेका दिन बिहान अन्दाजी ९ बजेको समयमा जग्गैमा खिचोला गरेकोमा जग्गामा खिचोला मेटाई पाउँ भन्ने समेत वादी दावी देखिन्छ। वादीको फिराद मुलुकी ऐन जग्गा मिच्नेको १८ नं. को हदम्याद दुई वर्षे नाघी परेको हुँदा खारेज हुनुपर्छ भन्ने प्रतिउत्तर जिकिर भएबाट वादीको फिराद हदम्यादभित्रको छ छैन भनी सो नै हेर्नु पर्ने हुन आयो ।
१३. वादीले नक्सा पास गरिपाउँ भनी ०३०।४।२८ मा काठमाडौं नगर पञ्चायतमा दर्खास्त दिएको देखिन्छ । वादीको दर्खास्त परेपछि ०३०।५।३१ मा सँधियारका नाउँमा १५ दिने सूचना प्रकाशित भएकोमा वादीले नक्सा पास गरिपाउँ भनेको जग्गा मध्ये पश्चिम पट्टिको पूर्व पश्चिम १३ फुट उत्तर दक्षिण २६ फुटको जग्गा मेरो हुँदा घर बनाउन दिन मञ्जूर छैन भन्ने समेत भैरवदासको ०३०।६।७ मा काठमाडौं नगर पञ्चायतमा उजूर परेको देखिन्छ ।
१४. ०३०।६।८ मा उपस्थित भई ०३०।७।५ मा पक्ष विपक्ष दुवैको तारिख जोडिएको हुँदा विवाद परेको कुरा वादीलाई ०३०।७।५ मै थाहा भइसकेको छ । ०३२।७।७ मा दायर भएको वादीको फिराद ज.मि.को १८ नं. को म्याद दुई वर्ष नाघी परेको छ भन्ने समेत प्रतिवादी तर्फका विद्वान विरिष्ठ अधिवक्ताको जिकिरको हकमा प्रतिवादीले नक्सा पासको लागि दर्खास्त परेको जग्गामा आफ्नो पनि जग्गा परेको छ भनी उजूर गरेको भए पनि त्यस्तो उजूरीबाट प्रतिवादीले खिचोला गरेको कुरा वादीलाई मौकैमा थाहा थियो भनी सम्झन मिल्ने देखिँदैन । वादीलाई मौकैमा थाहा भएको सबूद प्रमाण प्रतिवादीबाट आउन सकेको छैन । वादीले उक्त उजूरीको नक्कल लिएको छ भन्ने प्रतिवादीले देखाउन सकेको छैन । वादी रोहवरमा रही भएको ०३०।८।१७ को सरजमीनमा प्र.भैरवदासले लेखाएको व्यहोराबाट मात्र वादीलाई प्रतिवादीले खिचोला गरेको थाहा भएको मान्नु पर्ने हुँदा सो मितिबाट वादीको फिराद हदम्याद भित्रै परेको देखियो । ०३०।७।५ मा तारिख जोडिएकै बखतमा वादीलाई थाहा थियो तसर्थ वादीको फिराद हदम्याद नाघी परेको छ भन्ने प्रतिवादीको जिकिर मिल्दो देखिएन ।
१५. अतः ०३०।८।१७ मा सरजमीन भएको मितिबाट दुई वर्षभित्रै ०३२।७।७ मा वादीको फिराद दर्ता भएको देखिँदा शुरू का.जि.अ.ले वादी दावी खारेज गरेकोमा सो इन्साफ उल्टी गरी कारवाई किनारा गर्न मिसिल शुरू जिल्ला अदालतमा पठाउने ठहराएको बा.अं.अ.मा पठाउने ठहराएको बा.अं.अ. तथा मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ । पक्ष विपक्षलाई तारिख तोकी मिसिल का.जि.अ.मा पठाई दिनु ।
उक्त रायमा हाम्रो सहमत छ ।
न्या.पृथ्वी बहादुर सिंह
न्या.गजेन्द्रकेशरी बास्तोला
इतिसम्वत् २०४२ साल ज्येष्ठ ३२ गते रोज ६ शुभम् ।