निर्णय नं. २३२६ – लिखत पारित
निर्णय नं. २३२६ ने.का.प. २०४२ अङ्क ४ फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह माननीय न्यायाधीश श्री...
निर्णय नं. २३२६ ने.का.प. २०४२ अङ्क ४
फुल बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव
सम्वत् ०४० सालको दे.फु.नं. ६१
मुद्दा : लिखत पारित ।
निवेदक/वादी:रुद्र कुमारीको मुद्दा सरकार गर्ने जि.काठमाडौं,सुन्दरीजल नयाँ पाटी गा.पं.वडा नं. १ बराहटार बस्ने बद्री प्रसाद सिंखडा।
विरूद्ध
विपक्षी/प्रतिवादी:ऐ. सुन्दरीजल पंचायत वडा नं. ८ बस्ने नियम प्रसाद सिंखडा ।
फैसला भएको मिति:२०४२।३।२५।३ मा
घरसारको राजीनामा लिखत पारित गरिदिनु पर्ने ।
(प्रकरण नं.१६)
निवेदक वादी तर्फवाट :विद्वान वरिष्ठ अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्याल
विपक्षी प्रतिवादी तर्फबाट: विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारी
उल्लेखित मुद्दाःX
फैसला
न्या.धनेन्द्र बहादुर सिंहःसर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकको श्री ५ महाराजाधिराजका जुनाफमा न्यायिक समिति मार्फत बिन्ति पत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम मुद्दा दोहर्याई दिनु भन्ने हुकुम प्रमाङ्गी बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. ०३०।२।२५ मा विपक्षी प्रतिवादीले मबाट रु. २३,००१। लिनु भई निजैका नाउँको साविक ऐ. नं. २९६६ सर्भे नापी हुँदा सुन्दरीजल नयाँपाटी गा.पं.वडा नं. १(क) को कित्ता नं. २४ रोपनी ६–०–० को कित्ता १ ऐ. रै.नं. २२२५ को कि.नं. २५ को पाखो रोपनी २ को कित्ता १ समेत कित्ता २ समेत खेत पाखो रोपनी ८ रजिष्ट्रेशन पास गरिदिने छु भनी राजीनामा लेखी दिनु भएको पास गरिनदिएकोले पास गराई पाउँ भन्ने समेत व्यहोराको रुद्रकुमारीको फिराद ।
३. वादी रुद्रकुमारीको छोरा बद्रीप्रसादका नाउँको जग्गा र मेरो नाउँको सट्टापट्टा गर्ने कुरा भई ०३०।२।२५ मा रु. २३,००१। को वादीको छोरा बद्रीप्रसाद ऋणी र म धनी भएको राजीनामा १ र म ऋणी र वादी धनी भई खडा भएको राजीनामा १ समेत वडा सदस्य सालीग्राम दाहालको जिम्मा भएकोमा लिखत पास गरिदिने म्याद नाघ्ने भएकोले अर्को लिखत खडा गर्न जिम्मा लिने सालिग्रामको घरमा लिखत लेख्ने कृष्ण प्रसाद समेतलाई लिई गएकोमा सालिग्रामले कागज झिकी दिएको र वादीका छोरा बद्रीप्रसादले ०३०।९।२८ मा लुटपीट गरी लगेकोले लुटपीटमा मेरो नालेश परी सकेको छ नगद लिनु दिनु भई राजीनामा भएको होइन सो लिखत पारित गरिदिनु नपर्ने भन्ने समेत प्रतिवादी ।
४. जग्गा सट्टा पट्टा गर्ने कुरा भएको सो राजीनामा लुटी लगेकोबाट नालेश गरेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादीको वा.शेषनाथले गरेको बयान ।
५. रूपैयाँ लिनु दिनु भएको होइन एकले अर्कालाई राजीनामा गरिदिएको हो लुटपीटमा नालेश परेकै छ भन्ने समेत गणेशप्रसाद, हरिकेशव, सालीग्राम समेतको बयान ।
६. रूपैयाँ लिनु दिनु भइसक्यो राजीनामा लेखी देउ भनेकाले लेखिदिएको हुँ भन्ने समेत व्यहोराको लेखक कृष्ण प्रसादको बयान ।
७. लेखक साक्षी समेतका भनाईबाट लिनु दिनु भएको होइन भनेको हुँदा पारित गरिपाउँ भन्ने वादी दावा नपुग्ने ठहर्छ भन्ने समेत व्यहोराको काठमाडौं जिल्ला अदालतको फैसला ।
८. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको वादीले मध्यमान्चल क्षेत्रीय अदालतमा दिएको पुनरावेदन ।
९. रूपैयाँ लिईदिई राजीनामा लिखत भएकोभन्ने लिखतबाटै प्रष्टभएको लिखतकोविपरीत बकेकोलाई प्रमाण लिई लिखत पास नगर्ने भनी फैसला गरेको मिलेको देखिएन। छलफलनिमित्त विपक्षीलाई झिकाउनु भन्नेसमेत क्षे.अ.को आदेश ।
१०. काठमाडौं माल कार्यालयबाट ल्याएको जग्गाधनी प्रमाणपूर्जा सक्कल हेर्दा “नेम” हो वा “प्रेम” भनी सचिएको देखियो । नियमप्रसादको नाउँमा जग्गाधनी लेखिएको छैन बेञ्च समक्ष देखाउनु भएको जग्गा धनी प्रमाणपूर्जामा प्रष्ट रूपमा नियमप्रसाद लेखिएको छ । माल कार्यालयमा रहेको सक्कल र वादीले देखाएको नक्कल जग्गाधनी प्रमाणपूर्जाको नक्कल मिल्नु भिड्नु पर्ने हुन्छ । वतनको महलमा लेखिएको व्यहोरा पनि फरक देखिएको छ । वादीका दावी बमोजिम नियमप्रसादका नाउँमा नामसारी भइसकेको प्रष्ट रूपमा देखिएन र जग्गाधनी प्रमाणपूर्जा पनि सचिएको देखिन्छ । यस अवस्थामा लिखतको व्यहोराको आधारमा मात्र पारित गर्न मिलेन शुरू अदालतबाट पारित नहुनेसम्म ठहराएको इन्साफ मनासिव छ भन्ने समेत व्यहोराको मध्यमान्चल क्षेत्रीय अदालतको २०३५।७।२६।१ को फैसला ।
११. उक्त निर्णय उपर वादी तथा प्रतिवादीको निवेदनमा पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत सर्वोच्च अदालत डिभिजन बेञ्चको आदेश ।
१२. निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा माल कार्यालयबाट आएको मोठ श्रेस्ता हेर्दा राजीनामा बमोजिम पास गरिपाउँ भनेको कित्ता नम्बरका जग्गाहरूको जग्गाधनीमा “नियमप्रसाद” लेखिएको नभई “नेम“ वा “प्रेम” भनी लेखिई सो पनि सच्चिएको देखिन्छ । वादीले देखाएको जग्गाधनी प्रमाणको नक्कलसँग मालबाट आएको सक्कल भिड्न र मिल्न सकेको छैन। यसरी यसको जग्गा देखाई पारित गरिपाउँ भनेको छ सो जग्गा नै निजको नाममा नदेखिई विवादको स्थिति देखिन्छ भने केवल लिखतको व्यहोराको आधारमा मात्र पारित गर्न मिल्ने देखिँदैन । लिखत पारित नहुने ठहराएको शुरू सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने डिभिजन बेञ्चको फैसला ।
१३. वादी दावीको राजीनामाको जग्गाहरू मेरा होइनन् मेरो नाममा छैनन् भन्ने प्रतिउत्तर जिकिर नभएकोले यसमा विवाद नै नभएकोमा विवाद देखिएको भन्ने डिभिजन बेञ्चको निर्णय आधार मिलेको देखिँदैन । राजीनामाका जग्गाहरू नापी हुँदा नियमप्रसादका नाउँमा नै रहेको भन्ने फिल्डबुक उतारबाट देखिएको छ । सच्चिएको लिखतलाई आधार बनाई लिखत पारित नहुने ठहराएको डिभिजन बेञ्चको निर्णय त्रुटिपूर्ण हुन गएको छ भन्ने समेत न्यायिक समितिको पर्चा ।
१४. निवेदक तर्फबाट उपस्थित विद्वान विरिष्ठ अधिवक्ता श्री लक्ष्मण प्रसाद अर्याल तथा विपक्षी तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री बसन्तराम भण्डारीको बहस समेत सुनियो ।
१५. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा नियमप्रसादले प्र.बाट रु. २३,००१। लिई निजैका नाउँको साविक रै.नं. २९६६ को सर्भे नापी हुँदा सुन्दरीजल नयाँपाटी गा.पं.वडा नं. १(क) को कि.नं. २४ को रोपनी ६–०–० को कित्ता १ र रै.नं. २२२५ को कि.नं. २५ को पाखो रोपनी २–०–० को कित्ता १ समेत ०३०।२।२५ मा घरसारमा राजीनामा लेखिदिएको पास नगरिदिएको हुँदा पारित गरिपाउँ भन्ने समेत वादी दावी देखिन्छ । लिखत भएको कुरालाई स्वीकार गर्दै जग्गा सट्टापट्टा गर्ने सल्लाह भई त्यति नै थैलीको दुईवटा राजीनामा कागज खडा भई दुबै पक्षको व्यक्ति सालिकराम जिम्मा रहेकोमा लिखत फेरांै भनी लिखत मागी ०३०।९।२८ मा वादीको छोरा बद्रीप्रसादले लिखत लुटी लगेकोले लुटपीटतर्फ छुट्टै फिराद गरेको छु । लिखत पारित गरिदिनु पर्ने होइन भन्ने समेत प्रतिउत्तर जिकिर देखिन्छ । प्रतिवादी नियमप्रसादले बद्रीप्रसाद समेत उपर दिएको उक्त लुटपीट मुद्दामा वादी दावी खारेज गर्ने गरी का.जि.अ.बाट भएको इन्साफ मध्यमान्चल क्षेत्रीय अदालतबाट ०३५।७।२६ मा र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०३९।११।२९ मा सदर भई अन्तिम भइरहेको देखिन्छ । राजीनामाका जग्गाहरू नापी हुँदा नियमप्रसादकै नाममा रहेको देखिन्छ । अब डिभिजन बेञ्चले उल्लेख गरेको मोठ श्रेस्तामा जग्गाधनीमा नियमप्रसाद लेखिएको नभई ‘नेम’ वा ‘प्रेम’ भनी लेखिई सो पनि सच्चिएको देखिएको भन्ने तर्फ हेर्दा यिनै प्रतिवादी नियमप्रसादको ०४१।८।२० को निवेदनमा कारवाई भई ०४१।८।२२ का आदेशले सच्चिएको जग्गाधनी दर्ता प्रमाणपूर्जा खारेज भई ‘नियमप्रसादकै नाममा नयाँ श्रेस्ता कायम गरिएको भन्ने यस बेञ्चका आदेश बमोजिम झिकाई आएको सक्कल मोठ श्रेस्ताबाट देखिन आयो । उक्त जग्गाहरू गौरीमानबाट दर्ता सरी आएको भन्ने पनि देखिन्छ । तसर्थ पारित गरिपाउँ भनेको जग्गा नै विवादको स्थितिमा रहेको भन्न मिल्ने पनि देखिएन ।
१६. अतः उपयुक्त कारणहरूबाट प्रतिवादी नियमप्रसादले गरिदिएको ०३०।२।२५ को घरसारको राजीनामा लिखत पारित गरिदिनु पर्ने ठहर्छ । वादी दावी नपुग्ने ठहराएको शुरू का.जि.अ.को इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालततथा सर्वोच्च अदालत डिभिजन बेञ्चको इन्साफ मिलेको देखिएन । अरु तपसील बमोजिम गर्नु ।
तपसील
माथि इन्साफ खण्डमा वादी दावी बमोजिम लिखत पारित हुने ठहरेकोले वादीले शुरू जिल्ला अदालतमा दाखिल गरेको कोर्टफी र अन्य दस्तूर समेत रु. ११।२१, मध्यमाञ्चल क्षेत्रीय अदालतमा दाखिल गरेको कोर्टफी रु. १।५० सर्वोच्च अदालत डिभिजन बेञ्चमा मुद्दा दोहर्याए वापत राखेको कोर्टफी ऐनका म्यादभित्र वादीको दर्खास्त परे कानुनको रीत पुर्याई वादीलाई भराई दिनु भनी काठमाडौं जिल्ला अदालत तहसिलमा लगत दिनु………………………………..१
वादी दावी बमोजिम नियमप्रसादले गरी दिएको ०३०।२।२५ को लिखत पारित गरी दिनु भनी दण्डसजायको ४४ नं. बमोजिम सम्बन्धित अड्डाका नाउँमा लेखी पठाई दिनु भनी काठमाडौं जिल्ला अदालत तहसिलमा लगत दिनु……………………………………….२
मिसिल नियम बमोजिम गरी बुझाई दिनु…………………………………..३
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.पृथ्वी बहादुर सिंह
न्या.जोगेन्द्र प्रसाद श्रीवास्तव
इतिसम्वत् २०४२ साल आषाढ २५ गते रोज ३ शुभम् ।