निर्णय नं. २३२४ – बहाल भराई घर चलन चलाई पाउँ
निर्णय नं. २३२४ ने.का.प. २०४२ अङ्क ४ फुल बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश...
निर्णय नं. २३२४ ने.का.प. २०४२ अङ्क ४
फुल बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
सम्वत् ०४० सालको दे.फु.नं. ५७
मुद्दा : बहाल भराई घर चलन चलाई पाउँ ।
निवेदक/वादी:ल.पु.जि.ग्वारा टोल बस्ने कृष्ण बहादुर मानन्धर ।
विरूद्ध
विपक्षी/प्रतिवादी:ल.पु.जि.न.पं.वडा नं. ७ त्याग टोल बस्ने आशालाल पोडेको मु.स.गर्ने ऐ. ऐ. बस्ने श्यामचा पोडे ।
फैसला भएको मिति: २०४२।३।२८।६ मा
जग्गाको हक स्वामित्वको प्रमाणिक अभिलेख जग्गा दर्ता श्रेस्तालाई नै मान्नुपर्ने ।
(प्रकरण नं.११)
निवेदक वादी तर्फबाटः विद्वान अधिवक्ता श्री सुधानाथ पन्त
विपक्षी प्रतिवादी तर्फबाटः X
उल्लेखित मुद्दाःX
फैसला
प्र.न्या.नयन बहादुर खत्री: निवेदक कृष्ण बहादुर मानन्धरले डिभिजन बेञ्चबाट मिति ०३८।९।७ मा भएको निर्णय दोहोर्याई पाउँ भनी श्री ५ महाराजाधिराजका जुनाफमा चढाउनु भएको बिन्तिपत्रमा फुल बेञ्चबाट दोहोर्याई हेरिदिनु भन्ने हुकुम प्रमाङ्गी बक्स भई आए अनुसार फुल बेञ्चको लगतमा दर्ता भई आज यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा यस प्रकार छ । विपक्षसँग मेरो बाबु तुल्सी मानन्धरले पूर्व बाटो पश्चिम बाटो उत्तर सार्कीको घर दक्षिण बाटो ४ किल्लाभित्रको ल.पु.त्यागल रेता टोलको दक्षिण मोहडा पूर्व पश्चिम लङ २ नाले ३ तले २ कवले पक्की झिंगटी छाना भएको घर र सो घरले चर्चेको लगापात समेत रु. १००१। मा ०१२।५।३१।३ मा रजिष्ट्रेशन पास गरी फार्छे गरिलिएको थियो । पिताजी स्वर्गीय भई मेरो हक भएको सो घरको बाल रु. १००। तिर्ने गरी ०१२।५।२१ मा कबुलियत पनि गरी बहालमा बस्न दिएको र सालसालमा बहाल दिएको थियो । सो बहाल बाबा छउन्जेल बाबाले र बाबा मरेपछि मैले बुझी लिई रसिद गरिदिने गरेको थियौं । सो बमोजिम ०२६ सालसम्मको दिएको र ०२७ सालदेखि बहाल नदिएकोले २०२७, २०२८, २०२९ सालको बहाल रु. ३००। भराई घर छाडी देउ भन्दा घर नछाडेकोले ३५ दिन म्याद दिई घर छाडी दिनु भन्ने समेत व्यहोरा लेखी निजलाई हुलाकद्वारा ०३०।६।२० मा जनाउ नोटिस पठाई सो नोटिसको १ प्रति जानकारीको लागि यस अदालतमा समेत पठाएकोमा ०३०।७।१ मा सूचना पाइकन पनि घर खाली नगरिएकोले फिराद गर्न आएको छु । बहाल रु. ३००। भराई मोल रु. १००१। जाने घर खाली गराई सो घर अड्डैबाट चलन चलाई पाउँ ।
२. विपक्षको लेखाई बमोजिम मैले २०१२ सालमा बिक्री गरी कबुलियत गरी सो घरमा गई बसी बहाल दिने बुझाउने गरिआएको भर्पाई दिए पाएको छैन । हाडो भाँडा, सुनको मुन्द्री समेत बिक्री गरी रु. १००१। जम्मा भएपछि साहूलाई बोलाई राजीनामा बमोजिमको रूपैयाँ बुझी लिए भनी २०१९ साल मार्ग १ गते राजीनामाको पछाडिपट्टि लेखाई सहिछाप गरिदिनु भएपछि रूपैयाँ लिनु भयो । अड्डामा गई लगत कट्टा गर्नुपर्छ भन्नु भएकोले म विरामी छु भन्दा सो राजीनामा विपक्षकै पिताजीले लैजानु भएको ३।४ महिनासम्म पनि राजीनामा ल्याई दिनु नभएकोले मानिस पठाउँदा राजीनामा हरायो अन्य मैले राजीनामा नै गरी पास गरिदिनेछु भनी जवाफ दिनु भएको र २०२१ सालमा नापी हुँदा विपक्ष आई अरु मैले राजीनामा गरी रहन परेन भन्नु भएको र सो घरबारी जग्गाको जग्गाधनी प्रमाणपूर्जा र जोताहा अस्थायी निस्सा समेत मैले पाएको र मेरै नाउँमा दर्ता गराई तिरो तिरी आएको छु । रूपैयाँ नबुझेको भए आफ्नो नाउँमा दर्ता गराउन सक्नु पर्ने र जोताहा बदर गराउन सक्नु पर्ने दरपिठ गरेको राजीनामा दवाई उजूर गरेको हो । ०१९ सालदेखि मैले बहाल बुझाएको छैन । कबुलियत नहराई राजीनामा झन् हराउनु आश्चर्यको कुरा हो । दर्ता र तिरो नगरेपछि राजीनामा मात्रले सो घरमा दावी गर्न नपाउने हुँदा फिराद खारेज गरी मेरो हक सदर गराई पाउँ भन्ने समेतको प्रतिउत्तर ।
३. वादी दावी अनुसार प्रतिवादीबाट साल ३ को बाहाल रु. ३००। भरी पाउने ठहर्छ चलन चलाउने तर्फ वादी दावीको हकमा घर बनाउनेको ६ नं. अनुसार वादीले प्रतिवादीलाई सूचना दिएको भन्नेको मिसिलमा हुलाक रसिद बाहेक केही प्रमाण नदेखिएकोले हुलाक भर्पाईबाट सो घर छाड्ने विषयको नै सूचना दिएको भन्ने देखिन नआउने हुँदा चलन चलाई पाउँ भन्ने वादी दावा नपुग्ने ठहर्छ भन्ने समेत ल.पु.जि.अ.को फैसला ।
४. शुरू जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत बा.अं.अ.को फैसला ।
५. सो बा.अं.अ.को फैसलामा चित्त बुझेन भन्ने समेत व्यहोराको अनुमतिको निवेदन परी पुनरावेदन गर्न अनुमति दिई पुनरावेदकको मध्यमाञ्चल अदालतमा पुनरावेदन परेको ।
६. वादीले दावी लिएको मिति ०१२।५।२१।२ मा फार्छे पास गरिदिएको लिखत गरिदिएमा र सालको बहाल रु. १००। तिर्ने गरी ०१२।५।२१ मा कबुलियत गरिदिएमा प्रतिवादी सावित देखिन्छ । उक्त लिखतमा लेखेको रूपैयाँ बुझाई सकेको भन्ने प्रतिउत्तरको लेखाई भएकोमा सो रूपैयाँ बुझाएको रसिद भर्पाई प्रतिवादीले पेश गर्न सक्नु पर्ने थियो सकेको देखिँदैन जग्गाधनी प्रमाणपूर्जामा मेरो नाम लेखिएको र त्यसको लाग्ने पोत बुझाएकोले मेरो हक कायम भइसकेको छ भन्ने जिकिरको हकमा यिनै वादी प्रतिवादी भएको दर्ता बदर मुद्दामा दर्ता बाँकी छ भनी फैसलामा उल्लेख भएको र सोही व्यहोरा उल्लेख भएको मिसिलबाट देखिन आउँछ वादीले आफूलाई चाहिएको हुँदा घर बनाउनेको ऐनको ८९ बमोजिम प्रकृया अपनाई प्रतिवादीलाई सूचना दिएको र प्रतिवादीले सो सूचना बुझी लिएको मिसिल सामेल रहेको देखिनाले दावी लिए बमोजिम चलन पाउने देखिन आएकोले विपक्षी तर्फको विद्वान वकिलको बहससँग सहमत हुन सकिएन । विद्वान वकिलले प्रस्तुत गर्नु भएको सर्वोच्च अदालतको सिद्धान्त प्रस्तुत मुद्दामा उपयुक्त हुन आएन । बा.अं.अ.बाट दावी बमोजिम चलन नपाउने ठहराएको कानुनी त्रुटि हुँदा त्यति कुरामा अञ्चल अदालतको फैसला मिलेको देखिएन । केही उल्टी हुने ठहर्छ भन्ने मध्यमान्चल क्षेत्रीय अदालतको फैसला रहेछ ।
७. मध्यमान्चल क्षेत्रीय अदालतको ०३६।१०।७।२ को इन्साफमा चित्त बुझेन पुनरावेदन गर्ने अनुमति पाउँ भनी प्रतिवादीको निवेदन दर्ता भएकोमा यसमा निवेदक प्रतिवादी आशालाल पोडेको मुद्दा सकार गर्ने श्यामचा पोडेको बाबु प्र.आशालाल पोडेका नाउँमा विवादको घर जग्गा ०३० सालमा दर्ता भएको शुरू मिसिल संलग्न जग्गाधनी दर्ता प्रमाणपूर्जा नक्कलबाट देखिन्छ । वादी कृष्ण बहादुरले उक्त दर्ता बदर गराउन सकिएको देखिएन । तसर्थ वादी कृष्ण बहादुर मानन्धरको उपरोक्त विवादास्पद घर जग्गामा हकदैया पुग्न नसकी निजको नालेश खारेज गरिदिनु पर्नेमा सो अनुसार नगरी मध्यमान्चल क्षेत्रीय अदालतले प्र.बाट बहाल भराई घर समेत चलन चलाई दिने गरी गरेको निर्णय त्रुटिपूर्ण देखिएकोले त्यस्तो त्रुटि सार्वजनिक महत्वको समेत देखिँदा न्या.प्र.सु.ऐन, २०३१ को दफा १३ को उपदफा ५ खण्ड ख अनुसार प्रस्तुत मुद्दामा प्रतिवादीको निवेदनबाट पुनरावेदनको अनुमति दिइएको छ भन्ने समेत ०३७।११।२३।५ को डिभिजन बेञ्चको आदेश ।
८. यसमा विवादास्पद जग्गामा ०२७।२०२८ र ०२९ सालको तिरो बुझाएको रसिद समेत देखिएको सर्भेमा पुनरावेदन श्यामचा पोडेले आफ्नो नाम दर्ता गराएको र ०२७, ०२८, ०२९ सालको तिरो बुझाएको रसिद देखिएकोले विपक्षी वादी कृष्ण बहादुर मानन्धरले ज.मि.को १८ नं. अनुसार २ वर्ष भित्र उजूर गरेको नदेखिएकोले हदम्याद नघाई पर्न आएको फिराद ।
९. यसमा विवादास्पद घर र त्यस घरले चर्चेको जग्गाको सर्भे नापी हुँदा पुनरावेदक श्यामचा पोडेको बाबु आशालालले सर्भेमा आफ्नो नाम दर्ता गराएको र ०२७।०२८।०२९ सालको तिरो बुझाएको रसिद समेत पेश गरेको देखिएको तर विपक्षी तर्फबाट उक्त घर जग्गाको तिरो बुझाएको रसिद पेश गरेको देखिन नआएको समेत हुँदा सर्भेमा आशालालले आफ्नो दर्ता गराएपछि विपक्षी वादी कृष्ण बहादुर मानन्धरले जग्गा मिच्नेको १८ नं. अनुसार २ वर्षभित्र उजूर गर्न पर्नेमा उक्त हदम्याद नघाई गरेको फिराद खारेज हुनुपर्नेमा त्यस्तो म्याद नघाई पर्न आएको फिरादपत्रबाट इन्साफ गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ मनासिव नहुँदा उल्टी हुने ठहर्छ भन्ने मिति २०३८।९।७।३ गतेको यस सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसला ।
१०. उक्त डिभिजन बेञ्चको फैसला फुल बेञ्चबाट दोहोर्याई हेरिदिनु भन्ने श्री ५ महाराजाधिराजबाट हुकुम प्रमाङ्गी बक्स भई आए बमोजिम आज निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा निवेदक वादीका तर्फबाट विद्वान अधिवक्ता श्री सुधानाथ पन्तले गर्नु भएको बहस समेत सुनियो ।
११. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा विपक्षीसँग मेरा पिताजी तुल्सी मानन्धरले पूर्व बाटो पश्चिम बाटो उक्त सार्कीचाको घर दक्षिण बाटो यति चार किल्लाभित्रको ललितपुर त्यागल टोलको दक्षिण मोहडा पूर्व पश्चिम लङ दुईनाले ३ तले २ कवले पक्की झिंगटी छाना भएको घर र सो घरले चर्चेको लगापात समेत रु. १००१। मा ०१२।५।२१ मा रजिष्ट्रेशन पास गरी फार्से गरी लिई सालको बहाल रु. १००। तिर्ने गरी विपक्षीलाई ०१२।५।२१ मा कबुलियत पनि गरी बस्न दिएकोमा २०२७ सालदेखि बहाल नदिएको ०२७, ०२८, ०२९ को बहाल रु. ३००। भराई घर खाली गराई चलन समेत चलाई पाउँ भन्ने समेत वादी दावी देखिन्छ । वादीलाई राजीनामा गरिदिएको र राजीनामा गरिदिएपछि कबुलियत गरी बहालमा बसी आएको कुरालाई प्रतिवादीले स्वीकार गर्दै २०१९ सालमा राजीनामाको रकम वादीलाई फिर्ता बुझाएको र २०२१ सालको नापीमा पनि आफ्नै नाममा लेखाई जग्गाधनी प्रमाणपूर्जा र घरबारीको जोताहा अस्थायी निस्सा समेत पाएको हुँदा वादी दावीबाट फुर्सद पाउँ भन्ने जिकिर प्रतिवादीले लिएको देखिन्छ । २०२१ सालको सर्भे नापीमा जग्गा आफ्नो नाममा लेखाएको छ भन्ने प्रतिवादी जिकिर भएकोले प्रस्तुत मुद्दामा वादीको फिराद जग्गा मिच्नेको तत्कालीन १८ नं. को हदम्याद भित्र परेको छ छैन भन्ने नै हेर्नुपर्ने देखिएको छ । जग्गा नापजाँचको परिणाम स्वरूप एकाको हकको दर्ताको जग्गा अर्को व्यक्तिको नाममा नापी हुन गएमा दर्ता श्रेस्ता खडा भएको मितिबाट मुद्दा गर्नुपर्ने कारणको सिर्जना भएको मान्नुपर्ने हुन्छ भन्ने समेत निवेदक लाला बुद्धिमान श्रेष्ठ विरुद्ध कृष्णराज उपाध्याय भएको (दे.फु.नं. ८०) दर्ता बदर हक कायम मुद्दामा फुल बेञ्चबाट ०४२।१।१४।६ मा सिद्धान्त प्रतिपादित भएको देखिन्छ । प्रस्तुत मुद्दामा यस बेञ्चको आदेश बमोजिम झिकाई आएको मिसिलबाट विवादित जग्गामा नापीकै बखतमा आशालालको नाउँमा नापी भई दर्ता श्रेस्ता खडा भई ०२३।११।२ भनी प्रमाणित भएको जग्गाधनी दर्ता श्रेस्ताबाट देखिन आयो । दर्ता श्रेस्ता खडा भएको जग्गाको प्रतिवादीले जग्गाधनी प्रमाणपूर्जा पाउनसम्म बाँकी भएको देखिन्छ । जग्गाको हक स्वामित्वको प्रमाणिक अभिलेख जग्गा दर्ता श्रेस्तालाई नै मान्नुपर्ने हुन्छ, तसर्थ यिनै वादी प्रतिवादी भई चलेको दर्ता वदर मुद्दामा जग्गा दर्ता बाँकी देखिएको भन्ने समेत आधारमा वादी दावी खारेज हुने ठहरी ०३१।४।२५ मा फैसला भई अन्तिम रहेको कारणले प्रस्तुत मुद्दामा जग्गा मिच्नेको तत्कालीन १८ नं. को हदम्याद आकर्षित हुँदैन भन्न मिल्ने देखिएन । वादीको फिराद ०३०।९।२३ मा दायर भएको देखिन्छ । विवादको जग्गा आशालालको नाममा नापी भई दर्ता श्रेस्ता खडा भएको मितिले जग्गा मिच्नेको १८ नं. को म्याद दुई वर्ष भित्र वादीको फिराद दर्ता भएको नदेखिएको हुँदा वादी दावी खारेज गर्ने गरेको डिभिजन बेञ्चको इन्साफ मनासिव ठहर्छ । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा हामी सहमत छौं ।
न्या.धनेन्द्र बहादुर सिंह
न्या.सुरेन्द्र प्रसाद सिंह
इतिसम्वत् २०४२ साल आषाढ २८ गते रोज ६ शुभम् ।