June 13, 1985
Created by nepalarchives

निर्णय नं. २३१३ – पर्चा बदर समेत

निर्णय नं. २३१३     ने.का.प. २०४२      अङ्क ३   डिभिजन बेञ्च माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४० सालको...

निर्णय नं. २३१३     ने.का.प. २०४२      अङ्क ३

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४० सालको दे.फु.नं. ५७२

मुद्दा : पर्चा बदर समेत ।

 

पुनरावेदक/प्रतिवादी: वागमती अंचल नुवाकोट जिल्ला त्रिशुली गा.पं. ८ वडा त्रिशुली बजार बस्ने जोहरण मियाँ ।

विरूद्ध

विपक्षी/वादी: बागमती अंचल नुवाकोट जिल्ला त्रिशुली गा.पं. ४ वार्ड वगवा बजार बस्ने खड्गमान श्रेष्ठ ।

फैसला भएको मिति :      २०४२।२।३१।५ मा

     कुनै व्यक्ति जग्गा चलन गर्न आउँदैमा यो यति कारण एवं आधारमा जग्गा चलन गर्न आएको भनी थाहा हुने स्थिति पर्दैन, जग्गा चलन गर्न आएको कारण एवं आधार पत्ता लगाउनै पर्छ, त्यस्तो पत्ता नलागेसम्म जग्गा चलन गर्न आएको कारण वादीलाई जानकारी हुन सक्दैन ।

(प्रकरण नं.१६)

पुनरावेदक प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल

विपक्षी वादी तर्फवाट:विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी

उल्लेखित मुद्दाःX

फैसला

न्या.त्रिलोक प्रताप राणाः मध्यमान्चल क्षेत्रीय अदालतले गरेको फैसलामा पुनरावेदनको अनुमति प्राप्त गरिआएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छन् :

२.    पूर्व छेउखी खोला दोभान र पुरानो मूल बाटो, पश्चिम राईसिंगे बगर केही सामरी बगर र सामरी खोला, उत्तर बाटोको हाल सु.वीर बहादुर के.सी.को समेत राईसिंगे खेत, दक्षिण सामरी खोला समेतको ४ किल्लाभित्रको दलबहादुरबाट मेरा पिता गणेशमानले राजीनामा गरिदिनु भएको सामरी बगर भन्ने खेत माटो ६ जग्गा पिता पछि मेरो हक भोगचलन तिरोको हुँदा ०३३ साल तक अविच्छिन्न भोगचलन गरिआएको छु ।  विपक्षीमध्ये रहिमुल्ला मियाँ समेतको र मेरो पितासँगको लुटपीट मुद्दामा ०२७।९।१६ मा र खिचोला मुद्दा ०२८।१।७ मा र चन्द्रलालसँगको जग्गा मुद्दामा ०२७।९।१६ मा समेत जग्गा पिता गणेशमानको हक कायम भई फैसला भएको छ। पिता गणेशमान, विष्णेलाल श्रेष्ठ र चन्द्रमानसँगको आयस्ता बाली भराई जग्गाबाट हटाई पाउँ भन्ने मुद्दामा भूमि सुधारको ०३३।१०।२७ को मिलापत्रबाट जग्गा मेरो हक कायम भएको छ । विष्णुलाल र पिता समेतको दोहरा दर्ता मुद्दामा जग्गा पिताको ठहराई ०३३।८।२३ मा नुवाकोट मालबाट पर्चा भएको छ । पूर्व गणेशमानको केउरेनी दोभान खेत ।६ को साँध, पश्चिम राईसिंगे खोला र सामरी खोला दोभान, उत्तर सु.वीर बहादुर के.सी.को खेत ।२२।१० को साँध, दक्षिण सामरी खोला ४ किल्ला भित्रको राईसिंगे बगर गणेशमानसँग मुद्दा पर्दा बा.अं.अ. बाट समेत मैले जिती पाएको जग्गा दर्ता गरिपाउँ भनी रहिमुल्लाले नुवाकोट मालमा दिएको ०३१।७।१९ को निवेदनमा चाँडो कारवाही गरिदिनु भन्ने हु.प्र.बक्स पाउँ भनी ०३२।५।२७ को बिन्तिपत्र समेतबाट रहिमुल्लाका नाउँमा तिरो सकार गरिदिएको र प्रकरण १ मा लेखिएको मेरो जग्गा एउटै हो, रहिमुल्लाको नाउँमा तिरो सफाई गरिदिएको जग्गा र प्रकरण १ मा लेखिएको मेरो जग्गा एउटै हो, रहि मुसलमानको बिन्तिपत्र र सरजमीन समेतको आधारमा निवेदन दावीको उत्तर किल्ला सरजमीनले देखाएको राईसिंगे बगर खेत कायम गरी पुरानो दर्ताको खेत माटो ४४ मध्ये, २२ न.पं.को ८ नं. बमोजिम निवेदकवालाबाट ०२२ सालदेखि ०३० साल तकको तिरो रू. ११४।४० असूल गरी निवेदक रहि मुसलमानका नाउँमा दर्ता नम्बरी गरी जग्गा चलन पुर्जी दिने ठहर्छ भनी मालबाट ०३८।८।२८ गते पर्चा गरिदिएको रहिमुल्लाले ०३४।२।१३ गते जग्गा चलन गर्न आएबाट ०३४।४।३ मा नक्शा सारी थाहा हुन आएकोले अधिकृतलाई ०३४।८।७ गते नोटिस दिई उजूर गर्न आएको छु । नुवाकोट मालबाट ०३३।८।२८ को मितिमा भएको पर्चा सहित सम्पूर्ण कार्यवाही बदर गरी मबाट रहेको कोर्टफी समेत भराई पाउँ भन्ने समेत मिति ०३४।१२।६ को फिरादपत्र रहेछ ।

३.    ऐन कानुन र नियम बमोजिमको पर्चा हुँदा बदर गरिपाउँ भनी विपक्षीको फिराद छ यो फिराद दर्ता हुन सक्ने होइन माल कार्यालयले दर्ता गरेको जग्गा विपक्षीको हो भन्ने विपक्षीले सम्बन्धित जिल्ला अदालतमा गई दर्ता बदर गराउन सक्नु पर्दछ सो सके विपक्षीको हक स्थापित हुने हो । नागरिक अधिकार ऐन अन्तर्गत दावाबाट निर्विवाद हक स्थापित भएको अभावमा निर्णय पर्चा बदर हुन नसक्ने कानुनी आधारबाट विपक्षीको फिराद खारेज गरिपाउँ भन्ने समेत नुवाकोट मालका माल अधिकृत नारायणप्रसाद पन्तको मुख्य जिकिर रहेछ ।

४.    गाउँफर्क अभियानको सिलसिलामा त्रिशुली गा.पं.बाट सिफारिश दिनु भएको राईसिंगे बगर जग्गा दर्ता गर्न नुवाकोट मालमा दर्खास्त दिई खेत ।६४ को ।४४ मध्येको खेत ।२२ खान्गी खारेज भई आएपछि साविक मोही हकदार कसैले कबोलै नगरी नुवाकोट मालमा बेपत्ता लगत रही सरकारको तिरो नोक्सानी भइरहेको मैले थाहा पाई सो खेत मेरो नाउँमा सकार गरी दर्ता गरिपाउँ भनी ०३२।५।२७ मा श्री ५ महाराजाधिराजका हजूरमा दिएको बिन्ति चढाउँदा बक्सेको हु.प्र.बमोजिम स्थानीय पञ्चायत सँधियार भलादमी बुझ्दा सो खेत ।२२ मेरा नाउँमा सकार दर्ता गर्न हुने भनी लेखिदिए अनुसार ०३३।८।२८ गते चलन पुर्जी गरिदिएको हो र सो देखि भोग गरिआएको छु पर्चा बहाली बमोजिमको जग्गा मेरो सदर गरिपाउँ भन्ने समेत रहिमुल्लाको प्रतिउत्तरपत्र ।

५.    वादी पक्षलाई बुझ्दै नबुझी निर्विवाद अवस्था स्थापित भएको नदेखिए पछि जग्गा आवाद गर्नेको नम्बर ६ को देहाय ३ ले पनि निवेदक प्र.रहिमुल्ला मियाँको नाउँमा दर्ता गरिदिने पर्चा माल कार्यालयले खडा गर्नु सोही ऐनको विपरीत देखिएकोले वादी दावी अनुसार  प्र.रहिमुल्ला मियाँको नाउँमा सो जग्गा दर्ता गरिदिने ठहराई गरेको नुवाकोट जिल्ला माल कार्यालयबाट भएको ०३३।८।२८ को पर्चा बदर गरी पाउने ठहर्छ भन्ने समेत व्यहोराको मिति ०३८।२।२८ गतेको बा.अं.अ.को शुरू फैसला ।

६.    उक्त फैसलामा चित्त बुझेन भन्ने समेत प्रतिउत्तर रहिमुल्ला मियाँको मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।

७.    वादीले दावी गरेको जग्गा माटो मुरी ६ भएको कुरामा कुनै विवाद नभएको ०३३।८।२८ को नुवाकोट माल कार्यालयबाट भएको पर्चाद्वारा रहिमुल्ला मियाँको नाउँमा दर्ता हुन आएको प्रतिवादी रहिमुल्लाको उक्त जग्गामा निर्विवाद रूपले हक पुग्न सक्ने हो वा होइन भन्ने मुख्य प्रश्न रहेको प्रस्तुत मुद्दामा नुवाकोट मालबाट ०३३।८।२८ मा पर्चा खडा गरी प्रतिवादी रहिमुल्लाको नाउँमा दर्ता गरिदिने ठहर्‍याउँदा ०३३।४।१३ को सरजमीन मुचुल्कालाई मुख्य आड लिएको देखिन्छ । तर उक्त ०३३।४।१३ को सरजमीन मुचुल्का कानुनी रीतपूर्वक नभएको कुरा मिसिलमा संलग्न सरजमीन मुचुल्काको कागजबाट देखिन्छ । सरजमीनको व्यहोरा लेख्दा आआफ्नो भएको व्यहोरा छुट्याई लेख्नु पर्नेमा सो समेत भएको देखिँदैन । विवादग्रस्त जग्गाको उत्तरपट्टिको सँधियार सु.वीर बहादुर के.सी.ले उक्त जग्गा वादीकै हकको हो, प्रतिवादी रहिमुल्लाको नाउँमा दर्ता गर्न नमिल्ने हो भन्ने समेत व्यहोराको सरजमीन मुचुल्का लेखाएको देखिन्छ । दर्तावाला र हकभोग गरी रहेको गणेशमान र वादीको नाउँ समेत उल्लेख भएको देखिएपछि निज वादी पक्षलाई पनि अ.बं. १३९ नं. बमोजिम बुझ्नुपर्नेमा नबुझी प्रतिवादी रहिमुल्लाको निर्विवाद हक भएको सम्झी दर्ता गरिदिन नमिल्ने हुन आउँछ । हक बेहक देखिएपछि वादी पक्षलाई बुझ्नुपर्नेमा र हक बेहक देखिएको जग्गा आवाद गरेको रहेछ भने हक बेहकको मुद्दा हेर्ने अड्डाबाट निर्णय गराई आएपछि ठहरे बमोजिम हुनेछ भनी दर्खास्तवालालाई सुनाई दिनुपर्छभन्ने मुलुकी ऐन जग्गा आवाद गर्नेको ६(३) नं.को व्यवस्था रहेको देखिँदा सो समेत रीत पुर्‍याई सुनाउनु पर्नेमा रीतपूर्वकको नपुर्‍याई प्रतिवादी रहिमुल्ला मियाँको नाउँमा दर्ता गराई दिने पर्चा माल कार्यालयले खडा गर्न जग्गा आवादी गर्नेको ६(३) नं. विपरीत देखिएकोले वादी दावी अनुसार प्रतिवादी रहिमुल्ला मियाँको नाउँमा सो जग्गा दर्ता गरिदिने ठहराई गरेको नुवाकोट जिल्ला माल कार्यालयबाट भएको ०३३।८।२८ को पर्चा बदर गरी पाउने ठहराई बामगती अञ्चल अदालतले गरेको इन्साफ मिलेको देखिँदा सदर हुन्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन भन्ने मध्यमान्चल क्षेत्रीय अदालतको मिति ०४०।७।८।३ को फैसला ।

८.    उक्त फैसलामा पुनरावेदनको अनुमति पाउँ भन्ने यस अदालतमा निवेदन दिएकोमा निवेदकको वारेस राधाकृष्णलाल झाले ०४० साल चैत्र ३० तीस गतेको तारेखक तोकी तारेख गुजारी बसेको र आजसम्म थामे थमाएको समेत नदेखिएकोले अब प्रस्तुत निवेदनबाट कुनै कारवाही गरी रहनु परेन । तामेलीमा राखी दिनु भन्ने मिति ०४१।२।२४।४ को आदेश ।

९.    निवेदिका जोहरण विविमियाको वारेस राधाकृष्ण झाले विशेष जाहेरी विभाग मार्फत श्री ५ महाराजाधिराज सरकारको हजूरमा बिन्तिपत्र चढाई गुज्रेको उक्त तारेख थमाई ल्याएको देखिँदा प्रस्तुत निवेदन तामेलीबाट जगाई दर्ता गराई नियमानुसार पेश गर्नु भन्ने यस अदालतको मिति ०४१।४।१०।४ को आदेश ।

१०.    शुरू मिसिल बा.अं.अ. र रेकर्ड मिसिल मध्यमान्चल क्षेत्रीय अदालत समेत जहाँ छ झिकाई आएपछि पेश गर्नु भन्ने मिति ०४१।४।२४।४ को आदेश ।

११.    माल कार्यालयको मिति ०३३।८।२८ को निर्णय पर्चा बमोजिम रहिमुल्ला मियाँले मिति ०३४।३।१३ मा विवादको जग्गा चलन गर्न आएबाट नै मुद्दा गर्नु  पर्ने कारण परेकोमा ८ महिना पछि मात्र ऐनको हदम्याद नघाई मिति ०३४।१२।६ मा नागरिक अधिकार ऐन, ०१२ को दफा २० अन्तर्गत परेको फिराद खारेज गर्नु पर्नेमा शुरू बा.अं.अ.बाट इन्साफ गरेकोलाई सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा उपरोक्त ऐनको प्रत्यक्ष गम्भीर त्रुटि भई न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(५)(ख) को अवस्था विद्यमान देखिँदा प्रस्तुत मुद्दामा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने समेत मिति ०४१।५।३१।१ को आदेश ।

१२.   पुनरावेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेलले ०३३।८।२८ मा निर्णय मालबाट भयो । चल्ती पुर्जी पनि रहिमुल्ला मियाँलाई दिएको हुनाले वादीको निर्विवाद हक छैन । अतः नागरिक अधिकार ऐन लाग्दैन तसर्थ क्षेत्रीय अदालतले जुन निर्णय गरेको छ सो निर्णय बदर हुनुपर्छ भन्ने र विपक्षी खड्गमान श्रेष्ठतर्फका विद्वान व.अ. श्री मुकुन्द रेग्मीले क्षेत्रीय अदालतले गरेको निर्णयमा कुनै कानुनी त्रुटि नहुँदा उक्त निर्णय सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।

१३.   प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतले गरेको निर्णय मनासिव या बेमनासिव के रहेछ सो कुराको निर्णय दिनु परेको छ ।

१४.   यसमा वादीले दावी गर्दा मेरो हकभोगको पूर्व सीमाना मूल बाटो र पुरानो मूल बाटो मुनि पश्चिम पट्टिको नयाँ बाटो सीमाना कायम गरी अ.खेत माटो ।।५ बाँकी अरू सम्पूर्ण जग्गा रहिमुल्लालाई दिलाई जग्गा पजनी गरी हक बेहक गरी पर्चा समेत गरिदिएको कुरा रहिमुल्लाले ०३४।३।१३ गते जग्गा चलन गर्न आएबाट ०३४।४।९ गते नुवाकोट मालमा गई हेर्दा पर्चा गरिदिएको कुरा थाहा भई पर्चा र बहाली पुर्जीको नक्कल सोही दिन सारी हेर्दा कानुन बेगर मेरो व्यक्तित सम्पत्ति अपहरण गरिएको कुरा यकीन थाहा हुन आएकोले मुद्दा चलाउनु पर्ने कारण परी नेपाल निजामती सेवा ऐन, ०१३ को दफा १०(१)(२) बमोजिम विपक्षी मालपोत अधिकृतलाई ०३४।८।७ गते हु.द्वारा नोटिस दिएको, त्यसको एक प्रतिलिपि श्री ५ को सरकारमा पेश गरिनु नुवाकोट मालको पर्चा बदर गरी पाउन नागरिक अधिकार ऐन, ०१२ को दफा २० बमोजिम उजूर गर्न आएको छु भन्ने आफ्नो फिरादमा उल्लेख गरेको पाइन्छ ।

१५.   ०३४।३।१३ गते चलन गर्न जाँदा उक्त जग्गा मालको पर्चा बमोजिम प्रतिवादीको नाउँमा कायम भएको कुरा वादीलाई थाहा भएकोले सो मितिले अन्तिम महिनाभित्र वादीको फिराद नपरेकोले प्रस्तुत फिराद हदम्याद नाघेको छ भन्ने पुरावेदनको अनुमतिमा भएको आदेशको बुँदालाई समर्थन गर्दै वादीको नालेश खारेज हुनुपर्छ भन्ने पुनरावेदक प्रतिवादीतर्फका विद्वान अधिवक्ताको बहस भएकोमा ०३४।३।१३ गते प्रतिवादी रहिमुल्लाको जग्गा चलन गर्न जाँदैको अवस्थामा विवादको पर्चा भएको कुरा वादीलाई थाहा भएको देखिन्न । नुवाकोट मालबाट प्रतिवादीको नाममा भएको पर्चा बहाली पुर्जी रहिमुल्लाले देखाई त्यस्तो जग्गा चलन गर्न आएको वादीको फिराद भनाई पनि छैन । प्रतिवादी रहिमुल्ला जग्गा चलन गर्न आएपछि के कति कारण एवं आधारबाट रहिमुल्लाले जग्गा चलन गर्न आयो, उक्त कुरा वादीले यकीन गर्नुपर्ने स्थिति पर्छ । जग्गा प्रतिवादी रहिमुल्लाले चलन गर्न आएको कारणबाट जग्गा खिचोला हुन गएको कुरासम्म वादीको जानकारीमा आएकोमा विवाद छैन । तर नुवाकोट मालबाट पर्चा भएको कुरा सोही दिन वादीलाई थाहा हुने स्थिति पर्दैन । प्रस्तुत मुद्दा जग्गा खिचोला मुद्दा होइन । पर्चा बदर गरिपाउँ भन्ने वादीको फिराद हुँदा अघि नै त्यस्तो पर्चा भएको कुरा वादीलाई थाहा भएको अवस्थामा बाहेक पर्चाको नक्क्ल लिएपछि मात्र कोको केकस्तो तरिकाबाट केकस्तो निर्णय गरी वादीको हक हितमा प्रतिकूल पर्ने गरी निर्णय गरेछन् सो वादीलाई थाहा हुने स्थिति पर्छ ।

१६.    अतः पर्चा बदर गरिपाउँ भन्ने स्थितिको  मुद्दामा प्रतिवादी जग्गा चलन गर्न आएको मिति ०३४।३।१३ ले आठ महिनाभित्र पर्चा बदर गराउन वादी आउन पर्छ भन्न मिल्ने होइन । हुन पनि कुनै जग्गा चलन गर्न आउँदैमा यो यति कारण एवं आधारमा जग्गा चलन गर्न आएको भनी थाहा हुने स्थिति पर्दैन । जग्गा चलन गर्न आएको कारण एवं आधार पत्ता लगाउनै पर्छ । त्यस्तो पत्ता नलागेसम्म जग्गा चलन गर्न आएको कारण वादीलाई जानकारी हुन सक्दैन। अतः पर्चाको नाम लिएपछि वस्तुस्थितिको जानकारी हुन आउने हुँदा पर्चाको नक्कल लिएको मितिले आठ महिनाभित्र वादीको नालिश हुँदा हदम्याद भित्रको नालेश छैन भन्न मिलेन । नुवाकोट मालको पर्चा बमोजिम प्रतिवादीको नाममा दर्ता भएको जग्गालाई मिति ०२७।९।१६ को फैसला र मिति ०३३।१०।२७ को मिलापत्रबाट आफ्नो हक देखाई वादी पर्चा बदर समेत तर्फबाट फिराद गर्न आएको देखिन्छ ।

      १७.   विवादको जग्गामा वादीको हकै छैन र पर्चा बमोजिम दर्ता गरेको जग्गा र वादी दावीको जग्गा एउटै नभई बेग्लाबेग्लै हो भन्ने नुवाकोट माल अधिकृतको प्रतिवाद भनाई देखिन्न।

१८.   अतः नुवाकोट माल कार्यालयबाट भएको ०३३।८।२८ को पर्चा बदर हुने ठहराएको शुरू बा.अं.अ.को इन्साफ मनासिव ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको निर्णय मनासिव ठहर्छ । कोर्टफी दायर भएको हुँदा कसैलाई केही गर्नु परेन । नियम बमोजिम गरी मिसिल बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४२ साल ज्येष्ठ ३१ गते रोज ५ शुभम् ।