निर्णय नं. २३११ – हक कायम समेत
निर्णय नं. २३११ ने.का.प. २०४२ अङ्क ३ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४० सालको दे.पु.नं....
निर्णय नं. २३११ ने.का.प. २०४२ अङ्क ३
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री बब्बर प्रसाद सिंह
माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
सम्वत् २०४० सालको दे.पु.नं. ६४२
मुद्दा : हक कायम समेत ।
पुनरावेदक/प्रतिवादी:भक्तपुर जिल्ला भ.पु.न.पं.वार्ड नं. ७ गोलमडी बस्ने ज्ञानलाल गोसाई ।
विरूद्ध
विपक्षी/वादी:भ.पु.न.पं.वार्ड नं. १३ बस्ने मदुसुदन राजोपाध्या ।
ऐ.ऐ वार्ड नं.८ बस्ने राम कर्माचार्य ।
ऐ.ऐ वार्ड नं. ११ कलाक्षे बस्ने कृष्णचरण अमात्य ।
ऐ.ऐ वार्ड नं. ७ गोलाडी बस्ने प्रेम बहादुर पालिखे।
ऐ.ऐ बस्ने गणेश दास ।
ऐ.ऐ बस्ने सुर्य बहादुर ।
ऐ.ऐ बस्ने गणेश बहादुर ।
ऐ.ऐ बस्ने टेक बहादुर ।
ऐ.ऐ वार्ड नं. १३ बस्ने रुद्र भक्त मुलेपती ।
ऐ.ऐ वार्ड नं. १४ बस्ने काजी बहादुर अमात्य ।
ऐ.ऐ बस्ने राम भक्त अमात्य ।
ऐ.ऐ वार्ड नं. १४ हरिभक्त अमात्य ।
ऐ.ऐ बस्ने वार्ड नं.७ गोकाडी बस्ने ललित बहादुर पालिखे ।
ऐ.ऐ बस्ने जगत नन्द पालिखे ।
ऐ.ऐ वार्ड नं.११ बस्ने वालमुकुन्द ।
फैसला भएको मिति:२०४२।२।३१ मा
झुक्याई कबुलियत गराएको भए त्यस्तोलाई ऐनको म्यादभित्र बदर गराउन पर्ने ।
(प्रकरण नं.१७)
फैसला
न्या.बब्बर प्रसाद सिंहः श्री मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझी प्रतिवादी ज्ञानलाल गोसाइको पुनरावेदनको अनुमति पाउँ भनी पर्न आएको निवेदनमा अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर निम्न प्रकार छन् ।
२. भ.पु.न.पं.वार्ड नं. ७ गोलमढीको पूर्व हर्षबहादुर नाइके भएको गुठीको गुसिपको किलास पश्चिम ऐ.का गौरीनारायण मास्के नाइके भएको गुठीको गुसिपको उत्तर बाटो र दक्षिण ऐ.का श्रीभक्तको बगैंचा यति ४ किल्ला भित्रको २ कवले एकनाले २ तले पराले छानाको ढोका र दुइटा पोखरी राज भएको श्री भिमसेनमा बलीपूजा गर्नुपर्ने मुर्दा गुठीको गुसिपको घर हामीहरूको गुठीको हक भोग चलनको गुठी दाउरा राख्ने छिंडीको ठाउँ छाडी बाँकी पाताल भाग सालको बहाल रू. ४। लिने गरी विपक्षीलाई बस्न दिई भत्के बिग्रेमा सालको एकपटक पराले छाना लगाउने समेत गरी ०१४।९।१६ मा बहाल कबुलियत गरी विपक्षी बसी आएको सो घर भत्काई बनाउन भ.पु.न.पं.मा दर्खास्त गर्दा उक्त दर्खास्त बदर गरिपाउँ भनी विपक्षीको उजूरीमा नक्सा बमोजिम घर बनाउन पाउने गरी ०३२।२।२७ मा भ.पु.न.पं.बाट पर्चा भई ०३२।१२।४ मा न.पं.सभाबाट सदर भई सो पर्चा उपर विपक्षीको रिट सर्वोच्चमा परी न.पं.को निर्णय बदर भएकोले सो घरजग्गा आफ्नो भनी खिचोला हुँदा ऐनको म्यादभित्र फिराद गर्न आएका छौं हामीहरूको गुठीको हक कायम गरिपाउँ भन्ने फिराद दावी ।
३. वादी दावीको घर गुसिपको घर होइन सो घर सोबासी परापूर्वदेखि भोगचलन गरी बसी आएको घर हो वादीहरूको गुसिपको घर भए त्यस कुराको प्रमाण हुनु पेश गर्नुपर्ने सो गर्न सकेको छैन । विपक्षीहरूको माग अनुसार धर्म विचारले सो घरको पूर्वतर्फको छेडी कबलमा वादीहरूलाई गुसीप राख्नसम्म दिएको थियो । त्यही नाताले विपक्षीहरूले जम्मै घर आफ्नो बनाउन षडयन्त्र गरेको मात्र हुन् वास्तवमा घर मेरै हो वादीहरूले भ.पु.न.पं.मा दर्खास्त गर्दा उल्लेख नगरेका हाल नालिश गर्दा कबुलियतको प्रमाण दिएको देखियो, सो कबुलियत देख्न पाए नामाकरण गर्ने छु झुठ्ठा फिराद दावीबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको प्रतिउत्तर रहेछ ।