August 29, 1994
Created by nepalarchives

निर्णय नं. ५०६३ – मिलापत्र बदर

निर्णय नं. ५०६३   ने.का.प. २०५२ अङ्क २   संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने सम्वत् २०४९ सालको दे.पु.नं. ४६२...

निर्णय नं. ५०६३   ने.का.प. २०५२ अङ्क २

 

संयुक्त इजलास

माननीय न्यायाधीश श्री उदयराज उपाध्याय

माननीय न्यायाधीश श्री नरेन्द्रबहादुर न्यौपाने

सम्वत् २०४९ सालको दे.पु.नं. ४६२

फैसला मिति  : २०५१।५।१३।२

मुद्दा : मिलापत्र बदर ।

 

पुनरावेदक/वादी: चितवन जिल्ला दारेचोक गा.वि.स. वडा नं. ३ कुरिनटार बस्ने     इन्द्रकुमारी सिलवालको वा. भै आफ्नो हकमा समेत ऐ.ऐ. बस्ने याम प्रसाद सिलवाल ।

विरुद्ध

विपक्षी/प्रतिवादी: ऐ. ऐ. बस्ने ललिता देवी सिलवाल ।

ऐ.ऐ बस्ने गोम प्रसाद सिलवाल ।

 

    बाबुले पाउने अंशबाट मात्र छोरा स्वास्नीले अंश पाउने स्थिति भएकोले बाबुले  निजकी भाउजुसग गरेको मिलापत्रबाट यो पुनरावेदक वादीहरुका  हक हितमा असर पर्‍यो भन्न  सकिने

अवस्था नदेखिने ।

(प्रकरण नं. ९)

निवेदक तर्फबाटःX

विपक्षी तर्पबाटःX

अवलम्बित नजीरःX

फैसला

न्या.उदयराज उपाध्यायःपुनरावेदन अदालत हेटौंडाको फैसला उपर पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकार छ :

२.  बाजे अम्बरप्रसादको २ छोरा चन्द्रप्रसाद र गोमप्रसाद अम्बर प्रसाद र बज्यै अगिनै परलोक भै सक्नु भएको पति पिता गोमप्रसाद इन्द्र प्रसादको श्रीमती ललिता देवी २ अंशियार हुनु भएकोमा घरसारमा अंशबण्डा मिल्न नसकी पिता गोमप्रसादले ललितादेवी उपर अंश मुद्दाको फिराद दर्ता गरी ०४५।१।८ गते मिलापत्र गर्नु भएको छ । नरम गरम मिलाई अंशबण्डा गर्नु पर्नेमा सो बमोजिम नलगाई धेरै फरक पर्ने गरी मुङ्गिलिङटारको जि.चितवन गा.वि.स.दार चोक वडा नं. २ बाट कि.नं. १२ को ज.वि. ०६ को घडेरी जग्गाको ०३३ सालमा मानो छुट्टिएपछि आफ्नो एकलौटी सम्पत्ति लगाई बनाएको घर समेत ललितादेवीको अंश भागमा पर्ने गरी राम्रो जग्गा ललिता देवीको अंशभागमा पर्ने गरी पारित तथा अंशभाग लाग्न पर्ने कित्ता जग्गाहरु समेत सो मिलापत्रमा उल्लेखै नगरी मिलापत्र गरेका रहछन् । बाजे अमरप्रसादकै पाला देखिको पैत्रिक सम्पत्ति ललिता देवीको अंशियार पति गोमप्रसादको अंश हकबाट खान पाउने गोमप्रसादको श्रीमती तथा छोरा हामी वादीहरु समेतको अंश हक समेतको हक जाने गरी मिलापत्र गरेको हुनाले हामी सबै अंशियारको नरम गरम लिाई समान अंशभाग लगाई खान पाउने हुनाको लागि मिति ०४५।१।८।४ मा भएको मिलापत्र बदर गरी पाउँ भन्ने समेत व्यहोराको फिरादपत्र ।

३.  छोरा तथा स्वास्नी बाबु तथा लोग्नेको अंशबाट वादीहरुले अंश पाउने व्यक्ति हुँदा वादीहरुले गोम प्रसादको अंशबाट अंश लिन पाउने हुँदा मेरो अंश सम्बन्धी मामिलामा वादीको र मेरो प्रत्यक्ष सम्बन्ध नहुने वादीका पति पिता गोमप्रसादले अंश मुद्दा दिई दावी लिने व्यक्तिले नै मिलापत्र गर्नु भएको छ र सो मिलापत्रलाई अन्यथा भन्नु भएको छैन । ०४५।१।८ को मिलापत्रबाट कुनै अन्तर पारेको छैन तसर्थ हकदैया विहीन कुरामा फिराद गरेको वादीको फिराद दावी खारेज गरी मुद्दाबाट फुर्सद पाउँ भन्ने समेत व्यहोराको ललिता देवीको प्रतिउत्तरपत्र ।

४.  मिलापत्र गर्दा वादीको मञ्जुरी पनि लिएको नदेखिएकोले ०४५।१।८।४ मा भएको मिलापत्रबाट वादीहरुको भागमा पर्ने घर निजहरुले नपाए निजहरुको हक मेटिन गै निजहरुलाई असर परेको हुँदा उक्त मिलापत्र बदर गरी दिएको छ भन्ने समेत व्यहोराको चितवन जिल्ला अदालतको फैसला ।

५.  चितवन जिल्ला अदालतले वादी दावी अनुसार मिलापत्र बदर गरेको इन्साफमा मेरो चित्त बुझेन उक्त फैसला उल्टी गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक प्रतिवादीको नारायणी अञ्चल अदालतमा परेको पुनरावेदनपत्र ।

६.  यसमा स्वास्नी छोराले आफ्नो लोग्ने बाबुको अंशमा मात्र भाग पाउने हुँदा बाबुले नै मिलापत्र गरी आफूले पाउनु पर्ने अंशभागमा चित्त बुझाई बसेको अवस्थामा हाम्रो भागमा असर पर्‍यो भनी आउने अवस्था नरहेको हँदा शुरु जिल्ला अदालतले वादीहरुको मञ्जुरी नलिएको आधारमा मिलापत्र बदर गरेको फैसला मनासिब नहुँदा उल्टी हुने ठहर्छ भन्ने समेत व्यहोराको मिति २०४८।१२।१० को पुनरावेदन अदालत हेटौंडाको फैसला ।

७.  पुनरावेदन अदालत हेटौंडाको फैसलाबाट हामीलाई मर्का परेकोले उक्त फैसला उल्टी गरी शुरु चितवन जिल्ला अदालतको फैसला सदर कायम गरी पाउँ भन्ने समेत व्यहोराको पुनरावेदक वादीहरुको यस अदालतमा पर्न आएको पुनरावेदन

८.  नियम बमोजिम पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी समेतका यामप्रसाद सिलवाललाई रोहवरमा राखी निजले गरेको छलफल समेत सुनी मिसिल अध्ययन गरी हेर्दा यसमा पुनरावेदन अदालत हेटौंडाको इन्साफ मिलेको छ छैन भन्ने कुरामा निर्णय दिनु पर्ने देखियो ।

९.  यसमा पुनरावेदक वादीहरुका बाबु तथा लोग्ने गोमप्रसादले आफूले पाउने अंश लिई भाउजु ललिता देवी सिलवालसँग मिति २०४५।१।८ मा मिलापत्र गरेको देखिन्छ । बाबु तथा लोग्नेले आफूले पाउने अंशभागको घरजग्गा मध्ये प्रत्येक कित्ताबाट अंशलिई मिलापत्र गरेको देखिन्छ । बाबु तथा लोग्नेले पाउने अंशबाट स्वास्नी छोरले अंश पाउने कानुनी व्यवस्था अंशबण्डाको ५ नं. ले गरेको पाइन्छ । बाबुले पाउने अंशबाट मात्र छोरा स्वास्नीले अंश पाउने स्थिति भएकोले बाबुले निजकी भाउजुसँग गरेको लिापत्रबाट यी पुनरावेदक वादीहरका हक हितमा असर पर्‍यो भन्न सकिने अवस्था नदेखिँदा शुरु इन्साफ उल्टी गरी वादी दावी नपुग्ने ठहर्‍याएको पुनरावेदन अदालत हेटौडाको इन्साफ मिलेको देखिँदा मनासिब ठहर्छ । पुनरावेदक वादीहरुको पुनरावेदन जिकिर पुग्न सक्तैन । मिसिल नियमानुसार गरी बुझाई दिनु ।

 

उक्त रायमा म सहमत छु

 

न्या.नरेन्द्रबहादुर न्यौपाने

 

इतिसम्वत् २०५१ साल भाद्र १३ गते रोज २ शुभम्