निर्णय नं. २२७१ – हक कायम गरी खिचोला मेटाई पाउँ
निर्णय नं. २२७१ ने.का.प. २०४२ अङ्क २ फुल बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा माननीय न्यायाधीश श्री...
निर्णय नं. २२७१ ने.का.प. २०४२ अङ्क २
फुल बेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री त्रिलोक प्रताप राणा
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४१ सालको दे.फु.नं. ६३
मुद्दा : हक कायम गरी खिचोला मेटाई पाउँ ।
निवेदक/वादी:जि.ललितपुर,ललितपुर नगर पंचायत वा.नं.१२ इखाटोल बस्ने ठूलो भाइ हलुवाइ ।
ऐ.ऐ बस्ने सानो भाई हलुवाई।
विरूद्ध
विपक्षी/प्रतिवादी: ऐ.ऐ. वडा नं. १४ मंगलबजार बस्ने नारायण गोविन्द हलुवाई।
फैसला भएको मिति:२०४२।२।१।३ मा
प्रतिवादीको नाउँमा स्पष्ट रूपबाट दर्ता नभएको स्थितिमा वादीको नालिश गर्ने हदम्याद गइसकेको भन्न मिल्ने देखिएन ।
(प्रकरण नं.१५)
निवेदक/वादी तर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेल
विपक्षी/प्रतिवादी तर्फबाट: विद्वान वरिष्ठ अधिवक्ता श्री शम्भु प्रसाद ज्ञवाली
फैसला
न्या.सुरेन्द्र प्रसाद सिंहः सर्वोच्च अदालत डिभिजन बेञ्चको निर्णय उपर निवेदकहरूको न्यायिक समिति मार्फत श्री ५ महाराजाधिराजका जुनाफमा बिन्तिपत्र पर्दा नेपालको संविधानको धारा ७२(ख) बमोजिम दोहर्याई दिनु भन्ने हुकुम प्रमाङ्गी बक्स भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।
२. नन्दवीर र हाम्रो बाबु तथा बजै लक्ष्मीकुमारी समेत १९७८।११।१२ मा बण्डापत्र गरी छुट्टिँदा थछेखेल भन्ने खेत रोपनी २ समेतको जग्गा श्राद्ध गुठी राखी सबै अंशियारले आलोपालो गूठी चलाई भोगी आएको उक्त जग्गा हाल सर्भे नापी हुँदा ल.पु.न.पं. वार्ड नं. ५ कि.नं. ७० मा जग्गा रोपनी १–०–२ भई जग्गावालामा हाम्रा बाबु नन्दकृष्णको नाउँमा र विपक्षी नन्दबहादुरको नाउँमा अर्थात नन्दकृष्ण भन्ने नन्दबहादुर उल्लेख गरी मोहियानीमा जनकलाल श्रेष्ठ जनिएको र किसानको व्यहोरामा यो जग्गा नन्दकृष्णलाई १।५ तिरी मेरो बाबुले जोती आएको भन्ने उल्लेख गरिएको समेत छ । प्रतिवादीका बाबुले मेरा नाउँ नन्दबहादुर मात्र कायम गरी ट्रायल चेक गरिपाउँ भनि भु.सु.का.ल.पु.मा निवेदन दिई ट्रायल चेक गर्दा जग्गा रोपनी १–२–० हुन आएको कुरा हामीले थाहा पाई विपक्षका नाउँमा दर्ता हुन र प्रमाणपूर्जा हुनपर्ने होइन भनी हामीले निवेदन दिएकोमा उक्त जग्गा नन्दवीरका नाउँमा दर्ता गरिदिने भन्ने उक्त कार्यालयबाट ०३२।८।११ मा भएको निर्णय यस सर्वोच्च अदालतमा हाम्रो रिट निवेदन परेकोमा नन्दबहादुर परलोक भई विपक्षीले सकार गरेको उक्त निर्णय बदर भएको अवसरमा कसका नाउँमा जग्गा दर्ता गरी ज.ध.प्र. पूर्जा दिनुपर्ने हो । जिल्ला अदालतबाट छुट्याई आएका बखत पुनः निवेदन दिएमा कारवाही हुने भनी हाम्रो निवेदन तामेलीमा राख्ने सो कुरा सुनाई दिने भनी उक्त भू.प्र.का.ल.पु.बाट ०३४।२।४ मा आदेश भएकोले उक्त जग्गा हामीहरूको समेत हक कायम गरी गुठी जनाई हामीहरूको नाउँ समेत समावेश गरी दर्ता गराई माग्न फिराद गर्न आएका छौं । उक्त अंशबण्डा पत्रबाट श्राद्ध गुठी जग्गा भएको र विपक्षीको बाजेको र हाम्रो बाबुको हक भई आलोपालोसँग श्राद्ध गरी खाने जग्गा भएको र निजहरू परलोक भएपछि विपक्षले र हामीहरूले आलोपालोसँग श्राद्ध गरी आई भोगी आएको जग्गा हुँदा र आफ्नो बाबु बाजेको एकलौटी खास प्रमाण नभएकोले सबूत प्रमाण भिडाई दर्ता गर्न नसकेको कुरा छर्लङ्ग हुन आएको छ उल्लिखित जग्गाको रु. १,०००। पर्ने भई अघि हाम्रो हक पुग्ने मोल रु. ५००। पर्ने जग्गा हाम्रो कायम गरी खिचोला गरेको विपक्षीलाई सजायँ गरी उक्त जग्गा सगोल गुठी जनाई विपक्षीको र हामीहरूको नाउँ समेत उल्लेख गरी दर्ता दिनु भन्ने भू.प्र.का. ललितपुरलाई जनाउ समेत दिलाई पाउँ भन्ने समेत व्यहोराको ठूलो भाइ हलुवाई समेत जवान २ को ०३४।३।३।६ को फिरादपत्र ।
३. १९७८ सालको बण्डा पत्र म नजन्मिदैको हुनाले मैले यस्तो हो भन्ने स्थिति नै भएन सो जग्गा मेरो बाजे नन्दवीरले एकलौटी भोगचलन गरिआएनु भएको, विर्ता उन्मूलन भई २०१६ सालमा बाजे नन्दवीरका नाममा एकलौटी रैकरमा परिणत भएको छ शेषपछि बाबु नन्दबहादुरको नाममा भएको छ मोही जनकलालले कमाई कुत बाली बाजे नन्दवीर र शेषपछि बाबु नन्दबहादुरले एकलौटी बुझी आउनुभएको छ वादीको उजूरी म्यादभित्रको नहुँदा खारेज गरिपाउँ भन्ने समेत प्र.नारायण गोविन्दको प्रतिउत्तर ।
४. जग्गा मिच्नेको १८ नं. को हदम्याद २ वर्षभित्र प्रस्तुत फिराद गर्नुपर्नेमा ०३४।३।३।६ मा मात्र फिराद दायर गरेको देखिएकोले प्रस्तुत फिराद खारेज हुने ठहर्छ भन्ने समेतको शुरू ललितपुर जिल्ला अदालतको फैसला ।
५. उक्त फैसलामा चित्त बुझेन भनी वादीको बा.अं.अ.मा परेको पुनरावेदन ।
६. प्रस्तुत मुद्दाको फिरादपत्र ०३४।३।३ मा दायर भएको देखिँदा जग्गा मिच्नेको १८ नं. अन्तर्गत दायर भएकोलाई हदम्यादको प्रश्न लिई खारेज गरेको शुरू ल.पु.जिल्ला अदालतको निर्णय गरेको बदर हुने ठहर्छ । अब जो बुझ्नुपर्ने बुझी निर्णय गर्नु भनी मिसिल शुरू जिल्ला अदालतमा पठाई दिनु भन्ने ०३५।१२।१ को बा.अं.अ.को फैसला ।
७. उक्त इन्साफमा चित्त बुझेन भनी प्रतिवादीले मध्यमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्न अनुमति पाउँ भनी दिएको निवेदनमा मिति ०३६।६।११ मा अनुमति पाएको रहेछ ।
८. बा.अं.अ.को फैसला मनासिव ठहर्छ भन्ने समेतको मध्यमान्चल क्षेत्रीय अदालतको मिति ०३७।९।८ को फैसला ।
९. उक्त फैसलामा सार्वजनिक महत्वको विषयमा प्रत्यक्षत कानुनी त्रुटि भएकोले पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने समेत व्यहोराको प्रतिवादीको निवेदन जिकिर ।
१०. ज.मि.को १८ नं. ऐनको म्याद नाघी दायर भएको प्रस्तुत फिरादपत्रको आधारमा हक बेहकमा निर्णय गर्न पठाउने गरेको म्.क्षे.अ.को ०३७।९।८।२ को निर्णयबाट हदम्याद सम्बन्धी त्रुटि भएकोले न्याय प्रशासन ऐन, ०३१ को दफा १३ को उपदफा (५) को खण्ड (ख) को आधारमा पुनरावेदन गर्ने अनुमति दिइएको छ भन्ने यस अदालतको मिति ०३९।२।१९।४ को डिभिजन बेञ्चको आदेश ।
११. निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा प्रतिवादीका बाजे नन्दवीरका नाउँमा २०२३ सालमा रैकर परिणत भई निजको देहान्त भएपछि प्रतिवादीका बाबु नन्दबहादुरका नाउँमा २०२३।३।१४ मा नामसारी दर्ता रही निजकै तर्फबाट तिरो तिरान भोग भइरहेको त्यस्तो जग्गामा हाम्रो हक कायम गरी खिचोला गरेको सजायँ गरी गुठी जनाई हामीहरूको नाउँ समेत दर्ता गरिपाउँ भन्ने प्रस्तुत मुद्दाको फिराद २०३४।३।३।६ मा मात्र परेको देखिन आएको हुनाले सो फिराद जग्गा मिच्नेको १८ नं. को म्यादभित्र परेको भन्न मिलेन । तसर्थ शुरू ल.पु.जि.अ.ले फिराद खारेज गरेको इन्साफ मनासिव ठहर्छ भन्ने समेत डिभिजन बेञ्चको ०४०।६।९।१ को फैसला ।
१२. १९७८ सालको बण्डा पत्रमा नन्दवीर र नन्दकृष्णले आलोपालो गरी श्राद्ध गुठी चलाउने बन्दोबस्त गरिएकोबाट नन्दकृष्णका सन्तान यी वादीहरूको पनि गुठीमा नाताले दावी लिन हक पुगेको नै देखिएको छ । पोता लगतको साविक दर्तावाला नन्दवीरकै नाममा रहँदा जुन स्थिति थियो अहिले रैकरमा परिणत गराएपछि पनि गुठी सम्बन्धी हकमा कुनै परिवर्तन नआउने र निज पछि निजको हक खाने नन्दबहादुरले आफ्ना नाममा नामसारी गरी दर्ता गराए पनि गुठीको स्थिति यथावत नै रहने वादीहरूले २०२३ सालमा दाखिल खारेज नगराएको कारणबाट पनि यिनीहरूको हक समाप्तभएको भन्न मिल्दैन भन्ने समेत न्यायिक समितिको पर्चा ।
१३. निवेदक वादीको तर्फका उपस्थित विद्वान व.अ. श्री मुकुन्द रेग्मी तथा विद्वान अधिवक्ता श्री यादव प्रसाद खरेलले गुठीको जग्गा हुँदा हाम्रो समेत हक कायम गरिपाउँ भन्ने मूल माग छ । २०२३ सालमा गराएको दर्ता बदर गरिपाउँ भन्ने माग होइन । फिल्डबुकको व्यहोरामा मोहीले लेखाई दिएको हो । गुठियारको गुठीमा हक दावी खारेज गर्दा गुठी चलाउन नपाउने हुन्छ, गुठीमा उजूर गर्ने हदम्याद पनि छैन, एक गुठियारको नाउँमा जग्गा दर्ता हुँदैमा अरू गुठियारको हक समाप्त हुँदैन तसर्थ इन्साफ गर्न पठाएको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो । विपक्षी प्रतिवादीको तर्फबाट उपस्थित विद्वान व.अ. श्री शम्भु प्रसाद ज्ञवालीले एकलौटी दर्ता हुनुहुँदैन संयुक्त दर्ता हुनुपर्ने भन्ने वादीको दावी भएको जुन बखतमा विवादको जग्गा दर्ता भएको छ । त्यसै समयदेखि हदम्याद शुरू हुन्छ । २०२३ सालमा दर्ता भएको जग्गाको २०३४ सालमा फिराद गर्ने हदम्याद बाँकी रहन आउँदैन, तसर्थ वादी दावी खारेज गर्ने गरेको डिभिजन बेञ्चको इन्साफ सदर हुनुपर्छ भन्ने समेत बहस गर्नु भयो ।
१४. आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा वादीले आफ्नो फिरादमा १९७८।११। १२।५ को बण्डापत्रबाट श्राद्धगुठीको जग्गा भएको र विपक्षीको बाजेको र हाम्रो बाबुको हक भई आलोपालो सँग श्राद्ध गरी खाने जग्गा भएको र निजहरू परलोक भएपछि विपक्षले र हामीहरूले र आलोपालोसँग श्राद्ध गरी आई भोगी आएको जग्गा हुँदा आफ्नो र आफ्नो बाजे बाबुको एकलौटी सबूत प्रमाण नभएकोले सबूत प्रमाण भिडाई दर्ता गर्न नसकेको, उक्त जग्गा आधी हाम्रो हक पुग्ने हाम्रो कायम गरी खिचोला गरेमा विपक्षीलाई सजायँ गरी उक्त जग्गा सगोल गुठी जनाई विपक्षको र हामीहरूको नाउँ समेत उल्लेख गरी दर्ता गरिदिनु भन्ने भू.प्र.का. ललितपुरलाई जनाउ समेत दिलाई पाउँ भन्ने समेत दावी लिएको पाइन्छ । १९७८।११।१२।५ को लक्ष्मीकुमारी हलुवाई, नन्दकृष्ण, नन्दवीर हलुवाई समेत तीन जना आमा छोरा दाजुभाइ बीच भएको बण्डापत्रमा “देहायमा लेखिएका विर्ता जग्गाहरूका आयस्ताबाट साल बसाल म नन्दवीर म नन्दकृष्ण समेत २ जनाले आलोपालो गरी बाबु नन्दलालको तिथी श्राद्ध गर्ने गुठीमा राख्ने” भन्नेसमेत उल्लेख गरी थछेखेल खेतरोपनी २ समेत गुठी राखेको पाइन्छ । उक्त बण्डापत्र प्रतिवादीलाई अ.बं. ७८ नं. बमोजिम ०३४।६।२४ मा सुनाउँदा म नजन्मदैको बण्डापत्र भएको हुनाले मलाई के हो थाहा छैन भन्नेसमेत बयान गरेको पाइन्छ । अर्थात उक्त बण्डापत्रको कागजलाई प्रतिवादीले कीर्ते जालसाजी के हो भनी नामाकरण गर्न नसकेकोले त्यस कागजलाई स्वीकार गरेको भन्नुपर्ने देखियो । वादीहरू नन्दकृष्णको छोरा र प्रतिवादी नन्दवीरको नाति भएमा विवाद देखिँदैन । १९७८ सालको उपर्युुक्त बण्डापत्रबाट गुठी राखेको थछेखेल कित्ता जग्गा, जुन सर्भे नापीमा ललितपुर नगर पञ्चायत वडा नं. ५ कि.नं. ७० कायम हुनआएको छ, २०२३ सालमा प्रतिवादीको बाजे नन्दवीरले रैकरमा परिणत गराएपछि पनि गुठियारको गुठी सम्बन्धी हकको स्थिति यथावत नै रहने देखिन्छ । त्यसबाट वादीहरूको हक समाप्त भएको भन्न मिल्ने देखिएन ।
१५. सर्भे नापी भएपछि वितरीत जग्गाधनी दर्ता प्रमाणपूर्जामा जग्गाधनीको नाम, थरमा “नन्दकृष्ण भन्ने नन्दबहादुर” हुन गएको र कार्यालयको श्रेस्तामा उक्त जग्गा दर्ता बाँकी जनिएको भन्ने प्र.नारायणगोविन्द भू.प्र.का. ललितपुरमा ०३१।१२।२१ मा दिएको निवेदनबाट देखिन्छ । उक्त निवेदनबाट पनि दर्ता श्रेस्तामा नन्द बहादुरका नाममा दर्ता भइसकेको रहेनछ भन्ने देखिन्छ । उक्त जग्गा कमाउने मोही जनकलाल श्रेष्ठले ०३२।३।६ मा भू.प्र.का. मा गरेको बयानबाट पनि सो जग्गा नन्दवीरका छोरा नन्दबहादुर र नन्दकृष्णको साझा जग्गा हो भन्ने देखिन्छ । उक्त जग्गा नन्दबहादुरका नाउँमा दर्ता गरी श्रेस्ता पूर्जा कायम गरिदिने भूमिप्रशासन कार्यालय ललितपुरको ०३२।८।११ को निर्णय सर्वोच्च अदालत डिभिजन बेञ्चको ०३३।९।२६ को निर्णयद्वारा बदर भएको समेत देखिन्छ । प्रतिवादीको नाउँमा स्पष्ट रूपबाट दर्ता नभएको स्थितिमा वादीको नालिश गर्ने हदम्याद गइसकेको भन्न मिल्ने देखिएन । भूमिप्रशासन शाखा, ललितपुरबाट अदालतबाट छुट्याई आएका बखत कारवाई हुने भनी ०३४।२।४ मा सुनाएपछि ०३४।३।३।६ मा वादीको फिराद परेको देखिन्छ । तसर्थ वादीले म्याद गुजारी आएको भन्न मिल्ने स्थिति छैन ।
१६. अतः उपर्युक्त कारणहरूबाट वादीको फिराद जग्गा मिच्नेका तत्कालिन १८ नं. को म्याद नाघी परेको वादी दावी भनी खारेज गर्ने गरेको शुरू जिल्ला अदालतको इन्साफ सदर गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको ०४०।६।९ को इन्साफ मिलेको देखिएन । शुरू इन्साफ बदर गरी कानुन बमोजिम पुन इन्साफ गर्न पठाउने बा.अं.अ.को इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । हाजिर रहेका पक्षलाई तारेख तोकी मिसिल ललितपुर जिल्ला अदालतमा पठाई दिनु । अरु तपसील बमोजिम गर्नु ।
तपसील
डिभिजन बेञ्चको ०४०।६।९ को फैसला उल्टी हुने ठहरेकोले वादी ठूलो भाइ तथा सानो भाइ हलुवाईबाट प्रतिवादी नारायण गोविन्द हलुवाईलाई भराई दिने गरेको कोर्टफी रु. ६।७५ भराई दिनु पर्दैन, व्यहोरा जनाई लगत कट्टा गरिदिनु भनी ल.पु.जि.अ.मा लेखी पठाउन का.जि.अ.त.मा लगत दिनु….१ वादीले मुद्दा दोहर्याई ल्याए वापत फूलबेञ्चमा राखेको कोर्टफी रु. ४।५ प्रतिवादी नारायण गोविन्द हलुवाईबाट भराई पाउँ भनी दर्खास्त गरे ऐनको रीत पुर्याई वादीलाई दिनु भनी ऐ. ऐ. मा पठाउन ऐ. ऐ. मा लगत दिनु…………………..१
उक्त रायमा हामीहरूको सहमति छ ।
न्या.त्रिलोक प्रताप राणा
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४२ साल ज्येष्ठ १ गते रोज ३ शुभम् ।