April 19, 1985
Created by nepalarchives

निर्णय नं. २२६६ – खुन डाँका

निर्णय नं. २२६६     ने.का.प. २०४२      अङ्क २   फुल बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला माननीय न्यायाधीश श्री महेशराम...

निर्णय नं. २२६६     ने.का.प. २०४२      अङ्क २

 

फुल बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४१ सालको फौ.पु.नं. २१, २६, २७, २८, २९ फौ.सा.नं. ३०

मुद्दा : खुन डाँका ।

 

पुनरावेदक/प्रतिवादी:जि.सर्लाही ईश्वरपुर गा.पं.वा.नं.२ घर भै हाल जिल्ला कार्यालय कारागार शाखा, सर्लाहीमा थुनामा रहेको विष्णु बहादुर गिरी ।

ऐ.ऐ लालबन्दी गा.पं.वा.नं.६ घर भै हाल ऐ.ऐ मा थुना रहेको कालुमान योन्जन

ऐ.ऐ लालबन्दी गा.पं.वा.नं.६ घर भै हाल ऐ.ऐ मा थुना रहेको अमिर मान पाख्रिन

ऐ.ऐ वा.नं.३ घर भै ऐ.ऐ थुनामा रहेको रवि घलान तामाङ

ऐ.ऐ शंकरपुर गा.पं.घर भै ऐ.ऐ मा रहेको बीर बहादुर योन्जन

ऐ.ऐ गंगापुर गा.पं.वा.नं.३ घर भै ऐ.ऐ मा रहेको मेहीलाल दनुवार

ऐ.ऐ लालबन्दी गा.पं.वा.नं.३ घर भै ऐ.ऐ मा रहेको आश बहादुर पाख्रिन

विरूद्ध

विपक्षी/वादी: वेद कुमारीको जाहेरीले श्री ५ को सरकार

पुनरावेदक/वादी: वेद कुमारीको जाहेरीले श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी:जि.सर्लाही इश्वरपुर गा.पं.वा.नं.२ घर भै हाल जिल्ला कार्यालय कारागार शाखा सर्लाहीमा बन्दी भै बस्ने विष्णु बहादुर गिरी

ऐ.ऐ वडा नं.२ बस्ने धर्मनाथ गिरी समेत

फैसला भएको मिति:०४२।१।७।६ मा

     वारदातमा आफू सावित भई पोल गर्ने सहअभियुक्तहरूको बयानमा विश्वास गर्नुनपर्ने कुनै कारण देखिँदैन ।

(प्रकरण नं.४२)

पुनरावेदक/प्रतिवादी तर्फबाट:विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी

विपक्षी/वादी तर्फवाट:विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार

फैसला

न्या.धनेन्द्र बहादुर सिंहः डिभिजन बेञ्चसमक्ष पेश हुँदा मतैक्य हुन नसकी सर्वोच्च अदालतनियमावली, २०२१ को नियम ३३(क) बमोजिम यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न बमोजिम छ ।

२.    ०३५।३।१६ गतेको राति हामी सपरिवार सुती निदाएको बखत अं. १२ बजेको समयमा अं. १५।२० जवान खुनी डाँकाहरू मेरो पूर्व मुखको बार्दलीमा चढी बन्दुकको १ फायर गर्दा म समेतका परिवारहरू निन्द्राबाट बिउँझे, बन्दुक देखाई कोठा खोल्न लगाई भतिजा कृष्ण बहादुर थापालाई र उनकी श्रीमती लिलादेवी थापालाई कुटपीट गरी केही डाँकाहरू मेरो उत्तर मुखको हामी सुतेको कौलमा बन्दुक देखाई ढोका खोल भन्दा झ्यालको बाटो गरी हामफाली गुहार माग्न गई गाउँले तथा चौकीका प्रहरी लिई घर आउँदा डाँकाहरूले मोल रु. ३८,४३५। को धनमाल डाँका गरी गाउँ देखि पूर्वतर्फ भागी गएको थियो घरमा हेर्दा भतिजा कृष्ण बहादुरलाई बायाँ हातमा छर्रा लागेको र पेटमा चुपी भाला लागी मरिसकेको र लिलादेवीलाई कुटपीट गरेकोले लिलादेवी छिनछिनमा होसमा आउने र छिनछिनमा बेहोस भइरहेकी छ । कृष्ण बहादुरको छोरा सन्तोषकुमार, छोरी सत्यभामा र नोकर भरोसीलाई  समेत कुटपीट गरी घाउ खत पारिदिएकोले म समेतका मानिसहरूले डाँकालाई पहिचान गर्न सकिन लिलादेवी होसमा आएपछि डाँकाहरूलाई पहिचान गरे नगरे सम्बन्धमा बयान गरी उचित कारवाई गर्ने व्यवस्था हुने नै हुँदा डाँकाको पत्ता लगाई कारवाई गरिपाउँ भन्ने समेत बेदकुमारी थापाको जाहेरी ।

३.    बायाँ आँखामाथि पुर्पुरोमा अं.एक इञ्ची गोलो, २ इञ्ची गहिरो छर्रा लागेको घाउ, बीच भूँडीमा अं. आधा इञ्ची गोलाई अं. साँढे दुई इन्ची गहिरो चुप्पी भालाले घोचेको घाउ, बायाँ कोखमा आधा इञ्च गोलाई डेढ इञ्च गहिरो चुपीले रोपेको घाउ दायाँ हातको कान्छी र साहिँली औंलामा छर्रा लागि छियाछिया भएको भन्ने समेत लाश प्रकृति मुचुल्का ।

४.    गंगा बहादुर गिरीको घरमा खानतलासी गर्दा पुरानो भरूवा १ नाले बन्दूक १ समेत बरामद भएको बरामदी मुचुल्का ।

५.    ०३५।३।१६ गते साँझ विष्णु गिरीले मेरो घर जाउँ भनी जाँदा बाटोमा आज लालबन्दीबाट डाँका आउँछन् कृष्ण बहादुरको घरमा डाँका गराउनु पर्‍यो भने । म जान्न भन्दा तेरो घरमा डाँका गराउँछु भनेकाले डाँका गराई दिन्छ भन्ने डरले हुन्छ भनी जाँदा मेरै घर नजिकको सूर्ती सुकाउने घरमा लगे त्यहाँ लालबन्दीबाट सँगै आएको साँइली आंैला नभएको तामाङ १, सोमबहादुर तामाङ, आसबहादुर तामाङ, कालीको बाबु भन्ने तामाङ, एउटा आँखा सानो भएको तामाङ, टाउकामा खटिरै खटिरा भएको तामाङ, फकिरा मुसलमान, मेहिलाल दनुवार, उद्धव प्रसाद उपाध्याय समेत बसिरहेका रहेछन् बाँस काटी लिएपछि वीर बहादुरले बन्दूक र विष्णु प्रसाद गिरीले पनि बन्दुक लिए अरू सबैले लाठी र लालबन्दीको कालीका बाबुले भाला लिए विष्णुले बन्दुक र भाला लिनेहरू घरभित्र पस्ने र अरू बाहिरै बस्ने भने । म बाहिर कलधारामा बसें मेहिलाल बाटामा बसे अरू सबै घर वरिपरि बसे, डाँका गर्न ४, ५ जना घरभित्र पस्न गए केही छिनमा बन्दूकको फायर भयो र डरले भागी घरमा आई सुतें भन्ने समेत ननिपत सिं दनुवारले गरेको बयान ।

६.    ०३५।३।१६ गते रात मेरै घरमा भात खाई सुतेका बखत विष्णु गिरीले बोलाई आउँदा ननिपतको वारूण घरमा विष्णु गिरी, ननिपत, उद्धव प्रसाद, फकिरा मुसलमान, साँइली औंला नभएको नाडीमा घाउ खत भएको तामाङ र अरू नचिनेका मानिस रहेछन् । कृष्ण बहादुरको घरमा डाँका गर्नुपर्छ भन्दा नमानेको हुँदा सबैले जानैपर्छ भनेकाले डाँका गर्न भनी जाँदा मैले नचिनेका लालबन्दीबाट आएका मानिसभित्र पसे म बाहिर पूर्वपट्टि सडकमा हातमा ढुङ्गा लिई बसेँ भित्र पस्नेहरूले के कसो भयो र गोली चलाए म डरले भागी आई बहिनीको घरमा सुतेको हुँ भन्ने समेत मेहिलाल दनुवारले गरेको बयान ।

७.    ०३५।३।१६ को दिन रात म आफ्नो घरमा छु जाहेरवालाको घरमा डाँकाहरू आई डाँका खुन गरेको हुन् सो रातमा डाँका आई बन्दूकको फायर गर्दा श्रीमती ब्युँझी जानु पर्‍यो भनेकाले जाँदा डाँका आउँदा मुडभेड भई मलाई कुटेका हुन् डाँका पक्रन सकिन भागँे । म १५ मिनेट पछि बल्लबल्ल घरमा आई सुतेको हुँ । डाँका गरेको छैन कसले गरे थाहा छैन मेरो घरबाट बरामद भएको बन्दूक बद्धिमानको हो बनाई दिनु भनी छोडी गएबाट रहेको हो भन्ने समेत गंगा बहादुर गिरीले गरेको बयान ।

८.    लालबन्दी बजारमा उद्धव प्रसादले कृष्ण बहादुरको घरमा डाँका गर्ने भने । आसबहादुरको घरमा जाँदा भेट भई उद्धव प्रसादले जाहेरवालाको घरमा डाँका गरौं धेरै नै धन सम्पत्ति छ भनेपछि वीर बहादुरलाई हेर्न पठाए । वारदातको रात ९ बजेतिर ननिपतको बारीमा सूर्ती सुकाउने वारूणमा जाँदा उद्धव प्रसाद उपाध्याय, फकिरा मुसलमान, शिव बहादुर तामाङ, आशाबहादुर तामाङ, आँखा चिमचिम गर्ने सानु आँखा भएको तामाङ,  टाउकोमा खटिरै खटिरा भएको तामाङ, ननिपत दनुवार, मेहिलाल दनुवार र म समेत जम्मा १४ जनाको डÇफा भई मेरो हातमा बन्दूक र आसा बहादुरको हातमा बन्दूक, वीर बहादुरको हातमा भाला, बाँकी अरूले लाठी र मेहिलालले ढुङ्गा लिई सबै सुसज्जित भई आउँदा बाटोमा मसँग भएको बन्दुक सोम बहादुरले लिई मैले लाठी लिई घर मुनि आँगन छेउमा र ननिपत कलनेर, महिलाल बाटोमा, उद्धव र मुसलमान ढोकानेर बसी अरू कोही घर पछाडि र अं. ६७ जना घरभित्र पसी डाँका गर्ने काम शुरू भयो । त्यत्तिकैमा माथि जाने सोमबहादुर, आसाबहादुर मध्ये कसले हो बन्दूक फायर गरे घरमा कल्याङ कुलुङ ढाकढुक आवाज हुन थालेपछि मेरो घर नजिकै हुँदा चिन्लान् भनी ठानी भागी घरमा आए भन्ने बयान र हाजिरमान कहाँबाट ननिपत, फकिरा, उद्धवलाई पठाई बन्दुक ल्याएको हो भन्ने विष्णु बहादुरले गरेको ततिम्बा बयान ।

९.    ०३५।३।१६ का दिन बेलुका भात खाइवरी मेरा छोरा छोरी समेत पल्लो घरमा र म र श्रीमान् कृष्ण बहादुर पूर्व मुखको घरमा सुतेकोमा रातको अन्दाजी १२ बजेको समय होला डाँका आएछन् झ्यालबाट गोली चलाएपछि सो आवाजले निद्राबाट ब्युँझी उठ्दा मेरा लोग्नेलाई निधारमा र हातमा छर्रा लागेछ मलाई १२ छर्रा लाग्यो त्यतिकैमा डाँकाभित्र पसे कोठा मौकै देखि बाली रहेको लालटेनको उज्यालोबाट विष्णु गिरी, दुर्गा गिरी, उद्धव प्रसाद उपाध्याय समेतलाई देखें चिनेपछि गंगा गिरीको गोडा समाती नमार भनी रोएँ । निजका हातमा भएको किरिचले मलाई हाने मेरो निधारमा लागी रगत बहन लाग्यो । विष्णु गिरीको हातमा बन्दूक थियो । मेरो लोग्ने विष्णु गिरीले चलाएका बन्दूक र गंगा गिरीले चलाएका किरिचका चोटबाट मरेका हुन् भन्ने समेत लिलादेवीले गरेको कागज ।

१०.    विभिन्न व्यक्तिलाई देखेको भनी सत्यभामा, सन्तोष कुमार समेतले लेखाई दिएको सरजमीन मुचुल्का ।

११.    गाउँ पूर्व वारूण घरमा सबै जम्मा भएका रहेछन् लालबन्दीका आशा बहादुर, सोमबहादुर तमाङ, चन्द्र योन्जन, अविरमान भन्ने डिले साहिँला, कालीको बाबु भन्ने काले योन्जन तामाङ र विधलान र म समेत भई गाउँको ३४ जना भई डाँका गर्न गयौं म आँगनमा बसें । बन्दुक वीर बहादुर योन्जनका हातमा अरू मैले नचिनेका मानिसका हातमा थियो, कसले चलाए देखिँन आसा बहादुरको भनाइमा डाँका गर्न गएको हुँ रु. १००। पाएँ भन्ने कालमान योन्जन तामाङले गरेको बयान ।

१२.   वारदातको दिन रात ८ बजेको होला ननिपत दनुवार समेत ३ जना मेरो घरमा आई विष्णु गिरीले बन्दुक माग्न पठाएको भनेकोले बन्दूक झिकी ननिपतलाई दिएँ । बन्दुक दिएको सम्म हुँ डाँका गर्न गएको होइन । डाँका गर्न भनी बन्दुक लगेका हुन् भन्ने समेत हाजिरमान गोलेले गरेको बयान ।

१३.   विष्णु बहादुर गिरी १, गंगा बहादुर गिरी १, वीर बहादुर योन्जन, काले योन्जनउपर ज्यानसम्बन्धीको १३(१) र चोरीको १४(४) बमोजिम हाजिरमानको हकमा चोरीको १४(४) नं. बमोजिम र ननिपत सिं दनुवार, मेहिलाल दनुवार, उद्धव प्रसाद उपाध्याय सुकमान भन्ने सुकबहादुर तामाङ, फकिरा मुसलमान, आसाबहादुर पाख्रिन तामाङ, सोमबहादुर पाख्रीन तामाङ, चन्द्र बहादुर योन्जन तामाङ, अविरमान भन्ने डिले पाख्रीन, दुर्गाबहादुर गिरी भन्ने दुर्गानाथ गिरी, नन्दलाल मुक्तान, जीत बहादुर सिर्दान तामाङ, विल्टु कामी, झिलमिले तामाङ, धर्मलाल गिरी, कालुमान योन्जन, रवि घलान समेत उपर ज्यानसम्बन्धीको १७(२) र चोरीको १४(४) बमोजिम सजायँ हुन प्रस्तुत गरेको प्रहरी प्रतिवेदन । वारदातको दिन रात घरमै छु । श्रीमतीले गाउँमा हल्ला गर्छन् उठ्नु होस् भनी उठाई दिएकोले घरबाट निस्कँदा मर्नेको आमाले मेरो घर चोरले घेरेको छ जानु पर्‍यो भनेबाट जाँदा ती डाँका हरूले मलाई लठ्ठीले पिटे र भागे म पुग्दा कृष्ण बहादुर  मरिसकेका थिएनन् । डाँकाहरूलाई चिन्न सक्दिन भन्नेसमेत गंगा बहादुर गिरीले अदालतमा गरेको बयान ।

१४.   ०३५।३।१६ गतेको दिन रात म जनकपुरमा छु । ०३५।३।१० गते मेरो पेट दुख्ने र नाकबाट खुन जाने भई औषधी गराउन भनी बिहानै घरबाट हिँडी बेलुका बसद्वारा जनकपुर पुगी सरकारी अस्पतालमा भोलिपल्ट भर्ना भई इलाज गराई ऐ. १७ गते डाक्टरले डिस्चार्ज गरिदिएकोले ०३५।३।१८ गते मात्र घरमा आएको हुँ । प्रहरीमा कुटपीट गरेबाट पहिलेदेखि लेखी राखेको कागजमा सहिछाप गरेको हुँ जाहेरवालाको घरमा डाँका गर्ने र कृष्ण बहादुरलाई मार्नेमा मेरो हात छैन भन्ने समेत विष्णु गिरीले गरेको बयान ।

१५.   वारदातको दिन रात आफ्नो गाउँघरमा छु । जाहेरवालाको घरमा डाँका गरेको छैन कसले डाँका गरे र कृष्ण बहादुरलाई मारे थाहा छैन । प्रहरीमा भएको कागज कुटपीट सास्ती सासना गरेबाट डरमा परी लेखी राखेको कागजमा सहिछाप गरेको हुँ भन्ने समेत कालुमान योन्जनले अदालतमा गरेको बयान ।

१६.    जाहेरवालाको घरमा डाँका गरेको छैन प्रहरीमा कुटपिट गरी कागज गराएको हो भन्ने समेत मेहीलाल दनुवारले अदालतमा गरेको बयान ।

१७.   मैले जाहेरवालीको घरमा डाँका गरेको छैन कसले डाँका गर्‍यो थाहा छैन । प्रहरीमा कुटपिट गरी सही गराएका हुन् भन्ने समेत ननिपत सिं दनुवारले अदालतमा गरेको बयान ।

१८.   मेरो बन्दूकै नहुँदा मैले कसैलाई बन्दुक दिएको पनि छैन प्रहरी प्रतिवेदन झुठ्ठा हो भन्ने समेत हाजिरमान गोले तामाङले गरेको बयान ।

१९.    मैले डाँका गरेको र ज्यान मारे मराएको होइन जाहेरवालाको घरमा कसले डाँका गरे र ज्यान मारे मराए थाहा छैन भन्ने समेत वीर बहादुर योन्जनले अदालतमा गरेको बयान ।

२०.   ०३५।३।१६ गतेको रातमा म विराटनगरमा छु । मैले डकैती गरी कृष्ण बहादुरलाई मारेको हैन । कसले डाँका गरी कृष्ण बहादुरलाई मारे थाहा छैन भन्ने समेत सुकमान भन्ने सुकबहादुर तामाङले अदालतमा गरेको बयान ।

२१.   बजारको दिन दिउँसो गाउँकै विष्णु बहादुरले कृष्ण बहादुरको घरमा डाँका गर्नुपर्छ साथीहरू सबै तयार छ, तिमी पनि आउ भनेको थियो तत्काल मैले हुन्छ भनी पछि प्रहरी चौकीको हवल्दारलाई सबै कुरा बताई दिएको हुँ । डाँकाहरू कहाँको हो विष्णु बहादुरले भनेन । २०३५।३।१६ गतेको साँझ आज डाँका गर्न हिँड भनी विष्णुले भन्यो भात खाई आउँछु भन्दा कृष्ण बहादुरको घरमाथि आँपको बगैंचामा आउनु भन्यो । त्यसपछि प्रहरी चौकीमा गई हवल्दार समेतलाई सबै कुरा बताई दिँदा फटाहा बदमास गाउँका मानिसले पनि गाउँमै डाँका गर्छ भनी मलाई हप्कायो मलाई त्यही प्रहरी चौकीमै भात खान दियो मैले भात खाई घर आई सुतेको हुँदा डाँका गरेको छैन भन्ने समेत उद्धव प्रसाद अधिकारीले गरेको बयान ।

२२.   डाँकाहरू आई बन्दुकको फायर गरेपछि म निन्द्राबाट ब्यूँझेपछि डाँका रहेछन् भन्ने थाहा पाई झ्यालबाट उठी दक्षिणतर्फ उत्री गाउँमा र प्रहरीमा गई खबर गरेकी हुँ म प्रहरी लिई आउँदा छोरा मरी सकेको रहेछ । लिलादेवी होसमा थिइनन् । डाँकाहरू कसैलाई चिन्न सकिन । पछि बुहारी होशमा आएपछि सोद्धा गंगा गिरी, विष्णु गिरी, उद्धव प्रसाद, दुर्गा गिरी समेतलाई देखे चिने भनेकीले निजहरूले नै मेरो छोरा कृष्ण बहादुरलाई मारेको हो भन्ने समेत वेदकुमारीको बकपत्र ।

२३.   खाना खाई लोग्ने र म एकै साथै सुती निदाएका बखत बन्दुकको फायर भयो । दुवैजना उठी भाग्न लाग्दा ढोका भाँचिई हाल्यो । सो बखत दुर्गा गिरी र उद्धव प्रसादले समाई हामीलाई पछार्यो । गंगा गिरीले हातमा किरिच लिएको थियो । गंगा गिरीलाई हात  जोरी मेरो भएको सम्पत्ति लैजाउ मेरो मालिकलाई नमार भनी भने । गंगा गिरीले किरिचले मलाई पनि घोची दिएकोले निधारमा र दाँया हातको पछाडीपट्टी समेत घोची घाउ पारिदिए । माथि लेखिएका मानिसहरूलाई लालटिनको उज्यालोबाट चिनेको हुँ । म ६।७ दिनमा होसमा आएकी हुँ मेरो लोग्नेलाई उद्धव प्रसादले पछारी विष्णु गिरीले बन्दुकले फायर गर्‍यो गंगा गिरीले मेरो पतिलाई किरिचले घोच्यो भन्ने समेत लिलादेवीको अदालतमा बकपत्र ।

२४.   ०३५।३।१६ गतेको रात म धुरकोली घरमा छु । मैले डाँका खुन गरेको छैन कसले गरे थाहा छैन भन्ने समेत फरार रहेका पछि प्रहरीले पक्री दाखिल गरेका रविघलान तामाङले अदालतमा गरेको बयान ।

२५.   म ज्येष्ठमै कुसुम विछौनामा बनी गर्न गएको हुनाले डाँका खुन गरेको छैन भन्ने समेत मौकामा फरार भई पछि पक्राउ परी आएको अविरमान भन्ने डिले पाख्रीन तामाङले गरेको बयान ।

२६.   ०३४ सालदेखि नै नोकरी गरी हिँडेकोले कृष्ण बहादुरलाई मारेको समेत छैन । आफैं घर नभएको हुँदा डाँका खुन भए नभएको मलाई थाहा छैन भन्ने समेत मौकामा फरार भई पछि पक्राउ परी आएका आसबहादुर पाख्रीन तामाङले गरेको बयान ।

२७.   प्र.फकिरा मुसलामान १, सोमबहादुर १, चन्द्र बहादुर १, काले योन्जन १, दुर्गाबहादुर १, नन्दलाल मुक्तान १, जीत बहादुर १, विल्टु कामी १, झिलमिले तामाङ १, धर्मलाल गिरी १ का हकमा मुलतवी राखी दिने । प्र.गंगा बहादुर गिरी १, विष्णु बहादुर गिरी १, कालुमान हेम्जन १, वीर बहादुर हेम्झनको हकमा ज्यान सम्बन्धीको १३(१) बमोजिम जन्मकैद र बिगोको डेढी जरिवाना हुने । प्र.उद्धव प्रसाद उपाध्याय १, प्र.मेहीलाल सिं दनुवार १, प्र.अविरमान भन्ने डिले पाख्रीन १, प्र.आशबहादुर पाख्रीन १ , प्र.रविघलान १, प्र.शुकबहादुर तामाङ १, प्र.ननिपत सिं दनुवार १ समेतलाई ज्या.सं.को १७(२) तथा चोरीको १४(४) बमोजिम प्र.हाजिर मान गोले तामाङलाई चोरीको १४(४) बमोजिम हुने भन्ने समेत मिति ०३७।३।१७ को स.जि.अ.को फैसला ।

२८.   सर्लाही जिल्ला अदालतको उक्त फैसला उपर गंगा बहादुर गिरी १, विष्णु बहादुर गिरी १, उद्धव प्रसाद उपाध्याय १, आशबहादुर पाख्रिन १, कालुमान योन्जन १, रविघलान १, अविरमान भन्ने डिले पाख्रीन १, वीर बहादुर योन्जन १, मेहीलाल दनुवार १ समेतको मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।

२९.   विष्णु बहादुर गिरीको हकमा शुरू जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । गंगा बहादुर गिरीले दावीबाट सफाई पाउने ठहर्छ । वीर बहादुर तामाङ र कालुमान योन्जनलाई ज्यानसम्बन्धीको १३(१) अनुसार सजायँ गर्ने ठहराएको मिलेन । उद्धव प्रसाद उपाध्याय र मेहिलाल दनुवार समेत ८ जनालाई ज्यान सम्बन्धीको १७(२) नं. अनुसार पाँच वर्षका दरले सजायँ गर्ने गरेको शुरू इन्साफ मिलेको देखिएन । सफाई पाउने ठहरिएका गंगा गिरी बाहेक अन्य प्रतिवादीहरू विष्णु बहादुर गिरी १, कालुमान योन्जन १, वीर बहादुर तामाङ १, मेहीलाल सिं दनुवार १, अविरमान भन्ने डिले पाख्रीन १, आश बहादुर पाख्रीन १, रविघलान तामाङ १, हाजिरमान गोले तामाङ १, शुकबहादुर तामाङ १, ननिपत सिं दनुवार १ समेतले डाँका गरेको ठहराएको इन्साफ मनासिव देखिनाले शुरूको इन्साफ सदर हुन्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको ०३९।२।४ को फैसला ।

३०.   मैले डाँकाहरूलाई नदेखेको र त्यस दिन ईश्वरपुर गा.पं.वा.नं. ५ बस्ने देवराज बानियाँको घरमा श्री सत्यनारायण भगवानको पूजा भएकोले सो पूजाको निमन्त्रणामा गई रात त्यहीँ बसेको हुँदा मैले डाँकाहरूलाई  नदेखेको हुनाले कसकसले डाँका गरी कसले कृष्ण बहादुरलाई मारे थाहा छैन । डाँका खुन गरेको छैन । कृष्ण बहादुरको लाश प्रकृति मुचुल्का हुँदा गा.सं.स.को हैसियतले सो मुचुल्कामा ०३५।३।१८।१ का दिन शुरूमै मैले सहिछाप गरेको छु । पछि सरसल्लाह गरी इवी साधन गर्न पोल गरेको हो भन्ने समेत व्यहोराको दर्खास्तद्वारा हाजिर हुन आएका दुर्गानाथ गिरीले ०३९।७।१८ मा सर्लाही जिल्ला अदालतमा गरेको बयान ।

३१.   ०३५।३।१६ को राति देवराज वानियाको घरमा श्री सत्यनारायण भगवानको पूजा हुनाले मलाई र दाजुलाई निमन्त्रणा दिनु भएकोले गई रात त्यहीँ बसी भोलिपल्ट मात्र घर फर्केको हुँ घर आएपछि कृष्ण बहादुरको घरमा डकैती भोे र डाँकाहरूले कृष्ण बहादुरलाई मारेको थाहा पाएको हुँ । मैले डाँका गरेको छैन भन्ने समेत दर्खास्तद्वारा हाजिर हुन आएका धर्मलाल भन्ने धर्मराज गिरीले सर्लाही जिल्ला अदालतमा गरेको बयान ।

३२.   प्र. दुर्गानाथ गिरी, प्र.धर्मलाल गिरीले कसूर गरेकै भन्ने कुराको भरपर्दो ठोस प्रमाण कुनै नभएको र निजहरूका साक्षीहरूले निजहरूले कसूर गरेको होइन भन्ने बकपत्र गरेको समेत हुँदा कसूरदार ठहराउन नमिल्ने हुँदा अभियुक्त दुर्गा गिरी धर्मनाथ गिरी दुवैले सफाई पाउने ठहर्छ भन्ने समेत सर्लाही जिल्ला अदालतको ०४०।३।७ को फैसला ।

३३.   उक्त निर्णय उपर श्री ५ को सरकारको मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन ।

३४.   तथ्ययुक्त एवं निश्चित प्रमाणको अभावमा डाँका खुन जस्तो वारदात यी प्रतिवादीहरू समेत सम्मिलित भएका भन्न मिल्ने देखिन नआएको हुँदा शुरू जिल्ला अदालतले प्र. दुर्गा बहादुर भन्ने दुर्गालाल गिरी र प्र.धर्मलाल गिरीलाई सफाई दिने ठहराएको इन्साफ मनासिव देखिएकोले पुनरावेदन पुग्न नसकी सदर हुने ठहर्छ भन्ने समेत २०४०।१२।१४ को मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।

३५.   मध्यमान्चल क्षेत्रीय अदालतको ०३९।२।४ को फैसला उपर श्री ५ को सरकार तथा प्रतिवादी मध्येका विष्णु गिरीको पुनरावेदन र कालुमान योन्जन, अमिरमान पाख्रीन, रविघलान, वीर बहादुर योन्जन, मेहीलाल दनुवार तथा आशबहादुर पाख्रीनको पुनरावेदनको अनुमति पाउँ भन्ने निवेदनहरूमा पुनरावेदनको अनुमति दिने आदेश भएको र विष्णु बहादुरको पुनरावेदनमा झगडिया झिकाउने आदेश भएको तथा मध्यमान्चल क्षेत्रीय अदालतको ०४०।१२।१४ को निर्णय उपर श्री ५ को सरकारतर्फबाट पुनरावेदन पर्न आएको रहेछ ।

३६.   निर्णयार्थ डिभिजन बेञ्च समक्ष पेश हुँदा विष्णु बहादुर गिरीले अनुसन्धान अवस्थामा बयान गर्दा आफू समेत भई डाँका खुन गरेकोमा साविती बयान दिएका छन्, अदालतमा बयान गर्दा निजले इन्कारी बयान गरी ०३५।३।११ देखि ०३५।३।१७ सम्म जनकपुर अस्पतालमा भर्ना भई उपचार गरेको भन्ने जिकिर लिएको देखिन्छ । तर जनकपुर अस्पताल बुझ्दा ०३५।३।११ देखि ०३५।३।१७ सम्म उपचार गराएको अस्पतालको रेकर्डबाट देखिँदैन भन्ने जनकपुर अञ्चल अस्पतालको पत्रबाट देखिन्छ । मिसिल अध्ययन गर्दा खुन डाँका गराउन मुख्य भूमिका निज विष्णु गिरीले खेलेको देखिन्छ । यस स्थितिमा निज निर्दोष रहेछ भन्न सकिने अवस्था नहुँदा ज्यानसम्बन्धीको १३(१) बमोजिम सजायँ गरेको शुरू इन्साफ सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । गंगा गिरी खुन डाँका वारदातमा सम्मिलित भएको शंकारहित तवरबाट पुष्टी हुन नसकेकोले निजलाई वादी दावीबाट सफाई दिएको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव नै देखिन आयो । उद्धव प्रसादलाई चोरीको १४(४) नं. बमोजिम हुने ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको निर्णय मनासिव ठहर्छ । आसबहादुर तामाङ, रविघलान कालुमान योन्जन, अमिरमान पाख्रीन, वीर बहादुर योन्जन तथा मेहीलाल दनुवारलाई डाँका गरेमा चोरीको १४(४) बमोजिम सजायँ हुने ठहराएको मध्यमान्चल क्षेत्रीय अदालतको  इन्साफ मनासिव ठहर्छ प्र.धर्मनाथ गिरी तथा दुर्गालाल गिरीलाई वादी दावीबाट सफाई दिने गरेको शुरू सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव ठहर्छ । प्रहरी प्रतिवेदनमा ज्यानसम्बन्धीको १३(१) बमोजिम सजायँको माग दावी भएका मध्ये गंगा गिरीको हकमा श्री ५ को सरकारको पुनरावेदन परेको, विष्णु गिरीको हकमा निजको पुनरावेदन परेको र पुनरावेदन तहबाट इन्साफ भएको, कालुमान र वीर बहादुर योन्जनलाई ज्यानसम्बन्धीको १३(१) बमोजिमको दावीबाट सफाई दिई डाँका गरेमा चोरीको १४(४) नं. बमोजिम सजायँ गरेको र सो उपर निजहरूको पुनरावेदन समेत परी पुनरावेदन तहबाट इन्साफ भइसकेकोले साधक तहबाट इन्साफ दिनुपर्ने अवस्था नहुँदा साधकको लगत काटीदिनु भन्नेसमेत सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्रीको राय ।

३७.   ०३५।३।१६ गतेको रातमा वारदात घटेको छ प्रहरी तथा गाउँलेहरू तुरून्त घटनास्थलमा पुगेका छन् । ०३५।३।१८ मा मात्र वेदकुमारीको जाहेरी परेको छ र उक्त जाहेरीमा पर्ने कृष्ण बहादुरसँगै साथ रहेकी निजकी श्रीमती लिलादेवी बेहोस भएकीले होसमा आएपछि जाहेरी दिेनेछन् भन्ने उल्लेख भई कसैको नाम किटिएको छैन । अदालतमा भएको बेदकुमारीको वकपत्रबाट लिलादेवी ०३५।३।२४ मा होसमा आएको भन्ने देखिछ तर निजको कागज ०३५।४।१४ मा सरजमीन भएको दिनमा मात्र भएको छ । सरजमीनका निलहरी उपाध्याय, महादेवी मैनाली तथा नारायण गिरीको व्यहोरा अदालतको बयानसँग मेल नखाई फरक परेको देखिन्छ । प्र.उद्धव प्रसादले पोलेको हकमा निज आफू इन्कार रहेकोबाट आफू अपराधमा इन्कार रही गरेको सह अभियुक्तको पोलमा भर गर्न मिल्ने देखिँदैन । प्र. विष्णु गिरी र जाहेरवालाको घर एकदमै नजिकमा रहेको छ । यदि प्र.विष्णु गिरीले बन्दुक फायर गरी कृष्ण बहादुरको हत्या गरेको भए एकै ठाउँमा रहेकी निजकी श्रीमती लिलादेवीलाई छोड्नु नपर्ने हो, लिलादेवी उम्की भागेको भन्ने अथवा गाउँले वा प्रहरीको मद्दत तत्काल आई पुगेबाट डाँकाहरूलाई भाग्नुपरेको भन्ने पनि मिसिलबाट देखिँदैन । अर्को कुरा प्रस्तुत मुद्दामा समान स्थिति रहेको गंगा गिरीले सफाई पाइरहेको र विष्णु गिरीले भने सजायँ पाएको देखिन्छ । यसरी समान स्थितिका अभियुक्तहरू मध्ये कसैले शङ्काको सुविधा पाई सफाई पाउने र कसैले सजायँ पाउने कुरा पनि न्यायको दृष्टिमा मिल्ने देखिँदैन । अन्य प्रतिवादीहरूको हकमा र साधक र साधकतर्फ समेत सम्माननीय प्रधान न्यायाधीशज्यूसँग राय नमिलेकोले फुल बेञ्चमा पेश गर्नु भन्ने माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय ।

३८.   फुल बेञ्चसमक्ष पेश हुँदा यसमा फौ.पु.नं.२५९, २७९, ४४१, ४४२, ६७० र फौ.सा.नं. १९३ डिभिजन बेञ्चमा पेश हुँदा मतैक्य हुन नसकी फुल बेञ्चमा पेश गर्नु भनी फैसला भएको देखिन्छ । तर अहिले यस फुल बेञ्चमा फौ.पु.नं. २५९ मात्र फुल बेञ्चको लगतमा दर्ता गरी पेशीमा चढाएको देखिनाले बाँकी अन्य मुद्दाहरू पनि फुल बेञ्चको लगतमा दर्ता गरी पेशगर्नु भन्ने फु.बे.को ०४१।१२।२।६ को आदेश ।

३९.   पुनरावेदन प्रतिवादीको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी तथा वादी श्री ५ को सरकारतर्फबाट उपस्थित विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारको बहस समेत सुनियो ।

४०.   आज निर्णय सुनाउने तारेख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा ज्यानसम्बन्धीको १३(१) नं. बमोजिम सजायँको दावी भएको प्र.विष्णु बहादुरको हकमा नै सम्माननीय प्रधान न्यायाधीशज्यू र माननीय न्यायाधीश बीच मतैक्य हुन नसकेको पाइयो ।

४१.   वारदातको विषयमा जाहेरवाली वेदकुमारीको जाहेरी दर्खास्त, मृतक कृष्ण बहादुरको बायाँ आँखा माथि पुर्पुरोमा अन्दाजी एक इन्च गोलो दुई इन्च  गहिरो छर्रा लागेको घाउ, बीच भुडीमा अन्दाजी आधा इन्च गोलाई अन्दाजी साढे दुई इन्च गहिरो चुपी भालाले घोचेको घाउ, बायाँ कोखमा आधा इन्च गोलाई डेढ इन्च गहिरो चुपीले रोपेका घाउ भएको र बाँया हातको साहिँली र कान्छी औंलामा छर्रा लागि छिया छिया भएको भन्ने समेत लाश प्रकृति मुचुल्का देखिन्छ । त्यस्तै गरी लाश जाँच प्रतिवेदन समेतबाट कृष्ण बहादुरको मृत्यु कर्तव्यबाट भएकोमा विवाद देखिएन ।

४२.   वेद कुमारीको शुरू जाहेरीमा कसैको नाम उल्लेख भएको छैन तापनि वारदात अवस्थामा मृतक कृष्ण बहादुरको सँग साथै रहेकी निजकी श्रीमती लिलादेवीले मोकैमा प्र.विष्णु बहादुरलाई देखे चिने, निज विष्णु बहादुर गिरीले चलाएको बन्दूकको फायरबाट कृष्ण बहादुरको मृत्यु हुन गएको भनी किटानीपूर्वक लेखिदिएको र अदालतमा समेत आई सोही व्यहोरालाई समर्थन गर्र्दै बकपत्र गरेको पाइन्छ । प्र.विष्णु बहादुर गिरीले अनुसन्धान अवस्थामा बयान गर्दा कृष्ण बहादुरको घरमा डाँका वारदात गरी आफु समेत भई कृष्ण बहादुरलाई कर्तव्य गरी मारेमा सावित भइ बयान गरेका छन् । त्यस्तै गरी अनुसन्धान अवस्थामा बयान गर्दा वारदातमा सावित भई बयान गर्ने प्र.ननिपत सिं दनुवार, प्र.मेहिलाल दनुवार तथा हाजिरमान गोले तामाङ समेतले निज विष्णु बहादुर समेत भई डाँका गर्न गएको भनी पोल गरेको पाइन्छ । वारदातमा आफू सावित भई पोल गर्ने यी सहअभियुक्तहरूको बयानमा विश्वास गर्नु नपर्ने कारण देखिँदैन ।

४३.   अदालतमा बयान गर्दा प्र.विष्णु गिरीले वारदात हुनु भन्दा अगाडि देखि नै विरामी भएबाट जनकपुर अस्पतालमा उपचार गराएको भन्ने जिकिर लिएको देखिन्छ । तर जनकपुर अञ्चल अस्पताल बुझ्दा निजले ०३५।३।११ देखि ०३५।३।१७ सम्म उपचार गराएको अस्पतालको रेकर्डबाट देखिँदैन भन्ने ०३८।११।४ को जनकपुर अञ्चल अस्पतालको मिसिल संलग्न पत्रबाट देखिन्छ । यसको अलावा निजको बाबु गंगा बहादुर गिरीले वारदात अवस्थामा विष्णु बहादुर घरमै थिए भनी बयान गरेको समेतबाट वारदात समय ०३५।३।१६ को रात अन्यत्र थिएँ भन्ने निजको जिकिर प्रमाणित हुन सकेको देखिँदैन । साथै सरजमीनका सन्तोषकुमार, नारायण गिरी, निलहरी उपाध्याय, महादेवी मैनाली समेतले अदालतमा समेत आई निजलाई देखें चिनेको भनी पोल गरेको र निजहरूको बयान मुलभूत रूपमा तथ्यसँग मेल खाएको नै देखिन्छ । त्यस्तै गरी अदालतमा आई बयान गर्ने प्र.उद्धव प्रसादले पनि प्र.विष्णु बहादुरले डाँका गर्न जाउँ भनी भनेको थियो भनी लेखाएको पाइन्छ । मिसिल अध्ययन गर्दा प्रस्तुत ज्यान डाँकाको वारदात गराउनमा मुख्य भूमिका विष्णु बहादुर गिरीले नै खेलेका देखिन्छ र निज निर्दोष रहेछ भन्न सकिने सबूत प्रमाण केही देखिँदैन । अतः प्र.विष्णु बहादुर गिरीलाई ज्यानसम्बन्धीको १३(१) बमोजिम सजायँ हुने ठहराएको शुरू जिल्ला अदालत र मध्यमान्चल क्षेत्रीय अदालतका इन्साफ सदर गरेको सम्माननीय प्रधान न्यायाधीशज्यूको राय मनासिव ठहर्छ ।

४४.   प्र.गंगा बहादुर गिरीलाई वादी दावीबाट सफाई दिएको, उद्धव प्रसादलाई चोरीको १४(४) नं. बमोजिम सजायँ हुने र त्यस्तै गरी आसबहादुर तामाङ, रविघलान, कालुमान योञ्जन, अमिरमान पाख्रिन, वीर बहादुर योञ्जन, मेहिलाल दनुवारलाई चोरीको १४(४) नं. बमोजिम सजायँ हुने ठहराएको र प्र.धर्मनाथ गिरी तथा दुर्गालाल गिरीलाई वादी दावीबाट सफाई दिएको सम्माननीय प्रधान न्यायाधीशज्यूको रायमा माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानज्यूको सहमति देखिएकोले केही बोली रहनु परेन, सम्माननीय प्रधान न्यायाधीशज्यूको रायबमोजिमको लगत कायम भइसकेको हुँदा उक्त लगत बमोजिम गर्नु भनी का.जि.अ.त.मा लेखी पठाइदिनु । पुनरावेदन तहबाट इन्साफ भइसकेको हुँदा साधकतर्फबाट केही बोलिरहनु पर्ने अवस्था रहेन साधकको लगत कट्टा गरिदिनु । प्र.गंगा बहादुर गिरीले  सफाई पाएकोले निजलाई थुनाबाट छाडी दिनु भन्ने आदेश भई गएको र मध्यमान्चल क्षेत्रीय अदालतका मिति ०३९।२।४ का फैसला र ०४१।१२।५ का लगत बमोजिम हुने नै हुँदा केही गरी रहनु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।

 

उक्त रायमा हामीहरूको सहमति छ ।

 

न्या.गजेन्द्रकेशरी बास्तोला

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४२ साल बैशाख ७ गते रोज ६ शुभम् ।