March 31, 1985
Created by nepalarchives

निर्णय नं. २२३९ – ज्यान

निर्णय नं. २२३९     ने.का.प. २०४२      अङ्क १   डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा सम्वत् २०४० सालको...

निर्णय नं. २२३९     ने.का.प. २०४२      अङ्क १

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह

माननीय न्यायाधीश श्री महेशराम भक्त माथेमा

सम्वत् २०४० सालको फौ.पु.नं. ३४५, ३७७

मुद्दा : ज्यान ।

 

पुनरावेदक/प्रतिवादी:जि.महोत्तरी पीपरा गा.पं.वा.नं.४को हाल सहिदवा वा.नं. ७ बस्ने बद्री नारायण यादव

विरूद्ध

विपक्षी/पुनरावेदक/वादी      : श्री ५ को सरकार

विरूद्ध

विपक्षी/प्रतिवादी:जि.महोत्तरी पीपरा आदर्श गा.पं.वा.नं.४ को हाल सहीदवा गा.पं.वा.नं.७ बस्ने बद्री नारायण यादव समेत

फैसला भएको मिति:२०४१।१२।१८ मा

     मृतकसँग मार्नेसम्मको पहिलेको रिसइवी भएको नदेखिएको अवस्थामा २ पक्षको बीचमा भएको भनाभनको स्थिति चर्कन गई तत्काल उठेको रिस आवेगमा प्र.बद्री नारायणले आफूसँग रहेको लाठीले प्रहार गर्दा भन्ने कुरा प्रहरीमा साविती भएको र सो को पुष्टी पोष्टमार्टम रिपोर्ट समेतबाट समर्थन हुन आएको हुँदा निजलाई ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम सजायँ गर्ने गरेको शुरूको इन्साफ मनासिव ठहर्‍याएको मध्यमान्चल क्षेत्रीय अदालतले गरेको निर्णय मनासिव ठहर्छ ।

(प्रकरण नं.२८)

पुनरावेदक/प्रतिवादीहरूको तर्फबाट:विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्त

पुनरावेदक तर्फबाट :विद्वान वरिष्ठ अधिवक्ता श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री शम्भु थापा

उल्लेखित मुद्दाःX

फैसला

न्या.सुरेन्द्र प्रसाद सिंहः मध्यमान्चल क्षेत्रीय अदालतबाट शुरू जि.अ.ले गरेको फैसला आंशिक सदर गर्ने गरी गरेको फैसला उपर चित्त बुझेन भनी श्री ५ को सरकारतर्फबाट र ज्यानसम्बन्धी महलको १४ नं. बमोजिम गर्ने गरी गरेको फैसला उपर प्र.बद्री नारायणको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यस प्रकारको छ :

२.    ०३७ साल आषाढ ९ गतेको राति गरीव र धनी पक्षको बीच वादविवाद हुँदा वातावरण चर्कन गई बद्री नारायण यादव समेतका व्यक्ति हातहातमा भाला लाठी लिई आई बद्री नारायण यादवले गरेको लाठीको चोटबाट भरोसी मण्डललाई टाउकोमा लाग्न गई सोही तत्काल मुत्यु भएको हुँदा कानुन बमोजिम कारवाही गरिपाउँ भन्ने समेत व्यहोराको लक्ष्मणवतीले दिएको जाहेरी ।

३.    ०३७।३।९ को साँझमा ७।८ बजेतिर गरीव पक्षका ३०।३२ जना महावीर र पुरणको घरनिर जम्मा भएकोमा थाहा पाई धनी पक्षको २५।३० जना त्यस ठाउँमा पुगी दोहरो भनाभन हुँदा पुरणले बद्रीलाई बोलाई ल्याउनु भनी खबर पठाई बोलाइ ल्याएपछि बद्री नारायण यादवले हातमा लिएको बाँसको लाठीले एक्कासी प्रहार गर्दा गरीव पक्षको भरोसी मण्डललाई लाग्न भई घटनास्थलमै मृत्यु भएको हो भन्ने समेत विनोद झा, बुचा झा, मोहन झा, दशरथ यादवले गरेको बयान ।

४.    ०३७।३।९।१ को साँझ गरीव पक्षका मानिसहरू पुरणको घरनिर आई झगडा हुन थालेको छ तपाई पनि जान पर्‍यो भनी मलाई घरमा आई सत्यन्द्रसमेतले भनेपछि म हातमा लाठीलिई उनीहरूको साथमा जाँदा धनी र गरीव पक्षकाबीच भनाभन भएको रहेछ । त्यो अवस्थामा महावीर र पुरणको घरबाट लाठी ढुंगा चलाउन लागेकोले गरीवहरू रिसाई हामीलाई मार्न पाउँदैनौं भनी अगाडि बढ्न लागेकोले पुरण, महावीर, बद्री साहु, जीवनले मलाई हौसला बढाएकोले हातमा रहेको लाठी प्रहारगर्दा भरोसी मण्डललाई टाउकोमा लाग्न गई मृत्यु भएछ त्यसपछि मलाई टाउकोमा महावीरको घरबाट चलाएको ढुङ्गा लागी बेहोश भए के के भयो मलाई थाहा भएन भन्ने समेत व्यहोराको बद्री नारायणको बयान कागज ।

५.    सोहीमाथि उल्लेख भएकै विषयलाई समर्थन गर्दै महावीर र बद्री साहुले वचन दिए जीवछ र पुरणले घेर छेक गरी संयोग पारिदिए बद्रीले लाठी चलाए भरोसीलाई टाउकोमा लाठी लाग्न गई घटनास्थलमा मृत्यु भयो भन्नेसमेत आआफ्नो व्यहोरामा लेखाई दिएको गुदरीमण्डलसमेतका व्यक्तिको सरजमीन मुचुल्का ।

६.    बद्री नारायण यादवलाई मु.ऐ.ज्यानसम्बन्धीको १ नं. को परिभाषित कसूर गरेको अपराधमा सोही ऐनको १३(३) बमोजिम मार्न वचन दिने र संयोग पारिदिने जिवछ, बद्री साहु, महावीर र पुरणलाई सोही ऐनको १३(४) र अन्य अभियुक्तलाई सोहीऐनको १७(३) बमोजिम सजायँ गरिपाउँ भन्नेसमेत प्रहरी प्रतिवेदन ।

७.    ०३७।३।९ गतेको राति १०।११ बजेको समयमा पुरण साहुको घरमा डाँका हुँदैछ भन्ने हल्ला सुनी हेर्न जाँदा बाटामा ३०।५० जनाले मलाई कुटपीट गरे म बेहोश भई भुइँमा लडे । प्रहरीले तँलाई बेहोश पारी सहीछाप गराएको हो मैले भरोसीलाई मारेको होइन । सरजमीनका मानिसले मलाई कुटेमा अस्पताल जाँच गराउन दर्खास्त दिई जाँच गराएकोमा सो अपराधबाट बच्न झुठ्ठा सरजमीन बकी लेखिदिएका हुन भन्ने प्र.बद्री नारायण यादवको अदालतमा भएको बयान ।

८.    २०३७।२।९ गते हामी गोरू किन्न जि.धनुषा नगरान गा.पं. को जटही गाउँमा गएका थियौं फर्की आउँदा प्रहरीले कुटपीट गरी बयान गराएका हुन सरजमीनको मानिसले ज्यालामा विवाद हुँदा सोही रिसले झुठ्ठा सरजमीन बकी दिएका हुन् । भरोसीको मृत्यु धनी र गरीव बीचको झगडामा भएको हो हामीले अपराध गरेको छैनौं भन्ने समेत व्यहोराको विनोद झा र मोहन झाले अदालतमा गरेको बयान ।

९.    म वृद्ध भएकोले वारदात भएको दिन म आफ्नै घरमा थिए । वारदात भई भरोसी मरेको प्रहरीले पक्राउ गरेपछि थाहा पाएको हुँ । म निर्दोष छु भन्ने समेत व्यहोराको दशरथ यादवले अदालतमा गरेको बयान ।

१०.    ०३७।३।९ गते म भमरपुर गा.पं.रोतेली गाउँको किशोरी ठाकुरको घरमा गई फर्किदा प्रहरीले पक्राउ गरी म आँखा नदेख्ने भएकोले डर देखाई सहिछाप गराएका हुन् म निर्दोष छु भन्ने समेत व्यहोराको बुचा झाले अदालतमा गरेको बयान ।

११.    ०३७।३।८ गते नै म गोरू किन्न गएको ११ गते मात्र फर्केको हुँ । भरोसी मर्‍यो भन्ने मैले गाउँमा आएपछि मात्र सुनेको हुँ । के भई मर्‍यो थाहा छैन भन्ने समेत लिलाकान्त झाले अदालतमा गरेको बयान ।

१२.   नाति बिरामी परेछ भनी मेरो बुहारीको माइत धनुषा दुहवी वा.नं.४ खडानन्दको घरमा ०३७।३।८ मा त्यता गएर ०३७।३।१२मा फर्केको हुँदा गाउँमा भरोसी मरेछ प्रहरीले पक्राउ गर्दछ भनेको सुनी  घरमा नगई अन्यत्र गएको हुँ म निर्दोष छु भन्नेसमेत व्यहोराको वैजनाथ झाले अदालतमा गरेको बयान ।

१३.   श्रवण कुमारको आमा बिरामी छन् भनी ०३७।३।८ मा म.जि.महोत्तरी नैनही गा.पं.वा.नं. ८ थारूवारी गाउँमा गएको थिएँ । मैले कुनै कसूर गरेको छैन । भरोसी कसरी मरे मलाई थाहा छैन भन्ने समेत व्यहोराको शिषकान्त झाले अदालतमा गरेको बयान ।

१४.   ०३७।३।७ मा धनुषाको देवदीया गई बसेको अवस्थामा गाउँमा खुन भयो भन्ने सुनेको हुँ भरोसी के भएर मरेको हो थाहा छैन म निर्दोष छु भन्ने समेत राम झा मैथिलले अदालतमा गरेको बयान ।

१५.   गुदरि मण्डल समेतका मानिसले मलाई मार्छु भन्ने हल्ला गाउँमा सुनाई रहेको हुँदा शान्ति सुरक्षा गरिपाउँ भनी ०३७।३।९ मा जिल्ला कार्यालयमा निवेदन दिएर फर्कीँदा राति गाउँमा डाँका गर्ने हल्ला छ भन्ने सुनी ज्यान बचाउन मेरो ससुराली जि.ध.मुखियापट्टी मु.सु.हनिया बस्ने हज्रासिर्का घरमा गएँ । डाँका परेको १० गते मरिहसिमा सुनेर इटाडियामा ०३७।७।१६ मा फर्केको हुँ । भरोसी के कसको पिटाइबाट मर्‍यो थाहा छैन म निर्दोष छु भन्ने समेत व्यहोरा पुरण साहु तेलीको अदालतमा भएको बयान ।

१६.    ०३७।३।७ गते निम्ता मान्न जलेश्वर वरिवदी गाउँमा गएको थिएँ त्यहाँबाट ९ गते मावली धनुषा घोडधासमा जाँदा भोलिपल्ट हुलदङ्गा हुँदा मानिस मरेको सुनेको हुँ । ३।४ दिनपछि गाउँमा आएकोले म निर्दोष छु भन्ने समेत चन्डेश्वर साहुतेलीले अदालतमा गरेको बयान।

१७.   ०३७।३।७ गते नातिको मुण्डन भएकोले जि.भमगाह गाउँमा गएर १२ गते मात्र फर्किदा मात्र भरोसी मण्डलको मृत्यु भएको भन्ने सुनेको हुँ भन्ने दुखी साहु तेलीको अदालतको बयान ।

१८.   धनुषा शान्तिपुरमा खेती भएकोले ०३७।३।१ गते त्यसतर्फ गई २५ गते गाउँमा फर्कदा भरोसी मरेको सुनेको हुँ म गाउँमा नभएकोले निर्दोष छु भन्ने समेत व्यहोराको शिव साहुले अदालतमा गरेको बयान ।

१९.    बुहारी लिन ०३७।३।७ गते जि.धनुषा ढल्केवर गएँ १३ गते भरोसी मरी जाहेरीमा मेरो समेत नाउँ छ भनी छोरा आएर भनेकोले गाउँमा गइन । म गाउँमा नगएको समयमा वारदात भएकोले म निर्दोष छु भन्ने समेत महावीर साहुुतेलीले अदालतमा गरेको बयान ।

२०.   ०३७।३।७ गते जि.म.वलवा छोरीको घरमा गई १३ गते आफ्नो घरमा आउँदा भरोसी मण्डल मर्‍यो भन्ने सुनें म वारदातको समयमा गाउँमा नहुँदा म निर्दोष छु भन्नेसमेत व्यहोराको बद्रीसाहुले अदालतमा गरेको बयान ।

२१.   ०३७।३।८ गते फुपूको घर धनुषा गई १३ गते गाउँमा आएको हुँ म निर्दोष हुँदा मलाई सजायँ हुनुपर्ने होइन भन्ने समेत जिवछ यादवले अदालतमा गरेको बयान ।

२२.   बद्रीनारायण यादवलाई ज्यानसम्बन्धीको १४ नं. बमोजिम पुरण साहू तेलीलाई सोही ऐनको १७(३) बमोजिम हुन्छ । नवलकिशोर भोला झाले ७० दिने म्याद पुर्जीको म्याद गुजारी फरार भई बसेकोले निजहरूको हकमा मुलतवी राखी दिने र जिवछ, बद्री साहु, महावीर, विनोद, मोहन, दशरथ यादव, दुःखी साहु, चण्डेश्वर, शिव शाह, वैजनाथ, राम झा, सत्यन्द्र झा, लिलाकान्त झा, रामचन्द्र शाह, शिवचन्द्र, बुचा झाको सम्बन्धमा निजहरूले प्रहरी प्रतिवेदन दावीबाट फुर्सद पाउने ठहर्छ भन्ने समेत ०३९।४।२२ को शुरू महोत्तरी जिल्ला अदालतले गरेको फैसला ।

२३.   शुरू जि.अ.ले गरेको फैसलामा चित्त बुझेन भन्ने प्र.बद्री नारायण यादव र प्र.पूर्ण साहु तेलिले र सफाई दिएको मिलेन भनी श्री ५ को सरकारको समेत मध्यमान्चल क्षेत्रीय अदालतमा परेको पुनरावेदन पत्र ।

२४.   मार्ने सम्मको इवी लागू नहुँदा भनाभनको सिलसिलामा तत्कालै उठेको रिसबाट बद्री नारायणले छोडेको चोटबाट भरोसी मण्डलको मृत्यु भएको देखिँदा ज्यानसम्बन्धीको १४ नं. बमोजिम सजायँ गर्ने गरेको मनासिव नै हुँदा सदर हुने ठहर्छ र पुरण साहुको हकमा निजले अपराधमा वचन दिएको अथवा मार्नमा संयोग पर्न दिएको अथवा अपराधमा सहमत भएको भन्ने सबूत प्रमाणको अभावमा शुरूले १७(३) बमोजिम सजायँ गर्ने गरेको मिलेको नहुँदा सफाई पाउने ठहर्छ सो बाहेक अन्य प्रतिवादीहरूको हकमा शुरूले सफाई दिएको मनासिव नै हुँदा प्रष्ट हुने ठहर्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।

२५.   मृतक भरोसी मण्डललाई मार्नुमा मेरो कुनै सहमति वा परोक्ष वा प्रत्यक्ष रूपमा संलग्न नभएकोमा मलाई ज्यानसम्बन्धीको १४ नं.बमोजिम कैद सजायँ गर्ने गरेको शुरू जि.अ.को फैसला सदर गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला न्यायसंगत नहुँदा सफाईपाउँ भनी र किटानी जाहेरी र सरजमीनका सम्पूर्ण व्यक्ति हरूले आफूले प्रत्यक्षरूपमा वारदात देखेको कुरा स्वीकार गर्दै जाहेरीलाई समर्थन गरेको र सम्पूर्ण प्र. हरूमाथि गडाउगरेको स्थितिमा शुरूले र मध्यमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ न्यायसंगत नहुँदा शुरू प्र.प्रतिवेदन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन ।

२६.   नियम बमोजिम निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक श्री ५ को सरकारतर्फबाट खटिई आउनुभएका विद्वान अतिरिक्त सरकारी अधिवक्ता श्री राजेन्द्रराज पन्त र पुनरावेदक बद्री नारायण यादवको तर्फबाट रहनुभएका विद्वान व.अ. श्री कुसुम श्रेष्ठ र विद्वान अधिवक्ता श्री शम्भु थापाले गर्नु भएको बहस जिकिर समेत सुनियो । मुख्य रूपमा मध्यमान्चल क्षेत्रीय अदालतले गरेको फैसला मिले नमिलेको के रहेछ सो को निर्णय दिनुपर्ने हुन आयो ।

२७.   यसमा निर्णयतर्फ विचार गर्दा धनी र गरीव पक्षको मानिसहरूको बीचमा भनाभन हुँदा स्थिति चर्कन गई बद्रीले हिर्काएको चोटबाट मृतक भरोसी मण्डलको मृत्यु भएको भन्ने कुरा जाहेरी दर्खास्तमा किटानी रूपमा उल्लेख भएको पाइन्छ ।

२८.   बद्रीले अधिकारप्राप्त अधिकारी समक्ष आफूले बयान गर्दा आफ्नो हातमा रहेको लाठीले हिर्काउँदा भरोसी मण्डलको टाउकोमा लाग्न गई मृत्यु भएको हो भन्ने कुरा स्वीकार गरेको पाइन्छ सो बाहेक सरजमीनको गुदरी मण्डल समेतले प्र.बद्री नारायणको लाठीको प्रहारबाट भरोसी मण्डलको मृत्यु भएको भन्ने कुरालाई समर्थन गरी बकी लेखिदिएको पाइन्छ । लाश पोष्टमार्टम रिपोर्ट हेरेमा मृतकको मृत्यु टाउकोमा लागेको चोटबाट भएको भन्ने देखिन्छ । यस प्रकार मृतकको मृत्यु टाउकोमा लागेको चोटबाट भएको भन्ने कुरामा विवाद देखिन आएन र प्र.बद्री नारायणको प्रहरीमा आफूले लाठीले हिर्काएकोमा साविती भएको कुराको पुष्टी लाशजाँच फारामबाट प्रष्ट भएको पाइन्छ, साथै निजले हानेका लाठीको प्रहारबाट भरोसी मण्डलको मृत्यु भएको भन्ने कुरा सरजमीनका व्यक्तिहरूले पनि बकी लेखिदिएको पाइन्छ । यद्यपि अदालतमा बयान गर्दा प्र.बद्री नारायण पूर्णरूपमा इन्कार रही प्रहरीले मलाई वेहोश पारी सहिछाप गराएको हो मैले राजीखुसीले गरेको होइन भनी भनेका छन् तापनि आफूले प्रहरीको कागजमा सही  गरेको कुरालाई इन्कार गर्न सकेको देखिँदैन यस प्रकार निज मृतककसँग मार्नेसम्मको पहिलेको रिसइवी भएको नदेखिएको अवस्थामा २ पक्षको बीचमा भएको भनाभनको स्थिति चर्कन गई तत्काल उठेको रिस आवेगमा प्र.बद्री नारायणले आफूसँग रहेको लाठीले प्रहार गर्दा भरोसी मण्डलको मृत्यु भएको भन्ने कुरा प्रहरीमा साविती भएको र सो को पुष्टी पोष्टमार्टम रिपोर्ट समेतबाट समर्थन हुन आएको हुँदा निजलाई ज्यानसम्बन्धी महलको १४नं. बमोजिम सजायँ गर्ने गरेको शुरूको इन्साफ मनासिव ठहर्‍याएको मध्यमान्चल क्षेत्रीय अदालतले गरेको निर्णय मनासिव ठहर्छ । श्री ५ को सरकारको र प्रतिवादी समेतको पुनरावेदन जिकिर पुग्न सक्दैन । तपसीलको कुरामा तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्र.बद्रीनारायण यादवके माथि इन्साफ खण्डमा लेखिए बमोजिम निजको हकमा क्षे.अ.को इन्साफ सदर भएकाले शुरूले गर्ने गरेको कैद वर्ष १० मा पुनरावेदन गरे वापत अ.बं. २०३ बमोजिम दोस्रो तहको पुनरावेदन हुँदा सयकडा ५। प्रतिशतले हुने कैद वर्ष ।६ महिना थप कैद हुन्छ । लगत कसी असूल गर्नु भनी महोत्तरी जि.अ.तमा लेखी पठाउन का.जि.अ. तहसील फाँटमा लगत दिनु……………………………………………………………………१

मिसिल नियमानुसार गरी बुझाई दिनु……………………………………………….१

 

उक्त रायमा म सहमत छु ।

 

न्या.महेशराम भक्त माथेमा

 

इतिसम्वत् २०४१ साल चैत्र १८ गते शुभम् ।