निर्णय नं. २२३८ – कर्तव्य ज्यान
निर्णय नं. २२३८ ने.का.प. २०४२ अङ् १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको...
निर्णय नं. २२३८ ने.का.प. २०४२ अङ् १
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको डि.फौ.पु.नं. ५३३
मुद्दा : कर्तव्य ज्यान ।
पुनरावेदक/वादी: डम्बर सिंहको जाहेरीले श्री ५ को सरकार
विरूद्ध
विपक्षी/प्रतिवादी: जि.दाङ न.पं. वा.नं. ६ बस्ने पातली मगर्नी
फैसला भएको मिति : २०४१।१२।२३।६ मा
बच्चा जन्मिएपछि बच्चा दुर्घटनावश आफैं पनि निस्सासिएर मर्न सक्ने भनि मोदिको मेडिकल जूरिस्प्रोडेन्सबाट हत्याको परिच्छेद नवौं संस्करण पृष्ठ ३७५ मा लेखिएको र मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतको फैसलामा उल्लिखित बुँदा प्रमाणहरू समेतको आधारमा प्रतिवादीको कर्तव्यबाट नै मृतक बच्चीको मृत्यु भएको भन्ने कुरा निर्विवाद रूपमा समर्थित हुन नसक्ने शंकाजन्य स्थितिको सिर्जना हुन गएको यस्तो स्थितिमा निज प्रतिवादीहरूलाई कसूरदार ठहर गर्न नमिल्ने ।
(प्रकरण नं.१९)
पुनरावेदक वादीहरुको तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमार
विपक्षी प्रतिवादीहरुको तर्फबाटःX
उल्लेखित मुद्दाःX
फैसला
न्या.सुरेन्द्र प्रसाद सिंह: मध्य पश्चिमान्चल क्षेत्रीय अदालतले सफाई दिई गरेको फैसला न्यायसंगत नहुँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम प्रतिवादीलाई सजायँ गरिपाउँ भनी श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदनको संक्षिप्त व्यहोरा निम्न प्रकारको छ ।
२. मिति ०३८।१२।१२ गते बिहान अन्दाजी ६/७ बजे म आफ्नो खेत सुकिदह तर्फ जादाँ वर पिपलको स्वेताको किनारमा बगरमाथि भर्खर जन्मिएको मरेको बच्चा फालिएको देखेको हुनाले जाहेर गरेको छु भन्ने न.स.स. डम्बर सिंह घर्ति मगरको जाहेरी ।
३. दाङ त्रिभुवननगर गा.पं.वा.नं. ६ भित्र पर्ने सेडिनी सौताको बालुवामा उत्तर सिरान दक्षिण गरी उत्तानो परेको बालिकाको लाश कौवा चिलले खाएको जस्तो भन्ने समेत लाश प्रकृति मुचुल्का ।
४. पातली मगर्नीलाई जाँच्दा निजले महिना पुगेको बच्चा जन्माएको र बच्चा जन्माएको ४/७ दिनभित्र भएको भन्ने महेन्द्र अस्पताल दाङको डाक्टर सन्त कुमार श्रेष्ठको जाँच प्रतिवेदन पत्र ।
५. मेरो लोग्ने पदम बहादुर तर्फबाट ३ वटा केटाकेटी जन्मेका छन् लोग्ने विदेश गएको ४ वर्ष भयो चिठ्ठी समेत नआउने र घर भत्केकोले माइतिघर सुपेलामा आई बसेको छु १ वर्ष भयो हरि बहादुरसँग उठबस करणी लेनदेन भएको थियो । गत श्रावण देखि गर्भ बोकेको थिएँ । हरि बहादुरको अर्को स्वास्नी भएको र घर बनाउन लागेकोले घर तयार भएपछि निजसँग पोइल जाने विचार थियो त्यतिकैमा म माइतिघर भएकै अवस्थामा राति ११ बजे मरेको बच्चा (छोरी) जन्मिएछ । हरि बहादुरले सिरकको खोलमा लगी पर पिपलको सोतामा गाडेर आएका हुन् । भोलिपल्ट भल आएछ र निकाली बगरमा फ्यालेछ । मेरो गर्भबाट मरेको बच्चा जन्मेको होइन र गर्भ पतन पनि गराएको होइन भन्ने समेत पातली मगर्नीको प्रहरीमा भएको बयान ।
६. बच्चा जिउँदो जन्मेको हो र मृत्युको कारण निसास्सिएर भएको हुन सक्दछ भन्ने डाक्टर सन्त कुमारले ०३८।१२।१३ र ०३८।१२।१६ को लाश जाँच प्रतिवेदन सहितको पत्र ।
७. पातलीको विवाह नहुँदै निजको र मेरो प्रेम भई करणी लिने दिने गर्दथ्यो पछि मेरो सरूवा मालुवाङ भएकोले पातलीको पदम बहादुरसँग विवाह भएछ । पातलीको लोग्ने विदेश गएकोले पातलीसँग करणी लिने दिने भई रहन्थ्यो । ०३८ भाद्रमा गर्भ रहेको थाहा पाएपछि बच्चा भए व्यहोर्छु भनेको र ०३८ चैत्र १४ गते राति अं. १०।११ बजे बच्ची जन्मिएको र हेर्दा मरेको देखेर दुवैको सल्लाह भई मृत बच्चालाई कपडामा राखी एक्लै लिई गई बर पिपलको सौतामा खाल्डो खनी बालुवा माटोले पुरी आएको हुँ । भोलिपल्ट असिना पानी आएको मृतक बच्चालाई सोही पानीले बगाएर ल्यायो होला भन्ने समेत हरि बहादुर बस्याल मगरको ततिम्बा सहितको प्रहरी समक्ष भएको बयान ।
८. पातलीले जन्माएको बच्चा जिउँदो थियो वा मरेको थियो मौकामा नदेखेकोले कर्तव्यबाट मारेको र Çयालेको हुन छुट्याउन सक्दैनौं भन्ने समेत सरजमीन मुचुल्का ।
९. हरि बहादुर र पातली बालिका मारेमा इन्कार रहेतापनि पातलीको लोग्ने परदेश भएको र हरि बहादुरको अनुचित सम्बन्धबाट जन्मिएको बच्चा छिपाउने उद्देश्यले रातारात एक्लै गाड्न गएकोहुँदा जिउँदो बालकलाई मारेको सिद्ध हुनआएकोले ज्या.सं.को १३(३) बमोजिम सजायँ गरिपाउँ भन्ने समेत व्यहोराको प्रहरी प्रतिवेदन ।
१०. हरि बहादुरसँग बसउठ भई निजको करणीविर्यबाट मेरो गर्भरही ०३८।१२।१०गते बच्चा जन्मी म बेहोस भएँ । बच्चा रोएको थाहा भएन । १५।२० मिनेट पछि होस् आई हेर्दा बच्चा हलचल केही गरेन मरिसकेको रहेछ । गर्भपतन गर्ने उद्देश्यले केही औषधी समेत खाएको छैन भन्ने समेत पातली मगर्नीले अदालतमा गरेको बयान ।
११. पातलीको लोग्ने भारतपंजाबमा गएका कार्तिकदेखि पातलीसँग बसउठ भई स्वास्नी तुल्याएको थिएँ र पातलीको पेटमा मेरो विर्यबाट गर्भ रही ०३८।१२।१० गते मरेकी बच्ची जन्मेको थियो । मृतक बच्चालाई म एक्लैले खोलामा लगी गाडी घर आएको हुँ पातलीलाई व्यथा लाग्दा गाउँका २, ४ जना पनि थिए जिउँदो बच्चालाई कर्तव्य गरी मारेको नभई मरेको बच्चा जन्म भएको हो भन्ने समेत हरि बहादुरको अदालतमा भएको बयान ।
१२. पातली बिरामी छन् भनी जाँदा ०३८।१२।१६ गतेको राति अन्दाजी १०।११ को समयमा पातली आमै भनी कराएको सुनेपछि केही चालचुल नहुँदा पातली मुर्छा परेकी रहिछन् । बच्ची हलचल रूने समेत गरेको सुनेनौं । नरोएकोबाट मरेकै बच्चा जन्मिएको रहेछ । पातली र हरि बहादुरले कर्तव्य गरी बच्चा मारेको होइन भन्ने समेत प्र.पातली र हरि बहादुरको साक्षीहरूको अदालतमा भएको बकपत्र ।
१३. पक्का सबूत प्रमाणको आभावमा दोषी ठहराउन मनासिव नहुँदा प्रतिवादीहरू हरि बहादुर र पातलीले सफाई पाउने ठहर्छ भन्ने समेत शुरू जिल्ला अदालतको ०३९।१०।१३ को जाहेरी फैसला ।
१४. मृतक बच्चा स्वास अवरूद्ध भई मृत्यु भएको भन्ने उल्लेख भएको सोको खण्डन प्रतिवादी र अदालतबाट भएको छैन । जिउँदो शरीरमा मात्र रक्त संचार भई निलडाम पर्ने मोदीको जरिस्प्रोडेन्समा उल्लेख गरेको पाइन्छ । मेडिकल जाँचबाट जिउँदो बच्चा जन्मेको भन्ने प्रष्ट हुन आएकोले प्रतिवादीलाई सफाई दिएको शुरू जिल्ला अदालतको फैसला उपर चित्त बुझेन भन्ने प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ गरिपाउँ भन्ने समेत वादी श्री ५ को सरकारको ०३९।१२।९।४ को पुनरावेदन पत्र ।
१५. प्रतिवादीहरू आफू आफूको अनुचित करणी सम्बन्ध स्थापित भई जन्मिएको बच्चालाई मारेको भन्ने प्रमाणको अभावमा प्रतिवादीहरूलाई दोषी ठहर गर्न न्यायोचित नहुँदा सफाई दिने ठहराएको शुरू दाङ देउखुरी जि.अ.को इन्साफ सदर हुनेठहर्छ भन्नेसमेत मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको मिति २०४०।९।१२ को फैसला ।
१६. प्रतिवादीहरूलाई सफाई दिने गरेको शुरू जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको क्षेत्रीय अदालतको इन्साफ कानुन विपरीत हुँदा सो उल्टाई प्रहरी प्रतिवेदन माग दावी अनुसार सजायँ गरिपाउँ भन्ने समेतको श्री ५ को सरकारको यस अदालतमा पर्न आएको पुनरावेदन पत्र ।
१७. नियम बमोजिम दैनिक पेशी सुचीमा चढी बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक वादी श्री ५ को सरकारको तर्फबाट खटिई आउनुभएका विद्वान सरकारी अधिवक्ता श्री वलिराम कुमारले महेन्द्र अस्पतालको प्रतिवेदन अनुसार प्रतिवादी पातलीबाट पूरा महिना पुगेको बच्चा जन्मी श्वास अवरूद्ध भई मृत्यु भएको भन्ने उल्लेख हुँदाहुँदै प्रतिवादीहरूलाई सफाई दिने गरेको शुरू र क्षेत्रीय अदालतको इन्साफ समेत मिलेको छैन भनी प्रस्तुत गर्नुभएको बहस समेत सुनियो ।
१८. प्रस्तुत मुद्दामा मध्य पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको इन्साफ मनासिव छ छैन सोको निर्णय दिनुपर्ने देखिन्छ ।
१९. इन्साफतर्फ विचार गर्दा यसमा बर पिपलको स्वताको किनार बगरमाथि भर्खर जन्मिएको बच्चा मरेको देखेको हुनाले जाहेर गर्न आएको छु भन्ने डम्बर सिंह घर्ति मगरको जाहेरी दर्खास्त परेको देखिन्छ । म अघि देखि बिरामी हुँदा कमजोर थिएँ बच्चा जन्मेपछि म बेहोस् भई हालें १५।२० मिनेटपछि होस् आई बच्चा हेर्दा रूने हलचल केही गरेन, हेर्दा बच्चा मरिसकेको रहेछ भन्ने पातली तामाङनीको बयान भएको छ । सरजमीनका व्यक्तिहरूले निज प्रतिवादीहरूकै कर्तव्यबाट मृतक मरेको हो भनी लेखाउन सकेका छैनन् । पोष्टमार्टम हुँदा मृतक कर्तव्यबाट निस्सासिएर मरेको भन्न नसकी बच्चीको मृत्युको कारण निस्सासिएर मरेको हुन सक्छ भन्ने सम्म लेखिएको पाइन्छ । निस्सासिएर बच्चा मर्नुको मतलव प्रतिवादीहरूले नै मारेको भन्ने प्रमाण बेगर भन्न हुने स्थिति भएन त्यसमा पनि बच्चा जन्मिएपछि बच्चा दुर्घटनावश आफैं पनि निस्सासिएर मर्न सक्ने भनी मोदिको मेडिकल जुरिस्प्रोडेन्स बाल हत्याको परिच्छेद नवौं संस्करण पृष्ठ ३७५ मा लेखिएको र मध्ये पश्चिमान्चल क्षेत्रीय अदालतको फैसलामा उल्लिखित बुँदा प्रमाणहरू समेतको आधारमा प्रतिवादीको कर्तव्यबाट नै मृतक बच्चीको मृत्यु भएको भन्ने कुरा निर्विवाद रूपमा समर्थित हुन नसकी शंकाजन्य स्थितिको सिर्जना हुन गएको, यस्तो स्थितिमा निज प्रतिवादीहरूलाई कसूरदार ठहर गर्न नमिल्ने हुँदा बच्चालाई मारेको प्रष्ट सबूत प्रमाणको अभावमा प्र.हरि बहादुर र पातली मगर्नीलाई सफाई दिने गरी गरेको शुरु दाङ देउखुरी जिल्ला अदालतको इन्साफ सदर गर्ने गरेको मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मनासिव देखिएको हुँदा सदर ठहर्छ। श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । नियमानुसार गरी मिसिल बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४१ साल चैत्र २३ गते रोज ६ शुभम् ।