निर्णय नं. २२३७ – दर्ता बदर गरी दर्ता गरिपाउँ
निर्णय नं. २२३७ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् डि.दे.पु.नं. ५१२...
निर्णय नं. २२३७ ने.का.प. २०४२ अङ्क १
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
सम्वत् डि.दे.पु.नं. ५१२
मुद्दा : दर्ता बदर गरी दर्ता गरिपाउँ
पुनरावेदक/वादी: बाँके जिल्ला रामनगर गा.पं.वा.नं.१ हाल होलिया गा.पं.वा.नं. १ बस्ने राम प्यारी देवी मुराउनी
विरूद्ध
विपक्षी/प्रतिवादी: बाँके जिल्ला फत्तेपुर गा.पं.वा.नं. १ बस्ने माया कुमारी उपाध्यायनी
ऐ.ऐ वा.नं. ४ बस्ने लल्लु अहिर
ऐ.ऐ बस्ने गजाधर अहिर
ऐ.ऐ बस्ने समरानी मुराउनी
ऐ.ऐ जगरानी अहिरनी
ऐ.ऐ बस्ने रहमली
ऐ.ऐ बस्ने गोले अहिर
ऐ.ऐ वदलु मुराउ
ऐ.ऐ बस्ने मोहमद खान पठान
ऐ.ऐ बस्ने जुमइ नाउ
ऐ.ऐ वा.नं.१ बस्ने श्रीराम राठ
ऐ.ऐ वा.नं.७ बस्ने महमद शठ
फैसला भएको मिति: ०४१।१२।२१ मा
बिगो नखुलेको क्षेत्रीय अदालतले हेर्न पाउने बाहेकका मुद्दा देखिएकोले न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(१)(ख) अनुसार जिल्ला अदालतको फैसला उपर सम्बन्धित अञ्चल अदालतमा पुनरावेदन लाग्नेमा मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतले पुनरावेदन पत्र लिई फैसला गरेको मिलेको नदेखिएको ।
(प्रकरण नं.१३)
पुनरावेदक/वादी तर्फवाट : विद्वान वरिष्ठ अधिवक्ता श्री कृष्ण प्रसाद पन्त
विपक्षी तर्फबाट : विद्वान अधिवक्ता श्री गणेशराज शर्मा
उल्लेखित मुद्दाःX
फैसला
न्या.सुरेन्द्र प्रसाद सिंह: मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त गरी पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको रहेछ :
२. मेरो आमा रजकला परलोक भई निजको हकको बाँके फत्तेपुर गा.पं.वा.नं. ७(क) मा पर्ने ज.वि. २८–०–० मेरो नाउँमा नामसारी दर्ता हुने ठहर्छ भन्ने दर्ता मुद्दामा ०३७।१।८ मा श्री भेरी अञ्चलाधीश कार्यालयबाट फैसला भई तपसीलमा लेखिएको बाँके फतेपुर गा.पं.वा.नं. ७(क) कि.नं. ३४२, २९१, ३४३, ३६५, ३७१, ३७२, ४६, ६६, २९८ को कित्ता जग्गा पदमलाल उपाध्यायका नाउँमा र कि.नं. १३९, ३२३, ७५, ३१८ श्री राम राउका नाउँमा ऐ. वा.नं. कि.नं. १२३ को जग्गा मोहमद खाँको नाउँमा ऐ. वा.नं. कि.नं. १६७ को जग्गा लल्लु अहिरका नाउँमा ऐ. वा.नं. कि.नं. २५३, ३४६ को जग्गा वदलु मुराउका नाउँमा र ऐ. वा.नं. कि.नं. २५६ को कित्ता रूपरिसी मुराउनीको नाउँमा ऐ. वार्ड कि.नं. ३४७ को जग्गा गजाधर अहिरको नाउँमा ऐ. वा.कि.नं. ३७५ को जग्गा जगरानी अहिरनीको नाउँमा ऐ. वा.कि.नं. ३७६ को जग्गा गोले अहिरका नाउँमा ऐ. कि.नं. को जग्गा महम्मद शेषको नाउँमा ऐ. कि.नं. ३५९ को जग्गा रही मेला शेषका नाउँमा ०३२ सालमा बिक्री वितरण भई गइसकेको भन्ने भू.सु.का. को ०३१।४।१५ को पत्रबाट देखिँदा सो कित्ता बाहेक अन्य कित्ता जग्गा मेरा नाममा नामसारी गरिदिने भनी ०३७।१०।८ मा मालपोत कार्यालय बाँकेबाट निर्णय भएकोले भूमि सुधार कार्यालय बाँकेमा गई थाहा पाई मेरो हक भोगको जग्गा मुद्दा चल्दा चल्दै बिक्री वितरण भई प्र.हरूको नाममा दर्ता भएको दर्ता बदर गरी मेरो नाउँमा दर्ता गरिपाउँ भन्ने समेत राम प्यारी देवीको फिराद दावी ।
३. फिरादपत्रको प्रकरण २ मा ०३२ सालमा बिक्री वितरणमा मेरो लोग्नेले प्राप्त गरेको भन्ने कुरा वादीले स्वीकार गर्नु भएको वादीको दावी ०३८।२।८ मा सम्मानीत अदालतमा दर्ता हुन आएकोबाट वादीको दावी ज.मि.को. १८ नं. को म्याद नाघी दर्ता हुन आएको र मेरो लोग्नेले बिक्री वितरणबाट प्राप्त गरेको जग्गा हदभन्दा बढी भएको जग्गा हुँदा दर्ता बदर हुने होइन । वादीको फिराद दावी खारेज गरिपाउँ भन्ने समेत प्र.मायाकुमारी उपाध्यायनीको प्रतिउत्तरपत्र ।
४. ०३२ सालमा हामीहरूले बिक्री वितरणमा प्राप्त गरेको भन्ने कुरा वादीको फिराद प्रकरण २ मा स्वीकार गर्नुभएको ०३८।२।७ मा मात्र सम्मानीत अदालतमा वादीको फिराद दर्ता हुन आएको ज.मि. को १८ नं. को म्याद नाघी दर्ता हुन आएको सो जग्गाको सम्बन्धमा बेचनलाल मुराउ भएको अपुताली परी मिलाउँदा हदबन्दी बढी भएको जग्गा प्राप्त गर्ने विषयको मुद्दामा भूमिप्रशासकज्यूले हदभन्दा बढी भएको जग्गा प्राप्त गर्ने गरी ०३१।६।२७ मा फैसला गर्नुभएको छ । सो फैसला अन्तिम भइरहेकोले सो फैसलाबाट प्राप्त गरेको जग्गा दर्ता हुने होइन। वादीको झुठ्ठा दावीबाट फूर्सत गरिपाउँ भन्ने प्र.लालु अहिर, गजाधर अहिर, गजरानी अहिरनी, गोले अहिर, समरानी मुराउनी, बदलु मराउ, रहिम अलि शेष, मोहम्मद खाँ, पठान जुमई, नाउ श्रीराम राठ समेत जना १० को प्रतिउत्तर ।
५. प्र.महमद शेषले ०३८।५।१६ मा तामेल भएको म्याद गुजारी बसेको ।
६. वादीले अपुतालीमा पाएको जग्गा प्रतिवादीले बिक्री वितरणमा प्राप्त गरेको हुँदा सदर हुनु पर्दछ भन्ने मंगल मुराउ, इमागा अहिर, नन्को सोनिया समेत वादीका ३ साक्षीको बकपत्र।
७. प्र.हरूले बिक्री वितरणमा प्राप्त गरी किस्ता बुझाई मालपोत बुझाई भोगचलन गरिआएकोले दर्ता बदर हुनुपर्ने होइन भन्ने समेत प्र.हरूको साक्षी लाल्जीप्रसाद यादव समेत जम्मा १३ को बकपत्र ।
८. वादी प्रतिवादीहरूले दिएको प्रमाणको मिसिलहरू झिकाउनु भन्ने बाँके जि.अ.को आदेश । प्र.हरूको नाउँको जग्गामा प्रतिवादीहरूको हक सकेकोले जग्गाको दर्ता बदर हुन्छ भन्न कानुनसंगत नहुँदा वादीले प्रतिवादी उपर झुठ्ठा दावी लिएको ठहर्छ भन्ने समेत बाँके जिल्ला अदालतको फैसला ।
९. शुरू बाँके जिल्ला अदालतको फैसला न्यायसंगत नभएकोले वादी दावी बमोजिम गरिपाउँ भनी वादीको म.पश्चिमान्चल क्षेत्रीय अदालतमा पर्न गएको पुनरावेदन ।
१०. हदबन्दी भन्दा बढी जग्गा प्राप्त गर्ने र बिक्री वितरण गर्न भूमिप्रशासन कार्यालयबाट भएको आदेश उपर कानुनको म्यादभित्र उजूर गरी पुनरावेदक वादीले बदर गराउन नसकी प्रतिवादीहरूले आदेश बमोजिम बिक्री वितरणमा प्राप्त गरी जग्गामा आफ्नो हक भोगपूर्ण स्वामित्व कायम गराई आफ्नै हक पाको बनाई रहेको देखिएकोले दर्ता बदर हुने सक्तैन भन्ने शुरू बाँके जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ भन्ने समेत मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।
११. म.पश्चिमान्चल क्षेत्रीय अदालतको उक्त फैसलामा चित्त बुझेन पुनरावेदनको अनुमति पाउँ भनी वादी र म देवी, प्यारीदेवी मुराउनीको यस अदालतमा निवेदन पर्दा न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३ उपदफा ५ को खण्ड ख को त्रुटि देखिएको हुँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत डिभिजन बेञ्चको आदेश ।
१२. नियम बमोजिम निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदकतर्फबाट रहनुभएका विद्वान व.अ. श्री कृष्ण प्रसाद पन्त र विपक्षीहरू समेतबाट रहनुभएका विद्वान अधिवक्ता श्री गणेशराज शर्माले गर्नुभएको बहस जिकिर समेत सुनियो । मुख्यतः मध्य पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको फैसला मिले नमिलेको के रहेछ सोको निर्णय दिनुपर्ने हुन आएको छ, निर्णयतर्फ विचार गर्दा जसमा मेरो हक भोगको जग्गा मुद्दा चल्दा चल्दै बिक्री वितरण भई प्रतिवादीहरूका नाउँमा दर्ता भएका दर्ता बदर गरी मेरा नाउँमा दर्ता गरिपाउँ भन्ने समेत वादी रामप्यारी देवी मुराउनीको वादी दावी भएकोमा वादी दावी पुग्न नसक्ने गरी शुरू बाँके जिल्ला अदालतबाट मिति ०३९।६।२५ मा फैसला भए उपर वादी पक्षको मध्य पश्चिमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन पत्र दायर भई मिति ०३४।१२।२२ मा शुरू बाँके जिल्ला अदालतको इन्साफ सदर ठहरी फैसला भएको देखिन्छ ।
१३. प्रस्तुत मुद्दामा बिगो खुलेको देखिँदैन । न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(१)(ख) मा विषयको प्रकृतिले बिगो खुल्न नसक्ने केही मुद्दाहरूको पुनरावेदन क्षेत्रीय अदालतमा लाग्ने भन्ने व्यवस्था गरेको पाइन्छ । तर त्यस व्यवस्था अन्तर्गत प्रस्तुत मुद्दा परेको देखिँदैन । यसरी मुद्दा प्रस्तुत मुद्दा बिगो नखुलेको तर बिगो नुखलेको क्षेत्रीय अदालतले हेर्न पाउने बाहेकको मुद्दा देखिएकोले न्याय प्रशासन सुधार ऐन, ०३१ को दफा १३(१)(ख) अनुसार जिल्ला अदालतको फैसला उपर सम्बन्धित अञ्चल अदालतमा पुनरावेदन लाग्नेमा मध्य पश्चिमान्चल क्षेत्रीय अदालतले पुनरावेदन पत्र लिई फैसला गरेको मिलेको नदेखिएकोले उक्त मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको मिति ०३९।१२।२२ को फैसला बदर हुने ठहर्छ । कानुन बमोजिम जे जो गर्नुपर्ने गर्नु भनी दुवै पक्षलाई तारेख लेखी मिसिल भेरी अञ्चल अदालतमा पठाई दिने ठहर्छ ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वी बहादुर सिंह
इतिसम्वत् २०४१ साल चैत्र २१ गते रोज ४ शुभम् ।