निर्णय नं. २२३४ – लिखित पास
निर्णय नं. २२३४ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान सम्वत् २०४० सालको...
निर्णय नं. २२३४ ने.का.प. २०४२ अङ्क १
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री सुरेन्द्र प्रसाद सिंह
माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
सम्वत् २०४० सालको डि.दे.पु.नं. ४१४
मुद्दा : लिखित पास
पुनरावेदक/प्रतिवादी: ल.पु.जि.दमैटार बस्ने टिका कुमारी थपेनी
ऐ.ऐ बस्ने कासिराम थापा
विरूद्ध
विपक्षी/वादी: ल.पु.जि.गा.पं.वा.नं.८ दमैटार बस्ने गोविन्द बहादुरको मु.स. गर्ने कनक कुमारी थपेनी
फैसला भएको मिति: २०४१।१२।४ मा
एकै लगाउको मुद्दा फरक–फरक अदालतबाट हेराउने गरेको कानुनसंगत नहुनुका साथै लिखत जालसाजी वा सद्दे के हो त्यसतर्फ शुरू जि.अ.बाट नबोले तापनि अ.बं. २०९ नं. अनुसार बागमती अञ्चल अदालतबाट ठहर निर्णय हुन बाधा नपर्ने ।
(प्रकरण नं.१३)
पुनरावेदक प्रतिवादी तर्फबाट: विद्वान व.अ. श्री लक्ष्मण प्रसाद अर्याल
विपक्षी वादी तर्फबाट: विद्वान अधिवक्ता श्री प्रेम बहादुर खड्का
उल्लेखित मुद्दाःX
फैसला
न्या.सुरेन्द्र प्रसाद सिंहः मध्यमान्चल क्षेत्रीय अदालतको फैसला उपर चित नबुझी पुनरावेदनको अनुमति पाउँ भनी प्रतिवादीको यस अदालतमा निवेदन पर्दा पुनरावेदनको अनुमति प्राप्त गरी निर्णयार्थ यस बेञ्च समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण निम्न प्रकारको छ :
२. पवित्र कुमारी क्षेत्रिनीको नाउँमा गो.गा.ठेव ५६ नं.काबाट ३८८ नं.को ठेव वुखेल ३० को ल.गोदामचौर गा.पं.वा.नं. ८(क) कि.नं. १०६ को पाखो ०–१३–० कि.नं. १० को खेत दोयम ०–८–० कि.नं. ११० खेत दोयम १–४–३ समेत जम्मा रोपनी २–९–३ जग्गा निजको नाउँमा दर्ता भएकोमा रु. ७००१। बाट कर्जा लिई सो २०२९।११।१ मा घरसारमा राजीनामा गरिदिएको असामी आफ्नो कालगतीले २०३०।५।१६ मा परलोक भएकोले निजको छोराको नालिश गर्न आएको छु । पास गराई पाउँ भन्ने वादी ।
३. निज देउरानी एक्लै मानिसले वादीसँग रुपैयाँ लिएको होइन लिनुपर्ने कारण समेत नभएको जग्गा हक टेक बहादुरबाट मर्ने पवित्र कुमारीको नाउँमा दर्ता गराएकोमा फाँटवाला मननाथ उपर कारवाही चली भू.सु.का. मा दायर छ । जालसाजी दर्ता गराएको नालेश खारेज गरिपाउँ भन्ने समेतको जना २ को प्रतिउत्तरपत्र ।
४. लिखत जालसाजी हो भन्ने समेतको चन्द्र बहादुरको र जालसाजी होइन सद्दे साँचो लिखत हो भन्ने समेतको हरि बहादुरको बयान ।
५. वादी दावीको लिखत पास हुन नसक्ने देखिन्छ । अरू लिखत पास हुन नसक्ने स्थिति भएकोले अन्य कानुनी प्रश्नतर्फ विचार गर्दा देवानीबाट उठेको फौजदारी अ.बं. १०० नं. बमोजिम उठेको जालसाजी वा अन्य बुँदातर्फ विचार गरी रहनु पर्ने ठहर्दैन भन्ने समेतको शुरू ल.पु.जि.अ.को फैसला ।
६. उक्त फैसलामा चित्त बुझेन भन्ने समेत वादीले अञ्चल अदालतमा दिएको पुनरावेदन ।
७. वादीको वारेसले लिखत जालसाजी होइन सद्दे लिखत हो भनी बयान गरेकोले सो अनुसार जालसाजीको दावीतर्फ पनि अदालतले ठहर गर्नुपर्ने शुरूले त्यसतर्फ विचार गरी रहनु नपर्ने भनी उल्लेख गरेको फैसला कानुन अनुरूप नहुँदा बदर गरिदिएको छ । जालसाजीतर्फ समेत जो जे गर्नु पर्छ भनी पक्ष विपक्षलाई तारेख तोकी शुरू जिल्ला अदालतमा पठाउनु भन्ने समेत बा.अं.अ.को फैसला ।
८. उक्त फैसला उपर पुनरावेदनको अनुमति पाउँ भनी प्र.टिका कुमारी समेतले मध्यमान्चल क्षेत्रीय अदालतमा दिएको निवेदनमा पुनरावेदनको अनुमति प्राप्त भएको ।
९. शुरू जिल्ला अदालतमा पठाउने गरी गरेको बा.अं.अ.को फैसला मनासिव ठहर्छ भन्ने समेत व्यहोराको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला ।
१०. उक्त मध्यमान्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भनी प्र.कुमारी थपेनी समेतको यस अदालतमा पुनरावेदनको अनुमति पाउँ भनी दिएको निवेदनमा यसै सम्बन्धको वादी दावीको ०२९।११।१ को राजीनामामा उल्लिखित कि.नं. हक समेत भएको वादी रामप्यारीको मु.स. गर्ने तेज बहादुर खत्री समेत प्र.टिका कुमारी थपेनी समेत भएको शेषपछिको बकसपत्र मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतबाट को.अञ्चल अदालतबाट किनारा गर्ने भनी पठाएको तर प्रस्तुत मुद्दा जिल्ला अदालतमा पठाउने गरेको बा.अं.अ.को फैसलामा अ.बं. २०९ नं. को अनुकूल नभएकोलाई सदर गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा पुनरावेदनको अनुमति प्रदान गरिएको छ भन्ने यस अदालत डिभिजन बेञ्चको आदेश ।
११. नियम बमोजिम पेश हुन आएको प्रस्तुत मुद्दामा पुनरावेदक तर्फबाट रहनुभएका विद्वान व.अ. श्री लक्ष्मण प्रसाद अर्यालले यसै लगाउको बकसपत्र सम्बन्धी मुद्दामा बा.अं.अ.बाट किनारा गर्ने गरी र प्रस्तुत मुद्दा जिल्ला अदालतमा पठाउने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छैन भनी र विपक्षी तर्फबाट रहनुभएका विद्वान अधिवक्ता श्री प्रेम बहादुर खड्काले क्षे.अ.को फैसला त्रुटिपूर्ण छैन भनी प्रस्तुत गर्नुभएको बहससमेत सुनियो ।
१२. प्रस्तुत मुद्दामा मध्यमान्चल क्षेत्रीय अदालतले गरेको फैसला मनासिव छ छैन सो को निर्णय दिनुपर्ने देखिन्छ ।
१३. निर्णयतर्फ विचार गर्दा यसमा लिखत पारित गरिपाउँ भनेको मिति ०२९।११।१ को घरसारको राजीनामा लिखतलाई अ.बं. ७८ नं. अन्तर्गत सुनाएकोमा जालसाजी भनी पुनरावेदक (प्रतिवादी) ले दावी लिई बयान गरेको हुँदा पारित गरिपाउँ भनेको लिखत जालसाजी वा सद्दे के हो त्यसतर्फ समेत निर्णय दिनु पर्नेमा सो नगरी लिखत पारित नहुने ठहराएको शुरूको फैसला आंशिक भएबाट अ.बं. १९२ नं. अन्तर्गत बदर गरी जालसाजीतर्फ समेत ठहर गर्न ललितपुर जिल्ला अदालतमा पठाउने गरेको बा.अं.अ.को फैसला मनासिव देखिँदा सदर हुन्छ भनी मध्यमान्चल क्षेत्रीय अदालतले फैसला गरेको पाइन्छ तर यसै सम्बन्धको शुरू ललितपुर जिल्ला अदालतबाट एकै दिन फैसला भएको वादी रामप्यारीको मु.स.गर्ने तेज बहादुर खत्री समेत प्रतिवादी टिका कुमारी थपेनी समेत भएको शेषपछिको बकसपत्र मुद्दामा शुरू ललितपुर जिल्ला अदालतको फैसलामा अ.बं. १९२ नं.को त्रुटि देखाई इन्साफ गर्न शुरूमा पठाउने गरेको बा.अं.अ.को फैसला मिलेको देखिन नआएकोले सो फैसला बदर हुन्छ । ललितपुर जिल्ला अदालतको फैसला उपर पर्न आएको पुनरावेदनमा जो जे बुझ्नुपर्ने हो बुझी त्यहीँबाट इन्साफ गर्नु भनी मिसिल बा.अं.अ.मा पठाई दिनु भनी मध्यमान्चल क्षेत्रीय अदालतबाट फैसला भएको पाइन्छ । यसरी एकै लगाउको मुद्दा फरक–फरक अदालतबाट हेराउने गरेको कानुनसंगत नहुनुका साथै मिति ०२९।११।१ को राजीनामा लिखत जालसाजी वा सद्दे के हो त्यसतर्फ शुरू जि.अ.बाट नबोले तापनि अ.बं. २०९ नं. अनुसार बा.अं.अ.बाट ठहर निर्णय हुन बाधा नपर्ने हुँदा जालसाजीतर्फ समेत जो जे गर्नु पर्छ भनी मिसिल शुरू ललितपुर जिल्ला अदालतमा पठाउने गरेको बा.अं.अ.को फैसला र सोही सदर गर्ने गरेको मध्यमान्चल क्षेत्रीय अदालतको फैसला समेत त्रुटिपूर्ण हुँदा बदर हुन्छ । यसै लगाउको बकसपत्र मुद्दा समेत साथै राखी जो जे बुझ्नु पर्छ बुझी कानुन बमोजिम फैसला गर्नु भनी दुवै पक्षलाई तारेख तोकी मिसिल कारवाहीको लागि बा.अं.अ.मा पठाई दिने ठहर्छ । अरू तपसीलका कलमहरूमा तपसील बमोजिम गर्नु ।
तपसील
पुनरावेदक प्र.टिका कुमारी थपेनी समेतको क्षे.अ.को इन्साफ उल्टी भएकोले निज समेतले मध्यमान्चल क्षेत्रीय अदालतमा पुनरावेदन गर्दा लागेको कोर्टफी रु. १।५० र यस अदालतमा लागेको कोर्टफी रु. १।५० समेत जम्मा रु. ३। तीन रुपैयाँ विपक्षी वादी गोविन्दबहादुरको मु.स. गर्ने कनककुमारी थपेनीबाट भराइपाउँ भनी म्यादभित्र दर्खास्त पर्नआए देहाय बमोजिम भराई दिन शुरू ल.पु.जि.अ.मा लेखी पठाउन का.जि.अ.मा लगत दिनु…१ प्र.टिका कुमारीले भरी पाउने रू.१।५०, प्र. कासीराम थापाले भरी पाउने, रू. १।५०, ३।००, मिसिल कारवाहीको लागि बागमती अञ्चल अदालतमा पठाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.हरगोविन्द सिंह प्रधान
इतिसम्वत् २०४१ साल चैत्र ४ गते रोज ४ शुभम् ।