निर्णय नं. २२३० – उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
निर्णय नं. २२३० ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह सम्वत् ०४१ सालको...
निर्णय नं. २२३० ने.का.प. २०४२ अङ्क १
डिभिजन बेञ्च
माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह
माननीय न्यायाधीश श्री पृथ्वी बहादुर सिंह
सम्वत् ०४१ सालको रिट नम्बर २१५२
विषय : उत्प्रेषण लगायत जो चाहिने आज्ञा, आदेश जारी गरिपाउँ
निवेदक :जिल्ला मोरङ्ग कटहरी गा.पं.वार्ड नं. ५ बस्ने रामचन्द्र सिंह कोइरी
विरूद्ध
विपक्षी : भूमि सुधार कार्यालय मोरङ्गका भूमि सुधार अधिकारी
जि.मोरङ कटहरी गा.पं. वार्ड नं. ५ बस्ने शिव शरण राजवंशी
आदेश भएको मिति:२०४२।१।११।३ मा
निवेदक तर्फबाटः विद्वान अधिवक्ता श्री जयकान्त लाल दास
बिपक्षी तर्फबाटः विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्ट
उल्लेखित मुद्दाःX
मोही लगत दर्ता कितावमा सच्याई मोहीले मोही लगत कट्टा भएको सूचना प्राप्त नगरेसम्मलाई मोहीले जग्गा छोडेको मान्न मिल्ने देखिँदैन ।
(प्रकरण नं. ९)
आदेश
न्या.धनेन्द्र बहादुर सिंहः भू.सु.अधिकारी भू.सु.का. मोरङ्गको मिति ०४०।११।२२ को निर्णय बदर गरिपाउँ भनी नेपालको संविधानको धारा ७१ अन्तर्गत पर्नआएको प्रस्तुत रिट निवेदनको संक्षिप्त विवरण यस प्रकार छ ।
२. म रामचन्द्र सिंहले वृजलाल राजवंशीबाट निजका नाउँमा दर्ता जि.मोरङ्ग कटहरी गा.पं. वार्ड नं. ५(ख) कि.नं. ३७३ मध्ये ३–४–१५ धुर जग्गा खरिद गरेको हाल कि.नं. ३९६ मा कायम हुन आएको छ । ऐबाट ऐ. सँग म रामचन्द्र सिंह र मेरो एकासगोलको भाइ रामस्वरूप सिंहको संयुक्त नाममा १–१५–० र ०–५–० गरी दुई पटक खरिद गर्दा १–१५–० हाल कि.नं. ३९३ मा र ०–५–० हाल कि.नं. ३९५ मा कित्ताकाट भएको उल्लिखित साविक कि.नं. ३७३ को जग्गामा विपक्षी शिवचरण राजवंशी ऐनको दफा २५(१) अन्तर्गतको मोही हुनुभएकोमा साविक जग्गाधनीकै स्वामित्व कायम रहेको अवस्थामा नै मिति ०२७।४।८ मा जग्गा जोत्न नसक्ने असमर्थता देखाई कटहरी गा.पं. मा निवेदन दिनु भयो । ०२७ सालको बाली देखि जग्गा मोहीको हैसियतले छाड्नु भएको थियो पछि कि.नं. ३९३।३९५।३९६ को जग्गाहरू मैले खरिद गरी लिएपछि पुनः प्रतिरक्षीले मिति ०३०।११।१४ का दिन गा.पं. का कटहरीमा मोही जग्गाधनीलाई सुपुर्द गराई पाउँ भनी निवेदन दिनु भयो । त्यसपछि मोही लगत कट्टा गरिपाउँ भनी मिति ०३०।९।१६ मा मेरो र प्रतिरक्षीको संयुक्त निवेदन भू.सु.का. मोरङ्गमा परेको थियो । यसरी प्रतिरक्षीले जग्गा जोत्न छोड्नु भएको र खरिद गरेपछि मेरो जग्गा म आफैं जोती आएकोमा प्रतिरक्षी मोहीले मोहियानी हकको प्रमाणपत्र पाउँ भनी अधिकारीज्यू समक्ष मिति ०४०।७।२७ मा निवेदन दिनुभयो । मेरा नाउँमा म्याद जारी हुँदा मैले ०४०।१०।२३ को प्रतिउत्तरमा प्रतिरक्षी मोहीले ०२७ सालदेखि नै जग्गा जोत्न छाडी दिएको र सो सन्दर्भमा यस कार्यालय समेतमा निवेदन दिएको तथा स्थानीय गा.पं.मा समेत पटक–पटक सो जग्गा जग्गाधनीलाई जिम्मा लगाई पाउँ भनी निवेदन दिनुको साथै मिति ०४०।१०।१०।३ का दिन गा.पं. कटहरीमा कागज समेत गरिदिएको व्यहोराको प्रतिवाद गरेको थिएँ । यसरी मोहीका मोही छाडेको निवेदन पर्दा पर्दै पनि मोहियानी हकको प्रमाणपत्र बनाई दिने भनी मिति ०४०।११।२२।२ मा श्री भूमि सुधार अधिकारीज्यूले निर्णय गर्नुभयो ।
३. प्रतिरक्षी मोहीले साविक जग्गाधनीका पाला ०२७।४।८ देखि कमाउनै छाडी मैले खरिद गरी लिएपछि पनि मिति ०२७।११।१४ मा जग्गा जोत्न नसक्ने भनी गा.पं. मा निवेदन दिनु भएको र मिति ०३०।९।१६ मा तत्कालीन भू.सु.का. मोरङमा जग्गा जोत्न नसक्ने भएकोले ज.ध.लाई सपुर्द गराई मोही लगत कट्टा गरिपाउँ भनी निवेदन दिँदादिँदै पनि जग्गा नै नजोतेको मोहीलाई निजका निवेदनको भरमा मात्र मोही हकको प्रमाणपत्र दिने गरेको भू.सु.अधिकारी ज्यूको निर्णय भू.सु.ऐनको दफा २५(१), २५(२), ३४(१) तथा अ.बं. १८४(क) १८५, १८९ को त्रुटियुक्त भएको र उक्त निर्णयबाट मेरो मौलिक हकमा आघात पर्न गएकोले निवेदन गरेको छु भू.सु.का. मोरङका भू.सु. अधिकारीको मिति ०४०।११।२२ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरी हक प्रचलन गराइपाउँ भन्नेसमेत रामचन्द्र सिंह कोइरीको मिति ०४१।१।८ को रिट निवेदन ।
४. विपक्षीहरूबाट लिखित जवाफ मगाई पेशगर्नु भन्ने यसअदालत सिं.बे.को मिति ०४१।२।७को आदेश ।
५. रिट निवेदकको दावी अनुसार प्रतिवादीले जग्गा जोत्न छाडी सकेको भनी निवेदन दिएको र सो निवेदनको आधारमा जग्गा छाडी सकेको भन्ने संज्ञा लिई दावी लिएको देखिन्छ । जबकी प्रतिवादीले दिएको निवेदनलाई कानुनी मान्यता नहुने ठहर गर्दै कार्यालयले सो निवेदन तामेलीमा राखिदिएको देखिन्छ । मोही सम्बन्धमा यावत लगत श्रेस्तामा मोही हक यथावत कायम रहेको देखिन आएको जग्गा धनीतर्फबाटसमेत निर्देशित भू.सं.ऐन, २०२१ को दफा २६ को उपदफा (१)(ग) बमोजिमको प्रकृया पूरा भए गरेको रेकर्डबाट नदेखिँदा मोहीको हक समाप्ति भएको भन्न नमिल्ने र वादी दावी बमोजिमको जग्गा शुरू भूसं.ऐन, २०२१ को लागू भएका अवस्थामा मोही १ नं. लगत भरी सो को आधारमा २ नं. अनुसूची प्रकाशन भई प्रकाशित २ नं. को म्याद भुक्तान भएपछि पाएको ४ नं.जो.अ.नि.को आधारमा स्थायी ३ नं. मोहियानी प्रमाणपत्र वादी मोहीलाई दिने ठहर गरी कार्यालयबाट भएको निर्णय कानुनसंगत नै हुँदा रिट निवेदन खारेज गरिपाउँ भन्ने समेत भू.सु.का.मोरङको मिति ०४१।५।५ को लिखित जवाफ ।
६. रिट निवेदक तर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान अधिवक्ता श्री जयकान्तलाल दासले जग्गा नै जोत्न छाडी, मोही लगत कट्टा गरिपाउँ भन्ने निवेदन समेत गरेको मोहीलाई मोहियानीको स्थायी प्रमाणपत्र दिने ठहर गरेको भू.सु.का.मोरङको मिति ०४०।११।२२ को निर्णय त्रुटिपूर्ण हुँदा उक्त निर्णय बदर हुनुपर्छ भन्ने र प्रत्यर्थीतर्फबाट बहसमा उपस्थित हुनुभएका विद्वान सरकारी अधिवक्ता श्री प्रेम बहादुर विष्टले भू.सु.ऐन, ०२१ लागू भएपछि १ नं. लगत भरी २ नं. अनुसूची निज मोहीका नाउँमा प्रकाशित भई ४ नं.जो.अ.नि. समेत पाइसकेको मोहीलाई मोहियानी हकको स्थायी प्रमाणपत्र दिने ठहर गरेको भू.सु.का. मोरङको निर्णयबाट मौलिक हक हनन् नभएको हुँदा रिट निवेदन खारेज हुनुपर्छ भन्ने समेत बहस प्रस्तुत गर्नुभयो ।
७. प्रस्तुत विषयमा रिट निवेदकको माग बमोजिमको आदेश जारी हुनुपर्ने वा नपर्ने के हो सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।
८. यसमा निर्णयतर्फ हेर्दा विपक्षी मोहीले ०२७ सालदेखि जग्गा कमाउन छाड्नु भएको र कमाउन सक्दैन भनी गा.पं. मा निवेदन दिनु भएको तथा जग्गा जोत्न नसक्ने भएकोले जग्गाधनीलाई सपुर्द गराई मोही लगत कट्टा गरिपाउँ भनी भू.प्र.का. मा ०३०।९।१६ मा निवेदन दिनु भएको छ । त्यसरी जग्गा नजोत्ने मोहीलाई मोहीबाट लगत कट्टा गरिदिनुपर्ने सो बमोजिम कट्टा गर्नेतर्फ कारवाही नै नगरी पुनः मोहियानी प्रमाणपत्र पाउँ भन्ने विपक्षीको निवेदनकै भरमा मात्र मोहीलाई मोही हकको प्रमाणत्र दिने ठहराएको भू.सु.का. मोरङको निर्णय त्रुटिपूर्ण हुँदा बदर गरिपाउँ भन्ने मुख्य रिट निवेदन जिकिर देखिन्छ ।
९. भू.सु.का.मोरङको निर्णय हेर्दा वादी बमोजिमको जग्गाको १ नं. लगत भरी २ नं. अनुसूची प्रकाशन भई ४ नं.जो.अ.नि. प्राप्त गरेको रेकर्डबाट देखिएको तथा मालपोत कार्यालयको पत्रबाट जग्गाधनी श्रेस्ताको मोही महलमा वादीको नाम उल्लेख भएको भन्ने देखिएको तत्कालीन भू.प्र.का. मा दिएको मोही छोडपत्र निवेदनमा सनाखत नभई कानुनी रीतपूर्वकको छोडपत्र निवेदन नदेखिँदा तामेलीमा गइसकेको साथै भू.सुु.ऐन, ०२१ को दफा २६(१)(क) ले व्यवस्था गरे अनुसार दर्ता भएको मोहियानी हकको जग्गा मोहीले छोड्न चाहेमा खेतीको यामभन्दा कमसेकम १ महिना अगावै तोकिएको अधिकारी र जग्गावालालाई लिखित सूचना दिई तोकिएको अधिकारीबाट दर्ता किताब सच्याएको नदेखिएको र निज मोहीको लगत यथावतै कायम रहेको देखिँदा मोही छाडेको भन्न मिलेन । अतः कटहरी गा.पं. वार्ड नं. ५(ख) कि.नं. ३९३ को ज.वि. १–१५–० ऐ. कि.नं. ३९५ को ०–५–० ऐ. कि.नं. ३९६ को ३–४–१५ ऐ. कि नं. ४०५ को ज.वि. ०–१५–१० र ऐ. कि.नं. ४०६ को ०–२–१७ जग्गाको लगतवाला कायमी मोहीलाई मोहियानी हकको स्थायी प्रमाणपत्र दिने ठहर्छ भनी भू.सु.का. मोरङबाट मिति ०४०।११।२२ मा निर्णय गरेको देखिन्छ । मोहीले जग्गा छाड्न चाहेमा सो बमोजिम जग्गा जोत्न छाड्ने मोहीको लगत कट्टा गर्ने सम्बन्धमा भूमिसम्बन्धी ऐन, ०२१ को दफा २६ को उपदफा (१)(क) मा हेर्दा दफा २५ बमोजिम दर्ता भएको मोहियानी हकको जग्गा मोहीले छाड्न चाहेमा खेतीको यामभन्दा कमसेकम १ महिना अगावै तोकिएको अधिकारी र जग्गावालालाई लिखित सूचना दिनु पर्छ र तोकिएको अधिकारीले सम्बन्धित पञ्चायत समेत बुझी सो छानविन गरी दर्ता किताबमा सच्याएको सूचना मोहीले प्राप्त गरेपछि मात्र जग्गा छाडेको मानिने छ भन्ने लेखिएको देखिन्छ । सो बमोजिमको प्रकृया अपनाई लगत कट्टा भएको भनी निवेदकले भन्न सकेको छैन । विपक्षी मोहीले लगत कट्टा गरिपाउँ भनी भूमि सुधार अधिकारी तथा जग्गाधनीलाई लिखित सूचना दिई भू.सं. ऐन, ०२१ को दफा २६(१)(क) बमोजिम भूमि सुधार अधिकारीले सम्बन्धित पञ्चायत समेत बुझी आवश्यक छानविन गरी मोही लगत कट्टा गरी मोहीलाई दर्ता कितावमा सच्याएको सूचना दिएको पनि देखिँदैन । त्यसरी मोही लगत दर्ता कितावमा सच्याई मोहीले मोही लगत कट्टा भएको सूचना प्राप्त नगरेसम्मलाई मोहीले जग्गा छाडेको मान्न मिल्ने देखिँदैन । सो बमोजिम मोहियानी लगत कट्टा भए गरेको नदेखिँदा विपक्षी मोहीको नाउँ मोहियानी लगतमा दर्ता लगत कायम भएकोले लगतवाला मोहीलाई मोहियानी हकको स्थायी प्रमाणपत्र दिने ठहर्छ भनी भू.सु.का. मोरङले गरेको मिति ०४०।११।२२ को निर्णयलाई त्रुटिपूर्ण भन्न सकिने स्थिति नहुँदा प्रस्तुत रिट निवेदन खारेज हुने ठहर्छ । फाइल नियम बमोजिम गरी बुझाई दिनु ।
उक्त रायमा म सहमत छु ।
न्या.पृथ्वी बहादुर सिंह
इतिसम्वत् २०४२ साल बैशाख ११ गते रोज ३ शुभम् ।