निर्णय नं. २२२७ – कर्तव्य ज्यान
निर्णय नं. २२२७ ने.का.प. २०४२ अङ्क १ डिभिजन बेञ्च सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी सम्वत् २०३९ सालको...
निर्णय नं. २२२७ ने.का.प. २०४२ अङ्क १
डिभिजन बेञ्च
सम्माननीय प्रधान न्यायाधीश श्री नयन बहादुर खत्री
माननीय न्यायाधीश श्री हरिहरलाल राजभण्डारी
सम्वत् २०३९ सालको फौ.पु.नं. ४४५
मुद्दा : कर्तव्य ज्यान
पुनरावेदक/प्रतिवादी:गुल्मी अर्दल गा.पं.वा.नं.८ घर भै हाल कारागारमा शाखा गुल्मीमा थुनामा रहेको रेवेत बहादुर ठकुरी
विरूद्ध
विपक्षी/वादी: श्री ५ को सरकार
फैसला भएको मिति: २०४१।१।११।२ मा
पहिलादेखि नै ज्यान मार्ने इवी समेत भएको देखिएकोले अभियुक्तलाई ज्यानसम्बन्धीको १३(३) बमोजिमको सजायँ गर्ने गरी गरेको पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णय उपयुक्त नै भएकोले सदर हुने ।
(प्रकरण नं. १४)
फैसला
प्र.न्या.नयन बहादुर खत्रीः पश्चिमान्चल क्षेत्रीय अदालतले ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्ने गरेको फैसलामा चित्त नबुझेकोले सो उपर पर्न आएको पुनरावेदनको संक्षिप्त विवरण तथा तथ्य निम्न प्रकारको छ :
२. ०३६।१।९ गते साँझ मेरो लोग्ने भीमबहादुर, रेवेतबहादुर, चन्द्रकला, खड्ग बहादुर, राम बहादुर समेत ५ जना घरमा आउँदै गरेको अवस्थामा मेरो लोग्ने भीमबहादुरलाई रेवेतबहादुरले कर्तव्यबाट भीरमा घचेटी मारेको विश्वास भएकोले जाहेर गर्न आएको छु भन्ने जाहेरी दर्खास्त ।
३. मर्नेको र मेरो ज्यान मार्नेसम्मको इवीलाग थियो त्यसैमा ०३६।१।९ गते राति मर्ने र मसमेत भई घर तर्फ फर्किरहेको अवस्थामा मन भन्ने भीर बाटोमा रातको अं. ११ बजे मैले भीमबहादुरलाई लडाई दिएकोकारणले निजको मृत्यु हुनगएको हो भन्नेसमेत व्यहोराको रेवेतबहादुरले प्रहरीमा गरेको बयान ।
४. ०३९।१।९ गते भीमबहादुर, रेवेतबहादुर समेत ५ जना रातको समयमा एउटै टर्च लाइटको उज्यालोमा घर फर्केका हौं । सो समयमा भीमबहादुरलाई रेवेतबहादुरले भीरबाट लडाइएको हामीले देखेनौं लडाई मारेको वा लडी मरेको थाहा छैन भन्ने समेत चन्द्रकला, राम बहादुर, खड्ग बहादुर समेतको प्रहरीमा भएको बयान ।
५. संकलित प्रमाणबाट रेवेतबहादुरले भीमबहादुरको ज्यान मारेको देखिँदा निजलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम र चन्द्रकला खड्ग बहादुरलाई ज्यानसम्बन्धीको १७(३) र राम बहादुर १४ वर्षको देखिँदा दण्ड सजायँको १ नं. बमोजिमको सजायँ गरिपाउँ भन्ने समेत माग भएको प्रहरी प्रतिवेदन ।
६. प्र.मध्ये चन्द्रकलाले तारेख गुजारीबसेको मैले मृतक भीमबहादुरलाई मन भन्ने भीरबाट खसाली दिएको कारणले नै निजको मृत्युभएको हो भन्नेसमेत व्यहोराको प्र.रेवेतबहादुरले अदालतमा गरेको सावितीबयान ।
७. चन्द्रकला, खड्ग बहादुर र राम बहादुरले अदालतमा पूर्ण इन्कारी भई बयान गरेको।
८. सरजमीनको मानिसले शंका देखाउन सकेको नभई रेवेतबहादुरले कर्तव्य गरी मारेमा सावित हुँदा निजले नै मारेको शंका लाग्दछ भनी शंका देखाएको अन्य अभियुक्त चन्द्रकला, राम बहादुर र खड्ग बहादुरले प्रहरी र अदालतमा समेत इन्कारी बयान गरेको र प्रकृति मुचुल्काबाट मर्ने भीमबहादुर भीरबाट खसी मरेको भन्ने देखिएकोले राम बहादुर, खड्ग बहादुर चन्द्रकलाको हकमा प्रतिवेदन माग भए बमोजिम दावी पुग्न नसक्ने र रेवेतबहादुरको हकमा पूर्व रिसइवीले मारेको भन्ने प्रमाण मिसिलबाट नदेखिएकोले ज्यानसम्बन्धीको १३(३) बमोजिमको सजायँ हुने नदेखिई ज्यानसम्बन्धीको १४ नं. बमोजिमको सजायँ हुने ठहर्छ भन्ने शुरू गुल्मी जि.अ.को फैसला ।
९. गुल्मी जि.अ.बाट प्र.रेवेतबहादुरलाई ज्यानसम्बन्धीको १४ नं. र अन्य प्रतिवादी खड्ग बहादुर क्षेत्री समेतलाई सफाई दिने गरी गरेको फैसलामा चित नबुझेकोले शुरू प्रहरी प्रतिवेदन बमोजिम सजायँ गरिपाउँ भन्ने समेत श्री ५ को सरकारको तर्फबाट पश्चिमान्चल क्षेत्रीय अदालतमा पर्न आएको पुनरावेदन ।
१०. विपक्षी रेवेतबहादुरले शुरूको जि.अ.को फैसलामा चित्त बुझाई पुनरावेदन नगरी बसेको ।
११. मर्ने भीमबहादुर र मेरो रिसइवी हुँदा मर्नेले पाए मलाई र मैले मौका पाए मर्नेलाई मार्ने इवी पहिला देखि नै भएको र सोही रिसइवीबाट मन भन्ने भीरबाट मृतक भीमबहादुरलाई खसाई मारेको भन्ने अदालतमा समेत अभियुक्त रेवेतबहादुरले बयान गरेकोबाट समेत निज अभियुक्तको कर्तव्यबाटै मृतकको मृत्यु भएको देखिएकोले प्रहरी प्रतिवेदन माग दावी अनुसार अभियुक्त रेवेतबहादुरलाई ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ हुने ठहर्छ र अन्य अभियुक्तहरू प्रहरी र अदालतमा समेत इन्कारी देखिएकोले शुरू जि.अ.ले सफाई दिएको मनासिव ठहर्छ भन्ने पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला ।
१२. सो पश्चिमान्चल क्षेत्रीय अदालतको फैसला उपर चित्त नबुझेकोले सफाई पाउँ भन्ने समेत व्यहोराको रेवेतबहादुरको यस अदालतमा पर्न आएको पुनरावेदन ।
१३. नियम बमोजिम दैनिक पेशी सूचीमा चढी पेश हुन आएको प्रस्तुत मुद्दा पश्चिमान्चल क्षेत्रीय अदालतले गरेको फैसला मिले नमिलेको के रहेछ सो तर्फ विचार गर्नु पर्ने हुन आयो ।
१४. यसमा निर्णयतर्फ हेर्दा मृतकले म उपर बराबर पञ्चायतमा गई वन फडानी गर्यो भनी मौखिक उजूर दिने गर्दथे भन्ने मैले सुनेको थिएँ र मृतकको मृत्यु हुनभन्दा अगाडि मलाई कुटेको पनि थियो यस्तै विभिन्न कारणले गर्दा मृतकसँग पुरानो रिसइवी थियो मृतकको र मेरो बीचमा उसले सक्यो मलाई मार्ने र मैले सके उसलाई मार्ने सम्मको रिसइवी भएको कारणले २०३६।१।९ गते राति सँगै हिंडिरहेको अवस्थामा मन भन्ने भीरमा पनि हामी दुईको घचाटा घचाट हुँदा मेरो घचेटाईबाट नै निज मृतक भीमबहादुरको मृत्यु भएको भनी प्रहरी र अदालतमा समेत साविती बयान दिएको मिसिल संलग्न कागजातबाट देखिन्छ । लाश प्रकृति मुचुल्कालाई हेर्दा पनि सोही भीरबाट लडेको चोटबाट मृतकको मृत्यु भएको रहेछ भन्ने प्रष्ट हुन्छ । जाहेरी दर्खास्तमा समेत किटानी जाहेरी भएको अवस्थामा अभियुक्तकै घचेटाईको कारणबाट मृत्यु भएको र पहिला देखि नै ज्यान मार्ने इवी समेत भएको देखिएकोले अभियुक्तलाई ज्यानसम्बन्धीको १३(३) बमोजिमको सजायँ गर्ने गरी गरेको पश्चिमान्चल क्षेत्रीय अदालतको निर्णय उपयुक्त नै भएकोले सदर हुने ठहर्छ । पुनरावेदन जिकिर पुग्न सक्दैन मिसिल नियमानुसार गरी बुझाई दिनु ।
उक्त रायमा मेरो सहमति छ ।
न्या.हरिहरलाल राजभण्डारी
इतिसम्वत् २०४१ साल बैशाख ११ गते रोज २ शुभम् ।