April 15, 1985
Created by nepalarchives

निर्णय नं. २२२५ – ज्यान

निर्णय नं. २२२५    ने.का.प. २०४२      अङ्क १   डिभिजन बेञ्च माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव सम्वत् २०४० सालको...

निर्णय नं. २२२५    ने.का.प. २०४२      अङ्क १

 

डिभिजन बेञ्च

माननीय न्यायाधीश श्री धनेन्द्र बहादुर सिंह

माननीय न्यायाधीश श्री जोगेन्द्र प्रसाद श्रीवास्तव

सम्वत् २०४० सालको फौ.पु.नं. ३७८

मुद्दा : ज्यान

 

पुनरावेदिका/प्रतिवादी: सल्यान लक्ष्मीपुर गा.पं. ८ नं.वडा भमका गाउँको हाल कारागार शाखा सुर्खेतमा थुनिएको कौशिला पुन मगर

विरूद्ध

विपक्षी/वादी: प्रहरी नन्दबहादुर थापाको जाहेरीले श्री ५ को सरकार

फैसला भएको मिति: २०४२।१।३।२ मा

      के कति कारणबाट पछि मृत्यु हुन गएको हो सो कुरा अस्पतालको पत्रबाट खुल्दैन । मर्ने कौशिलाको पोष्टमार्टम भएको पनि पाइँदैन । यस स्थितिमा मर्नेलाई प्रतिवादीले कर्तव्य गरी मारेको हो भन्न सकिने शंकारहित किटानी तथ्ययुक्त सबूत प्रमाणको अभाव हुँदा निजलाई दोषी ठहराउन न्यायसंगत नहुने ।

(प्रकरण नं. १९)

पुनरावेदिका प्रतिवादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री पुण्यप्रसाद अर्याल

विपक्षी वादी तर्फवाट: विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमार

फैसला

न्या.धनेन्द्र बहादुर सिंहः मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको फैसलामा चित्त बुझेन भन्ने प्रतिवादीको पुनरावेदन परी पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य यस प्रकार छ ।

२.    छविलाल पुनको घरमा डेरा गरी बस्ने रत्न बहादुर पुन र श्रीमती कौशिला पुन मगरको ०३६।४।६ गते राति आपसमा झगडा भई वसुलाले हानाहान गरी शक्त घाइते हुँदा जना २ लाई र वसुला समेत दाखिल गरेको छु भन्ने समेत नन्दबहादुरको प्रतिवेदन ।

३.    रत्न बहादुर कौशिलाको ०३६।४।६ गते रातमा वसुलाले हानाहान गरेको थाहा पाइन्छ। घटनास्थलमा आउँदा रत्न बहादुरको घाँटी काटेको कौशिलाको पनि ठाउँठाउँमा घाउ थियो। रत्न बहादुर बोल्न सक्ने अवस्थामा थिएन । सोधनी गर्दा कौशिलालाई औंल्याउँदै यसैले मेरो घाँटीमा वसुलाले हाने भनी इसाराबाट रत्न बहादुरले भनेकोले कौशिलाले नै हानेको हुनुपर्छ भन्ने समेत सरजमीन मुचुल्का ।

४.    सुती निदाएको अवस्था लोग्ने रत्न बहादुरले मेरो घाँटी बायाँ पट्टी फलामको वसुलाले हिर्काउनु भएछ र पिडा परी झसङ्ग ब्युझी भित्र पस्न लाग्दा लोग्नेले दाहिने हातले मेरो कपाल समाती बायाँ हातमा लिएको वसुलाले भटाभटा मलाई हिर्काउन लाग्दा वसुला रोक्न लाग्दा मेरो बायाँ हातको हत्केलामा समेत घाउ छ । जिउमा जम्मा १३ वटा घाउ लागेको छन् । लोग्ने पहिले वसुलाले आफ्नो घाँटीमा हानी पछि मलाई समेत मार्ने अवस्थामा पारी हानेको हुन् भन्ने समेत कौशिला पुन मगरको प्रहरीमा भएको बयान कागज ।

५.    रत्न बहादुरलाई कौशिलाले मर्नसम्मको उक्त कार्य गरी सकेको कुरा प्रमाणित हुन आएको रूद्रघण्टी छिनाएको र निज रत्न बहादुर हाल जीवित हुँदा ज्यानसम्बन्धीको ८ नं. अनुसार मुद्दा चलाउनु पर्ने देखिएको छैन । सो अवस्था परे पछि नै सो अवस्थाको वादी प्रस्तुत गरिने भएकोले ज्यानसम्बन्धीको १५ नं. बमोजिम सजायँ गराई माग्छौं भन्ने २०३६।६।९ को प्रहरी प्रतिवेदन ।

६.    सल्यान लक्ष्मीपुर भमकाको घरमा छोरी परलोक भएको अब यहाँ नबसौं भनी लोग्नेले भनेकोले ०३६ साल आषाढमा जेठाजुको घर सुर्खेत वडा खोसीमा आई बसेको ०३६।४।६ गते राति हामी लोग्ने स्वास्नी साथै सुती निदाएको अवस्था लोग्ने रत्न बहादुरले मलाई वसुलाले पहिलो चोट घाँटीमा हान्दा पाखुराको जोर्नीमा लागी म रून कराउन लागें त्यसपछि पनि पटकपटक विभिन्न ठाउँमा वसुलाले हानेको थिए, लोग्नले पहिला आफ्नो घाँटीमा हतियार प्रयोग गरी पछि मलाई हानेको अनुमान गर्दछु । हल्ला सुनी जेठाजुको छोरा बाहिर आई छुटाई मलाई भित्र लगेका हुन भन्ने समेत प्रतिवादी कौशिलाले अदालतमा गरेको बयान ।

७.    जिल्ला प्रहरी कार्यालय काठमाडौंबाट प्राप्त मेसेजद्वारा बिरामी रत्न बहादुर र ०३६।६।११ गते राति २।३० बजे मृत्यु भएको भन्ने वीर अस्पताल काठमाडौंको ०३६।६।१२ को पत्र प्राप्त हुन आएकोले ज्यानसम्बन्धीको ८ नं. बमोजिम ज्यानमाराको वात लाग्ने हुँदा प्र.कौशिलालाई ज्यानसम्बन्धीको १३ नं. को देहाय १ बमोजिम सजायँ गरिपाउँ भन्ने समेत ०३६।६।२८ को प्रहरी प्रतिवेदन ।

८.    कल झगडको रिसमा कौसिलाले हानेको चोटबाट रत्न बहादुरको मृत्यु भएको लाग्छ भन्ने समेत जाहेरवाला नन्दबहादुरले अदालतमा गरेको बयान कागज ।

९.    गडाङ गुडुङ आवाज सुनी हेर्दा दुवै लोग्ने स्वास्नीको शरीरमा खुन लागेको रत्न बहादुरको हातमा वसुला थियो, प्रहरी आई सोधपुछ गर्दा रत्न बहादुर बोल्न नसक्ने अवस्थामा थिए हातको ३ औंला उठाई स्वास्नीले हानी भनी इसारा गरे, कौशिलाले हानेको चोटबाट रत्न बहादुर मर्न गएको लाग्छ भन्ने समेत घरधनी छविलालको बकपत्र ।

१०.    छविलालको घरमा जाँदा रत्न बहादुरको घाँटी काटी लडी रहेको कौशिला छविलालको घरभित्र थिइन कौशिलालाई सोद्धा मलाई पनि हानी आफूलाई पनि वसुलाले हाने मैले हानिन भन्थिन । रत्न बहादुरलाई सोद्धा स्वास्नीले हानी भनेर कौशिलालाई इसारा गरेर भन्थे कौशिलालाई लागेको घाउ मैले हानेको भनी इसारा गरेर भन्थे भन्ने समेत इन्द्रबहादुर साहानी समेतको बकपत्र।

११.    सबूद प्रमाणको अभावमा प्र.कौशिलाले निजको लोग्ने रत्न बहादुरलाई वसुलाले हानी घाँटीको नली काटी मारेको ठहर्दैन सफाई पाउने ठहर्छ भन्ने समेत सुर्खेत जि.अ.को ०३८।३।१४ को जाहेरी फैसला ।

१२.   प्रहरी प्रतिवेदन बमोजिम सजायँ नगरी अपराधबाट प्रतिवादीलाई सफाई दिएको इन्साफमा चित्त बुझेन भन्ने समेत श्री ५ को सरकारको पुनरावेदन ।

१३.   प्रतिवादीलाई सफाई दिएको मिलेन अ.बं. २०२ नं. बमोजिम विपक्षीलाई सूचना दिई पेश गर्नु भन्ने समेत ०३९।३।२८ को आदेश ।

१४.   प्रतिवादीको इन्कारी बयान अन्य सबूत प्रमाणबाट समर्थन हुन नआएको अधिकांश सरजमीनले मृतकले गरेको इशारालाई एकै मिलानसँग अदालतमा समेत बकी लेखिदिएकोले समेत दावी बमोजिम सजायँ गर्नु पर्नेमा नगरी गरेको शुरू फैसला नमिलेकोले गल्ती भई उल्टी हुने ठहर्छ । दावी बमोजिम सजायँ गर्दा चर्को पर्न जाने हुँदा सजायँ कम हुन राय व्यक्त समेत गर्ने ठहर्छ भन्ने समेत मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको २०४०।१।११ को फैसला ।

१५.   सो फैसलामा चित्त बुझेन अपराधबाट सफाई पाउनु पर्छ भन्ने समेत प्रतिवादी कौशिला पुन मगरको पुनरावेदन ।

१६.    शंकास्पद स्थितिमा प्र.कौशिला पुन मगरलाई ज्यानसम्बन्धीको नं. १३(१) बमोजिम सजायँ गर्ने गरेको मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको नदेखिँदा छलफलको लागि महान्यायाधिवक्ताको कार्यालय लाई सूचना दिई पेश गर्नु भन्ने सर्वोच्च अदालत डिभिजन बेञ्चको मिति ०४१।८।११ को आदेश ।

१७.   पुनरावेदिका प्रतिवादी तर्फबाट बहस गर्न खटिनुभएका विद्वान वै.अधिवक्ता श्री पुण्यप्रसाद अर्यालले पुनरावेदिकाको आफ्नो लोग्ने मर्ने रत्न बहादुरसँग रिसइवी परेको भन्ने देखिँदैन। प्रतिवादीको बयानबाट छोरी मरेको कारण मर्ने रत्न बहादुर विरक्त भएको देखिन्छ । लोग्नेलाई मार्नु पर्ने कुनै कारण पनि छैन । प्रतिवादीले हतियार प्रयोग गरेको देख्ने कोही छैन । घरधनी छविलाल समेतले देख्दा हतियार मर्ने रत्न बहादुरको हातमा रहेको देखेको छ । स्वास्नीले हानी भनी मर्नेले इसारा गरेको कुरा प्रमाणित हुन सकेको छैन । तसर्थ अभियोगबाट प्रतिवादीले सफाई पाउनु पर्छ । क्षे. अ.को फैसला मिलेको छैन भन्ने समेत र श्री ५ को सरकारतर्फबाट बहस गर्न उपस्थित विद्वान सरकारी अधिवक्ता श्री बलिराम कुमारले मर्ने रत्न बहादुरको रूद्रघण्टी छिनिने गरी हतियार प्रयोग भएको छ । स्वास्नीले हानी भनी मर्ने रत्न बहादुरले ईशारा गरेको सरजमीनहरूले व्यक्त गरेको पाइन्छ । सो कुरा  समर्थन गरी अदालतमा समेत बकपत्र गरेको छ। यसबाट प्रतिवादीले मर्ने उपर हतियार प्रयोग गरेको देखिएको हुनाले मध्य पश्चिमान्चल क्षेत्रीय अदालतबाट प्रतिवादी लाई अपराधी ठहर गरेको इन्साफ मिलेको हुँदा सदर हुनुपर्छ भन्ने समेत बहस गर्नुभयो ।

१८.   प्रस्तुत मुद्दामा मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको छ छैन, सो कुराको निर्णय दिनुपर्ने हुन आएको छ ।

१९.    यसमा निर्णयतर्फ हेर्दा सरजमीनको अधिकांश मानिसले मृतकसँग सोद्धा मृतकले आफ्नो श्रीमती कौशिलालाई इसारा गरी निजले नै बसुलाले हानी मारेको भनी व्यक्त गरेको भनी अदालतमा समेत आई बकी दिएको कुनैले तीनपटक कुनैले ५ पटक हानेको भनी इशारा गरेको भनी बकपत्र गरेकोलाई मध्य पश्चिमान्चल क्षेत्रीय अदालतले निर्णयमा आधार लिएको पाइन्छ । यसबाट वास्तवमा मर्ने रत्न बहादुरले इशाराबाट कुन कुरा व्यक्त गरेको हो भन्ने कुरा नै स्पष्ट हुँदैन । साथै रत्न बहादुरलाई ३ चोट घाउ परेको र प्र.कौशिलालाई ५ चोट घाउ परेको भन्ने देखिन्छ । यस्तो अवस्थामा प्रतिवादी कौशिलाले पहिला मर्ने रत्न बहादुरलाई बसुलाले प्रहार गरेको भन्ने कुरा नै शंकारहित तवरबाट प्रमाणित भएको भन्न सकिने स्थिति छैन । घटना देख्ने सरजमीनका खिमबहादुर पुन मगरले काकाले काकीलाई समाई बसुलाले हानेको देखें भनी सरजमीनमा र कौशिलाले सुतेको ओछ्यानमा घुम्टो परेको थिइन मर्ने रत्न बहादुरका हातमा बसुला थियो भनी अदालतमा बकपत्र गरेको छ । अर्को घरधनी छविलाल पुन मगरले बाहिर के को आवाज आयो हेर भने छोरा खिमबहादुर बाहिर आई हेरेछ लोग्ने स्वास्नी काटाकाट गरी रगतपक्ष गरेको देखी हतासले के गरेको भनी करायो रत्न बहादुर बोलेन । म पनि तल आएँ छोराले छुट्यायो बुहारी भित्र गइन । निजहरू सुतेको ओछ्यानमा प्रशस्त रगत बगेको देखियो भाइको हातमा रगत लागेको बसुला पनि देखियो भन्ने समेत सरजमीनमा लेखाएको र बाहिर निस्की लाइट बाली हेर्दा लोग्ने स्वास्नीको शरीरमा खुन बगी रहेको थियो । रत्न बहादुरको हातमा बसुला थियो मैले देखी सकेपछि हानाहान गर्न पाएनन् भनी अदालतमा बकपत्र गरेको देखिन्छ । सो बकाईबाट प्रतिवादी कौशिलाले हतियार बसुला मर्ने रत्न बहादुर माथि प्रयोग गरेको भन्ने देखिँदैन । वारदात भएको दुई महिनापछि रत्न बहादुर अस्पतालमा मरेको भन्ने देखिन्छ । के कति कारणबाट पछि मृत्यु हुन गएको हो सो कुरा अस्पतालको पत्रबाट खुल्दैन । मर्ने रत्न बहादुरको लाशको पोष्टमार्टम भएको पनि पाइँदैन । यस स्थितिमा मर्ने रत्न बहादुरलाई प्रतिवादी कौशिलाले कर्तव्य गरी मारेको हो भन्न सकिने शङ्कारहित किटानी तथ्ययुक्त सबूत प्रमाणको अभाव हुँदा निज कौशिलालाई दोषी ठहराउन न्यायसंगत नभएकोले निज प्रतिवादी कौशिला पुन मगरलाई प्रहरी अभियोगबाट सफाई दिने ठहराएको सुर्खेत जिल्ला अदालतको इन्साफ मनासिव ठहर्छ । पुनरावेदकलाई ज्यानसम्बन्धीको १३(१) नं.अनुसार दोषी ठहराई सजायँ गरेको मध्य पश्चिमान्चल क्षेत्रीय अदालतको इन्साफ मिलेको देखिएन । अरू तपसील बमोजिम गर्नु ।

तपसील

पुनरावेदक प्रतिवादी कौशिला पुन मगरके मध्यपश्चिमाञ्चलक्षे.अ.का ०४०।१।११ का फैसलाले सर्वस्वसहित जन्मकैद गरेकोमा पुनरावेदकले सफाई पाएकोले सो सजायँ नलाग्ने भएकोले सो सजायँ लगत  काटी दिनु भनी सुर्खेत जिल्ला अदालतमा लेखी पठाउन काठमाडौं जिल्ला अदालतमा लगत दिनु……………………१

पुनरावेदक प्रतिवादी कौशिला पुन मगर के मध्यपश्चिमाञ्चल क्षे.अ.का ०४०।१।११ का फैसलाले पुनरावेदक प्रतिवादीको अंश सर्वस्व रोक्का राख्ने गरेकोमा निजले सफाई पाएको हुँदा सो अंश सर्वस्व रोक्का गर्नु नपर्ने भएको हुँदा अंश सर्वस्व रोक्का भएको भए फिर्ता र नभएको भए व्यहोरा जनाई लगत कट्टा गरिदिनु भनी सुर्खेत जि.अ.मा लेखी पठाउन काठमाडौं जि.अ.मा लगत दिनु………………………………………….२

सुर्खेत जि.अ.का तत्कालीन जि.न्या. श्री उद्धव प्रसाद बास्कोटाको म.पश्चिमान्चल क्षेत्रीय अदालतका ०४०।१।११ को फैसलाले उल्टीमा रेकर्ड राख्ने गरेकोमा सो रेकर्ड राख्नु पर्दैन भनी मध्यपश्चिमाञ्चलक्षे.अ. प्रशासन शाखामा लेखी पठाई दिनु…………………३

इन्साफ उल्टीमा मध्यपश्चिमाञ्चलक्षे.अ.का माननीय मुख्य न्यायाधीश श्री षडानन्दप्रसाद उपाध्यय तथा माननीय न्यायाधीश श्री केशवप्रसाद मुडभरीको रेकर्ड राख्न सर्वोच्च अदालत प्रशासन शाखामा लेखी पठाई दिनु……………………..४

मुद्दा निर्णय भएको सूचना पुनरावेदकलाई दिनु………..५

मिसिल नियम बमोजिम गरी बुझाई दिनु………………..६

 

उक्त रायमा म सहमत छु ।

 

न्या.जोगेन्द्र प्रसाद श्रीवास्तव

 

 

इतिसम्वत् २०४२ साल बैशाख ३ गते रोज २ शुभम् ।