September 30, 1969
Created by nepalarchives

निर्णय नं. ५०८ – बाली भराई जग्गाबाट निष्काशन गरिपाउँ

निर्णय नं.  ५०८     ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीस श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री लोकराज जोशी सम्वत २०२५ सालको दे. फु....

निर्णय नं.  ५०८     ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीस श्री रत्नबहादुर बिष्ट

न्यायाधीश श्री लोकराज जोशी

सम्वत २०२५ सालको दे. फु. नं. ७९

पुनरावेदक : ल.पु.इ.काम्टु बस्ने धनकुमारी सिलवालनी

विरुद्ध

विपक्षी : ऐ ऐ बस्ने चिनी मैयां सिलवालनी समेत

मुद्दा : बाली भराई जग्गाबाट निष्काशन गरिपाउँ

(१)   हालको जग्गाको नाप ठहर अनुसार पाउनुपर्ने बाली भन्दा बढी बालीको दावा गरी कचमच गरी बुझी नलिई आलटाल गरी धरौट राख्ने म्याद पनि गुजारेको देखिएमाबाली नबुझाएको कारण मोहीलाई जग्गावाट निष्कासित गर्न नहुने ।

            हालको नापीबाट कायम भएको नाप ठहरबमोजिम जग्गा मात्रको बाली पाउनेमा साविक दर्ता रोपनी ३।२ कै बाली भराइपाउँ भनी दावी गरी नालिस गर्ने वादीहरूले घरसारमा रोपनी ३।२ कै बाली पाउनुपर्छ भनी दावी गरेन होलान भन्न नमिल्ने अर्को कुरा प्रतिवादी धनकुमारीले ०२१ सालको बाली पहिलेको जग्गा पनि बेखराजलाई बुझाइपाउँ भनी मालमा धरौट राखेकी समेतबाट निज बाली नबुझाई घिगन्याही गर्ने नियतको मानिस नदेखिएकी समेत हुँदा प्रतिवादीको भनाई जिकिर अनुसार वादीहरूले पनि आफूले पाउनुपर्ने भन्दा बढी बाली दावी गरी कचमच उठाई नबुझी दिएका र वादीहरू देउरानी जेठानी नाताका मानिस हुँदा प्रतिवादीले तत्कालै अड्डामा आई धरौट राख्न समेत नसकी सो ०२२ सालको बाली बाँकी रहन गएको रहेछ भन्ने देखिन आउँछ । तसर्थ हालको नाप ठहर बमोजिम मात्रको बाली पाउनुपर्नेमा वादीहरू आफूले पनि कचमच उठाई पाउनुपर्ने भन्दा बढी बाली दावी गरी नालिस गरेको समेत यस्तो अवस्थामा मोहीलाई जग्गाबाट निष्काशन गर्न न्यायोचित हुन नआउने समेत हुन्छ । प्रतिवादी धनकुमारीलाई जग्गाबाट निष्काशन गर्न नपर्ने ठहराई ०२५।१।३।२ को डिभिजन बेञ्चमा मा.न्या.श्री नयनबहादुरले व्यक्त गर्नुभएको राय मनासिव छ ।

(प्रकरण नं.८)

पुनरावेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री मधुप्रसाद शर्मा

विपक्षी तर्फबाट      : अधिवक्ता श्री सर्वज्ञरत्न

उल्लेखित मुद्दा :

फैसला

      मा.न्या. श्री लोकराज जोशी

      १.     बेखाराज शाक्यसँग हामीले ०२१।२।१५ गते लिखत गरी ०२१।७।६ मा रु.४८९९। मा राजीनामा पास गराई लिएको पाटन लगनखेल कि.नं. २० मा दर्ता भएको खेत रोपनी ।। को कित्ता १ र खेत रोपनी ३।२ को कित्ता १ समेत जग्गा मध्ये रोपनी ३।२ जग्गा विपक्षी धनकुमारीले बेखाराजलाई साल १ को धान मुरी ७।१० बुझाउने गरी कमाई आएको रोपनी १ को धान १।३ ले हुने धान ३।१७।५ हामीलाई बुझाउनु पर्ने ०२२ सालको बाली नबुझाएकोले बिगो रु.३१०।५० भराई जग्गाबाट निष्कासन गरिपाउँ भन्ने सोरणकुमारी चिनीमैया सिलवालनीहरूको ०२३।२।२८।६ को फिरादपत्र ।

      २.    हालको सर्वे नापीमा जम्मा रोपनी २।।। ठहर भई सो अनुसारको कुत बाली वादीहरूलार्र्ई बुझाउन साविक रोपनी ३। को लेउ बाली भनेकाले र नापीबाट ठहरेको जग्गा बाली बुझी देउ भन्दा पर्ख पर्ख भनी आलटाल गरी झुलाई दिएका र वादीहरू आफ्नो जेठा ससुराका बुहारी जेठानी देउरानी नाताका मानिस हुँदा बुझी देलान भनी पखडा धरौटी राख्ने म्याद गुजारी दिई नालेस गरेछन्, कानूनबमोजिम बाली जुनसुकै बखत पनि दिन तयार छु भन्ने समेत धनकुमारी सिलवारनीको ०२३।८।२१।३ को प्रतिवादी ।

      ३.    फिल्ड बुक उतारबाट जग्गा रोपनी २।।। कायम भई अवल किसिम भन्ने देखिएको हुँदा र ०२२ सालको बाली बाँकी छ भन्ने प्रतिवादी सावितै भएकी कारणबाट वादीले रोपनी २।।।को अवल किसिम बमोजिम प्रतिवादीबाट बिगो रु.२५८।७५ भरी पाउने र भूमिसम्बन्धि ऐन ०२१ को दफा २९ (क) अन्तर्गत वादीले प्रतिवादीलाई जोतबाट निष्कासन गर्नपाउने समेत ठहर्छ भन्ने भूमिसुधार विशेष अदालत ललितपुर भक्तपुरको ०२४।२७।४ को  फैसला ।

      ४.    जोताहा मेरो लोग्ने ठहरी निजले नै अस्थाई पुर्जापाई सकेको सो उपर कसैको सो उपर कसैको उजूर छैन । म जोताहा नभएको मानिसलाई निष्काशन गर्नेगरी फैसला गरेकोसमेत हुँदा इन्साफमा चित्तबुझेन भन्नेसमेत प्रतिवादी धनकुमारीको ०२४।२।२६।६को पुनरावेदन ।

      ५.    अवल किसिमको जग्गा रोपनी ३।२ को बाली भराइपाउँ भन्ने वादीको मुख्य दावी भएको वादी दाविको जग्गा हाल नापीबाट २।।।ठहर भएकोले कानून अनुसारको बाली बुझी देउ भन्दा पर्ख पर्ख भनी आलटाल गरी मलाई झुलाई दिएकोले कानूनबमोजिमको बाली जुनसुकै बखत पनि दिन तयार छु भन्न प्रतिवादीको जिकिर छँदा छँदै जोतबाटसमेत निष्कासन गर्ने गरेको सम्म भू.सु.वि.अ.ल.पु. तथा भू.सु.को ०२४।१।२७।४ को इन्साफ केही गल्ती र अरु मुनासिव ठहर्छ । सो राय सहयोगी मा.न्या. वासुदेव शर्मा ज्यूसँग राय सहमत नभएकोले स.अ.नि.२०२१ को नियम ३३ (क) अनुसार फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या. श्री नयन बहादुकरो राय,

      ६.    वादीले आफ्नो फिरादमा रोपनी ३।२ को जग्गाको बालीमा दावा गरेतापनि भू.सु.वि.अ.बाट हाल नापी ठहर रोपनी २।।।बमोजिम वादी भराई जग्गाबाट निष्कासन गर्ने गरेको देखियो । वादीले बाली बुझी नलिएकोले कानूनबमोजिम बाली बुझाउन मञ्जुर छु भन्ने प्रतिवादीको भनाई देखिन्छ तापनि भूमिसम्बन्धी ऐनबमोजिम वादीले बाली बुझी लिन मञ्जुर नगरे तोकिएको निर्धारित समयमा बाली बुझाई पाउँ भनी सम्बन्धित पञ्चायतमा धरौट राख्न पाउने भू.सुं ऐन, २०२१ मा व्यवस्था भएकैमा त्यस्तो कानूनी बाटो नअपनाई केवल मुखकै भरले मात्र पत्यार मान्न न्यायोचित नदेखिंदा भूमिसम्बन्धी ऐन,०२१ को दफा २९ (क) बमोजिम हाल नापी ठहर रोपनी २।।। को बाली भराई जग्गाबाट निष्कासन गर्ने गरेको भू.सु.वि.अ.ल.पु.भ.पु. को ०२४।१।२७।४ को इन्साफ मनासिव ठहर्छ भन्ने मा.न्या. श्री वासुदेव शर्माको राय भएको ०२५।१।३।२ को फुल बेञ्चको फैसला ।

      ७.    प्रतिवादीमा उल्लेख गरी राखेको वादी रामबहादुर सेजवालले प्रतिवादी धनकुमारी समेत उपर ललितपुर जिल्ला अदालतमा ०१७ सालमा दिएको पछि डिसमिस भएको भन्ने जग्गा खिचोला मुद्दाको मिसिल १, वेखाराज साकेले प्रतिवादी धनकुमारी उपर ०२१।३।३० मा ल.पु.जि.अ.मा दिएको पछि डिसमिस भएको भन्ने घर भत्काई पाउँ भन्ने मुद्दाको मिसिल १ वेखाराजले प्रतिवादी धनकुमारी उपर ०१८ सालदेखि ०२० साल तकको बालीमा दावी लिई नालेस गरेको पछि भू.सु. विशेष अदालत भ.पु.ल.पु बाट डिसमिस भएको भन्ने बाली मुद्दाको मिसिल १, समेत सम्बन्धित अदालतहरूबाट झिकाउनु वादी दावीको जग्गा कि.नं. ३०७।३०८ बाट नापी हुँदा यो जग्गाको जग्गा धनी हक मैले राजीनामा गरी लिएको छु भनी वादीहरूको नाममा जग्गा धनी महलमा नाम लेख्नु लेखाउनु गरेको भन्ने प्रतिवादी लेखाई बमोजिम सर्भे नापी हुँदा वादीहरू हाजिर भई जग्गा धनीमा आफ्नो नाम लेखाएको छ छैन त्यसमा हेरी भए त्यसमा लेखिएको व्यहोरा र मितिसमेत खुलाई जवाफ दिनु भनी सम्बन्धित सर्भे गोस्वारा समेतलाई लेखी पठाई जवाफ दिनु वादी दावी कि.नं. ३०७।३०८ को आफुले पाएको अस्थायी पुर्जा र प्रतिवादीमा प्रमाण दिइराखेको ०२१ सालको बाली धरौट राखेको ०२१।१२।३० को ल.पु. माल दोश्राले गरिदिएको भन्ने भरपाई सक्कलै दाखिल गर्न ल्याउनु भनी पुनरावेदक प्रतिवादी धनकुमारीलाई ऐनबमोजिम तारिख तोकी दाखिल गराउनु सो अङ्ग पुगेपछि पेश गर्नु भन्ने ०२५।३।१२।३ को फुल बेञ्चको आदेश ।

      ८.    यसमा तारिखमा रहेका पक्षहरू रोहवरमा रही ०२६।३।१०।६ मा पेश भई पुनरावेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री मधुप्रसाद शर्माले र वादीतर्फबाट विद्वान अधिवक्ता श्री सर्बज्ञरत्नले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा ०२५।१।३।२ को डिभिजन बेञ्चमा पेश हुँदा वादी दावी अनुसार बाँकी देखिएको ०२२ सालको बाली भराई दिनेतर्फ माननीय न्यायाधीश दुवै जनाको राय मिलेकै र जग्गा निष्कासनतर्फ माननीय न्यायाधीश २ जनाको राय नमिलेकोबाट सर्वोच्च अदालत नियमावली, २०२१ को नियम ३३ (क) बमोजिम निर्णयार्थ यस बेञ्चमा पेश हुन आएको रहेछ । उक्त डिभिजन बेञ्चका माननीय न्यायाधीशहरूको राय नमिलेको जग्गा निष्कासन गर्नुपर्ने नपर्ने के हो भन्ने कुरामा अहिले यस बेञ्चबाट निर्णय दिनुपर्ने हुन आयो । उक्त निर्णयको लागि हेर्दा वादीको नालेसमा साविक दर्ता बमोजिम कि.नं. २० को खेत कित्ता २ को रोपनी ३।।। मध्ये रोपनी ३। कै बाली दावी गरेको तर हालको सर्भे नापीमा कि.नं.३०७।३०८ का कित्ता २ को खेत रोपनी २।।।मात्र कायम भएको पाइयो । वादी दावी ०२२ सालको बाली प्रतिवादीसँग बाँकी नै रहेको देखिन ठहर्न आएको भए पनि वादीहरूले रोपनी ३। कै बाली देउ भनेको नापी ठहरको अस्थायी पुर्जा बमोजिमको बुझी देउ भन्दा आलटाल गरी झुलाएका वादीहरू आफ्नो जेठा ससुराका बुहारी जेठानी देउरानी नाताका मानिस हुँदा बाली बुझी लिई हाल्लान भनी पर्खदा धरौट राख्ने म्यादसमेत गुज्रन गएको भन्नेसमेत प्रतिवादीको भनाई जिकिर भएको र हालको सर्भे नापी भइसकेपछि भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३३ को प्रतिबन्धात्मक वाक्यांश खण्ड (क) मा उल्लेख भएबमोजिम दरले हालको नापीबाट कायम भएको नाप ठहरबमोजिम जग्गामात्रको बाली पाउनेमा साविक दर्ता रोपनी ३। कै बाली भराइपाउँ भनी दावी गरी नालिस गर्न वादीहरूले घरसारमा रोपनी ३। कै बाली पाउनु पर्छ भनी दावी गरेन होलान भन्न नमिल्ने, अर्को कुरा प्रतिवादी धनकुमारीले ०२१ सालको बाली पहिलेको जग्गा धनी बेखाराजलाई बुझाइपाउँ भनी मालमा धरौट राखेकी समेतबाट निज बाली नबुझाई घिगन्याही गर्ने नियतको मानिस नदेखिएकी समेत हुँदा प्रतिवादीको भनाई जिकिर अनुसार वादीहरूले पनि आफूले पाउनुपर्ने भन्दा बढी बाली दावी गरी कचमच उठाई नबुझी दिएका र वादीहरू देउरानी जेठान्नी नाताका मानिस हुँदा प्रतिवादीले तत्कालै अड्डामा आई धरौट राख्न समेत नसकी सो ०२२ सालको बाली बाँकी रहन गएको रहेछ भन्ने देखिन आउँछ । तसर्थ हालको नाप ठहर बमोजिम मात्रको बाली पाउनुपर्नेमा वादीहरू आफुले पनि कचमच उठाई पाउनुपर्ने भन्दा बढी बाली दावी गरी नालिस गरेको समेत यस्तो अवस्थामा मोहीलाई जग्गाबाट निष्कासन गर्न न्यायोचित हुन नआउने समेत हुन्छ प्रतिवादी धनकुमारीलाई जम्माबाट निष्कासन गर्नु नपर्ने ठहराई ०२५।१।३।२ को डिभिजन बेञ्चमा मा.न्या.श्री नयनबहादुरले व्यक्त गर्नु भएको राय मनासिव छ, अरु तपसील बमोजिम गर्नु ।

 

तपसील

प्रतिवादी धनकुमारी सिलवालनी के भूमिसुधार विशेष अदालत ललितपुर भक्तपुरको ०२४।१।२७।४ को फैसला बमोजिम गर्ने गरेको जरिवाना रु.३२।९४ मध्ये जग्गा निष्कासनतर्फ बिगो रु.४००। को सयकडा ५ ले गर्नेगरेको जरीवाना रु.२०। बसी नलाग्ने हुँदा ०२४।१।२६ मा सर्वोच्च अदालतमा दाखिल गरेको जरिवाना रु.३२।९४ मध्ये

सो रु.२०। कानूनबमोजिम फिर्ता दिनु भनी का.श्रे.अ.त. मा लगत दिनु………………….१

वादी देहायका मानिसके जग्गा निष्कासन गरिपाउँ भन्ने दावीतर्फ निष्कासन नहुने ठहर भएकोले बिगो रु.४००। को सयकडा ५ ले रु.२०। कोर्टफी लाग्नेमा भूमि सम्बन्धि (प्रथम संशोधन) ऐन, २०२२ को थप दफा ५७ (क) अनुसार पहिले कोर्टफी नलिएको हुँदा सोही ऐनको दफा ५८ (क) बमोजिम उक्त कोर्टफी सरह रु.२०। जरिवाना हुन्छ । वारिेस हुँदा असूल गर्न का.श्रे.अ. ऐ ऐ…………………..२

सोनकुमारी सिलवालनीके रु.१०। दश चिनीमैयां सिलवालनीके रु.१०। दश अरु ०२५।१।३।२ को डिभिजन बेञ्चमा मा.न्या.श्री नयनबहादुर खत्रीको रायको तपसीलमा लेखिएबमोजिम गरी नियमबमोजिम मिसिल बुझाई दिनु……..३

 

मा.प्र.न्या.श्री भगवतीप्रसाद र मा.न्या. श्री रत्नबहादुर बिष्ट

 

उपरोक्त ठहरमा हामीहरूको सहमती छ ।

 

इति सम्वत् ०२६ साल आश्विण १४ गते रोज ३ शुभम् ।