July 25, 1969
Created by nepalarchives

निर्णय नं. ४९८ – सरकारलाई हानी गरी आफूलार्र्र्ई फाईदा पुर्यानयो भन्ने

निर्णय नं.  ४९८     ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री रङ्गनाथ उप्रेती २०२५ सालको फौ.फु.नं. २५ निवेदक...

निर्णय नं.  ४९८     ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री रङ्गनाथ उप्रेती

२०२५ सालको फौ.फु.नं. २५

निवेदक : का.जि.न्यौखा टोल बस्ने ना.सु.गोबिन्दलाल श्रेष्ठ

विरुद्ध

विपक्षी : श्री ५ को सरकार, वि.पु.बि.

मुद्दा : सरकारलाई हानी गरी आफूलार्र्र्ई फाईदा पुर्‍यायो भन्ने

(१)   अभिवक्ता (वकिल) को जिकिर आफ्नै पक्षको भनाईसँग मेल नभएमानिजको उक्त जिकिरमा सहमत हुन नमिल्ने ।

            फ्नो पक्ष ना.सु.गोविन्दलालले पहिले अदालतमा गरेको बयानमा अर्धकट्टि रसिदमा मेरो दस्तखत भइसकेपछि त.ख.गोविन्दप्रसादले पछि अंक अक्षरहरू थप केर गरी सच्याई रु.११०। खाई भ्रष्टाचार गरेछन भनी रु.१३७।५४ नै असूल भएको भन्ने कुरा स्वीकार गरी राखेको र मुद्दा दोहर्‍याई पाउँ भनी दिएको निवेदनपत्रमा पनि सोहीअनुसार उल्लेख गरेकोमा अहिले जम्मा टोटल बमोजिम रु.२७।५४ नै असूल भएको हो भनी विद्वान अभिवक्ताले जिकिर लिनु भएको कुरा आफ्नै पक्षको भनाईसँग मेल नखाएको समेत हुँदा त्यसमा सहमत हुन मिलेन ।

(प्रकरण नं. १२)

(२)   अर्धकट्टि रसिदमा हाकिमको सहमती बिना अंक अक्षर तल्लो कर्मचारीले सच्याई कैफियत गर्नसक्ने स्थिति नभएफ्नो नियन्त्रणमा रहेको प्रमाण लाग्ने उक्त कलमको प्रज्ञापनपत्र ठेलीमा नभई हराएको भनी प्रमाणमा पेश गर्न नसकेदस्तखत गर्नु नपर्नेउक्त रसिदमा दस्तखत गरेअंक अक्षर सच्याएको कसूरमा निज हाकिम सहमत भएको भन्न पर्ने ।

            अर्धकट्टि रसिदमा हाकिमको सहमत बेगर त.ख.ले मात्र अंक अक्षर सच्याई कैफियत गर्नसक्ने अवस्था नदेखिने र मुख्यतः पहिला आफुले चेक जाँच गरी रसिद लेख्न दिएको भनेको हाकिम आफ्नै नियन्त्रणमा रहने, सो कलमको प्रज्ञापनपत्र ठेलीमा नभई हराएको भन्ने शंकास्पद जबाफ दिई प्रमाणमा पेश गर्न नसकेको र, अर्को कुरा आफ्नो सच्चा नियत भए पहिले महसुल लिंदा टोटल जम्माको अंकै नराखेको अर्धकट्टि रसिदमा आफुले दस्तखत गर्नु पनि नपर्ने समेत प्रमाणहरूबाट निज ना.सु गोविन्दलाल कसूरमा सहमत भएको भन्न मिल्ने देखिएन ।

(प्रकरण नं. १३)

(३)   महशुल असूल गरी खाएको प्रमाणको अभाव भएमाजानीजानी सरकारलई नोक्सान पार्ने नियत नदेखिएमासफाई दिएको इन्साफमा विपक्षी चित्त बुझाई बसेमात्यसतर्फ शंका गर्नू नपर्ने।

            अरु कलम नून बोरा ३३ को महसूल रु.७।२६ को प्रज्ञापन फ्याँकी उक्त रकम आफुले लिए खाएको भन्ने दोश्रो आरोपको हकमा प्रज्ञापनपत्र बमोजिम सो कलमको अर्धकट्टि रसिद काटी महसूल असूल गरी आफूले खाएको प्रमाण पुग्न नआएको, धागोको भंसार महसूल रु.२१।५४ लिनु पर्ने, रु.२१।३० मात्र लिई रु.।२४ सरकारको नोक्सान पारेको भन्ने दोश्रो आरोपका हकमा जानी जानी सरकारलाई नोक्सान पार्ने नियतले हिसावमा घटाएको नदेखिने र उक्त कलममा सफाई दिने गरेको इन्साफमा वादी पक्षले चित्त बुझाई बसेको समेत हुँदा त्यसतर्फ अरु शंका गरी रहनु परेन । 

 (प्रकरण नं. १४)

निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे

वादी श्री ५ को सरकार वि.पु.वि. तर्फबाट : अधिवक्ता श्री रतनलाल कनौडिया

उल्लेखित मुद्दा       : x

फैसला

            मा.प्र.न्या. श्री भगवतीप्रसाद सिंह

            १.     घिउ मन १२।। को महसुल मालधनीबाट बुझी लिई त्यसको रसिद प्रतिलिपिमा पछि सच्चाएको र सरकार दाखिल हुने रकम लिए खाएको, गोविन्दप्रसाद लिए खाएमा इन्कार भए पनि आफ्नो हस्ताक्षरले रसिद काटी त्यसमा लेखिएको अक्षर सवै आफ्नो हुन् भनी सावित हुनाले अर्धकट्टि टिकट कुनियतले सच्याएको र हा.ना.सु.गोविन्दलाल सरकारी रकम लिए खाएमा इन्कार हुनु हुन्छ, तर अर्धकट्टि रसिदमा स्वयं आफ्नो हस्ताक्षर भएको र त्यसरी १२।। लाई २। र १३७।५०लाई २७।५० गरेको र रामप्रसाद फटिकले पैठारी गरेको धागोमा पनि दाखिल भएको बिलमा भा.रु.१७४।। हुने र २७९।२० पैसाको सयकडा ७। का दरले २१।५४ महसुल लिनुपर्नेमा नलिई रु.२७६। को सयकडा ७। का दरले २१।३० मात्र लिएर सरकारको ।२४ पैसा लिन छुटाई नोक्सान गरेको साथै अड्डामा दाखिल भएको स्वयं आफ्नै हस्ताक्षरले निस्सा लगाएको नुन बोरा ३३ को प्रज्ञापन पास गरी त्यस्को लाग्ने भंसार महसुल रु.७।२६ को टिकट काटी आम्दानी बाँध्नु समेत केही नगरी आफैले लिए खाएको व्यहोरा निजले फ्याँकेको प्रज्ञापनपत्रले समर्थन गर्दछ, त्रिनगर भंसारका त.ख. गोविन्दप्रसाद प्रधानांगले भंसार महसुल रकम तिरेको रसिदमा सच्याई ११०। रु.लिई खाई सरकारलाई नोक्सान गराएको र हा.ना.सु.गोविन्दलालले त्यस्तो रकमीले मता भई खाने खुवाउने गरी सरकारलाई हानी पुर्‍याई नाजायज फाईदा उठाएकोले ख.गोविन्दप्रसाद प्रधानाङ्गलाई भ्र.नि.ऐन, २०१७ को दफा ७(१) र हा.ना.सु. गोविन्दलाल श्रेष्ठलाई ऐ ऐनको दफा ७ (१) ९ बमोजिम सजाय गरिपाउँ भन्ने प.सं ४६८०२० प्रो.मिति ०२१।१।२४।४ को विशेष पुलिस बिभागको आरोपपत्र ।

            २.    टिकट काट्ने त.ख.गोविन्दप्रसादले सो टिकटको महशुल बुझी लिई टिकट काटी दिएर पछिबाट मेरो दस्तखत भइसकेको उक्त टिकटमा अंक अक्षर थप केर गरी ने.रु.११०। खाई भ्रष्टाचार गरेका रहेछन्, २७।५४ लेखेकोमा निज त.ख.गोविन्दप्रसाद बचनबद्ध छन्, फाँटवाला मु.उद्धव सिंले रोजनामा टिपोट स्याहा गरेकोमा उक्त कलमको ने.रु.२७।५४ मात्र टिपोट गराई सोही बमोजिम तहविल दाखिल गरेकोले मेरो आँखा छलेका थप केर गरेमा हाकिमको हैसियतमा मेरो पनि सहि दस्तखत गर्नु पर्दथ्यो, सो भए गरेको छैन, नून बोरा मन १६०। को प्रज्ञापनपत्रको छैटौं सातौं महलमा लेखिएको दरदाम अंक टांगेको मेरा हस्ता हो, साक्षी त्रिनगर अड्डा भन्ने लेखिएको निज उद्धव सिंको हस्ता जस्तो देखिन्छ, अरु देशीको अक्षर जस्तो देखिन्छ तल (गो) भन्ने अक्षर पनि मेरो हो, रु.।२४ पैसा सरकारको नोक्सान पार्‍यो भन्ने हकमा भा.रु.को ने.रु.मा परिणत गर्ने कारिन्दाले हिसाब गर्दा गल्ती गरेकोले छुट हुन गएको हो, जानी जानी सरकारको नोक्सान पारेको होइन नून बोरा ३३ को महसुल आम्दानी नबाँधी खायो भन्ने तर्फ मैले सो महसुल लिए खाएको छैन, टे.नं. ४९४४९१ मिति ०१८।१०।२।२ को टिकट हेर्दा परिणाममा २।। को अगाडि १ र महसुलमा २७।५० अगाडिको १ अंक समेत मेटेको आकार देखिन्छ, घिउ मन १२।। को महसूल १३७।५४ हुने घिउ मन २।। को महशुल २७।५४ गरेको देखिन्छ, जस्मा महसूूल भन्ने महलमा पनि सत्ताईस भन्ने ४ अक्षर गाढा छ गोश्वारामा बयान गर्दाको अवस्थामा उक्त टिकट बाहेक अरु कुनै पनि बुझ्न नपाएको हुँदा कस्ले गर्‍यो थाहा छैन, कारवाईबाटै पत्ता लगाई पाउँ भन्ने अदालतमा गोबिन्दलालको बयान ।

            ३.    देखाईएको टिकट मेरो हस्ताक्षरले काटेको हुँ, १ जनाले घिउ मन २।। लिई आई प्रज्ञापनपत्रमा भरी दिएको सो प्रज्ञापनपत्र छोटे खाँ भन्नेले भरेकोले सो महशुल २७।५० लाग्ने र टिकट दस्तुर ।४ पैसा समेत गरी जम्मा २७।५४ को टिकट मैले काटी सहि गरी हाकिम गोविन्दलालजीले जाँची बुझी दस्तखत गरिदिए बमोजिम घिउ निकाशी भएको हो, परिमाणको महलमा २ को अंक सच्चिएको र सो २ अंक अगाडि पट्टि १ अंकको आकार जस्तो देखिने र जम्मा महसूूलका महलमा २ अंक मोटो परी सच्चिएको रुप जस्तो देखिने र अगाडि १ को अंकको आकार जस्तो देखिने जो अंक देखे सो सच्याएको केरे मेटेको मैले होईन, कस्ले गरे म भन्न सक्तिन, जाँचकीको सहि मेरो होईन, जाँचकी तर्फ सिंको हो, तहरिरको सही मेरै हो, टिकट पनि सच्चिएको देखिन्छ, कसले के परिवन्दले गरे भन्न सक्तिन, जम्मा जम्मी अंक कति पनि नसच्चिएको र रोजनामा टिपोट स्याहामा पनि २७।५४ नै लेखिएको हुनाले महसूल भारी नोक्सान पारेको होईन, मैले २।। मन घिउको उस बखतको दरबन्दी बमोजिम महसूल लिएको र टिकटको हस्ताक्षर मेरो भए पनि सच्याएको मैले नहुनाले सफाई पाउँ, वि.पु.वि. को आरोप झूठ्ठा हो भन्ने गोविन्दप्रसाद प्रधानाङ्गको अदालतमा बयान ।

            ४.    घिउ मन १२।। को रु.१३७।५० महसूल बुझी रसिद लिई पठाएपछि अफिसमा रहने रसिद प्रतिलिपिमा सच्याई १२।। को २।। र १३७।५० को २७।५० गरी रु.११०। खाई खुवाई सरकारलाई हानी नोक्सान गराए भन्ने ना.सु. गोािन्दलाल र त.ख. गोबिन्दप्रसाद उपरको आभयोगमा तहविलदार रुजु नभएको दिन हुँदा असूल भएको रुपैंया हाकिम ना.सु. गोविन्दलाल नै लिई राख्ने गरेको देखिन आएबाट माहाजनबाट मौकामा असूल भएको भंसार महशुल रु.१३७।५४ निज हाकिम गोबिन्दलाल श्रेष्ठ र त.ख.गोविन्दप्रसादले अफिसमा सरसल्लाह मिलेमतो गरी अंक अक्षर सच्याई सरकारी महशुलको असूल भएको अंक घटाई सो सच्चाएकोबाट हुन आउने रु.११०। हाकिम तहरिर दुबैले बण्डा गरी खाई र, नून बोरा ३३ को महशुल रु.७२६ लाग्ने गरी भरिएको प्रज्ञापनपत्र फ्याँकी उक्त रकम ना.सु. गोबिन्दलालले लिए खाए भन्ने दोस्रो अभियोग तर्फ नुन बोरा मन १६० को महसूल रु. ७२६ दिएको रहेछ भन्ने कुरा प्रमाणित हुन आएको र उक्त महशुल सरकारी श्रेस्तामा आम्दानी बाँधी दाखिल भएको मिसिलबाट नदेखिने र आम्दानी बाँधेको छु भनी ना.सु. गोविन्दलालले लेख्न र सबूद गुर्जान नसकेकोले उक्त सरकारी रकम निज ना.सु. गोविन्दलालले आफूले उपयोग गरी श्री ५ को सरकारलाई गैरकानूनी हानी पुर्‍याएको ठहर्छ धागोको भंसार महसूल २१।५४ लिनु पर्नेमा भा.रु.२१।३० मात्र लिई रु.।२४ सरकारलाई नोक्सान पारे भन्ने ना.सु. गोबिन्दलाल उपरको अभियोग तर्फ भूलबाट महसुल रु.।२४ घटि लिएकोसम्म ठहर्छ भन्ने भ्र.नि.ऐन, अन्तर्गतको अदालतको ०२१।८।२८।१ को फैसला ।

            ५.    मेरो कसूर नहुनाले इन्साफमा चित्त बुझेन भन्नेसमेत ना.सु.गोविन्दलाल श्रेष्ठको ०२१।११।२६।३ को पुनरावेदन ।

            ६.    फाराम नं. ३ मा चढेको ०१८।१०।२।२ को दोश्रो प्रति सि.नं.४४१ को टिकट नं. ४९४४९१ को छोटे खाँका नाउँको काटिएको घ्यू निकासीको डुव्लीकेट रसिदको अदतको संख्याको महल परिमाणको महल जम्मा महसुलको महल कूल जम्मा महसूल अक्षरेपी कागजजाँचको ४ नं. को रीत नपुर्‍याई बेहिसावसँग सच्चिएको सो रसिदबाटै देखिने र सो सच्चिएको रसिद पुछारमा हाकिमको सही गरेको हुँ भनी अपीलाट गोविन्दलाल श्रेष्ठले मञ्जुरी गरेको निजको बयान तथा अपील जिकिरबाट समेत देखिएको, तर मालको परिमाण तथा महसूलको अंक जो सच्याइएको देखिएकोछ, त्यसबाटै प्रष्ट हुन्छ की इन्चार्जको हैसियतमा मेरो दस्तखत गराउँदा बाजाफता रीतपूर्वक लेखिएको रहेछ र सो दिनको अड्डामा निकासी पैठारी हुने काम सिद्धिसकेपछि साँझमा तहविल बुझाउँदा टिपोटमा आधारित पारी यथासंभव आफ्नो कुकिर्तिलाई लुकाई टिपोट लेख्ने उद्धव सिं र अर्धकट्टि लेख्ने त.ख.गोबिन्दप्रसाद २ जनाका मिलेमतोेबाट मलाई टिपोट बमोजिम नै ने.रु. २७।५४ मात्र दिए बुझाएको कुरा सो टिपोट साक्षी स्वरुप प्रष्ट बताई रहेछ भन्ने मुख्य अपीलाटको अपील जिकिर देखिएको भएपछि सो रसिदलाई सच्याई सरकारलाई हानी नोक्सानी पुर्‍याएको भन्ने कुरामा अपीलाटबाट सावितै रहेको, यसमा अपील जिकिर अनुसार सो सच्याउनमा निजको मिलेमतो छैन भन्ने तर्फलाई निजको उक्त जिकिर खम्वीर गर्न निज छोटे खाँको घिउ निकाशीको प्रज्ञापन मागिएकोमा यसरी संग्रहित प्रज्ञापनपत्रको पत्र ठेलीहरूमा उक्त प्रज्ञापनपत्र नपाउँदा दाखिल गर्न नसकेको हो भनी फा.नं. ५५ को ठाडो कागजमा र कै.कं.गोश्वारालाई ०१९।९।११ मा दिएको फा.नं.६५ को निजै ना.सु. गोविन्दलालका जवाफबाट देखिएकोमा प्रज्ञापनपत्र अनुसार नै रसिद काट्ने यो रसिदको प्रज्ञापनपत्र मात्र ठेलीबाट हराउनु पर्ने मुनासिव कारण केही देखाउन नसकेको आफ्नो नियन्त्रणमा रहेको कागजहरूमा प्रश्न उठेको रसिदको प्रमाण लिन सकिने प्रज्ञापनपत्र पेश गरी आफ्नो सफाईको सबूद दिन नसकेको, निजका अपील जिकिर अनुसार नसच्चिएको सबूद जम्मामहसुल २७।५४ भएको अर्धकट्टि रसिदमा नै निजले सहिगरेको भए सो उप्रान्त उक्त रसिद अनुसार महसूल असूल तहसील गर्नु बाहेक उपरोक्त अंक अक्षरहरू सच्याइरहनाको कुनै कारण नदेखिई बेमतलव हुने हुँदा बेगर सबूद निज अपीलाट ना.सु. गोविन्दलाल श्रेष्ठले सावुद रसिदमा सहि गरिसकेपछि तद्उप्रान्त सच्चाएको भन्न नहुने र निजैका तजविजले अड्डाको काम बाँड फाँड हुने र टिपोट स्याहा बमोजिम तहविल मोज्दात दाखिल गर्दा पनि गैरकानूनी तरिकाबाट उक्त छोटे खाँको घ्यूको रसिद सच्चिएको तथा अंक अक्षर मेटाई भ्रमात्मक पारेको देखिएकैमा सो कौनै कुराको प्रयोजन नराखी गरेको कामबाट सरकारको हानी नोक्सानी पारे पराएको निजको सहमतबाट भएको होइन भन्न नमिल्ने हुनाले समेत सो घ्यूको निकासीको आरोपमा ठहराएको इन्साफ भ्रष्टाचार निवारण ऐनअन्तर्गतको अदालतले गरेको ०२१।८।२८।१ को मनासिव । धागोको भंसार महसुल रु.२१।५४ लिनु पर्ने भा.रु.२१।३० मात्र लिई रु.।२४ पैसा सरकारलाई नोक्सान पारे भन्ने अपीलाट ना.सु.गोविन्दलाल उपरको तेश्रो अभियोगमा भा.रु.को ने.रु.मा परिणत गर्दा भूलबाट घटि हुनगएको भन्ने निजको बयान हुँदा असूल बेगर निजले जानीजानी श्री ५ को सरकारलाई गैरकानूनी हानी पुर्‍याउने मनसाय गरी रु.।२४ पैसा घटि महशुल लिएको भन्न नहुने हुनाले भूलबाट घटि हुनगएको ठहराएका इन्साफ उक्त भ्र.नि.ऐनअन्तर्गतको अदालतको मुनासिव, अब नून बोरा मन १६०को जम्मा महशुल रु.७।२६ लेखिएको प्रज्ञापन पत्रमा निज ना.सु.गोविन्दलालले गरे भन्ने अक्षर आफ्ना हस्ताबाट लेखिदिएको भए पनि सो प्रज्ञापन पत्रबमोजिम अर्धकट्टि रसिद काटिएको र महसूल असूलतहसील भएको प्रमाणित हुन नआएकोले निजले एकलौटी लिएखाएको देखिन नआएको हुँदा त्यसतर्फ उक्त भ्रष्टाचार निवारण ऐनअन्तर्गतको अदालतले गल्ती इन्साफ गरेकोठहर्छ भन्ने ०२३।४।१७।२ को डि.बे.को फैसला ।

            ७.    उक्त इन्साफमा चित्त बुझेन दोहर्‍याई पाउँ भन्ने ना.सु.गोबिन्दलाल श्रेष्ठले चढाएको निवेदनपत्रको व्यहोरा श्री ५ महाराजाधिराजका हजूरमा जाहेर हुँदा व्यहोरा साँचो हो र एकपटक पनि फुल बेञ्चबाट नदोहोरिएको मुद्दा रहेछ भने फुल बेञ्चबाट दोहराई हेरी रुल नियमबमोजिम गरी निर्र्णय गरिदिनु भन्ने हुकुम बक्सेको छ भन्ने मौसुफको विशेष जाहेरी विभाग मार्फत ०२५।११।५ मा लेखी आएको हुकुम प्रमांगी ।

            ८.    बक्स भइआएको हु.प्र.बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिमाई दुबै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु, फाँटमा बुझाई दिनु भन्ने माननीय प्रधान न्यायाधीशज्यूबाट भएको ०२५।६।२८।१ को आदेश ।

            ९.    यसमा निवेदक प्रतिवादी ना.सु.गोविन्दलालको वा. गोपालदास रोहवरमा रही ०२६।३।३१।३ मा पेश भई निवेदकतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र वादी श्री ५ को सरकार वि.पु.वि.तर्फबाट विद्वान सरकारी अधिवक्ता श्री रतनलाल कनौडियाले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा वि.पु.वि.को आरोप बमोजिम निवेदक प्रतिवादीले कसूर गरे नगरेको के हो सोकुराको निर्णय दिनुपर्ने भएकोछ ।

            १०.    सर्वप्रथम छोटे खाँको नाउँमा काटिएको अर्धकट्टि रसिदको घिउ मन १२।। को महसूल रु.१३७।५० बुझी लिई रसिद दिई पठाएपछि अफिसमा रहने प्रतिलिपिमा सच्याई १२।। को २।। र १३७।५० को २७।५० गराई रु.११०। खाई खुवाई सरकारलाई नोक्सान गराएको भन्ने पहिलो आरेप तर्फ सो कलमको काटिएको ३ थान अर्धकट्टि रसिद मध्ये महसूल बुझाउने छोटे खाँले लगेको भन्ने चाँही १ प्रति निज छोटे खाँले र निजले मालधनी देखाएको खुदा बक्स समेतबाट पेश दाखिल हुन सकेको नदेखिएकोले भंसारमा रहेको चाहीं मिसिल सामेल रहेको १ प्रति र हाल कुमारीचोकबाट झिकाईएको १ प्रति समेत दुवै अर्धकट्टि रसिदहरू हेरेमा अदत संख्याको महलमा लेखिएको ५ को अंक परिमाणको महलमा लेखिएको २।। मा २ को अंक जम्मा महसूलको महलमा लेखिएको २७।५० मा २७ को अंक र पुछारको कुल जम्मा अक्षरेपीको महलमा सत्ताइस भन्ने अक्षरहरू अस्वभाविक किसिमले सच्चिएको देखिन आयो, जुन अंक अक्षरहरू पछि सच्चिएको भन्ने कुरा निवेदक प्रतिवादीले पनि स्वीकार गरिराखेकै पाईन्छ ।

            ११.    उक्त सच्चिएकोमा अदत संख्याको महलमा लेखिएको ५ को अंक पहिले लेखिएको २ को अंकलाई ५ गराए जस्तो जो कि सोही रसिदमा लेखिएको अरु ५ को अंकसँग रुप आकार एकदमै नमिल्ने र सो ५ अंकको सामने क भन्ने अक्षर मुनी ५, परिमाणको महलमा २।। अंकको अगाडि १ जम्मा महशुलका महलमा २७।५० अंकको अगाडि १ को अंकहरू पहिले लेखी राखेकोलाई खुर्की मेटेको सो अंकहरूको भित्री आकार प्रष्टै देखिइरहेको त्यस्तै पुछारमा कुल जम्मा महसुल अक्षरेपीको महलमा पनि पहिले लेखिएको अक्षरहरू खुर्कि मेटि नबुझिने गराएको र सो अर्धकट्टि रसिदहरूको पछाडिपट्टिबाट हेर्दा अदत संख्याको महलमा २५, परिमाणको महलमा १२, जम्मा महलमा १३७, समेत पहिले लेखिएको अंकहरूको उल्टो डोव आकार छर्लङ्ग देखिने समेत हुनाले पहिले लेखिएको अंक अक्षरहरू खुर्कि मेटी अदत संख्याको महलमा पहिले २५ लेखिएकोलाई ५, परिमाणको महलमा पहिले १२।। लेखिएकोलाई २।। जम्मा महसुलको महलमा पहिले १३७।५० लेखिएकोलाई २७।५० कुल जम्मा महसूल अक्षरेपीका महलमा एकसय सैंतिस रुपैंया पचास पैसा लेखिएकोलाई २७ रुपैंया पचास पैसा गराई पछि सच्याई बनाएको रहेछ भन्ने कुरा प्रमाणित भएको छ ।

            १२.   उक्त रसिदहरूको कुरालाई लिएर निवेदक प्रतिवादीकातर्फबाट विद्वान अधिवक्ताले अदत संख्याको महलमा लेखिएका अदत संख्या कंटर ५ को अंक र महसुल रु.२७।५० टिकट दस्तुर ।४ समेत टोटल जम्मा रु.२७।५४ को मूल अंक नसच्चिएको ५ कंटरको घिउ मन २।। र त्यसको महशुल रु.२७।५० नै हुन आउने समेत हुनाले अरु अंक सच्चिएको भए पनि वास्तवमा टोटल जम्मा बमोजिम रु.२७।५४ नै लिएको हो पछि सच्याई धेरैलाई थोरै गराई आफुले खाई सरकारको नोक्शान पारेको होईन भन्ने आफ्नो बहसमा जिकिर लिनु भएको थियो । अदत संख्याको महलमा लेखिएको ५ को अंक नसच्चिएको भन्ने विद्वान अधिवक्ताको भनाई भए तापनि उक्त ५ को अंक समेत सच्चिएको देखिएको कुरा त माथिको प्रकरणमा उल्लेख भएकै छ, जम्मा टोटल रु.२७।५४ को अंक नसच्चिएको भन्ने हकमा सो टोटल जम्माको अंक पहिले रसिद काट्दाकै मौकामा लेखिएको थियो भन्न प्रतिवादी ना.सु. गोविन्दलालले नसकी निजले अदालतमा गरेको आफ्नो बयान र श्री ५ महाराजाधिराजका हजुरमा चढाएको (ख) २८९५ को निवेदनपत्र समेतमा त.ख.गोबिन्दप्रसादले काटेको अरु रसिदमा पनि पहिले टोटल जम्माको अंक नराख्ने गरेको उदाहरण दिई टोटल जम्मा नराखिएको अरु २ थान रसिद प्रमाणमा पेश गरी राख्नु भएकोछ, पछि अंक सच्याई धेरैलाई थोरै गराई नाजायज फाईदा उठाउने कुनियत राखी काम गर्ने व्यक्तिलाई पछि कसैबाट उजूर परे जम्मा अंक सच्चिएको छैन भन्ने कुराले आफू बच्न सकिएला भन्ने चलाखीबाट पहिले रसिद काट्दा टोटल जम्माको अंक नराखी पछि अरु अंक सच्याइसकेपछि मात्र सो अनुसार टोटल जम्मा अंक राख्न पनि सक्ने नै कुरा हो, मुख्यतः पुछारको कुल जम्मा महसूल अक्षरेपीको महलमा पहिले लेखिएको अक्षरहरू खुर्कि मेटी पछि सत्ताईस भन्ने अक्षर थपी सच्याई बनाएको देखिएको समेत यस स्थितिमा टोटल जम्माको अंक नसच्चिएको भन्नेसम्म कुराले कसूर नगरेको मान्न सकिन्न । आफ्नो पक्ष ना.सु.गोविन्दलालले पहिले अदालतमा गरेको बयानमा अर्धकट्टि रसिदमा मेरो दस्तखत भइसकेपछि त.ख.गोविन्दप्रसादले पछि अंक अक्षरहरू थप केर गरी सच्याई रु.११०। खाई भ्रष्टाचार गरेछन् भनी रु.१३७।५४ नै असूल भएको भन्ने कुरा स्वीकार गरिराखेको र मुद्दा दोहर्‍याई पाउँ भनी दिएको निवेदनपत्रमा पनि सोहीअनुसार उल्लेख गरेकोमा अहिले जम्मा टोटल बमोजिम रु.२७।५४ नै असूल भएको हो भनी विद्वान अधिवक्ताले जिकिर लिनुभएको कुरा आफ्नै पक्षको भनाईसँग मेल नखाएको समेत हुँदा त्यसमा सहमत हुन मिलेन ।

            १३.   त.ख.गोविन्दप्रसादको हकमा कसूर ठहराएको भ्र.नि.ऐन, अन्तर्गतको अदालतको इन्साफ उपर पुनरावेदन समेत नगरी चित्त बुझाई बसेको देखिएकोले निवेदक प्रतिवादी ना.सु.गोविन्दलालको हकमा विचार गरेमा रोजरोजको आखिरी अर्धकट्टिमा सो दिनको अर्धकट्टि बमोजिमको आम्दानी अंक टाँगी हाकिमको सहिछाप गर्ने गरेको भन्ने निज ना.सु.गोविन्दलालकै बयानबाट देखिएको, सो अनुसार आखिरी अर्धकट्टिमा दिनभरको आम्दानी अंक टाँगी सहिछाप गर्दा उसै दिन तत्कालै हाकिमको चेक दृष्टिमा जानसक्ने, पहिले हाकिमको दस्तखत समेत भइराखेको यस्तो अर्धकट्टि रसिदमा हाकिमको सहमती बेगर त.ख.ले मात्र अंक अक्षर सच्याई कैफियत गर्नसक्ने अवस्था नदिखेने र मुख्यतः पहिले आफुले चेक जाँच गरी रसिद लेख्न दिएको भनेको हाकिम आफ्नै नियन्त्रणमा रहने, सो कलमको प्रज्ञापनपत्र ठेलीमा नभई हराएको भन्ने शंकास्पद जवाफ दिई प्रमाणमा पेश गर्न नसकेको र अर्को कुरा आफ्नो सच्चा नियत भए पहिले महसुल लिंदा टोटल जम्माको अंकै नराखेको अर्धकट्टि रसिदमा आफुले दस्तखत गर्नु पनि नपर्ने समेत प्रमाणहरूबाट निज ना.सु.गोविन्दलाल कसूरमा सहमत नभएको भन्न मिल्ने देखिएन ।

            १४.   अरु कलम नून बोरा ३३ को महसुल रु.७।२६ को प्रज्ञापन फ्याँकी उक्त रकम आफुले लिए खाएको भन्ने दोश्रो आरोपको हकमा प्रज्ञापनपत्र बमोजिम सो कलमको अर्धकट्टि रसिद काटी महसुल असूल भरी आफुले खाएको प्रमाण पुग्न नआएको धागोको भंसार महसुल रु.२१।५४ लिनुपर्ने रु.२१।३० मात्र लिई रु.२४ सरकारको नोक्सान पारेको भन्ने तेस्रो आरोपका हकमा जानी जानी सरकारलाई नोक्सान पार्ने नियतले हिसावमा घटाएको नदेखिने र उक्त कलममा सफाई दिने गरेको इन्साफमा वादी पक्षले चित्त बुझाई बसेको समेत हुँदा त्यसतर्फ अरु शंका गरी रहनु परेन ।

            १५.   तसर्थ उपरोक्त उल्लेख भएबमोजिम छोटे खाँका नाउँमा काटिएको अर्धकट्टि रसिदमा पहिले लेखिएको अंक अक्षरहरू पछि निवेदक ना.सु.गोविन्दलाल समेतको सहमतबाट सच्याई अंक घटाई रु.११०। आफुहरूले लिई खाई सरकारको नोक्सान पारी भ्रष्टाचार गरेकै ठहराएको र अरु कमलको आरोपका हकमा सफाई दिने गरेको समेत इन्साफ ०२३।४।१७ को डिभिजन बेञ्चको मनासिव ठहर्छ । निवेदक प्रतिवादी ना.सु गोबिन्दलालकै इन्साफ दोहर्‍याएमा डिभिजन बेञ्चको ०२३।४।१७ को फैसलाले गर्ने गरेको जरिवाना रु.१०। को अ.बं.२०४ नं. सयकडा १० ले रु.१। जरिवाना हुन्छ । वारिस हुँदा का.श्रे.अ.त.मा लगत दिई नियमबमोजिम मिसिल बुझाई दिनु ।

 

मा.न्या. श्री रङ्गनाथ तथा मा.न्या.श्री नयनबहादुर

 

उपरोक्त रायमा हामीहरूको सहमत छ ।

 

इति सम्वत् २०२६ साल श्रावण १० गते रोज ६ शुभम् ।