July 11, 1969
Created by nepalarchives

निर्णय नं. ४९२ – घरबाट उठाई पाउँ

निर्णय नं.  ४९२     ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२५ सालको देवानी फु.नम्वर...

निर्णय नं.  ४९२     ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री लोकराज जोशी

सम्वत् २०२५ सालको देवानी फु.नम्वर ६९

निवेदक      : ल.पु. खपिछें टोल बस्ने पञ्चनारायण खड्गी

विरुद्ध

विपक्षी : ऐ ऐ बस्ने मानबहादुर खड्गी

मुद्दा : घरबाट उठाई पाउँ

(१)   रजिष्ट्रेशन अड्डाको कर्मचारी समेत मिली झुक्याई पास गराएको भनी बदर गराउन नसकेपूर्व ऋण अरु श्रोतबाट तिरेको भन्न नसकेरजिष्ट्रेशन अड्डा गई साहू तिरी पास भएका उक्त लिखतलाई झुक्याई गराई लिएको भन्न नहुने ।

            लिखत पास गराउन आएमा लिखतको व्यहोरा सुनाई सम्झाई बुझाई लिखत गरी दिनेले मञ्जुर गरेमा मात्र सहिछाप गराई पास गरी दिने रजिष्ट्रेशन अड्डाको कर्तव्य हो, त्यसो नगरी रजिष्ट्रेशन अड्डा समेत मिली झुक्याई सही गराई पास गरेको भए अड्डाका कर्मचारी समेत उपर ऐनबमोजिमको उजूर गरी बदर गराउन सक्नुपर्ने सो गरेको नदेखिएको र तिरिएको अष्टमानको थैली अरु यो यस श्रोतबाट तिरे बुझाएको हो भन्ने प्रतिवादीको जिकिर नदेखिएकोले पुरानो साहू समेत तिरी रजिष्ट्रेशन अड्डामा गई पास गराई लिएको फार्सेलाई झुक्याई गराई लिएको भन्न मिल्ने देखिँदैन ।

(प्रकरण नं. १४)

(२)   तत्काल प्रचलित अ.बं.३४कागज गराउँदा बौलाह भई वारेसवाला राख्नु पर्ने अवस्थाको हुँ भनी जिकिर नलिनाका साथै उक्त कागज मञ्जुरीबाट गरेको भन्ने स्वीकार्दै तारिखमा पनि आफै बसेमा वारेसवाला राखी कागज गराउनु पर्ने अवस्थाको मानिस भन्न नहुने ।

            रोगले होस ठेगाना नभएको बौलाएको आफ्नो दौलतको हिसाव गर्न नसक्नेको कागज गराउँदा वारेसवाला राख्नु पर्ने प्रष्टछ । लक्ष्मी थकुं त्यस्तो अवस्थाकी भए नभएको हेर्दा प्रथम त्यस्तो अवस्थाको थियो भन्ने निजतर्फकै जिकिर लेखाई कहीं भएको देखिन नआएको, शेषपछिको बकसपत्र गर्न मेरो मञ्जुरी थियो भन्ने निजकै भनाई भएको र झन प्रस्तुत मुद्दामा पनि प्रतिवादी समेत दिई आफै तारिखमा रही पैरवी गरेको देखिएकोले उक्त ऐनबमोजिम वारेसवाला राखी कागज गराउनु पर्ने अवस्थाकी मानिस हुन् भन्न भएन ।  

 (प्रकरण नं. १५)

निवेदकतर्फबाट : x

प्रतिवादीतर्फबाट : x

उल्लेखित मुद्दा : x

फैसला

            मा.न्या.श्री लोकराज जोशी

            १.     विपक्षी मेरा आमाले मेरा सहोदर दाजु अष्टमान खड्गीसँग मो.रु.७४१। कर्जा लिई भोगबन्धक दिनु भएको पास गरिदिनु नभएकोले पास गरिपाउँ भनी नालेस गर्नु भएकोमा ०१।१२।२६।१ मा फैसला भई उक्त तमसुक रजिष्ट्रेशन अड्डाबाट ०२।७।२३।५ मा पास भएको तिर्न भनी रु.७४१। र घर खर्च गर्न भनी रु.३२५९। समेत जम्मा रु.४०००। कर्जा लिनु भई निखनी ल्याउनु भएको पूर्व दथीको बारी पश्चिम बाटो सारे बारेको घर दक्षिण हाकु सिंहको घर यति भित्रको उत्तर दक्षिण लंग पूर्व मोहडाको २ नाले ३ तले पक्कि घर कबल ३ को घर १ र सोही घरमा उत्तर तर्फ जोडीएको २ नाले १ तले लमाई हात १० को पक्की गोठ घर र लगापात समेत ०१९।९।५ गते रजिष्ट्रेशन पास गरी फार्छे दिनु भएको उक्त घर गोठ छाडी दिनु नभएकोले निज विपक्षीलाई यसै अदालतबाटै उठाई पाउँ भन्नेसमेत मानबहादुर खड्गीको वादी ।

            २.    म ७७ बर्ष पुगेको आमा उपर शेष पछिको बकसपत्र भनी रु.४०००। को राजीनामा फार्छे गराई लिएको लिखत कान्छो छोरा पञ्च खड्गी समेतको भाग परेको आधामा निजै पञ्चले उजूर गर्ने छ, जुन लिखतका आधारबाट उठाई पाउँ भन्छ सो लिखत झुक्याई गफलत पारी लिने दिने गरेकोले घरबाट उठाई पाउँ भन्ने निजको दावी पुग्न नसक्ने भन्नेसमेत लक्ष्मी थकुंको प्रतिवादी ।

            ३.    वादीले आफ्नो फिरादमा प्रतिवादीको उमेर ७५ बर्षको भनी लेखेको प्रतिवादीले २०।६।२२।३ मा दिएको प्रतिउत्तरपत्रमा ७७ बर्षको भनी लेखेकोबाट वादीलाई प्रतिवादीले फार्छे पास गरेको मिति ०१९।९।५।५ मा प्रतिवादीको उमेर ७५ बर्ष नाघिसकेको देखियो । उसबखतका प्रचलित मुलुकी ऐन अदालती बन्दोबस्तको ३४।१०७ नं. ले हकवालाको रोहवरमा सहिछाप गराएको मात्र सदर हुने अर्को कुरा अरु छोराहरूको मञ्जुरी बेगर आफू खुशी गर्न पाउन प्रतिवादीकै दाइजो पेवा वा आर्जनको हो भन्ने कुरा वादीको लेखाइबाट नदेखिएको बाबु बाजेका आर्जनमा जानकार अरु छोराहरूको मञ्जुरी बेगर प्रतिवादीले बेचबिखन गर्न पनि नपाउने सो फार्छे लिखतमा प्रतिवादीका छोराहरू साक्षी बसेको पनि नदेखिएको समेतबाट कानूनबमोजिमको रीत पुगेको नदेखिएकोले घरबाट निकाल्नै पर्छ भनी भन्न ठहराउन उचित नहुँदा वादीले प्रतिवादी उपर झुठ्ठा उजूर गरेको ठहर्छ भन्नेसमेत ललितपुर जिल्ला अदालतको ०२२।१०।१०।१ को फैसला ।

            ४.    आमाले मानु छुट्टी भिन्न भइसकेपछि आफ्ना आर्जनले किनी लिनु भएको त्यसतर्फ केही विचारै राख्नु नभई मेरो थैलीको किनारा नै नलगाई गर्नुभएको उक्त जिल्ला अदालतको इन्साफ उल्टाई पाउँ भन्नेसमेत मानबहादुरको पुनरावेदन ।

            ५.    वादी दावीबमोजिम घरबाट उठाई दिनुपर्ने नपर्ने के हो ? त्यसको निर्णय गरिदिए पुग्नेमा दावी उजूरै नभएको कुरामा रजिष्ट्रेशन पास भएको फार्छे अ.बं.३४।१०७ नं. बमोजिम रीत नपुगेको भनी बढी बुँदा लेखी फैसला गर्नु सुरुको गल्ति ठहर्ने र घरबाट उठाई दिनुपर्ने हो कि भन्नालाई कुनै शर्तको लिखत गरी बस्न दिएको भनी भन्न नसकेको घर बनाउनेका महलको ८ नं. ले शर्त नगरी बसेकोलाई ५ बर्षसम्म उठाउन हुँदैन भन्ने भएको सो बमोजिम दावी पनि नभएको लिखतको मितिले ५ बर्ष पुगेको पनि देखिन नआएकोले प्रतिवादीलाई घरबाट उठाई पाउँ भन्ने वादी अपीलाटको जिकिर पुग्न सक्तैन त्यसतर्फ सुरुको मनासिवै र लिखत रीत नपुगेको भनी बढी बुँदा लेखी फैसला गर्नु सुरुको गल्ती ठहर्छ भन्नेसमेत बागमती अञ्चल अदालतको ०२३।९।१५।६ को फैसला ।

            ६.    फिराद दावीबमोजिम घरबाट उठाई पाउँ भन्नेसमेत मानबहादुरको पुनरावेदन ।

            ७.    म बृद्ध अवस्थामा बर्ष ८० को उमेरमा ५ बर्ष पछि घरबाट उठाउन पाउने ठहराई भएको फैसला उल्टाई पाउँ भन्नेसमेत लक्षी थकुंको पुनरावेदन ।

            ८.    अपील पर्न आएपछि खारेज गर्ने गरी आएकोले अपील खारेज नगरी हक न्याय गरिदिनु भन्ने हुकुम प्रमांगी पाउँ भन्नेसमेत व्यहोराको लक्ष्मी थकुंले श्री ५ महाराजाधिराज सरकारका हजुरमा चढाएको निवेदनमा एकपटक इन्साफ जाँच गरी ऐनबमोजिम गर्नु भनी ताहाँ लेखी पठाउन हुकुमबक्सेको छ भन्नेसमेत ०२३।१०।१८।३ को हुकुम प्रमांगीको प्रतिलिपि ।

            ९.    लक्ष्मी थकुंको निवेदनपत्र जाहेर हुँदा ०२३।१०।१८।३ गते बक्स भएका हुकुम प्रमांगी र वादीले पेश गरेको फार्छे लिखत बेरीतको भनी सुरु ललितपुर जिल्ला अदालतले ठहर गरेको बढी बुँदा बदर गर्ने भनी अञ्चल अदालतले ठहर गरेकोबाट सुरुको केही उल्टी भएको रु.४०००। बिगोको मुद्दा न्याय प्रशासन विविध व्यवस्था ऐन, २०२१ को संशोधित दफा ८ ले अञ्चल अदालत उपर सर्वोच्च अदालतमा पुनरावेदन लाग्न सक्ने हदमाथिको भई दुवै पक्षको पुनरावेदन जिकिर समेत हेरी निर्णयतर्फ विचार गर्दा शेषपछीको बकसपत्र भनी झुक्याई फार्छेपत्र पास गराएछन् भन्ने प्रतिवादीले जिकिर लिएको फार्छेपत्र लिखत हेर्दा ल.पु.माल रजिष्ट्रेशन अड्डामा आफै प्रतिवादी उपस्थित भई सनाखत साक्षीमा सहिछाप गर्नेहरू र अड्डाका रोहवरमा सहिछाप गरी पास गरेको अघिको बन्धकी लिखत फट्टा गराई लिखत सौंपी कानूनका रीतपूर्वक ०१९ साल पौष ५ गते रजिष्ट्रेशन पास भएको देखिन्छ । उक्त लिखत झुक्याई गराएको भन्न बाहालवाला सरकारिया जागिरदारहरू समेतले कानून विरुद्द काम गरी झुक्याई लिखत पास गराएको भए प्रचलित कानूनको रीत पुर्‍याई म्यादै भित्रै त्यसतर्फ नालेस उजूर दिई सबूद पुर्‍याई सो कुरा ठहर गराउन सक्नुपर्ने सो केही गर्नसकेको देखिएन । अर्को छोरा पञ्चनारायणका हकको घर पनि लिखतमा परेको भन्ने प्रतिवादी जिकिरलाई पनि त्यसो भए हकपुग्ने पञ्चनारायणकै उजूर हुनुपर्ने ७५ बर्ष नाघेकी प्रतिवादी लक्ष्मी थकुंको लिखत गराएको अ.बं.३४।१०७ नं. ले सदर नहुने भनी सुरु अदालतले ठहर गरेको उक्त फार्छे लिखतमा ऋणी लक्ष्मी थकुंको उमेर बर्ष ७५ को भनी लेखिएकोले ७५ बर्ष नाघेको भन्ने पनि नलेखिएको र ७५ बर्षको मानिसको लिखत गराउने बिषयमा अ.बं.३४।१०७ नं. मा कुनै उल्लेख नभएको ०१ सालको लिखतबाट हिसाब गरी ७५ बर्ष नाघेको भन्ने तर्क गरेकोमा पास गर्न आउँदा ७५ बर्ष लेखेको भएपछि अघि कुन कागजमा कति लेखेको अब कति बर्ष हुने भनी हिसाब गर्न सोही दावी लिई नालेस उजूर परेको भए कुन कागजको उमेर लेखाई ठिक हो भन्नु पर्ने आफै प्रतिवादीले यस मुद्दामा दिएको प्रतिउत्तर समेतमा फरक फरक उमेर लेखिएको त्यतिकैबाट लिखत बेरीत भन्न मिलेन । कुनै शर्तको लिखत नभएकोले ५ बर्षसम्म घरबाट उठाउन नपाउने भनी अञ्चल अदालतले ठहर गरे तर्फ घर बनाउनेको ८ नं. ऐनमा घर पसलका धनीले बाहाल लिने गरी वा नलिने गरी आफ्नु घर पसलमा अरुलाई बस्न दिंदा म्याद किटी लिखत गरी गराई बस्न दिएकोमा लिखतबमोजिम हुन्छ । यसबखत छाडी दिनु भन्ने शर्त नगरी बसेकोलाई भने ५ बर्षसम्म उठाउन हुँदैन भन्ने लेखिएको उक्त ऐन अनुसारको यो मुद्दा नभई आसामीबाट फार्छे गराई लिएको घर फार्छे गरी विक्री गर्ने आसामीले छोडी दिएन, अदालतबाटै उठाई पाउँ भनी दावी लिएको ०१९।९।५ गते रजिष्ट्रेशन पास गरी राजीनामा फार्छे लिएको ०२०।४।१४।२ मा उजूर परेकोमा फार्छे गरी विक्री गरेको घर साहूले भोग चलन गर्न पाउँदैन भन्न नहुने हुनाले वादी दावीबमोजिम अदालतबाटै प्रतिवादी परी मुद्दा सकार गर्ने पञ्चनारायणलाई घरबाट उठाई चलन चलाई दिनुपर्ने ठहर्छ भन्नेसमेत ०२४।१२।११।१ को डिभिजन बेञ्चको फैसला ।

            १०.    ल.पु.जि. खपिंछे टोल बस्ने मानबहादुर खड्गीसंगको घरबाट उठाई पाउँ भन्ने मुद्दामा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट भएको ०२४।१२।११।१ को फैसला दोहर्‍याई पाउँ भनी न्यायिक समिति मार्फत ०२५।१।११।३ मा द.गो.नि.नं. ३१४।१००६ को बिन्तिपत्र चढाएको कारबाई हुँदैन । मिति ०२५।७।२३।६ मा घर खाली गरिदिनु खाली नगरे अड्डाबाट ताल्चा खोली घर खाली गरी दिने छन् भनी १५ दिनको समाव्हान जारी भएकोले न्यायिक समितिबाट निर्णय नभएसम्म चलन चलाई पाउने विपक्षीको मागको कारवाई स्थगित गरिदिनु भन्ने ल.पु.जि.अ. का नाउँमा हुकुम प्रमांगी पाउँ भन्ने पञ्चनारायण खड्गीको निवेदनमा यसमा व्यहोरा हेरी रुल नियमबमोजिम गरी गराई निवेदकलाई सूचना दिनु होला भनी ०२५।७।२३।३ मा विशेष जाहेरी विभाग राजदरवारबाट लेखी आएको उक्त दोहर्‍याई पाउँ भनी न्यायिक समितिमा परेको गो.नि.नं. ३१४।१००६ मिति ०२५।१।११।३ को मूल निवेदनको टुंगो नलागेसम्म उक्त उल्लेखित ल.पु.जि.अ.बाट चलन चलाउने कारवाई स्थगित राख्ने सर्वोच्च अदालतका नाउँमा आदेश बक्सनु पर्ने भनी न्यायिक समिति राजदरवारले जाहेर गरेको मिति ०२५।७।३०।६ संख्या ०२५।२६।६३६ को जाहेरी पत्र श्री राजप्रतिनिधी परिषदमा पेश हुँदा यसमा न्यायिक समितिको सिफारिस बमोजिम उपरोक्त मुद्दा बारेको मूल निवेदनको टुंगो नलागेसम्म उक्त उल्लेखित ल.पु.जि.अ.बाट चलन चलाउने कारवाई स्थगित राखी दिनु भन्ने श्री अध्यक्षबाट हुकुम बक्सेको छ भन्ने श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारको पत्र ।

            ११.    बक्स भइआएका हुकुम प्रमांगी बमोजिम गर्नु भनी हुकुम प्रमांगीको प्रतिलिपि र स.अ.तो.नं.२२२ को निवेदन समेत यसैसाथ राखी ललिपुर जिल्ला अदालतलाई लेखी पठाई दिनु भन्नेसमेत माननीय प्रधान न्यायाधीश ज्यूको आदेश ।

            १२.   म ७७ बर्ष पुगेकी आमा उपर कुनियत नचिताउला भन्ने सम्झी शेषपछिको बकसपत्र भनी लेखेकैमा झुक्याई फार्छे गराई दिएछ भन्ने लक्ष्मी थकुंको प्रतिवादी जिकिर देखिएको यिनै वादी मानबहादुरले न्हेडिक तिरेको भनेको मिसिल सामेल रहेको भोगबन्धकी लिखत नक्कल हेर्दा सो लिखत हुँदाको समय २०००।३।१।४ मा लक्ष्मी थकुं खड्गीनीको उमेर ५९ बर्ष लेखिएको देखिएकोले सो हिसावले वादी मानबहादुरले फार्छे पास गरी लिएको मिति ०१९।९।५।५ मा निज लक्ष्मी थकुंको उमेर ७८ बर्षको अर्थात ७५ बर्ष नाघी सकेकै देखिन आएको साविक मुलुकी ऐन, अ.बं.३४ नं. मा उमेर पुगेका आफ्ना दौलतको हिसाब गर्न नसक्ने समेतको कागज लिनु वा गराउनु पर्दा वारिसवाला रोहवरमा रहनु पर्ने र ऐ १०७ नं. मा पनि ७५ बर्ष नाघेका आफ्ना दौलतको हिसाव गर्न नसक्ने भन्ने लेखिएको त्यस्ताको हकमा अपुताली खाने हकदारले उजूर गर्नसक्ने व्यवस्था भएकोले अ.बं.३४,१०७ नं. मा उल्लेखित दौलतको हिसाव गर्न नसक्ने भन्ने वाक्यांश एकैकिसिमको यौटै अवस्थाको देखिएको त्यस्तो अवस्थाको मानिसको कागज गराएकोमा अरु हकदार छोराहरू रोहवरमा हुनुपर्ने अनिवार्य देखिन्छ । सो बमोजिम नभएको व्यवहारलाई रीत पुगेको भन्न नमिल्ने घर फार्छे गरी कर्जि लिनु पर्ने कारण तर्फ विचार गर्दा घर खर्च गर्नावापत भनी रु.३२६९। लिएको भन्ने बोली परेको छुट्टी बसेकी बृद्ध मानीसले घर खर्च गर्न भनी त्यतीको रुपैंया लिनुपर्ने मुनासीव माफिकको अवस्था पनि देखाउन नसकेको पहिलेको बन्धकी लिखत पनि यिनै वादी मानबहादुरले साक्षी बसी जेठा दाज्यू अष्टमानले बन्धकी लिएको देखिएको सो पनि नालेस दिई एकतर्फि फैसलाबाट पास भएको र प्रतिवादीको भनाई जेठा अष्टमान र साहिंला मानबहादुर २ जना मिली गरेको भन्ने भएकोले निवेदकको लेखाई बमोजिम उक्त उल्लेखित किसिमको कागज भएको भन्ने देखिन आउने । स.अ. डिभिजन बेञ्चको फैसलामा ल.पु. माल रजिष्ट्रेशन अड्डामा आफै प्रतिवादी उपस्थित भई अड्डाका रोहवरमा सहीछाप गरी पास गरेको भन्ने बुँदाको हकमा उक्त उल्लेखित दौलतको हिसाव गर्न नसक्ने अवस्थाकी मानिसको हकमा त्यो आधारबाट जानी बुझी गरेको भन्न नमिल्ने प्रचलित कानूनको रीत पुर्‍याई त्यसतर्फ नालेस दिई सबूद पुर्‍याउनु पर्ने भन्ने बुँदाको हकमा पनि त्यस्ता कुरा बेकानूनी भनी प्रतिवादीले प्रतिवादीमा जिकिर लिंदा कानूनले कायम बेकयम के हुने हो ठहर निर्णय गर्न कानूनी बाधा नदेखिएको, तत्कालिन बिधवा अंशधनका ऐनतर्फ ध्यान दिंदा पनि त्यसरी आफु बसोवास गरेको घर जस्तो बस्तु समुचा राजीनामा गरिदिएको भन्ने पत्यार नपर्ने समेत प्रमाण परिवन्धबाट सो लिखत कानूनी भन्न नमिल्ने हुँदा सो लिखत सदर गरी घरबाट उठन पर्ने ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको श्री राजप्रतिनिधी परिषदमा पेश हुँदा श्री अध्यक्षबाट नेपालको संविधानको धारा ७२ को  (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भनी श्री राजप्रतिनिधी परिषदबाट ०२५।८।१७।२ मा लेखी ०२५।८।१८।३ मा दर्ता हुन आएको हुकुम प्रमांगी सहितको निवेदनपत्रको व्यहोरा समेत पेस भयो । यसमा बक्स भईआएका हुकुम प्रमांगीबमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यसको अन्तिम निर्णय भएपछि त्यस्को निर्णयको २ प्रतिलिपि नं. ७ न्या.स. ०२१।४।१३।३ मा हुकुम प्रमांगी बमोजिम जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुखसचिवालय राजदरवारमा जनरलविभागमार्फत पठाईदिनु भन्ने मा.प्र.न्या.ज्यूको आदेश ।

            १३.   तारेखमा रहेको प्र. लक्ष्मी थकुं मरी सकार गर्ने निवेदक पञ्चनारायणको वा. पदमबहादुर र विपक्षी प्रतिवादी वा.सुन्दरबहादुर रोहवरमा रही गत आषाढ १० गते पेश भई आज निर्णय सुनाउने तारिख तोकिई पेश हुन आएको प्रस्तुत मुद्दामा वादीका दावीबमोजिम घरबाट उठाईदिनुपर्ने नपर्ने के हो भन्ने निर्णय गर्नु पर्ने देखिएकोछ ।

            १४.   वादीले चलन चलाई पाउँ भनेको घर गोठ लगायत समेत अष्टमानको भोगबन्धकी थैली रुपैंया ७४१। तिर्न र घर खर्च गर्न समेत भनी जम्मा रु.४०००। लिई लक्ष्मी थकुंले ०१९।९।५ मा रजिष्ट्रेशन पास गरी फार्छे गरिदिएको भनी वादीले फार्छेपत्रको नक्कल पेशगरेको सो फार्छे शेषपछिको बकसपत्र भनी झुक्याई गरेको भन्ने लक्ष्मी थकुंको जिकिर भएकोमा लिखत गराउन आएमा लिखतको व्यहोरा सुनाई सम्झाई बुझाई लिखत गरी दिनेले मञ्जुर गरेमा मात्र सहीछाप गराई पास गरिदिने रजिष्ट्रेशन अड्डाको कर्तव्य हो । त्यसो नगरी रजिष्ट्रेशन अड्डासमेत मिली झुक्याई सही गराई पास गरेको अड्डाका कर्मचारी समेतउपर ऐनबमोजिमको उजूर गरी बदर गराउन सक्नुपर्ने सो गरेको नदेखिएको र तिरिएको अष्टमानको थैली अरु यो यस स्रोतबाट तिरे बुझाएको हो भन्ने प्रतिवादी जिकिर नदेखिएकोले पुरानो साहू समेत तिरी रजिष्ट्रेशन अड्डामा गई पास गराई लिएको फार्छेलाई झुक्याई गराई लिएको भन्न मिल्ने देखिँदैन । 

            १५.   उक्त फार्छे गर्दा तत्काल प्रचलित अदालती बन्दोबस्तको ३४।१०७ नं. ले हकदार साक्षी राख्नुपर्ने नराखेकोले रीत नपुगेको भन्ने तर्क उठेको हकमा १६ बर्ष मुनिका बालखको र उमेर पुगेका भए पनि कुनै किसिमको रोगले होस ठेकाना नभएका वा बौलाएका वा आफ्नो दौलतको हिसाब गर्न नसक्ने समेतको कागज लिनु वा गराउनु पर्दा उसको वारेसवाला नभई कुनै कागज लिनु गराउनु हुँदैन भन्ने अ.बं.३४ नं. मा र ७५ बर्ष नाघेका र १६ बर्ष मुनिका बालख वा उमेर पुगेको भए पनि कुनै किसिमको रोगले होस ठेगाना नभएको वा बौलाहा अथवा आफ्नो दौलतको हिसाब गर्न नसक्ने वा दुवै आँखा नदेख्ने अन्धा अन्धी लाटा लाटी मानिसहरूको हक पुग्ने जुनसुकै कुरामा पनि नालेस उजूर गर्नुपर्ने भएमा हकदारले नालेस उजूर गर्न पाउँछ भन्ने अ.बं.१०७ नं. मा लेखिएको पाईयो । अ.बं.१०७ नं.नालेस उजूर गर्नुपर्ने भएको अवस्थालाई देखिँदा प्रस्तुत केशमा लागू गर्ने अवस्था छैन । अ.बं.३४ नं. मा उमेर पुगेका जुनसुकै मानिसको कागज गराउँदा वारेसवाला राख्नुपर्छ भन्ने नभई नाबालख र उमेर पुगेका भए पनि कुनै किसिमको रोगले होस ठेकाना नभएका वा बौलाएका वा आफ्ना दौलथको हिसाब गर्न नसक्ने अवस्थाको मानिसको कागज गराउनु पर्दा वारेसवाला राख्नु पर्छ भन्ने लेखिएकोले उमेर पुगेका जुनसुकै मानिसको कागज गराउँदा वारेसवाला राख्नु पर्ने भन्न नभई रोगले होस ठेकाना नभएको बौलाएका आफ्नो दौलथको हिसाव गर्न नसक्नेको कागज गराउँदा वारेसवाला राख्नुपर्ने प्रष्ट छ । लक्ष्मी थकुं त्यस्तो अवस्थाकी भए नभएको हेर्दा प्रथमतः त्यस्तो अवस्थाको थियो भन्ने निजतर्फकै जिकिर लेखाई कहीं भएको देखिन नआएको, शेषपछिको बकसपत्र गर्न मेरो मञ्जुरी थियो भन्ने निजकै भनाई भएको र झन प्रस्तुत मुद्दामा पनि प्रतिवादी समेत दिई आफै तारिखमा रही पैरवी गरेको देखिएकोले उक्त ऐनबमोजिम वारेसवाला राखी कागज गराउनु पर्ने अवस्थाकी मानिस हुन् भन्न भएन ।

            १६.    आफ्नु स्वबासी घर बृद्ध लक्ष्मी थकुंले त्यत्रो रुपैंया किन लिई छोरा पञ्चनारायणको हक समेत फार्छे गर्दिहुन भन्ने तर्क पनि उठेको छ । छोरा पञ्चनारायणले आफ्नु हकमा उजूर गर्नेछ भन्ने प्रतिवादीमा नै लेखिएको र आफ्नु हक लाग्ने कुरामा पञ्चनारायणकै ऐनबमोजिमको उजूर पर्नु पर्ने बिषय यहाँ उल्लेख गर्न अनावस्यक छ । बृद्ध लक्ष्मी थकुंले स्वबासी घर त्यत्रो रुपैंया किन लिई फार्से गर्दिहुन भन्ने कुरामा पुरानो साहू पनि तिर्नु पर्ने र फार्छे गराई लिने पनि छोरै हुनाले आफ्नो निजी खर्च चलाउन समेत रुपैंया लिई फार्से गरी दिन कुनै असम्भव पनि छैन ।

            १७.   तसर्थ लक्ष्मी थकुंले गरिदिएका फार्से बमोजिमको घर गोठ लगापात समेत वादीलाई चलन चलाई दिने ठहराएको ०२४।१२।११ को स.अ.डि.बेञ्चको इन्साफ मिलेकै देखियो । कोर्टफी रहेकै देखिंदा दोहर्‍याए वापत केही गर्नु परेन । नियमबमोजिम गरी मिसिल बुझाई दिनु ।

 

मा.न्या श्री भगवतीप्रसाद तथा मा.न्या. श्री नयनबहादुर

 

उक्त रायमा सहमत छौं ।

 

इति सम्वत् २०२६ साल आषाढ २७ गते रोज ६ शुभम् ।