निर्णय नं. ४९१ – बहाल भराई घर चलन चलाई पाउँ
निर्णय नं. ४९१ ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री रत्नबहादुर बिष्ट न्यायाधीश श्री लोकराज जोशी ०२५ सालको दे.फु.नं. ६८ पुनरावेदक...
निर्णय नं. ४९१ ने.का.प. २०२६
फुल बेञ्च
प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह
न्यायाधीश श्री रत्नबहादुर बिष्ट
न्यायाधीश श्री लोकराज जोशी
०२५ सालको दे.फु.नं. ६८
पुनरावेदक : का.जि.इन्द्रचोक तघं चोक बस्ने राधामाया श्रेष्ठनी
विरुद्ध
विपक्षी : ऐ चोखाछे गल्ली बस्ने कृष्णभक्त श्रेष्ठ
मुद्दा : बहाल भराई घर चलन चलाई पाउँ
(१) बहालमा बसेको भन्ने नभएमा–बहाल कवुलित नभएको भन्ने तर्क अप्रासांगीक हुने ।
बहाल लिई बसेको भन्ने नभएपछि कबुलियत हुनसक्ने कुरै नभएकाले किटानी बहाल कबुलियत नभएको भन्ने तर्क उठाइएको लाई प्रासांगीक मान्न भएन ।
(प्रकरण नं. १३)
(२) लिन नहुने नजानी घर (जग्गा आदि) फार्छे गरी लिएमा–थैली कपाली सरह ब्याज समेत भराई लिनपाउने निर्णय भइरहेमा–फार्छे गरिलिएको उक्तघरको बहाल लिनेले तिर्न पर्ने ।
पहिला परेको धर्मलोप मुद्दामै प्रतिवादी राधामायाले नजानी लिएको र थैलीको हकमा ऐनबमोजिम कपाली सरह भराई लिन पाउने समेत ठहरी निर्णय भई उक्त साहू आसामीको २६ नं.को सुविधा पाइराखेको त्यसबाट ऐनबमोजिम आफ्नो थैलीको ब्याज समेत भराई लिन पाउने नै भएपछि घरको बहाल तिर्नु नपर्ने भन्न मिल्ने देख्रिंदैन ।
(प्रकरण नं. १३)
(३) व्यक्तिगत उपभोगको निम्ति नभई धर्मलोप नहुने गरी गुठी राखेको सम्पत्ति गुठी भइरहने गरी उक्त सम्पत्तिको लागि गुठियार मध्ये एकजनाले मात्र उजूर गर्न हुने ।
गुठीको घर हुनाले चलन पाएपछि वादीको निजी हक हुने नभई गुठी नै कायम रहने र बहालको हकमा पनि ५६ सालको दानपत्र भनेको लिखतबाट शेष खान नपाउने गुठी देखिन आएकोले दावीबमोजिम बाहाल भरी पाएपछि वादी आफुले लिन खान नपाउने सो रुपैंया गुठी नै रही त्यसबाट घर मरमत समेत गुठीकै काम चलाउनु पर्ने कुरा भएको वादीको लेखाई मासी कुनै नोक्सानी र गुठी धर्मलोप गरेमा अरु गुठियार भए निजहरूले गुठी सम्पत्तिमा उजूर गर्न पाउने हक सुरक्षितै रहने र पहिले पनि गुठी धर्मलोपमा वादीले नै उजूर गरी प्र.राधामायाले गराई लिएको फार्छे लिखत बदर गराएको समेत हुँदा अहिले वादीमात्रको उजूर पुग्न नसक्ने भन्न भएन।
(प्रकरण नं. १४)
(४) घर पसलको बाहाल दावा अनुसार होइन भन्ने सबूद नभएमा–उक्त घर पसलमा बहालमा बसिसकेको व्यक्ति र साक्षीहरूको बयानले सो दावा समर्थित हुन आएमा–उक्त दावी मुताविकको बाहाल बेमुनासिव भन्न नहुने ।
त्यति बाहाल आउने होईन भन्ने प्रतिवादीको जिकिर भए पनि त्यस कुराको सबूद गुजार्न नसकेको र बुझिएका वादीका साक्षी २ जनाले रु.५०१। बाहाल जाने नै हो भनी बकेका प्र.राधामायाले नै देखाएको सो घरको पसलमा बस्ने भनेको कृष्णकुमारको छोरा जगतलालले पसलको दिनको १। रुपैंयाका दरले बाहाल तिरी पहिले बाबु कृष्णकुमार र ०१४ सालमा बाबु मरेपछि आफु पनि २।३ महिना बसेको पछि राधामायाले उठाएको हुन् भनी पसलमात्रकै पनि उसबेला बर्ष १ को रु.३६०। बाहाल देखाई बयान गरेको समेत देखिन आएकोले पुरै घर पसल समेतको रु.५०१। का दरले दावी गरेको बेमुनासिव भन्न मिलेन ।
(प्रकरण नं. १५)
निवेदक प्रतिवादी तर्फबाट : अधिवक्ता श्री कृष्णप्रसाद घिमिरे
वादी तर्फबाट : अधिवक्ता श्री ठाकुरप्रसाद खरेल
उल्लेखित मुद्दा : राधामाया श्रेष्ठनी वि. कृष्णभक्त श्रेष्ठ, मुद्दा : धर्मलोप, डि.बे.
फैसला
मा.न्या.लोकराज जोशी
१. मेरो पुर्खा र बाबु ज्ञानमान सिं समेतले श्री आगन देवता र आकास भैरवका पर्व पुजा बुसाध समेत गर्ने गरी रु.१०००। र पूर्व आकास भैरवको मन्दीर पश्चिम हरिलाल पाध्याको हाल हनुमानप्रसाद माडवारीको घर र साझा चोक उत्तर मूल गल्ली बाटो दक्षिण ईन्द्रमान सिंको हाल बि.एल. शर्मा बसेको घर र साझा चोक यति चार किल्ला भित्रको पूर्व तर्फ २ नाले ३।। कवले ४ तले र उत्तर तर्फ बाके गएको १ नाले ९ कबले ४ तले पक्कि गारे कर्कट पाताको छाना भएको घर खाली गर्न नहुने भएबाट सन्तान बसुन्जेल दाताका सन्तान र नबसे दाताका छोरी बेटी सो पनि नबसे अन्यत्री राखी बहालको रुपैंयाबाट घर मर्मत गर्ने भनी गुठी राखी १९५६ साल आश्विन वदि १० रोज ६ का दिन दानपत्र समेत लेखी गुठी राखेको मध्ये पूर्व म बसेकै गुठीको घर पश्चिम हरिलालबाट हाल हनुमानप्रसाद माडवारीले लिएको घर उत्तर मूल गल्ली बाटो दक्षिण साझा चोक यति ४ किल्ला भित्रको उत्तर मोहडा पूर्व पश्चिम लंग को १ नाले ३ कवले ४ तले छिडि तलामा पसल कवल ४ समेत भएको फार्छे दिनु लिनु नहुने गुठीको उक्त घर ०१२।३।२ मा रु.१२००१। मा कासि नानी दिने अन्यायले खरिद गरी लिई धर्मलोप गरेमा मेरो उजूर परी धर्मलोप गरेकै ठहरी सर्वोच्च अदालत डिभिजन बेञ्च लगायतबाट समेत फैसला भएको उक्त घरमा फार्छे लिएका मितिदेखि नै अन्यायवालाले नछाडी बाहाल समेत नदिएकोले भोग गरेको मितिदेखिको साल १ को बाहाल रु.५०१। दरले ०१२ साल आषाढ २ गतेदेखि आज तक ३ बर्ष ७ महिना ३ दिनको हुने रु.१७९९।४२ भराई गुठी घर समेत खाली गराई चलन चलाई पाउँ भन्नेसमेत ०१५।१०।६ को कृष्णभक्त श्रेष्ठको वादी ।
२. प्र.राधामायाले ०१५।१०।१२ गते बुझेको म्याद गुजारी बसेको ।
३. घर पसलको गरी बर्ष १ को बाहाल रु.५०१ जाने नै हो भनी वादीका साक्षीले बकसपत्र गरेको हुँदा बर्ष १ को रु.५०१। का दरले बाहाल र घर चलन दिनु नपर्ने समेत भए सोही कुरा प्रतिवादी दर्ता गरी सफाई लिन सक्नुपर्नेमा प्रतिवादी नै नदिई सावित भई बसेको समेत देखिएबाट वादीले दावी गरे बमोजिम बाहाल रु.१७९९।४२ भरी पाउने र घर पसल समेत चलन पाउनेठहर्छ भन्नेसमेत ०१६।१।१४को तत्कालिन रा.का.देवानीफाँटको फैसला ।
४. दावी गरेको घर पसल कासी नानीले यो वादी समेत उपर अंश मुद्दामा नालेस दिएको यो वादी समेतले तायदाती दिंदा घर पसल गुठी हो भनी लेख्न सबूद दिन नसकेबाट कासी नानीले अंश छुट्याई चलन दिइसकेपछि निज कासिनानीबाट फार्छे गरी लिएपछि सो घर पसल गुठी मानी यो वादीले म समेत उपर उजूर गर्दा गुठी घर पसल ठहराई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएको भए पनि सो घर यसको पालोवाला सुर्यलाल सानु, शिब्दास श्रेष्ठ, उजिरमान जोशी समेत ५ जनाले आलो पालोबाट गुठी चलाउने भनी लेखेकोबाट यो वादीको जुन सालमा पालो पर्न आउँछ सोही सालको मात्र उजूर लाग्ने वादी दावीमा यो सालको मेरो पालो परेको भनी भन्न सबूद दिन समेत नसकेको र दावी गरेको घर पसल मुल सडक नभई गल्लीको घरबाट सालको रु.५०१। बाहाल तिरी कोही नबस्ने भई घरको नथु शर्मालाई र पसलको कृष्णकुमारलाई साल १ को रु.६० का दरले बाहाल लिने गरी ०१५ सालदेखि बाहाल लिने कवुलियत गराई राखेको दावीबमोजिम नआउने मेरो थैली पचाई खाने उद्देश्यमा लागी झुठ्ठा उजूर गरेको सम्म हुन्, त्यसो भएको हुनाले यो वादीको पालो बाहेक अरुको पालोमा यो वादीको उजूर लाग्न नसक्ने भएको हुँदा खारेज गरिपाउँ भन्नेसमेत राधामाया श्रेष्ठनीको प्रतिउत्तर सरहको पुनरावेदन ।
५. सो घर पसलमा सम्म मेरो बाबु कृष्णकुमार बहालमा बसी आएको ०१४ सालमा बाबु परलोक भए । २।४ महिना बसेपछि राधामायाले उठाई पठाएकोले उठी गएँ । बहालको हकमा रोजको रु.१ का दरले बुझाउने गरी आएको हुँ । सालको रु.६० तिर्ने गरी बसेको थाहा छैन भन्नेसमेत जगतलाल श्रेष्ठको बयान ।
६. गुठी घर विक्री गरी धर्मलोप गर्यो भन्ने भई वादीले कासी नानी र राधामाया समेत उपर गरेको मुद्दामा गुठी घर पसल ठहराई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट समेत फैसला भएको प्रमाण मिसिलबाट देखिएको राधामायाले हारी सकेको घर पसल चलन गर्न हक दायित्व नहुँदा जहाँसम्म प्र.राधामायाले छोडी दिंदैन तहाँसम्म वादीले बहालमा दावी गर्ने हक पाउने नै हुँदा पसलमा बस्ने कृष्णबहादुर मरी छोरा जगतलालले गरेको बयानबाट दिनको रु.१ का दरले प्र.राधामायालाई दिई बहालमा बसी आएको भन्नेसमेत बयान गरेको र शिवभक्त, सुर्यलाल, सानु शिब्दास, उजीरमान समेत गुठीयार देखाएकोमा अड्डाबाट झिकाउँदा निजहरू हाजिरै नभएकोले अरु गुठीयारको पनि पालो हक भए उजूर परे उसै बखत निर्णय हुने हुँदा वादी दावी बमोजिमको बाहाल प्र.राधामायाबाट भरी पाउने र घर पसलबाट पनि चलन पाउने ठहराएको इन्साफ सुरुको मनासिव छ भन्नेसमेत बागमती अञ्चल अदालतको ०२२।१०।५।३ को फैसला ।
७. इन्साफमा चित्त बुझेन, कालमोचन गुठीको पर्चामा विपक्षीले चित्त बुझाई बसी एकलौटी कायम गर्न नसकी गुठीका पर्चाबाट आधा मेरो हक ठहरेको घरको बाहाल विपक्षीलाई तिरी बुझाई घर समेत छाडी दिनु पर्छ भन्ने अञ्चल अदालतको फैसला उल्टाई पाँउ भन्नेसमेत प्रतिवादी राधामाया श्रेष्ठनीको पुनरावेदन ।
८. वादी दावीमा उल्लेख भएको ४ किल्ला भित्रको वादीकै अंशियार काशीनानीले रु.१२००१। मा फार्छे गरेकोमा गुठी घर विक्री गर्न नहुनेमा धर्मलोप गर्यो भन्ने यिनै वादी कृष्णप्रसाद श्रेष्ठले काशीनानी र यिनै प्रतिवादी राधामायासमेत उपर धर्मलोप मुद्दा चलाई वादी दावी घर गुठी घर पसल ठहराई निज राधामायाको थैली अपुताली खाने हकदारहरू उपर उजूर गरी उपर गरी लिनु भन्नेसमेत सुरु देवानी पहिलाबाट फैसला भए उपर सर्वोच्च अदालत डिभिजन बेञ्चबाट सो इन्साफ सदर राखी ०१५।२।१५ मा समेत फैसला भएको मिसिल सम्लग्न रहेको फैसला नक्कलबाट देखिएको र गुठीयार ५ जना छन् भन्ने पुनरावेदिकाको प्रतिवादी सरहको पहिलो पुनरावेदन जिकिरका हकमा पनि वादीलाई गुठीयार हैन भन्न नसकेको र बागमती अञ्चल अदालतबाट जारी गरेको म्यादमा निजले गुठीयार भनी देखाएका कुनै व्यक्ति पनि उपस्थित भई कसैले बयान गरेको समेत नदेखिएको र उक्त डिभिजन बेञ्चबाट भएका फैसला अनुसार काशीनानीको हक नठहरेको घर पसलमा निजबाट पार्छे गराई लिने राधामायाले उल्लिखत अनुसार कृष्णभक्तको पुरा हक हुन आएको घरमा दावी नलिई छोडी दिनुपर्नेमा निजले सो घर छोडी नदिएको हुँदा हक प्राप्त वादी कृष्णभक्तले प्र.राधामाया श्रेष्ठनीलाई दावीबमोजिम बाहाल भरी पाउने र घर समेत चलन गरिपाउँ भन्नेसमेत ठहराई सुरुको इन्साफ सदर गरी बागमती अञ्चल अदालतले गरेको ०२२।५।३ को इन्साफ मनासिव छ भन्ने डिभिजन बेञ्चको ०२४।१२।१८।१ को फैसला ।
९. सो उपर चित्त बुझेन दोहर्याई पाँउ भन्ने प्रतिवादी राधामायाको निवेदन परेकोमा न्यायिक समितिबाट यसमा वादीले जुन गुठी घर पसलको बाहाल प्रतिवादीबाट भराइपाउँ भन्ने दावी लिएको छ, सो बाहाल यो यति दिने बुझाउने भनी प्रतिवादी बसेको देखिन नआई अघि परेको धर्मलोप मुद्दामा हकदारले विक्री गरिदिएको घर गुठी भन्न नजानी लिने राधामायाको कसूर केही नदेखिने भन्न समेत ठहरिएको । यस्तो अवस्थामा बाहाल भराई दिनु पर्छ भन्ने कानूनी व्यवस्था नभएको किटानी बाहाल कबुलियत पनि नभएको हुनाले वादी दावीबमोजिम बाहाल भराई दिने ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्याउने आदेश बक्सनु पर्ने भनी समितिबाट शिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्याई दिनु भन्ने हुकुम बक्सेको भनी मौसुफका प्रमुख सचिवालयबाट लेखी आएको ०२५।९।१०।३ को हुकुम प्रमांगी ।
१०. बक्स भइआएका हु.प्र.बमोजिम गर्ना निमित्त नियमको रीत पुर्याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु । यस्को अन्तिम निर्णय भएपछि त्यस्को २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुखसचिवालयमा जनरल विभाग मार्फत पठाइदिनु भन्ने श्री मा.प्रधान न्यायाधीशज्यूबाट भएको ०२५।९।१२।१ को आदेश ।
११. यसमा दुवै पक्ष उपस्थित रही ०२६।३।१३।६ मा पेश भई निवेदक प्रतिवादीतर्फबाट विद्वान अधिवक्ता श्री कृष्णप्रसाद घिमिरेले र वादीतर्फबाट अधिवक्ता श्री ठाकुरप्रसाद खरेलले गर्नुभएको बहससमेत सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा वादी दावी बमोजिम बाहाल र घर चलन पाउने नपाउने के हो ? सो कुराको निर्णय दिनुपर्ने भएको छ ।
१२. सर्वप्रथम बाहाल तर्फ हेरेमा वादी दावीको घर काशीनानीबाट प्रतिवादी राधामायाले ०१२ साल आषाढमा फार्छे गरी लिएकोमा गुठीको घर फार्छे लिनु दिनु गरी धर्मलोप गरे भन्ने यिनै वादीले यिनै प्रतिवादी समेत उपर धर्मलोप मुद्दा चलाई गुठीको घर देखिएकोले विक्री गरेको सदर नहुने समेत ठहरी आखिरी ०१५।९।१५।३ को डिभिजन बेञ्चबाट अन्तिम फैसला भएपछि प्रतिवादी राधामायाले फार्छे लिएको मिति ०१२।३।२ देखि १५।१०।५ तक बर्ष ३।७।२ को सो घरमा बसेको बाहाल भराइपाउँ भन्ने यो नालेस परेको रहेछ । बाहाल यो यति बुृझाउने भनी बसेको देखिन नआई अघि परेको धर्मलोप मुद्दामा हकदारले विक्री गरिदिएको घर गुठी भन्ने नजानी लिने राधामायाको कसूर केही नदेखिएको भन्नेसमेत ठहरिएको यस्तो अवस्थामा बाहाल भराई दिनु पर्छ भन्ने कानूनी व्यवस्था र किटानी बाहाल कबुलियत पनि नभएकोले बाहाल भराउन नमिल्ने भन्ने हाल तर्क उपस्थित भएकोले यिनै कुराहरू माथि मुख्य विचार गर्नुपर्ने हुन आयो ।
१३. बहालमा लिई बसेको भन्ने नभएपछि कबुलियत हुनसक्ने कुरै नभएकोले किटानी बाहाल कबुलियत नभएको भन्ने तर्क उठाइएको लाई प्रासांगीक मान्न भएन । पहिले फार्छे गराई लिई बसेको मुद्दा परी सो फार्छे सदर नभएको यस्तो अवस्थामा साहूबाट घरको बाहाल भराउन मिल्ने नमिल्ने के रहेछ भन्ने तर्फ हेर्दा तत्काल प्रचलित साहू आसामीको २६ नं. मा भोग गर्न नपाउने केही कुरा लेखिएको कुरा कच्चा ठहर्न गयो भने र नजानी लिएको रहेछ भने लिखतबमोजिम हुन्छ लिखत नभए पनि साँवा र ऐनबमोजिम ब्याज समेत साहूले दावी गरी लिन पाउँछ भन्ने व्यास्था भएको पाइन्छ । पहिले परेको धर्मलोप मुद्दा भई प्रतिवादी राधामायाले नजानी लिएको र थैलीको हकमा ऐनबमोजिम कपाली सरह भराइलिन पाउने समेत ठहरी निर्णय भई उक्त साहू आसामीको २६ नं. को सुविधा पाइराखेकी त्यसबाट ऐनबमोजिम आफ्नो थैलीको ब्याजसमेत भराई लिन पाउने नै भएपछि घरको बाहाल तिर्नु नपर्ने भन्न मिल्ने देखिँदैन । किनकी त्यसो भन्दा यता थैलीको ब्याज र उता लिखतमा लेखिएको घर उपभोग गर्न समेत पाई साहूले दोहोरो सुविधा पाउने हुनजान्छ । मुख्य फार्छे लिखत नै सदर नहुने ठहरे पछि त्यस लिखतको आधारमा साहूले भोग गरेकोलाई आफ्नो हक नपुग्ने चिज भोग गरेको मान्नु पर्ने र प्रमाणको अंश मुद्दाको मिसिल सामेल रहेको यस गुठीको ५६ सालको दानपत्र लिखतमा सो घरमा दाताका सन्तानहरू बसी बाहालका रुपैंयाँले सो घर बखतबखतमा बनाई बस्नु भन्ने लेखिएकोबाट दाताका सन्तानहरू बसेकोमा पनि बाहाल तिर्नुपर्ने देखिएकोसमेत हुनाले लिखत कच्चा ठहरिसकेको साहू प्र.राधामायाले आफ्नो हकनपुग्ने घरमा बसेकी बाहाल तिर्नुपर्ने प्रष्ट छ ।
१४. अरु पनि गुठीयार भएकाले वादीमात्रको उजूर दावी पुग्न नसक्ने भन्ने निवेदक प्रतिवादीको जिकिरका हकमा अरु गुठीयार भनिएका शिवभक्त, सूर्यलाल, सानु, शिबदास, उजीरमानको हकदार समेतलाई बुझ्न बागमती अञ्चल अदालतबाट म्याद पठाएकोमा हाजिर नभई म्याद गुजारी बसेको पाइयो । गुठीको घर हुनाले चलन पाएपछि वादीको निजी हक हुने नभई गुठी नै कायम रहने बाहालको हकमा पनि ५६ सालको दानपत्र भनेको लिखतबाट शेष खान नपाउने गुठी देखिन आएकोले दावीबमोजिम बाहाल भरी पाएपछि वादी आफुले लिन खान नपाउने सो रुपैंया गुठी नै रही त्यसबाट घर मर्मत समेत गुठीकै काम चलाउनु पर्ने कुरा भएको वादी लेखाई, मासी कुनै नोक्सानी र गुठी धर्मलोप गरेमा अरु गुठीयार भए निजहरूले गुठीको सम्पत्तिमा उजूर गर्न पाउने हक सुरक्षित रहने र पहिले पनि गुठी धर्मलोपमा वादीले नै उजूर गरी प्र.राधामायाले भराई लिएको फार्छे लिखत बदर गराएको समेत हुँदा अहिले वादीमात्रको उजूर पुग्न नसक्ने भन्न भएन ।
१५. बहाल के कति भरी पाउने हकलाई वादीले साल १ को रु. ५०१। का दरले दावी गरेकोमा त्यती बाहाल आउने होईन भन्ने प्रतिवादीको जिकिर भए पनि त्यसकुराको सबूद गुजार्न नसकेको र बुझिएका वादीका साक्षी २ जनाले रु.५०१। बाहाल जाने नै भनी बकेका, प्र.राधामायाले नै देखाएकी सो घरको पसलमा बस्ने भनेको कृष्णकुमारको छोरा जगतलालले पसलको दिनको १। रुपैंयाका दरले बाहाल तिरी पहिले बाबु कृष्णकुमार र ०१४ सालमा बाबु मरे पछि आफु पनि २।४ महिना बसेको पछि राधामायाले उठाएकी हुन भनी पसल मात्रकै पनि उसबेला बर्ष १ को रु.३६० बाहाल देखाई बयान गरेको देखिन आएकोले पुरै घरपसल समेतको बर्ष १ को रु. ५०१। का दरले दावी गरेको बेमनासिव भन्न मिलेन ।
१६. अब घर चलन चलाई पाउँ भन्ने दावीको हकमा प्र.राधामाया आफुले कासीनानीबाट भराई लिएको फार्छे लिखत वादीले दिएको धर्मलोप मुद्धामा भएको ०१५।९।१५।३ को डिभिजन बेञ्चको फैसलाबाट सदर नहुने ठहरे पछि पनि सो घरको चलन नछाडि आफु बसिराखेकी देखिन आएकोले ऐनबमोजिम अड्डाबाट चलन चलाई दिनुपर्ने प्रष्टै हुँदा त्यसतर्फ अरु शंका गरिरहनु परेन ।
१७. तसर्थ उपरोक्त उल्लेखित कारणहरूबाट वादी दावीबमोजिम बर्ष १ को रु.५०१ का दरले रु. १७९९।४२ बाहाल भरी पाउने र वादी दावीको घर चलन चलाई दिने ठहराएको सुरु रा.का.दे.दो. र बागमती अञ्चल अदालतको सदर गरी ०२४।१२।१८।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मुनासिवै छ । कोर्टफी राखेको हुँदा निवेदक प्रतिवादी राधामायालाई मुद्दा दोहर्याएमा अरु सजाय गर्नु परेन । नियमबमोजिम मिसिल बुझाई दिनु ।
मा.प्र.न्या. श्री भगवतीप्रसाद तथा मा.न्या.श्री रत्नबहादुर
उपरोक्त ठहरमा हामीहरूको सहमत छ ।
इति सम्वत् २०२६ साल आषाढ २४ गते रोज ३ शुभम् ।