June 3, 1969
Created by nepalarchives

निर्णय नं. ४८५ – आयस्ता बिगो दिलाई पाऊँ

निर्णय नं.  ४८५    ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री हेरम्बराज न्यायाधीश श्री लोकराज जोशी सम्वत् २०२५ सालको फु.नं. ९६ निवेदक     ...

निर्णय नं.  ४८५    ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री हेरम्बराज

न्यायाधीश श्री लोकराज जोशी

सम्वत् २०२५ सालको फु.नं. ९६

निवेदक      : का.जि. मरुटोल बस्ने वादी हिराबहादुर मरी सकार गर्ने ऐ बस्ने मुरारीबहादुर समेत

विरुद्ध

विपक्ष : जि.प्र.महोत्तरी मौजे रतवार कोकैला गुठी बस्ने गंगाधर उपाध्याय

मुद्दा : आयस्ता बिगो दिलाई पाऊँ

(१)   यस कानूनअन्तर्गत यस यसबाट यति यति दरले खान लिन पाउने फिरादपत्रमा स्पष्ट नखुलाई फुटकर आम्दानी भरी पाउँ भन्ने दावी गरेमासो भरी नपाउने ।

            फिरादको तपसीलमा बेठिसमेत फुटकर आम्दानी साल १ को कं.रु.३८।।। दरले भराइपाउँ भनेको सो बेठिसमेतको फुटकर आम्दानी कुन कानूनले को कसवाट के दरले कति लिन खान पाउने हो सो फिरादमा नखुलेकोले त्यस्तो अधुरो बेठिसमेतको फुटकर आम्दानी भनेको पनि भरी पाउन नसक्ने ।

 (प्रकरण नं. १४)

(२)   बुझाउने दर खोली मौजा ठेक्कामा दिएकोमापुरै आयस्ता पाउँ भन्ने दावी लाग्न नसक्ने।

            ०१०।११।१२ सालको पुरै आयस्ता दिलाई भराइपाउँ भनेकोमा वादीले मधुसुदनलाई र गंगाधरलाई समेत साल १ को रु.७००। का दरले बुझाउने गरी ठेक्कामा दिइसकेकोबाट गुमस्ता गिरीको कायम हुन्छ उसैबाट सालको रु.७००। का दरले पाउनेसम्म हक वादीको भएको, त्यसबखत जग्गा चलन गर्ने हकअधिकार वादीको नभएकोले ०१०।११।१२ सालको पुरै आयस्ता पाउँ भन्ने दावी लाग्न नसक्ने समेत देखिन आउँछ ।

(प्रकरण नं. १४)

(३)   मौजा चलन गर्न पाउनेले मौजाको जिरायत लाग्नेसमेत मालपोत बुझाएमाबाली घरसार मा लिनु दिनु गरी मिलापत्र गरेमा मौजामा दामकाम चलन गर्न दिएन भनी बाली मुद्दाको फिरादमा नलेखेमाअरुले उक्त मौजा चलन गरेको सबूदको अभावमासो मौजा निजले चलन गरेकै ठहरिने ।

            सो मौजाहरू कसले चलन कब्जा गर्‍यो भन्ने हकमा मैले चलन गरेको छैन भन्ने मधुसुदनको जिकिर भए पनि सो मौजाको जिरायतमा लाग्ने समेत मालपोत बुझाएमा मधुसुधन कायम रहेको आफूले मौजा चलन गर्न नपाएको भए मालपोत बुझाउने अवस्था नपर्ने उस्मा पनि ०१० सालको बाली घरसारमा लिनु दिनु गरी मिलापत्र गरेको प्रमाणको मिसिलबाट देखिएको ०१०।१२।१७ मा गुठी मालबाट चलन पाएपछि पनि मौजामा दामकाम गर्न र चलन गर्न मलाई दिएनन् भनी उक्त बाली मुद्दाको फिरादमा मधुसुधनले लेख्न नसकेको र उक्त सालहरूमा वादी वा गंगाधरहरूतर्फबाट चलन गरेको भन्ने सबूद नभएकोले उक्त ०१० सालदेखी ०१३ सालसम्म उक्त मौजा मधुसुदनले नै चलन गरेको प्रष्ट देखिन आउँछ ।

(प्रकरण नं. १५)

(४)   अंशियार समेतबाट भरी पाउँ भनेमा निज अंशियारले प्रतिवादीसँग अंश लिइसकेमानिज (अंशियार) बाट भरी नपाउने ।

            अंशियारबाट पनि भराइपाउँ निजहरूबाट उपर नभए गफलतवाला गंगाधर रामबिलासबाट भराइपाउँ भनेकोमा मधुसुदनका अंशियार मदन झासमेतको अंशमुद्दा परी पाउँने भएपछि मधुसुदनले गरेको कारवाईमा निजहरूको जवाफदेही नहुने ।

(प्रकरण नं. १६)

(५)   उठाएको विवादको कारण गर्नुपर्ने काम गर्न नपाएमाजसबाट हुनुपर्ने हो निज गफलतवाला नहुने ।

            मधुसुदनले झगडा उठाइदिएबाट काम गर्न नपाएकोमा गंगाधर रामबिलास गफलतवाला नमानीने समेत हुँदा अरु प्रतिवादीबाट भराइपाउँ भन्ने वादीको दावी नपुग्ने देखियो ।      

(प्रकरण नं. १६)

वादी तर्फबाट : वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद वर्मा

उल्लेखित मुद्दा :

 

फैसला

            मा.न्या. लोकराज जोशी

            १.     मेरा नाउँमा दर्ता भएको जि.प्र.महोत्तरी मौजे रतवारको कैला गुठी १ मौैजा डगरी पट्टि नयाँ विर्ता १ समेत २ मौजाका गुमस्ता गिरी ठेक्कामा जिमिदारी काम गरेकोमा २००९ सालदेखि ०१३ सालसम्म जम्मा ५ बर्षलाई साल १ को कं.रु.७००। का दरले किस्ता किस्तामा बुझाउने ०६ साल अघिको बक्यौता बाली पनि चैत्र भित्रमा बुझाउने गरी कबुलियत गरी लगेकोमा ०९ सालको ठेक मध्ये रु.१००। बुझाई बाँकी ६००। राखेकोमा रैती राजी राख्न नसकी मौजाको कामै चल्न नसकेकोले निजको बदला ०१०।६।५ मा गंगाधर समेतलाई दिएकोमा मधुसुदनको उजूर परी १० सालमा मधुसुदनलाई बदर गरेको सदर ठहरी डिभिजन बेञ्चबाट सदर भई ०१० सालदेखि ०१३ सालसम्म बर्ष ४ अनाधिकारबाटै मेरो हकको आयस्ता खाएको हुनाले सगोलका हुँदा मधुसुदन १ चुलाई १ मदन १ नथुनि समेतबाट भराइपाउँ निजहरूबाट पनि उपर नभए गफलतवाला गंगाधर १ रामविलास १ बाट भराइपाउँ भन्नेसमेत ०१५।३।१६।२ को हिराबहादुरको फिराद ।

            २.    ०१० सालदेखि ०१३ सालसम्मको बाली जिरायत नम्वरीको आयस्ता वादी र गंगाधर रामबिलासले लिए खाएको र रैतान मालपोतसम्म मैले असूल गरे पनि बक्यौता रैतिबाट कायम रही घर घरानाबाट हाली बुझाएको मेरो ठेक्का टुटिसकेकोले वादी दावीबाट फुर्सत पाउँ भन्नेसमेत मधुसुदनको ०१५।८।३।३ को प्रतिवादी ।

            ३.    मधुसुदनको व्यहोराबाट बिगो तिर्न बुझाउन नपर्ने भन्नेसमेत मदन झा र वादी दावी भन्दा अघि मधुसुदनसँग अंश मुद्दा परी छुट्टिसकेकाले तिर्न बुझाउन नपर्ने भन्ने नथुनी झा र ०९।११।२५ मा अंश पाउने फैसला भएकाले दावी झुठ्ठा हो भन्ने यदुनाथ समेतको ०१५।८।३।३ को प्रतिवादी ।

            ४.    महोत्तरी मालबाट ०१०।१२।१७ गते पुर्जी बुझाई गुमस्ताबाट बन्चित गरिदिएकाले वादी झुठ्ठा हो भन्नेसमेत गंगाधर रामविलास समेतको ०१५।५।१९।५ को एउटै प्रतिवादी ।

            ५.    महोत्तरी गुठिमालका पुर्जीबाट समेत मौजा मधुसुदन जिम्मा रहेका समेत देखिएकाले वादी दावी बमोजिमको आयस्ता बाली कबुलियत गरी लिन मधुसुदनबाट वादीले भरी पाउने ठहर्छ भन्नेसमेत शरु रा.का.दे.पै. को ०१६।२।२६ को फैसला ।

            ६.    चित्त बुझेन भन्नेसमेत हिराबहादुर, मधुसुदनको पुनरावेदन ।

            ७.    मुख्य ठेक्का दिने प्र.मधुसुदन भएकाले निजबाटमात्र भरीपाउनेभन्ने सुरुको इन्साफ मनासिवछ । मधुसुदनको अपील डिसमिस हुन्छ भन्नेसमेत ०१७।३।२६ को का.जि.अ.को डिसमिसफैसला ।

            ८.    उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत ०१६।३।२४।४ को हिराबहादुरको र ०१६।७।२७ को मधुसुदनको पुनरावेदन ।

            ९.    कबुलियत गरी दिन अरु प्रतिवादी नभई मधुसुदन मात्र भएको र वादीले दावी गरेको साल भन्दा पहिले नै यदुनाथ मदन झा समेतका अंशियारको अंश मुद्दा परी ०९ साल फाल्गुण २५ गते नै जलेश्वर अमिनिबाट अंश छुट्याई पाउने गरी फैसला भएका प्रमाणको मिसिलबाट देखिन आएकोले त्यस पछिको कबुलियत गर्ने गुमस्ता गिरी बाहेकका अरु प्रतिवादीबाट भरी पाउँ भन्ने अपील जिकिर पूग्न नसक्ने र मधुसुदनको अपील जिकिरका हकमा पनि म.स.गो. का पर्चाका आधारबाट ०१० सालको बालीमा आफ्नो हक देखाई गंगाधर रामविलासका उपर जलेश्वर अमिनिमा उजूर गरी बाली लिनु दिनु गरी मिलेको देखिन आएको र ०११ सालदेखि ०१३ साल तकको बाली अरुले खाएको सबूदसमेत केही दिन नसकेकोबाट अपीलाट मधुसुदनको समेत अपील जिकिर पग्न सक्दैन, सदर गरी छिनेको इन्साफ का.जि.अ.को मनासिवछ भन्नेसमेत ०२०।१।९।१ को डि.बेञ्चको फैसला ।

            १०.    ठेक बाँकी भन्ने वादीको दावा हुँदा बालीका झगडाको २० नै रकम बन्दोबस्तको १८ नं. समेतले म्याद भित्र नपरेकोले उजूर लाग्नै नसक्ने र वादी दावा बमोजिम मैले लिए खाएको नहुँदा चित्त बुझेन भन्नेसमेत प्रतिवादी मधुसुदन मैथिल ब्राम्हणले र मेरो दावी कं.रु.८६९८।।।.।। थियो, सुरु र जिल्ला अदालतबाट दावीबमोजिम भरी पाउने ठहरेको स.अ. बाट इन्साफसदर भए पनि उतार खण्डमा रु.७८७० ।।.।। दावी गरेको भनी लेखीन गएकोले दोहर्‍याईपाउँ भन्नेसमेत हिराबहादुरले न्यायिकसमितिमार्फत श्री ५ महाराजाधिराज सरकार का जुनाफमा बिन्तिपत्र चढाएकोमा ०१० सालदेखि ०१२ सालसम्म बर्ष ३लाई सो कबुलियत बमोजिम वादी हिराबहादुरले सालको रु.७००। भन्दा बढी पाउन नसक्ने र ०१३ सालको हकमा शर्त कबुलियत भन्दा बाहिरको कुरा हुँदा ७००। मात्र पाउने भन्न नमिल्ने हुँदा दोहर्‍याउने आदेश बक्सनुपर्ने समेत भनी न्यायिकसमितिले सिफारिस गरेकोमा नेपालको संविधानको धारा ७२(ख) अनुसार दोहर्‍याई दिनु भन्ने मौसुफ सरकारबाट हु.प्र. बक्सी आई पेश हुँदा बक्स भइआएका हु.प्र.बमोजिम गर्न लगतमा दर्ता गरी मिसिल र दुवै पक्ष झिकाई फुल बेञ्चमा पेशगर्नु भन्नेसमेत ०२४।९।१३।१ को मा.प्र.न्यायाधीशज्यूको आदेश ।

            ११.    यस्मा वादी हिराबहादुर मरी मु.स.गर्ने मुरारीबहादुरको वारेस आनन्दराम मदन झाको वारेस समेतको मधुसुदन गंगाधरको वारेस रामबिलास समेतलाई रोहवरमा राखी ०२६।२।२७ मा पेश भई वादीतर्फका वकिल विद्वान वरिष्ठ अधिवक्ता श्री देवनाथप्रसाद बर्माको र प्रतिवादी मधुसुदनसमेतको बहस सुनी आज निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा वादीका दावीबमोजिम आयस्ता ठेक बाली समेत वादीले भरी पाउने हो होइन पाउने भए कसबाट के कति भरी पाउने हो भनी निर्णय गर्नुपर्ने देखिएको छ ।

            १२.   वादीले नालेस गर्दा मेरो हकको जिल्ला महोत्तरी मौजे रतवारको कैला गुठी १ मौजे मबैद गरी पट्टी नयाँ विर्ता १ समेत मौज २ मधुसुधनले कवुलियत गरी गुमस्ता गिरी ठेक्कामा जिमिदारी कायम गरेकोमा ०६ साल अघिको बक्यौता कं.रु. २२८। साल ९ को चैत्र भरमा बुझाउने कबूल गरेको बुझाएन, ०९ सालमा काम गरेका ठेक्का के.रु. ७००। मध्ये रु. १००। मात्र बुझाई रु. ६०० दिएन, ०१० सालदेखि ०१३ सालसम्म चलन गरेको जिमिदारी, खांगी र अरबेटी समेत फुटकर आम्दानी र जिमिदारी जिरायत नम्बरी जग्गाको आयस्ता समेत जम्मा कं.रु. ७८७०।।.।। पनि बुझाएन, उक्त तिनै कलमको रुपैंया बिगो खाने मधुसुदन चुलाई मदन नथुनी समेत ४ जवानबाट भराइपाउँ निजहरूबाट उपर नभए गफलतवाला गंगाधर रामबिलास समेतबाट भराइपाउँ भन्ने मुख्य फिराद दावी देखियो ।

            १३.   उक्त जिमिदारी साल १ कं रु.७०० का दरले मलाई बुझाई ०१३ सालसम्म दाम काम गर्नु भनी ०९।६।२ मा मधुसुधनलाई र निजैले रैती राजी राखी काम गर्न नसकेको कारण देखाइ उक्त रु.७०० का दरले ठेक बुझाउने गरी ०१० सालदेखि ०१२ सालसम्मलाई ०१०।६।५ मा गंगाधर समेतलाई वादीले चलन पुर्जी गरिदिएकोमा मलाई खोसी गंगाधरलाई दिन नपाउने दियो भनी मधुसुदनले उजूर चलाउँदा गंगाधरलाई दिएको बदर गर्ने गरी म.स. गोश्वराले पर्चा खडा गरे बमोजिम सो मौजाको दाम काम गर्न भनी महोत्तरी गुठी मालले ०१०।१२।१७।३ मा मधुसुदनलाई चलानी पुर्जी दिएको उक्त मुद्दामा हिराबहादुरको पुनरावेदन परी गंगाघर समेतलाई दिएको काम राख्ने गरी ०१४।५।१२।४ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएपछि ०१५।३।१६ मा प्रस्तुत नालेस परेको रहेछ ।

            १४.   वादीको दावीमध्ये ०६ साल अघिको बक्यौता कं.रु.२२८। चैत्रमहिना भरमा बुझाउँला भनी ०९।६।२ मा मधुसुदनले कबुलियत गरिदिएको लेखिएका भाका भित्र मधुसुदनले नबुझाएपछि कर्जा लेनदेन बाहेकको प्रस्तुत लिखत भएको ठेक्काको रुपैंयामा तत्काल प्रचलित साहू आसामीको ३८ नं. बमोजिम २ बर्ष भित्र उजूर दावी गरी भराई लिनु पर्ने सो म्याद भित्र उजूर गरी भराई लिन नसकेको रु.०९ सालको ठेक्का दावी रु.६००। भनेकोमा पनि सो रुपैंया बाँकी यो यस भाका भित्र बुझाउँला भन्ने लिखत नभएकोले कवुलियत बमोजिमको जग्गाको आयस्ता समेतको ठेक्का नबुझाएमा तत्काल प्रचलित बालीका झगडाको २० नं. बमोजिम ३ बर्षभित्र उजूर दावी गरी भराई लिनसक्नु पर्ने, सो म्याद भित्र प्रस्तुत नालेस नपरेको र फिरादको तपसीलमा बेठिसमेत फुटकर आम्दानी साल १ को कं.रु.३८।।। दरले भराइपाउँ भनेको सो बेठीसमेतको फुटकर आम्दानी कुन कानूनले को कसबाट के दरले कति लिन खान पाउने हो सो फिरादमा नखुलेकोले त्यस्तो अधुरो बेठिसमेतको फुटकर आम्दानी भनेको पनि भरी पाउन नसक्ने । ०१०।११।१२ सालको पुरै आयस्ता भराई दिलाइ पाउँ भनेकोमा वादीले मधुसुदनलाई र गंगाधरलाईसमेत साल १को रु.७००का दरले बुझाउने गरी ठेक्कामा दिइसकेकोबाट गुमस्ता गिरीको कायम हुन्छ उसैबाट सालको रु.७०० का दरले पाउनेसम्म हक वादीको भएको, त्यसबखत जग्गा चलन गर्ने हक अधिकार वादीको नभएकोले ०१०।११।१२ सालको पुरै आयस्ता पाउँभन्ने दावी लाग्न नसक्नेसमेत देखिनआउँछ ।

            १५.   सो बाहेक ०१०।११।१२ सालको ठेक्का कबुलियत बमोजिम साल १ को रु.७०० का दरले मात्र भरी पाउने र ०१३ सालको हकमा मधुसुदनलाई ठेक्का दिएको भए पनि सर्वोच्च अदालतमा डिभिजन बेञ्चको उक्त फैसलाले निजको ठेक्का बदर भई गंगाधरलाई दिएको सदर भएको गंगाधरलाई ०१३ सालको बालीलाई ठेक्का नदिएको हुनाले उक्त ०१३ सालमा वादीले जग्गामा हक चलन गर्नपाउने अवस्था देखिन्छ र सो सालको बाली अरुले खाएकोमा पुरै बाली भराई पाउने पनि हुनआउँछ । उक्त सालमा सो मौैजाहरू कसले चलन कब्जा गर्‍यो भन्ने हकमा मैले चलन गरेको छैन भन्ने मधुसुदनको जिकिर भए पनि सो मौजाको जिरायतमा लाग्ने समेत मालपोत बुझाएमा मधुसुदन कायम रहेको आफुले मौजा चलन गर्न नपाएको भए मालपोत बुझाउने अवस्था नपर्ने उस्मा पनि ०१० सालको बाली घरसारमा लिनु दिनु गरी मिलापत्र गरेको प्रमाणको मिसिलबाट देखिएको ०१०।१२।१७ मा गुठी मालपोत चलन पाएपछि पनि मौजामा दामकाम गर्न र चलन गर्न मलाई दिएनन भनी उक्त बाली मुद्दाको फिरादमा मधुसुदनले लेख्न नसकेको र उक्त सालहरूमा वादी वा गंगाधरहरूको तर्फबाट चलन गरेको भन्ने सबूद नभएकोले उक्त ०१० सालदेखि ०१३ सालसम्म उक्त मौजा मधुसुदनले नै चलन गरेको प्रष्ट देखिन आउँछ र ०१० सालदेखि ०१२ सालसम्म ठेक कबुलबमोजिम सालको रु.७०० को दरले जम्मा रु.२१००। र मधुसुदनले बाली मुद्दाको फिरादमा लेखेका र वादी दावीको समेत विचार गरिएबाट ०१३ सालको जिमिदारी खांगी जग्गा र जलचर समेतको आयस्तासमेत कुल आम्दानी रु.१९२८।। १ समेत जम्मा कं.रु.४०२८।.। मधुसुदनबाट वादी हिराबहादुरले भरी पाउने देखिन्छ ।

            १६.    उक्त आयस्ता मधुसुदन झा समेतका अंशियारबाट पनि भराइपाउँ निजहरूबाट उपर नभए गफलतवाला गंगाधर रामविलासबाट भराइपाउँ भनेकोमा मधुसुदनका अंशियार मदन झा समेतको अंश मुद्दा परी अंश पाउने भएपछि मधुसुदनले गरेको काम कारवाइमा निजहरूको जबाफदेही नहुने र मधुसुदनले झगडा उठाइदिएबाट काम गर्न नपाएकोमा गंगाधर रामविलास गफलतवाला नमानिने समेत हुँदा अरु प्रतिवादीबाट भराइपाउँ भन्ने वादीको दावी नपुग्ने देखियो ।

            .     तसर्थ माथि उल्लेख भएबमोजिम गरी पाउने अंकमा घटी पर्न गएको बाहेक मधुसुदनबाट वादीले आयस्ता बिगो भराउने गरेको सर्वोच्च अदालत डिभिजन बेञ्चको ०२०।१।९।२ को इन्साफ मुनासिव छ तपसीलबमोजिम लगत समेत दिई मिसिल नियमबमोजिम बुझाई दिनु ।

 

तपसील

रा.का.देवानी अदालत पहिलाको ०१६।२।२६।३ को फैसलाले प्रतिवादी मधुसुदनबाट वादीलाई भराउने गरेको कोर्ट फी रु.३९७।९६ को मध्ये वादीले नपाउने रु.१९६।५६ लगत कट्टा गर्ने र निजले पाउने कोर्ट फि रु.२०१।४० मात्र वादीले भरी पाउनेमा पनि देहायमा लेखिएबमोजिम फैसलाबाट वादीले प्रतिवादीलाई कोर्टफि ऐन, २०१७ को १८।४ दफा बमोजिम बुझाउनु पर्ने कोर्ट फि रु.३२।७७ घटाई बाँकी रु.१६८।६३ मात्र कोर्टफी ऐन, २०१७ को १५ दफा बमोजिम बर्ष ३ भित्र वादीको दरखास्त परेमा केही दस्तुर नलिई प्रतिवादी मधुसुदन झाबाट वादीलाई भराई दिनु भनी का.श्रे.अ.तमा लगत दिनु ……………………….१

प्र.मधुसुदनले मध्यमाञ्चलमा राखेको कोर्ट फि रु.१९।९० मध्ये निजले नपाउने रु.१०।७० कटाइ बाँकी रु.९।२० निजले दोहर्‍याउदा राखेको कोर्ट फि रु.४३।७१ मध्ये निजले नपाउने रु२०।१४ कटाउदा बाँकी रु.७२।७७ वादी हिराबहादुरले मधुसुदनबाट बिगोमा रु.८६९८।।।। भराउने भनी उक्त फैसलामा उल्लेख भई लगत दिएकोमा माथि लेखिएबमोजिम भरि पाउने ठहरेकोमा रु.४०२८।।

१को भा.रु.को सटही प्रचलितदरमा रु.१००। को ने.रु.१३५ ले हुने ने.रु.५४३८।६४ मात्र भराउने लगतकायम गर्नु र ३ बर्ष भित्र दरखास्तपरे वादीबाट सयकडा २।। ले दस्तुरलिई भराईदिनु उक्त रा.का.दे.पै.का लगतकाटी दिनु भनी ऐ …..२

वादीको पुनरावेदन जिकिर निजले राखेको कोर्ट फि फिर्ता गर्नु नपर्ने …………………….३

यो निर्णयको २ प्रति प्रतिलीपी नं.७ न्या.सं.०२१।४।१३।३ का हुकुम प्रमांगी बमोजिम जाहेर गर्न श्री ५ महाराजाधिराजका सचिवालयमा पठाउन स.अ. जनरल विभागमा लेखी पठाउनु ……………………४

 

मा.प्र.न्या. श्री भगवतीप्रसाद सिंह र मा.न्या.श्री हेरम्बराजको समर्थन

 

उक्त रायमा सहमत छौं ।

 

 

इति सम्वत् २०२६ साल जेष्ठ २१ गते रोज ३ शुभम् ।