May 16, 1969
Created by nepalarchives

निर्णय नं. ४८२ – जालसाजी

निर्णय नं.  ४८२     ने.का.प. २०२६ फुल बेञ्च प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह न्यायाधीश श्री नयनबहादुर खत्री न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह सम्वत् २०२५ सालको फौज्दारी फु.नं....

निर्णय नं.  ४८२     ने.का.प. २०२६

फुल बेञ्च

प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह

न्यायाधीश श्री नयनबहादुर खत्री

न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह

सम्वत् २०२५ सालको फौज्दारी फु.नं. २३

निवेदक : जि.सप्तरी जगदर मौजे गठीया विसहरीया बस्ने सत्यदेव यादव

विरुद्ध

विपक्षी : ऐ प्र.पकडी मौजे सिंगायान बस्ने गेनालाल कथवनियाको सकार गर्ने पदमलाल दास कैथल वैस समेत

मुद्दा : जालसाजी

(१)   कसैले बिभिन्न स्थानमा आफ्नो उमेर फरक फरक लेखेमाअस्पतालबाट डाक्टरहरूको वोर्डले निजको अन्दाजी उमेर ठहर्‍याएकोमासोही ठहरअनुसार निजको उमेर कायमहुने ।

            सर्वोच्च अदालत फुल बेञ्चका आदेशानुसार वीर अस्पतालबाट सत्यदेवको उमेर जाँची २८।२९ बर्षको हुन सक्छ भन्ने लेखी आएकोबाट सो हिसाबले ०१४ साल माघ २९ गते १७ बर्ष भनी लेखिएको उमेर मिल्न आएको हुँदा प्रस्तुत मुद्दाको वादी उपर सत्यदेवले ०१७।८।२३ मा जग्गा मुद्दा दिंदाको अवस्थामा निज सत्यदेवको उमेर २० बर्ष पुगेकै देखिन आएकोबाट समेत तत्कालिन सुरु हनुमान नगर ई.अ.ले उमेर ढाँटेको ठहराएको सम्म सदर गरी अरु तत्कालिन जि.अ.को इन्साफ बहाल राखी ०२२।७।२५ को डिभिजन बेञ्चले ठहराएको इन्साफ मुनासिव छ ।

(प्रकरण नं. १६)

फैसला

     प्र.न्या. भगवतीप्रसाद सिंह

      १.     प्र. सत्यदेव यादवको जन्म घर गठिया विसहरीयामा छ । निज शुभलालको छोरो गुलीको नाति हो । निजको बज्यैको नाउँ पनि रेविया थियो । मौसाई यादवको स्वास्नीको नाउँ पनि रेविया थियो मौसाइको नाममा १९६१ सालको नापीमा जम्मा जग्गा बिगाहा १ऽ१।।।२ नापी भएको थियो । कित्ता बम्बर ६७८ को जग्गा बिगाहा ।।१.१ बाहेक अरु जम्मै जग्गा निज मौसाईले र निजको छोराहरूले अघि नै बेचिसक्नु भएको थियो । ०४ सालको नापीमा मौसाईको नाँउको जग्गा निजको स्वास्नी रेबियाको नाउँमा कित्ता नं. साविक ६७८ को हाल कित्ता नं. १०४१ मा नापी भयो उक्त कित्तानम्बर १०४१ को जग्गा बिगाहा ।।१।।२ चनावती, कठवनियायिनीले खरीद गरी लिनु भयो ।०६। साल कार्तिक १ गतेमा निज चनावती कठवनीबाट मैले उक्त ससिम जग्गा बिगाहा ।।१।।२ खरिद गरी पास गराई दर्ता दाखिल समेत गराई भोगी आएको मौसाईको स्वास्नी रेबियालाई आफ्नो बज्यै भनी लेखी सम्बन्धै नभएको रेबियासँग सम्बन्ध जोडी २० बर्ष उमेरलाई १७ बर्ष भनी झुठ्ठा कुरा लेखी बनावटीबाट मैले खरिद गरिलिएको जग्गामा हामीहरू उपर जग्गा मुद्दा दिएको छ । सम्बन्ध नभएको रेबियासँग सम्बन्ध जोडेमा र सिगिऔनमा जन्म घर नभएमा जन्म घर छ । २० बर्ष उमेरलाई छपाई १७ बर्ष छ भनी झुठ्ठा व्यहोरा लेखी जालसाज गरेमा सजाय गरीपाउँ भन्नेसमेत वादी ।

      २.    लक्ष्मण मंडर छौली मंडर साक्षात दाजु भाइ सौचन्दासको छोरा हुन । लक्ष्मणको छोरा मौसाई घौलीको छोरा गुली दाजु भाइ हुनु भई मौसाई परलोक हुँदा निजकी स्वास्नी रेवियालाई छोरा नहुँदा देवर गुलीसँग पुन विवाह गरी बसेकोले निज रेबियातर्फबाट बज्यै गुलीलाई छोरा शुभलाल जन्मेको निज शुभलालको छोर म सत्यदेव यादव भै रेबिया मेरी खास बज्यै मौसाइको अपुताली बाबु शुभलालले पाएको हुँदा सम्बन्ध नभएको भन्ने वादीको दावी झुठ्ठा हो । २० बर्ष उमेरलाई १७ बर्ष दावी लेख्यो भन्ने दावी तर्फ बीर अस्पतालबाट जाँच हुँदा १७ बर्षदेखि बढि १८ बर्षदेखि तलको उमेर छ भनी जाँची लेखिदिएका जाले माले गरी लिएका जग्गा थामी पाउनुपर्ने सबूद प्रमाण बुझिएको मुद्दा छिन्ने अवस्था जलसाज चलाएबाट पनि दावी झुठ्ठा देखिने भन्नेसमेत प्रतिवादी ।

      ३.    यो सतदेवले २०१६ साल आश्विन ९ गतेमा लक्ष्मी मंडर उपर दिएको जग्गा दर्ता मुद्दामा फिराद साथ पेश भएको लिखतमा गुलीको नाती शुभलालको छोरा बर्ष १६ को सतदेव भनी ०१४ साल माघ २९ गतेको राजीनामा लिखतमा लेखिएको देखिनाले गुलीको नाती हो भन्ने सिद्ध हुन आउँछ तापनि सो लिखत र सो जग्गा दर्ता मुद्दाको फिरादपत्रमा लेखिएको अनुसार प्र.सतदेवको जन्म घरगठीया बिसहरिया र उमेर ०१८ सालमा २० बर्ष नाघिसकेको समेत अड्डामा रहे भएको उक्त प्रमाण सावित देखिन आएकोमा डाक्टरले उक्त अनुमानबाट गरेको उमेर कायम हुन नसक्ने हुनाले वतन र उमेर समेत ढाँटी यो वादी उपर जालसाजबाट जग्गा मुद्दा दायर गरेकै ठहर्छ भन्नेसमेत ईलाका अदालत हनुमान नगरको फैसला ।

      ४.    डाक्टरको जाँच कागज सदरै थामी पाउँ भन्नेसमेत प्रतिवादीको पुनरावेदन ।

      ५.    सम्बन्धै नभएको रेवियासँग सम्बन्ध जोडी जालसाज गरे भन्नेतर्फ वादीले माग गरे बमोजिम ठहर नभए उपर निजको अपील पनि नपरेबाट मौसाइको स्वास्नी रेवियाले मौसाईको मृत्यु पछि गुलीयासँग पुर्नविवाह गरेको र उक्त गुलीको नाती प्रतिवादी सत्यदेव भएकोले निज रेबिया प्र.सत्यदेवको बज्यै भएकोमा वादी लाचार भएको देखिन ठहर्न आयो । विशेषज्ञद्वारा दिइएको रायलाई नै मान्यता दिनुपर्ने श्रेयस्कर देखिएकोले निज प्र.सत्यदेवले ०१७ साल मार्ग २३ गतेमा मुद्दा दायर गर्दा आफ्नो उमेर १७ बर्ष मुनासिव देखिंदा उमेर ढाँटी जालसाज गरेको ठहर्दैन । प्र.सत्यदेव गुलीको नाति ठहरी सकेपछि गुली पनि सिगीऔनको वासिन्दा हुँदा प्र.सत्यदेव सिगीऔनको होइन भन्न न्यायोचित नपर्ने हुँदा जन्म घर सिगीऔन भनी वतन ढाटी जालसाज गरे भन्ने वादी दावी पुग्न नसक्ने हुँदा समेतका प्रमाण परिबन्दबाट उमेर वतन ढाँटी जालसाजबाट सत्यदेवले यो वादी उपर जग्गा मुद्दा दायर गरेको ठहराई इलाका अदालतमा हनुमान नगरले गरेको फैसला केही गल्ती ठहर्छ भन्नेसमेत जिल्ला अदालत सप्तरीको फैसला ।

      ६.    सत्यदेवको वज्यै रेबिया गढिया बिसहरियामा र चनावतीको दाता रेबिया सिंगीयोनमा बेगला बेग्लै बसेको प्रष्ट देखिएको भन्नेसमेतको वादीको पुनरावेदन ।

      ७.    सत्यदेवले लक्ष्मी मंडर यादवका नाउँमा ०१६।४।९ मा दिएको जग्गा दर्ता मुद्दाको फिरादमा प्र.जगदर मौजे गठिया बिसहरियामा जन्म घर भएको बर्ष १९ को भनी वतन र उमेर समेत लेखेको १७।८।२३ मा वादीहरूका नाउँमा जग्गा मुद्दाको नालिस दिंदा सिंगियोनमा जन्मेको बर्ष १७ को भनी वतन र उमेर फरक पारी लेखेको प्रष्ट देखिएकोले सत्यदेवलाई छलफलमा झिकाउन अ.बं.२०२ नं.र स.अ. नियमावली बमोजिम नोटिस पठाई काम तामेल भइआएपछि नियमबमोजिम पेश गर्नु भन्नेसमेत डिभिजन बेञ्चको आदेश ।

      ८.    निजको उमेर मेरो विचारले १८ बर्षको हुनुपर्छ भनी ०१८ सालमा डाक्टरले जाँचको रिपोर्ट दिएकोबाट कुनै अवयबहरूको भित्री जाँच केही नगरी अक्कलको दाँत नआएको भन्ने मात्र कारण देखाई डाक्टरको विचार लेखेकोमा त्यस्तो अंजामि बर्ष भन्दा निज सत्यदेव आफैले लेखेको उमेर बर्ष प्रतितलायक हुनाले १६ सालमा सत्यदेवले लक्ष्मी मंडर उपर दिएको जग्गा दर्ता मुद्दाको फिरादमा बर्ष १६ लेखेको कुरा नै साँचो देखिन आउँछ । इलाका अदालतको राय समर्थन गरी डिभिजन बेञ्चले झगडीया झिकाइएको यस कलममा सहमति छ । जिल्ला अदालतको यस कलममा र उल्टी र नाता कायम गरेको वतन कायम गरेकोमा सदरै छ भन्नेसमेत डिभिजन बेञ्चको फैसला ।

      ९.    फुल बेञ्चबाट दोहर्‍याई दिनु भन्ने प्रमांगी पाउँ भन्नेसमेत सत्यदेवको निवेदन ।

      १०.    दर्तावाला रेबिया अर्कै मानिसलाई बज्यै भन्न आयो भन्ने वादी र मेरी बज्यै हुन भन्ने प्रतिवादी भएकोले रविया अर्केै मानिस ठहरेमा वादीको जग्गामा हक पुग्ने र प्रतिवादीको बज्यै ठहरेमा रेबियाको अपुतालीमा प्रतिवादीको हक पुग्न जाने हुन आई उमेर र वतनको कुराले रेबियाको अपुताली हकमा असर पर्नसक्ने नदेखिंदा यस मुद्दामा मुख्य नाता सम्बन्धी कुरा नै महत्वपूर्ण हुन जाने देखिन्छ । सर्वोच्च अदालतले निज रेबिया प्रतिवादीको बज्यै वतन नढाँटेको ठहराएको वादीले दोहर्‍याउने निवेदन नदिई मञ्जुर भई बसेको देखिनाले जग्गा तर्फ उमेर ढाँटेको कुराबाट उति असर पर्न नसक्ने भई त्यसतर्फ निर्णय दिन नपर्ने जस्तो पनि देखिन्छ । तर अपुतालीका हकका कुरामा उमेरले त्यती असर पार्ने नभए पनि वादीले उमेर ढाँटेको दावी लिएकोमा निर्णय भइआएको कुरा हुनाले त्यसतर्फ विचार गर्दा सर्वोच्च अदालतको फैसलामा जग्गा दर्ता मुद्दामा ०१६ सालमा १६ बर्ष भनी लेखेको देखिएकोले सो हिसावले ०१७ सालमा जग्गा मुद्दा दिंदा प्रतिवादी सत्यदेवको उमेर १७ बर्ष देखिन आउँछ । सो लेखाईबाट जग्गा मुद्दाको फिरादमा लेखेको उमेरबाट उमेर २० बर्ष कायम मानी उमेर ढाँटेको मानेको सर्वोच्च अदालतको फैसला ठहर मिलेको देखिँदैन । तर जग्गा दर्ता मुद्दाको फिरादमा सत्यदेवले बर्ष १९ र जग्गा मुद्दामा बर्ष १७ लेखेको देखिएकोले यो मुद्दाको फैसलामा सर्वोच्च अदालतले जग्गा दर्ता मुद्दामा १६ बर्ष भनी लेखेको कुरा भुल गरेको मानेका पक्षमा पनि २ मुद्दामा २ किसिमको उमेर लेखेको भन्नु पर्ने हुन आँउछ । सो २ किसिमको उमेरमा कुन कुरा मान्ने हो भन्ने तर्क गर्दा सर्वोच्च अदालतले जग्गा दर्ता मुद्दामा लेखेको उमेरको हिसाबले जग्गा मुद्दामा उमेर ढाँटेको मानेको छ । त्यसरी फिरादपत्रमा लेखेको उमेर ठिक हो भनी मान्नालाई वादीप्रतिवादीमा अन्दाजी उमेर लेखीन्छ भन्ने कुरा साविक मुलुकी ऐन अ.बं.को ३६ नं. ले प्रष्ट गर्दछ । सो ऐनमा वादी प्रतिवादीको कचहरीबाट गर्ने गराउने गैर कागजमा कागज गरी दिनेको यती बर्षको भन्ने उमेर खुलाई लिनु सो उमेर लेखिदिएकोमा कारणी नै अड्डामा हाजिर भएकोमा उमेर दुरुस्त भए दुरुस्त छ भन्ने र दुरुस्त नभएमा यसको उमेर यति होला भन्ने सोही कागजको शिरमा लेखी हाकिमको दस्तखत गरी राख्नु भन्ने लेखिएको, प्र्रस्तुत मुद्दाको फिरादपत्र आफै कारणी हाजीर भई दर्ता गरे गराएको र सो फिरादपत्रमा ल्याप्चे सहिछाप लागेको हिसाबले निरक्षरी भन्ने देखिने र उक्त उल्लेखित ऐनको रीत पुर्‍याई हाकिमको दस्तखत भएको पनि देखिएन । तसर्थ उक्त उल्लेखित ऐनको वाक्यांशबाट कति व्यक्तिले आफ्नो उमेर भन्न नसक्ने अवस्थामा अन्दाजी उमेर लेखी लाने र अन्दाजी उमेर खुलाई दर्ता गर्ने प्रचलन देखाएको छ । यसबाट उक्त उल्लेखित २ किसिमको मुद्दामा सत्यदेवले अन्दाजीबाट २ किसिमको उमेर लेखेको रहेछ भन्ने मान्न पर्ने हुँदा फिरादपत्रमा लेखेको उमेरलाई ठिक र सहि उमेर हो भन्ने मान्न कानूनी बाध्यता नभई त्यस किसिमबाट विवादको प्रश्न उपस्थित हुन आए पछि डाक्टरद्वारा उमेर जँचाउनु उपयुक्त हुन आँउछ । सर्वोच्च अदालतले उक्त उल्लेखित उमेर कायम गर्नालाई डाक्टरले २८ वटा दाँत देख्ये अक्कलको दाँत मौजुद छैन । त्यसैले मेरा बिचारमा त्यो अहिले १८ बर्ष मुनिको हो भनी लेखेको कुरालाई सर्वोच्च अदालतले आफ्नो फैसला डाक्टरले बर्ष १८ हुनुपर्छ भनी रिपोर्ट दिएकोबाट कुनै अवयवहरूको भित्री जाँच केही नगरी अक्कलको दाँत नआएको भन्ने मात्र कारण देखाई लेखेको त्यस्तो अन्जामी बर्ष भन्दा निज सत्यदेव आफैले लेखेको जग्गा दर्ता मुद्दाको फिरादमा लेखेको कुरा नै साँचो देखिन आउँछ भनी डाक्टरको निर्णयलाई गलत साबित गरेको देखिन्छ । फिरादमा लेखेको उमेर मान्नालाई उक्त उल्लेखित अ.बं.को ३६ ले नमिल्ने र प्राविधिक विशेषज्ञको निर्णयलाई त्यस्तै प्राविधिकको एक देखि बढी व्यक्तिको बोर्डद्वारा भएको निर्णयका अतिरिक्त अरु साधारण तर्कद्वारा खण्डन गर्नु अप्रासांगिक र अनाधिकार हुन आउँछ । सर्वोच्च अदालतको फैसलामा एक देखि बढी प्राविधिक वोर्डद्वारा जाँच गराउदा वा गर्दा खण्डन हुन गएको भनी लेख्नसकेको छैन । तसर्थ कुनै भित्री अवयवहरूको भित्री जाँच केही नगरी डाक्टरको विचार लेखेको अंजामी बर्ष भन्दा सत्यदेवले जग्गा दर्ता मुद्दाको फिरादमा लेखेको बर्ष साँचो देखिन आउँछ भनी खण्डन गर्न मिल्दो कुरा नदेखिएको समेत प्रमाण परिवन्दबाट झगडीयाले लेखेको अंजमी उमेर भन्दा डाक्टर विशेषज्ञले ठहराएको उमेरलाई नै सर्वोपरी मान्नुपर्ने देखिंदा उमेर ढाँटेको देखिँदैन । डाक्टरको निर्णयलाई अमान्य गरी झगडीयाले अन्दाजीबाट जग्गा दर्ता मुद्दाको फिरादमा लेखेको उमेरको आधारमा जग्गा मुद्दामा लेखेको उमेर ढाँटेको ठहराएको सर्वोच्च अदालतको निर्णय मिलेको देखिएन । दोहर्‍याउने आदेश बक्सनु पर्ने भनी समितिबाट सिफारिस गरेको जाहेर हुँदा श्री ५ महाराजाधिराजबाट नेपालको संविधानको धारा ७२ को (ख) अनुसार उक्त मुद्दा दोहर्‍याई दिनु भन्ने हुकुम बक्सेको छ भन्ने श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारबाट लेखी आएको ।

      ११.    बक्स भइआएको हुकुम प्रमांगी बमोजिम गर्ना निमित्त नियमको रीत पुर्‍याई लगतमा दर्ता गरी मिसिल झिकाई दुवै पक्ष राखी फुल बेञ्चमा पेश गर्नु र त्यस्को अन्तिम निर्णय भएपछि त्यस्तो निर्णको २ दुई प्रतिलिपि हुकुम प्रमांगी बमोजिम जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु भन्नेसमेत माननीय प्रधान न्यायाधीश ज्यूको आदेश ।

      १२.   उमेर जाँच गराउनलाई निवेदक सत्यदेवलाई नै उपस्थित गराउनु भनी तारेखमा रहेको निजको वारेस जानकी यादवलाई तारिख तोकी हाजिर भएपछि बीर अस्पतालमा पठाई डाक्टरहरूको बोर्डबाट उमेर जाँच गराई प्रतिवेदन लिई नियमबमोजिम पेश गर्नु भन्ने ०२५।७।२३।६ को फुल बेञ्चको आदेश ।

      १३.   ०२५।७।२३ को फुल बेञ्चको आदेशमा डक्टरहरूको वोर्डबाट उमेर जाँच गराई प्रतिवेदन लिई भन्नेसमेत उल्लेख भएको देखिएको सो आदेशबमोजिम बोर्डको प्रतिवेदन आई मिसिल सामेल रहेको नदेखिई बीर अस्पतालको रेडियोलजिष्टको एक्सरे रिपोर्ट मेडिकल रिकर्ड अफिसरको चलानी साथ आएको सम्म देखियो । उक्त रेडियोलोजिष्टले देखाएको सत्यदेवको उमेरको बिषयको कुरामा डाक्टरहरूको वोर्डको के भनाई छ सो कुरा खुलाई त्यस्तो प्रतिवेदन पठाउनु भनी मिसिल साथरहेको उक्त एक्सरे रिपोर्ट मेडिकल रिकर्ड अफिसरको चलानी समेत साथैराखी लेखी निज सत्यदेव समेतलाई बीर अस्पतालमा पठाई काम तामेल भैआएपछि नियमबमोजिम गरी पेशगर्नु भन्ने ०२६।१।२४।३ को फुल बेञ्चको आदेश ।

      १४.   तारिखमा रहेको निवेदक सत्यदेव यादवलाई र विपक्षी वा.समेतको पदमलाल दासलाई रोहवरमा राखी हेरी निर्णय सुनाउने तारिख तोकिएको प्रस्तुत मुद्दामा निर्णयतर्फ हेर्दा रेबियाले अघि नै चनावतीलाई बेची सकेको र चनावतीबाट मैले खरिद गरी लिएको जग्गामा झन्झट उत्पन्न गराउन ०१७।८।२३ मा हामीहरू उपर जग्गा मुद्दा दिएको छ । २० बर्ष उमेरलाई छपाई १७ बर्ष छ भनी झुठ्ठा व्यहोरा लेखी जालसाजी गरेमा सजाय गरीपाउँ भन्नेसमेत वादी दावी भएको र प्रमाण निमित आएको यिनै प्रतिवादी सत्यदेवले लक्ष्मी मंडर समेत उपर ०१६।४।९ मा दिएको जग्गा मुद्दाको फिरादपत्रमा बर्ष १९ को सत्यदेव भन्ने र निजैले प्रस्तुत मुद्दाको वादी घनश्याम दास समेत उपर ०१७।८।२३ मा दिएको जग्गा मुद्दाको फिरादपत्रमा बर्ष १७ को सत्यदेव भन्ने लेखिएको देखिन आएको छ ।

      १५.   उक्त लक्ष्मी मंडर समेत उपर ०१६ साल श्रावण ९ गतेमा दिएको जग्गा मुद्दाको मिसिल साथ रहेको जानकी गोप आगे भै सत्यदेवलाई गरिदिएको ०१४।१०।२९ को राजीनामा नक्कल हेर्दा बर्ष १७ को सत्यदेव भन्ने लेखिएको देखिएबाट उक्त ०१६।०१७ सालमा मुद्दा पर्नु भन्दा अगावै ०१४ साल मै १७ बर्ष पुगेको भन्ने देखियो । उक्त ०१४ सालमा भएको लिखतमा लेखिएको उमेरको हिसाबले ०१७ सालमा जग्गा मुद्दाको फिराद दिंदा १७ बर्ष भनी सत्यदेवले आफ्नो उमेर लेखेको मिल्न नआई सो समयमा निज सत्यदेवको उमेर २० बर्ष पुगेको भन्ने देखिन आउँछ । सर्वोच्च अदालत फुल बेञ्चका ०२५।७।२३ र ०२६।१।२४ का आदेशबमोजिम बीर अस्पतालमा निज सत्यदेवको उमेर जाँच गर्न पठाएकोमा २८। २९ बर्षको हुन सक्छ भन्ने डाक्टरहरूको बोर्डबाट समर्थन गरी पठाएको देखिएबाट सोही हिसाबले पनि ०१७ सालमा जग्गा मुद्दा दिंदा निज सत्यदेवको उमेर २० बर्ष पुगेको भन्ने नै देखिन आउँछ । उस्मा पनि छलफलमा देखाएको धनीरामप्रसाद ऋणी सत्यदेव भएको ०२० भाद्र २१ गते रजिष्ट्रेशन पास भएको राजीनामा नक्कल हेर्दा निज सत्यदेवको उमेर २५ बर्षको भन्ने लेखिएको देखियो । यदि प्रतिवादी सत्यदेवको उमेर ०१७ सालमा जग्गा मुद्दा दिंदा १७बर्ष नै भए प्रस्तुत जालसाजी मुद्दा चलिसकेपछि उक्त २०२०साल भाद्र२१ गते रजिष्ट्रेशन पास भएको कागजमा २५ बर्ष भनी लेख्नुपर्ने थिएन । त्यसबाट पनि ०१७ सालमा जग्गा मुद्दाको फिराद दिंदा सत्यदेवको उमेर १७ बर्षको हो भन्नेकुरा देखिन आएन ।

      १६.    अतःसर्वोच्च अदालत फुल बेञ्चका आदेशानुसार बीर अस्पतालबाट सत्यदेवको उमेर जाँची हेर्दा २८।२९ बर्षको हुनसक्छ भन्ने लेखी आएकोबाट सो हिसाबले ०१४ साल माघ २९ गते १७ बर्ष भनी लेखिएको उमेर मिल्न आएको हुँदा प्रस्तुत मुद्दाको वादी उपर सत्यदेवले ०१७।८।२३ मा जग्गा मुद्दा दिंदाको अवस्थामा निज सत्यदेवको उमेर २० बर्ष पुगेको देखिन आएकोबाट समेत तत्कालिन सुरु हनुमान नगर ई.अ.ले उमेर ढाँटेको ठहराएको सम्म सदर गरी अरु तत्कालिन जि.अ.को ईन्साफ बहाल राखी ०२२।७।२५ को डिभिजन बेञ्चले ठहराएको इन्साफ मुनासिव छ । देहाय बमोजिम गर्नु ।

 

तपसील

निवेदक सत्यदेव यादव के मुद्दा दोहर्‍याएमा सर्वोच्च अदालत डिभिजन बेञ्चका ०२२।७।२५ का फैसलाले गर्ने गरेको जरिवाना रु.२। को सयकडा १० ले रु.२०। जरिवाना हुन्छ । रुजु हुँदा असूल उपर गरी कानूनबमोजिम गर्न का.श्रे.अ.त.मा लगत दिनु ……………………..१

माननीय प्रधान न्यायाधीश ज्यूको आदेशबमोजिम निर्णयको २ प्रतिलिपि जाहेर गर्न श्री ५ महाराजाधिराजका प्रमुख सचिवालय राजदरवारमा जनरल विभाग मार्फत पठाई दिनु…………………..२

मिसिल नियमबमोजिम गरी बुझाई दिनु…………………३

 

मा.न्या.श्री धनेन्द्रबहादुर सिंहको उक्त रायमा सहमत छ ।

 

र मा.न्या. श्री नयनबहादुरको समर्थन ।

 

 

इति सम्वत् २०२६ साल जेष्ठ ३ गते रोज ६ शुभम् ।